प्रचण्डद्वारा ७ राज्यको प्रस्ताव – मुख्य समाचार

झलनाथले भने–‘बल्ल ठीक गर्नुभो’

काठमाडौं, चैत्र ९/संविधानसभा र राज्य पुनर्संरचना आयोगमा समेत १४ राज्यका पक्षमा वकालत गरेको एकीकृत नेकपा माओवादीले सहमतिका लागि ७ वटा राज्य बनाउनु पर्ने प्रस्ताव गरेको छ ।
केही दिनअघि राष्ट्रपतिकै उपस्थितिमा शितल निवासमा शीर्ष नेताहरुबीच भएको छलफलमा अध्यक्ष प्रचण्डले १४ वटा जातीय–क्षेत्रीय प्रदेशको सट्टा ७ वटा राज्य बनाउनुपर्ने प्रस्ताव गरेका हुन् । नेपाली कांग्रेस र एमालेले ६ देखि ८ वटा राज्यमात्र बनाउनुपर्ने अडान लिइरहेका बेला माओवादी अध्यक्षको नयाँ प्रस्तावले दलहरु संघीयताको मामिलामा सहमतिमा पुग्ने संकेत देखिएको छ ।
१४ राज्य बनाउन सम्भव पनि देखिएन, सहमति पनि हुने भएन– प्रचण्डले दलका शीर्ष नेताहरुबीच राखेको प्रस्ताव उद्धृत गर्दै स्रोतले भन्यो–‘त्यसलाई ७ वटा राज्यमा झारौं र कुरा मिलाऊं ।’ प्रचण्ड निकट पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले पनि अध्यक्ष प्रचण्डले प्रदेशहरुको संख्या घटाउने प्रस्ताव राखेको स्वीकार गरे । ‘सामथ्र्य र पहिचानलाई स्वीकार गरौं, त्यसो भए संख्या घटाउन सकिन्छ गजुरेलले भने–‘संख्याका विषयमा हामी रिजिड छैनौं ।’ प्रचण्डको प्रस्ताव सुन्नासाथ एमाले अध्यक्ष झलनाथ खनालले ‘बल्ल ठिक कुरा गर्नुभयो प्रचण्डजीले’ भन्दै समर्थन जनाएका थिए ।
त्यसबेला प्रचण्डले केही जातीय राज्यहरु गाभेर दुईवटै पहिचान झल्नििे गरी नाम राख्न सुझाव दिएका थिए । मधेसमा दुईवटा प्रदेशमात्र बनाउने, सुदुरपश्चिममा दुई प्रदेश बनाउने र नेवाः तथा ताम्सालिङ प्रदेशलाई जोड्ने प्रचण्डले प्रस्ताव गरेका छन् । मौखिक रुपमा पेश गरिएको प्रस्तावमा प्रचण्डले जातीय पहिचानलाई सम्मान गर्नुपर्ने बताएका थिए । जातीय पहिचानलाई मान्यता नदिंदा सबै दलका जातीय मोर्चा एक ठाउँमा आउनसक्ने भन्दै प्रचण्डले समस्या समाधान गर्ने गरी छलफल गर्नुपर्ने बताएका थिए ।
यसअघि केन्द्रीय समितिको बैठकमा ६ प्रदेशका बिषयमा पनि छलफल भएपनि औपचारिक रुपमा माओवादी जातीय पहिचानका आधारमा १४ राज्य हुनुपर्ने अडानमा छ । पार्टीभित्र भने १३ वटा राज्यको अभ्यास गरिरहेको छ ।

0 प्रतिकृया:

Post a Comment