हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

यमपञ्चक : अर्थात आर्थिक क्रान्ति पर्व

चक्रपाणि गौतम “मुमुक्षु”
 पूर्वीय सनातन धर्मानुयायीहरूले चन्द्रमास गणना पद्धति अनुसार कार्तिक कृष्णपक्ष त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितियासम्मका पाँच दिनहरूलाई यमपञ्चकका रुपमा मनाउने परम्परा छ । नेपाली जनजिब्रोका भाषामा हामी यी दिनहरूलाई तिहार पनि भन्दछौ । यो पर्वका पाँचै दिनका महत्व अलग–अलग भएपनि मूल मर्म एउटै छ ।
काग तिहार :
तिहारको पहिलो दिन सर्बभक्षी, सचेष्ट र दीर्घायु पक्षि कागको पूजा गरेर मनाईन्छ । हिन्दु धर्मशास्त्र अनुसार काग काल मृत्यु र शकुनको सन्देशवाहक पंक्षी हो । यसको कर्कश स्वर र बिकृत रुप देखेर मानव मन स्वतः भयभित हुने गर्दछ, परन्तु सनातन धर्मको उदार चरित्रले कागको पूजन गरेर कसैलाई मन नपर्ने प्राणीको पनि प्रकृतिमा सम्मान र स्थान हुनु पर्दछ भनेर निर्देश गर्दछ ।
आजकै दिन आयुर्बेदका प्रथम प्रणेता भगवान धन्वन्तरीको अवतार भएको दिन हो स्वस्थ जीवनका लागि प्रकृतिका अनुपम उपहार बनस्पतिको संरक्षण र सम्बर्धन धनवन्तरी जयन्तीको सन्देश पनि हो । भगवान धन्वन्तरीको सिद्धान्त अनुसार “यस्य देशस्य यो जन्तु स्तज्जं तस्यौषधं हितम्” अर्थात जुन प्राणी जुन ठाउँमा जन्मन्छ उसको स्वास्थ्य रक्षाका लागि त्यही ठाउँका बनस्पतिमा नै औषधि बनेको हुन्छ, यो सार्बभौम सिद्धान्त निरोग रहन चाहने संसारका सबै देशका लागि मननीय र अनुकरणीय छ । यो जयन्ती र भगवान धनवन्तरीको यो महान अनुसन्धानलाई अनुशरण गर्ने हो भनें हामी जस्तो औषधिमा पर निर्भर हुने नेपालीले हाम्रो प्रकृतिका अनुपम उपहार बन बनस्पतिको संरक्षण, अध्ययन र औषधि निर्माण गरि औषधि किन्नका लागि विदेश पठाउने अरबौको धनराशी हाम्रै वनस्पति विकासमा खर्चन सकिनुका साथै हाम्रा वानस्पतिक औषधीहरू विदेश पठाएर संसारलाई स्वस्थ जीवन प्रदान गर्न सकिने कुरामा कुनै शंका नै छैन किनकि हाम्रो देश विविध बनस्पति र प्राकृतिक सम्पदाले भरिपूर्ण छ ।
कुकुर तिहार :
स्वामीभक्त, आशक्त र मलभक्षी भनेर चिनिने कुकुर पनि काग जस्तै सचेष्ट र स्वतन्त्र प्राणी हो । धर्म शास्त्र अनुसार यो मृत्युदूत पनि हो । यस प्राणीको क्रन्दनका आधारमा शकुनशास्त्रीहरूले शकुन, अपशकुन, उल्कापात, बर्षा, विप्लव, भूकम्प र मृत्युको पूर्वानुमान लगाउने गर्दछन, यसै कारण जीवनमा प्रत्येक आपदाबाट सचेष्ट रहन कुकुरको रक्षा र सम्मान पूर्वीय संस्कृतिको अविच्छिन्न परम्परा हो । कुकुर तिहारकै दिन साँझपख चौधवटा दियोमा बत्ती बालेर संकल्प पूर्वक घरको दक्षिण दिशामा यमराजका लागि राख्ने नियम पनि छ । वास्तु शास्त्र अनुसार बासगृहको दक्षिण पट्टीको भाग सधै खुल्ला प्रकाशयक्त र स्वच्छ हुनुपर्दछ, वासस्थनमा गृहक्लेश, अस्वस्थता अकालमृत्यु र अपब्यय पनि दक्षिण दिशाको वस्तु स्थिति हेरेर मात्र वास्तुशास्त्रीय निर्णय गरिन्छ । वास्तवमा सुखद वासगृह चाहनेले दक्षिण दिशाको संबेदनशीलतालाई जहिल्यै पनि ध्यानमा राख्नु अनिवार्य छ । साथै धर्मशास्त्र अनुसार प्राणीको मृत्युपछि आत्माले दक्षिण र उत्तर मध्ये कुनै एक बाटो लाग्नुपर्ने हुन्छ, उत्तर मार्ग अर्थात स्वर्गीय मार्ग र दक्षिण नारकीय बाटो । अतः दक्षिण मार्ग गमनरुपी अन्धकारको बोधको संकेत रुप यी चौध दिपकहरू पनि हुन ।
आजकै दिन भोलिपल्ट गरिने लक्ष्मीपूजाको पूर्वतयारी पनि गरिन्छ भनें अकाल मृत्युबाट बच्न र बचाउन अन्न र कपडा दान गर्ने परम्परा छ । आफू बैभव र सम्पन्नतामा रमेर लक्ष्मी पूजा गर्दै गर्दा आप्mना वरिपरिका धनहीन छरछिमेकीहरूलाई कुनै पनि अभाव नहोस भनेर नरक चतुर्दशीका दिन गरीबहरूलाई अन्न र कपडा दान गर्नुपर्ने शास्त्रको निर्देश छ । ठूला उद्योगपति र ब्यापारीहरूले पनि आफ्नो बैभव बृद्धिमा तनमनले सहयोग गर्ने आप्mना मजदुर र उनीहरूका परिवारका सदस्यलाई उपहार, सम्मान र अतिरिक्त नगद दिने परम्परा आजपनि कतिपय घरानीया उद्यमीहरूले धानी रहेका छन् । यसरी अशक्तदेखि शक्तिशालीसम्म मजदुर देखि मालिक सम्म सबैजना आर्थिक रुपले सम्पन्न भएपछि अनि सुरु हुन्छ महालक्ष्मी पूजन ।
लक्ष्मीपूजा  :
लक्ष्मीपूजाको परम्परा सनातनदेखि चलिआएको अविच्छिनन परम्परा हो । यो पूजा र उत्सवमा गरिने सबै कर्महरूको बैज्ञानिक सांस्कृतिक र सामाजिक विश्लेषण गर्ने हो भनें यो लेखले ग्रन्थरुप लिन सक्छ, यसर्थ लक्ष्मीपूजाको ऐतिहासिक प्रसङ्गतर्फ लागौ ।
इतिहास अध्ययन गर्ने हो भने संसारलाई सभ्यता सिकाउने आर्यावर्त कृषि, अर्थ र बाणिज्यमा संसारमा सबैभन्दा समुन्नत थियो । पृथ्विीको भौगोलिक अवस्थालाई विशिष्ट अध्ययन गर्ने हो भनें ध्रुवीय प्रदेश र अन्य केही देशहरूमा जलवायु सधंै एक समान रहने गरेको छ भनें आर्य संस्कृतिको उद्गमस्थल आर्यावर्तमा कालचक्रका आधारमा ऋतु परिवर्तन भइरहन्छ अनि भिन्न भिन्न ऋतुहरूमा विविध गुण र शक्ति सम्पन्न फल, मूल, औषधि र वनस्पतिको उत्पादन भईरहन्छ । यस कारण भारतबर्षका देशहरू अन्न, फल र बनस्पतिमा समृद्ध थिए र अहिले पनि छन् । जीवनको महत्वपूर्ण बस्तु अन्न र बस्त्र नै हो । र यस क्षेत्रमा यो समयमा प्रचुर मात्रामा अन्न र कवास उत्पन्न भएको हुन्थ्यो । यसबेला सारा संसार अन्न र कपडाको चिन्ताबाट मुक्त भएको हुन्थ्यो । सुख समृद्धिको यो समय सबैका लागि उत्सव सरह मनाईन्थ्यो । अन्न र कपडाको प्रशस्ततामा जनताले राज्यलाई बुझाउनुपर्ने उचित कर पनि बुझाई सकेका हुन्थे । यसरी सबैतिरबाट चिन्तामुक्त भएका जनतालाई आ आप्mना शासकहरूले विभिन्न समूह विभाजन गरि शास्त्रको निर्देशन अनुसार दक्ष आचार्य र गुरुहरूको निर्देशनमा खेलकुद, नाचगान, महिला सम्मेलन, ब्यापारीहरूको सम्मेलन, गर्दै उत्पादित अन्न, कवास फलको बजार अध्ययन, तेजी मन्दीको पूर्वानुमान दूग्ध उत्पादन, पशुहरूको वंश सुधार र आयात निर्यातमा धर्मपूर्वक चर्चा गरिन्थ्यो । धनाढ्य ब्यापारीहरूले आयोजित खेलकूदमा खेलाडी र खेलसमूहमाथि विजयको पूर्वानुमान गरि बाजी थाप्थे । उत्कृष्ट कला प्रदर्शन गर्ने कलाकर्मीलाई राज्यले पुरस्कृत गथ्यो । कलाकारहरूका विभिन्न समूहहरू घरघरमा गएर सर्बाेत्कृष्ट कला प्रदर्शन गर्दैृ राज्यको कला संस्कृतिलाई समुन्नत बनाउन उत्साहित हुन्थे अनि यस काममा राज्यको प्रत्यक्ष सहयोग र समर्थन रहन्थ्यो
यसरी मानव सभ्यताको विकाश संगै सूत्रपात भएको दीपावलीको शास्त्रीय संस्कृति राष्ट्रोत्थानको गरिमामय र विशिष्ट पर्व हो । धर्मशास्त्र र इतिहास ग्रन्थका आधारमा दीपावलीका सम्बन्धमा वर्णन पुष्टि गरिएका अन्य कथा र जनश्रुतिहरू पनि देश र काल भेदले सबै सत्य नै हुन् । दीपावलीका दिन बिहान सबैले आफ्नो आवास गल्ली, चोक चौतारा स्वच्छ र सुन्दर पार्ने परम्परा छ भनें दिनभर पितृहरूको संझनामा निराहार बस्ने नियम पनि छ । साँझपख घर तथा ब्यापारिक प्रतिष्ठानमा सुन्दर दीपकहरू बालेर गणेश, लक्ष्मी, नवग्रह मातृका, पूजनगरि नयाँ हिसाब खाता र लेनदेन प्रारम्भ गर्ने नियम छ । यसरी उल्लासमय वातावरणमा महालक्ष्मीको पूजन गरेर आ आप्mनो परिश्रम र प्रारब्ध अनुसार प्राप्त सम्पत्तिको यश आप्mना दिवंगत पिता पुर्खालाई दिंदै आफूभन्दा ठूला व्यक्तिको आशिर्वाद लिई सपरिवार भोजन गर्ने परम्परा छ । यस सनातन संस्कृतिले हाम्रा भावी सन्ततिहरूलाई पारिवारिक एकताको सूत्रमा बाँधिन प्रेरित गराउनुका साथै आफ्नो कूल परम्पराको गरिमालाई अक्षुण्ण राख्न मनोबैज्ञानिक बाध्यता पनि सिर्जना गर्दछ । यस पुनित कार्यले परम्परागत सु संस्कारलाई अनुसरण गरि सुखी जीवन बनाउन सहयोग गर्दछ । श्रमपूर्वक धन उपार्जन र त्यागपूर्वक त्यसको उपभोग भन्ने शास्त्रीय बिज्ञानलाई दीपावलीले अझ समुन्नत बनाएको छ ।
गोबर्धन पूजा र अन्नकूट :
प्रतिपदा तिथि गाई र गोबंश पूजनको तिथि हो । हामी एउटा सरल प्राणीलाई बन्धक बनाएर आफू अनुकूल ब्याख्या गरि आप्mनो स्वार्थ पूरा गरि रहन्छौं । स्वतन्त्रताको उसको जन्मसिद्ध अधिकारको गलत परिभाषा गरि उसको दोहन गर्दछौं । हाम्रो स्वार्थका लागि स्वास्थ्यका लागि अनि राष्ट्रका लागि । बिचरा ! के आवश्यकता छ र उसलाई हाम्रो दाशता स्वीकार गरोस् ? उसलाई कुन बाध्यता छ र हाम्रो लागि आफूभन्दा सयौं गुना ठूलो भारी बोकोस र मरोस दुःखद र उपेक्षित बृद्धावस्थाले ? हामीभन्दा कैयौ गुना शक्तिशाली भएर पनि हाम्रो बन्धक बनेर हाम्रा लागि निरीह बनिदिन्छ, के उसको कुनै अधिकार छैन ? उसको स्वास्थ्य र शरीर रक्षा गर्नु हाम्रो दायित्व हैन ? अव गो वंशको रक्षा नश्ल सुधार उसको उत्तम स्वास्थ्यको प्रबन्धका लागि राष्ट्रिय सम्मेलन, चिन्तन र बहस गर्ने दिन हुनु पर्छ पशु अधिकारका लागि र राष्ट्र निर्माण का लागि । अनि घर–घरमा पालिनु र पूजिनु पर्छ गाई र गो वंश, यही महत्व हो हल तिहारको ।
हल तिहार कै दिन अन्नकूटको पनि आयोजना गरिन्छ । मौसम परिवर्तनको संघारमा टोल टोलका किसानहरूले आ आप्mनो खेतबारीमा उब्जाएको नयां अन्नलाई एकैठांउमा भेला पारेर चौरासी प्रकारका परिकार बनाई अन्नदाता परमेश्वरलाई समर्पण गरि सहभोज गरेर मनाईने यो उत्सवले मानवमात्रमा सह अस्तित्वको भावना जागृत गराउन कति ठूलो भूमिका निर्वाह गर्दछ, कल्पन गरौं ।
भाईटीका :
दाजुभाई दिदी बहिनी बीचको सम्बन्ध प्रगाढ र दृढ बनाउने यो दिन सद्भाव, सौहार्दता र सहृदयताको पर्व हो । धर्म शास्त्र अनुसार चेलीको रक्षा माईतीको दायित्व हो । यदि चेलीको चित्त नदुखाई माईतीले चेलीलाई शिक्षा, दीक्षा र रक्षा प्रदान गरेको छ भनें विषम परिस्थितिमा जस्तोसुकै मूल्य चुकाएर पनि चेलीले माईतीको रक्षा गरेका बीर कथाहरू सनातन संस्कृतिमा अनेकौ छन् ।
भाईटीकाका रुपमा निधारमा टीका लगाई चेलीले माईतीरुपी गर्वी पुरुषलाई “घमण्ड गरी आफूलाई पथभ्रष्ट बनाए अकाल मृत्यु पनि हुनसक्छ त्यसैलै सधैं नम्र उदार र चरित्रवान हुनु” भनि बैष्णवी शिक्षा दिंदै गुरुको जस्तो महत्वपूर्ण भूमिका निर्वाह गर्नु भाईटीकाको अन्तरनिहीत सत्य हो । अन्त्यमा यमपञ्चक हाम्रा लागि संस्कृति सभ्यता र आर्थिक क्रान्तिको राष्ट्रिय पर्व हो, प्रकाश पर्वको शुभकामना ।
दमक १३ झापा

प्रेम र जीवन

रुद्र निरौला
प्रेम जीवनको मूलधार हो । बिनाप्रेम जीवनको कल्पना गर्न सकिँदैन । संसार प्रेमकै कारण बाँचेको छ । अंग्रेजी शब्द ीयखभ र नेपाली शब्द प्रेम समानार्थक मानिएका छन् । प्रेम साना मसिना किट पतङ्गदेखि विशाल स्थुलवस्तुसम्म गरिने ममता नै प्यार, प्रेम या माया हो । आज भोलि युवा जमात सहज रुपमा क्ष् ीयखभ थ्यग भन्ने गर्दछन् । कसैप्रति प्रेम देखाउन सद्भावना राख्नु वा पवित्रताको स्मरण गर्नु सचेत प्राणीको गुण हो । त्यसैले, बोलेर वा भावनात्मक रुपले कसैप्रति आत्मीयता प्रकट गर्नु प्राणीको चरित्रभित्र पर्दछ । प्रेमका स्वरुपहरू आ–आफ्नै हुन्छन् । विशुद्ध प्रेम, कामनाका आधारमा गरिने प्रेम, प्रतिक्षण बद्र्धमान भइरहने प्रेम, अविच्छिन्न रहिरहने प्रेम, शुक्ष्मातीशूक्ष्म रहने प्रेम र अनुभवयुक्त प्रेम गरेर जम्मा छ वटा लक्षण मानिएका छन् । शास्त्रोक्त विधिबाट वर्गीकृत गरिएका यी छ वटै प्रेमका लक्षण विशुद्ध भावना भएका व्यक्तिबाट मात्र सम्भव हुन्छ ।
आजको देश दुनियाँ प्रेमका अनेक भावमा प्रस्तुत हुने गरेको देखिन्छ । जो विशुद्ध प्रेमको कसीमा उत्तीर्ण हुन सकेको मानिँदैन । पूर्वीय दर्शनका आधारमा वर्गीकृत गरिएका पे्रमका छ वटा लक्षण जसले देखाउन वा प्रस्तुत गर्न सक्छ, त्यही प्रेम सर्वोत्तम मान्न सकिन्छ । प्रेमको सच्चा रुप गुणसँग सम्बन्ध राख्दैन । यदि कसैले कसैलाई गर्ने प्रेम गुणसँत जोडिएको छ भने त्यो गुणमा अलिकति विचलन आउनासाथ प्रेममा आँच आउन सक्छ । रुप र सौन्दर्यता केलाउने मुख्य वस्तु हाम्रो चैतन्यता हो । कसैले कसैलाई प्रेम गर्दा उसको बाह्य रुपाकृतिमा मात्र सीमित राख्छ भने त्यो आकृतिमा अलिकति उतारचढाव आएमा त्यसप्रति राखिने प्रेममा आँच आउन सक्छ । यदि त्यस्तो भयो भने त्यो प्रेम वास्तविक प्रेम हुँदैन । अर्को प्रेमको लक्षण कामनारहित हुनु हो । प्रेम कामना या काम वासनामा मात्र सीमित राखेर देखाइयो भने त्यो क्षणिक हुन्छ । काम वासना टुक्रिएपछि त्यो प्रेमको कुनै अर्थ रहँदैन । काम वासना निश्चित समयसम्म रहन्छ र त्यो क्रमशः न्यून हुँदै अनिच्छातिर पुग्छ । तर, सच्चा प्रेम त्यसरी न्यूनतातिर पुग्दैन । सच्चा प्रेम त झन्–झन् प्रगाढभएर पो देखापर्छ । त्यसैले, सच्चा प्रेमको बलियो कसी कामवासनातिर निर्दिष्ट हुन सक्दैन । जुन काममा केवल आशक्तता मात्र रहन्छ, त्यो प्रेम असली प्रेम हुँदैन । यसरी नै प्रेमको अर्को लक्षण प्रतिक्षण वृद्धि भइ नै रहन्छ । नदीको उद्गम स्थल प्रेमको बिजारोपण विन्दु मान्दा नदी बग्दै जाँदा बढ्दै जाने, धर्ममा आधारित हुन्छ । जति–जति प्रेमका आधारवस्तुहरू प्रतिस्थापित हुँदै जान्छन्, त्यति त्यति सच्चा प्रेम झाङ्गिँदै र फैलिँदै व्यापक रुपमा रुपान्तरित हुँदै जान सक्छ । बारम्बार वृद्धि भइ रहनु प्रेमको अर्को गुण हो । त्यस्तै अर्को रुप प्रेमको अविच्छिन्नता पनि हो । केही समय रहने र त्यसपछि हराउने वा बिर्सिने प्रेमको वास्तविक लक्षण होइन । जो प्रेम जोसँग स्थापित हुन्छ, त्यो साश्वत हो भने अविच्छिन्न हुन्छ । त्यसैले साँचो प्रेमको अर्को लक्षण यसमा देखिने अविच्छिन्नता हो । यसपछिको प्रेमको अर्को लक्षण शुक्ष्मतामा आधारित हुन्छ । स्थुलवस्तुमा देखापर्ने प्रेम वस्तुको आकृति घट्ने बित्तिकै घृणामा वा नैराश्यमा रुपान्तरित हुन पुग्छ । यदि त्यसो भयो भने त्यो प्रेमको सच्चा लक्षण होइन ।
त्यसैले सच्चा प्रेम अत्यन्त शुक्ष्मदेखि विस्तृत अंशसम्म अविच्छिन्न रुपले रहिरहन्छ । यसैगरी, प्रेमको अन्तिम रुप अनुभवजन्य भएर रहन्छ । प्रेमको वास्तवमा भावनात्मक अभिव्यक्ति हो । यसलाई कुनै रुपाकृति, ओजन, तौल, रङ्ग, स्वाद आदिमा तुलना गर्न सकिँदैन । प्रेम गुण स्वादरहित एक अनुभूतिजन्य हुनाले यो वस्तु तथ्यात्मक रुपमा प्रकट हुन सक्दैन तर अनुभव र अनुभूतिमा यो प्रतिविम्वित भइरहन्छ ।
यस्तै प्रेमको व्यवहारगत विवेचना गर्दा प्रेम एक ऐश्वर्य हो । प्रेमको ऐश्वर्यताबाटै विश्व सृष्टिका यावत वस्तुको सृष्टि भएको छ । प्रेमकै कारण उत्पादित वस्तुको आपसी विनिमय हुने गरेको र अनन्त आवश्यकताहरूलाई त्यही ऐश्वर्यताका आधारमा परिपूर्ति गर्दै व्यवहारोपयोगी बनाउनु प्रेमको अर्को स्वरुप हो । त्यस्तै, सच्चा प्रेममा यश, किर्ती आदिको अस्तित्व कायम भएको हुन्छ । प्रेमकै असल माध्यमबाट मानिसले आफ्नो किर्तिमानी कायम गर्दै जान्छ । कुनै असल, साहसिक तथा स्वालम्बनका कार्यप्रति देखाउने असल प्रेमकै आधारमा उच्च–उच्च किर्तिमानहरू कायम गरेर आफू ऐश्वर्यशाली वा किर्तिमानी बन्ने गरेका कैयन उदाहरणहरू छन्, जो साँचो प्रैमका परिणाम हुन् । साँचो प्रेमबाट प्राप्त हुने अर्को वस्तु धन अथवा आयआर्जन पनि हो । कुनै मानिस धन आर्जनका लागि जीवनभ रहाड घोट्दै हैरान हुछ, तर हात लाग्यो शून्य । तर कसै–कसैले सामान्य लगानी गरेजस्तो देखिए पनि उसैलाई वैभवशाली बनेको हामी देख्छौं । त्यो वास्तविक प्रेमबाट प्राप्त भइरहेको हुन्छ ।
असल प्रेम ज्ञानको प्रतिविम्व भएर देखापर्दछ । कैयन व्यक्तिहरू प्रेम अज्ञानमै गर्ने र क्षणभङ्गुर गराएर पश्चाताम खेपिरहेका हुन्छन् । वास्तवमा प्रेम कच्चा र क्षणिक देखाउन गर्ने वस्तु बनाइने हुँदा परिणाम त्यस्तो आउने गरेको हो । साँच्चै सोचेर र वास्तविक रुपमा गरिने प्रेम त जुठो बयर खाने कृष्णले देखाएको प्रसङ्ग आउँछ । कुब्जाको शरीरलाई साङ्ग बनाइएको प्रसङ्ग अर्को उदाहरण हो । च्यवन ऋषिप्रति सर्यादि सुकन्याले देखाएको सद्भावना हो । त्यस्तै, कृष्णले सुदामाप्रति देखाएको मित्रता अर्को प्रेमको उदाहरण हो । त्यस्तै, वैराग्यभाव देखाएर र त्यागको भाव देखाउने राजा ज्ञिवि, दधिचि मेडम क्यूरी, मोजाक्सहु, सिस्टर निर्मला, लिवर्टी, सिद्धार्थ, राजा जनक, महात्मा गान्धी, अमर शहिदहरू, दुर दृष्टान्त दिन सक्ने युगदृष्टा ऋषि, महर्षीहरू तथा आफ्नो जीवनको उत्सर्ग गरेर पनि आफ्ना दर सन्तानप्रति कर्तव्य परायण आमाहरू तथा समाजका लब्धप्रतिष्ठित व्यक्तित्वहरू सच्चा प्रेमका उदाहरण हुन् । आज हामी प्रेमका नाममा अनेक नाटक मञ्चन भइरहेका देख्छौं । छद्मभेष धारण गरेका अनेक वर्ग छन्, अनेक संघसंगठनहरू भरमार खुलेका छन् । तर खोक्रो र देखावटी प्रेममा आधारित छन् । प्रेम प्रणय दिवसको सस्तो विज्ञापन गुलाफका अनेक रङ्गसँग विनिमय हुने गरेका छन् । देश विदेशका अनेक माध्यमहरू छन्, प्रेम गाँस्ने । सञ्चारका उपकरण आज प्रेम गर्ने लोकप्रिय माध्यम बनेका छन्, तर कति सास्वत सत्य वा देखावटी ? बडो असमञ्जास भएको छ, प्रेम । प्रेम र प्रेमिका केवल काम्यक बनेको छ । अत्यन्त आतुर प्रेमी आफ्नो निहित स्वार्थ पश्चात प्रेम परित्याग गर्न त्यति नै उद्यत रहन्छ । भमराले फुल चुम्बन गर्ने र छोड्ने रीत जस्तै । हामी मान्छे केवल ढुकुरजत्ति धैर्यशाली बन्न सकेनौं । त्यसैले प्रेम हातमा बोकेर विज्ञापन गर्ने विषय हुन सक्दैन, जो आज बन्ने गरेको छ ।
वास्तवमा प्रेम त जीवनका हर तन्तुसँग अक्षुष्ण र अच्यूत भएर गाँसिएको हुन्छ । प्रेमले सुखमा मात्र रमाउने होइन, दुःखद स्थितिमा पनि साथ दिन र मोक्ष गर्न सक्नुपर्छ । देखावटी प्रेम र काम वासनामा आशक्त प्रेम प्रेम होइन । त्यो जीवनको नमेटिने कलङ्क मात्र हो । जो चन्द्रमामा प्रतिबिम्बित भएर देखा पर्दछ । त्यसैले प्रेमका जो कोही पारखीले प्रेमको उचित महत्व बुझेर प्रेम गर्नु राम्रो हुन्छ । लहड र देखासिकीमा गरिने कुनै पनि प्रेम क्षणिक मात्र हुन्छ । वस्तुगत होस् वा जीवनगत होस्, प्रेम सत्य र दीर्घकालीन हुनुपर्दछ । त्यसले मात्रै विश्वजगत प्रेममयी बन्न र दीर्घकालसम्म रहन सक्ने हुन्छ ।

वीपीको शतवार्षिकी दिवस र नेपाली कांग्रेसको भूमिका

ओमप्रकाश गौतम
नेपाली राजनीतिकाशमा वीपी कोइराला एक मात्र उदाउँदा तारा हुन् । राष्ट्र, राष्ट्रियता र प्रजातान्त्रिक समाजवादका त्रिवेणीका रुपमा उनलाई लिन सकिन्छ । राजनीतिक क्षेत्रबाहेक उनी साहित्य क्षेत्रमा पनि उनी एउटा उदाउँदो ताराका रुपमा लिन सकिन्छ । महान् नेपाली जनताको मुक्तिका लागि आफ्नो जीवनको पर्बाह नगर्ने र कोही कसैसँग सम्झौता पनि नगर्ने एक कुशल राजनेता उनी मात्रै हुन् ।
एकलौटी जहानियाँ राणा शासनकालमा पनि कहिल्यै नथाकि राष्ट्रिय, प्रजातन्त्र र समाजवादको स्थापनाको लागि अहोरात्र न दिनमा भोक, न रातमा निद्राको पनि पर्बाह नगरी महान् नेपाली जनताको उज्ज्वल भविष्यका लागि ज्यान अर्पण गर्न एक इञ्च पनि पछि नहट्ने समाजवादी नेता उनी नै हुन् ।
उनी महात्मा गान्धीबाट प्रभावित नेपाली शान्तिपूर्ण तरिकाले परिवर्तन होस्, जनताको गाँस, बास र कपासको ग्यारेण्टी होस्, मजदुरहरूको भावनामा कुठाराघात नहोस् भन्न चाहन्थे । उनले ‘मजदुर आन्दोलन’ देखि ‘भारत छोडो आन्दोलन’ मा पनि सक्रिय रुपमा सहभागी भएर देशमा प्रजातन्त्रको पुनस्र्थापना गर्ने एक मजदुर नेताका रुपमा सारा मजदुर वर्गहरूको संलग्नतामा भारतदेखि नेपालको भूमिमा राजनीतिको प्रमुख भूमिका सम्हालेका थिए । वीपीका महान् विचारहरूमा ‘समाजवादका नाममा हामी प्रजातन्त्रको हत्या गर्न दिदैनौं र प्रजातन्त्रको नाममा हामी शोषणलाई स्वीकार गर्दैनौं’ भन्ने जस्ता महान् विचारहरू थिए । नेपाली साहित्य र राजनीतिको क्षेत्रमा उनको स्थान सगरमाथाको उचाई झैं उँचो छ किन कि वीपीको राजनीतिक दर्शन राष्ट्रियता, लोकतन्त्र र समाजवादमा समर्पित छ र जुगौं जुँग रहिरहनेछ । आज उनकै पथप्रदर्शक सिद्धान्तको अनुयायी गर्ने नेकाका नयाँ तथा पुराना नेका पार्टीका नेताहरूले पछ्याइरहेकै छन्, तापनि उनको गरिमापूर्ण सिद्धान्तलाई लत्याएर, कुल्चिएर केवल अर्थोपार्जनको भाँडो बनाउनेहरू पनि कति भए कति ।
सन्दर्भ वीपी शतवार्षिकी दिवस

नेपालमा लोकतन्त्रको स्थापनाको निम्ति सङ्घर्ष र वीपीको अनुयायीका रुपमा नेका भित्रका शीर्ष नेताहरूले उनको सिद्धान्तलाई सही दिशातर्फ मोड्न नसकेको कुरा नेपाली कांग्रेसभित्रको जुझारु, कर्तव्यनिष्ठ नेताहरू आज पनि भनिरहेका छन् कि समाजवाद पुँजीवादतर्पm उन्मुख भयो । जनतालाई सही दिशातर्पm डोहो¥याउन सकेनन् । हिजो उनीहरूले जनतासँग राजनीतिक नेतृत्वले गरेका वाचाहरू आज पटक–पटक झुठो प्रमाणित हुँदै गएको छ, जननायक वीपी कोइरालाले सिकाएका पथप्रदर्शकहरूको उज्यालो बाटो आज भत्किँदै गएको छ । नेकाँको नेतृत्व र शक्तिहरू केन्द्रमा पुगिसक्दा पनि जनताका मुद्दा र समस्याहरू आज पनि दिनानुदिन स्खलित हुँदै गइरहेका छन्, कम्युनिष्ट पार्टीभित्र जसरी गुट र उपगुटको खैला–बैला चलिरहेको छ, त्यसरी नै नेकाँ भित्रपनि त्यही मनोरोगले उसलाई पनि गाँजिरहेको छ । उसले पनि मखमली सत्तामा ढलीमली गर्न पाएपछि देश निर्माण र परिवर्तनका एजेण्डाहरू पनि वियोगपूर्ण अवस्थाबाट तुहाई रहेका छन् । वीपीका अनुयायीभित्रका एउटा पुरानो तर सहनशील, कर्तव्यनिष्ठका रुपमा चिनिएका वर्तमान प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारलाई असफल बनाउन पालैपालो भ्रमपूर्ण शब्दजाल मजदुरवर्गहरूबीच फ्यालिरहेका छन् । यो नृत्य हेर्दा हामीलाई के लाग्छ भने ‘काम कुरो एकातिर, कुम्लोबोकी ठिमीतिर’ भने झैं भएको छ आज । किनकि वीपीको मार्गदर्शक सिद्धान्तलाई अक्षरस पालना गर्न सकिरहेका छैनन् दोस्रो पुस्ताका नेताहरूले उनको स्मृति दिवस र जन्मशताब्दी मनाइरहँदा पनि जुन रुप अनि सारले देशभर हर्षोल्लासका साथ मनाइनुपर्ने हो, त्यो भने हुन सकिरहेका छैनन् ।
वीपीले प्रजातान्त्रिक समाजवाद, उदारवादी नेताहरूले उत्पादनलाई बढाएर अघि बढ्नु पर्छ भनेका थिए तर ठीक विपरित ध्रुवमा लम्किँदै गएको छ, नेकाँको पछिल्लो पुस्ता । उनको सिद्धान्तमा के पनि भनिएको छ भने देशमा कोही नाङ्गो भोको नबस्ने, सबैलाई सुरक्षित बास र उत्पादनमा वृद्धि गरी खाद्य संकट हटाउका लागि किसानलाई जग्गा उपलब्ध गराउनु पर्दछ, र हाम्रो कामले किसानको जीवनमा के परिवर्तन ल्याउँछ र त्यसको पनि योजना बनाएर सारा किसान तथा मजदुर वर्ग त्यसका निम्ति एक भएर अघि बढ्नुपर्छ भन्ने सिद्धान्त बोकेर उनी अघि बढेका थिए, त्यसलाई अबको नयाँ पुस्ताले आत्मसाथ गरेर अघि बढ्नु नितान्त आवश्यक छ । वीपीको विचारयात्रा कागजमा मात्रै सीमित नहोस् यो शतवार्षिकी यात्रा विराटनगरदेखि काठमाडौंको सुन्दरीजलमा पुगेर नटुङ्गियोस् । यो यात्रा विराटनगरबाट हैन, सुर्खेत र बर्दियाबाट शुरू गरेर माङ्खामा पु¥याऔं, अनि मात्र गरीबमुखी वीपीको विचारको उच्च सम्मान हुनेछ ।

omgautam817@gmail.com

स्वार्थको पनि सीमा हुन्छ

निधिरत्न अधिकारी
मानव दुनियाँ सपार्ने पनि राजनीति हो । बिगार्ने पनि त्यही राजनीति नै रहेछ । दुनियाँका सम्पन्न समृद्धशाली राष्ट्र बन्नुमा राजनीतिको अहम् भूमिका छ । तर दुनियाँको कङ्गाल राष्ट्र बनाउनु पनि उत्तिकै राजनीतिकै भूमिका रहेछ । आखिर राजनीति कसले गर्छ ? के का र कसका लागि गर्ने ? भन्ने सवाल अहम् छ । मानिसले मानिसका लागि राजनीति गर्ने हो । कुनै पशु प्राणीका लागि होइन । मानिस यो धर्तीको चेतनशील र सामाजिक प्राणी हो । उसँग चेतना विवेक र ज्ञान हुन्छ भनेर चेतनशील प्राणीको रुपमा उसको स्थान छ । राजनीतिले गर्दा त्यही समाजमा रहेको मानिस जुन टाठो बाठो, विवेकशील, बुद्धि ज्ञान भएको त्यो समाजमा कहलिन्छ, उही नै राजनीतिको केन्द्र भागमा पुग्दछ । यसरी ऊ त्यहाँ पुग्न कुनै खेलाँची कसैको लहडले मात्र पनि एउटा नेता नेतृत्व हुन सक्दैन, माथि पुग्न सक्दैन । धेरै लगानी हुन्छ, धेरै समय खर्चेको हुन्छ । तर उसले त्यो लगानी समयको प्रतिफल प्राप्त गर्न के गनुपर्छ ? उसले प्रष्ट थाहा पाउनुपर्छ । आफ्नो काम, कर्तव्य र अधिकार के हो भनेर । राजनीति गर्नेको मूलमन्त्र भनेको ‘बाँच, बचाउ र बाँच्न देऊ’ भन्ने मन्त्रलाई आत्मसाथ गरेर देश निर्माण र जनताको सेवामा निरन्तर लागिरहनु पर्दछ । जसले जनता र देशलाई केन्द्रबिन्दुमा राखेर राजनीति गर्छ, देश र जनतालाई समृद्ध पार्ने काम गर्छ, ऊ कहिल्यै कुनै कुरामा गरिनु हुँदैन । राष्ट्रमा रहेका सम्पूर्ण जनताको सुख दुःखमा राजनीति गर्ने नेतृत्वले सहभागी बन्न सक्नुपर्छ । उसलाई जनता र देशलाई खाडलमा हाल्न पनि सक्छ र देश र जनतालाई समृद्धशाली बनाउन पनि सक्छ । उसको सकारात्मक इच्छा शक्ति र नकारात्मक इच्छा शक्तिमा भर पर्छ । एउटा राजनीतिक कालखण्ड एउटा नेता जसले दुनियाँ जनताको दिमाग जादुगरी तरिकाले भुटेको हुन्छ । जनता पल्टाए पनि जनता पल्टिन्छ । जनतालाई नेताको जादु थाहा हुँदैन, नेताले मख्ख बनाइदिन्छन् । जब मूल केन्द्र भागमा नेता पुग्छ, जनता र देश सबै भुल्दछन् । अनि दुःख पाउने चाँहि जनता हुन्छन् । मानवको असल कर्म गर तर फलको आशा नगर भन्ने शास्त्रको भनाई छ । असल कर्मबाट स्वतः सिद्ध फल प्राप्त हुन्छ । तर मानव जातिको प्रकृति नै स्वार्थी छ । स्वार्थका पनि सीमा हुन्छ, नेपाली राजनीति सामुहिक राष्ट्र र समग्र जनताको स्वार्थ भन्दा पार्टी र नेताको व्यक्तिगत स्वार्थमा विशेष गरेर लागेको देखिन्छ । आज नेपाल राष्ट्रको भौतिक समृद्धि र समग्र नेपाली जनताको समानताको आमूल परिवर्तन गर्न नेपाली जनसंविधान बनाउनु पर्ने अहम् प्रश्न छ । यस्तो संवेदनशील संस्करणकालीन घडीमा नेपाली राजनीतिको कुनै पार्टी र नेताको बीचमा सत्ता र र स्वार्थको लागि आपसी लडाई, विवाद नभएका कोही छैनन् । विचारको लडाई यस्तो लडाई हुन सक्दैन । देश र जनताको समृद्धिको लागि राजनीति गर्ने पार्टी र नेताको विचार एउटै हुनुपर्छ । त्यो भनेको नेपाली जनता र नेपाल राष्ट्रको आमूल परिवर्तन गर्ने हो भने साझा सवाल हो भने सुत्र एउटै हुन्छ । यत्रो राजनीतिक झगडा गर्नु आवश्यकता नै होइन । आजको दुनियाँ, हिजोको दुनियाँ, मानव जाति या प्रकृतिको नियम पछाडि फर्कने होइन, अगाडि बढ्ने नै हुन्छ । मानिस जन्मेर सानु हुँदै जाने होइन, उसको सम्पूर्ण विकास हुँदै ठूलो हुँदै जाने हो । राजनीति गर्ने नेता, पार्टी, विचारका पनि एउटा लक्ष्य हुन्छ । कुनै कुरा शून्यमा हुँदैन । त्यो नेताले पार्टी र विचारको आफ्नो लक्ष्य देश र जनताको नाममा समर्पित गरेर आफ्नो नाम सदाको लागि कहलाउने, सामुहिक स्वार्थ हुनु स्वभाविक हो । तर नेपाली राजनीतिमा कोही पनि नेता पार्टी विचार, सामुहिक देश र जनताको स्वार्थको लागि कुरा नमिलेर यो राजनीतिक झगडा होइन । किनभने २ पटक संविधानसभाको निर्वाचन भइसक्यो । नेपालको संविधान बन्नको लागि सबैको सहमति आवश्यक छ । नत्र संविधान बन्न सक्दैन । किनभने सहमति भएन भने बनेको संविधानबाट नै द्वन्द्व सिर्जना हुन्छ । इतिहासले पाठ सिकाइ सकेको छ कि २०१५ साल, २०४६ सालमा बनेका संविधानको हालत के भयो ?
संघीय लोकतान्त्रिक गणतन्त्रभित्र रहेर आम नेपाल र नेपालीको समृद्धि खोज्ने मूल मन्त्र एउटै होइन ? कसरी उक्त मन्त्र अलग बन्न सक्छ ? संघीय लोकतान्त्रिक गणतन्त्र त आज सबैको साझा मुद्दा हो त । कसो गर्दा या कति संघीय राज्य बनाउँदा समग्र नेपालको हित हुन्छ, त्यो सुत्र सबैको साझा हुनुपर्छ । कुन शासकीय स्वरुप अपनाउँदा नेपालको राजनीतिक स्थित हुन्छ, त्यो पनि सबैको साझा हुनुपर्छ । कुन न्याय प्रणालीले नेपाली नेपाली जनताको पूर्ण न्याय प्राप्त गर्न सकिन्छ, त्यो पनि सबैको साझा हुनुपर्छ । कस्तो निर्वाचन प्रणालीले नेपाली जनताले पूर्ण प्रजातन्त्रको अनुभूति गर्छन् । त्यो पनि सबै राजनीति गर्नेको साझा हुनुपर्छ । यति देश र जनताको नाममा राजनीति गरेको हो भने । ४ वर्षसम्म झगडा गरेकै हो, अब पनि नेपाली राजनीतिको चेत खुलेको छैन ? स्वार्थको पनि सीमा हुन्छ । नेपाली समग्र राजनीतिलाई मेरो प्रश्न । तिमीहरू नेपाल र नेपालीलाई समृद्ध पारेर आफ्नो नाम स्वर्णिम अक्षरले लेखाउन चाहन्छौं कि ? कलङ्कित बन्न ?

सहकारीमा सुधार गर्नुपर्ने पक्षहरू

नेत्रप्रसाद घिमिरे
शेयर सदस्य नबनी अत्याधिक ब्याजको लोभमा निक्षेप राख्ने निक्षेपकर्ताहरू, ऋण लिइसकेपछि तिर्न नपरोस् भन्ने धोकेबाज ऋणी सदस्यहरूको प्रवेशले बचत तथा ऋण सहकारी संस्थाहरू पीडित बनि रहेका छन् । सहकारी सञ्चालनमा आफ्नो जिम्मेवारी र भूमिकाप्रति उदासिन र निष्कृय सदस्यवर्गले सञ्चालकलाई स्वेच्छाचारी हुन सहयोग पु¥याईरहेको देखिन्छ । सहकारीका सदस्यहरूबीच सेवा एवम् प्रतिफल वितरणमा चर्को विभेदको प्रचलन विकराल बन्दै गएको छ । दर्ता गर्न जसोतसो पु¥याइको २५ जनाको संख्या मध्ये हामी केही मिलेर जे जस्तो व्यवसाय, कारोबार र व्यवहार गरे पनि हुन्छ भन्ने भावनाले सहकारीहरू कम्पनी शैलीमा सञ्चालित हुने होडबाजी चलेको देखिन्छ । सदस्य हजारौं भने पनि संस्थामा मुठ्ठीभरका व्यक्तिका हालीमुहालीमा चलेका सहकारीलाई कसरी सहकारी भन्ने ? नाम सहकारी भए पनि काम गैर सहकारी यो छद्मभेषी प्रवृति सहकारी अभियानमा अनुभव गर्न पाइन्छ । शेयरमात्र खरिद गर्ने तर कारोबार नगर्ने सञ्चालक र सदस्यहरूका कारण सहकारीहरू संकटमा देखिन्छन् । एकभन्दा बढी सहकारीमा कारोबार गर्ने सदस्यहरू समस्याका कारक मानिन्छन् भने नेतृत्वका लागि एउटाबाट बाहिरिए पछि अर्को सहकारीको नेतृत्वमा पुग्न मरिहत्ते गर्ने सञ्चालकहरू पनि समस्याका लागि जिम्मेवार देखिन्छन् ।
सरल कर प्रणालीको अभाव र कर तिरेपछि सरकारबाट यो सेवा पाइन्छ भन्ने निश्चितता नहुनाले आम्दानी लुकाउने, नचाहिदो खर्च गर्ने, सदस्यहरूलाई लोभी बनाउने विनियम विपरीतका सुविधाहरू प्रदान गर्नाले गैर सहकारी र गैर कानुनी क्रियाकलापहरू मौलाउँदै गइरहेको पाइन्छ । आफूलाई तोकिएको जिम्मेवारी एउटा तर आफ्नो सुविधा अनुसारको कार्यक्रम गर्न खोजिरहने सहकारी संघहरू तथा सरकारी निकायहरूका कारण पनि समस्याहरू सिर्जना भएका हुन् । सहकारी प्रवर्धन र स्वअनुगमन गर्ने संघहरू सरकारले गर्नुपर्ने काम हामीले गर्छौं भन्दै माग राख्नु र सहकारीलाई नीति, कानुन र कार्यक्रम मार्फत निश्चित गन्तव्य देखाइदिनु पर्ने राज्यले सो काम नगर्नु यी दुवै अतिवाद हुन् । सदस्यलाई व्यवसायी, उद्यमी बनाउनुपर्नेमा सहकारीहरू सदस्यलाई झन् त्यो भन्दा विपन्न स्थितिमा पु¥याउने खालका गतिविधिहरू गरिरहेका छन् केहीले सदस्यहरूको जग्गा जमिनहरू लिलामी गरेर सुकुम्बासी बनाएका छन् । सहकारीले त उद्यमी बनाउने हो कि सुकुम्बासी बनाउने ? सहकारीभित्रको लिलामी प्रक्रियाले सहकारी अभियानमा बैंकिङ्ग शैलीलाई प्रोत्साहन दिने भएकाले लिलाम गर्नु नपर्ने प्रक्रिया अबलम्बन गराउनु पर्दछ तब मात्र सहकारी मार्फत सामाजिक रुपान्तरण सम्भव हुन्छ ।
नेपालको सहकारी अभियानमा देखिएका समस्याहरू समाधानार्थ सहकारी र सरकारी दुवै पक्ष वार्ताका लागि एउटै टेवलमा बस्नुपर्नेमा आपसमा भिडन्त गरी साइन बोर्डको साइज र रंगमा अल्झिदा सहकारीका जेनुइन समस्याहरू ओझेलमा परेका छन् । सहकारी संस्थाहरू सदस्यकै शेयर लगानी, बचत तथा ऋण कारोबार, व्यवस्थापन र नियन्त्रणमा सञ्चालन हुने हुँदा यहाँ सरकारी हस्तक्षेपरुपी अनुगमनको आवश्यकताभन्दा लेखा समितिलाई दक्ष, सुदृढ र जिम्मेवार बनाई स्व अनुमन प्रणालीलाई विकसित गर्दै लानु पर्दछ । आजको जमानामा पनि सरकार पुलिस भएर डण्डा लगाउदै हिड्ने होइन, नागरिक सदस्य स्वयं–कर्तव्यनिष्ठ भएर पुलिस नै नचाहिने स्थिति सिर्जना गर्नुपर्ने हो । फेरि संरक्षक पूँजी फिर्ता कोष जस्तो सहकारी व्यवसायको एकमात्र व्यावसायिक सुन्दरता अनुरुप सदस्यहरूलाई प्रतिफल वितरण नगर्नाले सहकारीको आदर्श ओझेलमा परेको हो । सहकारी व्यवसायको प्रतिफललाई सदस्यहरूमा समान वितरण गर्नुपर्नेमा केही सञ्चालकहरूले सामाजिक सेवामा बढी खर्च गरी आफ्ना व्यक्तिगत व्यवसायमा टेवा पुग्ने क्रियाकलाप गरिरहेको देख्न पाइन्छ । विनियम बमोजिम प्रतिफल वितरण गर्नुपर्नेमा कर छल्ने नियत लिई सदस्यता प्रबद्र्धन, वार्षिक उत्सव, भड्किलो साधारणसभा, उपचार खर्च, दशैं खर्च, चाडपर्व खर्च, अवलोकन खर्चका नाममा केही सीमित पदाधिकारी, सदस्यहरूलाई फाइदा पुग्ने गरी अनियमितता गर्ने प्रचलनहरू बढेर जानु सहकारीभित्रको मुख्य समस्या रही आएको छ । साधारण सभामा उपस्थित हुन नआएका सदस्यहरूको तर्फबाट अरु कसैले हाजिरी जनाई सही किर्ते गरि आर्थिक सुविधा लिने धुत्र्याइ सहकारीभित्र देख्न सकिन्छ । अर्थशास्त्रीय दृष्टिकोणबाट हेर्दा स्वत स्फूर्त सञ्चालित सहकारीहरूलाई मन्त्रालय, विभाग, प्याक्ट, युवा स्वरोजगार कोष, गरिबी निवारण कोष, लघु वित्त बैक, महिला विकास कार्यालय, जिविस, सीएलडीपी, विदेशी दाताहरू आदिले संस्थाको व्यवस्थापकीय क्षमता र आवश्यकता भन्दा बढी अनुदान दिएर आत्मनिर्भर अर्थतन्त्रलाई धराशायी बनाउँछ कि भन्ने आशंका बढेका छन् । नेफ्स्कुन, सहकारी बैक, अन्य विषयगत संघहरूले कारोबार गर्दा शेयर बचत तथा ऋणको कारोबार गर्ने सिलसिलामा सहकारी सिद्धान्त विपरीत र सहकारी मापदण्डविपरीतका शर्तहरू र व्यक्तिगत सुरक्षण वा सुरक्षण नलिई गरिने कारोवारको अनुगमन हुन नसक्दा जोखिम बढ्ने निश्चित छ । संस्था आफैले लेखाका अन्तिम खाताहरू बनाउनुपर्नेमा लेखापरीक्षकको भरपर्दा लेखपरीक्षकले आफ्नो र सञ्चालकहरूको स्वार्थ अनुकूल लेखा विवरण तयार गरी लेपापरीक्षण गर्ने, नियुक्ति स्वीकृति नलिई लेखापरीक्षण गर्ने पछि स्वीकृति लिने, एउटाको नाममा स्वीकृति लिई अर्कैले लेखापरीक्षण गर्ने आदि जस्ता नियम असंगत कुराहरू पनि देख्नुृ र सुन्नु परेको अवस्था हो ।
सहकारिताका नयाँ अन्तर्राष्ट्रिय आयामहरू भन्दै सहकारी सिद्धान्तहरू अनुरुप नहुने गरी ल्याइएका वित्तीय विश्लेषणको जालोमा संस्थाहरूलाई फसाउदै लगिएको छ । पल्र्स, क्यामेल, एक्सेस ब्रान्डिंगको सहकारी सिद्धान्त र स्थानीय समुदायको आवश्यकता र मागसंग मेल खाएको देखिदैन । यसमा बचत तथा ऋणको कारोवार गर्ने सहकारीहरूले सहकारिता सहकारी सिद्धान्त र स्थानीय आवश्यकता अनुकूल हुनेगरी आत्मसमिक्षा गर्नुपर्नेमा सो भएको पाइएको छैन । भोलि पल्र्सबाट उत्कृष्ट देखिएको सहकारीले सहकारी भावना समेट्न नसके कस्ले जवाफ दिने को जवाफदेही हुने भन्ने प्रश्न टडकारो रुपमा देखिएको छ ।
(लेखक डिभिजन सहकारी कार्यालय झापाका सहकारी अधिकृत हुन्)
npghimire33@yahoo.com

नौलो संसारको शुभ मुहूर्त

दमक/टेलिकथानक चलचित्र नौलो संसारको यहाँ शुभमुहूर्त गरिएको छ ।
सर्वज्ञान म्युजिक प्रालि दमकको ब्यानरमा निर्माण थालिएको सो टेलिचलचित्रको शुभमूर्हत गरिएको हो । दमक–१३ स्थित दुर्गा मन्दिरमा गीतकार ज्ञानेन्द्र कोइरालाले नरिवल फोरेर शुभमुहूर्त गरेका हुन् ।
 पारुहाङ वान्तवाको कथा र निर्देशन रहेको चलचित्रको सम्पादन र छायाँकन भानु फोटो स्टुडियोका भानुभक्त न्यौपानेले गरेका छन् । सामाजिक कथावस्तु रहेको सो चलचित्रकोे निर्माता शोभा कार्की र डिएन खरेल रहेका छन् ।
पुनम न्यौपानेको मुख्य भूमिका रहेको चलचित्रमा रामप्रसाद भट्टराई, शोभा कार्की लगायत कलाकारले अभिनय गरेका छन् । मेची र कोशीका विभिन्न जिल्लामा छायाँकन गरिने सो टेलिचलचित्र हिमशिखर टेलिभिजनबाट प्रशारण हुने जनाइएको छ ।

प्राकृतिक विपत्ति र संस्कार

निधिरत्न अधिकारी
नेपाल प्राकृतिक रुपमा सुन्दर रहँदा रहँदै पनि यसको भौगोलिक बनावट हिमाल, तराई र पहाड तीन भू–खण्डले घेरिएर रहेको छ । हिमाल पग्लिएर बग्ने सदावहार नदीदेखि साना–साना जरुवा खोला खोल्सा नदीहरू हिमाल, पहाड र तराई हुँदै बग्दछन् । यसरी बग्ने क्रममा जब वर्षा ऋतु शुरू हुन्छ, त्यतिबेला तिनै नदीहरूमा पानीको मात्रा धेरैभन्दा धेरै बढेर पानीको वहाब बढ्दछ । अनि यो बहाव बढाईको परिणाम तराईका उर्वरा भूमिहरूभित्र आफ्नो बाटो तयार गरी ठूला–ठूला बाढीद्वारा ती जमिनहरू बगरमा परिणत हुन्छन् । जराले गर्दा प्रत्येक वर्षको वर्षा ऋतुमा तराईका किसानहरूको बिल्लीबाट हुने भूमिहीन हुने क्रम वर्षेनी बढ्दो रुपमा छ । नेपाली राज्यको गैह्र जिम्मेवारीपनको कारणले यस्तो आपत्ति र विपत्ति भोग्नुपरेको कुरा सत्य हो । किनभने पृथ्वी सृष्टिका सबै रुपको भूगोल हामीसँग छ । यी तिनै अवस्थित भौगोलिक कारणले प्राकृतिक सम्पदा हामीसँग प्रचुर मात्रामा छ । विज्ञानको नियम अनुसार विकासको अर्थ ती सबै प्राकृतिक स्रोत र साधनलाई हामी मानिसको अनुकूलतामा हाम्रै लागि प्रयोग र उपयोग गर्न हामीले जान्नुपर्दछ । ती साधनहरूलाई समुचित परिचालन गर्नुपर्दछ ।
यसो गर्न नसकेको कारण र हाम्रा प्राकृतिक स्रोत र साधनको विकास गर्नुभन्दा त्यसलाई जोगाउनुभन्दा नष्ट गर्ने दिशातिर हामी लागिपरेका छौं । नदी तटबन्धन छैन, हाम्रो वनजङ्गल दिनानुदिन मासिँदै गएका । त्यसको नकारात्मक असर, बाढी, पहिरो जानु नै हो ।
आज विश्व दुनियाले प्रविधि विकासको चरम चुलीमा पुग्दा विशाल समुद्रमाथि शहर बजार बस्ती बसालेका छन् । त्यहाँ माथि खेती गरेका छन् । तर हामी समुद्रभन्दा टाढा जमिन नै जमिनको समुद्रभन्दा धेरै उच्च ठाउँमा हामी बसोबास गर्दछौं । तर पनि हाम्रो विकासको रुप वर्षैपिच्छे बाढी, पहिरोबाट ग्रसित छौं । हाम्रा विकासका पूर्वाधारहरू अति नै कमजोर छन् । हाम्रा जमिनको भू–क्षमताको मापन गर्ने कुनै यन्त्र, मानवीय जनशक्ति हामीसँग छैन । समुद्र किनारका मुलुकहरूले समुद्रमाथि बसेर त्यत्रो विकास गर्दा हामी हाम्रा यी साना नदीहरूको दीर्घकालीन व्यवस्था गरी त्यसको आसपासका साविक उर्वरा भूमिहरू किन जोगाउन सक्दैनौं ? कति लाजमर्दो कुरा ?
हामीले हाम्रो सरकारले यहाँका टाठा, बाठा, बुज्रुकले जानेको कुरा के हो भने कति बेला बाढी पहिरो आउँछ र त्यसको नाममा बजेट निकासा हुन्छ, छुटिन्छ अनि तिनै अमूक केही बुज्रुक, टाठाबाठाको कमाई खाने भाँडो यो सोचभन्दा माथि अरु के हुन सकेको छ ? किनभने नेपालको इतिहास तयार भएको कति भयो ? यी नदी खोला हिजोदेखि मात्र बगेका हुन् र ? नेपालीको समृद्धि र देश विकास गर्छौं भनेर कति नेपाली संस्कार आए गए ? आज आएर पनि उस्तै बाढी पहिरोबाट आपत विपत भोगिरहनुपरेको छ, नेपाली जनताले । विकासको रुप भनेको पानीको बहाव जत्रो भए पनि वैज्ञानिक रुपले उसको सीमाभित्र बगाउन सक्नुपर्छ । त्यही आधारमा नदीको किनारका मानव वस्तीहरू दीर्घकालीन रुपमा विश्वस्त भएर बसाउन सक्नुपर्छ । वनजङ्गल बढाउनु सबैलाई प्रेरित गर्नुपर्छ । भू–क्षय हुने, पहिरो जाने नजाने, त्यहाँको माटो, चट्टानको मात्रा हेरी वैज्ञानिक तरिकाले माटो चेकजाँच गरी दीर्घकालीन पूर्वाधार विकास र मानव वस्ती बसाउन राज्यमा रहेको जनताको प्रतिनिधि मुलुक संस्था सरकार सक्षम र पारदर्शी हुनुपर्दछ । यो मापदण्ड अनुसार गरिने विकासको विरुद्धमा पनि आउने प्राकृतिक प्रकोप, विपत्तिहरूबाट चित्त बुझाउने आधारहरू हुन सक्छन् । तर जब विपत्ति आउँछ, अनि दुःख व्यक्त गर्ने, करोडौंको हेलीप्याड चढेर त्यहाँ पुग्ने अनेक नामको अनुहार देखाउने अनि मिठा, गुलिया, चिल्ला, सैद्धान्तिक थुप्रा लगाईदिने अन िव्यवहारमा आपत परेका जनसाधारणको हातमा शून्य । यस्तो गैह्र जिम्मेवार प्रवृत्तिले नेपाली जनताको जीवनस्तर र नेपालको भूक्षय, बाढी, पहिरोको रुप दिनानुदिन कस्तो होला ?
आजको प्रविधिमा अति चरम रुपमा रहेको युग नेपालमा पनि इच्छाशक्तिका साथ गर्दा नहुने कुरा केही छैन । त्यो वैज्ञानिक प्रविधिलाई हाम्रो प्रचुर मात्रामा रहेको स्रोत र साधनलाई उपयोग गरी विकास गर्न सजिलै सकिन्छ ।
संसारका अरु विकसित मुलुकहरूमा बेला–बेलामा आउने प्राकृतिक विपत्तिबाट उनीहरूले गरेका पूर्वाधार विकासमा भएका थोरै कमजोरीबाट पनि अगाडि आउने विपत्तिको लागि समाधान गर्ने पाठ सिक्छन् । तर हाम्रो सरकार र हाम्रो प्रवृत्ति ठीक त्यसको उल्टो छ । मर्ने मर्छ, उसको पहुँच छैन भने केही पाउँदैन, झुक्कियो भने थोरै चारो पाउँछ । त्यस आपत्तिको पीडित मालिक जो पहुँचवाला छ, उसैले राहत पाउँछ, यस्तै छ नेपालको चलन । अब के गर्ने सुधारको लागि । सबैले सोचौं ।

कलाका नायक श्रीकृष्ण श्रेष्ठप्रति श्रद्धा सुमन

ओमप्रकाश गौतम
जीवनपछिको मृत्यु अकाट्य छ । मृत्यु निश्चित छ तर समय निश्चित छैन । मानिस यसैका परिधिभित्र रमाइरहन्छन्, दुःखी भइरहन्छन् । यो एउटा निरन्तर प्रक्रिया हो । बुझ्न सक्नेका लागि जीवन एक नदी हो जो अविरल बगिरहन्छ, बुझ्न नसक्नेका लागि जीवन एक महान् समस्या हो । किनकि त्यही समयको परिधिभित्र बाँधिएर मानिस सङ्घर्ष गरिरहन्छ तापनि ऊ कहिल्यै समस्या नै समस्याको पहाड छिचोल्न पछि पर्दैन । हो आज यस्तै सङ्घर्षको आँधी बेहरीबाट कहिल्यै पनि नथाक्ने अविरल बगिरहने नेपाली चलचित्र रजतपटका वरिष्ठ नायक श्रीकृष्ण श्रेष्ठ हामीमाझ रहेनन् । जीवनममा कहिल्यै फर्किएर नआउने गरी हामीमाझ विदा भएर गए ।
जीवनको मध्यान्तर पार गरेर विवाह बन्धनमा बाँधिएका नायक श्रीकृष्ण श्रेष्ठको मृत्युले नायिका स्वेता खड्काको उज्यालो मुहारलाई सदाका लागि बाललले ढाकिदियो । जीवन न हो, एक दिन मरेर गइन्छ, तापनि यस्तो प्रकारको मृत्यु कसैको पनि नहोस् जस्तो श्रीकृष्ण श्रेष्ठको ४६ वसन्त पार नगर्दै रोगले ग्रसित बनाएर जीवन इहलीला समाप्त भयो । आज एक सफल कलाकारका रुपमा नेपाली सिने दर्शकमाझ परिचित नायक श्रेष्ठको निधनले जो कोहीलाई मर्माहत बनाएको छ र सारा नेपाली कलाकर्मीहरूलाई भावविह्वल बनाइदिएको छ । अब्बल अभिनय पस्कने एक नायकको अन्त्यले नेपाली चलचित्र क्षेत्रलाई अपुरणीय क्षति पुगेको छ । उनको राष्ट्रिय सम्मानका साथ पशुपतिको आर्यघाटमा दाहसंस्कार गरियो, हजारौं नेपाली सरिह भएको कुरालाई नेपालका सबै पत्र–पत्रिकाले पहिलो पृष्ठमा महत्वका साथ खबर प्रकाशित गरे । नेपाली टेलिभिजनका च्यानलहरूबाट शवयात्राको दृश्यलाई उच्च प्राथमिकताका साथ प्रस्तुत गरे जो हामी शुभेच्छुक कलाप्रेमी हृदयदेखि नै सम्मान गर्दछौं कि उनको आत्माले चीर शान्ति प्राप्त गर्न सकोस् । आज नेपाली चलचित्र क्षेत्रभित्र पनि राजनीति रङ्ग भरिँदै गएको हुनाले चलचित्रकर्मी–कर्मीहरूबीच एक अर्कालाई निषेध गर्ने काम भइरहेको हुनाले चलचित्र क्षेत्र उति फस्टाउँदो अवस्थामा छैन । कलाकारले जति सम्मान प्राप्त गर्नुपर्ने हो त्यो पाउन सकिरहेका छैनन् । श्रीकृष्ण श्रेष्ठकै शब्दमा भन्नुपर्दा –‘म कसैलाई चुरोट, रक्सी खुवाउँदिनँ, त्यसैले होला म कहिल्यै नम्बर एक वा सुपरस्टार कहलाइनँ’ यस्ता अति नै संवेदनशील शब्दहरू उनको मृत्यु हुनुभन्दा अगावै उनले पटक–पटक संप्रेषित गरेका थिए तापनि चलचित्र कलाकर्मी संघसंगठनले उनको कलाकारिताको कुनै कदर गर्न सकेन कलामा राजनीति रङ्ग मौलाएर गयो । अभिनयको अब्बल कलाकारिता मौलाउन सकेन । हिजो फत्तेमान राजभण्डारी, विश्वशंकर, तारादेवी, नातिकाजी, गोपाल भुटानी जस्ता कलाकार, गायकहरू राज्यले जुन सम्मान दिनुपथ्र्यो त्यो भने दिन सकेन । कलाकारिताभित्र मपाइत्ववाद र राजनीति संस्कारको प्रवृत्ति हावी हुँदै गएको हुनाले नेपालमा अभिनय गरेर कार्यथलो बनाइरहेका कलाकारहरू आज धमाधम अर्थोपार्जनका लागि अमेरिका, जापान, हङकङमा श्रम बेचेर जिवीकोपार्जन गरिरहेका छन् । आखिर किन कलाकारिताभित्र राजनीति रङ्ग मौलाइरहेको होला ?
त्यति मात्र होइन, जीवनकालमै श्रीकृष्णहरूलाई मृत्युपछि राष्ट्रिय सम्मान पाइन्छ भनेर थाहा हुन पाएको भएर अर्थात चलचित्र, लोक, आधुनिक, गीत, सङ्गीत, नृत्य, नाट्यचित्र, पत्रकारिता साहित्य आदिका राष्ट्रिय स्तरमा पुगिसकेका अति लोकप्रिय व्यक्तिहरूलाई राज्यले मृत्युमा राष्ट्रिय सम्मानको मापदण्ड बनाएको भए श्रीकृष्णलाई पनि थाहा हुन्थ्यो कि कलाकारको राज्यले उचित सम्मान गरेको छ । यसलाई शक्तिमा बदल्नुपर्ने रहेछ भनेर उनमा स्फुर्ति बढ्ने थियो होला तर त्यो भने हुन सकेन । शक्ति र अर्थको राजनीतिले कलाकारलाई पनि दलको औरे–भौरे बनाइदियो । आगामी दिनमा यसको पनि अन्त्य हुनैपर्दछ, चुनाव जिताउनका लागि कम्मर मर्काउँदै शहरबाट गाउँ पस्ने प्रवृत्तिको निदान हुनुपर्दछ । झण्डा बोकेर या नातागोताहरूलाई एकेडेमीमा दलको कोटामा नियुक्तिको बक्सिसे हजुरी प्रथा गर्ने चलचित्रकर्मी लगायतका संस्थाहरूमा अन्त्य भने हुनैपर्दछ । कलाकार–कलाकारबीच यो दल, ऊ दल बीचको कटुता अन्त्य हुनुपर्दछ ।
आजसम्म हाम्रो देश नेपालमा अभिनय क्षेत्रमा कहलिएका कलाकार थुप्रै–थुप्रै अभिनय देखाएर आए, गए राजनीतिक रङ्ग छरेर गए तर नायक श्रीकृष्ण श्रेष्ठले कहिल्यै पनि कलाकारितादेखि राजनीतिकर्मीको लबेदा नसमाई ‘ट्रक ड्राइभर’, ‘कसम’, ‘आफ्नो मान्छे’, ‘कहाँ भेटिएला’ देखि उनको अन्तिम नेपाली चलचित्र ‘कोहिनूर’ लगायत सयौं चलचित्र भन्दा बढी चलचित्रमा उनी सफल कलाकर्मी बनेर नेपाली मनहरूको हृदय छुन सफल भए । उनको अभिनयका चमक कहिल्यै हराएन, बिलाएन, उनी चम्किनका लागि पित्तल बने न पग्लिएर जाने मैन, आज त्यही मैनबत्तीको शिखा उनी मरेर गए पनि संसारभर दीप बलिरहेको छ जो चिरस्थायी रुपमा बलिरहनेछ । भावपूर्ण श्रद्धाञ्जली श्रीकृष्णको श्रेष्ठको कलाकारिताको यात्रालाई ।
omgautam817@gmail.com

इच्छाशक्तिको तगारो पार्टी भित्रको बेथिति

नरपति पाण्डे
मुलुकको प्रमुख प्राथमिकता शान्ति स्थापना गरेर नयाँ संविधान बनाउनु थियो । त्यसका लागि दीर्घदृष्टि भएको राजनीतिक नेतृत्व चाहिएको थियो । संविधानसभाको निर्वाचनबाट उदाएका साना ठूला आकार भएका राजनीतिक दलहरू शान्ति स्थापना गराउने प्रमुखकर्ता थिए । प्रतिनिधित्व हुन नसकेका अन्य राजनीतिक समुह र नागरिक समाजहरू सहायक कर्ता थिए । मुलुकको हितका लागि शान्तिपूर्ण स्थीरताको आवश्यकता थियो । त्यस्तो वातावरण सिर्जना गर्न कै लागि विस्तृत शान्ति सम्झौता दलहरू बीच भएको थियो । निर्वाचित हुन वा नहुन गन्तव्य शान्ति स्थापना गरी मुलुकलाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा बलियो बनाउनु थियो । तर दलहरूमा निस्पृहपन बढ्न थाल्यो । इमान्दार र उत्तरदायी राजनीतिक नेतृत्व नभएसम्म शान्ति र समृद्धिको जनइच्छा व्यर्थै रही रहँदो रहेछ । व्यक्तिवादी राजनीतिक चलखेलले नागरिकहरूलाई समेत राजनीतिक भ्रममा फँसाउन पुग्दोरहेछ । गुट, गुटसमुह र व्यक्ति स्वार्थको संर्कीर्ण हुँदै हुर्किएको राजनीतिमा चमत्कारी व्यक्ति नै पो को चाहिं होला यो परिवेशमा ?
आज हास्न लायक राजनीतिक गफहरू सुन्न पाइन्छ । “यो व्यक्ति भए शान्ति स्थापना हुन्थ्यो, त्यो व्यक्ति नै मुलुकको आवश्यकता हो, त्यसले देशको व्यथालाई च्वाट्टै पार्छ” यो अभिव्यक्ति झन् संकीर्ण राजनीतिक चिन्तनको उब्जनी हो । गुटबन्दीको महामारीले दलहरूको तेजलाई खुइल्याई रहेको संक्रमणमा ‘व्यक्ति प्रदान चिन्तन’ निश्चित समुहको स्वार्थी अभिव्यक्ति मात्र हो । गुट सिर्जना गरी राजनीति गर्ने महाज्ञानीहरूहरूलाई साथ दिने गुट छतौराहरूको रङ्ग निश्चित हुँदैन । गुट समर्थकहरूको ज्ञानगोचर कमाउनेमा मात्र हुन्छ । गुट अभियन्ताहरू आफ्नो स्वार्थपूर्ति गर्न गुटलाठेको प्रचारमा निमग्न रहनु आवश्यक ठान्छन् । यो प्रवृत्ति हाम्रो मुलुकमा कम्युनिष्ट दलहरूमा अचाक्ली बाक्दिैछ । दुःखी र पीडितहरूको समुहमा साखिलो बनेर सहानुभूति बटुल्न सक्ने खुबी त कम्युनिष्ट नेताको छ तर दलभित्र प्रजातान्त्रिक चरित्रलाई धरोहर बनाउन नखोज्नु धुत्याइँ नै हो भन्दा बेठीक नहोला ।
ताक परे कोनि के नत्र ...... र सम्पतिमा हाइहाइ बिपत्तीमा कोही छैन दाजुभाइ भने झै यहाँ पार्टी फुटाउने अनि तथानाम गालीगलौच गरी आत्मरतिमा रमाउने उता पद र सम्पतिको छनक नपाउने बित्तिकै फेरि पहिले कै पार्टीमा प्रवेश गर्ने अनि पहिल्यैको पदमा आसिन गराउने पार्टी मठाधिसहरू नागरिकहरूको टाउकोमा गीर खेल्न पात्रै सिपालु छन् । ऐनमौकामा गुट–गुटको आपसमा गोदागोद, ठोकाठोक, लखेटालखेटीको तमासा देश भरी नै बाक्लिने गर्दछ । अनि फेरि “यो व्यक्ति वा त्यो व्यक्ति प्रधानमन्त्री भए सबै समस्या निख्रिन्छ” भन्दै धमिलो पानीमा खेल्दै आत्मरतिको राजनीति गरिरहने ? ज्ञाननिष्ठा नभएका व्यक्तिले मात्र यस्तो व्यक्तिवादी प्रचार गर्दछ । अझ कम्युनिष्ट कार्यकर्ताले सामुहिक हितको पक्षमा सम्पूर्ण जीवनको ज्ञान प्रयोग प्रयोग गर्दै मुलुकलाई शक्तिशाली बनाउने बाटो तर्फ लैजाने होइन र ? । ज्ञाननिष्ठा भएका जो कोही व्यक्तिले दलिय भद्रगोललाई समेल्न सुझाव निरन्तर दिनु पर्दछ ।
कतिको कन्तबिजोग ! कसैले भनेथे “म त शान्ति स्थापना गर्ने एक मात्र अर्जुनदृष्टि भएको व्यक्ति हुँ मसँग रामवाण नै छ” यो भनेको १८० दिन पूरा नहुँदै उचालपुचाल गर्नेहरूले घु¥यान मै पछारि दिए । अनि फेरि अर्काथरीले अर्का थरी लोभीपापी नेतालाई उचालपुचाल गर्न पुगे उचलपुचालको मोहोरीमा रम्ने अगुवा भनाउँदाको फुरफुरी बतासियो । त्यस्ताले आफूले उचालेको सिद्धान्तको झण्डाको बेइज्जत नै गरेको घटना पनि देशले भोग्यो । सानो दलहका इमान्दार नेताको नेतृत्वमा सबै दलहरू सम्मिलित मन्त्रीमण्डल बनाउनु एउटा विकल्प नै नहुने कस्तो बहुदलीयता ? गुट भित्रको ‘व्यक्ति इगो’ को कारणले बढेको आन्तरिक र बाह्य अन्तरबिरोधलाई यो विकल्पले मथ्थर पार्न सक्थ्यो । राजनीतिक इच्छाशक्ति भए शान्ति स्थापना र संबिधान निर्माण समस्या नै हुँदैनथ्यो । दलहरूको राजनीतिक ज्ञानेन्द्रियहरू नै प्रदुषित र संक्रमित भएपछि नागरिकको इच्छा त हावा नै हुन पुग्यो । यस्तो परिवेशमा व्यक्तिवादी राजनीति स्वाभाविक भएको छ । एउटा व्यक्तिलाई उभ्याएर वरिपरि बेरिएका स्वार्थी सुण्डमुसुण्डहरूले संक्रमणलाई बढाउन मलजल गरेकै हुन् हिजो तर आज यो क्रम रोकिनु पर्छ । अनि नागरिकहरूको तर्फबाट पनि कुनै चमत्कारी व्यक्तिको वकालत गर्नु ज्ञानहीन प्रवृति नै हो । गुटगत अतिरञ्जनाहरू बन्द गरिनु पर्दछ ।
आशा लाग्दा व्यक्तिहरूको राजनीति र कुटनीतिक व्यक्तित्वमा गुटबन्दीले उगाल आउँछ । पद नै अन्तिम हो भन्नेहरूको दुर्दशाको परिणाम कस्तो दुःखदायी हुन्छ अहिलेको घटनाले देखाइरहेको छ । अस्थीर राजनीतिक वातावरणामा व्यक्ति र गुटको त स्वार्थ पूरा होला तर मुलुकले गोता खाइरहने छ । लोकतन्त्रमा हिंसा र उद्दण्डता निषेध हुन्छ । लोकतन्त्रमा हिंसात्मक गतिविधिको आडमा अनुचित फाइदा लिन खोज्नु विचारहीन राजनीतिक प्रवृति हो भने गुटको आधारमा पदको पजनी गर्नु निकृष्ट राजनीतिक काम हो । निष्पौरष अर्थात पराक्रमहीन राजनीतिक व्यक्तिहरू समस्याहरूका कारक पनि बनेका छन् । समस्याहरूको छिनोफानो इच्छाशक्तिले मात्र गर्न सकिन्छ । जनचाहना अनुरुपको शान्ति र संबिधान दिन दृढता मात्रै एउटा उपाय हो । सबै दलहरूले राजनीतिक दृढ इच्छाशक्तिका साथ उभिनु पर्दछ । पक्ष विपक्षको रडाको संविधानसभामा देखिनु हुँदैन ।
दलहरूमा दललाई संकट पर्दा दल छोड्ने अनि दलको अवस्था सुदृढ हुँदा दलमा भित्रिने अवसरवादी झुण्ड चाहे त्यो बौद्धिक वर्गको होस् वा अरु कुनै ति सबै संक्रमण तन्काउने संक्रमित तत्वहरू नै हुन् । यहाँ एउटा जाबो सांसद र मन्त्री हुनलाई रङ्गबिरङ्को आतेजाते गैर राजनीतिक लसपस गर्नेहरूको एउटा भीड मडारिरहेको छ । त्यो भीड कहिले जातको रङ्मा कहिले वर्गको रङ्मा कहिले पहिचानको रङ्मा कहिले बौद्धिक वर्गको रङ्मा त्यही सांसद र मन्त्री नपाएको झोंकमा भौतारिएको छ । पार्टी बिछोड र पार्टी प्रवेशको जायामा निरन्तर यात्रा गरिरहेको त्यो स्वार्थी समुह कुनै पनि मानेमा दुःख पाएको नागरिकको साथी बन्न सक्ने छैन । समस्या छिमोल्ने कुनै इच्छाशक्ति त्यो भीडसँग छैन । त्यो भीड मात्रे राम्रो काम हुन लाग्यो भने जस आफू लिन खोज्छ र समस्याको थाक चुलिदै गयो भने त्यो भीड तथाकथित आरोपहरू लगाउँदै पार्टी छोड्ने अनि सत्तोसराप गरी पखाल्ने गरेको जिउँदा घटनाहरू छन् । यो क्ुनै राजनीति काम नै होइन र यसको कुनै सिद्धान्त र नीति नै हुँदैन । यस्तो प्रवृति हुने जोकोहीको पनि जिम्मेवारीबोध गर्ने साहस र आँट नै हुँदैन । यो पनि नागरिकहरूले बुझ्नु पर्ने अवस्था आएको छ ।
navinnp45@gmail.com

समाज निर्माणमा मर्यादित पत्रकारिताको खाँचो

पिपुल्स टाइम्स समाचार
दमक/समाज निर्माणमा मर्यादित पत्रकारिता जरुरी रहेको झापाको दमकमा शुक्रबार आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । उनीहरुले पेशागत विकास गर्न सञ्चारकर्मीहरु गतिशील बन्नु पर्ने बताएका छन् । पत्रकार मञ्च दमकको तेश्रो अधिबेशन तथा आठौँ बार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै बक्ताहरुले सञ्चारकर्मीहरुको भूमिका अझ बढ्दै गएको औँल्याए ।
मञ्चको उद्घाटन शत्रमा बोल्दै महासंघका पूर्वाञ्चल संयोजक पोख्रेल
अधिवेशनको उदघाटन सत्रका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा पूर्वाञ्चल संयोजक गणेश पोखरेलले पत्रकारहरुको व्यवसायीक एकताको खाँचो औल्याएका थिए ।  बिचार र आस्थाका आधारमा पत्रकारहरु बिभाजित नभई व्यवसायीक हित र एकताका लागि सदैव एक हुनुको बिकल्प छैन, उनले भने । पत्रकारको क्षमता अभिवृद्धि सँगै पेशागत मार्यादा समेत कायम राख्नु अहिलेको चुनौति रहेको उनले  बताए  ।
नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष भीम नेम्बाङले पेशागत विकास सँगै क्षमता बृद्धिका लागि सञ्चारकर्मीहरु गंभीर हुनु पर्ने बताए । उनले पत्रकारिता क्षेत्रको विकास गर्न सकिए मात्र यो पेशा जिबीकोपार्जनका लागि माध्यम बन्न सक्ने औँल्याए ।
नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य प्रकाश प्रसाई ,आदीबासी जनजाति महासंघ झापाका अध्यक्ष पारसमणि राई, संघीय प्रेस यूनियन झापाका सल्लाहकार दिपेनबाला राई,  इलाका प्रशासन कार्यालयका उपसचिव बासु कोइरालाले पत्रकारीता पेशालाई मार्यादित बनाउन र समाजलाई जिम्मेवार बनाउन पनि चुनौती रहेको बताए ।
दमक नगरपालिकाका कार्यकारी अधिकृत नुरहरि खतिवडा, दमक जेसीजका अध्यक्ष भगवान बस्नेत, प्रेस चौतारी झापाका पूर्व अध्यक्ष गोपाल गड्तौला, आदिबासी पत्रकार महासंघ झापाका अध्यक्ष गणेशमान मुखियालले पेशागत चुनौतीहरु रहेपनि व्यवसायीक पत्रकारीताको अभिबृद्धिका लागी मञ्चले गरेको कामको प्रशंसा गरेका थिए । 
कार्यक्रमको उद्घाटनमा क्रान्तिकारी पत्रकार संघ झापाका उपाध्यक्ष टिकाराम उप्रेती, नेकपा एमालेका क्षेत्रीय अध्यक्ष नेत्र दाहाल, कांग्रेस क्षेत्रीय सभापति शेरबहादुर भट्टराई, एकिकृत माओवादीका दमक नगर इन्चार्ज रमेश गुरागाइँ, राप्रपाका नगर अध्यक्ष प्रविण चाम्लीङ्ग, संघीय लिम्बुवान पार्टीका संगठन बिभाग प्रमुख प्रेमदीप थाम्सुहाङ्गले व्यवसायीक पत्रकारीताको बिकासका लागी पत्रकारको क्षमता अभिवृद्धिमा समेत जोड दिनुपर्ने बताए ।
--------------------------------------------------------------------------------------------------------------------

मञ्चमा नयाँ नेतृत्व

पत्रकार मञ्च दमकको तेस्रो अधिवेशनले बिष्णु पोखरेललाई  अध्यक्षमा सर्व सम्मत चयन गरेको छ । शुक्रवार दमक –१० स्थित पाथिभरा पार्टी प्यालेसमा भएको अधिवेशनले समितिको उपाध्यक्षमा बिष्णु पौडेल चुनिएका छन् ।
मञ्चका निर्वाचित कार्यसमिति सामूहिक तस्वीर खिचाउँदै ।
सचिवमा नगेन्द्र मणी न्यौपाने, सहसचिवमा नगेन्द्र राई  र कोषाध्यक्षमा मनकुमार तुम्सा चयन भएका छन् । सदस्यहरु राजेश कुइकेल, श्याम लम्साल, निरज अग्रवाल, लक्ष्मी नेपाल, दिलकुमार लावती र मनकुमारी पन्दाक चयन भएका छन् । अधिवेशनको  बन्दसत्रले निवर्तमान अध्यक्ष गोपाल झापालीले प्रस्तुत अध्यक्ष प्रतिवेदन, सचिव कमन देवानले प्रस्तुत सांगठानीक प्रतिवेदन र कोषध्यक्ष कमला श्रेष्ठले प्रस्तुत आर्थिक प्रतिवेदन छलफल पछि संशोधन सहित पारित गरेको थियो । अधिबेशनको वन्द सत्रले कृष्ण कार्कीको संयोजकत्वमा राजन ढुङाना, दिपेनवाला राई र ओम प्रकाश गौतम सदस्य रहेको निर्वाचन समिति, गोपाल गड्तौलाको संयोजकत्वमा विष्णु सुब्बा र टिकाराम उप्रेति रहेको अध्यक्षीय मण्डल चयन गरेको थियो । त्यस्तै चेतन अधिकारीको संयोजकत्वमा विधान संशोधन, पंकज दाहालको संयोजकत्वमा प्रस्ताव लेखन समिति समेत गठन गरिएको थियो ।

‘जेसीजको क्षेत्र ‘क’ सम्मेलन विर्तामोडमा शुरु’

बिर्तामोड/‘नयाँ संविधानको शान, विभेदकारी समाजको अवशान’ नाराका साथ शुक्रबारदेखि जेसीज क्षेत्र ‘क’ सम्मेलन झापाको बिर्तामोडमा शुरु भएको छ । नेपाल जेसीजको आयोजना र वीरता लेडी जेसीजको आतिथ्यमा सम्मेलन शुरु भएको हो । सम्मेलनमा जेसीज ‘क’ अन्तरगत मेची, कोशी, सगरमाथा र जनकपुरका ३८ वटा शाखाका पाँच सय भन्दा बढी प्रतिनिधि सहभागी छन् ।
विर्तामोडमा शुरु जेसीजको सम्मेलनका अतिथिहरु
नेकपा एमाले नेता भरतमोहन अधिकारीले सम्मेलनको उद्घाटन गरेका छन् । उनले माघ ८ गते संविधान बन्ने वातावरण तयार नभएको बताए । अधिकारीले संविधानका केही जटिल मुद्दा समाधान नभएकाले संविधान बन्नेमा ढुक्क हुने अवस्था नरहेको टिप्पणी गरे । ‘संविधान निर्माणका लागि प्रमुख तीन दल जिम्मेवारीका साथ अघि बढ्नुपर्छ’अधिकारीले भने –‘उनीहरुले खुट्टा कमाए माघ ८ मा संविधान जारी हुन सक्तैन ।’ संविधान लेखनका केही मुद्दामा सहमति गरी अघि बढ्नुपर्ने बताउँदै उनले नयाँ संविधानमा लोकतन्त्र, गणतन्त्र र संघीयताको मुद्दालाई मूल आधार बनाउनु पर्ने बताए । संविधान निर्माणका लागि युवा दवाव आवश्यक रहेको उनको भनाई छ  । ‘युवा नै देशका शक्ति हुन्’ उनले भने –‘युवा समाज र मानवताको विकासमा लाग्नुपर्छ ।
पूर्व अर्थमन्त्रीसमेत रहेका अधिकारीले महिला र पुरुषबीचको विभेद अन्त्य नभएसम्म मुलुक आर्थिक
सम्वृद्धिको बाटोमा अघि बढ्न नसक्ने बताए । ‘अव बन्ने संविधानले सम्वृद्धिको ढोका खोल्नुपर्छ’ उनले भने ‘तव मात्र देशको विकास हुन्छ ।’
कार्यक्रममा जेसीजका राष्ट्रिय अध्यक्ष सुशीलबाबु श्रेष्ठ, नेपाली कांग्रेस झापाका कार्यवाहक अध्यक्ष देउमान थेबे, शान्ति समिति झापाका अध्यक्ष सूर्यनारायण गणेश, एमाले नेता कुन्दन भट्टराई, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष भीम नेम्वाङ, विशाल थापा, राधा सुब्बा, मीरा बजगाई लगायतले मन्तव्य व्यक्त गरेका थिए । पार्वती बिमली, श्रद्धा पोखरेल, गोमा भट्टराई, तिलरुपा श्रेष्ठ लगायतले बोलेका थिए ।
दुई दिनसम्म चल्ने सम्मेलनको पहिलो दिन शुक्रबार साँझ ‘नयाँ संविधानको शान, विभेदकारी समाजको अवशान’ विषयक अन्तरक्रिया हुँदैछ । कार्यक्रममा कांग्रेसका युवा नेता गगन थापा र एमाओवादीका युवा नेता गणेशमान पुनले समसामयिक राजनीतिक विषयमा चर्चा गर्नेछन् । सहभागीले उठाएका विषयमाथि दुई नेताबीच अन्तरक्रिया गरिने छ । त्यस्तै शुक्रबार राती साँस्कृतिक कार्यक्रमसमेत हुने जनाईएको छ । जेसीज शुक्रबारदेखि ५० वर्षमा प्रवेश गरेको उपलक्ष्यमा साँस्कृतिक कार्यक्रम गरिने भएको हो ।

पब्लिक सहकारीको कारोवार शुरु

गौरादह/पब्लीक कृषि सहकारी संस्था गौरादहले शुक्रवारबाट कारोवार शुरु गरेको छ । संस्थाले औपचारिक रुपमा बचत तथा ऋणको कारोवार शुरु गरेको हो ।
संस्थाको कारोवारको उद्घाटन जिल्ला सहकारी संघ झापाका अध्यक्ष हरि चरण बानियाँले उदघाटन गरेका छन् ।  कार्यक्रममा संस्थाका अध्यक्ष भुपाल राज कटुवालले कृषि क्षेत्रको विकासमा सहकारी लाग्ने प्रतिवद्धता गरेका थिए । उद्घाटन कार्यक्रममा  द एभरेष्ट बचत तथा ऋण सहकारी संस्था दमकका ब्यवस्थापक धर्मानन्द भट्टराई लगायतले  कारोवारको सफलताको शुभकामना ब्यक्त गरेका थिए । संस्थाको २ करोड शेयर पूँजी रहेको संस्थाका प्रवन्ध निर्देशक हेमन्त कार्कीले बताए । सो सहकारी संस्थाको सञ्चालक समितिको उपाध्यक्षमा टेक बहादुर कार्की  छन् भने सदस्यहरुमा टपेन्द्र घिमीरे, सिरु शाह, लक्ष्मी प्रसाई र गंगा कार्की रहेका छन् ।

दमक–११ मा चुम्लुङ

दमक/किरात याक्थुङ चुम्लुङले दमक–११ मा वडा समिति गठन गरेको छ । शुक्रबार सम्पन्न वडा भेलाले कविन्द्र शेर्माको अध्यक्षतामा चुम्लुङको वडा समिति गठन गरेका हुन् । सर्वसम्म्त गठित समितिको उपाध्यक्षमा पूर्ण कुमार साउदेन, सचिवमा विजय लिङदेन ,सह–सचिवमा कृष्ण बेघा र कोषाध्यक्षमा लक्ष्मी प्रसाद चेम्जोङ चुनिएका छन् । 
यसैगरि, सदस्यहरुमा राम बहादुर सम्बाहाम्फे, सन्तकुमार लिङदेन, यमुना योङहाङ (लिङदेन) र अमृता केरुङ (सेनेहाङ)लगायत रहेका छन् । चुम्लुङका नगर अध्यक्ष गुमानसिंह सम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न भेला चुम्लुङका नगर सचिव देवेन्द्र चेम्जोङले सञ्चालन गरेका थिए । कार्यक्रम स्थानीय किरात युमा माङहिमको प्राङगणमा भएको थियो भने  पूजारी आईतराज कुरुम्बाङको प्रमुख आतिथ्यतामा भएको थियो ।

बर्षाले धराने टोलमा समस्या

दमक/३ दिन यता निरन्तर भएको बर्षाका कारण झापाको दमकका विभिन्न स्थानमा रतुवा नदीले कटान थालेको छ ।
नदीमा पानीको वहाव बढेपछी दमक १८ धराने टोलमा कटान जारी राखेको छ । धराने टोल उत्तरको बस्तीमा नदी पस्ने खतरा बढेपछि स्थानहरुले अस्थायी तटबन्द निमार्ण गरेका छन् । पानी स्पर भत्काउन थालेपछी
बाँस, बोरा लगाएर अस्थायी तटबन्ध निर्माण गरिएको एमाले नगर अध्यक्ष अम्बिका खनालले जानकारी दिए । त्यस्तै दमक १८ र १५ को सिमानामा पर्ने चक्रपथमा समेत पानीले क्षति पुर्याएको छ ।

सिटी क्लवको अध्यक्षमा खडका

दमक/दमकमा भएको एक युवाहरुको भेलाले शेखर खड्काको अध्यक्षतामा ११ सदस्यीय सिटी फुटवल क्लव दमक गठन गरेको छ ।
 समितिको उपाध्यक्षमा राजु लावर, सचिवमा नारायण बिष्ट, सहसचिवमा सन्तोष थापामगर र कोषध्यक्षमा मजुन राई रहेका छन् । भेलाले सल्लाहकार समिति गठन गरेको छ ।  समितिको सदस्यहरुमा इन्द्र कार्की, टिका अधिकारी र कर्ण बिक रहेका छन् ।

भृकुटीको बाल क्लवमा सविना

दमक/भृकुटी निम्न माध्यमिक बिद्यालय दमक १ को भृकुटी बाल क्लवको अधिवेशनले सविना केसीलाई चयन गरेको छ ।
 शुक्रवार भएको अधिवेशनले समितिको उपाध्यक्षमा सलिना सुब्बा, सचिवमा फणिन्द्र रिजाल, सहसचिवमा देशराज कटुवाल र कोषध्यक्षमा अस्मित राई चुनिएका छन् । सदस्यहरु जानुका अर्याल , पुर्णिमा माखिम , सोनिया कुमाल ,  जितेस धिमाल , पुजा बिक र ममता राई छनौट भएको  बिद्यालयले जनाएको छ ।

हिमालयको शैक्षिक पुरस्कार बितरण

दमक/हिमालय उच्च मावि दमक २ ले तुलसादेवी न्यौपाने स्मृति शैक्षिक प्रोत्साहन पुरस्कार बितरण गरेको छ ।
 शुक्रवार विद्यालयमा भएको कार्यक्रममा विद्यालयकै कक्षा ११ मा अध्ययनरत  जेहेन्दार विद्यार्थी  समिक्षा अर्याल , कक्षा १० का छात्र प्रविण ताजपुरिया  र कक्षा ७ का श्यामबाबु रजकलाई पुरस्कार प्रदान गरेको हो । दमक नगर पालिकाका कार्यकारी अधिकृत नुरहरि खतिवडाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समाजिक अगुवा शेर बहादुर भटराई, लोक गायक एल पी जोशी, लेखक रुद्र निरौला, धनञ्जय बास्कोटा लगायतले पुरस्कारको बिषयमा चर्चा गरेका थिए ।
बोन्साइ साहित्य प्रतिष्ठान दमकको आयोजनामा भएको कार्यक्रममा जेष्ठ नागरिक कृष्ण भण्डारी, गणेश रिजाल र गोमा रिजाललाई प्रमुख अतिथि खतिवडाले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

मेरो देश – कविता

निसान श्रेष्ठ
म नेपाली हुँ मलाई लाग्छ गर्व
मेरो देश हेर्दा लाग्छ मलाई स्वर्ग
हामी कक्षा ८ मा पढ्छौं एक साल
तर म कहिले बिर्सिन मेरो देश नेपाल

नेताहरु चुनाव मै अड्किन्छन् सबै हुन्छन् निरास
यस्तै भयो भने कहिले हुन्छ देशको विकास ?
हाम्रो देश हेर्दा सबै देश छन् अगाडि
एकदिन हाम्रो देशको विकास हुन्छ किनभने हामी हौं नेपाली ।

हाम्रो देशमा जताततै छ हरियाली
देशको विकास गर्नुपर्छ है यसपाली
अहिले त हुन थालेको छ नेपाल बन्द
हामी जस्तो विद्यार्थीले यो सुन्दा मान्छन् आनन्द ।

हामी नै हो देशको भविष्य
कसलाई थाहा छ होला, हाम्रो देशको सुन्दरताको रहस्य ?
हामी नेपाली भनेर चिनिन्छ भेषमा
हाम्रो देश नेपाल चिनिन्छ सबै देशमा ।
कक्षा : ८, इष्टर्न स्टार सेकेण्डरी स्कूल, दमक

बाढी पहिरोमा परी १० जनाको मृत्यु

पिपुल्स टाइम्स समाचार
झापा/दुई दिनदेखि लगातार परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानमा परी १० जनाको मृत्यु भएको छ । गृहमन्त्रालयका अनुसार जनधनको ठूलो क्षति भएको छ ।
ललितपुर पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ भने अर्का एकलाई भेलले बगाएको छ । कालेश्वर ५ मा पहिरोमा पुरिरर करिव २०–२१ वर्षका सोनाम घलान र १८ वर्षकी ललिता घलानको मृत्यु भएको छ ।
पानी परेपछि घर छेउको ठाडो खोल्सीमा आएको भेल बारीमा लगाउन खोज्दा उनीहरुलाई पहिरोले पुरेको थियो । प्रहरी टोलीले उद्धार गर्ने क्रममा दुईको शव भेटिएको ललितपुर प्रहरीका प्रवक्ता डीएसपी पवन गिरीले जानकारी दिए ।
यस्तै भट्टेडाँड–३ को तनपाने भञ्ज्याङ ग्रिनचुलीमा भेलले बगाएर २५ वर्षका दिपक लोको मृत्यु भएको छ । दिउँसो साढे १ बजेतिर भेलले बगाएका उनको शव प्रहरीले करिव ३ घन्टापछि फेला पारेको छ ।
त्यस्तै जाजरकोट, सिन्धुली, उदयपूर र सिराहामा गरि थप ७ जनाको ज्यान गएको छ । बाढीले बगाएर दुईजना बेपत्ता भएका छन् ।
यसैबीच रौतहटमा बागमती नदीले निरन्तर कटान गर्दा नदी किनाराका बस्तीहरु उच्च जोखिममा छन् । त्यहाँको मध्यधार भन्ने टापुका बासिन्दा जोखिममा परेपछि उनीहरुलाई उद्धार गर्न जान खोजेको हेलिकाप्टर समेत फर्किएको छ । भिजिबिलिटी नपुगेको भन्दै हेलिकाप्टर जान नसकेपछि स्थानीय प्रशासनलाई अन्य उपाय लगाएर बासिन्दाको ज्यान जोगाउन निर्देशन दिइएको छ । सिराहा र जाजरकोटमा पनि हेलिकाप्टर लगेर उद्धार गर्न खोजिएको तर हेलिकाप्टर जान नसकेको गृहमन्त्री बामदेव गौतमका प्रेस संयोजक विश्वमणी सुबेदीले जानकारी दिए । यद्यपी कुनै पनि बेला ठूलो बिपत्ति आउने सम्भावना भएकाले सेना र प्रहरीका हेलिकाप्टरलाई तयारी हालतमा राखिएको गृहमन्त्रालयले स्रोतले जनाएको छ । भारी वर्षातका कारण देशका कुनै पनि ठाउँमा हेलिकाप्टर उड्न नसकेकाले उद्धारको कार्य प्रभावित भएको छ ।
तराइका धेरै जिल्लाका बस्तीमा बाढी पसेर बस्ती डुबाउनुको साथै सयौँ हेक्टर खेती समेत डुबाएको छ । कमल, रतुवा, रातु लगायतका नदीले महोत्तरी, धनुषा, सिराहामा क्षति पु¥याएको छ ।
पहिरोको कारण क्षतिग्रस्त कोशी राजमार्ग

पहिरोले कोशी राजमार्ग अवरुद्ध

अचानक मनसुन सक्रिय हुँदा आएको बाढी पहिरोका कारण पूर्वी पहाडी जिल्लाहरुका सडक अवरुद्ध भएका छन् ।
 धरान–धनकुटाको कोशी राजमार्ग अन्तर्गत मुलघाटमा गतवर्षको बाढीले क्षति पु¥याएको स्थानमा पुनः क्षति पुग्दा सडक अवरुद्ध भएको हो। त्यस्तै धनकुटाको डाँडाबजार जाने सडक खण्डमा पनि पहिरो जाँदा धनकुटाको राजारानीबाट आउने गाडीहरु धरान आउन सकेका छैनन् भने यताबाट छुटेका गाडीहरु पनि बीच बाटो मै अलपत्र बनेको यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी अञ्चल संयोजक सरोज श्रेष्ठले बताए ।
उनका अनुसार धनकुटाको मुलघाटमा पनि बाटो अवरोध हुँदा गाडीहरु बीचमै अलपत्र परेका छन् । भेडेटार भन्दा १६ किलोमिटर उत्तरको लेउतीसँगै जोडिएको खराने खोलाका कारण पहिरो जाँदा केही समय गाडी अवरोध भएको थियो। त्यो बाटो खुलाउनका लागि धनकुटाका प्रमुख जिल्ला अधिकारी भरत इङ्नामको सक्रियतामा एक्सकाभेटर प्रयोग गरेर बाटो खुलाइएको अस्थायी प्रहरी चौकी भेडेटारका प्रहरी नायव निरीक्षक तेजबहादुर श्रेष्ठले जानकारी दिए ।
 तर, मुलघाटको बाटो हाल पनि अवरुद्ध भएको उनले बताए । बुधबार राति ८ बजे अचानक बाढी आउँदा एउटा कृषिजन्य सामग्री बोकेको गाडीसमेत डुबाएको थियो । सो गाडी बिहीबार मात्रै निकालिएको प्रनानी श्रेष्ठले जानकारी दिए । बाढीले बाटो अवरोध गरेपछि यातायात व्यवसायीहरु पनि निरीक्षणका लागि सो क्षेत्रमा पुगेका थिए ।
निरीक्षणमा रहेका सप्तकोशी बस व्यवसायी संघ धरानका सदस्य माधव घिमिरेका अनुसार भेडेटारबाट ५ किलोमिटर पूर्व नाम्जे र ओख्रेको बीचमा दुई तिन स्थानमा पहिरो गएको छ । सो स्थानमा मान्छेसमेत हिँड्न नसक्ने अवस्था भएको छ भने डाँडाबजार भन्दा पूर्व साम्मेवा र बुधबारेको बीचमा पनि सामान्य पहिरो गएको छ ।
 त्यस्तै मध्य पहाडी राजगमार्गको भोजपुर हिले सडक खण्डको श्यामसिला हिले भञ्ज्याग बीचमा पनि पहिरो गएर बाटो अवरोध भएको नागेश्वर बसका स्टाफको भनाई उदृत गर्दै उनले जानकारी दिए ।

खतरामा बेलबारी बजार

उर्लाबारी ÷ बिगत २४ घण्टादेखि परेको अबरिल बर्षाका कारण मोरंगको बेलबारीस्थित लोहन्द्रा खोलामा आएको बाढीले बजार क्षेत्रमा कटान थालेको छ ।
निरन्तर बर्षाका कारण खोलामा आएको बाढीका कारण खोरियाबस्ती र बेलबारीका वार्ड नम्बर २, ३, ४ लगायतका वार्डहरु कटानको खतरामा परेका छन् । उता मोरङ्गकै गछिया खोलामा आएको बाढीका कारण गछिया बजार समेत तिब्र कटानमा परेको छ ।

सप्तकोशीमा पुनः पानीको बहावमा वृद्धि

इटहरी/सप्तकोशीमा पानीको बहाव यस वर्षकै उच्च भएको छ । विहीबार दिउँसो २ बजेको मापन अनुसार २ लाख ९२ हजार ३०३ क्युसेक पुगेको छ । पानी प्रतिघण्टा १० हजार क्युसेकले बढीरहेको छ ।
निरन्तरको वर्षाको कारण बिहिबार आज विहानदेखि नै पानी वहाव उच्च छ । बिहिबार दिउँसो १ बजेको मापनअनुसार दुई लाख ८४ हजार ५३० क्युसेक पानी बगेको कोशी ब्यारेजमा पानीको वहाव १२ बजे १० हजार क्युसेकले कम थियो ।
लगातार परेको पानीका कारण विहीबार दिउँसो पानीको बहाव तीन लाख क्युसेकको हाराहारी पुगेको हो । निरन्तर वर्षा भइरहेकोले पानीको बहाव अझै बढ्न सक्ने आशंका गरिएको छ । बहाव उच्च भएर
बाँधमा पानीको चाप बढेपछि ब्यारेजका ५६ मध्ये ३७ वटा ढोका खोलिएका छन् ।
पानीको बहाव विहीवार विहान २ लाख ३४ हजार थियो । कोशीमा एक लाख पचास हजार क्युसेक नाघ्ने बित्तिकै सोमबार बिहानैदेखि ब्यारेजमा खतराको चिन्ह स्वरुप दिउँसो रातो झण्डा फहराइएको छ ।
 पानीको बहाव कोशीको क्षमता भन्दा कम भएपनि ब्यारेज पचास वर्षभन्दा पुरानो भएकाले कोशी तटबन्धभित्र वालुवा थुप्रिएका कारण तटबन्धको क्षमतामा समेत ह्रास आएको छ । त्यसैले पानीको बहाव थोरै बढ्दा पनि सतर्कता अपनाइने गरिन्छ । यो पटक पनि सुरक्षा निकायलाई उच्च सतर्कताका साथ राखिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
 गत २०६५ भदौ २ गते ब्यारेजका पर्याप्त ढोका नखोलिँदा कोशी ब्यारेजको बाँध भत्किएर तीस हजार बढी घर परिवार विस्थापित भएका थिए । विस्थापित भएकाहरुको लामो समयसम्म पुनर्वास र राहत वितरण हुन सकेको थिएन । उक्त समयमा तटबन्ध भत्किँदा ब्यारेजमा पानीको वहाव १ लाख ६८ हजार क्युसेक मात्र थियो भने बाँध भत्केको दुई वर्ष पछि पानीको बहाव तीन लाख ३६ हजार क्युसेकसम्म पुगेको थियो ।


अस्पताललाई गाउँलेद्वारा जग्गादान

लखनपुर/झापा लखनपुरका बासिन्दाहरुले गाँउमा नै आयुर्वेद अस्पताल बनाउन २ विगाहा बढी जग्गा उपलब्ध गराएका छन् । लखनपुर–४ र ५ का एक दर्जन बढी गाँउलेहरुले करोडौँ मूल्य पर्ने २ विगाहा १ कठा जग्गा अस्पताललाई दान गरेका हुन् ।
पूर्वाञ्चल क्षेत्रिय आयुर्वेद अस्पतालको भवन निर्माणका लागि ती क्षेत्रका गाँउलेहरुले विहीवार सामूहिक रुपमा १ विगाहा ८ कठ्ठा साढे १ धुर जग्गा दान गरेका स्थानीय सामाजिक अगुवा तथा जग्गादाता मणीकुमार भण्डारीले जानकारी दिए । विहीवार जग्गादाताहरुले अस्पताललाई मालपोत कार्यालय दमकमा गएर लिखत पास गरेका हुन् । भण्डारीले ९ कठ्ठा १३ धुर, गणेश गुरुङले ३ कठा, नन्द पौडेलले ६ कठ्ठा, ताराप्रसाद नेपालले ३ कठठ, रङ्गलाल मिश्रले ३ कठ्ठा, तारादेवी भण्डारीले ६ कठ्ठा र पदम गुरुङले ३ कठ्ठा जग्गा अस्पताललाई पास गरिदिएका हुन् । यस्तै,जगत बहादुर खड्काले
१ कठ्ठा ४ धुर ,तुलसीराम कार्कीले साढे १७ धुर, वेदमाया सुवेदीले साढे ५ धुर र याम प्रसाद भट्टराईले साढे १७ धुर जग्गा केहि दिनमै दान दिने भएका हुन् । सो दान दिएका क्षेत्रमा सरकारले पूर्वाञ्चल स्तरिय आयुर्वेद अस्पताल बनाउन तयारी अगाडी बढाउने दाता भण्डारीले जानकारी दिए ।

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

विराटनगर/मोरङ जिल्लामा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ ।
मोरङको लेटाङ बस्ने ३६ वर्षीय कर्णबहादुर मगरको खोला तर्ने क्रममा र एक बालिकाको ठेलाको पाङ्ग्रामा सल बेरिएका कारण मृत्यु भएको पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । मगर बिहिबार राति तुर्के खोला तर्ने क्रममा बेपत्ता भएपछि शनिबार बिहान ९ बजे खोजतलास गर्दा नदीको बगरमा मृत अवस्थामा फेला परेका हुन् ।
त्यसैगरी, मोरङको कटहरी–७ बस्ने छ वर्षीया बालिका गुल्सन खातुनको सल ठेलाको पाङ्ग्रामा बेरिएर लड्दा गम्भीर घाइते भएको थियो । उपचारका लागि विराटनगर ल्याउने क्रममा उनको बुधबार साँझ मृत्यु भएको हो ।
बुबा मोहम्मद मुस्लिमले चलाइरहेको ठेलामा आमा चाहिरा खातुनसँगै बसेकी ती बालिकाको सल पाङ्ग्रामा बेरिएको थियो ।

लायन्स क्लव अफ दमकको पद हस्तान्तरण

दमक/झापाको दमकस्थित लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टको पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बुधबार एक कार्यक्रमका वीच लायन्सको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिएको थियो । लायन्सका निवर्तमान अध्यक्ष बबरजङ थापा (किरण) ले नवनिर्वाचित अध्यक्ष अजय अग्रवाललाई पद हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा निवर्तमान अध्यक्ष थापाले वार्षिक गतिविधिहरु जानकारी गराएका थिए ।
पद हस्तान्तरण कार्यक्रममा सहभागीहरु ः सो कार्यक्रममा लायन्स दमकका नवनिर्वाचित अध्यक्ष अग्रवालले लायन्सको मार्ग प्रति सधैँ अगाडी बढ्ने प्रतिवद्धता जनाएका थिए । उनले काठमाण्डौँस्थित लायन्सले सञ्चालन गरेको दमकको पाथीभरा नेत्रालयको स्तरोन्नतिमा भरपूर सहयोग गर्ने प्रतिवद्धता गरेका थिए । अग्रवालले आखाँ उपचारको  सेवालाई सुबिधा सम्पन्न बनाउन आफनो क्षेत्रबाट सधैँ सहयोग पु¥याउने विश्वास दिलाएका थिए ।
लायन्सका डिस्ट्रिक ३२५ ए.आई.का गभर्नर भीम घिमीरेको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बोल्दै घिमीरेले सामाजिक क्षेत्र र युवाको ब्यक्तित्व विकासमा लायन्सकर्मीहरु सधैँ अगाडी भएको जोड दिए ।
त्यस अवसरमा विभिन्न क्षेत्रका वक्ताहरुले सामाजिक क्षेत्रमा पु¥याँउदै आएका योगदानको चर्चा गरेका थिए । कार्यक्रममा लायन्स क्लव अफ काठमाण्डौँका अध्यक्ष बाबुलाल अग्रवाल, डिस्ट्रिक ३२५का कोषाध्यक्ष राजन खत्री, सेक्रेटरी लीला ढुङगेल, दमक नगरपालिकाका कार्यकारी अधिकृत नुरहरि खतिवडा, शसस्त्र प्रहरी वल पाथीभरा गणका गणपति महेश श्रेष्ठ लगायतले लायन्स मानवीय सेवामा समर्पीत भएको उल्लेख गरेका थिए ।

मंगल प्रणामी एम्बुलेन्स सेवा शुरु

सुरुङ्गा/ श्रीकृष्ण प्रणामी मन्दिर माईधाम कनकाई नगरपालिका–४ कोटीहोमद्वारा सञ्चालित मंगल प्रणामी एम्बुलेन्स सेवा पुनः सञ्चालनमा ल्याइएको छ । इजरायलमा कार्यरत प्रणामी सम्प्रदायको अगुवाइमा त्यहाँका नेपालीहरुद्वारा ९ लाख २५ हजार रूपैयाँ सहयोग संकलन गरी उक्त एम्बुलेन्स खरिद गरिएको थियो ।
एम्बुलेन्स सञ्चालनबाट प्राप्त आम्दानीले प्रणामी मन्दिर आश्रममा रहेका अनाथ बालबालिका तथा बृद्धबृद्धाहरुलाई टेवा पुगोस् भनेर एम्बुलेन्स सञ्चालनमा ल्याइएको बताइएको छ । उक्त आश्रममा नेपालका विभिन्न जिल्लाका २० जना अनाथ बालबालिका र १३ जना वृद्धबृद्धाहरु आश्रित रहेका छन् । २०५२ सालदेखि शुरु गरिएको उक्त आश्रम मुष्ठीदानबाट सञ्चालन हुँदै आएको आचार्य महाराज मोहनानन्दले बताए ।
सो एम्बुलेन्स व्यवस्थित रुपमा सञ्चालन गर्नका निम्ति ७ सदस्यीय एम्बुलेन्स सञ्चालक समिति समेत गठन गरिएको छ । नवगठित समितिको अध्यक्षमा भक्तिप्रसाद संग्रौला, सचिवमा छवि थपलिया, कोषाध्यक्षमा केदार पाठक र सदस्यहरुमा भवानी मैनाली, विष्णु संग्रौला, विनोद थपलिया र निलम सिटौला रहेका छन् ।

पूर्वमा टेलिकमको जेनेरेटर बिग्रियो

दमक/नेपाल टेलिकमको जेनेरेटरमा खराबी आएपछि पूर्वाञ्चलमा तीन दिनदेखि इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध हुन पुगेको छ । बिजुली आएका बेला सिस्टमले काम गरे पनि लोडसेडिङ हुँदा जेनेरेटरले काम नगरेपछि उपभोक्ता मारमा परेका छन् ।
लोडसेडिङ हुनासाथ ल्याण्ड लाइन टेलिफोन, जिएसएम मोबाइल, सिडीएमए टेलिफोन र एडिएसएल इन्टरनेट सेवा अवरुद्ध हुने गरेका छन् । टेलिकमका दुईवटा जेनेटरमा खराबी आएपछि सेवा अवरुद्ध हुन पुगेको हो । लोडसेडिङका बेला सिस्टम सञ्चालन नभएपछि पूर्वाञ्चलका १२ लाख जिएसएम, २ लाख सिडीएमए र १ लाख एडिएसएल प्रयोग गर्ने उपभोक्ता मारमा परेका छन् । सेवा अवरुद्ध हुन पुग्दा इन्टरनेट प्रयोगकर्ता सबैभन्दा धेरै समस्यामा परेका छन् ।
विद्युत आपूर्ति गर्ने जेनेरेटरमै खराबी उत्पन्न भएपछि सम्पूर्ण सेवा प्रभावित भएको नेपाल टेलिकम पूर्वाञ्चल क्षेत्रीय कार्यालय बिराटनगरले जनाएको छ । ‘मोबाइल कन्ट्रोल सिस्टम नै बन्द हुन पुगेपछि पूर्वाञ्चलमा टेलिकमको सेवा अवरुद्ध भएको छ, टेलिकमका पूर्वाञ्चलका क्षेत्रीय निर्देशक चेतनरत्न कंशाकारले बताएका छन् ।
पूर्वमा गएको शनिबारदेखि शुरु भएको विद्युत आपूर्तिको कमीका कारण धेरै समयसम्म जेनेरेटर चलाउनु पर्दा लोड थाम्न नसकेर खराबी आएको कंशाकारले बताए ।
‘जिएसएम र ल्याण्डलाइन चल्न सक्ने गरी विद्युत प्रबन्ध हँुदै छ कंशाकारले भने, राजधानीबाट नयाँ जेनेरेटर आएपछि अवरुद्ध सबै सेवा शुचारु हुनेछन् । टेलिकमको मोबाइल कन्ट्रोल सिस्टममा विद्युत आपूर्ति गर्ने ३५० केभीएका दुईवटा जेनेरेटर केही समय पहिले मात्र ९ लाख रुपैयाँ खर्च गरी मर्मत गरिएको थियो ।

अदालतमा वयान फेर्नेहरु जेल चलान

इलाम/ मानव वेचविखनमा उजुरी दिएर मुद्धा चलिरहेका बेला बयान फेर्ने दुई जना जेल चलान भएका छन् ।
पुनरावेदन अदालत इलामले बयान फेरेको भन्दै तीन महिना जेल सजाय सुनाएका दुई जनालाई प्रहरीले झण्डै एक वर्षपछि हालै पक्राउ गरेको हो । अदालतले जेल सजाय सुनाएकोमध्ये पीडित एक युवती भने फरार रहेकी प्रहरीले जनाएको छ ।
एक युवती र उनका आफन्तलाई भने कारागार पठाइएको हो । २०६८ असारमा नवमीडाँडाका दुई युवतीलाई बिक्रीका लागि सिलगुडि पु¥याएको आरोपमा पाँच जना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भएपछि जिल्ला अदालत पाँचथरमा मुद्धा चलेको थियो ।
सुरुवाती बयानको क्रममा पीडित दुई युवती र जाहेरवाला आफन्तले बेचबिखन गरेको बताएका थिए । जिल्ला अदालतले २०६९ बैशाख २५ गते पीडकलाई सफाइ दिएपछि मुद्धा पुनरावेदनमा पुगेको थियो । तर पछि बकपत्रमा वयान साटेको भन्दै पुनरावेदनले दुई पीडित र पीडकका एक आफन्तलाई  तीन महिनाको कारावास सजाय सुनाएको थियो ।
२०७० असार १० गते पुनरावेदन अदालत इलाममा मुख्य न्यायाधीस गोविन्द उपाध्याय र न्यायाधीस उदयप्रसाद चापागाईँको संयुक्त इजलासले बयान फेरेकोमा जाहेरीवालालाई नै सजाय सुनाएको थियो । अदालतको आदेशका आधारमा प्रहरीले पीडित र उनका एक आफन्तलाई प्रक्राउ गरी जिल्ला अदालतमा बुझाएको थियो ।
प्रतिवादीहरुलाई भने पुनरावेदन अदालतले दुई वर्ष कैद सजाय सुनाएको थियो । दुई युवतीलाई काममा लगाइदिने भन्दै बिक्री गर्न सिलगुडि पु¥याएको भन्दै लुम्फावुङ –१ की मनकुमारी लावती, सिवा–५ कि विन्दुकुमारी लावती, फाक्तेप नरवहादुर नेम्वाङ, फाक्तेपकै सुरेन्द्र नेम्वाङ र अर्का नाम नखुलेका व्यक्तिविरुद्ध उजुरी परेको थियो ।

बौद्ध संस्कारमा एक रुपता बनाउन पहल

दूधे/मगरको बौद्ध संस्कारमा एकरुपता विषयक तीन दिने गोष्ठी सतासीको माईधारमा सम्पन्न भएको छ ।
आप्mनो संस्कारमा एकरुपता नभएकैले मगर समुदाय पछि परेको निष्कर्ष निकाल्दै आयोजना गरिएको सो कार्यक्रममा मगर समुदायका अगुवाहरूले देशैभर संस्कारमा एक रुपता लिनुपर्नेमा जोड दिएका थिए । नेपाल मगर बौद्ध सेवा समिति झापाको आयोजना र जिल्ला मगर संघ झापाको सहयोगमा भएको सो कार्यक्रममा नेपाल मगर बौंद्ध सेवा समितिका केन्द्रीय उपाध्यक्ष बिपि रखेल मगरले मृत्यु संस्कारमा सात दिनमा काम सकिनु पर्नेमा जोड दिए ।
उनले भने सात दिनमा बार नदोहोरिने भएकाले यो बैज्ञानिक हुने र अहिलेको व्यस्त जीवनका लागि पनि उपयोगी हुने बताए । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समितिका पूर्व अध्यक्ष तथा अगुवा शिवशंकर थापा, नेपाल आदिवासी जनजाति महिला महासंघ जिल्ला अपाध्यक्ष खेम कुमारी मगर समुदायका युवाहरूमा आधुनिक रहनसहनको प्रभाव बढेकोले बाल्यकालमै आप्mनो संस्कारमा भिजाउन सकेमात्र संस्कार जीवित रहने उल्लेख गरे । कार्यक्रममा केन्द्रीय प्रतिनिधिको उपस्थितिमा झापा, मोरङ्ग र सुनसरीका बौद्ध गुरुहरूको पनि सहभागिता रहेको थियो । मगर संघ केन्द्रले आप्mनो संस्कारमा एकरुपता ल्याउन देशैभर यसता अन्तरकृया कार्यक्रमको आयोजना गर्दै आएको छ ।

संघीय लिम्बुवानको कमिटी

पथरी/पूर्वमा भर्खरै एकता भएका ५ लिम्बुवान संगठनहरूको पार्टी संघीय लिम्बुवान पार्टी नेपालको मोरङ जिल्ला कार्यसमिति बुधबार गठन भएको छ ।
नव गठित पार्टीमा दिलु लिङ्देनको अध्यक्षमा १३ सदस्य कार्यसमिति गठन भएको हो । यस्तै शेरबहादुर साँवा सह–अध्यक्ष, विवेक लिम्बू वरिष्ठ उपाअध्यक्ष, दुखाराम माझी, भवानी लिम्बू, राजेश याक्सोक, राज पयाङ्गु र जीवन खेवा उपाध्यक्ष रहेका छन् । यस्तै विशाल इक्सा, योगेन्द्र चोङबाङ्, खगेन्द्र तामाङ सचिव र हेमराज भण्डारी रहेका छन् । यसैगरी अर्थसचिवको पद विसेन्द्र नाल्वोले जिम्मा लिएको छ । भेलामा पार्टी समायोजन समितिका संयोजक रामभक्त कुरुङवाङ र सदस्यहरू विसेन्द्र चेम्जोङ, टुपेन्द्र एकतेन, दिपक नेन्याङ्वो, तेन्दोहाङ मिभक र प्रेमदिप थाम्सुहाङ उपस्थीत रहेका थिए । नव गठित पाटीले मोरङ जिल्ला अधिवेशन चाँडै गर्ने बताएका छन् । अधिवेशन चाँडै गरेर नयाँ शसक्त जिल्ला कार्यसमिति गठन गरिने वरिष्ठ उपाअध्यक्ष विवेक लिम्बूले बताए । संघीय लिम्बुवान राज्य प्राप्तिको मूल नारा लिएर पूर्वी नेपालमा क्रियाशिल मुख्य पाँच वटा छुट्टाछुट्टै लिम्बुवान पार्टी एकीकरण भएको छ ।

वास्तविक सवाल र चुरे संरक्षणको विषय – सम्पादकीय

यतिबेला सरकारले खोलानालाबाट बालुवा, गिटी, ढुङ्गा दोहनमा रोक लगाएको अवस्था छ । यसले चुरे संरक्षण कार्यक्रमको सन्दर्भमा कति महत्व राख्छ त्यो एउटा पाटो हो । सँगसँगै मुलुकको प्रकृतिक स्रोतको व्यवस्थापनका लागि पनि महत्वपूर्ण निर्णय गर्न सक्ला । त्यो अर्को महत्वपूर्ण उपलब्धि हुन सक्छ । तथापि नारा मात्रको चुरे संरक्षणको विषय खेलाँचीपनाको पनि चरम मनोमनी बन्दै गएको यथार्थ आजको लज्जाजनक विषय हो । चुरे संरक्षणलाई मुलुकमै पहिलो पटक स्थापित संस्था राष्ट्रपतिको कार्यालयको गरिमा समेतलाई जोडिनु आफैमा गर्वको विषय हो । कुनै समय सरकारी स्वामित्वका वनहरुको नामाकरण र अधिकरण रानीवनका रुपमा राज्यले एकलौटी दवदवा कायम गरेको तथ्य हाम्रालागि नौलो विषय होइन । त्यस्तै चारकोशे झाडीका रुपमा नेपालको वन सम्पादामाथि सत्ता पक्षले एक्लौटी दादागिरी जमाएको पञ्चायती अवस्थाका बारे पनि नेपाली जनताले नबुझेको विषय केही पनि छैन । तथापि नेपालको वन सम्पादाको संरक्षणमा राज्य पक्षले दावी अनुसारको उपलब्धि प्राप्त गर्न सकेन । तत्कालीन सत्ताले यस कार्यमा ठोस उपलब्धि हात पार्न सकेन । जसको फलस्वरुप मुलुकमा तस्करहरुको दादागिरी र मनोमानी बढेर गयो ।
यतिबेला चुरे संरक्षणको सवालमा पनि राष्ट्रपतिको नामाकरण गरिएको अवस्था छ, तर यो अवस्थामा खोलानाला दोहनको विषय दिनानुदिन गम्भीर बहसको विषय बन्दै गएको छ । चुरे संरक्षणका विषयमा जति हल्ला बजारमा आएको छ, यथार्थ त्यो मात्रै सत्य होइन । चुरे संरक्षण हुनु हुँदैन भन्ने विषयमा कसैको पनि विमति छैन । तथापि चुरे विनाश भएको सत्यका अर्थमा खास विषय र मुद्दा के हो ? कसले यस प्रकरणमा चलखेल गरिरहेको छ ? यो यथार्थको खोजी आजको आवश्यकता हो ।
नदीनाला, खोलामा बालुवा, गिटी, ढुङ्गा उत्खननमा राज्यले रोक लगाएको एउटा विषय जायज हुन सक्छ । तथापि, यो कार्यको रोकटोकले आम मजदुर वर्गलाई कस्तो असर परिरहेको छ ? त्यस बारे गहन विश्लेषण हुन जरुरी छ । रोजीरोटी नै खोनानालामा बाुलुवा र गिटी उत्खनन गरेर र ढुङ्गा बटुलेर चलाउने वर्गलाई यो सरकारी निर्णयले पारिरहेको असर आज मूल्याङ्कन हुन सकिरहेको छैन । समस्या चुरेको जोखिम मात्रै प्रमुख होइन । समस्या रोजीरोटीको पनि हो । आधारभूत तहका जनतालाई मार्कामा पारेर र उनीहरुको पेटमा लात हानेर सरकारले गरेको निर्णयको तुक छैन । सर्वप्रथम आधारभूत जनताको आर्थिक अवस्थालाई बेवास्था गरेर नाराका भरमा खोलानाला नियन्त्रण र कब्जा गर्ने सरकारी नीति गलत छ । यो कार्य सर्वत्र विरोधको विषय हो ।
चुरेको संरक्षणको सवाल राष्ट्रपतिको नाम जोडे पनि महत्वपूर्ण हो नजोडे पनि त्यसलाई उत्तिकै महत्वमा राखेर नीति निर्माण गर्न तथा योजना तय गर्न सकिने विषय हो । अर्कोकुरो भारतमा हुँदै गरेको बालुवा, गिटी र ढुङ्गा निकासीको कार्यलाई राज्यले कडाई गर्न सक्दा चुरे संरक्षणको सवाल आफैमा आधा भन्दा बढी नियन्त्रण भएर जाने विषय हो । यसर्थ पनि यो विषयलाई सरकारी पक्षले गहन विश्लेषण गरेर नीति निर्माण गर्न जरुरी छ ।
चुरेको संरक्षणका नाउँमा पहुँच हुने र सक्नेले मनोमानी गर्ने अनि आधारभूत स्तरका जनतालाई चाँहि मारमा पार्ने सरकारी नीति जायज छैन । वास्तवमै चुरे क्षेत्रको संरक्षणलाई गम्भीर रुपले लिएर सरकारी पक्षले यो नीति लिएको हो भने सर्वप्रथम खोला क्षेत्रमा काम गरेर जीविकोपार्जन गर्ने जनताको हितमा नीति निर्माण हुन जरुरी छ । उनीहरुको चित व्यवस्थापनपछि मात्रै अन्य विषयमा गरिएको सरकारी निर्णयले सार्थकता पाउने निश्चित छ । यो विषयमा सरकारले गम्भीर हुने कि !

सहकारीमा सुविधाहरू र राज्यलाई कर योगदान

नेत्रप्रसाद घिमिरे

यस आ.व.मा मात्र नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.ले १ करोड ५० लाख कर राजस्व राज्यलाई योगदान गर्नुले सहकारीले समाज विकासमा गर्ने योगदानको आँकलन गर्न सकिन्छ । त्यसै गरी मेची सहकारी संस्था लि.दमक र सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि.प्रत्येकले करिब ३० लाख राज्यलाई करराजस्व योगदान गरेका छन् । डाँफे दमक, राष्ट्रिय बहुमुखी दमक, कंचनजंघा दमक प्रत्येकले १४ लाखको दरले करराजस्व राज्यलाई योगदान गरेको देखिन्छ । झापाका सहकारीहरूबाट करिब १ करोड ६० लाख रकम आयकरको रुपमा मात्र राज्यलाई योगदान भएको छ ।

 ---------------------------------------------------------------------------------------------------------------------
सहकारी संस्थाहरूको विकास मुलुकको विद्यमान आर्थिक आइडोलोजीमा निर्भर रहन्छ । नेपालमा सहकारी सहितको तीन खम्बे अर्थनीति अवलम्बन गरिएको छ । कुनै मुलुकमा सहकारी संस्थाहरू स्वःस्फूर्त रुपमा सञ्चालन भएका छन् भने कुनै मुलुकमा सरकारको सक्रियतामा र छुटसुविधाका नीतिहरू मार्फत प्रोत्साहन गरेर सञ्चालन भएका छन् । कुनै पनि व्यवसायलाई प्रोत्साहन गर्ने कि नगर्ने भन्ने कुरा राज्यको कर प्रणालीमा निर्भर गर्दछ । खास गरेर नेपाल जस्तो विकासशील मुलुकहरूमा सहकारी संस्थाहरूलाई कर सुविधा, आर्थिक सुविधा, मूल्य नीति मार्फत सुविधा र पूर्वाधार सुविधाहरू उपलब्ध गराइ सहकारीहरूलाई प्रोत्साहन गरेको पाइन्छ । सहकारी ऐन, २०४८ को दफा ३८ ले सहकारी संघ संस्थाहरूलाई छुट सुविधा प्रदान गरिएको छ । जसअन्तर्गत अचल सम्पत्ति लेनदेन, खरिद बिक्रि गर्दा रजिष्टे«शन दस्तुर पूर्ण रुपमा छुट दिन सकिने तथा सहकारीले सञ्चालन गरेका उद्योगहरूका लागि चाहिने आवश्यक सामान वस्तुहरू, कच्चा पदार्थहरूमा लाग्ने भन्सार शुल्क, अन्तःशुल्कको समेत छुट दिन सकिने उल्लेख छ ।
आयकर ऐन, २०५८ को दफा ११ बमोजिम सहकारी ऐन अन्तर्गत दर्ता भई सञ्चालित कृषिमा आधारित सहकारीहरू, साना तथा कुटीर उद्योग सञ्चालन गर्ने सहकारीहरू र नगरपालिका बाहिरका बचत तथा ऋण सहकारीहरूलाई समेत २० प्रतिशत आयकर छुट तथा ५ प्रतिशतमा लाग्ने लाभांश कर समेत छुटको व्यवस्था गरिएको छ । सहकारी कानुनले सहकारी संस्थाहरूले आफ्ना सदस्यहरूको हितका लागि एवम् समाज, देश विकासका लागि शिक्षा, स्वास्थ्य सुविधाहरू प्रदान गर्न, एक आपसमा भाइचारा, सद्भाव, जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम आदि कार्य सञ्चालन गर्न अनिवार्य रुपमा विभिन्न उपसमिति गठन गरी त्यसमार्फत त्यस्ता विभिन्न गतिविधिहरू सञ्चालन गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरिएको छ । यस्ता कार्यका लागि संस्थाले बाध्यात्मक रुपमा विभिन्न कोषको व्यवस्था गर्नुपर्ने हुन्छ ।
नेपालमा हाल करिब ३० हजारको संख्यामा सहकारी संस्थाहरूमध्ये करिब ५० प्रतिशत सहकारी संस्थाहरूले प्यान दर्ता नगरी अर्थात करको दायरामा नआई सञ्चालन हुँदै आएको आन्तरिक राजस्व विभागको तथ्याङ्कले बताउदँछ । यसरी प्यानमा दर्ता नगर्ने सहकारी संस्थाहरू प्राय ग्रामीण भेगमा छन् । आन्तरिक राजस्व विभागबाट दुई वर्षको आयविवरण पेश गरी बिना जरिवाना प्यान लिन यही मंसिरसम्म (२०७१) छुट सुविधा सहकारीलाई दिइएको निर्देशन जारी गरेको छ । सबै सहकारीहरूलाई करको दायरामा ल्याउन प्यान दर्ता गराउन मनासिब देखिन्छ । प्यानमा दर्ता हँुदैमा कर तिर्नै पर्दछ भन्ने बुझाइ गलत हो । नगरपालिका बाहिरका सहकारी संस्थाहरूले टीडीएस करकट्टी ( ले.प.शुल्क कर लगायत) बाहेक अन्य कर तिर्नुपर्दैन । सहकारी संस्थाहरू आर्थिक कारोबार गर्ने संस्था मात्र नभई सरकारले समाज, देश विकास गर्ने तथा जनताप्रति गर्नुपर्ने दायित्व, जिम्मेवारीलाई सहयोग पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने एक खम्बा हुन् भन्नेमा दुईमत नहोला । सहकारी ऐनको मनसाय नै सहकारी संस्थाहरू नाफा आर्जन गर्ने व्यापारिक संस्था मात्र नभई त्यो भन्दा महत्वपूर्ण समुदायको हितलाई सर्वोपरि राखी विशुद्ध सेवाको भावनाबाट कार्य सञ्चालन गर्नुपर्दछ भन्ने हो । निम्न आयवर्गका मानिसको सामाजिक, सांस्कृतिक, शैक्षिक विकास गर्ने र रोजगारी तथा गरीबी निवारणको क्षेत्रमा सहकारीले काम गर्ने भएकाले सरकारबाट अन्य व्यवसायिक नाफामूलक निकायहरूलाई गरेसरह नीति नियम लागू गर्नु पक्कै पनि उचित देखिँदैन ।
कर सुविधाः– सहकारी ऐन, २०४८ को दफा ३८ ले सहकारी संघ संस्थाहरूलाई सहकारीको मुनाफामा, सदस्य लाभांशमा, घरबहालमा र स्थानीय करमा छुट सुविधा प्रदान गरिएता पनि सहकारीमा गैर सदस्य कारोबार भएको देखिएकाले वि.सं. २०५८ को आयकर ऐनले तोकिएका ठाउँका निश्चित सहकारीहरूलाई विभिन्न किसिमका कर लाग्ने प्रावधान गरिएको पाइन्छ । सो कर प्रणालीलाई हरेक वर्षका बजेटसंगै आउने आर्थिक ऐनहरूले अद्यावधिक गर्ने प्रचलन रहेको छ । सहकारीहरूले आर्थिक व्यवसायबाट कमाएको मुनाफामा शुरुमा ३० र हाल २० प्रतिशत आयकर र सोमा थप २ प्रतिशत स्थानीय सेवा शुल्क कर तथा ५ प्रतिशत सदस्य लाभांश कर, बैंकबाट प्राप्त गर्ने ब्याजमा १५ प्रतिशत संस्थागत ब्याज कर, ग्रामीण क्षेत्रमा सदस्यले वार्षिक २५ हजार भन्दा बढी ब्याज प्राप्त गरेमा शुरुमा ६ र हाल ५ प्रतिशत ब्याज कर तर शहरमा यो सीमा छैन, शुरुमा १० र हाल १३ प्रतिशत मूल्य अभिवृद्धि कर, शुरुमा १५ र हाल १० प्रतिशत घरभाडा कर, स्रोतमा कर कट्टी टीडीएस (जस्तै १५ प्रतिशत लेखापरीक्षण शुल्क कर, १५ प्रतिशत पारिश्रमिक कर, १ प्रतिशत सामाजिक सुरक्षा कर आदि) जस्ता कर सहकारीले राज्यलाई योगदान गर्नुपर्दछ । यी नगरपालिकामा बचत तथा ऋणको कारोबार गर्ने सहकारीले सबै किसिमका कर तिर्नुपर्दछ भने ग्रामीण क्षेत्रका र उत्पादनमूलक सहकारीले स्रोतमा कर कट्टी टीडीएस मात्र तिरेपुग्दछ । जस्तै कृषि उद्योग, फलफूल उद्योग, पशुपालन, डेरी उद्योग, कुखुरा तथा मत्स्यपालन, तरकारी खेती तथा प्रशोधन उद्योग, उन्नत बिउबिजन उत्पादन उद्योग, मौरीपालन, रबर खेती, जडिबुटी खेती तथा प्रशोधन उद्योग र ग्रामीण बचत तथा ऋणको कारोवार गर्ने आदि सहकारी समेतले स्रोतमा कर कट्टी टीडीएस मात्र तिरे पुग्दछ अन्य कर तिर्नु पर्दैन तर प्यानमा दर्ता भने अनिवार्य हुनुपर्दछ अन्यथा कारवाहीको भागी बन्नुपर्दछ । यस आ.व.मा मात्र नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.ले १ करोड ५० लाख कर राजस्व राज्यलाई योगदान गर्नुले सहकारीले समाज विकासमा गर्ने योगदानको आँकलन गर्न सकिन्छ । त्यसै गरी मेची सहकारी संस्था लि.दमक र सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि.प्रत्येकले करिब ३० लाख राज्यलाई करराजस्व योगदान गरेका छन् । डाँफे दमक, राष्ट्रिय बहुमुखी दमक, कंचनजंघा दमक प्रत्येकले १४ लाखको दरले करराजस्व राज्यलाई योगदान गरेको देखिन्छ । झापाका सहकारीहरूबाट करिब १ करोड ६० लाख रकम आयकरको रुपमा मात्र राज्यलाई योगदान भएको छ । राज्यलाई कर योगदान गर्ने प्रणालीले सहकारीहरूलाई पारदर्शी र जबाफदेही बन्न प्रेरणा समेत प्रदान गर्दछ ।
आर्थिक सुविधाहरूः– सहकारी ऐनले सहकारीले अचल सम्पत्ति बाहेक गरेका कारोबार सम्बन्धी लिखित रजिष्टे«शन गर्नु नपर्ने, अचल सम्पत्तिको लेनदेन वा खरीद बिक्रि सम्बन्धी कागजपत्र वा कुनै किसिमको लिखतमा आय टिकट दस्तुर र रजिष्टे«शन दस्तुर नलाग्ने जस्ता छुट सुविधा दिइएको छ । आयकर ऐनले सहकारीले उत्पादन र सेवा प्रयोजनका लागि आयात गर्ने मेसिन, उपकरण, कृषियन्त्र, कच्चा पदार्थ, कार्यालय उपकरण र ढुवानी साधनहरूमा लाग्ने भन्सार महशुल वा बिक्रिकर तथा सहकारीले उत्पादन गरेका माल सामानमा लाग्ने अन्तःशुल्क समेत सहकारी सिद्धान्तभित्र रहेर कार्य गरेका सहकारीलाई प्रचलित कानुन बमोजिम पुरै वा आंशिक रुपमा छुट दिन सकिने व्यवस्था गरेको छ । सहकारीले औद्योगिक व्यवसाय गरेमा कानुन बमोजिम उद्योगले पाए सरहको अन्य छुट सुविधा संरक्षण समेत सहकारीले पाउने प्रावधान गरिएको पाइन्छ । यस्ता व्यवस्थाले सहकारी अभियान निकै लाभान्वित हुन सक्दछन् । सेयर सदस्यलाई कर्जा लगानी गर्दा धितोको दृष्टिबन्धकमा सेवा शुल्क बाहेक रजिष्टे«शन दस्तुर नलाग्ने व्यवस्था गरिएको छ ।
मूल्य नीतिः– सर्वसाधारण उपभोक्ता र किसानहरूलाई गुणस्तरीय सरल र सहज मूल्यमा रासायनिक मल, चिनि, नून जस्ता वस्तुहरू सहकारी मार्फत निश्चित अनुदानमा निर्धारित कम मूल्यमा सहकारी मार्फत विक्रि वितरण गर्नुपर्ने नीति हाल सरकारले लिएको देखिन्छ ।
सहरी इलाकाका केही सहकारीहरूले सहकारीको भावना, मर्मविपरित आफ्ना सेयर सदस्यहरू तथा समाजलाई समेत लाभ, सुविधा नदिई दुई चार जना व्यक्तिहरूको स्वार्थ पूर्ति गर्ने उद्देश्यले मात्र सञ्चालन भइरहेको आरोप लाग्ने गरेको छ । यस्ता संस्थालाई गल्ती अनुसार कारबाही गर्नुपर्दछ वा थप कर लगाउनु पर्दछ । तर त्यस्ता सहकारीहरूलाई आधार बनाएर आयकरको व्यवस्था गरिएको हो भने सहकारी भावना मर्म र सिद्धान्त अनुसार सञ्चालित बहुसंख्यक सहकारीहरूलाई न्याय भएको पक्कै मानिदैन । कर नै अनिवार्य गरिने हो भने सहकारी सिद्धान्तको परिपालना, ठाउँ र कारोवार अनुसार सहकारीहरूलाई वर्गीकरण गरी उचित र न्यायसंगत कर प्रणाली लागू गरिनु पर्दछ भन्ने वास्तविक सहकारीकर्मीको भावनालाई सम्बोधन गर्न जरुरी भैसकेको देखिन्छ । आगामी दिनमा एउटाले विराउने सारा पिराउने प्रवृत्ति अन्त्य गर्ने हो भने सरकारी सहकारी प्रशासनलाई प्रभावकारी र गतिशील बनाइ सहकारीमा विधिको शासन स्थापना गर्न ढिलाइ गर्ने हो राज्यले महंगो मूल्य चुक्ता गर्नुपर्ने स्थिति देखिन्छ । हाम्रो मुलुकमा जनतामाथि हुने आर्थिक तथा सामाजिक शोषणलाई अन्त्य गरी आर्थिक तथा सामाजिक उत्थान गर्ने उद्देश्य राखेर स्वःस्फूर्त रुपमा सहकारी संस्थाहरू स्थापना भइ सञ्चालन भैरहेका छन् । सहकारी अभियान समाज समुदायमा भईरहेका र हुने आर्थिक तथा सामाजिक शोषणलाई अन्त्य गरी प्रजातान्त्रिक समाजको स्थापनामा संलग्न भईरहेका समुदायमा आधारित सहकारीहरूको आयमा सामाजिक न्यायको दृष्टिकोणबाट पनि कर, शुल्क, छुट दिनु न्यायसंगत हुने देखिन्छ ।
(लेखक डिभिजन सहकारी कार्यालय झापाका सहकारी अधिकृत हुन्)

सरकारलाई बुझाए मेची सहकारीले ३० लाख कर

दमक/झापाको दमकको मेची सहकारी संस्थाले सरकारलाई कर तिर्ने जिल्लाभरको पहिलो सहकारी संस्था भएको दाबी गरेको छ । संस्थाले २९ लाख ८२ हजार ७ सय ४१ रुपैयाँ कर बुझाएको जनाएको छ ।
बुधवार संस्थाले पत्रकार सम्मेलन गर्दै जिल्लामा उत्कृष्ट कारोबार गर्ने सहकारी संस्था र धेरै कर तिर्ने सस्था भएको दाबी गरेको छ । संस्थाले ४० करोडको कारोबार गरेको छ ।  संस्थाको १८ औँ बार्षिक उत्सव तथा २० आँै साधरणसभाका बारेमा जानकारी दिन गरिएको कार्यक्रममा क्यान्सर पिडित सदस्यहरुलाई सहयोग, सदस्यका सन्तान प्राविधिक बिषय अध्ययनका लागी सरल कर्जा दिने निति अबलम्बन गरिएको संस्थाका अध्यक्ष रोमनाथ ओलीले जानकारी दिए ।
संस्थाले ज्येष्ठ सदस्य, एकल महिला सदस्यहरुलाई बिगत देखि भत्ता प्रदान गर्दै आएको छ । त्यस्तै सदस्यहरुलाई दुर्घटना बिमा, एम्बुलेन्स छुट सेवा पनि दिइँदै आएको संस्थाका व्यवस्थापक खोमप्रसाद बगालेले
जानकारी दिए । संस्थाले यसै बर्ष देखि संस्थाका पूर्व अध्यक्ष गणेश बस्नेतको स्मृतिमा सहकारी अभियान्ता पुरस्कार र पत्रकारीता पुरस्कार प्रदान गर्ने भएको छ । यस बर्षको पुरस्कारबाट मोरङ इटहराका सहकारीकर्मी केशव पोखरेल र  सप्तरङगी एफ एफ दमकका सम्पादक चेतन अधिकारी आगामी भदौ १२ गते  पुरस्कृत हुने भएका छन् ।
त्यसैगरि बुधवार नै संस्थाले साधरणसभाको प्रतिवेदन सदस्यहरुका बीच सार्वजानिक गरेको छ । कार्यक्रममा राष्ट्रिय सहकारी संघका निबर्तमान सदस्य रामचन्द्र उप्रेतीले सहकारीका आयाम सहकारी व्यवस्था लगायतका बिषयमा  बोलेका थिए ।  जिल्ला सहकारी संघ झापाका अध्यक्ष हरिचरण बानियाँले सहकारीका माध्यमबाट समाजिक सेवा र आर्थिक उपार्जन गर्नका लागी मेची सहकारी उदारहण भएको बताए ।
सहकारीको २० औँ साधरणसभा तथा १८ औँ बार्षिक उत्सवका अबसरमा आयोजना गरिएको कार्यक्रममा जिल्ला सहकारी संघ झापाका सदस्य होमबहादुर थापा, झापा जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष तुलाराम न्यौपाने, सहकारी समन्वय समिति क्षेत्रनम्बर ७ का संयोजक प्रेम कोइराला लगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष रोमनाथ ओलीले प्रतिवेदन सार्वजानिक गरेका थिए ।
साधरणसभाकै अबसरमा   भएको कार्यक्रममा महिलाहरुको पाठेघर खस्ने समस्याका बिषयमा अन्तकृया समेत गरिएको छ । आम्दा स्वास्थ्य बिज्ञान प्रतिष्ठानकी प्रमुख सकुन्तला चापागाइँले सहजीकरण गरेकी थिइन् ।  कार्यक्रममा महिलाहरुको पाठेघर सम्बन्धी समस्या र उपचारका बिषयमा जानकारी गराइएको थियो ।

मेचीले डिपार्टमेन्ट चलाउने
दमक/ झापाको दमकस्थित मेची सहकारी संस्थाले छुट्टै डिपार्टमेन्टल स्टोर्स सञ्चालन गर्ने तयारी गरेको छ । आफना शेयर सदस्यहरु मार्फत संस्थाले सुविधासम्पन्न डिपार्टमेन्टल स्टोर्स सञ्चालन गर्ने तयारी गरेको छ । आफना शेयर सदस्यहरुलाई बढी भन्दा बढी सेवा सहुलियत रुपमा बिक्री गराउन सहकारीले ब्यवस्थित डिर्पाटमेन्टल स्टोर्स
सञ्चालन गर्न योजना अघि ल्याएको हो । दैनिक किनमेलमा आफना शेयर सदस्यहरुलाई एकै ठाँउमा खाद्य सामाग्री उपलब्ध गराउन संस्थाले पहल थाल्ने संस्थाका अध्यक्ष रोमनाथ ओलीले जानकारी दिए । उनले भने–‘आफना शेयर सदस्यहरुलाई लक्षित गरि यस्ता कार्यक्रम सञ्चालन गर्न लागेका हौँ ।’
संस्थाले यो वर्ष २ करोड रुपैयाँ विनीयोजन गरेको छ । विनीयोजित रकम आसन्न साधारणसभामा प्रस्तावका रुपमा लैजाने संस्थाका ब्यवस्थापक खोमप्रसाद बगालेले जानकारी दिए ।  डिपार्टमेन्टल स्टोर्स तर्फ आम उपभोक्ताहरुको आर्कषण बढीरहेको वेला सहकारीले नयाँ अवधारणामा डिर्पाटमेन्टल स्टोर्स चलाउन पहल थालेका हुन् ।