हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

सामुदायिक विद्यालयप्रति आकर्षण बढाउने प्रयास

– निगरानी गर्न टोल टोलमा समिती गठन

दमक । सामुदायीक बिद्यालयप्रति अभिभावकको आकर्षण वढाउने उदेश्यले झापाको शिवसतासी—९ माईधारस्थित बालनिकुञ्ज उच्च माध्यामिक बिद्यालयले शैक्षिक सुधार कार्यक्रम संचालन गरेको छ । गत वर्षवाट संचालन भएको कार्यक्रम अन्र्तगत बिद्यालयले आफ्नो क्षेत्रभित्र बिभिन्न ८ वटा टोल समिति गठन गरी बिद्यार्थीको नियमित पठनपाठनमा बिशेष निगरानीमा अबिभावकलाई बिशेष परिचालन गर्ने भएको छ ।
बिहिबार बिद्यालय व्यवस्थापन समितिले सुरु गरेको टोल समिति गठन कार्यक्रम अन्र्तगत नगरपालिकाको वडाँ नं ८ रमाईलो वस्तीमा १ नं व्लग गठन गरेको छ । समितिको अध्यक्षमा दलवहादुर न्यौपाने, उपाध्यक्षमा रिना दर्नाल, सचिवमा खेम सुवेदी र सदस्यहरुमा डिल्लिलाल लिम्बु, वेदमाया गौली, मनिता लिम्बु र रेखा बिष्ट छन् । बिद्यालयको क्षेत्रभित्र रहेका टोलहरुमा गठन हुने व्लगहरु ८ वटा हुने बिद्यालयका प्राचार्य भिमवहादुर लिम्बुले जानकारी दिए । उनले टोल समितिको काम, कर्तब्य र अधिकारको बिषयमा बताउँदै आफ्ना बालबालिकाको शैक्षिक प्रगतिका निम्ति बिद्यालयमा शिक्षक शिक्षिकाले कक्षा कोठामा पढाएकोले मात्र नपुग्ने बताए । प्राचार्य लिम्बुले टोल समितिले आफ्ना टोलमा बिद्यालय जाने बालबालिकाको लगत संकलन गरी ति विबरणहरु बिद्यालयलाई पठाउनुपर्ने, टोलमा बालबालिकाहरु बिद्यालय नियमित गइरहेका छन् या छैनन् त्यसको चासो र बिद्यालयलाई सुचना गरिनुपर्ने, बिद्यालय व्यवस्थापन समितिको वैठकमा टोल समितिका एक—एक जनालाई सहभागि गराइने, टोलमा शैक्षिक सुधार अन्र्तगत रचनात्मक कार्यक्रम संचालन गर्न समितिलाई बिद्यालयले आवश्यक स्रोत र साधन उपलब्ध गराउने जानकारी दिए । टोल समिति गठन पछि सोही समिति अन्र्तगत कक्षा—१ देखी ६ सम्म गाउँघरमा नै र कक्षा—७ देखी १० सम्म बिद्यालयमा केन्द्र बनाएर ट्युसनको व्यवस्था गरिने प्राचार्य लिम्बुले बताए । उनले बिद्यार्थीलाई पठनपाठनप्रति सक्रियता बनाउँन यस्तो अभियान संचालन गरिएको जानकारी गराउँदै सो अभियानले उनिहरुमा पढाईप्रति जागरुक बन्ने आशा व्यक्त गरे ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष समध्वोज कार्कीको अध्यक्षतामा भएको अभियान जेष्ठ २५ गते सम्पन्न हुने छ । सो अवसरमा बिद्यालयका सहप्रार्चय बिष्णुप्रसाद खतिवडाले आदीवासी जनजातिको वाहुल्य रहेको बिद्यालय क्षेत्रमा अविभावकले आफ्ना बालबालिका बिद्यालय पठाइरहेपनि बिद्यालयमा नियमित हाजिर भए या नभएका बारेमा चासो नराख्ने गरेको बताए । निजी बिद्यालयको तुलनामा सामुदायीक बिद्यालय कमजोर भन्ने बुझाईलाई गलत सावित गराउन बिद्यालयले गरेको अभियान सफल बन्दै गइरहेको खतिवडाको भनाई थियो । उनले पुर्वप्राथमिक तह अन्र्तगत प्रिनर्सरी, युकेजी र केजी कक्षा संचालनवाट महङ्गो शुल्कमा निजी बिद्यालयमा पढाईरहेका आफ्ना बालबालिकालाई झिकेर ल्याइरहेको बताए । ६ सय ६४ बिद्यार्थी अध्यापन गरिरहेका बिद्यालयमा दक्षिणी इलामको महमाईको दुर्गम गाउँवाट समेत २ घण्टा पैदल हिडेर बिद्यार्थीहरु आउने गरेको जानकारी दिए ।

पूर्वका जिल्लामा पुस्तकको अभाव

विराटनगर । भूकम्पपछि लगातारका पराकम्पनले एक महिना बन्द विद्यालय बन्द रहेर पुनः सञ्चालनमा आएपनि विद्यार्थीले पुस्तक नपाउँदा समस्या परेको छ । आवश्यक पुस्तक उपलब्ध नगराउँदा बिराटनगरस्थित जनक शिक्षा समाग्री केन्द्रको क्षेत्रीय डिपोमा यतिवेला शिक्षक र पुस्तक विक्रेताको भीड बढेको छ । कक्षा ८, ९ र १० को पाठ्यपुस्तक विक्री–वितरण गर्दै आएको केन्द्रसँग शैक्षिक सत्र सुरू भएको दुई महिना बितिसक्दा पनि आवश्यक किताब छैन ।
समयमा आवश्यक किताब उपलब्ध नगराएको भन्दै नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले विराटनगरस्थित जनक शिक्षाको क्षेत्रीय डिपोमा तालाबन्दी गरेको छ । जनक शिक्षाले पुस्तक छपाईमा ढिलाई हुँदा मेची–कोशीका १० जिल्लाका सरकारी विद्यालयमा पाठ्यपुस्तकको अभाव भएको स्विकारेको छ । चैतमै छापेर बाँडिसक्नुपर्ने किताब अझै छापिएको छैन: महासंघका मोरङ अध्यक्ष माधव अधिकारीले भने: आउँछ–आउँछ भन्दाभन्दै दुई महिना बितिसक्यो अझै पनि आवश्यक किताव पाउन सकिएको छैन । जनक शिक्षा समाग्री केन्द्रका अनुसार मेची–कोशीमा कक्षा ८ को मात्रै ८५ हजार सेट पुस्तक आवश्यक छ । जसमा पहिलोपटक ४५ हजार मात्रै आइपुगेको छ ।
क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटाका अनुसार मेची–कोशी अञ्चलका धेरैजसो विद्यालयमा कक्षा ८ को पाठ्यपुस्तक पुगेको छैन । पहिलो खेपमा ४५ हजार सेट र दोस्रोमा ५ हजार सेट मात्र किताब आयो : जनक शिक्षाका क्षेत्रीय प्रमुख चन्द्रलाल माझीले भने : अझै ३५ हजार सेट किताबको अभाव छ । उनका अनुसार पुस्तक छाप्न ढिलाई भएकाले समयमा विद्यार्थीलाई किताब उपलब्ध गराउन नसकिएको हो ।
किताब अभावकै कारण मोरङका अधिकांश सामुदायिक विद्यालयले माथिल्ला कक्षाको पढाई अगाडी बढाउन सकेका छैनन् । मोरङका निमित्त जिल्ला शिक्षा अधिकारी दिव्यराज कट्टेलले भने : विद्यार्थीसँग किताव नै नभएपछि शिक्षकले कसरी पढाई अगाडी बढाउने ? उनका अनुसार पाठ्यक्रम परिवर्तन भएका कारण कक्षा ८ का अधिकांश किताब विद्यार्थीले पाउन सकेका छैनन् । अभिभावक, विद्यार्थी र शिक्षक दिनहुँ आएर किताब खै भन्दै किचकिच गर्छन : पुस्तक व्यवसायी राजन पाठकले भने ः जनक शिक्षाले नै हामीलाई नदिएपछि हामीले के गर्ने ? सरकारले शैक्षिक सत्रको प्रारम्भमै किताब पुर्याउन १ देखि ५ कक्षासम्मको पाठ्पुस्तक छाप्ने अधिकार नीजि क्षेत्रलाई दिएको छ । कक्षा ६ र ७ को किताब गतवर्षको स्टकबाट विक्री गर्ने अधिकार समेत मुद्रण व्यवसायीलाई दिइएको छ । तर कक्षा ८, ९ र १० को पाठ्यपुस्तक भने जनक शिक्षाले मात्र छाप्ने गर्छ ।

कनकाईको रजत महोत्सवको योजना

सुरुङ्गा । झापाको सुरुङ्गास्थित कनकाई बहुमुखी क्याम्पसले आफ्नो स्थापनाको २५ औं वर्ष पुगेकाले यसै वर्ष रजत महोत्सव मनाइने भएको छ । रजत महोत्सवको सन्दर्भ पारेर क्याम्पसमा शौचालयको पुन निर्माण, मर्मत सम्भार र खेलमैदानको पूर्वी भागमा घेराबारा निर्माणका लागि क्याम्पस व्यवस्थापन समिति सदस्य गोविन्द पौडेलको संयोजकत्वमा ५ सदस्यीय निर्माण समिति गठन गरिएको छ ।
समितिको सदस्यमा डिल्ली प्रसाद संग्रौला, भक्तीप्रसाद संग्रौला, खेमराज कार्की र हिम्मत नेम्बाङ रहेका छन् । रजत महोत्सवलाई भव्य र सभ्य बनाउन स्थायी पक्की मञ्च निर्माण समेत गरिने संयोजक पौडेलले बताए । भविष्यमा सटर सहितको व्यवसायिक भवन निर्माण गरेर क्याम्पसको नियमित आम्दानीको स्रोत बनाउने सोच भएकाले हाललाई काँडे तारले घेराबारा गर्न लागिएको उल्लेख छ ।

शिष्ट ब्यवहार गर्न प्रहरीलाई निर्देशन

दमक । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता विश्वमणी पोखरेलले प्रहरीले नागरिकलाई  शिष्ट ब्यवहार गर्नुपर्ने बताएका छन् । इलाका प्रहरी कार्यालय दमक मातहतका सहभागी युनिट इन्चार्जहरुलाई  सभ्य ब्यवहार गरेर नागरिकले प्रहरी प्रति हेर्ने दृष्टिकोण बदल्न पोखरेलले निर्देशन दिएका हुन् ।  डिएपी पोखरेलले प्रहरी कार्यालयमा सेवा लिन आउने नागरिक शुरुमा गेटमा ड्युटी बसेको प्रहरीसंग ठोकिने हुँदा उसको नम्र बोली सरल ब्यवहार गर्नुपर्ने बताए । बिहीबार दमकमा भएको प्रहरी अनुशिक्षण कार्यक्रममा उनले सिकेका कुरा प्रहरी जवानसम्म पुराउन अनुरोध गदै साता दिनपछि नागरिकले प्रहरीको ब्यवहारमा सुधार आएको महसुस दिलाउन निर्देशन समेत दिए । कार्यक्रममा इलाका प्रहरी कार्यालय दमक, इलाका ट्राफिक प्रहरी कार्यालय दमक,  प्रहरी चौकी  केर्खा , लगायतका १५ युनिटका इन्चार्ज तथा प्रतिनिधि सहभागी थिए ।

निशुल्क शिविर हुने

सुरुङ्ग । भारतको शिलिगुडीका बरिष्ठ डाक्टर चाङको अगुवाईको स्वास्थ्य टोलीबाट झापाको कनकाई नगरपालिकामा निशुल्क स्वास्थ्य परीक्षण हुने भएको छ । कनकाई ३ र ४ को वडा नागरिक मञ्चले जेठ २४ गते एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो । सुरुङ्गा उपस्वास्थ्य चौकीमा सम्पन्न गरिने शिविरमा मुटु, नशा, हड्डी, बाथ र दात सम्बन्धि परीक्षण सेवा उपलब्ध गराउने वडा नागरिक मञ्च वडा नं. ४ का सदस्य गोविन्द पौडेलले जनाए ।

पदाधिकारीलाई स्वागत

दमक । संघीय समाजवादी पार्टी दमक नगर समितिले स्वागत तथा वधाई कार्यक्रम गरेको छ । बिहिवार भएको कार्यक्रममा दमक चिसोपानी रवि सडक उपभोक्ता समितिको जेठ १७ गते भएको निर्वाचनमा  निर्वाचित बरिष्ट उपाध्यक्षमा सुशिल राई र उपाध्यक्षमा बिनोद राईलाई स्वागत गरिएको थियो । कार्यक्रम नगर अध्यक्ष हेमप्रसाद पालुङ्वाको अध्यक्षतामा भएको थियो ।

सचेतना कार्यक्रम

दमक । आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद झापाले बिहिवार सचेतना सम्वन्धि एक दिने कार्यक्रम आयोजना गरेको छ ।  लखनपुर १ को सावित्रा चोकमा भएको कार्यक्रममा जलवायु परिर्वतन ,रेडप्लस, बन रणनीतिक योजना लगायतका बिषयमा सहजीकरण गरिएको थियो । समापन कार्यक्रममा महासंघको संघीय परिषद सदस्य नित्यानन्द ताजपुरिया, लखनपुर गाविसका सचिव राजकुमार शाक्य, महिला नेतृ सुमित्रा बाङ्देल लगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण प्रेमराज घिसिङले गरेका थिए । तालिममा माई पश्चिमका गाविसका ६० जना सहभागी रहेको जिल्ला अध्यक्ष पारस मणी राईले बताए ।

फरेन युनाईटेड फाईनलमा प्रवेश

दमक । झापाको दमक १२मा जारी खुल्ला नकआउट फुटबल प्रतियोगिता अन्र्तगत बिहिवारको अन्तिम सेमीफाईनलको खेलमा  मिलन एफसी ए लाई २–१ ले पाखा लगाउँदै फरेन युनाइटेड  फाइनलमा प्रवेश गरेको छ ।
 फरेनका तर्फबाट जर्सी नं.१२ का हरि शेर्माले खेलको १८औं मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। खेलको २२मिनेटमा फरेनका तर्फबाट जर्सी न. ११ का खेलाडीले हेडिङ गरेको बललाई गोल किप्परले बचाउन सफल भए पनि पोल जज्ले उक्त वल गोलमा परिणत गरिदिए संगै फरेन युनाईटेड फाईनल गएको छ ।
मिलन एफसीका तर्फबाट खेलको २७औं मिनेटमा जर्सी न. १७का विवेक कुमालले सान्तवना स्वरुप १गोल फर्काएका थिए।फाईनल खेल यहि आउँदो २३,गते शनिबार मिलन एफसी(वि) दमक–१ र फरेन युनाईटेड बीच हुने आयोजकले जनाएको छ ।

बन्द आँखा अस्पताल पुनः सुचारु

अस्पतालको शुभारम्भ गर्दै प्रजिअ पौडेल, साथमा सभासद सुब्बा
– मनकुमार गदाल 

दमक – पश्चिम झापा र पुर्बोत्तर मोरङको एकमात्र आँखा अस्पताल पाथिभरा नेत्रालयको १० बर्षअघि बन्द भएको सेवा सुचारु हुँदा दमकबासी उत्साहित भएका छन् । दमक १ स्थित आफ्नै भवनमा बन्द रहेको नेत्रालयमा आँखाको उपचारको  सेवा बुधवारबाट शुभारम्भ भएपछि  स्थानिय नागरिकहरु खुशी भएका हुन् । भवन परिसरमा आयोजित कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी तेज प्रसाद पौडेलले नेत्रालयको पानसमा बत्ती बालेर  शुभारम्भ गरेका हुन् । प्रजिअ पौडेलले अरुको मुख ताक्ने भन्दा पनि यस आँखा अस्पताल सबै मिलेर सुचारु गरे  सधैं जिवित रहने बताएका छन् । यसले आर्थिक अवस्था कमजोर भएकाहरुलाई बिरामीलाई सेवा दिनुपर्ने उनले बताए । सभाषद महिन्द्रा कुमारी सुब्बाले दमकबासीले  आँखा अस्पतालको स्तरोन्नति गर्न  सहकार्य गर्नु पर्ने सुझाव दिइन् । नेत्रालयको सेवालाई नमुना बनाउन आफूले सहयोग गर्ने सुब्बाले बताइन् । नेत्रालयले  चश्माको जाँच, दृष्टिको जाँच , प्राथमिक आँखाको उपचार शुरु भएको मेची आँखा अस्पताल अनारमनीका मेडिकल डाइरेक्टर डाक्टर पुरुषोत्तम जोशीले बताए ।  सातामा एक पटक चिकित्सकले सेवा दिने पनि उनले बताए ।  नेत्रालयको ब्यवस्थापन मेची आँखा अस्पताल संघ ,लायन्स क्लव अफ दमक माउण्ट  एभरेष्ट र लायन्स क्लव अफ काठमाण्डौंले गर्ने सम्झौता भएको हो  । ती संस्थाहरुले ५ वर्षका लागि ब्यवस्थापनको जिम्मा लिएका हुन् । लायन्स क्लव माउण्ट एभरेष्टका अध्यक्ष तथा नेत्रालय सहयोग समितिका संयोजक अजय अग्रवालले आँखाका रोगीहरुले पैसाको अभावमा आँखा 
गुमाउनु नपरोस भनेर सेवा दिन आफुहरु लागि परेको बताए ।  लान्यस क्लवका डिष्ट्रिक गभर्नर भीम घिमिरले उर्जाशील युवाहरुको  लागि परेर अस्पतालले सेवा दिने कुरामा फड्को मार्ने बताए ।  लायन्स क्लव अफ काठमाण्डौंका अध्यक्ष बाबुलाल अग्रवालले  आफनो क्लवले  नेत्रालय सञ्चालनमा सक्दो सहयोग गर्ने बताए । आँखा देखाउन आएकी दमक १३ बस्ने दमक मोडल कलेजकी बिद्यार्थी निर्मला शिवाकोटीले आँखाको उपचार शुरु भएपछि सामान्य समस्या देखाउन टाढा जानु पर्ने समस्या हटेको बताए ।  यस सेवालाई निरन्तरता दमकबासी मिलेर दिनु पर्ने उनले जोड दिए । 
शुभरारम्भ कार्यक्रममा नेत्रालयका  ४ जना जग्गादाताहरुलाई सम्मान गरेको छ ।  दमक १ बस्ने  काजीशेर देवान, केन्द्र देवान, डाक्टर हिमाल देवान र दिब्यराज देवानका परिवारलाई  दोसल्ला ओढाएर सम्मान गरेको थियो । देवान परिवारले एक बिगाहा जग्गा दान गरेपछि १२ बर्षअघि फुजी अप्टिकल कम्पनीको आर्थिक सहयोगमा दुई तले पक्की भवन बनेको थियो । स्थापना भएको २ वर्षपछि कमजोर  ब्यवस्थापनका कारण नेत्रालय  बन्द भएको थियो ।  २०६० बैशाख १३ गते तत्कालिन संस्कृति तथा पर्यटन तथा नागरिक उड्ययन मन्त्री कुवेर शर्माले नेत्रालयको समद्घाटन गरेका थिए ।

यही वर्षामा मोटरसाइकलसम्म गुड्ने

कामको अवलोकन गर्दै सडक विभागको टोलिकासाथ नवनिर्वाचित अध्यक्ष पुरी 
दमक । दमक चिसोपानी रवि सडक उपभोक्ता समितिका नवनिर्वाचित अध्यक्ष गगन पुरीको अगुवाईमा बुधबार गएको टोलीले सो सडक निर्माणको काम अनुगमन गरेको छ । पुरीका साथै सडक डिभिजन कार्यालय दमकका प्रमुख रामहरि पोखरेल सहितको प्राविधिक टोलीले सडकको अनुगमन गरेको हो । घर्तीदोभान दक्षिणमा बाँकी रहेको ट्रयाक खन्ने काम पुरानो ठेकेदार पक्षले अगाडि बढाएको र केही दिनमा ट्याक खोलिसक्ने अध्यक्ष पुरीले बताए । उनले यही वर्षामै खोलाको बाटो प्रयोग नगरी सोही बाटोबाट कम्तिमा पनि मोटरसाइकल गुड्न सक्ने दावी गरे । धर्ती दोभानबाट नयाँ ठेकेदारले आफ्नो सम्झौता अनुरुप स्काभेटरमार्फत धर्तीदोभानदेखि लारुम्बाको भञ्ज्याङसम्मको सडकको चौडाई बढाउने काम थालेको पनि उनले जानकारी गराए । त्यहाँको बाटो झण्डै दोब्बर चौडाई बढाएर २१ फिटको बनाई ठूला सवारी साधन समेत एकसाथ दोहोरो आवतजावत गर्न सक्ने बनाइने उल्लेख छ । त्यहाँ लगत्तै ग्राभेलको काम पनि थालिने छ । डीई रामहरि पोखरेलले वर्षाले वाधा नगरेमा असार मसान्तसम्म ट्याक खोल्ने काम सकिने र सडकको पाटोबाट सो बाटोमा नियमित काम भइरहेको जनाए ।

तराईमा गर्मीले ज्यान लियो

सुनसरी । सुनसरीको झुम्कामा अत्याधिक गर्मीबाट एक जना मजदुरको ज्यान गएको छ । इटहरी र झुम्का बजारमा ठेला चलाएर गुजार गर्दै आएका ५५ वर्षीय सजन चौधरीको भासी रामधुनी नपा–५ स्थित झुम्का बजारमा बुधबार दिउँसो ज्यान गएको हो । ठेला लिएर हिँडिरहेका इटहरी–१९ को पकली निवासी उनको ‘आज कस्तो गर्मी छ हौ’, भनेपछि बेहोस भइ लडेलगत्तै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी श्यामसिंह चौधरीले बताए ।
तराईमा केही सातायता बढेको अत्याधिक गर्मीले जनजीवन प्रभावित भएको छ । नेपालगञ्जमा तापक्रम ४३ डिग्रीमाथि पुगेको छ । पूर्वका बिराटनगर, दमक, बिर्तामोड, इटहरी, सहितका सहरमा पनि तापक्रमा ४० डिग्रीनजिक पुगिसकेको छ ।

कुवेत लाँदै गरेका ५ महिलाको उद्धार

मोरङ । विराटनगरबाट भारतको जोगवनी हुँदै गैरकानुनी रुपमा कुवेत लग्न खोजिएका पाँच जना नेपाली चेलीको उद्धार गरिएको छ । विराटनगरस्थित सीमा प्रहरी चौकीका सई विकाश खत्रीको नेतृत्वमा रहेको टोली र केआई नेपाल नामक संस्थाका प्रतिनिधिले संयुक्त रुपमा उनीहरुको उद्धार गरेका हुन् । ललाईफकाई झुक्याएर प्रलोभनमा पार्दै कुवेतमा लगेर रोजगारीमा लगाइदिने भनेर गैरकानुनी रुपमा लगिएका उनीहरुलाई विराटनगर भन्सार कार्यालयको दुई नम्बर ढाटबाट उद्धार गरिएको हो । कुवेत लान भनेर काठमाडौंबाट एकै साथ ल्याइएका १४ जना मध्ये म्याग्दीकी ३८ वर्षीय मनमायाँ कामी, कैलालीकी २१ वर्षीय कोपीला तामाङ, उदयपुरकी २१ वर्षीय सुमिका दनुवार, सप्तरीकी २५ वर्षीय मंगलीदेवी राम र मोरङको पथरी–शनिश्चरे नगरपालिका ८ की दुर्गा राई (जोगी) लाई उद्धार गरिएको इलाका प्रहरी कार्यालय रानीका प्रमुख इन्स्पेक्टर गंगाप्रसाद पौडेलले बताए ।

महिला र बालबालिकामाथिको हिंसा न्यूनिकरणमा जोड

चन्द्रगढी । मानव अधिकारकर्मी विष्णु खरेलले  महिला तथा बालबालिका माथि हुने हिंसा राजनीतिक दवाव र आर्थिक लेनदेनका कारण न्युनीकरण हुन नसकेको बताएका छन् ।
महिला तथा बालबालिका कार्यलय झापाद्वारा चन्द्रगढीमा बुधबार आयोजित महिला तथा बालबालिकामाथि हुने हिंसा बिरुद्धको एक दिवसीय अभियानमा बोल्दै  अधिकारकर्मी खरेलले यस्तो बताएका हुन् ।  उनले सरकारी निकाय जिम्मेवार नबन्दा तथा राजनितिक दलहरुको बढि दबाबका कारण पिडितले समयमा सहि न्याय पाउन नसक्दा पिडकले उन्मुित्त पाउने गरेको बताए । उनले हिँसाजन्य घट्नामा आर्थिक चलखेल समेत हुने गरेकाले यसलाइ तुरुन्त रोक्नुपर्ने सुझाए ।
सहायक जिल्ला न्याधिबक्ता प्रमोद भट्टराइले  हिँसा न्युनीकरणको लागी समाज नै चनाखो बन्नु पर्ने धाराणा राखे । तारा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार माधब बिद्रोही , कानुन ब्याबसायी कमला आचार्य, महिला संघ झापा सभापति शुसिला ढकाल, बालसंगठन झापा अध्यक्ष गोमा भट्टराई, अधिकारकर्मी कबिता शर्मा लगायतले हिँसा न्युनीकरणका लागी कानुन कार्यन्वयनमा जोड दिदै प्रहरी, पत्रकार मानबअधिकारबादी सहितका  सरकारी तथा गैरसरकारी
संघ संस्थाका प्रनिधिहरुले न्युनीकरणका लागी  सक्रिय भएर लाग्नु पर्ने बताए । कार्यक्रममा  संचारकर्मी, कानुन ब्याबसायी, मानब अधिकारबादी, महिला अधिकारकर्मी, सुरक्षानिकायका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।

मोरङका शिक्षकद्वारा १ करोड ३२ लाख

मोरङ । मोरङका शिक्षक तथा जिल्ला शिक्षा कार्यालयका कर्मचारीले भूकम्प पीडितका लागि १ करोड ३२ लाख ६० हजार रुपैयाँ सहयोग गरेका छन् । प्रधानमन्त्री दैवि प्रकोप उद्धार तथा राहत कोषमा सो रकम जम्मा गरिएको जिल्ला शिक्षा कार्यालय मोरङले जनाएको छ । कोषको खातामा रकम जम्मा गरी सोको भौचर मोरङका प्रमुख जिल्ला अधिकारीमार्फत पठाइएको सहायक जिल्ला शिक्षा अधिकारी फडिन्द्र खत्रीले जानकारी दिए । कोषमा शिक्षकले १ करोड ३१ लाख १ हजार १ सय ४३ रुपैयाँ र शिक्षा कार्यालयका कर्मचारीले १ लाख ५९ हजार रुपैयाँ जम्मा गरेका हुन् । शिक्षक तथा कर्मचारीले श्रेणी अनुसार पाँचदेखि दश दिनसम्मको तलब प्रधानमन्त्री कोषमा जम्मा गराएका हुन् ।

उर्लाबारीमा ऐतिहासिक रक्तदान

उर्लाबारी । विनाशकारी भूकम्पमा परी घाईते भएका बिरामीहरुका लागि मोरङ उर्लाबारीको दुई स्थानमा भएको बृहत खुला रक्तदान कार्यक्रममा १ सय ८२ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाईटी उपशाखा उर्लाबारीको संयोजन तथा उर्लाबारी नगरपालिका, न्यू दीपक ज्वेलर्सको मुख्य प्रायोजनमा र संम्पूर्ण सामाजिक संघ–संस्थाको सहयोगमा उर्लाबारी चौक र मंगलबारे चौकमा रक्तदान भएको हो । जसमा ४९ महिला सहित १ सय ८२ जनाले रक्तदान गरेका छन् ।  मंगलबारे चौकमा ६२ जना र उर्लाबारी चौकमा १ सय २० जनाले रक्तदान गरेका थिए । उर्लाबारी क्षेत्रमै पहिलो पटक यति धेरै संख्यामा रक्तदान ऐतिहासिक समेत भएको उर्लाबारी रेडक्रसका संस्थापक संयोजक तेजकुमार रिजालले दावी गरे । रक्त संचार सेवा केन्द्र विराटनगरको प्राविधिक सहयोगमा रक्तादान भएको हो ।

मिलन एफसी बिजयी

दमक । दमक १२ मा जारी फुटवल प्रतियोगिताको बुधवार भएको खेलमा मिलन एफसी बी बिजयी भएको छ । उसले  टाइव्रेकरमा ४–२ गोल अन्तरले आयोजक भिएफसीलाई हराएको हो ।
खेलको  निर्धारित समयमा दुवै टिमले १।१ गोल गरेका थिए । मिलनको तर्फबाट खेलाडी कृष्ण श्रेष्ठले एक गोल गरेका थिए । आयोजकको तर्फबाट सन्तोष न्यौपानेले एक गोल गरेपछि दुवै टिमको वराबरी भएको थियो । थप १० मिनेटको अवधिमा कुनै पनि गोल नभएको आयोजकले जनाएको छ । बिहिवारमिलन एफसी ए र फरेन युनाइटेड बीच अन्तिम सेमीफाइनल खेल हुने आयोजक समितिका अध्यक्ष सुरेश बस्नेतले बताए ।

पीडितको सहयोगमा नेपाल र भारतबीच फुटबल

विर्तामोड । झापा जिल्ला फुटबल संघले भूकम्प पीडितलाई सहयोगका लागि विर्तामोडमा नेपाल र भारतबीच मैत्रीपूर्ण फुटबल खेल आयोजना गर्ने भएको छ ।
मुलुककै चर्चित क्लव बन्न सफल झापा ११  र भारतको राष्ट्रिय टिमका कप्तान सुनिल क्षेत्रीको नेतृत्वको टीमबीच जेठ ३२ गते मैत्रीपूर्ण खेल हुने भएको हो ।  भारतको राष्ट्रिय लिग सकिएको समयको अनुकुल पारेर खेल गराउन लागिएको झापा जिल्ला फुटबल संघका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिएका छन् । राष्ट्रिय लिगमा १६ अंकका साथ शीर्ष स्थानमा रहेको झापा ११ र भारतका कप्तान क्षेत्री नेतृत्वको टीमको खेल हेर्न १५ हजार जना फुटबलप्रेमीको उपस्थिति रहने अपेक्षा रहेको अध्यक्ष गरुङले बताए । झापाको फुटबल क्षेत्रले पनि भूकम्प पीडितका लागि केही गरौं भन्ने उद्देश्यले मैत्रीपूर्ण र रोमाञ्चक खेलको आयोजना गरिएको र सो खेलमा भारतका चर्चित खेलाडी भाइचुङ भुटिया समेत सहभागी हुने उल्लेख छ ।  नेपालको राष्ट्रिय लिग चलिरहेकै समयमा बैशाख १२ गते पहिलो पटक विनासकारी महाभुकम्प गएको थियो । सो दिन झापाको डोमालाल रंगशालामा झापा ११ र मोरङ फुटबल क्लवबीच राष्ट्रिय लिगको खेल भइरहेको थियो । भूकम्पका कारण त्यसपछिका राष्ट्रिय लिगका खेल स्थगित भएका छन् ।