हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

अध्यक्ष जित्ने दुबै पक्षको दावी

अध्यक्षका २ उमेद्वारहरु भोट माग्दै

दमक । दमक चिसोपानी रवि (फाल्गुनन्द मार्ग) सडक उपभोक्ता समितिको नेतृत्वमा उठेका दुबै प्यानलले अध्यक्ष सहितको नेतृत्व जित्ने दावी गरेका छन् । कांग्रेस एमालेको गठबन्धन तथा एमाओबादी सहितका साना दलहरुको गठबन्धनले शुक्रबार र शनिबार भएको मतदानमा आफ्नो उमेद्वारहरुले जित्ने दावी गरेका हुन् । मतदान सकिएपछि कसले जित्ने भनेर अन्योल भइरहेका बेला गठबन्धनका नेताहरुले आफ्नो गठबन्धनको पक्षमा धेरै मत खसेको भन्दै त्यस्तो दावी गरिरहेका छन् । अध्यक्षमा कांग्रेस एमालेको गठबन्धनबाट प्रकाश बुढाथोकी र एमाओबादी र साना दलहरुको गठबन्धनबाट रेवतराज पुरी (गगन) सहितको उमेद्वारहरुको प्यानल नै चुनावी मैदानमा उत्रिएको छ । 
कांग्रेस एमाले गठबन्धनले आफुहरुले अध्यक्ष सहित प्यानलै जित्ने दावी गरेको छ । तर एमाओबादी गठबन्धनले अध्यक्षमा आफ्नो उमेद्वारले जित्ने र अन्य पदहरुमा मिश्रित परिणाम आउने बताएको छ । कांग्रेस दमक नगर समितीका सभापति ढुण्डीराज भण्डारीले अध्यक्षमा बुढाथोकी सहित पुरै प्यानलै जित्ने दावी गरे । उनले भने:  बाहिर हल्ला गरेजस्तो माहौल छैन, अध्यक्ष सहितका सबै पदाधिकारी र सदस्यहरुमा हामी जित्छौ । भण्डारीले एमाओबादी सहितका साना दलका केही मतहरु पनि आफ्नो पक्षमा खसेको दावी गरे । एमाओबादीका दमक नगर इन्चार्ज रमेश गुरागाईले अध्यक्षमा पुरीले सहजै जित्ने दावी गरे । उनले ब्यक्तिगत सम्पर्क र गठबन्धनको एकताका कारण पुरीको पक्षमा जित्ने मत आउने बताए । तर पदाधिकारी र सदस्यमा भने मिश्रित नजिता आउनसक्ने गुरागाईले उल्लेख गरे ।  
दुई दिन भएको निर्बाचनमा दुबै गठबन्धनमा रहेका सबै दल र उमेद्वारहरु आफ्नो पुरै शक्ति लगाएर मत माग्न हिडेका थिए । दमकस्थित रेडक्रस हलभित्र मतदान भइरहदा रेडक्रस परिसरमा दुवै पक्षका उम्मेदवारहरुलाई जिताउन भोट माग्न ब्यस्त रहेका थिए ।  अध्यक्षका उम्मेदवार प्रकाश बुढाथोकीको समुह  र  रेवतराज पुरीको समुह मतदाताहरुलाई आफनो पक्षलाई मतदान गर्न आग्रह गरीरहेका थिए । उपभोक्ता समितिको अध्यक्ष सहितका ९ पदाधिकारीका लागि १८ जना उम्मेदवारले निर्वाचन लडेका छन ्।  कार्यसमितिको ११ जना  सदस्ययहरुको लागि २३ जना चुनावी मैदानमा छन् ।
यसैगरी कार्यसमितिको ३ महिला सदस्यका लागि ६ जना उम्मेदवार छन् । स्थानीय निकायको निर्बाचनको झल्को दिने गरि उमेद्वार र नेताहरु शक्ति देखाउदै खटिएका थिए । सत्तारुढ दलका तर्फबाट उठेका अध्यक्ष उमेद्वार बुढाथोकी हारे नकरात्मक सन्देश जाने भन्दै कांग्रेस एमाले नेतृत्व आफ्ना उमेद्वारलाई जिताउन धेरै खटेको देखिन्थ्यो । सत्तारुढ दलको उमेद्वारलाई परास्त गर्न एमाओबादी सहितका साना दलहरु झनै सकृय थिए । सबै दलहरु गठबन्धन गरेर दुई समुहमा निर्बाचनमा गएकाले दुबै पक्षका दलका नेताहरु जित आफ्नो पक्षमा पार्न छलफल, कोठे बैठक र प्रचार प्रसारमा ब्यस्त थिए । उमेद्वारहरु दमकमा हुने मतदान स्थलमा मतदातासमक्ष फोटोसहितको नाम गलामा झुन्ड्याई सयौं प्रसार सामग्री लिएर भोट मागेका देखिन्थे । उमेद्वारहरुसंगै कांग्रेस, एमाले, एमाओबादी, संघिय समाजबादी, राप्रपा, लिम्बुवान, जनमुक्ति लगायतका दलका नेतादेखि कार्यकर्ताहरु दिनभर मतदानस्थलमा खटिएका थिए । पहिलोपटक निर्बाचन भएकाले अध्यक्षमा बुढाथोकी र पुरीमध्ये कसले जित्छ भनेर जिज्ञासा राख्ने धेरै देखिन्थे । दुबै पक्षले अन्य पदबाहेक अध्यक्षमा आफ्नै उमेद्वारले जित्ने दावी भने गर्न छोड्दैनथे ।

नतिजा आज आउने 
मतगणनाको अन्तिम परिणाम आज (आइतबार) सार्बजनिक हुने भएको छ । शुक्रबार इलामको बाँझोस्थित खलंगे बिद्यालय र शनिबार दमकस्थित रेडक्रस भवनमा भएको निर्बाचनमा ९ सय ६७ मत खसेको छ । कुल मतदाता ११ सय ३ जना थिए । मतदान सम्पन्न भएपछि शुरु भएको मतगणनाको नतिजा भने आइतबार बिहानमात्र सार्बजनिक हुने निर्बाचन समितीका संयोजक बिश्वदिप लिङ्देनले जानकारी दिए । उनले मतपरिणाम आइतबार बिहान ११ बजेपछिमात्र आउने बताए । मतदान सकिएपछि शनिबार राती १० बजेपछिदेखि मतगणना शुरु भएको निर्बाचन समितीले जनाएको छ । त्यसअघि मतगणनामा खटिएका दल र उमेद्वारहरुका प्रतिनिधिबीच आचारसंहिता बनाउन ब्यस्त भएका कारण मतगणना शुरु गर्न ढिला भएको छ । उमेद्वारहरु ४७ जना र खसेको मत ९६७ खसेकाले पनि मतगणनाको नतिजा आउन ढिलाई हुने अवस्था देखिएको हो । मतगणमा दुबै गठबन्धनका तर्फबाट ९÷९ जना र स्वतन्त्र उमेद्वारका २ गरि २० जना प्रतिनिधी खटिएका छन् ।

युवतीको हत्या गर्ने २ पक्राउ

पक्राउ परेका २ हत्याका अभियुक्तहरु

काकडभिट्टा । झापाको काँकडभिट्टास्थित सिलोङ होटलमा एक युवतीको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  चितवनको चैनपुर ६ घर भई हाल काँकरभिट्टा बजारमा सिलोङ्ग होटल संचालन गरी बस्ने श्याम लामाको छोरा बर्ष २५ को विजय लामा र  काभ्रे घर भई काठमाण्डौ सुकेधारा बस्ने प्रेम तामाङको छोरा बर्ष २० को कुमार तामाङ छन् । बिर्तामोड नगरपालिका वडा नं. ०६ बस्ने मन्दिरा बि.क.लाई घाँटीमा धारीलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।  ती युवतीलाई हत्या गरी फाल्न लागेको अवस्थामा इलाका प्रहरी कार्यालय काँकडभिट्टाले पक्राउ गरेको छ । मृतक युवती २० वर्षीया मन्दिरा विक केही दिनदेखि त्यही होटलमा बस्दै आएकी थिइन् । ती युवतीलाई राति ११ बजे चक्कुले घाँटी रेटेर हत्या गरी मेचीनगर नगरपालिका–१० स्थित फोहोर पानी बग्ने ठाउँमा १ बजे फाल्ने क्रममा प्रहरीले फेला पारेको थियो ।

दुर्घटनामा दुई सहचालकको, मृत्यु, १८ घाइते

सुनसरी । सुनसरीको भरौल र सिरहाको बडहरामाल गाविसमा ट्याक्टरले किचेर दुई जना सहचालकको मृत्यु भएको छ । सुनसरीको भरौल ५ मा शुक्रबार साँझ साढे ५ बजे अनटेष्ट ट्याक्टरबाट खसेर सोही ट्याक्टरका सहचालक सुनसरी रामधुनीभासी नगरपालिका १ बस्ने २१ वर्षिय सुघम उरावको मृत्यु भएको हो । स्थानीय सर्दु खोलाबाट ढुङ्गा लिएर आउदै गर्दा उनी अचानक ट्याकटरबाट खसेपछि पछाडिको चक्काले किचेको थियो । गम्भिर घाइते भएका उनको धरानस्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा साँझ ७ बजे मृत्यु भएको हो । यस्तै सिरहाको बडहरामाल ४ खैर टोलस्थित खेतमा ट्याक्टरबाट माटो झार्ने क्रममा डालाले किचेर सहचालक बडहरामाल ४ बस्ने २० वर्षिय सुबास सदाको मृत्यु भएको छ । ट्याक्टरबाट माटो झार्नका लागी डाला पल्टाउँदा डालाले उनलाई थिचेको थियो । उनको घटनास्थलमै मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ । दुबै घटनाका ट्याकटर चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै सप्तरीको बकुधुवामा शनिबार बिहान पोखराबाट काँकडभिट्टा आउदै गरेको रात्री बस दुर्घटना हुँदा बसमा सवार १८ जना यात्रु घाइते भएका छन् । बिहान करिब साढे १ बजे मे १ ख १५५३
नम्बरको रात्री बस अनियन्त्रित भई पूर्वपश्चिम राजमार्ग अन्र्तगत बकधुवा ९ स्थित सडक किनारमा रहेको आँपको रुखमा ठोक्किएको थियो । दुर्घटनामा १८ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घाइते मध्ये चालकसहित चार जनाको अवस्था गम्भीर रहेको छ ।

उद्योग ब्यावसायी महासंघको क्षेत्रिय नेतृत्व चयन

दमक । नेपाल उद्योग तथा ब्यवसायी महासंघको भेलाले शनिबार दमकमा पूर्वाञ्चल क्षेत्रीय कमिटी गठन गरेको छ । नेकपा एमाले निकट ब्यवसायीहरुको महासंघको भेलाले पूर्वाञ्चल क्षेत्रीय कमिटीको संयोजकमा एलपी सावा चयन भएका छन् । भेलाले मेची र कोशीमा पनि नेतृत्व चयन गरेको छ । मेचीमा संयोजक श्रीप्रसाद मैनाली, सहसंयोजक गणेश बहादुर बस्नेतलाई चयन गरेको छ । कोशी संयोजकमा उमेश पौडेल चयन भएका छन् भने सगरमाथामा नेतृत्व चयन गर्न बाकी छ । सदस्यहरुमा भोला उप्रेती, तारा घिमिरे, सन्तोस खतिवडा, राजकुमार श्रेष्ठ, रणबहादुर खड्का, मोहनप्रकाश उप्रेती, त्रिलोचन सापकोटा, समा पौडेल, संजय तुम्बाहम्फे, गोविन्द थापा र देवी ओझा चयन भएका छन् । भेला नेकपा एमाले स्थाई समिति सदस्य मुकुन्द न्यौपानेको प्रमुख आतिथ्य, एमाले केन्द्रिय सदस्य हिक्मत कार्की अतिथी, महासंघका केन्द्रिय अध्यक्ष लक्ष्मीदाश मानन्धरको अध्यक्षतामा भएको हो ।

पाँचथरमा भूकम्पीय पृथ्वी शान्ति महायज्ञ

पाँचथर । बैशाख १२ गते र त्यसपछि पटक पटक गएका भूकम्पका कारण ज्यान गुमाएकाहरुको आत्माको शान्ति तथा घाइतेहरुको स्वास्थ लाभ कामना गर्न पाँचथरको जोरपोखरीमा भूकम्पीय पृथ्वी शान्ति महायज्ञको आयोजना गरिएको छ । पाँचथर उद्योग वाणिज्य संघ र पाँचथर वहुमुखी क्याम्पस सहित १४ वटा सामाजिक संघ संस्थाहरुको संयुक्त आयोजनामा महायज्ञ आयोजना गरिएको हो ।
व्रह्मयोगाश्रम सिद्धस्थल र फाल्गुनन्द मन्दिर परिषरमा आयोजित महायज्ञमा बैशाख १२ गते भूकम्प गएकै समय पारेर विहान ११ वजेर ५६ मिनेट जाँदा भुकम्पका कारण ज्यान गुमाएका व्यक्तिको आत्मा शान्तिको कामना गर्न १ हजार ८ वटा दीप प्रज्वलन गरिएको थियो । त्यसपछि पृथ्वी शान्तिका लागि १ सय ८ वटा गाईको दुध र सातवटा समुद्रवाट ल्याइएको जलले रुद्राभिषेक गरिएको थियो ।
महायज्ञमा जिल्लाका विभिन्न स्थानवाट आएका व्राह्मणहरुले स्वस्ती शान्तिसँगै पाठ पारयण गर्नुका साथै भजन किर्तन लगायतका कार्यक्रम पनि सम्पन्न गरिएको थियो । मृतक परिवारको आत्मा शान्ति घाइतेहरुको स्वास्थ्य लाभ र घरवार विहिन भएका परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्नुका साथै विनासकारी भुकम्प जस्ता दैवि विपति नदोहोरिउन् भन्ने उद्धेस्यले महायज्ञको आयोजना गरिएको आयोजक संस्था मध्ये पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष मित्रप्रसाद काफ्लेले वताए । महायज्ञमा जिल्लाका विभिन्न स्थानवाट आएका हजारौं सर्वसधारण सँगै संविधान सभा सदस्य गणेशकुमार काम्वाङ, जिल्ला न्यायधिस माधवप्रसाद अधिकारी, कांग्रेस जिल्ला सभापति नरेन्द्रकुमार केरुङ, एमाले अध्यक्ष राजकुमार भण्डारी सहित राजनैतिक दलका नेता कार्यालय प्रमूखहरु, सामाजिक संघ संस्था र नागरिक समाजका प्रमूख तथा प्रतिनिधि उपस्थित थिए ।

वृद्धवृद्धाको पक्षमा धरमपुरमा बृहत भेला

झिलझिले । वृद्धावृद्धहरुलाई घृणा होइन माया र सम्मान गरौं भन्ने सन्देशका साथ जेष्ठ नागरिक समाजले शनिबार झापाको धरमपुरस्थित मंगलबारे बजारमा भेलाको आयोजना गरेको छ । भेलालाई सम्बोधन गर्दै जेष्ठ नागरिक समाज झापाका उपाध्यक्ष तथा पुर्वसासंद तारासम योङ्याले बिभेद रहित समाज स्थापना गर्न आजको आवश्यकत्ता रहेको औल्लाए । उनले वृद्धावृद्ध र अशक्त भएपछि जेष्ठ—नागरिकहरुलाई घृणा र तिरस्कृत गरिने गरेकोमा दुख्ख प्रकट गरे । समाजका अध्यक्ष खडानन्द घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति समेत रहेका योङ्याले देशभरका जेष्ठ नागरिकहरु संस्थागत रुपमा एकृकित भएर जुट्न आग्रह गरे । उमेर र वैश रहुन्जेल समाजलाई अथक योगदान दिएको कथन सुनाउदै योङ्याले ति योगदानको उच्च सम्मानका साथ ६० बर्ष नाघेकालाई मासिक भत्ता, स्वास्थ्य र यातायातमा ५० प्रतिशत छुट गराउइनु पर्ने माग समेत गरे ।
समाजका शिवसताक्षी नगरसमितिका सचिव तथा पुर्वप्राध्यापक पदमप्रसाद दाहालले उमेर र स्वास्थ्यको हिसवाले वृद्धावृद्धहरु अशत्त र कमजोर हुने भएकोले उनीहरुलाई सरकारी सेवा सुबिधामा बिशेष ध्यान दिइनुपर्ने माग गरे । एक बर्षअघि गठित सो समितिले धरमपुरभित्र रहेका सवै वडाहरुमा ६० बर्ष नाघेका जेष्ठ नागरिहरुको तथ्याङक संकलन गरिरहेको अध्यक्ष खडानन्द घिमिरेले बताए । उनले गाविस कार्यालयवाट मासिक भत्ता लिन जेष्ठ नागरिकहरुलाई गाह्रो भएको अवस्थामा सहयोग समेत पुर्याइरहेको जानकारी दिए । उपाध्यक्ष गोपाल उप्रेतिको स्वागत रहेको कार्यक्रममा ताराप्रसाद गौतमले संचालन गरका थिए ।

नेता र पत्रकारलाई पितृशोक

विर्तामोड । नेपाली कांग्रेस झापाका सभापति उद्धव थापालाई पितृ शोक परेको छ । थापाका पिता हेम बहादुर थापाको ९१ वर्षको उमेरमा शुक्रवार  राती ९ बजे मृत्यू भएको हो । थापाको शवलाई शनिवार  दिउसो ११ बजे कन्काई माईमा अन्त्येष्टी गरिएको छ । थापाको शवमा उहाँका छोरा कांग्रेस जिल्ला सभापति उद्धव थापाले दागबत्ती  दिएका थिए । फोक्सोको खराबीका कारण थापाको शनिअर्जुन नगरपालिका २ स्थित निजी निवासमा शुक्रवार मृत्यु भएको थियो  ।
शव यात्रामा ठुलो संख्यामा कांग्रेस  कार्यकर्ताहरु सहित सभासद्हरु महेन्दा्र सुब्बा , मनकुमार गौतम , भक्त खपाङ्गीको समेत उपस्थिति रहेको थियो । शव यात्रामा अन्य राजनितिक पार्टी नेता , कार्यकर्ताहरु सहित एमाले अध्यक्ष चिन्तन पाठक , राप्रपा नेता राजेन्द्र लिङदेन लगायत ५ हजार भन्दा बढी मलामीहरुको सहभागिता रहेको स्थानिय पत्रकार एवम्  थापाका छिमेकी दिपिन राईले जानकारी दिए ।
त्यसैगरी झापा भद्रपुरका युवा पत्रकारद्धय उत्तम नेपाल र राजन नेपाललाई पितृशोक परेको छ । उत्तम ब्लाष्ट टाइम्स दैनिकका पत्रकार हुन् भने राजन प्रतिदिन दैनिकमा भद्रपुरबाट लेख्छन् । नेपालद्धयका पिता ८२ बर्षिय कृष्णभक्त नेपालको शनिवार बेलुका साढे ४ बजे भद्रपुर १५ स्थित आप्mनै निवासमा निधन भएको हो । विगत केही बर्षदेखि दुवै मृगौला काम नलाग्ने भएपछि भद्रपुर पश्चात काठमाडौमा बसेर उपचार गराएका थिए । उनको उपचार त्यहा पनि सम्भव नभएपछि अस्पतालले घर फर्काएको महिना दिन नबित्दै उनको निधन भएको परिवारजनले बताएको छ ।

भट्टराईले गरे गोठ र भुमि पुजा

दमक । भट्टराई कुल वंश प्रतिष्ठान दमक नगर शाखा समितिले शनिबार गोठ पुजा र भुमि पुजा गरेको छ । प्रतिष्ठानको केन्द्रिय कार्यालय परिशर दमक १६ मा पुजा सम्पन्न भएको हो । उभौली र उधौली गरि बर्षमा दुईपटक गरिने गोठ पुजा अहिले उभौली गरिएको हो । दमक क्षेत्रभित्र रहेको भट्टराई र अन्य गरेर १५० भन्दा धेरै परिवारको सहभागिता रहेको थियो । त्यसैगरि गत बैसाख १२ गते गएको महाभूकम्प र त्यस पछिका बारम्बार आईरहेका पराकम्पका कारण मुलुक ठुलो बिपदमा परेको र बर्खाको समयमा हुने बाढी पहिरो लगायत अनिस्टबाट मुलुकलाई जोगाउन धार्मिक बिधि अनुसार भुमि पुजा समेत गरिएको नगर शाखा अध्यक्ष के.पि. भट्टराईले जानकारी दिए । भुमि पुजामा बशिष्ठ संस्कृत गुरुकुलका ११ जना बटुकहरुले रुद्रि , चण्डि पाठ गरेका थिए । साथै मुलुकलाई दैबि बिपत्ति बाट जोगाउन होमादि समेत गरिएको शाखा उपाध्यक्ष कृष्ण भट्टराईले जनाए ।

शरणामतीमा २४ ज्येष्ठ नागरिकलाई सम्मान

सुरुङ्गा । झापाको शरणामतीमा ज्येष्ठ नागरिकहरुको सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला विकास समिति झापा, ज्येष्ठ नागरिक जिल्ला संघ तथा ज्येष्ठ नागरिक गाउँ समिति शरणामतिको संयुक्त आयोजना तथा प्रवासी शरणामति प्रगतिशील युवा समूहको सहयोगमा भएको कार्यक्रममा २४ ज्येष्ठ नागरिकहरुलाई नगद तथा दोसल्ला ओढाई सम्मान गरिएको ज्येष्ठ नागरिक जिल्ला संघ झापाका अध्यक्ष भवानी प्रसाद दाहालले जानकारी दिए । सम्मानित हुनेहरुमा काशीनाथ चुडाल, गुमानसिंह घतानी, विष्णुप्रसाद प्रसाईं, हरिमाया उप्रेती, वीरेन मेचे, अमृतमाया भट्टराई, धनबहादुर लिम्बू, कृष्णमाया चौलागाईं, दुलकी हेमरन, रत्नबहादुर खत्री, बलबहादुर डाँगी, बुधनी कोच, तालामई हेमरन, दिलमाया राई, लालमन विक, बहरुद्दिन सेख, बुधलाल गणेश र जंगीलाल कोच रहेका ज्येष्ठ नागरिक जिल्ला संघ झापाकी उपाध्यक्ष भागिरथा चापागाईं (शान्ता) ले बताइन् । त्यस्तै रामलाल गणेश, हर्कमाया कार्की, अकलनाथ दाहाल, गौरीमाया लिम्बू, कम्पीदेवी गोसाई र बोलोराम मण्डललाई युवा समूहले सम्मान गरेको थियो । समूहले स्थानीय जनता उमावि कक्षा ११ मा अध्ययनरत उत्कृष्ट छात्रछात्रा सरितामणि त्रिपाठी, भरत प्रसाद उप्रेती र कृष मुर्मूलाई पनि सम्मान गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि उप्रेती, ज्येष्ठ नागरिक जिल्ला संघ झापा अध्यक्ष दाहाल, सचिव जयप्रसाद संग्रौला लगायतले ज्येष्ठ नागरिकका हकहित र अधिकारका पक्षमा बोलेका थिए ।

एमालेको महारानीझोडामा नयाँ नेतृत्व

महारानीझोडा । नेकपा एमाले महारानीझोला गाउँ कमिटीको १४ औ अधिवेशनले दुर्गामणी बस्नेतलाई अध्यक्ष चयन गरेको छ । गाउँ कमिटीको उपाध्यक्षमा फडिन्द्र धमला, सचिवमा भीम निरौला र उपसचिवमा कृष्ण बस्नेत सर्वसम्मत चयन हुन भएका छन् । याम बहादुर श्रेष्ठ , रामबहादुर बिक ,चन्द्रकला थापा, अनिता कटुवाल, गोमा सुवेदी, भागीरथा भुजेल , हरि पौडेल सहित २१ सदस्यीय गाउँ कमिटी चयन भएको एमाले क्षेत्रीय कमिटी क्षेत्र नम्वर ६का सचिव नगेन्द्र भण्डारीले जानकारी दिए ।
त्यसैगरी नेकपा एमाले दमक १६ को वडा कमिटीको १२ औं अधिवेशनले  कुवेर भट्टराई अध्यक्ष चयन गरेको छ । उपाध्यक्षमा अम्विका सिटौला , सचिवमा तुलसी फूयल र उपसचिवमा केसरी भण्डारी  चयन भएका छन् । सदस्यहरु चटक लाल धिमाल, केसेलाल धिमाल, कुमार सुब्बा, पवित्रा न्यौपाने, दुर्गादेवी पोखरेल, सुन्दर बाह्कोटी चयन भएका छन् । त्यस्तै खिमलाल ढकाल, सुन्दर बाह्रकोटी  लगायतका १७ सदस्यीय कमिटी चयन गरेको दमक नगर सदस्य झसराज ढकालले जानकारी दिए ।

पाँचौ पटक पनि फिफा अध्यक्षमा ब्लाटर

एजेन्सी । सेप ब्लाटर पाँचौ पटक फिफाको अध्यक्षमा निर्वाचित भएका छन् । भ्रष्टाचारको आरोपमा फिफाका सात उच्च अधिकारी पक्राउ गरेकै बेला भएको चुनावमा ब्लाटरले जोर्डनका राजकुमार अली बिन अल हुसेनलाई पराजित गरे । यद्यपि पहिलो राउण्डमा भएको चुनावले नजिता दिएन । चुनाव जित्न कुल मत २०९ को दुई तिहाई अर्थात १४० मत आवश्यक थियो ।
तर, ब्लाटरलाई ७ भोट पुगेन । दोस्रो चरणको मतदानमा भने सामान्य बहुमतका आधारमा विजयी हुने भएकाले अल हुसेनले आफ्नो नाम फिर्ता लिए । पाँचौ पटक अत्यक्ष भएपछि ब्लाटरले फिफामा अहिले देखिएको विवादमा आफूलाई जिम्मेवार देखाउन खोजिएको भएपनि त्यसको कुनै परवाह नरहेको बताए । आफ्नो कार्यकाल पुरा हुँदा एक जिम्मेवार उत्तराधिकारीलाई एक मजबुत संस्था छाडेर जाने उनले बताए । ब्लाटरविरुद्ध लडेका जोर्डनका राजकुमार अलीले चुनावी परिणाम परिर्वतनको पहिलो कदम भएको प्रतिकृया दिए ।

आफ्ना जिताउन सबै दौडधुपमा

दमक । दमक चिसोपानी रवि सडक उपभोक्ता समितिको नेतृत्व चयनका लागि शुक्रबार मतदान शुरु भएको छ । पहिलो दिनको मतदान इलामको बाझोको खलङ्गे स्कुलमा भएको छ । त्यहा भएको मतदानमा १ सय ३७ मत खसेको निर्बाचन समितीका सदस्य लिला गुरागाईले जानकारी दिए ।  बिहान ८ वजेदेखि शुरु भएको मतदान दिउसो ४ वजे सकिएको थियो ।  मतदान केन्द्रमा २ सय ६९ मतदाता रहेको निर्वाचन समितिले जनाएको छ  । खलंगे स्कुलको मतदान केन्द्रमा खसेको मत सिलबन्दी गरेर साझ दमक ल्याएर  इलाका प्रहरी कार्यालयमा राखिएको छ । दोस्रो दिनको मतदान आज दमकस्थित नेपाल रेडक्रस सोसाइटी उपशाखाको भवनमा हुदै छ । मतदानको सम्पुर्ण तयारी पुरा भएको र मतदान बिहान ७ देखि अपरान्ह ४ बजेसम्म हुने समितिका सदस्य गुरागाईले जनाए । मतदान हुदै गर्दा दुबै पक्षका उमेद्वारहरु जित आफ्नो पक्ष्ँमा पार्न मतदाताहरुलाई भेट्न दौडधुपमा ब्यस्त छ । अध्यक्ष्ँका उमेद्वारद्धय प्रकाश बुढाथोकी र रेवतराज पुरी (गगन) को प्यानलमा रहेका उमेद्वारहरु र राजनितीक दलका स्थानीय नेता कार्यकर्ता दौडधुपमा छन् । कांग्रेस एमाले बुढाथोकी तथा एकिकृत माओबादी सहितका साना दलहरु पुरीलाई जिताउन लागेका छन् । मतदान संगसंगै बुढाथोकी र पुरी प्यानल आ आप्mना प्यानलले सहज जित्ने दावी गर्दै हिडेका छन् । दुबै पक्षको प्यानल नै उमेद्वारहरु भएकाले दुबैले पक्षले आफ्ना उमेद्वारहरुले जित्ने दावी गरेका छन् । दलका नेतादेखि कार्यकर्ताहरु आफ्ना उमेद्वारलाई जिताउन आफ्नो पुरै शक्ति लगाएर हिडेका छन् । स्थानीय निकायको निर्बाचनको झल्को दिने गरि उमेद्वार र नेताहरु शक्ति देखाउदै खटिएका छन् । सत्तारुढ दलका तर्फबाट
 उठेका अध्यक्ष उमेद्वार बुढाथोकी हारे नकरात्मक सन्देश जाने भन्दै कांग्रेस एमाले नेतृत्व आफ्ना उमेद्वारलाई जिताउन सकृय छ । सत्तारुढ दलको उमेद्वारलाई परास्त गर्न एमाओबादी सहितका साना दलहरु झनै सकृय छन् । लामो समय सत्तारुढ दलका पक्षबाट मात्र समितिको नेतृत्व लिएको ठहर गर्दै यो गठबन्धन जसरी पनि सत्तारुढका उमेद्वारलाई हराउने दाउमा छ । दुबैले जित्ने दावी गरेपनि निर्बाचन परिणाम मिश्रित आउने अनुमान गरिएको छ । पहिलोपटक निर्बाचन भएको, मतदाता र उमेद्वारहरु तराई र पहाडका भएकाले नतिजा मिश्रित आउने अनुमान गरिएको छ । सबै दलहरु गठबन्धन गरेर दुई समुहमा निर्बाचनमा गएकाले दुबै पक्षका दलका नेताहरु जित आफ्नो पक्षमा पार्न छलफल, कोठे बैठक र प्रचार प्रसारमा ब्यस्त छन् । उमेद्वारहरु दमकमा हुने मतदान स्थलमा मतदातासमक्ष फोटोसहितको नाम गलामा झुन्ड्याई सयौं प्रसार सामग्री लिएर आउने तयारीमा छन् ।

चतरामा तयार भयो कोसी ब्यारेजको विकल्प

सुनसरी । कोसी व्यारेजको विकल्प सप्तकोसीमा अर्को पक्की पुलको निर्माण गरिएको छ । सुनसरीको चतराघाट र उदयपुरको मैनामैनी जोड्ने पक्की पुलको निर्माण ९८ प्रतिशत पूरा भएको छ । तोकिएको समय आगामी जुन ३० मै पुल निर्माण पुरा गरी उद्घाटन गरिने जानकारी कम्पनी कालिका कन्ट्रक्सनले प्रालिले दिएको ।
चतरामा पुल बनेपछि सुनसरीको प्रसिद्ध धार्मिकस्थल बराहक्षेत्र दर्शन गर्न आउने तीर्थालुलाई समेत सहज हुने छ । पूर्व–पश्चिम राजमार्ग जोड्ने कोसी व्यारेजको विकल्पका रुपमा यो पुल बनाइएको हो । पुलको ९८ प्रतिशत निर्माण पूरा भएको कालिका कन्ट्रक्सनको सप्तकोसी पुल निर्माण परियोजना प्रमुख इन्जिनियर छत्र अर्यालले जानकारी दिए । २०६५ भदौ २ गते सप्तकोसी कटानका कारण पूर्व–पश्चिम राजमार्ग अबरुद्ध भएपछि सरकारले कोसी व्यारेजको विकल्पमा यो पुल निर्माण थालेको हो । सप्तकोसीमा पक्की पुल बनेपछि पूर्वी नेपालका सुनसरी, उदयपुर, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम र संखुवासभा लगायतका बासिन्दालाई आवत जावतमा सहज हुने छ । नेपाल सरकारको ७९ करोड १४ लाख रुपैयाँमा निर्माण सुरु उक्त पक्की पुल २ सय ६१ मिटर लामो छ । वारी र पारीको पिलरको आरसीसी पुरा गरी ९८ प्रतिशत निर्माण सम्पन्न भएको पुलमा ढलान गर्न मात्र बाँकी रहेको अर्यालले बताए । सुनसरीको बराहक्षेत्र र उदयपुरको मैनामैनी जोडने यो पुल तयार भएपछि सुनसरीको धरान, धनकुटा, भोजपुर, तेह्रथुम र संखुवासभावासीलाई बर्दिवास, सिन्धुली हुँदै काठमाण्डौं आवतजावत गर्न सहज हुने चतराका स्थानीय तिर्थ सिग्देलले बताए । पुल निर्माण पूरा हुनै लाग्दा चतरा, उदयपुरको मैनामैनी, रामपुर ठोक्सिला, बसाहा, फत्तेपुर लगायतका स्थानमा घरजग्गाको भाउ समेत बढ्न थालेको छ ।

शान्ति सुरक्षा मजबुत पार्न छलफल

दमक । दमकको दक्षिणी भेगको शान्ति सुरक्षालाई मजबुत पार्ने बिषयमा दमक १८ मा शुक्रबार छलफल भएको छ । सानो बाह्रघरे सामुदायिक अध्ययन केन्द्र दमकद्धारा आयोजित कार्यक्रममा घरेलु हिंसा, यौनदुब्र्यवहार , लागुपदार्थ, साधसिमानाको झगडा लगायतका विषयमा छलफल गरेको हो । इलाका प्रहरी कार्यालय दमकका डिएसपी ईश्वर कार्कीले शान्ति सुरक्षालाई प्रभावकारी बनाउन आफु लागिपरेको र त्यसमा नागरिकले सहयोग गर्नु पर्ने बताए । सहभागी मध्येकी डुकादेवी निरौलाले घरभित्र हुने घरेलु हिंसा पिडितले न्यायका लागि कहाँ गएर उजुरी दिने भन्ने प्रश्नमा  कार्कीले प्रहरी कार्यालयमा आएर उजुरी हाल्न सकिने बताए । छलफलमा पूर्व वडाअध्यक्ष खगेन्द्र भट्टराईले वडामा देखिएको लागुपदार्थको समस्या राखेका थिए । दमक १७, १८ र १९ का ७० जना  सर्वसाधारणहरु सहभागी रहेको अध्ययन केन्द्रका सचिव कुवेर भट्टराईले बताए ।

बिद्यार्थीको खाजा खर्च भूकम्पपिडीतलाई

बिर्तामोड । भूकम्प पीडितलाई राहतका लागि विद्यार्थीले खाजा खर्च कटाई १७ सय ९५ रुपैयाँ सहयोग गरेका छन् । झापाको दक्षिणी गाविस महाभारामा रहेको जनकल्याण निमावि र पाँचगाछीमा रहेको त्रिभुवन उच्च माविका विद्यार्थीले पीडितलाई सहयोगका लागि एक दिनको खाजा खर्च सहयोग वापत बुझाएका छन् । जनकल्याणका विद्यार्थीले ५१० र त्रिभुवनका विद्यार्थीले १२ सय ८५ बुझाएका हुन् । संकलित रकम पूर्वविद्यार्थी प्रदीप परियारले संयोजन गरेर जिल्ला दैवी प्रकोप उद्दार समितिका संयोजक एवम् प्रजिअ तेजप्रसाद पौडेललाई शुक्रबार बुझाएका छन् ।  प्रजिअ पौडेलले झापामा पहिलोपटक विद्यार्थीबाट यसरी राहत जुटेको प्रतिक्रिया दिएका छन् ।

सहकारीबीच सहकार्य हुनुपर्नेमा जोड

दमक । सहकारी संस्थाहरुबीच प्रतिष्पर्धा छोडेर सहकार्य गर्नुपर्ने आवश्यक रहेको दमकमा बिहीबार आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । नयाँ बाटो बहुउद्धेश्यीय सहकारी संस्थाको उद्घाटन कार्यक्रमका  बक्ताहरुले बिभिन्न बाहनामा प्रतिष्पर्धा भन्दापनि एक अर्काबीच सहकारीले समन्वय गरेर काम गर्नु पर्ने बताएका हुन् । जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष बलराम गजुरेलले  अव सहकारीले बचत गर्ने होडबाजी गर्ने भन्दा पनि आयात प्रतिष्थापन गर्नु पर्ने बताए । प्रमुख अतिथि गजुरेलले अहिले बार्षिक २० अर्वको चामल  मुलुक बाहिरबाट आयात हुने हुँदा त्यसलाई कमी गदै लैजानुपर्ने बताए । राष्ट्रिय कर्मचारी सहकारी संघका केन्द्रिय सचिव खोम बगालेले संस्थालाई ब्यवसायीमुखी बनाउनु पर्नेमा जोड दिए । बगालेले सदस्यलाई आधुनिक सुचना प्रविधिलाई  प्रयोग गरेर सप्mटवेयर मार्फत पारदर्शी सेवा दिन सुझाए । दमक उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष गोकुल श्रेष्ठले  मुलुक कृषि प्रदान देश भनिए पनि बिदेशबाट खाद्य आयात गर्नु परीरहेको बेला त्यसलाई कम गदै स्वदेशमै उत्पादन गर्नमा सहकारीहरुले भुमिका खेल्नुपर्ने बताए । नेपाल पत्रकार महासंघ झापाका सहसचिव गोपाल झापालीले सहकारीले मुलुकभित्र रहेको गरिबी निवारण गर्ने खालका कार्यक्रम सहकारीले दिनु पर्ने सुझाव दिए । संस्थाका अध्यक्ष खेम दाहालको सभापतित्वमा भएको कार्यक्रममा  संस्थाकी कोषाध्यक्ष अनिता केसीले संस्थाको कार्ययोजना र
ब्यवस्थापक राजेन्द्र बिमलीले गतिबिधिको बारेमा जानकारी दिएका थिए । अहिले झापामा ९ सय ५० बढी सहकारी संस्था दर्ता भइसकेको संघले जनाएको छ । दमकमा मात्रै १सय २० वटा सहकारी संस्था रहेको बताइएको छ । नयाँ बाटो सहकारीले उद्घाटनपछि बिहीबारबाट कारोबार शुरु गरेको छ । 

तिब्र गतिले बस दुर्घटना, १ को मृत्यु

दमक । पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको दुधेमा बिहीबार भएको बस दुर्घटना हुदा एक बृद्धाको मृत्यु भएको छ ।  अपरान्ह ४ः३० वजे भएको दुर्घटनामा झापा जलथल ७ की ८५ वर्षीया बेदमाया ढकालको मृत्यु भएको हो । काकडभिट्टाबाट बिराटनगर जाँदै गरेको को १ ख ३१५९ नम्वरको बस पल्टिदा  घाइते भएकी  ढकालको  बिर्तामोडस्थित बिएमसी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेका इन्स्पेक्टर बिनोद निरौलाले बताए । २५ जना यात्रुहरु घाइते भएका छन् । घाइतेहरुकोे बिर्तामोड, दमक, सुरुंगा र बिर्तामोडका अस्पतालहरुमा उपचार भइरहेको  प्रहरीले जनाएको छ । तिब्र गतीमा भएको गाडीको स्टेरिङले काम नगरेपछि सडकबाट दक्षिण पल्टिएकोे प्रहरीले जनाएको छ । गाडी क्षतिग्रस्त अवस्थामा छ । गाडीको डिजेल पोखिएर आगलागी हुन नदिन दमकबाट गएको दमकलले आगलागी नियन्त्रणमा लिएको थियो  ।

दमक रबि सडकको मतदान आजदेखि

 – उमेद्वारहरु भोट माग्दै पहाडमा

दमक । दमक चिसोपानी रवि       (फाल्गुनन्द मार्ग ) सडक उपभोक्ता समितिको निर्वाचन आज मतदान हुँदैछ । आज पहिलो दिन इलामको बाँझोस्थित खलंगे बिद्यालयमा हुँदैछ । भोली शनिबार दमकस्थित नेपाल रेडक्रस सोसाइटी उपशाखाको भवनमा हुने छ । खलंगेमा हुने मतदानका लागि सम्पुर्ण तयारी पुरा भएको निर्बाचन समितीका संयोजक बिश्वदिप लिङदेनले जनाए । त्यसका लागि निर्बाचन समितीको टोली र उमेद्धवारहरु बिहीबार बिहानैदेखि बाँझोतिर लागेका छन् । प्रकाश बुढाथोकी र रेवतराज पुरी नेतृत्वको उमेद्धवारहरुको टोली बिहीबार बिहानैदेखि बाँझो पुगेर मत मागिरहेको छ । मतदान हुने अन्तिम दिन उम्मेद्धवारहरु इलाम र पाँचथरको घरभैलोमा भोट माग्न ब्यस्त छन् । कांग्रेस, एमाले सहितको प्यानलबाट अध्यक्षका उम्मेदवार बुढाथोकीको प्यानल र एमाओवादी सहितका साना दलको प्यानलबाट अध्यक्षका उम्मेदवार पुरीको प्यानल एकल र समुहमा मत मागिरहेका छ । बुढाथोकी नेतृत्वको टोली इलाम र पाँचथरका गाउँ टोलमा रहेका मतदातासंग मत मागीरहेको एमाले दमक नगर अध्यक्ष अम्विका खनालले जानकारी दिए । पुरी नेतृत्वको टोली इलाम र पाँचथर भोट मागिरहेको एमाओवादी दमक नगर इन्चार्ज रमेश गुरागाई जानकारी दिए । दमकमा भने एमाओवादी सहितको प्यानलले निर्वाचनको पूर्व तयारीका बिषयमा छलफल गरेको गुरागाईले बताए । दुबै पक्षका उमेद्धवार र दलका नेता कार्यकर्ताहरुले दमक, लखनपुर र तोपगाछीमा पनि मत मागिरेहका छन् । दुईदिन हुने मतदानमा ११ सय १ मतदाता रहेको र तीमध्ये २ सय ६९ जना पहाडी क्षेत्रतर्फ र बाकी दमकतर्फ रहेको निर्बाचन समितीले जनाएको छ ।

साहित्यकारले पनि पठाए राहत

मोरङ । महाभूकम्पबाट प्रभावितहरुका लागि मोरङका साहित्यकारहरुले पनि प्रधानमन्त्री दैवीप्रकोप राहत उद्धार कोषमा राहत रकम पठाएका छन् । बिहीबार मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीमार्फत ६८ हजार ४ सय १८ रुपैयाँ पठाएका छन् । प्राज्ञ विवश पोखरेल नेतृत्वको टोलीले प्रजिअ कार्कीलाई उक्त नगद रकम हस्तान्तरण गरेको हो । प्राज्ञ विवश पोखरेल, लोचन रिजाल, मधु पोखरेल, ऋतु आसिक, मीनकुमार नवोदित, ज्योति जंगल, शिवनारायण पण्डित सिंगल, सरला चापागाईं, शोभा लामा, रोमा निरौलालगायतका साहित्यकारहरुले संयुक्त रुपमा राहत रकम हस्तान्तरण गरेका थिए । पूर्वाञ्चल साहित्य प्रतिष्ठान, वाणी प्रकाशन, विराट साहित्य संगम, डा. नरेन्द्र चापागाईं स्मृति साहित्य प्रतिष्ठान, कृष्णभूषण बल स्मृति प्रतिष्ठान, मोतीराम राष्ट्रिय साहित्य प्रतिष्ठान लगायतका साहित्यिक संघसंस्थाको सक्रियतामा राहत संकलन गरिएको थियो ।

राहत दिने र बाँड्ने क्रम जारी

दमक । तेस्रो मुलुक पुनर्वास भएका भूटानीहरुको आर्थिक सहयोगमा सिन्धुपाल्चोकको तौथली गाविसमा २ सय परिवारको लागि त्रिपाल वितरण गरिएको छ । भूटानी शरणार्थी शिविर पथरीशनिश्चरे मोरङका सचिव चम्पासिङ राईको नेतृत्व तथा क्यामबाटै प्रकाशित खबर पत्रिका र जिरिखिम्तीको कंचनजंघा दैविप्रकोप ब्यबस्थापन समितिको सहकार्यमा राहत वितरण भएको शिविरका हेम गिरीले जनाए । त्यहाँ १ लाख मुख्यका २ सयवटा त्रिपाल वितरण गरिएको हो । दुवै संस्थाको संयुक्त आयोजनामा त्यहाँ राहत वितरण गरिएको यो दोस्रो पटक  हो ।
उता, उर्लाबारी परिवार हङकङले भिजन फाउण्डेशन नेपाल मार्फत भूकम्प पीडितहरुका लागि ३ लाख ५० हजार ३६ रुपैयाँ सहयोग गरेको छ । उर्लाबारी परिवार हङकङका सल्लाहकार मनिप राईले सो रकम भूकम्प पीडितहरुका लागि प्रदान गर्न फाउण्डेशनका अध्यक्ष राजु लामालाई हस्तान्तरण गरेका छन् । हङकङ समाजले प्रदान गरेको
 सो रकम भिजन फाउण्डेशनको संयोजनमा सिन्धुपाल्चोक जिल्लाको भोताङ गाविसका भूकम्प पीडितहरुका लागि वितरण गरिनेछ । यसअघि फाउण्डेशनले सोही गाविसका भूकम्प पीडितहरुका लागि राहत सहयोग गर्दै पिडितहरुको घाउमा मलमपट्टि गर्न एक हप्तासम्म सो गाविसमा रहेर सहयोग गरेको थियो ।
उता, संघीय लिम्बुवान पार्टी नेपालले विहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी पार्टीले विभिन्न ठाउँका भूकम्प पीडितका लागि राहत वितरण गरेको बारेमा जानकारी गराएको छ । पार्टी अध्यक्ष कुमार लिंदेनद्वारा जारी विज्ञप्तिमा भूकम्पबाट निधन भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली, शोकसन्तप्त परिवारलाई समवेदना र घाइतेको सीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै पीडितहरुको पुनस्र्थापनामा समेत जोड दिएको छ । 

सडक बिस्तारमा स्थानीयको आक्रोस

चन्द्रगढी । सडक विस्तार तथा स्तर बृद्धि गर्दा सरोकारवाला व्यक्तिलाई जानकारी नदिँदा भद्रपुर नगर क्षेत्रमा विकासमा विवाद देखिन थालेको छ । भद्रपुर नगरपालिका अन्र्तगत साविक चन्द्रगढी गाविस क्षेत्रमा सुरु भएको सडक विस्तार तथा स्तर बृद्धिको काममा स्थानीय सरोकारवाला व्यक्ति भन्दा बाहिरका व्यक्तिले बढी चलखेल गर्दा विवाद देखिन थालेको हो । सम्बन्धित जग्गा धनीलाई जानकारी नै नगराई आफ्ना निकटका केही व्यक्तिलाई राखेर उपभोक्ता समिति गठन गरी खनिएको वाटो नियम संगत नभएको जग्गाधनीले आरोप लगाउन थालेपछि विकासमा विवाद अवरोधक बनिन थालेको छ ।  चन्द्रगढी स्थित भद्रपुर नगरपालिका १३ र १५ नम्वर वडाको सिमानामा पर्ने लेखनाथ मार्ग हुदै हल्दिवारी जाने ग्राभेल सडकलाई फराकिलो बनाउन गरिएको कार्यलाई विभेदपूर्ण तरिकाले खनिएको भन्दै सरोकारवाला स्थानीयले आपत्ती जनाएका हुन् । उपभोक्ता समितिले सोझा सिधाको जग्गालाई मात्र जेसिभी लगाई चाहिने भन्दा बढी माटो निकालेर केहि समाजका टाठा बाठाले थिचोमिचो गरेको जग्गा धनी शंकर भण्डारीले आरोप लगाए । स्काभेटर जग्गा छेउमा आएपछिमात्र आफुलाई जानकारी भएको भन्दै उनले केही व्यक्तिले कुनै कुनामा बसेर गठन गरेको समिति वैधानिक नभएको दावी गरे । समितिले सडकको दुवैतर्फ बरावरी चौडाई र गहिराई गराउनु पर्ने भएतापनि सो अनुरुप नगरी लापरवाही तरिकाले खन्न लगाएको जग्गाधनी तेजप्रसाद अधिकारीले आक्रोस पोखेका छन् । समितिले वाटोको उत्तर भाग भन्दा पनि दक्षिण तर्फ बढी मिची तानासाही रुपमा काम गरेको जग्गाधनि हुतराज नेपालले बताए । समितिका अध्यक्ष तुलसी पोखरेललाई अनुगमन समितिका संयोजक माधव गौतमले आफनो काधमा राखेर सडकमा राजनिति गरेको नेपालले बताए । सो क्षेत्रका वडा सचिव मनकुमार डाँगी भने बाटो स्तरबृद्धिका लागि बोलाइएको भेला अत्यन्तै न्युन रहेको स्वीकार गर्दै अनिवार्य रुपमा जग्गाधनीलाई बोलाउन नसक्दा अहिले विरोध आएको बताए । यता नगरपालिकाका इञ्जिनियर योगेन्द्र रञ्जितकारले अहिले उपभोक्ता समितिले गरेको काम पछि सडक कालोपत्रेमा कायम नहुन सक्ने बताए ।

विद्यार्थीका लागि नाटक

चुलाचुली । दक्षिणी इलामको चुलाचुलीमा रहेको चुलाचुली थिएटरले ‘विद्यार्थीका लागि नाटक’ कार्यक्रम सञ्चालन गरेको छ । ‘विश्वव्यापीकरणमा ग्रामीण सौन्दर्यको खोजी’ भन्ने मुल नाराका साथ नाट्य गतिविधिमा सक्रिय थिएटरले विहीबारबाट चुलाचुली गाविस हलमा २ दिने कार्यक्रम अगाडी बढाएको छ । भूकम्पका विषयमा कथावाचन शैलीमा प्रस्तुत नाटकले बालबालिकालाई त्रसित नभई अध्ययनमा सक्रिय रहने सन्देश दिएको त्यसका अगुवा चेतन आङ्थुपो डरले बताए । टिकट प्रणालीमा प्रस्तुत गरिएको नाटकमा स्थानीय विद्यालयका बालबालिकालाई दर्शक बनाउने अभियान छ । नाटकमा मानाहाङ लावती, केशव भुजेल, सन्दीप राई, जेम्स लिम्बू, लक्ष्मी तामाङ, प्रमिला खेवा, शिखर लामगादे, खिनीमाया सुनुवार, भगिमाया हिङमाङ, चन्द्र लावती र करुणा केरुङको अभिनय रहेको छ ।
शुक्रबारको कार्यक्रम भनें नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा भूकम्पको त्रास भुलाउने नाटक समेत प्रस्तुत गरिने छ । प्रतिष्ठानले भूकम्पको त्रासलाई सृजनाबाट भुलाउने अभियान ल्याएको छ । जेठ १६ मा गीत, गजल, कविता, नाटक, मोरङको पथरीशनिश्चरेस्थित वाणिज्य संघको हलमा र १७ गते दमकको गणतन्त्र चोकमा दिउँसो सो कार्यक्रम तय भएको छ ।

भूकम्पको पीडा सृजनाले भुलाऔं

भूकम्पको त्रास अझै सेलाएको छैन । भूकम्पका पराकम्पनहरु आइरहने क्रमले मानसिक रुपमा असर पारिरहेको छ । बालबालिकाहरु त झन विद्यालय जान डराइरहेका छन् । यस्तो अवस्थामा भूकम्पको त्रास भूलाएर मानिसहरुलाई सहज जीवनतर्फ फर्काउन नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानले सृजनात्मक अभियान अगाडि बढाएको छ । प्रतिष्ठानले यसरी जनस्तरमा गाउँ गाउँमा आएर यसखाले कार्यक्रम गर्नु आजसम्मकै पहिलो काम सरह बन्ने भएको छ ।
देशभरी सञ्चालित अभियान अन्तर्गत पूर्वमा जेठ १५ देखि शुरु हुने छ । प्रतिष्ठानले झापाको दमकमा सर्जकहरुसँग अन्तरक्रिया गरी अभियानको स्थान, मिति र स्थानीय समन्वय सम्बन्धि योजना तय गरेको छ । प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकले पूर्वी क्षेत्रको अगुवाई गर्नुभएको छ । आखिर जीवनको मोह नै सवैभन्दा महत्वपूर्ण ठानेर प्रतिष्ठानको नियमित कार्यक्रमलाई सन्देशमुलक कार्यक्रममा रुपान्तरण गरेको कुरा सदस्य सचिव रसिकले सुनाउनु भयो ।
भूकम्पबाट बढेको मनको त्रासका लागि मनोसामाजिक परामर्शको आवस्यकता पर्छ । जसका लागि गीत संगीत, साहित्य, नाटक परामर्शका प्रभावकारी माध्यम बन्छन् । भूकम्पबाट नेपाल जोखिमपूर्ण ठाउँमै पर्ने भएकाले यसबाट सधैं त्रसित नभई भूकम्पलाई सामान्य मान्दै यसबाट बच्न सजक हुनु आजको आवश्यकता रहेको छ । विद्यालयका बालबालिकालाई बढी मात्रामा सहभागि गराउँदा त्यसखाले कार्यक्रम सान्दर्भिक रहने योजना बनाइएको छ । विदेशमा भूकम्प प्रतिरोधि घर निर्माण हुने भएकाले भूकम्प आएको अवस्थामा घरभित्र भए टेबुल, बेञ्चमुनी लुक्नु भनिएको भएपनि नेपालका सन्दर्भमा सो कुरा लागू नहुने सन्देश दिन पनि गाउँघरमा यसखाले सचेतनाको आवश्यकता खड्किएको छ । त्यही कुरा सिकाउने र पढाउने गर्नाले बाहिर चौरमा रहेका बालबालिका भूकम्प आएपछि भाग्दै कक्षाकोठाभित्रको डेक्समुनी पस्दा तलाले किचिएका उदाहरण पनि छन् ।
जेठ १५ देखि २४ गतेसम्म गीत, साहित्य र नाटक प्रस्तुतिको कार्यक्रम अगाडि बढ्ने छ । जेठ १५ मा इलामको चुलाचुली, १६ मा मोरङको पथरी, १७ मा झापाको दमक सहित झापा, मोरङ र इलामका विभिन्न स्थानमा कार्यक्रम गरिने छ । सो अवसरमा चुलाचुली थिएटर र मोरङको कंचनजंघा नाट्य समूहको नाटक प्रस्तुति रहने छ ।
अभियानमा ८० वर्षीय विशिष्ट लोकगायक एलपी जोशीको अगुवाई हुने छ ।  साथमा गायक गणेश रसिक सहितको उत्साहमा भूकम्पको त्रासलाई कम गरेर सामान्य जीवनमा फर्किन सृजनात्मक सन्देश छर्ने कार्यक्रम अघि बढ्ने छ । पूर्व त्यति धेरै पीडित नभएपनि भूकम्पका त्रासदीपूर्ण खबरहरु सुन्दा सुन्दा त्रासकै मनस्थिती बनेको छ । पूर्वेलीहरुका लागि समेत यसखाले अभियान मनोसामाजिक विमर्शको प्रभावकारी थेरापी हुन सक्ने देखिन्छ । अझ पीडामा प्रत्यक्ष रुमलिएकाहरुलाई यो खाले कार्यक्रम निरन्तर अगाडि बढाउनु आवश्यक छ ।

दकम–चिसोपानी–रवि रडक निर्माणका एजेण्डा केके छन् ?

जेठ १५ र १६ मा दमक– चिसोपानी–रवि सडक निर्माण उपभोक्ता समितिको निर्वाचन हुँदैछ । यसका लागि २ वटा गठबन्धन प्रतिष्पर्धामा उत्रिएको छ । कांग्रेस, एमाले, राष्ट्रिय जनमुक्ति र राप्रपा नेपाल सहितको गठबन्धनले प्रकाश बुढाथोकीलाई अध्यक्षको उम्मेदवार बनाएको छ । एमाओवादी, संघीय लिम्बूवान पार्टी, संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी र नेपाल कम्यूनिष्ट पार्टी एकीकृतको अर्काे गठबन्धनबाट रेवतराज पुरी (गगन) अध्यक्षका उम्मेदवार रहेका छन् । बुढाथोकी कांग्रेसका महासमिति सदस्य हुन् । उनी निवर्तमान समितिका सचिव तथा वाटो निर्माणको प्रारम्भदेखि नै सदस्य थिए । पुरी एमाओवादीका सक्रिय राजनीति गर्ने कोचिला राज्यसमिती सदस्य हुन् । दमक निवासी बुढाथोकी र पुरीसँग सडक र चुनावी सन्दर्भमा गरिएको कुराकानी : —

------------------------------------------------------------------------------------------------------------------------‍
प्रकाश बुढाथोकी
- तपाईको अध्यक्षको उम्मेदवारी किन ?
►यो सडकमा शुरुवातबाटै क्रियाशिल भएको हुँ । सडक निर्माण पुरा गर्न र  सडकले भेट्ने क्षेत्रमा स्पष्टरुपमा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न, अग्र्यानिक खेतीको अवधारणा पुरा गर्ने मनसायले म उम्मेदवार बनेको हुँ । सडक बन्ने कुरामा दुईमत छैन । सडक निर्माणका लागि कांग्रेस र एमालेको संयुक्त सरकारले पनि सहज बनाउँछ । यस क्षेत्रका सभासदहरुको पनि सरकारमा पहुँच रहेको अवस्थाले कांग्रेस र एमालेको अगुवाईको समिति बन्नु पर्छ भन्ने मेरो मान्यता हो ।

- तपाई नै उययुक्त भन्ने आधार के के छन् नि ?
► यो सडकका लागि साह्रै धेरै समय खर्चिएको छु । जसका कारण तराईदेखि पहाडसम्मकाले चिनेका छन् । भावनात्मक रुपले यसमा म लागेको हो भन्ने सवैले बुझेका छन् । अनि यो सडकको भूगोल र यसका समस्या अनि समाधानका कुरा पनि मलाई थाहा छ । यो भूगोल नै नबुझेका साथीहरुले अगुवाई गर्न हत्ते गर्नु सान्दर्भिक छैन भन्ने लाग्छ ।

- तत्कालिन योजना के छ ?
► यो सडक राष्ट्रिय योजना आयोगको बहुबर्षीय योजना अन्तर्गतको प्राथमिकता नम्बर १ मा परिसक्यो । जस अनुरुप सडक विभागले माङ्मालुङ सहितका क्षेत्रमा निरीक्षण गरिसकेको छ । आगामी वर्षबाट सवै महिना गाडी गुड्न सक्ने बाटो बनाइसक्छौं । आगामि आर्थिक वर्षका लागि १० करोड र अर्काे वर्षका लागि १२ करोड गरी चालु वर्षसमेतको ८ करोड गरी ३० करोडमा सडकको काम सक्ने योजना सरकारले बनाइसक्यो । तत्काल त्यही योजनालाई सहयोग गरी पर्यटन क्षेत्रको विकासका लागि माङमालुङमा रक गार्डेन र पहाडका ४ वटा गाविसलाई अर्गानिक भिलेजका योजनाहरुमा छलफल गरिने छ ।

- राजनीति क्षेत्रमा पनि चिनिएको मान्छे सडक समितिमा बस्ने योजना किन नि ?
► म कुनै पार्टीको राजनीतिक कार्यकर्ता भएपनि मैले कार्यकारी तहमा बसेर यसबेला राजनीति गरेको छैन । अनि समाजसेवाका काममा संलग्न रहेको अवस्था र यो बाटोको सपना बुन्नु मध्येको एउटा मान्छे म पनि भएकाले सवैको समन्वय पाउने भएपछि विशुद्ध सडक निर्माणको काम गर्न म आएको हुँ ।

- अनि सहमतिको पहल चाँही कत्तिको गर्नु भो नि ?
► साँच्चै भन्नुपर्दा म राजनीतिक तिकडमबाजी गर्ने मान्छे होइन । मैले त सहमतिमा समिति बनाउने पहलमै आफुलाई केन्द्रीत बनाएको हो । लोकबहादुर धिमाल, केहेरसिंह योङ्याको नाम मैले नै अध्यक्षका लागि सहमतिमा लान प्रश्ताव गरेको हो । अर्काे मोर्चाका साथीले पनि पहिले त हुन्छ भनेका हुन् तर पछि उनीहरुले हामीभित्र खेल्न खोजेर सहमति भाँडेका हुन् । त्यसो भएपछि म बाध्य भएर अध्यक्षका लागि आउनु परेको हो ।

- सामाजिक संस्थामा पार्टीहरु नै लागेर यस्तो राजनीति गर्नु ठिक हो ?
► यसमा पार्टीकै राजनीति गर्नु त ठिक होइन । यसलाई सामाजिक संस्थामा सक्षम मान्छे पठाउने र त्यहाँ समितिको विधि विधान अनुसार काम गर्ने हो । बहुदलीय मुलुकमा दलमा समावेश भएका मान्छे देखिनु अस्वाभाविक मान्नु हुँदैन । तर त्यहाँभित्र आ आफ्नो पार्टीको राजनीति गर्ने थलो बनाउनु हुँदैन भन्ने मान्यतामा म अडिग छु ।

- चुनाव जितिन्छ त ?
►  ठूला पार्टीसहितको मोर्चाबन्दी हामीसँगै छ । निरन्तर सडककै लागि पसिना बगाउनेहरुको ठूलो संख्या हामीसँगै छ । ४ जना उम्मेदवार त पूर्व गाविस अध्यक्ष नै छन् । द्धन्दको बेला काम गर्न सक्ने स्थिती नहुँदा केही बजेट फ्रिज भएको कुरालाई अरु साथीले निहुँ बनाउनुको कुनै तुक छैन । पहाडी क्षेत्रको समेत उम्मेदवार मिलाएर राखिएको छ । हामीले सडकलाई यत्तिको बनाएर राम्रै बजेट आउन थालेपछि सवैको आँखा परेर अहिले निकै मजाले चुुनाव लागेको हो । यो सवै मेहनत गर्नेहरुको टिम हामीसँग भएकाले अंकगणितीय हिसावले पनि हामी जित्छौं ।

------------------------------------------------------------------------------------------------------------------------‍
रेवतराज पुरी (गगन)
तपाईको अध्यक्षको उम्मेदवारी किन ?
► दमक रवि बाटोमा २२-२३ वर्षदेखि निर्माण कार्यमा लागेपनि उपलब्धि नभएको अवस्था हो । उपलब्धि हाँसिल गर्न कुशल नेतृत्वको खाँचो छ । जुन नेतृत्वले एकैसाथ करोडौं बजेट ल्याउन सकोस् र आएको बजेट फ्रिज हुन पनि नदियोस् । अनि सडक विभाग, निर्माण व्यवसायी र स्थायी उपभोक्ताबीच कुशल, समन्वयकारी, नेतृत्वदायी भूमिका खेल्न सक्ने व्यक्तिको खाँचो छ । त्यसका लागि म नै उपयुक्त छु भन्ने लाग्छ ।

- तपाई नै उययुक्त भन्ने आधार के के छन् नि ?
►म सँग राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, भौतिक योजना मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय, मुख्य सचिवको कार्यालय, विदेशी नियोक र दातृ निकायका आधिकारिक व्यक्तिहरुसँग सिधा र सरल सम्पर्क छ । जुनसुकै पार्टीको सरकार आउने÷जाने कुराले फरक पर्दैन । व्यूरोक्रेसीका उपल्लो निकायसँग हटलाइन कन्ट्रयाक छ । मेरो यो पहुँच र सामथ्र्यलाई बाटो निर्माणमा खर्चिने छु । म युवा हुँ, प्रक्रियाका बारेमा मलाई राम्ररी जानकारी छ । ४ वर्षभित्र दमकदेखि रविसम्मको सडकको चौडाई बढाएर ग्राभेल र पक्की ढल निर्माण गर्दै ७ वर्षभित्र कालोपत्रे गर्ने योजना छ । सडक अन्तर्गत पर्ने चोकहरुलाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने, पहाडी इलाकाका कतिपय गाउँलाई रक गार्डेन तथा अर्गानिक भिलेजका रुपमा विकास गर्ने कुरा पनि प्रतिवद्धतापत्रमा उल्लेख गरिसकेका छौं । यसका साथै लारुम्बालाई बृहत धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने, भारतको सिमाना फत्तेपुरबाट चीनको घाङ्ला जोड्ने आधारमार्गका रुपमा दमक रवि सडकलाई विकास गर्न सकिने यथार्थपरक योजना म सँग छ ।

- तत्कालिन योजना के छ ?
► नेपाल सरकारको राष्ट्रिय गौरवको योजनामा समावेश गरेर बहुवर्षीय सम्झौता गर्नका लागि अविलम्ब ४०/५० करोडको व्यवस्था गराउने छु । आगामि आर्थिक वर्षदेखि हिउँद वर्षा गाडी गुड्ने गरी बाँकी काम फत्ते गर्ने र नेपाल सरकारको ध्यान यो बाटोमा केन्द्रीत गर्न सञ्चारकर्मी तथा आम उपभोक्तामार्फत राष्ट्रिय मुद्धाका रुपमा उठाउने तत्कालिन मेरो योजना हुनेछ ।

- राजनीति क्षेत्रमा सक्रिय मान्छे सडकको समितिमा बस्ने योजना किन नि ?
► हो, म राजनीतिमै सक्रिय मान्छे हुँ नै । त्यही भएर झापामा ५÷७ वर्षको अवधिमा मेरो पहलमा दमकबाट मधुमल्ला जाने सडक र महेशपुरमा करोडौंको झोलुङ्गे पुल सहितका धेरैवटा विकास निर्माणका योजना मैले ल्याएको छु । अनि नेपालको पूर्वी भागमा रणनीतिक महत्व राख्ने सडक भएकाले मैले यसमा चासो र चिन्ता व्यक्त गरेको हुँ । यसलाई चुस्त तरिकाले सञ्चालन गर्न मेरो अगुवाई सवैले महसुस गरेपछि मैले यस क्षेत्रबाट समाजसेवा गर्न लाग्नु परेको हो । पहिलो कुरा मेरो मामली अहिले पनि इलामको फुयतप्पा पहाड हो । म मेरो आमासँग हाफपाइन्ट लगाएर पेरुङ्गे, टोड्के, कुसुण्डेको बाटो हुँदै रतुवाको जंघार तरेको छु । कैयौं पटक पार्टीको जिम्मेवारी इलाममा हुँदा उकाली ओराली गरेको छु । म भन्दा अग्रजहरुले देखाएको सपना पुरा गर्न म फेरि एकपटक दमकबाट चुली पस्छु र माथिसम्म उकालो लाग्छु । त्यहाँका स्थानीयसँग मिलेर काम गर्न सक्ने प्रशस्त सम्भावना छ ।

- अनि सहमतिको पहल चाँही कत्तिको गर्नु भो नि ?
► सहमतिको पहल त धेरै गरियो । तर एमाले र कांग्रेसले नै मानेन । लोकबहादुर धिमाल, केहरसिंह योङ्याहरुको नाम लिएर हामी गएका थियौं । त्यसमा सहमतिमा नगएपछि म अध्यक्षका लागि अगाडि आउनु परेको हो ।

- सामाजिक संस्थामा पार्टीहरु नै लागेर यस्तो राजनीति गर्नु ठिक हो ?
► राजनीतिलाई समाजसेवामा लानु पर्ने हो, राजनीति नै समाजसेवा हो । तर त्यस्तो संस्कार बसिनसकेकोले हामीलाई पार्टीले राजनीति गरेको भन्ने बुझाई छ । बहुदलीय लोकतान्त्रिक मुलुकमा जो कोही पनि कुनै न कुनै पार्टीको सदस्य हुने भएकाले यसमा राजनीतिक प्रभाव पर्नु स्वभाविक हो । अनि अर्काे कुरा राजनीतिक तबरले कुरा नउठाउने हो भनें यो बाटो बनाउन सरकारसम्म दवाव दिन र समितिलाई चुस्त बनाउने कुरामा खबरदारी गर्न पनि सकिदैनथ्यो । यति राजनीतिक जागरण नभएको भए बाटो समितिको फेरि पनि निर्वाचन हुँदैनथ्यो । मात्र सवाल के रह्यो भने निश्चित मुल्य, मान्यता र प्रक्रियामा रहेर राजनीति गरौं भन्ने मेरो अरु गठबन्धनलाई पनि आग्रह हो ।

- चुनाव जितिन्छ त ?
► नजित्ने कुरै छैन । समितिको काम कारबाहीको चुस्तता र बजेटलाई चलाएमान बनाएर सक्रिय काम नभएको अथवा ९ वर्षसम्म साधारसभा नभएको अवस्थामा हामीले यी सवै कुरालाई चिर्दै आएर उपभोक्तालाई प्रष्ट्याएका छौं । मैले माथि नै भनिसकेंका सवै महत्वपूर्ण कारणहरुले हामी चुनाव जित्छौं ।

भोट माग्दै उमेद्वारहरु घरदैलामा

दमक । दमक चिसोपानी रबि सडक उपभोक्ता समितिको नेतृत्व हात पार्न उमेद्ववारहरु भोट माग्न ब्यस्त छन् । उमेद्ववारहरु बिहानदेखि बेलुकासम्म भोट माग्न मतदाताहरुकै घरदैलो पुगेका छन् । राष्ट्रिय राजनितीकको झल्को दिने गरि उमेद्धवारहरु आ आफ्नो प्यानल लिएर मतदाताहरुको घर घरमा पुगेका थिए । मतदान १५ गते इलामको बाझोस्थित खलंगे बिद्यालय र १६ गते रेडक्रस भवन दमकमा हुने निर्बाचन समितीले जनाएको छ ।
कांग्रेस, एमाले सहितको प्यानलबाट अध्यक्षका उम्मेद्ववार प्रकाश बुढाथोकीको प्यानल र एमाओवादी सहितका साना दलहरुको गठबन्धनका तर्फबाट अध्यक्षका रेवतराज पुरी (गगन) को प्यानल भोट माग्न ब्यस्त छन् । बुढाथोकी नेतृत्वको बुधबार टोलीले दमक १, २ र ३ को दुर्गा पाञ्चायन मन्दिरमा भेला भई भोट मागेको एमाले दमक नगर अध्यक्ष अम्विका खनालले बताए । उनीहरुले यसअघि ९ ,१०, १३ र १४ मा रहेका मतदातासंग भोट माग्ने काम सकिएको जनाएको छ । यसैगरी अध्यक्षका उम्मेदवार पुरी नेतृत्व टोलीले बुधबार दमक चोकका मतदाताहरुसंग भोट मागेको एमाओवादी नगर इन्चार्ज रमेश गुरागाईले जनाए । उनीहरुले बुधबार दमकको २, १०, ११, १२, १३ र १४ वडामा पुगेर भोट मागेका छन् ।

भारतीय धानलाई बिस्थापित गर्ने – प्रयास किसानलाई किट वितरण

– मनकुमार गदाल
दमक । भारतीय धानलाई बिस्थापित गर्न सरकारले नयाँ ३ जातका मिनी किट्  किसानलाई निशुल्क बितरण गरीरहेको छ । जिल्ला कृषि कार्यालय झापाले स्वर्ण सव एक, साँवा सव एक र सुख्खा तीन जातका धानको बिउ निशुल्क बितरण गरेको हो । रजित, मन्सुली, शरना , बिजी ११ लगायतका भारतीय धानलाई हटाउन नार्कबाट परिक्षणपछि धेरै फल्ने, मिठो भात हुने यी जातको धानलाई सरकारले सिफारिस गरेको कार्यालयका बाली संरक्षण अधिकृत राजेन्द्र खरेलले बताए । अहिले जिल्लाभित्र नेपाल बिउबिजन कम्पनीले ५० टन निशुल्क मिनी किट् वितरण गरीरहेको कृषि कार्यालयले जनाएको छ । किसानलाई निशुल्क यति धेरै मिनी किट् वितरण गरेको यो पहिलो पटक भएको बाली संरक्षण  अधिकृत खरेलले दावी गरे । यसबाट फलेको धान छिटो र राम्रो उत्पादन हुने साथै खान पनि स्वादिलो हुने उनले बताए ।
माईपश्चिका गाविस र नगरपालिकाका किसानलाई २ सय ४० बोरा मिनी किट् बितरण भइरहेको कृषि कार्यालयले जनाएको छ । गौरादह र गौरीगञ्जका किसानलाई ९०÷९० बोरा मिनी किट् उपलब्ध गराइरहेको गौरादह कृषि सेवा केन्द्रका प्रमुख जय प्रसाद उप्रेतीले जानकारी दिए । शुक्रबारसम्म गौरादह र गौरीगञ्ज लगायतका गाविसका किसानलाई मिनी किट् बितरण गर्ने उनले बताए । यसैगरी दमकस्थित कृषि सम्पर्क केन्द्रबाट  करिब १५ मन मिनी किट्  बितरण हुन बाँकी रहेको प्रमुख सावित्रा कार्कीले बताइन् । दमक, लखनपुर, तोपगाछी र धरमपुरका कृषकहरुलाई मुल कृषक समुहबाट निशुल्क मिनी किट् बितरण गरेको कार्कीले बताइन् । यी मिनीकिट्हरु लगेर  किसानले जेठको चौथो सातासम्म धानको ब्याड राखी सक्नुपर्ने बताइएको छ ।

कृषक पाठशाला तालिम

दमक । झापाको तोपगाछी १ स्थित सोलमारीमा आयोजित आइपीएम कृषक पाठशालाको समापन बुधवार सम्पन्न भएको छ ।  ४ महिने तालिममा रासायिनक मल बिषादी कम प्रयोग गर्ने बिधि , जैविक बिषादी ,कम्पोष्ट मल बनाउने तरिका , मकैमा लाग्ने रोग शत्रु जीव किरा र मित्रजीव किराको पहिचान , स्वस्थ्य बाली उत्पादन गर्ने प्रविधि लगायतका बिषयमा तालिम दिएको थियो  । कृषि सेवा केन्द्र गौरादहका प्रमुख जय उप्रेती  र जेटिए केदार कुमारी अधिकारीले तालिम दिएका थिए । 
 कन्काई मुल नहर ब्यवस्थापन समितिका उपाध्यक्ष खगेन भण्डारीको प्रमुख अतिथिमा भएको  समापन कार्यक्रममा  उत्कृष्ठ कृषकहरु अनिता बिष्ट , हुमा खड्का र कुल प्रसाद दंगाल पुरस्कृत भएका छन् ।

झापामा २ करोड ३९ लाख संकलन

चन्द्रगढी । भूकम्पपिडीतका लागि जिल्ला दैवी प्रकोप उद्धार समिति झापामा २ करोड ३९ लाख ८ हजार ८९ रुपैयाँ नगद जम्मा भएको छ । विभिन्न संघ संस्था तथा व्यक्तिवाट ९० लाख १ हजार ७ सय ३३ रुपैया र कर्मचारीहरुवाट १ करोड ४९ लाख ६ हजार ३ सय ५६ रुपैया संकलन भइसकेको जिल्ला प्रशासन झापाले जनाएको छ ।
 यसैबीच कष्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान केन्द्रिय समिती कनकाई झापाले भुकम्प पिडीतको राहतका लागी ५१ हजार नगद हस्तान्तरण गरेको छ । प्रतिष्ठानका केन्दिय समितीका अध्यक्ष मोहन प्रसाद अधिकारी लगायतका पदाधिकारीले वुधवार प्रमुख जिल्ला अधिकारी तेज प्रसाद पौडेललाइ संकलित रकम वरावरको चेक रकम हस्तान्तरण गरेका हुन् । जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी हस्तान्तरण गरेका थिए । रकम हस्तान्तरण कार्यक्रममा बरिष्ठ उपाध्यक्ष नरेन्द्र अधिकारी, पूर्वाञ्चल उपाध्यक्ष भिम प्रसाद प्रसाद अधिकारी, महासचिव रत्न बहादुर अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

मोरङ कांग्रेसद्वारा ४० लाख सहयोग

दमक । महाभूकम्पबाट घरबारविहीन बनेका पीडितलाई नेपाली काँग्रेसले चालिस लाख रुपैयाँ बराबरको सहयोग गरेको छ । भूकम्प प्रभावित जिल्लामा पुगेर काँग्रेसका प्रतिनिधिले राहत सामग्री वितरण गरेको र ६० जनाभन्दा धेरै प्रतिनिधि अहिले पनि घर निर्माण कार्यमा खटिरहेको मोरङ काँग्रेसका सभापति अमृत अर्यालले जानकारी दिए । विराटनगरमा प्रेस युनियनले बुधबार गरेको पत्रकार सम्मेलनमा बोल्दै अर्यालले सहयोग गर्ने क्रम अहिले पनि जारी रहेको जनाए । उनले पार्टीले आफ्ना सदस्यबाट संकलन गरेको र दाताबाट प्राप्त गरेको सहयोग एकत्रित रुपमा पीडितसम्म पु¥याइएको बताए । 
उनीहरुले चामल, चिउरा, चाउचाउ, औषधी, त्रिपाल जस्ता अति आवश्यक वस्तु सिन्धुपाल्चोक र धादिङका पीडितलाई वितरण गरेका छन् ।  मोरङ काँग्रेसले प्रधानमन्त्री राहत कोषमा २ लाख ४५ हजार रुपैयाँ पनि जम्मा गराएको थियो । धादिङ बनेघाटमा विराटनगरबाट गएका ६० जना काँग्रेस कार्यकर्ताले ४० वटा घर निर्माण गरिदिएका छन् ।

बिर्तामोड र दमकमा आयशरको वर्कसप

बिर्तामोड । दुई दशकदेखि नेपाली बजारमा आफ्नो अलग पहिचान बनाएको आयशर ट्याक्टरले झापाको बिर्तामोड र दमकमा बुधबारदेखि अत्याधुनिक अटोमेटेड वर्कसपको सेवा शुरु गरेको छ । आयशर ट्याक्टरको उत्पादक टाफे मोटर्स एण्ड ट्याक्टर्स लिमिटेड भारतका सिनियर एभीपी विजेन्द्रजी गुप्ताले उक्त वर्कसपको उद्घाटन गरे । आयशर ट्याक्टरका ग्राहकको सेवा सुविधालाई ध्यानमा राखी विक्रीपछिको शुलभ र भरपर्दो सेवाका लागि मेची अञ्चलमै पहिलोपटक अत्याधुनिक अटोमेटेड वर्कसपको सेवा शुरु गरिएको द हबी अटो ट्रेडिङ प्रालि बिर्तामोडका प्रमुख प्रकाश कोइरालाले जानकारी दिए । द हबी अटो ट्रेडिङ प्रालि आयशर टेक्टरको नेपालका लागि आधिकारिक विक्रेता हो ।
 अत्याधुनिक हाइड्रो न्यू मेट्रिक वर्कसप सञ्चालनमा आएसँगै मेची अञ्चलका ग्राहकले सहज रुपमा सेवा सुविधा पाउने द हबी अटो ट्रेडिङ दमकका शाखा प्रबन्धक रमेशकुमार पुरीले बताए । बिर्तामोडमा १३ वर्षदेखि द हबी अटो ट्रेडिङ प्रालिमार्फत र दमकमा ४ वर्षदेखि आयशर ट्याक्टर बिक्री वितरण हुँदै आएको छ । अब आयशर ट्याक्टरका ग्राहकले सहजरुपमा मर्मत लगायतको सुबिधा वर्कसपबाट पाउनेछन् ।

२१ पण्डित पढाएर स्वस्ती शान्ति

दमक । स्वस्ती शान्ति तथा क्षमा पुजा आयोजक समिति दमकले बुधबार भूकम्पमा दिवगत भएकाहरुको चिरआत्माको कामना गदै पुजा आजा गरिएको छ । दमक १० स्थित धनेश्वर मन्दिर परिसरमा २१ जना पण्डित पढाएर पुजा गरेको हो । उनीहरुले जन्मभुमिको रक्षाका लागि रुद्रीपाठ , बेदपाठ साथै होमादी समेत गरेर मुलुकमा शान्तिको कामना गरेको अध्यक्ष भोला शिवाकोटीले बताए । पण्डित टिकादत्त दाहाल नेतृत्वको पण्डितहरुको समुहले पटक पटक आएको भूकम्पमा परी घाइते भएकाहरुको आत्माको चिर शान्तिको कामना साथै सम्पूर्ण घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको होमादी गरेका थिए । पुजामा आएका भक्तजनहरुले फलफुल चढाएर पुजा अर्चना गरेको समितिले जनाएको छ ।

रक्तदान र बिरामीलाई फलफुल बितरण

दमक । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था दमकले छैटौ वर्षमा प्रवेश गरेको अवसरमा बुधबार विविध कार्यक्रम आयोजना गरेको छ । संस्थाले पाँचौं वर्ष पुरा गरी छैटौं वर्षमा प्रवेश गरेको अवसरमा रक्तदान र बिरामीलाई फलफूल बितरण गरेको हो । संस्थाको भवन परिसरमा आयोजित कार्यक्रममा ब्यवस्थापक अरुण भण्डारीले रक्तदान गरी शुरु गरेका थिए । कार्यक्रममा ३२ जना महिला सहित १ सय ७ जनाले रक्तदान गरेका छन् । सो अवसरमा आम्दा अस्पताल, दमक हस्पिटल र जनता नेशनल हस्पिटलका १ सय २५ जना बिरामीलाई फलफुल बितरण गरिएको  ब्यवस्थापक भण्डारीले जानकारी दिए ।

बेथेलमा स्वास्थ्य शिविर

दमक । बेथेल एजुकेशन एकाडेमी उर्लावारीले आयोजना गरेको  दुई दिने स्वास्थ्य शिविर  बिहिवार सकिदैछ । मोरङको उर्लावारी ४ स्थित बिद्यालय परिषरमा भएको शिविरमा नाक ,कान , घाँटी र पेटको परिक्षण  गरिएको एकाडेमीका संस्थापक प्रिन्सिपल दिपक न्यौपाने बताए । शिविरमा १ सय जना विद्यार्थीको स्वास्थ्य परिक्षण गोदावारी हस्पिटल उर्लावारीको चिकित्सकको टोलीले गरेको थियो ।

डाक्टरको लापरबाहीले दुईवटा औंला गुम्यो

बिराटनगर । विराटनगर अस्पतालमा उपचार गराउँदा एकजना बिरामीले जानकारीबिनै आफ्नो खुट्टाको दुई वटा औंला गुमाउनु परेको छ । विराटनगर– ८ का विरेन्द्र झाले चिकित्सकको लापरवाहीका कारण आफूले खुट्टाका दुई वटा औंला गुमाउनु परेको बताए । बुधबार झा परिवारले सामाजिक संघसंस्थाको पहलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपचारमा संलग्न चिकित्सक डा. सरोज कर्णले आफूलाई जानकारी नै नदिई देब्रे खुटको दुई वटा औंला काटिदिएको आरोप लगाएको छ । गत पुस गते सवारी दुर्घटनामा परी उपचारका लागि आफू विराटनगर अस्पतालमा भर्ना भएको तर डाक्टर कर्णले तीन पटक अप्रेसन गरेर औंला काटिदिएको तर परामर्श समेत नगरेको आरोप उनीहरुले लगाए ।  उनकी श्रीमती सीता कार्कीले आफू काम गर्ने अस्पालमा झन् राम्रो उपचार हुन्छ भन्ने विश्वासका साथ श्रीमानलाई लगेको तर हेलचेक्र्याईं गरेर औंला काटिदिएको दावी गरिन् । श्रीमान झा र श्रीमती कार्कीले आफूहरु अन्यायमा परेको बताउँदै न्याय दिलाइदिन माग गरेका छन् । कार्कीलाई यो घटनापछि अस्पतालले कामबाट निकालिदिएकोले आफ्नो जागिरेको ग्यारेन्टीका लागि श्रम कार्यालयमा उजुरी समेत दिएकी छन् ।

छात्रावास लागूऔषध प्रयोगकर्ताको अखडा

टाघनडुब्बा । झापाको टाघनडुब्बा–३ मा रहेको डिल्लीराज उच्च माविको छात्रबास भवन मर्मत नहुँदा लागूऔषध प्रयोगकर्ताको अखडा बनेको छ । विसं २०२० सालमा स्थानीय समाजसेवी डिल्लीराज गणेशले जग्गासहित विद्यालयलाई ९ कोठे भवन र २४ जना छात्र–छात्रा अटाउने क्षमता भएको ६ कोठे भवन निर्माण गरेका थिए । तर, छात्रावासको मर्मत सम्भार नहुँदा छात्रावास प्रयोगविहीन भएर लागूऔषध प्रयोगकर्ताका लागि सजिलो भएको हो । विद्यालयको भवनसंगै छात्रवास निर्माण हुँदा त्यो बेला टाढ–टाढाबाट विद्यार्थीको चाप बढेको थियो । विद्यालयका प्रधानाध्यापक भगदेव राजवंशीले भने–‘१२ वर्ष यता छात्रावास भवन जीर्ण हुदंैआयो । जीर्ण छात्रावास मर्मत–संभारमा कसैले चासो नदिएपछि १० वर्षयता प्रयोगहीन नै बन्यो ।’
छात्रावास प्रयोगमा आउँदा छात्र–छात्राबाट न्यूनतम रुपमा आर्थिक संकलन हुन्थ्यो । संकलित रकमबाट सामान्य रुपमा फर्निचरको मर्मत लगायतमा खर्च धान्न पुग्थ्यो । तर, जीर्ण भवनको मर्मत–संभारका लागि विद्यालयबाट जिल्ला शिक्षा कार्यालयमा पटक–पटक डेलिगेशन समेत पुगेको शिक्षकको भनाई छ । भवन मर्मत संभारमा जिल्ला शिक्षा कार्यालयले चासो नदिंदा छात्र–छात्रा पनि सन्तोषजनक रुपमा नआएपछि छात्रबास प्रयोगहिन
 बनेको प्रअ राजवंशीको भनाई छ । छात्रावासको पर्खाल लड्नै लागेको छ । पार्खाल र भित्रपट्टी झार उम्रेको छ । त्यतिको छात्रवास निर्माण गर्न लाखौं रकम खर्चनु पर्छ । तर, भएको भवन मर्मत गर्न नसक्दा लाखौंको सम्पति प्रयोगविहीन भएको प्रअ राजवंशीको भनाई छ ।

एमालेले १६,१५० केजी चामल पठायो

गौरादह । नेकपा एमाले झापा क्षेत्र नं. ६ ले ठुलो मात्रामा चामल संकलन गरि भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ । एमालेले १६ हजार १ सय ५० केजी चामल संकलन गरि पठाएको छ । क्षेत्र नम्वर ६ का ९ गाविसबाट संकलन गरेको चामल रामेछाप जिल्लाको मन्थली नगरपालिकाको सुनारपानी गाउँमा बुधबार पठाएको हो । गत बैशाख १२ र २९ गते आएको भूकम्पबाट पिडितलाई स्थानिय प्रशासनसंग समन्वय गरेर बितरण गर्ने क्षेत्रीय कमिटी सचिव नगेन्द्र भण्डारीले जानकारी दिए । सुनारपानी गाउँमा पुगी राहत वितरणका लागि नेकपा एमालेका केन्द्रिय सदस्य तथा मेची अञ्चल इन्चार्ज हिक्मत कार्की सहितका नेताहरु प्रभावित क्षेत्रतर्फ लागेका छन् । कार्कीको नेतृत्वमा झापा जिल्ला सदस्य चन्द्र सुब्बा, क्षेत्रीय उपाध्यक्ष राजेन्द्र सुवेदी र क्षेत्रीय सदस्य भरत फँुयाल सहितको टोलीलाई पठाएको छ । क्षेत्रीय कमिटीले संकलन गरेको १ लाख २३ हजार रुपैयाँ जिल्ला कमिटी मार्फत एमाले को केन्द्रिय कमिटी हुदै प्रधान मन्त्री राहत कोषमा पठाउने जनाएको छ । राहत पठाउन गौरादहमा बुधबार एक कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा एमालेका केन्दिय सदस्य कार्कीले विपतमा परेकाहरुलाई सहयोग गरेर मलमपट्टी लगाउनु पर्ने बताएका छन् । नेता कार्कीले जहाँका भएपनि हाम्रै नेपालीलाई परेको समस्या भएको हँुदा सबै मिलेर मलमपट्टटी गर्नुपर्ने उल्लेख गरे ।

बल्ल उठ्यो बिर्तामोेडको फोहोर

विर्तामोड । झापाको विर्तामोड नगर क्षेत्रमा केही समयदेखि थुप्रिएको फोहोर सरोकारवालाहरुले बुधबारदेखि उठाउन शुरु गरेका छन् । झापा उद्योग वाणिज्य संघ विर्तामोडका उपाध्यक्ष एवम् फोहोरमैला व्यवस्थापन समितिका संयोजक प्रकाश शिवाकोटीको अगुवाइमा सरोकारवालाहरुले फोहोर उठाउन थालेका हुन् । सातवटा ट्याक्टरबाट ढुवानी गरिएको फोहोर बसपार्क क्षेत्रको खाल्डा खुल्डी जमिनमा जेसीबीको प्रयोग गरी व्यवस्थापन गरिएको छ । वातावरणीय स्वच्छतालाई समेत ध्यानमा राखी फोहोर गहिरो खाडल खनेर माथिबाट माटोले पुरिएको संयोजक शिवाकोटीले बताए । एक साता भन्दा बढी समयदेखि फोहोर नउठाइदा बिर्तामोड दुर्गन्धित बनेको थियो । बुधबार एकसाथ २१ ट्याक्टर फोहोर उठाइएको हो ।
संयोजक शिवाकोटीको अध्यक्षतामा विहान भएको एकता हेड्सका अध्यक्ष श्याम गुरुङ, हार्डवेयर व्यवसायी संघका अध्यक्ष मात्रिका कोइराला, विर्तामोड नगरपालिका प्रतिनिधि मेघराज बास्तोला, बसपार्क व्यवस्थापन समितिका विष्णु राई, राष्ट्रिय उद्योग वाणिज्य संघका राजेन्द्र लिङ्गदेन, वाणिज्य संघ बिर्तामोडकी सुनिता ओलीसहितको वैठकले तत्कालका लागि फोहोर उठार्ई बसपार्क क्षेत्रमा व्यवस्थित ढंगले पुर्ने सहमति भएको थियो । फोहोर उठाउनको लागि वाणिज्य संघ बिर्तामोड र एकता हेड्सको अगुवाईमा नगरपालिकाले सहयोग पु¥याएको छ । फोहोर व्यवस्थापन
समितिका संयोजक शिवाकोटीले केही दिनका लागि समस्या समाधान भएपनि दिगो व्यवस्थापनका लागि तत्काल डम्पिङ साइडको व्यवस्थापन हुनु पर्नेमा जोड दिएका छन् । बिर्तामोड शनिअर्जुन र कनकाई नगरपालिकाको अधिकृतहरुको बैठकले फोहोर व्यवस्थापनका लागि साझा डम्पिङ साइडको व्यवस्था गर्न जग्गा खोजी गर्ने र त्यसका लागि वातावरण मन्त्रालयबाट अनुमति लिने विषयमा पहल अगाडि बढाएको छ ।

सिके राउत इटहरीबाट पक्राऊ-साइबर क्राइम मुद्धा

मोरङ । मधेसलाई छुट्टै राज्य बनाउन माग गर्दै आएका डा. सिके राउत इटहरीबाट पक्राउ परेका छन् । राज्य विप्लवको मुद्दा खेपिसकेका राउतलाई मंगलबार दिउँसो साढे ३ बजे प्रहरीले पक्राउ गरेको हो ।
 नेपाल सरकारको आदेशअनुसार उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) विनोदकुमार शर्माले बताए ।
 इटहरीबाट प्रशारित एरीना टेलिभिजनमा दिउँसो साढे ३ बजेको अन्तरवार्ता दिन गएका उनलाई टेलिभिजन परिसरबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो । उनी यसअघि पनि पटक पटक पक्राउ पर्दै छुट्दै आएका छन् ।

साइबर क्राइम मुद्धा

नेपाली महिलालाई अपमान गर्दै  ट्विटर लेख्ने राउतविरुद्ध जिल्ला प्रहरी कार्यालय काठमाडौँमा साइबर क्राइम अन्तर्गत मुद्दा परेको छ ।
बारा, सपही–९ की सावित्री सुवेदीले राउतविरुद्ध
 मुद्दा दर्ता गराएकी हुन् । बारामा सामाजिक संस्थामा क्रियाशील सुवेदीले मंगलबार मुद्दा दर्ता गराएकी हुन् । उनले भनिन् ‘नेपाली महिलाविरुद्ध अपमानजनक भाषा प्रयोग गरेर सामाजिक सञ्जालमा लेख्ने राउतविरुद्ध विद्युतीय कारोबार ऐन–०६३ अन्तर्गत साइबर अपराधको मुद्दा दर्ता गराएको छु ।’
सप्तरी, महादेवा–७ का ३७ वर्षीय राउतले ४ जेठमा बेलुका ९ः०३ बजे ट्विटर टाइमलाइनमा ‘नेपाली मधेसमा आएर आखिर अँगाल्ने यति न हो’ भन्दै नेपाली महिलालाई अपमान हुने स्ट्याटस लेखेका थिए । प्रहरीले मुद्दा दर्ता गर्दै बुधबार राउत र उनको ट्विटरको समाचार बनाउने अनलाइनका पत्रकार बोलाउने तयारी गरेको बुझिएको छ ।

अध्यक्षका २ जनामात्र उम्मेदवार

अर्काे प्यानलको पनि उम्मेदवारको सूचि सार्वजनिक

 दमक । झापा, इलाम र पाँचथरको पश्चिमी क्षेत्रका लागि चर्चाको विषय बनेको दमक–रवि –चिसापानी (फाल्गुनन्द) सडक निर्माण उपभोक्ता समितिलाई आफ्नो पकडमा पार्ने दाउमा २ जना अध्यक्षलाई मैदानमा उतारेर  २ वटा प्यानल अगाडि बढेको छ ।
अध्यक्षका ६ जना उम्मेदवारमध्ये मंगलबार ४ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि नेतृत्व हत्याउन प्रकाश बुढाथोकी र रेवतराज पुरी (गगन)बीच प्रतिष्पर्धा हुने भएको छ  । बुढाथोकी सक्रिय कांग्रेस कार्यकता तथा महासमिति सदस्य हुन् । पुरी एमाओवादीका राज्यसमिती सदस्य हुन् ।
सदस्यका ५ जना उम्मेदवारले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन समिति संयोजक विश्वदिप लिङ्देनले जनाए । अध्यक्षका लागि एमालेका होमबहादुर थापा, कांग्रेसका दिलबहादुर बुढाथोकी, राप्रपा नेपालका घनेन्द्र सुब्बा र संघीय समाजवादीका लोकसागर साम्बाको उम्मेदवारी फिर्ता भएको छ । सुब्बा र साम्बाले एमाओवादीको अगुवाईको गठन्धनलाई सघाउने बताएका छन् ।
सदस्यमा भनें गणेश बस्नेत, चन्द्र गजमेर, धनराज गिरी , प्रेमबहादुर बस्नेत , पदम गिरी र युवराज खनालले फिर्ता लिएका छन् ।
सहितले फिर्ता लिएका छन् । यसैबीच, कांग्रेस, एमाले, राष्ट्रिय जनमुक्ति र राप्रपा नेपाल सहितको गठबन्धनले मंगलबार पत्रकार सम्मेलन गरी आफ्नो पक्षका उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छ । सो प्यानलबाट प्रकाश बुढाथोकीलाई अध्यक्षको उम्मेदवार बनाइएको छ । सहअध्यक्षमा पूर्णबहादुर बस्नेत, वरिष्ठ उपाध्यक्षमा मणिकुमार भण्डारी, महिला उपाध्यक्षमा भगवती श्रेष्ठ, उपाध्यक्षमा डिकबहादुर लिम्बू, महासचिवमा हेमन्त राई, कोषाध्यक्षमा मोहन धिमाल, सचिवमा नरेन्द्र सुब्बा, महिला सचिवमा लीला दहाल ढुंगेललाई उम्मेदवार बनाइएको छ । सदस्यहरुमा, केन्द्र प्रसाई, प्रदिपचन्द्र राई, कुलबहादुर लिम्बू, हर्क साम्बा, राजेन्द्रकुमार लिम्बू, विक्रम अधिकारी, मनकुमार साम्बा, भूपेन्द्र साम्बा, शान्तबहादुर विक, चन्द्र साँवा, पुकारराज राई, महिला सदस्यमा दुर्गादेवी खनाल, हर्कमाया तामाङ र सुजता अधिकारी उम्मेदवार बनेका छन् ।
पत्रकार सम्मेलनमा आफ्नो गठबन्धनको प्रतिवद्धतापत्र पढ्दै अध्यक्षका उम्मेदवार बुढाथोकीले आफुहरुले सडकलाई प्राथमिकता नम्बर १ मा पार्ने प्रक्रिया अगाडि बढाइरहेको जनाए । उनले सभासदहरु केपी शर्मा ओली, सुवासचन्द्र नेम्वाङ, महेन्द्रकुमारी सुब्बा र भिष्मराज आङ्देम्बेको सक्रिय पहलमा प्राथमिकता नम्बर १ मा पार्न पहल भएको बनाउँदै आगामि बर्षबाट वहुवर्षीय ठेक्कामा काम हुने दावी गरे । आफुहरुले कल्पनामा उडान नभर्ने भन्दै केही साहित्यिक शैलीमा लेखिएको प्रतिवद्धतापत्रमा आगामि वर्षको बजेटमा १० करोड रुपैयाँ विनियोजन गराउन सरकारले सडक विभागसँग कार्यक्रम मागेको उल्लेख गरिएको छ । आगामी वर्षदेखि सडकमा हिँउद र वर्षामा यातायात सञ्चालन गर्ने बनाउने, पहाडका बाँझो, इभाङ, गजुरमुखी र लुम्देलाई अर्गानिक भिलेज बनाउने र माङ्मालुङलाई ढुंङ्गे संग्रहालय बनाएर पर्यटन उद्योग प्रवद्र्धन गर्न प्रतिवद्ध रहेको सो पत्रमा उल्लेख छ । सो सडकले छुने झापा ७, इलाम २ र पाँचथर २ मा एमाले र कांग्रेसले जितेको र समानुपातिक सभासद पनि यिनै पार्टीका रहेका र सरकार पनि यिनै २ पार्टीको संयुक्त भएको कारणले पनि यो सडकको नेतृत्व पनि यिनै पार्टीले पाउने भन्ने कुरा प्रतिवद्धतापत्रमा लेखिएको छ ।
उता, एमाओवादी अगुवाईको ६ दलीय गठबन्धनले ११ बुँदे प्रतिवद्धता जाहेर गरेको छ । ६ दलमा एमाओवादी, संघीय लिम्बूवान पार्टी, संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी र नेपाल कम्यूनिष्ट पार्टी एकीकृतको गठबन्धन रहेको छ । यी दुई गठबन्धनबीच राजनीतिक हिसावले खुलेरै आ आफ्ना पक्षमा लविङ तथा प्रचारवाजी भएको छ ।
जेठ १५ र १६ गते हुने सो सडक उपभोक्ता समितिको निर्वाचनमा एमाओवादी अगुवाइको गठबन्धनको सहअध्यक्षमा गोविन्द बस्नेत, वरिष्ठ उपाध्यक्षमा सुशीलकुमार राई, उपाध्यक्षमा विनोद नेम्वाङ, महिला उपाध्यक्षमा हरिदेवी राई, महासचिवमा प्रेमकुमार थाम्सुहाङ (प्रेमदिप), सचिवमा दिलकुमार लावती, महिला सचिवमा छमिला तामाङ (सरला) र कोषाध्यक्षमा नैनबहादुर भण्डारीलाई उम्मेदवार तय गरेको छ । सदस्यमा लोमनाथ भण्डारी, यदुनन्दन सिटौला (उमेश), रुद्रबहादुर कार्की, डम्बर पुलामी मगर (कर्मा), शक्ति साम्बा, लिलाश्वर पालुङ, गजेन्द्र राई, मिलन बस्नेत, टिकाराम लिम्बू, किसान खजुम लिम्बू, यामबहादुर अधिकारी, महिला सदस्यमा पद्मा अधिकारी, नरमाया तामाङ र ओममाया आङदेम्बे रहेकी छन् । समितिको अध्यक्ष १ , सहअध्यक्ष २ , बरिष्ठ उपाध्यक्ष २ , महिला उपाध्यक्ष १ , उपाध्यक्ष १, महासचिव १, कोषध्यक्ष १, सचिव १ र महिला सचिव १, सदस्य १३ का लागि ४७ जनाले उम्मेदवारी दिएका छन् ।
पहिलो चरणको चुनाव जेठ १५ मा दमकको रेडक्रस भवनमा तथा १६ गते इलाम बाँझोको खलङ्गे विद्यालयमा बिहान ८ देखि अपरान्ह ४ बजेसम्म मतदान हुने छ । जसमा १ हजार १ सय ३ मतदाता छन् ।

आगलागीमा साढे १२ लाखको क्षति

सुनसरी । सुनसरी र सिरहामा सोमबार राती भएका आगलागीका छुट्टा छुट्टै घटनामा साढे १२ लाख रुपैयाँ बराबरको धनमालको क्षति भएको छ ।
सुनसरीको सिमरिया २ का सुरेन्द्र चौधरीको घरमा रहेको एग्रोभेट पसलमा आगलागी हुँदा १० लाख रुपैया बराबरको क्षति भएको प्रहरीले जनाएको छ । राति ८:२० बजेतिर पसलमा बालेको मैनबत्तिबाट सल्किएको आगोले पसलसहित घर र एउटा मोटरसाइकल समेत जलेर नष्ट हुँदा सो मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यस्तै, आगलागीबाट सिरहाको महेशपुरपतार ६ का छबिलाल शाहको भान्साघर तथा गोठ जलेर नष्ट भएको छ । सोमबार राती १० बजेतिर फुसको छानो भएको भान्सा घरबाट सल्किएको आगोले भान्साघर जलेर नष्ट हुनुका साथै गोठमा रहेका एउटा गाई र बाछो जलेर मर्दा २ लाख ५० हजार रपैया बराबरको क्षति भएको हो । आगो निभाउने क्रममा ११ वर्षिया बालिका संगिताकुमारी शाह घाईते समेत भएकी छन् । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको सिरहा प्रहरीले जनाएको छ ।

आगलागी पीडितलाई राहत

विर्तामोड । झापा उद्योग वाणिज्य संघ शाखा विर्तामोड र छठ सेवा समाज बिर्तामोडले संयुक्त रुपमा सप्तरीका अग्नि पीडित ४३ घरपरिवारलाई राहत वितरण गरेको छ । दुवै संस्थाको संयुक्त टोलीले सोमवार सप्तरी रामपुर मलनीया–५ स्थित अग्नि पीडित परिवारकैमा पुगेर ३ लाख ५० हजार रुपैयाँ बराबरको राहत वितरण गरेको झापा उद्योग वाणिज्य संघ शाखा विर्तामोडका अध्यक्ष बलराम कार्कीले जानकारी दिए । छठ समाजका अध्यक्ष देवेन्द्रकुमार सिंहका अनुसार अग्नि पीडितहरुका लागि चामल, दाल, नून, तेल, चिउरा, साबुन, भाडाकुडा, लत्ताकपडा लगायतका सामग्री वितरण गरिएको थियो । 
गत चैत २६ गते भएको आगलागीमा घरवारविहीन भएका मलनीयावासीको पीडामा थोरै भएपनि राहत पुर्याउन झापाका विभिन्न क्षेत्रबाट संकलित सामग्री वितरण गरिएको बताइएको छ । झापा उद्योग वाणिज्य संघ शाखा बिर्तामोडले यसअघि ताप्लेजुङका अग्नि पीडित तथा भूकम्प पीडितका लागि ३० लाख रुपैयाँ बराबरको राहत सामग्री तथा नगद जुटाएर हस्तान्तरण गरेको थियो । 

भूकम्पपछि २२ अर्ब रेमिटान्स भित्रियो

काठमाडौं । विनासकारी भूकम्प आएको एक महिना पुगेको छ । भूकम्प यता विदेशी भूमिमा पसिना बगाइरहेका नेपालीहरुले मुलुकमा २२ अर्ब रुपैयाँ बढी रेमिटान्स पठाएका छन् ।
‘रेमिटान्सको वृद्धिदर बढेको छ, जसले हामीलाई यो संकटको घडीमा पैसाको अभाव हुनबाट केही हदसम्म  भएपनि मुक्त बनाएको छ’ केहीदिन अघिको एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले भनेका थिए  ‘भूकम्पपछि मुलुकमा करिब २२ अर्ब रुपैयाँ रेमिटान्स भित्रिएको छ ।’
फागुनमा ४ प्रतिशतले बढेको रेमिटान्स चैतमा ७ प्रतिशतले बढेको थियो । बैशाख महिनामा १० देखि १२ प्रतिशतको वृद्धिदर हुने राष्ट्र बैंकका अधिकारीहरुको आँकलन छ ।
बैशाख महिनामा कति रेमिटान्स आयो भनेर ठ्याक्कै तथ्यांक त छैन । तर, बैंकहरुले राष्ट्र बैंकलाई बिक्री गरेको विदेशी मुद्रालाई आधार मानेर गभर्नरले २२ अर्ब रुपैयाँ रेमिटान्स भित्रिएको बताएका हुन ।
बैंकहरुले राष्ट्र बैंकलाई फागुनमा ३० अर्ब र चैतमा ३१ अर्ब रुपैयाँ बराबरका विदेशी मुद्रा बिक्री गरेका थिए भने बैशाखमा ५३ अर्ब रुपैयाँ बिक्री गरेको राष्ट्र बैंकका प्रवक्ता डा. मिनबहादुर श्रेष्ठले जनाए ।
‘बैंकहरुले राष्ट्र बैंकलाई बिक्री गरेको विदेशी मुद्रामध्ये अधिकांस रेमिटान्समार्फत आएको वैदेशिक मुद्रा हो’ प्रवक्ता श्रेष्ठले भने ‘केही रकम भने कुटनीतिक खातामा आएको रकम हो ।’
फागुन र चैत महिनाको तुलनामा बैशाख र जेठ महिनामा रेमिटान्सको वृद्धिदर उच्च रहने राष्ट्र बैंकको आँकलन छ । चालू आर्थिक वर्षको चैत महिनामा ४ खर्ब २६ अर्ब १९ करोड रुपैयाँ रेमिटान्स आएको तथ्यांक राष्ट्र बैंकले सार्वजानिक गरिसकेको छ । गत आवको चैतमा ३१ प्रतिशतले बढेको रेमिटान्स यो आवको चैतमा ७ प्रतिशतले मात्रै बढेको छ ।

लायन्सद्वारा पत्रकारलाई २ सय थान त्रिपाल

काठमाडौं । लायन्स क्लव  अफ इन्टरनेशनलले भूकम्प प्रभावित पत्रकारहरुलाई वितरणका लागि नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखालाई २ सय थान त्रिपाल तथा कम्बल लगायतका सामग्री उपलब्ध गराएको छ ।
लायन्स क्लवका प्रमुख भरतप्रसाद ढुङगेलले भूकम्पबाट प्रभावित पत्रकारहरुका लागि उक्त सामग्री पत्रकार महासंघ काठमाडौं शाखालाई हस्तान्तरण गरेको सचिव रामकृष्ण अधिकारीले बताए । भूकम्प आएपछि लायन्स क्लवले अहिलेसम्म १३ हजार त्रिपालको साथै ७ करोड वरावरको खाद्यान्न वितरण गरिसकेको छ । पीडितहरुको सेवामा लागेको लाइन्स क्लव अब भत्केका विद्यालय पुनर्निर्माणमा लाग्ने तयारीमा रहेको ढुंगेलले बताए ।
त्यही क्रममा पत्रकारहरु पनि पीडामा रहदा रहै पनि आफनो कार्यक्षेत्रमा निरन्तर खटिएर काम गरिरहेको अवस्थालाई मध्यनजर गरेर लाइन्सले प्रभावित पत्रकारलाई राहात स्वरुप सो सामाग्री वितरणका लागि महासंघको काठमाडौं जिल्ला शाखालाई हस्तान्तरण गरेको हो । अहिलेसम्म पत्रकार महासंघ काठमाडौ शाखाले विभिन्न क्षेत्रबाट प्राप्त सहयोगबाट झण्डै ५ सय पत्रकारहरुलाई त्रिपाल लगायतका राहत सामग्री वितरण गरेको शाखा सचिव अधिकारीले जानकारी दिए ।

मिलन एफसी ’बी“ विजयी

दमक । दमक–१२ को खेल मैदानमा जारी नकआउट खुल्ला फुटवल प्रतियोगिताको मंगलवार भएको खेलमा मिलन एफसी ‘बी’ इस्टर्न एफसी हलेसीलाई पछि पार्दै विजयी बनेको छ ।
 खेलको मध्यान्तर हुन १ मिनेट बाँकी हुँदा इस्टर्न एफसीकोतर्फवाट सुशील लिम्बुले पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए पनि मध्यान्तर पश्चात कुनै गोल गर्न नसकेपछि त्यतिमै चित्त बुझाउन बाध्य हुनुपर्यो । मध्यान्तर पश्चात निकै आक्रामक खेल खेलेको मिलन एफसी ‘वी’ को तर्फवाट खेलको ११ औं मिनेट जाँदा सन्दिप लिम्बुले गोल गर्दै वरावरीमा ल्याई पुर्याएका थिए । मिलन एफसीकै तर्फवाट खेलको १९ औं मिनेट र २१ औं मिनटमा सचिन राईको लगातार दुईगोल पछि वी टिम  १–३ ले विजयी बन्न सफल भएको हो । बुधवार आयोजक भिएफसी दमक १२ ‘वी’ र हिमालयन एफसी दमक–२ बीच हुने भिएफसीका उपाध्यक्ष कमल राईले बताए ।

भूकम्पको पीडा भुलाउन सृजना अभियान

दमक । नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानले भूकम्पको पीडा भुलाउन पूर्वमा पनि सृजना अभियान सञ्चालन गर्ने भएको छ ।
झापाको दमकस्थित दमक पब्लिक लाइब्रेरीमा मंगलबार आयोजित छलफलमा प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकले जेठ १५ देखि २४ गतेसम्म गीत, साहित्य र नाटक प्रस्तुतिको कार्यक्रम रहेको जनाए । कार्यक्रम बालबालिकाका लागि बढी केन्द्रीत रहने छ । जेठ १५ मा इलामको चुलाचुली १६ मा मोरङको पथरी, १७ मा झापाको दमक सहित झापा, मोरङ र इलामका विभिन्न स्थानमा कार्यक्रम गरिने छ ।
सो अवसरमा चुलाचुली थिएटर र मोरङको कंचनजंघा नाट्य समूहको नाटक सहितका प्रस्तुति रहनेछन् । छलफल कार्यक्रममा प्राज्ञहरु राम धामी, कोमल निरौलाका साथै गीतकार शिवशंकर थापा, साहित्यकार शिव रेग्मी प्रणत, भूमि दहाल, भूपेन्द्र तिम्सिना, कृष्ण उदासी, रंगुन गुरुङ, भेषराज न्यौपाने, धनकुटे कान्छा सहितले कार्यक्रमको अभियानका बारेमा एकजुट भएर लाग्न धारणा राखेका छन् ।
सो अभियानमा ८० वर्षीय विशिष्ट लोकगायक एलपी जोशीका साथमा गायक गणेश रसिक सहितको अगुवाईमा भूकम्पको त्रासलाई कम गरेर सामान्य जीवनमा फर्किन सृजनात्मक सन्देश छर्ने कार्यक्रम छ ।

विपद टार्न भूमिपूजा

दमक । मुलुकमा विपद् आइ नपरोस् भन्दै दमक ९ का बासिन्दाले ७ जना पण्डित पढाएर भूमि पुजा गरेका छन् ।
भूकम्प, हावाहुरी जस्ता प्राकृतिक प्रकोपले मानिसलाई दःुख नदेओस् भन्दै वैदिक बिधि अनुसारले पण्डित लगाएर पूजा गरेका हुन् । चियावगान क्षेत्रमा भूमिपूजा समितिले देशमा खण्डवृष्टि, अतिवृष्टि अनावृष्टि नहोस् भनेर वडाबासी भेला भई हिन्दु धर्मशास्त्र अनुसार पूजा गरेको संयोजक गोविन्दराज न्यौपानेले बताए । गत बैशाख १२ र २९ गते गएको भूकम्पमा परी घाईते भएका , मानसिक तनावमा रहेका नागरिकहरुको शान्तिको  कामना  गदै  स्वस्ती शान्ति गरेको पनि न्यौपानेले उल्लेख गरे ।

यूनियनद्वारा दीप प्रज्वलन

दमक । प्रेस युनियन माई पश्चिम झापाले मंगलवार दमकको गणतन्त्र चोकमा भूकम्पबाट ज्यान गुमाएकाहरुको सम्झनामा दिप प्रज्वलन गरेको छ । गत बैशाख १२ र २९ गते आएको भूकम्पमा परेर घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरी दिप प्रज्वलन गरेको हो । भूकम्पमा ज्यान गुमाएकाहरुको सम्झनामा र युनियनको स्थापना दिवसको अवसरमा भएको दिप प्रज्वलनको शुभारम्भ  नेपाली कांग्रेस झापा क्षेत्र नम्वर ७ का क्षेत्रीय सभापति शेरबहादुर भट्टराईले गरेका थिए ।

घर घरमा ‘किचन बम’

-  तेजबन विश्वासी
सुनसरी ।  नियमनकारी निकाय आफैमा चुप लागिदिँदा र स्थानीय उपभोक्ताहरु समेत सचेत नहुँदा नेपाल सरकारले विक्री वितरणमा प्रतिबन्ध लगाएको साना आकारको सिलिन्डरहरु पुन पूर्वका बजारहरुमा देखिन थालेका छन् ।
बजार अनुगमन गर्ने निकाय जिल्ला प्रशाशन कार्यालय तथा घरेलु उद्योगका कर्मचारीहरु भूकम्प पीडितलाई राहत बाँढ्न गएको मौका छोपी व्यापारीहरुले साना आकारका सिलिण्डरको विक्री वितरणलाई तीव्रता दिएका छन् । पटक पटक व्यापारीहरुलाई साना आकारको सिलिण्डर विक्री वितरण नगर्न सम्बन्धित निकायहरुले आग्रह गरेपनि ठोस कार्वाही नीति लागु गर्न नसक्दा पूर्वमा पूनःव्यापारीहरुले साना आकारको सिलिण्डर विक्री बितरणलाई तीव्रता दिएको पाइएको छ । ‘किचन बम’को संज्ञा दिदै आएको साना आकारका सिलिन्डरहरु प्रयोगमा खतरा रहेको भन्दै नेपाल सरकारले यस्को विक्री वितरणमा रोक लगाउँदै आएको छ तर नियमनकारी निकायले नियमित बजार अनुगमन नगर्दा र अनुगमनको बेला पक्राउ परेका व्यापारीहरुलाई कडा कार्वाही गर्न नसक्दा पूर्वका बजारहरुमा फेरि साना आकारका सिलिण्डरहरु विक्री वितरण हुन थालेका छन् ।
पूर्वको केन्द्र मानिएको इटहरीलाई व्यापारीहरुले साना सिलिण्डर विक्री गर्ने मुख्य अड्डाको रुपमा लिदै आएका छन् । मोरङ र झापामा पनि यस्ता सिलिण्डरको विक्री भइरहको बुझिएको छ । बाटैमा प्रहरी कार्यालय रहेको देखेपनि प्रसाशनकै आँखा अघि साना आकारको सिलिण्डर विक्री वितरण भइरहँदा व्यापारीहरुलाई कार्वाहीको दायरामा ल्याउन प्रसाशन स्यवम असक्षम देखिएको छ । आँखा अघी गैरकानुनी काम भएपनि उजुरीको पर्खाइमा रहेको प्रसाशनले त्यस्ता व्यापारीहरुलाई कार्वाहीको सट्टा आखा चिम्लेर बसेको पाइन्छ । हेर्दा सानो चिटिक्क देखिने र कम लागतमा उत्पादन समय टिकाउने हुदा कम आर्थिक स्तर भएका उपभोक्ताहरुले यस प्रकारका सिलिण्डरहरु प्रयोग गर्ने गरेका छन् । यता बजार अनुगमनको जिम्मा पाएको जिल्ला प्रशासन कार्यालय सुनसरी भने आफनो क्षेत्रमा भएको कालोबजारी तथा गैरकानुनी कामको बिषयमा केही जानकारी नभएको बताउँदै आएको छ । यतिबेला सिङ्गो राष्ट्र भूकम्प पिडितहरुको उद्धार र राहतमा खटिएको कारण साना तिना कुराहरुमा ध्यान नगएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ बताउँछन् ।


यसरी भित्रन्छ अवैध सिलिण्डर !

नेपाल भारतबीचको मैत्रीपूर्ण सम्बन्धको फाइदा उठाउँदै भारतीय नाकाहरुमा रहेका नेपाली तथा भारतीय शुरक्षाकर्मीहरुकै मिलेमतोमा यस्ता साना आकारका सिलिण्डरहरु भित्रीने गरेको श्रोतको भनाइ छ । नेपाल र त्यसमा पनि तराइमा रहेका खुल्ला सिमानाको फाइदा उठाउँदै जिल्ला प्रवेश गरेका व्यापारीहरुको बढी मिलेमतो रहेको पाइन्छ । नेपालका व्यापारीहरुसंग अग्रिम कन्ट्रयाक गरी रातको समयमा सुनसरीको भारतीय नाका हरीपुर, भुटाहा, कोशी ब्यारेज, भण्टावारी, बिराटनगरको नाका जोगवनी, लगायतका नाकाहरुबाट यस्ता अवैध सिलिण्डरहरु भित्रिने गरेका छन् ।

नेतृत्व लिन दलहरु चुनावी प्रतिष्पर्धामा ६ दलीय गठबन्धनद्वारा ११ बुँदे प्रतिबद्धता

दमक । झापा, इलाम र पाँचथरको पश्चिमी क्षेत्रका लागि चर्चाको विषय बनेको दमक चिसोपानी रवि सडक निर्माण उपभोक्ता समितिलाई आफ्नो पकडमा पार्ने भन्दै ६ दलीय गठबन्धनले ११ बुँदे प्रतिवद्धता जाहेर गरेको छ । सोमबार दमकमा पत्रकार सम्मेलन गरी एकीकृत माओवादी, संघीय लिम्बूवान पार्टी, संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी र नेपाल कम्यूनिष्ट पार्टी एकीकृतको गठबन्धनले प्रतिवद्धता जाहेर गरेको हो ।
दमक रवि सडक निर्माण थालिएको २३ वर्षमा पनि ठोस काम खासै नभएको भन्दै अवको काम आक्रामक हिसावले अगाडि बढाउने, सरकारबाट विनियोजित रकम फ्रिज हुन नदिन कुशल र समन्वयात्मक भूमिका खलेर प्राथमिकता नम्बर १ मा पार्ने लक्ष्य राखेको प्रतिवद्धतापत्रमा उल्लेख छ । १२ महिना नै सवारी आवत जावत गराउनका लागि सडक पुरा गर्ने, ४ वर्षभित्र दमकदेखि
रविसम्मको सडकको चौडाई बढाएर ग्राभेल र पक्की ढल निर्माण गर्दै ७ वर्षभित्र कालोपत्रे गर्ने कुरा समेत उल्लेख गरिएको छ । सडक अन्तर्गत पर्ने चोकहरुलाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने, पहाडी इलाकाका कतिपय गाउँलाई रक गार्डेन तथा अर्गानिक भिलेजका रुपमा विकास गर्ने कुरा पनि प्रतिवद्धतापत्रमा उल्लेख छ । यसका साथै लारुम्बालाई बृहत धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने, भारतको सिमाना फत्तेपुरबाट चीनको घाङ्ला जोड्ने आधार मार्गका रुपमा दमक रवि सडकलाई विकास गर्ने प्रतिवद्धतापत्र प्रस्तुत गरिएको छ । हालसम्म सो सडकमा योगदान पुर्याउनेहरुको इतिहास समेटेर स्मारिका प्रकाशन तथा हालको सदस्यता शुल्क चर्काे भएकाले ५ सयबाट घटाएर १ सयमा ल्याउने पनि उनीहरुले जनाएका छन् । सो गठबन्धनका अध्यक्षका उम्मेदवार रेवतराज पुरी (गगन)ले प्रतिवद्धतापत्र प्रस्तुत गरेका थिए । अन्य दलको हठले सहमतिमा निर्वाचन हुन नसकेको र ठूला २ दलले सडकलाई आफ्नो नियन्त्रणमा राख्न खोजेकाले आफुहरुले मोर्चावन्दी कायम गरिएको अध्यक्षका उम्मेदवार गगनले बताए ।
जेठ १५ र १६ गते हुने सो सडक उपभोक्ता समितिको निर्वाचनमा गगनका साथै अन्य ५ जना अध्यक्षका उम्मेदवार रहेका छन् । गठबन्धनले सहअध्यक्ष गोविन्द बस्नेत, वरिष्ठ उपाध्यक्ष सुशीलकुमार राई, उपाध्यक्ष विनोद नेम्वाङ, महिला उपाध्यक्ष हरिदेवी राई, महासचिव प्रेमकुमार थाम्सुहाङ, सचिव दिलकुमार लावती, महिला सचिव छमिला तामाङ र कोषाध्यक्ष नैनबहादुर भण्डारीलाई उम्मेदवार तय गरेको छ । सदस्यमा लोमनाथ भण्डारी, यदुनन्दन सिटौला, रुद्रबहादुर कार्की, डम्बर पुलामी मगर, चन्द्र गजमेर, शक्ति साम्बा, लिलाश्वर पालुङ, गजेन्द्र राई, मिलन बस्नेत, टिकाराम लिम्बू, किसान खजुम लिम्बू, यामबहादुर अधिकारी, महिला सदस्यमा पद्मा अधिकारी, नरमाया तामाङ र ओममाया आङदेम्बे रहेकी छन् ।
अरु दललले पनि आ–आफनो दलीय गठबन्धनबाट उम्मेदवारी तय गरेका छन् । अध्यक्षका लागि एमालेका होमबहादुर थापा, काँग्रेसका प्रकाश बुढाथोकी र दिलबहादुर बुढाथोकी उम्मेदवार बनेका छन् । यसैगरी राप्रपा नेपालका घनेन्द्र सुब्बा र संघिय समाजवादीका लोकसागर साम्बाको पनि अध्यक्षमा उम्मेद्वारी परेको छ । ९ जना कार्यकारी पदाधिकारीका लागि २४ जनाले उम्मेद्वारी दिएका छन् । यसैगरी १३ जना सदस्यका लागि २७ जनाको उम्मेद्वारी परेको छ । समितिमा ४ संस्थागत समेत ८ जना मनोनित गर्ने प्रावधान छ । पहिलो चरणको चुनाव जेठ १५ मा दमकको रेडक्रस भवनमा तथा १६ गते इलाम बाँझोको खलङ्गे विद्यालयमा बिहान ८ देखि अपरान्ह ४ बजेसम्म मतदान हुने छ । जसमा १ हजार १ सय ३ मतदाता छन् ।

ज्येष्ठ नागरिकलाई परामर्श र हेरचाहको आवश्यकता

उर्लाबारी । ज्येष्ठ नागरिकहरुलाई परामर्श र हेरचाहको आवश्यकता रहेको मोरडको उर्लाबारीमा आयोजित कार्यक्रमका सहभागीहरुले बताएका छन् । शान्ति तथा सञ्चार मञ्च नेपाल  र ज्येष्ठ नागरिक एकता समन्वय केन्द्र उर्लावारीको आयोजनामा भएको सचेतना कार्यक्रममा उर्लाबारी नगरपालिकाका कार्यकारी अधिकृत सुवास श्रेष्ठले ज्येष्ठ नागरिकहरुलाई हेरचाह र परामर्शको आवश्यकता पर्ने बताए । इलाका प्रशासन कार्यालय उर्लाबारीकी अधिकृत गीताकुमारी राईले ज्येष्ठ नागरिकहरुले सम्मानित र मर्यादित रुपमा जीवनयापन गर्न पाउनुपर्ने बताइन् । कार्यक्रममा ज्येष्ठ नागरिक प्रतिष्ठान जिल्ला संघ झापाका अध्यक्ष भवानी दाहाल, ज्येष्ठ नागरिक एकता समन्वय केन्द्रका केन्द्रिय अध्यक्ष चन्द्र प्रसाद गौतम लगायतले बोलेका थिए । तीन दिनसम्म चल्ने कार्यक्रममा नेपाल मानव अधिकार संगठनका केन्द्रिय सदस्य डा. के.पी. सुवेदी , मञ्चका अध्यक्ष तथा ज्येष्ठ नागरिक प्रशिक्षक पंकज दाहाल, मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालका रुद्र बहादुर तामाङ, पतञ्जली योग समिति झापाका अध्यक्ष लक्ष्मी काप्mलेले सहजीकरण गरिरहेका छन् ।

गोल्डेन गेटको अन्तरक्रिया

दमक । झापाको दमकमा रहेको न्यू गोल्डेन गेट नेशनल एकाडेमीमा एमवीवीएस र वीईका तयारी कक्षाका लागि अन्तरक्रिया शुरु भएको छ । तयारी कक्षाका लागि सोमबार यस संस्थासँग सम्बन्धित प्राध्यापक र विद्यार्थीहरुबीच अन्तरक्रिया भएको छ । एमवीवीएस र वीईका तयारी कक्षाका लागि काठमाडौं जानु पर्ने वाध्यता अन्त्य भएको प्राध्यापक घनश्याम दहाल पथिकले जनाए । अनुभवी प्राध्यापकहरुद्धारा तयारी कक्षा हुने संस्थाले दावी गरेको छ । अन्तरक्रियामा आवेदन दिनेमध्ये ३४ जनाको सहभागिता रहेको थियो ।

परिवार नियोजन सम्बन्धि सडक नाटक

सुरुङ्गा । परिवार नियोजन, सरसफाई तथा प्रजनन् स्वास्थ्य सम्बन्धि सचेतना जगाउन कनकाईका युवाहरुले सडक नाटक प्रदर्शन गर्न थालेका छन् । ओके परिवार स्वास्थ्य सेवा नेपालको सहयोगमा झापाको सुरुङ्गा सहकार्य युवा क्लव र अभियान नेपालका कलाकारहरुले संयुक्त रुपमा तीन दिनसम्म प्रदर्शन गरेको सडक नाटकको सोमवार सुनसरीको खनारमा गरीएको प्रदर्शन सँगै समापन गरीएको छ । परिवार नियोजन तथा प्रजनन स्वास्थ्य सम्वन्धी चेतनामुलक सडक नाटक झापा, मोरङ्ग र सुनसरीका विभिन्न क्षेत्रमा प्रदर्शन गरीएको सडक नाटकका निर्देशक कमल कट्टेलले वताएका छन् ।
प्रदर्शनको पहिलो दिन शनिबार झापाको पाँचगाछीमा र दोस्रो दिन दमक नगरपालिका साथै वेलबारीमा प्रदर्शन भएको छ । तेस्रो दिन सोमवार सुनसरीको टंकीसिनवारी, खनार र धरानमा प्रदर्शन भएको निर्देशक कट्टेलले बताए । कलाकार टोलीमा सुदिप भण्डारी, राजकुमार कट्टेल, केपी लुइँटेल, विकास भण्डारी, कृष्ण सिटौला, प्रविण तिम्सिना, मनिष गिरी, समिक्षा बस्नेत, एन्जिला उप्रेती, डम्बरकुमारी दाहाल, बिवेक शिवाकोटी रहेका छन् ।

पूजारीद्वारा ६ वर्षीया बालिका बलात्कृत

पर्सा । वीरगन्जको अलौं सिर्सियामा मन्दिरका पूजारीले ६ वर्षीया बालिकालाई बलात्कार गरेका छन् । राम जानकी मन्दिरका पूजारी ४५ वर्षीय मनक भगत मालीले गाँउकै ६ वर्षीया बालिकालाई आइतबार दिउँसो बलत्कार गरेका हुन् । पूजारी माली, बाराको बड्की फुलवरिया–६ का स्थायीबासिन्दा हुन् । बालिकालाई बलात्कार गरेको आरोपमा पूजारी मालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार दिउँसो खेलिरहेकी बालिकालाई पूजारीले आँपको प्रलोभन दिएर मन्दिरको छेउमा लगेर बलात्कार गरेका हुन् । पूजारीले बलात्कार गरेपछि भागेर घरमा पुगेकी बालिकाले घटनाबारे अभिभावकलाई जानकारी गराएलगत्तै गाँउलेले पीडकलाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए । घटना थाहा पाएलगत्तै प्रहरी चौकी अलौंबाट गएको प्रहरीको टोलीले पूजारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता वीरबहादुर ओलीले बताए । प्रारम्भिक बयानका क्रममा पूजारी मालीले गल्ती स्वीकारेको प्रहरीले जनाएको छ ।

दमक १२ को सडक कालोपत्रे गर्न ढिलाई

दमक । उपभोक्ता र डिभिजन सडक कार्यालयबिच बिवाद हुँहा दमक १२ को निलकण्ठ रोडको कालोपत्रे निर्माणमा ढिलाई भएको छ । पुर्वाञ्चल सडक डिभिजन कार्यालय दमक र उपभोक्ताको ४० लाख रुपैयाँको लागतमा निर्माण हुदै गरेको सो सडक अपलत्र परेको हो । निलकण्ड रोड  उपभोक्ता निर्माण समितिका सचिव रोहित आचार्यले सडक डिभिजनले निगरानी नगर्दा ठेकेदारले निर्माण कार्य अपलपत्र छोडेको बताए । दमक १२ को पृथ्वी निमाविदेखि उत्तर नेपाल टेलिकमको अफिस सम्मको बाटो २०७१ चैत १ गतेबाट निर्माण शुरु भएको र निर्माण कार्यमा समन्वयन नहुदाँ निर्माण अघि बढ्न नसकेको हो । डिभिजन सडक कार्यालयका प्रमुख रामहरि पोखरेलले उपभोक्ता समितिले रकम जम्मा गर्न ढिलाइ गरेको बताए ।
उपभोक्ताले १५ लाख रुपैया मात्र जम्मा पर्नेमा १० लाख रुपैयाँ मात्र जम्मा गरेपछि आधा सडक कालोपत्रे गर्न उपभोक्ताले समेत रोकिएको पोखरेलको दावी छ । ठेकेदार पुस्कर निर्माण सेवाका योगेन्द्र खड्काले उपभोक्ता समितिका कारण सडक निर्माणमा ढिलाई भएको बताउदै  ८/ १०  दिन भित्र काम अघि बढ्ने बताए । ६ सय ७० मिटर लम्वाईको सो सडक कालोपत्रेका लागि उपभोक्ताको २० लाख रुपैयाँ र सडक डिभिजनको २० लाख रुपैयाँको लगानीमा निर्माण गर्न ठेक्का लागेको थियो ।  

शुल्क संशोधनका लागि कार्यदल गठन

दमक । दमक नगरपालिकाले सार्वजानिक गरेको सरसफाई शुल्कको बिरोध भएपछि दररेटलाई परिमार्जन गर्नका लागि संयुक्त कार्यदल बनाउने सहमति भएको छ । सोमवार नगरपालिका र दमक उद्योग बाणिज्य संघका प्रतिनिधीहरुबीच भएको छलफलमा सरसफाई शुल्क परिमार्जनका लागि सुझाव लिने सहमति भएको हो । नगरपालिकाले फोहोर संकलन तथा ब्यवस्थापनको कार्य गर्न सार्वजनिक निजी साझेदारीमा पाथवे नेपाल प्रालि जेभीलाई दिएपछि गत आइतवार सुचना प्रकाशन गरी सरसफाई गर्दा नगरबासी र ब्यावसायीले दिने शुल्कको दररेट सार्वजानिक गरेको थियो । नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहाल , संघका कार्यवाहक अध्यक्ष गोकुल श्रेष्ठ नेतृत्वको कार्यसमितिको टोली बिच भएको छलफलमा संघ सहितको प्रतिनिधि रहेको कार्यदल बनाएर १० दिन भित्र ब्यवसायीबाट सुझाव लिने सहभागी द्धितिय उपाध्यक्ष  गोपाल गुरागाईले बताए । त्यस टोलीले दिएको प्रतिवेदनको बिषयमा अध्ययन गरी  शुल्क निर्धारण गर्ने गुरागाईले बताए । नगरपालिकाको सुचना अनुसार न्यनतम १ सय देखि बढीमा ३ हजार रुपैयाँ शुल्क लिइने छ  । त्यो शुल्क बढी भएको भन्दै एमाले निकटको नेपाल राष्ट्रिय बाणिज्य संघ दमकले पनि बिरोध गरेको थियो । नगरपालिकासंग भएको सहमतिपछि संघले त्यसबारे छलफल गर्न मंगलबार बिहान ब्यावसायीहरुलाई बोलाएको छ । संघले सोमबार सुचना गरी फोहोर ब्यवस्थापन शुल्कबारे मंगलबार बिहान संघ मातहतका बस्तुगत संघका प्रतिनिधी र संघका सदस्य तथा सल्लाहकारहरुलाई बोलाएको हो ।

बलात्कारी धर्मगुरु प्रहरी खोरमा

१४ वर्षीया वालिका पटक–पटक बलात्कृत

दमक । बाबु समान गुरुबाटै असुरक्षित भइन्छ भनें सुरक्षा कहाँ होला भन्ने प्रश्न पुनः झापामा दोहोरिएको छ । श्रीकृष्ण प्रणामी धर्मका धर्मगुरु बालिकामाथि जवरजस्ती करणीको अभियोगमा पक्राउ परेका छन् । जिल्लाको कन्काई नगरपालिका ४ स्थित प्रणामी मन्दिरका धर्मगुरु महाराज मोहनानन्द भारद्वाज सुवेदी कोटीहोमबाट पक्राउ परेका छन् । प्रणामी मन्दिर आश्रममा रहेका बालिकाहरुलाई धर्मगुरु सुवेदीले लामो समयदेखि आश्रममै जवरजस्ती करणी गर्ने गरेको जनाउदै आश्रमकी १४ वर्षिया एक बालिकाले प्रहरी समक्ष उजुरी गरेपछि उनी आश्रममा परिषद्को जिल्लास्तरीय बैठक भइरहेको समयमा बैठक स्थलबाटै पक्राउ परेका हुन् ।
उनलाई प्रहरीले कैलालीको टीकापुर घर भइ हाल आश्रममा बस्तै आएकी १४ वर्षिया एक बालिकालाई पटक–पटक जवरजस्ती करणी गर्ने गरेको उजुरीको आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सञ्जयबहादुर राउतले जानकारी दिए । मोरङ घर भई २० वर्षदेखि आश्रममा बस्तै अएका ६० वर्षिय सुवेदीले यसअघि पनि आश्रममा रहेका ६ जना बालिकालाई गुरु सेवाको नाममा यौन शोषण गर्ने गरेको पीडित बालिकाको आरोप छ । कनकाई उच्च मावि सुरुङ्गामा कक्षा–९ मा अध्ययनरत बालिकाले आफूमाथि लगातार भएको यौन शोषण अरु कसैले पनि भोग्नु नपरोस् भन्दै प्रहरीलाई खबर गरेसँगै घटना सार्वजनिक भएको हो । धर्मगुरुको यौन शोषणमा परेकी पीडित बालिकाको मेची अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । पक्राउ परेका सुवेदीले बालिकालाई यौन शोषण गर्ने गरेको प्रहरी समक्ष बयान दिएको समेत बताइएको छ ।

सरसफाई शुल्कको ब्यावसायीद्वारा विरोध

दमक । दमक नगरपालिकाले आइतबार सार्बजनिक गरेको सरसफाई शुल्कको बिरोध शुरु भएको छ । फोहोर संकलन तथा ब्यवस्थापनको कार्य सार्बजनिक निजी साझेदारीमा पाथवे नेपाल प्रालि जेभीलाई दिएपछि नगरपालिकाले आइतबार सुचना प्रकाशित गरि सरसफाई शुल्कको दररेट सार्बजनिक गरेको थियो । जसमा सामान्य पसलदेखि ठुला अस्पताल र उद्योगसम्मलाई सरसफाई शुल्क लिने उल्लेख छ ।
नगरपालिकाको सुचनामा न्युनतम १ सय देखि बढीमा ३ हजारसम्म शुल्क तिर्नुपर्ने हुन्छ । त्यसमा निजी घरदेखि ब्यापारी, क्लिनिक, अस्पताल, सरकारी कार्यलय गरि ६९ वटा नामहरु तोकेरै  तीबाट शुल्क उठाउने उल्लेख गरिएको छ । यो सुचना सार्बजनिक भएपछि आइतबार दिनभर नगरबासीदेखि ब्यावसायीहरु त्यसबारे छलफल गरेका छन् । उनीहरुले चोक र बजारहरुमा पनि शुल्कबारे छलफल गरे ।
बिशेष गरि ब्यावसायीहरुले शुल्क धेरै भएको भन्दै बिरोध हुन थालेको छ ।         नेकपा एमाले निकटको नेपाल राष्ट्रिय बाणिज्य संघ दमक नगरसमितीले नगरपालिकाले ब्यावसायीसंग कुनै छलफल नगरी सरसफाई शुल्क उठाउनबारे सुचना प्रकाशित गरेको भन्दै आपत्ति जनाएको छ । संघका नगर अध्यक्ष भरत चम्लागाईले दमकका सम्पुर्ण ब्यावसायीहरुलाई जानकारी नदिई शुल्क तोकेको भन्दै नगरपालिकाको कदमको बिरोध गरे । दमक नगरको सरसफाई अभियानमा आफुहरु पनि सहभागी हुदा पनि नगरपालिकाले सरसफाई शुल्कबारे कुनै जानकारी नदिई अहिले अचानक भारी शुल्क उठाउने भन्ने नगरपालिकाको निर्णयले ब्यावसायीहरु चिन्तित भएको उनले बताए ।  दमक उद्योग बाणिज्य संघले समेत संस्थागत निर्णय नगरेको दावी गर्दै चम्लागाईले भने,  सरसफाई शुल्कबारे उवासंघले समेत संस्थागत निर्णय नगरेको संघका रहेका सदस्यहरुबाट जानकारी आएको छ । उनले ब्यावसायीहरु बहाल कर, भ्याट, पान लगायतका दर्जनौ कर तिर्न बाध्य भएको भन्दै नगरपालिकाले पछिल्लो पटक लिने भनेको सरसफाई शुल्क धेरै भएको ब्यावसायीले तिर्नै नसक्ने बताए ।

दमकका १६६ भवनमा क्षति

दमक । भूकम्पले क्षति पुराएका १ सय ६६ संरचनाहरुको बिवरण दमक नगरपालिकाले जिल्ला दैविक प्रकोप उद्धार समिति झापालाई पठाएको छ । गत बैशाख १२ र २९ गते आएको भूकम्पले दमकमा पुराएको क्षतिको  विवरण नगरपालिकाले आइतबार समितिलाई पठाएको हो । नगरपालिकाले भूकम्पको क्षतिको २९ दिन सम्म अनुगमन गरी प्रतिवेदन पठाएको नगरपालिकाका इन्जीनियर तथा भवन संहिता सम्वन्धिका फोकल पर्सन अनन्त सेनेहाङले जानकारी दिए । १ सय २४ ब्यक्तिका घर, संघ संस्थाहरुको ४२ भवनहरुको अनुगमन गरेको नगरपालिकाले जनाएको छ । २१ सामुदायिक बिद्यालय अन्य भवनहरुको पनि अनुगमन गरेको थियो । नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहाल, इन्जीनियर सेनेहाङ , दमक प्राकृतिक प्रकोप राहत कोषका संयोजक लिला गुरागाई , पत्रकार मञ्च दमकका अध्यक्ष बिष्णु पोखरेल लगायतको टोलीले क्षति भएका भवनको स्थगत अनुगमन गरेको थियो ।  त्यस क्रममा भवनहरुको पर्खाल , बिम, सल्याव चर्किएको भेटिएको छ ।  गैर संरचनामा देखिएका संरचनाको सुधार गर्नु पर्ने आदि प्रतिवेदनमा उल्लेख छ । निजी बिद्यालयहरुमा भर्याङ, रेलिङ होचो रहेको , कोठाको ढोका बाहिरबाट राख्नु पर्ने, डेक्सबेच छुटाउनु पर्ने, प्यासेज बढाउनुपर्ने लगायतका समस्या देखिएका प्रतिवेदनमा उल्लेख छ ।

दमक रवि सडकको अध्यक्षमा ६ जनाको उम्मेवारी

दमक । दमक चिसोपानी रवि फाल्गुनन्द मार्ग उपभोक्ता समितिको निर्वाचनमा ६ जनाले अध्यक्ष पदका लागि उम्मेद्धवारी दिएका छन् । उमेद्धवारी दिनेमा अधिकांश राजनितीक दलकै नेताहरु छन् । निर्वाचन समितिका सदस्य लिला गुरागाईका अनुसार प्रकाश बुढाथोकी, होम बहादुर थापा, रेवतराज पुरी, दिल बहादुर बढाथोकी, घनेन्द्रराज योङया र लोक बहादुर सावाले अध्यक्षका लागि उम्मेदवारी दिएका हुन् । बुढाथोकीद्धय कांग्रेस, थापा एमाले, पुरी एमाओबादी, योङ्या राप्रपा नेपाल, सावा संघिय समाजबादीका नेता हुन् । समितिको सहअध्यक्षमा दमकका गोविन्द बस्नेत र इलामको इभाङका पूर्ण  बहादुर बस्नेत, बरिष्ठ उपाध्यक्षमा दमककै मणी कुमार भण्डारी र सुशिल कुमार राई, उपाध्यक्षमा इभाङकै  बिनोद कुमार नेम्वाङ र डिक बहादुर लिम्वूले उमेद्धवारी दिएका छन् । महिला उपाध्यक्षमा दमककी हरिदेवी राई र बाँझोकी भगवती श्रेष्ठले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ । महासचिबमा इभाङका हेमन्त राई र लखनपुरका प्रेमकुमार थाम्सुहाङ ,सचिबमा दमकका दिल कुमार लावती र लुम्देका नरेन्द्र सुब्बा, महिला सचिबमा दमककै लिलादेवी दाहाल र छमीला तामाङ, कोषाध्यक्षमा दमककै नैनबहादुर भण्डारी र मोहन धिमाल उम्मेदवार रहेका छन् । यसैगरी लखनपुकी नरमाया तामाङ, दमककी हर्क माया तामाङ, सुजता अधिकारी, पदमा अधिकारी , दुर्गादेवी खनाल र ओममाया आङदेम्वे महिला सदस्यका लागि उम्मेदवारी दिएका छन् । उपभोक्ता समितिका अन्य सदस्यहरु २९ जना सहित जम्मा ५७ जनाले उम्मेदवारी दिएको गुरांगाईले जानकारी दिए । आइतबार अपरान्ह ५ बजेसम्म उमेद्धवारी दर्ता गर्ने समय भएकाले त्यस अवधिमा उमेद्धवारी परेको हो । उमेद्धवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने समयावधि जेठ १२ गतेसम्म अपरान्ह भएकाले फिर्ता हुने सम्भावना छ ।
जेठ १३ गते निर्बाचन हुने भनिए पनि प्रक्रियामा बिषयमा सहमती नजुटेपछि मिती पर सारिएको थियो । उपभोक्ता समितिमा इलाम,  पांचथरको दक्षिण र झापाको दमक क्षेत्रका गरी कुल १ हजार १ सय ३ जना मतदाता  रहेका छन् । आगामी १५ गते दमकको रेडक्रस भवन र  १६ गते इलामको बांझो गाबिसको खलंगे स्कूलमा निर्बाचन गरिने समितिले जनाएको छ ।

शिबिर र बाटोका रुखहरु काट्ने सहमति

दमक । जिल्ला प्रशासन, बन कार्यलय र शरणार्थीबीच भुटानी शरणार्थीे शिविर र बाटोलाई अवरोध गरेका रुखहरु काट्ने सहमति भएको छ । आइतबार दिउँसो दमकस्थित बेलडागीमा झापाका सहायक प्रमुख जिल्ला अधिकारी कमल बहादुर थापा, जिल्ला बनका प्रमुख सहितका सरकारी अधिकारी र शिविर ब्यवस्थापन समितिसंग भएको छलफलमा त्यस्तो सहमति भएको हो । शिविर आसपासको बाटो, शिविर भित्र रहेका रुख काट्ने सहमति भएको हो । सोमबारदेखि बाटो छेउका रुखहरुको हागाँहरु काट्ने सहमति भएको शिविर सचिव सञ्चहाङ सुब्वाले जानकारी दिए । बुढा रुखहरु काट्नका लागि ४ दिन सम्ममा प्रकृया पुरा गरेपछिमात्र रुख काट्न थालिने पनि सहमति भएको सुब्वाले बताए । शनिबार राती आएको हावाहुरीमा परेर दमक स्थित शरणार्थी शिविर वेलडाँगी  सेक्टर २ वी÷१ छाप्रा नं. ९७ की ४ बर्षीय बालिका एलिसा राईको मुत्यु भएको थियो । उनको मृत्युपछि आक्रोसित शरणार्थीहरुले मृतक राईका लास राखेर रुख काट्न धर्ना दिएका थिए । प्रत्येक बर्षजसो आउने हावाहुरीले रुख लडाउदा शिबिरका शरणार्थीको मृत्यु हुने गरेको छ । शरणाथीको मृत्यु भएपछि सधै शिबिरभित्रका रुखहरु हटाउने आवाज उठाउदै आएपनि कार्यन्वयन हुन सकेको छैन । यूएनएचसीआर दमकले बालिका राईको क्रियाखर्च २५ हजार रुपैयाँ र घाइते आमा मनमायाको उपचार खर्च दिने बताइएको छ । छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी थापा, शिविर सचिव सुब्बा, बन कार्यलयका क्षेत्रीय निर्देशक प्रकाशनाथ प्याकुरेल, जिल्ला बन कार्यालय झापाका प्रमुख इन्द्रमणी भण्डारी, शसस्त्र प्रहरी बल पाथिभरा गण लखनपुरका गणपति भरतबाबु केसी, हंसे दुम्से सामुदायिक बन दमकका अध्यक्ष हिमालय दाहाल, सामुदायिक बन सञ्जालका अध्यक्ष नैनसिंह भण्डारी, यूएनएचसीआर दमकका प्रतिनिधि लगायतको  सहभागीता रहेको थियो ।  छलफलमा सोमबारबाट शिविर भित्रका रुखहरुको हाँगा काट्ने, जोखिम अवस्थामा रहेका रुखलाई चाँडै कानुनी प्रकृया पुरा गरी कटान गर्ने, घाईतेको उपचार र मृतकको क्षतिपुर्तिका लागि पहल गर्ने लगायतका चार बुँदे सहमति पछि मृतक बालिकाको शबलाई विधिवत दाहसंस्कार गर्ने सहमति भएको सहायक प्रजिअ थापाले बताए ।

हावाहुरी र चट्याङले धनजनको ठुलो क्षति

►► पूर्वमा चारको मृत्यु 

 ►► ६ जना घाइते

►► सयौं घरमा क्षति  

 ►► विद्युत सेवा अवरुद्ध


दमक । शनिबार रातीको हावाहुरी तथा चट्याङका कारण पूर्वमा एक बालिकासहित ४ जनाको ज्यान गएको छ । ६ जना सख्त घाइते भएका छन् । लाखौको धनमाल क्षति भएको छ ।
हावाहुरीले घर नजिकैको सखुवाको रुख लडाउँदा रुखले किचेर झापाको दमकस्थित भूटानी शरणार्थी बेलडाँगी २, सेक्टर बीवान, छाप्रा नम्बर ९७ का ४ वर्षीया एलिशिवा राईको ज्यान गएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । सुतिरहेको अवस्थामा रुखले लागेर राईकी आमा ३८ वर्षीया मनमाया राई सख्त घाईते भएकी छन् । उनको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । शिविरमा छाप्रा नजिक रहेका रुखहरु हटाउन शरणार्थीहरुले बारम्बार माग गर्दै आएका थिए । उता हावाहुरीले लडाउँदा मोरङको पथरीशनिश्चरे १२ का ५५ वर्षिय कमल अधिकारीको ज्यान गएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । हावाहुरी चलेको बेला शौचालय जान भनेर हिडेका उनी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । त्यस्तै, हावाहुरीकै कारण रुखले किचेर शनिबार राती धरानको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी डा. रञ्जना देवकोटाको मृत्यु भएको छ । राति साढे ८ बजेतिर हावाहुरीका कारण रुख लडेर किच्दा प्रतिष्ठानको हाताभित्रै रहेको आवास गृहमा रहेकी देवकोटाको मृत्यु भएको अस्थायी प्रहरी पोष्ट घोपाका प्रहरी नायव निरीक्षक तिलकबहादुर गिरीले जानकारी दिए । त्यस्तै हावाहुरीले उदयपुरको रौताहा गाविस–९ गुराँसेकी २० बर्षीया मुना थामा मगरको पनि ज्यान गएको छ । हावाहुरीले घरको छाना उढाएपछि घर वाहिर निस्किएकी मगरलाई छिमेकीको घरको जस्तापाताले लाग्दा मृत्यु भएको स्थानीय शिक्षक विरेन्द्रकुमार मगरले जनाए । त्यहाँ झण्डै ५ सय घरहरुमा क्षति पुगेको छ ।
 त्यसैगरि ओखलढुंगाको पात्ले ९ मा शनिवार बेलुकाको चट्याङ लागेर ३१ वर्षकी देवी लामिछानेको ज्यान गएको प्रहरीले जनाएको छ । चट्याङ लाग्दा पात्लेकै ५ जना सख्त घाइते भएका छन् । घाइतेहरुको उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक डम्बरबहादुर विकले बताए ।
हावाहुरीले झापा सहित पुर्बका जिल्ला लाखौको धनमाल क्षति भएको छ । झापामा पिडित परिवार संख्या २११, १ सय पंक्षी, १३ पक्की र ६० कच्ची घरमा क्षति भएको छ । त्यसमा २१ पुर्ण क्षति र ५२ वटा आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ । हावाहुरीका कारण रुख ढलेर मोरङको सुन्दरपुर याङशिला सडक अवरुद्ध बनेको थियो । बाटोमा रुख ढलेर सवारी साधन आवत जावतमा समस्या भएको स्थानीयबासीले बताएका छन् । बाटोमा दर्जनौ स्थानमा रुख ढलेको थियो । केराबारी ६ का गोबिन्द खतिवडा, केराबारी ७ का युवराज कट्वाल लगायत अन्य दर्जन बढि स्थानियबासीका घर गोठको छाना समेत उडाएको छ । झापाको दमक र आसपासमा पनि रुखहरु लडेका छन् । केही घरहरुमा सामान्य क्षति पुगेको छ । मोरङ, इलाम, सुनसरी लगायतका सयौं घरमा हावाहुरीले क्षति पुर्याएको छ । हावाहुरीले क्षति पुर्याउदा बिद्युत लाइन बन्द जस्तै छ । दमकमा शनिबारदेखि गएको बिद्युत लाइन आइतबार दिउसो केही समयमात्र आएको थियो । झापाका ग्रामीण क्षेत्रमा बिद्युतका दर्जनौ  पोलहरु भत्किएका छन् । जसका कारण ती क्षेत्रमा बिजुली बलेको छैन ।