हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

‘प्रममा सुशीलको सम्भावना सकियो’ – मुख्य समाचार

काठमाडौं, १३ पुष/एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री बन्ने सम्भावना सकिएको बताएका छन् ।
कोइरालाले प्रचण्डकै प्रस्तावमा आफू उम्मेदवार बनेको दावी गरेकै भोलिपल्ट बिहीबार प्रचण्डले अब कोइराला प्रधानमन्त्री बन्न नसक्ने दावी गरेका हुन् ।


आफ्नै नेतृत्वको ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक गठवन्धनको बैठकमा प्रचण्डले कोइराला प्रधानमन्त्री नबन्ने ठोकुवा गरेका हुन् । ‘सुशील प्रधानमन्त्री बन्दैनन् । उनको सम्भावना शून्य जस्तै छ’ प्रचण्डको भनाई उदृत गर्दै एक नेताले भने–‘मलाई प्रधानमन्त्री चाहियो मात्र भनेर हुन्छ र ? आधार हुनुप¥यो नि । ’
सुशीलले लचकता नदेखाएको र कुनै पनि विषयमा सहमति गर्नै नचाहेको प्रचण्डको भनाइ छ । प्रचण्डले दलहरूबीच सहमतिको प्रयास गर्ने र नभए संविधानसभाको पुनःस्थापनाको एजेण्डा पुनः उठाउनु पर्ने बताए ।
कांग्रेसलाई नेतृत्व दिंदा आइलाग्ने खतराबारे चर्चा गर्दै प्रचण्डले बाधा अड्काउ फुकाएर अघि बढ्दा अदालतले रोक्न सक्ने बताए । बाधा अडकाउ फुकाउविरुद्ध रिट पर्न सक्ने र राष्ट्रपतिले पारित गरेका अध्यादेश पनि खारेज हुनसक्ने खतरा औंल्याउँदै प्रचण्डले त्यस्तो अवस्थामा कांग्रेसको नेतृत्वमा सरकार हुने तर चुनाव नहुने अवस्था आउन सक्ने बताए ।
यसैगरी सत्तासीन गठबन्धनको बैठकले २५ गतेसम्म सहमतिको सरकार गठन गरेर निर्वाचनमा जान सहमतिको प्रयास गर्ने र नभए २६ गतेबाट पुनःस्थापनाको एजेण्डा पुनः उठाउने निर्णय गरेको छ । २६ गतेबाट निर्वाचन आयोग आयुक्तविहीन हुँदैछ । आयोगले पदाधिकारी नियुक्ती, आवश्यक ऐन कानुन संशोधनलगायतमा सहमतिका लागि २५ गतेसम्मको समयसीमा दिएको छ ।

“कसैको नेतृत्व पनि कांग्रेसले मान्दैन”
इलाम, १३ पुष÷नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले वर्तमान सरकारमा कांग्रेस कुनै पनि हालतमा नजाने बताएका छन् । एकीकृत माओवादी अध्यक्ष प्रचण्डले एक दिन भए पनि वर्तमान सरकारमा आउन अरु दलहरूलाई आग्रह गरिरहेका बेला केसीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

 सहमति नभए देशमा भयावह अवस्था आउने भन्दै केसीले सरकारको नेतृत्व, संविधानका अन्तरवस्तुमा सहमतिको सर्त र संविधानसभाको पुनस्र्थापनामा कांग्रेसले कहिल्यै सहमति नगर्ने बताए । उनले भने ‘अरु सबै बिकल्पमा कांगेस लचिलो हुन तयार छ तर यी तीन कुरा हामी अन्तिम अवस्थासम्म पनि छाड्दैनौं । ’
उनले भने ‘कांग्रेस बाबुराम भट्टराई त के अरु कसैको नेतृत्वमा गठन हुने सरकारमा सहमति हुँदैन । ’ यो माओवादीको सत्ता कब्जा गर्ने चालबाजी मात्रै हो । ’ केसीले नेपाली कांग्रेसले जसरी भएपनि अबको सरकारको नेतृत्व नगरे निष्पक्ष चुनाव सम्भव नहुने बताए ।
नेपाल प्रेस युनियनले सदरमुकाममा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा केसीले माओवादीले विभिन्न बहानामा खेल मात्रै खेलिरहेको आरोप लगाए ।

आमासहित दुई बच्चा मृत फेला

उर्लाबारी, १३ पुष/पूर्वी मोरङको टाँडी गाविसमा आमासहित दुई नानीहरू मृत अवस्थामा फेला परेका छन् । आमाको पेटमा छुरा प्रहार गरिएको र छोरा र छोरी सलको पासो लगाएर झुण्डिरहेको अवस्थामा बिहीबार विहान भेटिएको हो ।
टाँडी–४ का लंका राईका २५ वर्षीया श्रीमती माया, तीन बर्षीया छोरी चाहना र डेढ बर्षीय छोरा मृत अवस्थामा भेटिएका हुन् । घटनाको समयमा मृतक मायाका श्रीमान् लंका घरमा नभइ खेतमा काम गर्न गएको स्थानीयबासीको उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीले घटनाबारे बुझ्न उर्लावारी इलाका प्रहरी कार्यालयका इन्सपेक्टर डुण्डीराज न्यौपानेको कमाण्डमा नौ जना प्रहरी घटनास्थल पठाएको जनाएको छ भने मोरङ प्रहरीका प्रवक्ता डीएसपी उमाप्रसाद चुतर्वेदीले घटना रहस्यमय बताएका छन् ।

गाविस सचिवलाई १५ सय भत्ता दिने

झापा, १३ पुष/सरकाले गाउँ विकास समितिको कामलाई प्रभावकारी बनाउन गाविस सचिवहरूलाई मासिक १५ सय रुपैयाँ भत्ता दिने भएको छ ।
बिहीबार मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको नियमित बैठकले तोकिएको कार्यक्षेत्रमा गई काम गर्ने गाविस सचिवहरूलाई थप १५ सय रुपैयाँ दिने निर्णय गरेको हो । बैठकले प्रधानसेनापति गौरवशम्सेर राणाको भारत भ्रमण स्वीकृत गरेको छ ।
बैठकले नेपाल टेलिभिजनको अध्यक्षमा सीताराम अग्रवाललाई नियुक्त गरेको मन्त्री ढकालले बताए । बैठकले रौतहटमा प्रहरीमाथि आक्रमण गर्दा ज्यान गुमाएका रमोद शाहका परिवारलाई राहत स्वरुप ५ लाख दिने निर्णय गरेको सहकारी मन्त्री एकनाथ ढकालले जानकारी दिए । यस्तै बैठकले केहीदिन अघि साउदीबाट स्वदेश फर्किदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लुटिएकी महिलालाई खान र बस्नका लागि ५० हजार रुपैयाँ दिने निर्णय नि गरेको छ ।
यसैगरी राष्ट्रिय मदरशा शिक्षा व्यवस्था परिषद्को अध्यक्षमा मंसुर अहमदलाई नियुक्त गरेको छ । वैठकले गरिवी निवारण कोषका उपाध्यक्ष जनकराज जोशीले दिएको राजीनामा स्वीकृत गरेको छ ।

निरजसहित नौ जना अग्रस्थानमा–खेल समाचार

दमक, १३ पुष/दोस्रो ध्रुवतारा कप अन्तर्राष्ट्रिय खुला वुद्धिचाल प्रतियोगिताको बिहीबार सम्पन्न दोस्रो र तेस्रो चरणका खेलहरूमा शीर्ष खेलाडीहरूले अग्रता लिएका छन् ।
दमकका निरज निरौला सहित फिडेमास्टर मनिष हमाल, दमकका राजन सुवेदी, गोल्डेनगेट कलेजका मदनकृष्ण कायस्थ, बिवेक लामा, सर्लाहीका चुडामणि भट्टराई, रबिन्द्र थापा, भारतका राकेश गुरुङ्ग, विवेक विशाल र कुमार गौरवले समान ३ अङ्कका साथ संयुक्तरुपमा अग्रस्थान कायम गरेका हुन् ।
निरजले क्रमशः भारतका तनुज मेसरन र रुकुमका मिलन रोकालाई हराएका थिए भने मनिषले दोस्रो चरणमा गोल्डेनगेट कलेजका हिमाल लामा र तेस्रो खेलमा कान्तिपुर चेस क्लवका रमेश भण्डारीमाथि जित हात पारेका थिए ।
त्यसैगरी मदनकृष्णले काठमाडांैका सनत कुँवर र इनरुवाका राजनकुमार पोख्रेललाई पाखा लगाए । उत्कृष्ठ प्रर्दशन गरेका ११ वर्षीय विशाल कुमारले झापाका विजय मगर र आसामका काव्यनिल तालुकदारलाई हराएका थिए । त्यस्तै अनरेटेड रबिन्द्रले सप्तरीका नविन चौधरी र दमकका प्रकाश नेपाललाई पन्छाए भने विवेकले भारतकै रौनक मण्डल र ललितपुरका हिराकाजी महर्जनलाई निराश पारेका थिए ।
मारवाडी सेवा समिति दमकको सभा हलमा सञ्चालित खेलमा पूर्व नेपाल च्याम्पियन सुरवीर लामा, सप्तरीका सिंहेश्वर दास, धनकुटाका सुमन श्रेष्ठ, भारतका सौरभ आनन्द र आशुतोष कुमारले समान साढे दुई अङ्क प्राप्त गरेका छन् ।
स्वीस लिग नौ चरणको खेल हुने प्रतियोगितामा दुई अङ्क हासिल गर्ने खेलाडीहरूमा बद्रिलाल नेपाली, हेटौडाका कृष्ण थापा, झापाका विश्वविजय घिमिरे, धरानका चुडामणि कुलुङ्ग, पत्थरीका ईश्वर थापा मगर, दमकका देउकुमार निङ्गलेखु, वुद्धिकुमार राई, देवराज गजमेर, बाग्लुङ्गका रबिन्द्र श्रेष्ठ, भारतका थेन्दुप तामाङ्ग, राहुल गुरुङ्ग, रौनक मण्डल लगायत रहेका छन् ।

परामर्श नपाउँदा वैदेशिक रोजगारी असुरक्षित

बिर्तामोड, १३ पुष/वैदेशिक रोजगारका लागि तेस्रो मुलुक जाने नेपाली कामदारले सुरक्षित वैदेशिक रोजगारसम्बन्धी परामर्श नपाउँदा असुरक्षित भएको सरोकारवालाले बताएका छन् ।
सुरक्षित वैदेशिक रोजगार सुचना केन्द्रको प्रभावकारी सञ्चालनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रियामा सरोकारवालाले यस्तो धारणा राखेका हुन् । सुरक्षित वैदेशिक रोजगारका लागि परामर्श, सल्लाह सुझाव दिदै आएको प्रवासी नेपाली समन्वय समितिले आयोजना गरेको कार्यक्रममा नेपालबाट वैदेशिक रोजगार जाने नेपाली कामदारको अवस्थाबारे छलफल भएको थियो । कामदारले तेस्रो मुलुकमा काम गर्न जाँदाको प्रक्रिया पूरा नगर्दा आईपर्ने समस्याले घरेलु हिंसा र मानवीय हिंसा बढाएको उल्लेख गरेका थिए ।
सरकारले असुरक्षित वैदेशिक रोजगारलाई नियन्त्रण गर्न नसकेको र सुरक्षित बनाउन कुनै विकल्प नअपनाएकोले अब सबै क्षेत्रका संघसंस्थाले सचेतना जगाउनुपर्ने समन्वय समितिका सहसचिव सोमप्रसाद लामिछानेले बताए । उनले सुरक्षित वैदेशिक रोजगारका लागि केन्द्रिकृत संरचना भएकोले यसलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिए ।
यस्तै कार्यक्रममा एकिकृत विकास प्रतिष्ठान नेपाल (आईडीएफ) का मानवअधिकार संयोजक विष्णुप्रसाद खरेल, एमाले नेता ध्रुव शिवाकोटीले सुरक्षित वैदेशिक रोजगारीको व्यवस्था गरिनुपर्नेमा जोड दिएका थिए ।
सर्वसाधारणलाई सुरक्षित वैदेशिक रोजगारका लागि सचेतना अभियानसँगसँगै गाउँ, टोलसम्म रहने संरचनालाई सँगै सहकार्य गर्नुपर्ने समेत सहभागीको भनाइ थियो । कार्यक्रममा इन्सेक, सुरक्षित वैदेशिक क्षेत्रमा कार्यरत संघसंस्था, महिला अधिकारकर्मी, मानवअधिकारकर्मी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

लिम्बूवान सबैका लागि : नेम्बाङ्ग

पथरी, १३ पुष/लिम्बूवान मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष वीर नेम्बाङ्गले लिम्बूवान राज्य स्थापित भएरै छाड्ने बताएका छन् ।
लिम्बूहरूको चाड चासोक तङ्नामको अवसरमा बिहीबार लिम्बू विद्यार्थी मञ्च मोरङले पथरीमा आयोजित लिम्बूवान सम्बन्धि अन्तरक्रिया कार्यक्रममा नेम्बाङ्गले सो कुरा बताएका हुन् ।
आफूले स्थापित गरेको लिम्बूवान सम्बन्धि बिचार २७ बर्षपछि बल्ल लिम्बूजन्य संगठनहरूले समेत बुझ्न थालेको उल्लेख गरे । लिम्बूवान लिम्बूको मात्र नभएको तर्क प्रस्तुुत गर्दै नेम्बाङ्गले आफ्नो संगठनमा सबैजाति समावेश रहेको समेत बताए ।
लिम्बू बिद्यार्थी मञ्चका मोरङ जिल्ला अध्यक्ष फिपराज बेघाको सभापतित्वमा भएको कार्यक्रममा मञ्च सम्बद्ध संघीय लिम्बूवान राज्य परिषद (लोकतान्त्रिक) का केन्द्रीय अध्यक्ष लोकसागर साम्बा, लिम्बू विद्यार्थी मञ्चका केन्द्रीय उपाध्यक्ष अबोध अविरल, सचिव बिशाल लिम्बू, स्थानीय युवा कमल चोङबाङ, गंंगा लिम्बू लगायतले बोलेका थिए ।

दुग्ध व्यवसायी संगठित

बिर्तामोड, १३ पुष/झापाका दुग्ध व्यवसायीहरू आफ्नो व्यवसायिक हकहितका लागि संगठित भएका छन् । उनीहरूले बिहीबार तदर्थ समिति गठन गरेका हुन् ।
बिर्तामोडमा सम्पन्न पहिलो भेलाले ‘दुग्ध व्यवसायी संघ’ झापा जिल्ला तदर्थ समिति गठन गरेको संयोजक अर्जुन बिष्टले जानकारी दिए ।
त्यस्तै समितिका सचिव र कोषाध्यक्षमा जयप्रसाद भट्टराई र हरि नेपाल छन् भने सदस्यहरूमा गोविन्द पोखरेल, रघुनाथ अधिकारी, महेश सुब्बा, शंकर बिष्ट, जीवन सञ्जेल, सागर सुब्बा, साझा डेरी दमक, रितिका डेरी धाइजन र अर्जुन भट्टराई रहेका छन् ।

संघको कमिटी पुनर्गठन

बिर्तामोड, १३ पुष ÷डिल्लीराम उप्रेतीको अध्यक्षतामा नेकपा मालेको भातृ संगठन प्रगतिशील युवा संघको ९ सदस्यीय जिल्ला कमिटी पुनर्गठन भएको छ ।
बुधबार सुरुङ्गामा नेकपा मालेका केन्द्रीय सदस्य प्रेम दाहालको प्रमुख आतिथ्यता र जिल्ला कमिटी सचिव नवराज खरेलको अध्यक्षतामा भएको  भेलाले उपाध्यक्षमा श्याम ओली, सचिवमा श्रीप्रसाद खरेल, कोषाध्यक्षमा सन्तोष पुरीलाई चयन गरेको हो ।
त्यसैगरी सदस्यहरूमा धु्रवप्रसाद खरेल, दुर्गाप्रसाद उप्रेती, कुमार मैनाली, विरेन्द्र चुडाल र सन्तोष काफ्ले रहेका छन् । उक्त भेलामा जिल्ला सदस्य काजीबहादुर खत्री, टिका अचार्य अनेरास्ववियु
(पाँचौं) का महासचिव विनोद आचार्य र नेपाल प्रगतिशील युवा संघका कोषाध्यक्ष  हरि प्रसाई लगायतले नवगठित कार्यसमितिलाई शुभकामना दिएका थिए ।

बालगृहलाई रकम हस्तान्तरण

उर्लाबारी, १३ पुष /मोरङको उर्लाबारी–४ स्थित नमुना बाल गृहलाई बिहीबार उर्लाबारी हङकङ समाजले ५० हजार १ सय रुपैया प्रदान गरेको छ  ।
समाजकी सदस्य राधिका थापाको स्मृतिमा समाजले गृहलाई सो रकम हस्तान्तरण गरेको हो । १ महिना अघि दुर्घटनामा परी मृत्यु भएकी थापाको स्मृतिमा सो रकम हस्तान्तरण गरेको समाजका कोषाध्यक्ष रजित कार्कीले बताए ।
सोही अवसरमा मृतकका बुवा रामबहादुर थापाले पनि गृहमा आश्रित बालबालिकाहरूलाई जाडोका न्यानो कपडा प्रदान गरेका छन् । गृहमा ३५ जना अनाथ बालबालिकाहरू आश्रित रहेका छन् ।

मगर संघको जिल्ला अधिवेशन हुने

दमक, १३ पुष/नेपाल मगर संघ झापाका दशौँ जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । आगामी पुष १४–१५ गते दमकमा हुने सो अधिवेशनका सम्पूर्ण तयारी कार्य पूरा भएको आयोजकहरूले जनाएका छन् । अधिवेशनबारे दमकमा जानकारी दिने उद्देश्यले आयोजित पत्रकार भेटघाट कार्यक्रममा संघका जिल्ला अध्यक्ष पर्शुराम थापा मगरले अधिवेशन सफल बनाउन तयारी सकिएको जानकारी दिए । स्थानीय रेडक्रसको सभाहलमा हुने अधिवेशन  २७ वर्षीय संस्थाको अवधिमा दमकमा पहिलो पटक हुन लागेको उनले बताए ।

अधिवेशनको उद्घाटन संघका केन्द्रीय अध्यक्ष महेन्द्र थापा मगरले गर्नेछन् भने संघका पूर्व अध्यक्ष गोरेबहादुर खपाङ्गी मगर समेत विशिष्ट अतिथिको उपस्थित हुने जनाइएको छ । सोही अधिवेशनको उद्घाटन सत्रमा मगर समुदायका अग्रज सहित विभिन्न क्षेत्रका ९ जना प्रतिभाहरूलाई समेत सम्मान गरिने संघका जिल्ला सचिव कैलाश थापा मगरले जानकारी दिए । यसरी सम्मान पाउनेहरूमा संघका पूर्व अध्यक्ष शिवशंकर थापा मगर, संस्थापक सदस्य दलबहादुर पुलामी मगर, कलाकार सञ्जोक लाफामगर, चेस खेलाडी निरोज निरौला, बालप्रतिभा सुदृष्टि राई लगायत रहेका छन् ।
सो अधिवेशनमा करिब २ लाख खर्च हुने र बन्द सत्रले आगामी ३ वर्षका लागि नयाँ कार्य समिति चयन हुने बताइएको छ । ‘समानुपातिक प्रतिनिधित्वबाट पहिचान सहितको संघीयता, स्वायत्तताका लागि सम्पूर्ण मगरहरूको सांगठानिक एकता’ भन्ने नाराका साथ सो अधिवेशनमा २ सय ५० बढी प्रतिनिधि, पर्यवेक्षकहरूको सहभागिता रहने छन् ।
पत्रकार भेटघाटमा संघका नगर अध्यक्ष वेद थापामगर, सदस्य रमेश थापामगर, मगर विद्यार्थी संघका जिल्ला अध्यक्ष राजकुमार थापा मगर लगायतको उपस्थिति थियो ।

सुन्तलाबाट २८ करोड आम्दानी

इलाम, १३ पुष/जिल्लामा अघिल्लो वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादन ५ प्रतिशत बढेको छ । उत्पादन बढेसँगै किसान यस वर्ष सुन्तला बिक्रीबाट २८ करोड रुपैयाँभन्दा बढी आम्दानी लिन सफल भएका छन् । जिल्ला कृषि विकास कार्यालय इलामका अनुसार सुन्तलाखेती किसान बढेपछि उत्पादन विस्तार भएको हो ।
जिल्लामा ३ सय ९ हेक्टर क्षेत्रफलबाट ४ हजार १ सय मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि विकास कार्यालयका वुद्धिराम भट्टराईले जानकारी दिए । सुन्तलाको उत्पादनबाट यस वर्ष जिल्लामा २८ करोड ७० लाख रुपैयाँ भित्रिएको छ । व्यक्तिगत रूपमा किसानले एउटै बगानबाट ३ लाख रुपैयाँसम्ममा सुन्तला बिक्री गरेको बताएका छन् ।
जिल्लामा हाल ७० रुपैयाँ प्रतिकिलोमा सुन्तला किनबेच भइरहेको छ । अघिल्लो वर्ष इलाममा ३८ सय मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि कार्यालयको तथ्यांक छ । कार्र्यालयले व्यवसायिक सुन्तलाखेती गरिँदै आएका जिर्मले, नामसालिङ, कन्याम, बरबोटे, पशुपतिनगर, सोयाक र गोदक गाविसलाई सुन्तला पकेट क्षेत्र घोषणा गरेको छ ।
उत्पादित सुन्तला झापा हुँदै छिमेकी भारतमा समेत निकासी हुने गर्छ । सुन्तला बगानमै भारतीय व्यापारी आई बोटसमेत किन्ने गरेको जिर्मलेका याम अधिकारीले बताए । सुन्तलाबाहेक जिल्लामा ५३ हेक्टरमा ५ सय ५५ मेट्रिकटन जुनार र ६२ हेक्टरमा ६ सय ३० मेट्रिकटन कागती उत्पादन भएको छ ।
बाँसखर्कबाट ३ करोडको सुन्तला बिक्री
पर्वत सुन्तला उत्पादनमा पश्चिमाञ्चलकै उत्कृष्ट सुन्तला पकेट क्षेत्रका रूपमा मानिँदै आएको पर्वतको बाँसखर्क गाविसबाट यस वर्ष गतवर्षको तुलनामा दोब्बर आम्दानी भएको छ । गतवर्षभन्दा यस वर्ष बढी सुन्तला उत्पादन भएपछि किसानले दोब्बर आम्दानी गरेका हुन् ।
गतवर्ष झन्डै डेढ करोडको सुन्तला निर्यात भए पनि यस वर्ष ३ करोडभन्दा बढी मूल्यको सुन्तला निर्यात हुने स्थानीय सुन्तला कृषक यामबहादुर पुर्जाले जानकारी दिए । पश्चिमाञ्चलमा नै सबैभन्दा स्वादिलो सुन्तला फल्ने बाँसखर्कका कृषकले बोटमै ४० देखि ८० रुपैयाँ प्रतिकिलोग्राममा बिक्री गर्दै आएका छन् । बाँसखर्कका सुन्तला पोखरा, काठमाडौं, नारायणगढ, भैरहवालगायत स्थानमा पुग्ने गरेका छन् ।
बाँसखर्कका २ सय ५६ घरधुरीका स्थानीयले सुन्तलाखेतीलाई व्यावसायिक रूप दिई प्रमुख आम्दानीको स्रोत बनाउँदै आएका छन् ।

श्रीमान् पक्राउ

विराटनगर, १३ पुष/मोरङको केरावारी–८ की जयन्ती तामाङको रहस्यमय ढंगले मृत्युभएपछि उनकै श्रीमान् विजय लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले लिम्बूलाई अनुसन्धानका लागि बुधबारराति नियन्त्रणमा लिएको हो ।
केरावारी–८ मा स्थानीय छिन्ताङ्गे भन्ने र विजय लिम्बूबीच झगडा भएको जानकारी पाएर गएको प्रहरी टोलीले लिम्बूको श्रीमती मृत अवस्थामा भेटेपछि नियन्त्रणमा लिएको हो । झगडा भएको भनेर गएपनि सुतिरहेको अवस्थामा श्रीमान् उठाउँदा उठेको र श्रीमती मृत फेला परेपछि विजयलाई नियन्त्रणमा लिएको मोरङ प्रहरीले जानकारी दिएको छ । यता जयन्तीमा माईतीपक्षले भने विजयले कर्तब्य गरी हत्या गरेको आरोप लगाएका छन् ।

मानसरोवरमा अखिल (क्रान्तिकारी)

दमक, १३ पुष/एकीकृत माओवादीको भातृ संगठन अखिल (क्रान्तिकारी) ले दमक–१४ स्थित मानसरोवर कलेजमा इकाई कमिटी गठन गरेको छ । बिहीबार कलेजमा भएको भेलाले योजन भट्टराईको अध्यक्षतामा कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा योगराज कार्की, सचिवमा सुष्मा न्यौपाने, सह–सचिवमा विनोद पौडेल, कोषाध्यक्षमा रेनु अर्याल र सदस्यहरूमा केवल राई, उज्ज्वल राई लगायत रहेका छन् । संगठनका सिटीइभिटी पूर्वाञ्चल क्षेत्रीय समितिका संयोजक संजिव राई र सह–संयोजक अनिल सुवेदीले बोलेका थिए ।

राप्रविसंको विज्ञान संकायमा कमिटी

दमक, १३ पुष/राप्रपा नेपालको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसंघ) दमक बहुमुखी क्याम्पस इकाई कमिटीले विज्ञान संकायतर्फ स्नातक दोस्रो वर्षमा कमिटी गठन गरेको छ । बिहीबार सम्पन्न भेलाले सुदिप आचार्यको अध्यक्षतामा २३ सदस्यीय कमिटी गठन गरेको हो । गठिति कमिटीको उपाध्यक्षत्रयमा आकाश रेग्मी, विकास रेग्मी, राजु घिसिङ्ग, सचिवमा निरज न्यौपाने, सहसचिवद्वयमा सञ्जित भण्डारी, विक्रम पोखरेल, कोषाध्यक्षमा सञ्जिव कार्की र सहकोषाध्यक्षमा विक्की कार्की चुनिएका छन् । संगठनका अध्यक्ष किरण भण्डारी र सचिव महावीर सुर्खेतीले संयुक्त विज्ञप्ति मार्फत सो कमिटी गठन गरिएको जनाइएको छ ।

विद्यालय हिँडेकी बालिका वेपत्ता

उर्लाबारी, १३ पुष/विद्यालयमा काम छ भनेर हिडेकी एक बालिका एक साता देखि बेपत्ता भएकी छिन् । राधिका मावि उर्लाबारी–४ मा कक्षा–५ मा अध्यनरत सरस्वती सुवेदी एक साता देखि बेपत्ता भएकी वाबु निखिल सुवेदीले जानकारी दिए । विद्यालयमा काम छ भनेर विद्यालयको पोसाकमा घरबाट हिडेकी थिई बाबु निखिलले भने–दिनरात खोज्दैछु अझै सम्पर्कमा आएकी छैन् । होटल मा भाडा मस्काएर जिवीकोपार्जन गर्दै आएका बाबु निखिलले छोरीको खोजीमा सहयोग पु¥याउन संघ संस्था सञ्चारकर्मी वुद्धिजीवीहरूलाई अनुरोध गरेका छन् । यता इलाका प्रहरी कार्यालय उर्लाबारीले सरस्वतीको खोजी भइरहेको जानकारी दिएको छ ।

भगवती उमाविमा ओडारी

शिवगञ्ज, १३ पुष/झापाको शिवगञ्ज–९ स्थित भगवती उच्च माविको विद्यालय व्यवस्थापन समिति चयन भएको छ ।
बुधबार विद्यालयमा सम्पन्न एक भेलाले समितिका अध्यक्षमा गजबहादुर सोडारीलाई सर्वसम्मत चयन गरेको छ । त्यस्तै, समितिका सदस्यहरूमा मणिकुमार माझी, श्रीप्रसाद चापागाईँ, निर्मला कार्की र सदस्य सचिवमा विद्यालयका प्राचार्य पदमप्रसाद दाहाल छन् । समितिले एक शिक्षक प्रतिनिधि र थप तीन सदस्य मनोनित गर्ने प्राचार्य दाहालले बताए ।

नागरिक सहायता भवन निर्माण गरिने

दमक, १३ पुष/झापाको दमकमा नागरिक सहायता कक्षको भवन निर्माण गरिने भएको छ ।
भवन निर्माणका लागि इलाका प्रहरी कार्यालय दमकमा भएको भेलाले रोमनाथ ओलीको अध्यक्षतामा नागरिक सहायता कक्षनिर्माण समिति गठन समेत गरेको छ । समितिको सदस्य सचिवमा प्रहरी सहायक निरीक्षक गंगा राई, सदस्यहरूमा गंगा सिटौला, प्रकाश प्रसाई, ढुण्डी भण्डारी, सन्तोष राई लगायत छन् । समितिले ६ महिनाभित्र इलाका प्रहरी कार्यालय दमक परिसरमा भवन निर्माणको काम शुरू गर्ने बताइएको छ ।
यसैबीच सामुदायिक प्रहरी सेवा केन्द्र दमकले आकस्मिक कोष स्थापना गरेको छ । केन्द्रको भेलाले सवारी दुर्घटना र अन्य आकस्मिक घटनामा परेकाहरूको उद्दारका लागि कोषको स्थापना गरेको हो । समितिको अध्यक्षमा रोमनाथ ओली, सदस्यहरूमा प्रहरी निरीक्षक हरि खतिवडा, सदस्य सचिव गंगा राई लगायत छन् । कोषमा इलाका प्रहरी कार्यालयले ५ हजार, सन्त किराँतीले २ हजार, सन्तोष राईले एक हजार रुपैयाँ प्रदान गरेका छन् ।

“मोफसलको फिल्मलाई माया गरिदिनुस्”

गोविन्द मोते – झापा दमकका व्यवसायी तथा चलचित्रकर्मी हुन् । दमकबाट आजदेखि प्रदर्शनको तयारीमा रहेको नेपाली कथानक चलचित्र ‘भविष्य’ का निर्माता उनी यस फिल्मबाट राम्रो व्यापार हुने विश्वासमा छन् । दमक–११ मा लामो समयदेखि पूजा टेलर्स चलाई आएका निर्माता मोतेले ‘भविष्य’ पछि ‘सती’ नामक चलचित्रको निर्माणका तयारीमा छन् । प्रस्तुत छ – मोते फिल्मस् प्रा.लि. ब्यानर तथा सीता मोतेको प्रस्तुति रहेको ‘भविष्य’ का निर्माता मोतेसँग गरिएको कुराकानी –

‘भविष्य’ फिल्म प्रदर्शनको तयारीमा छ, यो कस्तो फिल्म हो ?
मोफसलबाट निर्मित यस फिल्म एक विशुद्ध मनोरञ्जनात्मक नेपाली फिल्म हो । यसमा रोबोटको प्रस्तुति छ । दर्शकलाई भरपुर मनोरञ्जन दिलाउन यसले पक्कै दर्शकको मन जित्ने छ भन्ने विश्वास लिएको छु । पूर्वका फिल्मी क्षेत्रमा निश्चय पनि यो फिल्मले छुट्टै स्थान ओगट्ने छ र दर्शकको माया पाउने छ ।
यस चलचित्रले व्यवसायिक सफलता पाउने छ ?
निश्चय पनि । यो फिल्मी समग्र रुपमा मोफसलको फिल्म क्षेत्र छुट्टै स्थान र पहिचान बोकेको छ भन्ने लाग्छ । व्यवसायिक रुपमा यो फिल्मले सफलता पाउने छ ।
फिल्म क्षेत्र निर्माणमा उत्तिकै जोखिम पनि छन्, तपाईलाई के लाग्छ ?
हरेक क्षेत्रमा जोखिमका अवस्था अवश्य छन् । तर यो फिल्मबाट लगानीको जोखिम सहनु नपर्ला कि भन्ने लागेको छ । किनकि दमकका गहना र यहाँको परिचयका लागि समेत यस फिल्मले समेटेको छ । आधा बढी भाग दमकमा छायाङ्कन भएकाले विशेषत दमकेलीले यसलाई मन पराइदिनुहुने, माया गरिदिनुहुनेछ भन्ने विश्वास लागेको छ । त्यस्तो त यसै क्षेत्रका कलाकारहरूको प्रतिभालाई उजागर गराउन समेत यसले निश्चय पनि सघाउ पु¥याएको छ ।
तपाईले के देखेर फिल्मी क्षेत्रमा आउनुभयो ?
फिल्मी क्षेत्रबाट समाजका लागि केही गरौँ भन्ने उत्साहका कारण पनि फिल्मी क्षेत्रमा आएको हुँ । नाटक, गीत, सङ्गीत क्षेत्रमा विद्यालय स्तरमा जन भूमिका थियो, त्यसले पनि यो क्षेत्रमा केही गरौँ भन्ने दृढता चलचित्र निर्माणमा लागेको हुँ ।
तपाईको फिल्ममा कलाकारहरूलाई पारिश्रमिक दिनुहुन्न रे ?
होइन । मोफसलको हैसियतमा एउटा कलाकारलाई दिनुपर्ने पारिश्रमिक उपलब्ध गराएको छु । किनकि कलाकार होस् या अन्यले उसले काम गरेपछि न्यूनतम रुपमा पारिश्रमिक पाउनै पर्छ । मेरो फिल्ममा कलाकारहरूलाई पारिश्रमिक उपलब्ध गराएको छु ।
मोफसलमा फिल्मी क्षेत्रको समस्या के–के हुन् ?
धेरै समस्या खेप्नु परेको छ । प्रविधि कलाकारहरूको हिसाबले मोफसलमा अनेकौँ चुनौति छन् । प्रविधिमा ठूलो समस्या झेल्नु परेको छ, त्यस्तै, स्तरीय कलाकार मोफसलमा नपाउँदा उत्तिकै समस्या छन् । सारांशमा मोफसल राजधानी बाहिर ओझेलमा परेको छ ।
अन्तमा केही भन्नु छ ?
‘भविष्य’ आजबाट प्रदर्शनीको आरम्भमा छ । मोफसलका कलाकार, छायाङ्कन भएकाले मोफसलबाट मिर्मित नेपाली फिल्मलाई माया गरेर हौसला दिनुहोला भन्ने अनुरोध गर्दछु । ‘भविष्य’ पछि ‘सती’ फिल्मको निर्माणको अन्तिम तयारीमा छु । अझै यस्ता फिल्म निर्माण गर्ने कार्यमा हौसला पाए, केही गर्न सकिन्छ भन्ने लागेको छ ।

चासोक तङ्नाम र यसका प्रभाव

भूपेन्द्र खुदाङ लिम्बू
चाडपर्वहरू सामाजिक सद्भाव र रीतिथिति संस्कार संस्कृति निरन्तरताको द्योतक हुन् । सबै चाड समय, मौसम परिवर्तन, ऋतु परिवर्तन अनुसार आफ्नै रीतिथितिबाट मान्ने प्रचलन पाइन्छ । खास गरेर लिम्बू समुदाय बसोवास गर्ने पूर्वी नेपाल लिम्बूवान क्षेत्र र हाल आएर विभिन्न क्षेत्रमा बसोवास गर्ने लिम्बू जातिले सामूहिक रुपमा चाडपर्व मान्दै आएका छन् । लिम्बू जाति आफ्नै मौलिक संस्कृति र संस्कार विविधताले सम्पन्न जाति हो । लिम्बू जाति प्रकृतिक पूजक हुन् । हाल विभिन्न पेशा र जीवनशैली अपनाए ता पनि मुलतः लिम्बू चाडपर्व कृषिमा आधारित छन् । ऋतु परिवर्तन सँगसँगै खेतीपाती र जीवनयापनमा पर्ने असर र फेरबदलमा लिम्बू चाडपर्वका
अर्थ झल्कन्छ ।
लिम्बू समुदायले महान चाडको रुपमा मान्दै आएको चाड हो चासोक तङ्नाम । चासोक तङ्नाम (न्वागी) पूजा उधौली याममा बालीनाली भित्राउने बेलामा सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई लिम्बू भाषामा न्वागी पनि भनिन्छ । मुन्धुममा चासोक पूजाको उत्पत्तिका सम्बन्धमा सविस्तार वर्णन पाइन्छ । किरात याक्थुङ चुम्लुङले २०५९ सालमा प्रकाशित गरेको किरात चाड एक परिचय पुस्तकमा उल्लेख अनुरुप मुन्धुमअनुसार कृषियुग शुरु हुनुअघि लिम्बूहरूका आदिम पूर्खा सावा येत्हाङहरूले कन्दमूल काँचै खाएर जीवनयापन गर्दथे, जसले गर्दा उनीहरू कुपोषण र अनेक रोगव्याधीको शिकार हुन्थे । यी समस्या समधानको विकल्प खोजीमा सर्वशक्तिमान तागेरानिङवाभु माङसँग प्रर्थना गर्दथे । यही प्रार्थनाले गर्दा नै उनीहरूले पेना÷माङदःक(कोदो), परामा (कोदोसँग उम्रने फल्ने), ताक्मारु (घैया), तुम्री (जुनेलो) आदि बीउविजन तागेरानिवाभु माङले उपलब्ध गराई दिए । त्यसैलाई छरपोख गरी उब्जाएर खानु भन्दा अगाडि माङलाई चडाउने प्रचलन बसाले, यसैलाई चासोक (न्वागी)पूजा भनियो भन्ने पाइन्छ । मनुष्यलाई खेतीपाती सिकाउने देवीका रुपमा येत्हाङका चेला सिबेरा एःक्थुक्मा हुन् भनी लिम्बूजातिले मान्दछन् । यीनै माङ र तागेरानिवाभु माङलाई अन्नबाली पाकेपछि चढाएर मात्र ग्रहण गर्ने परम्परा रहिआएको पाइन्छ । आफूले लगाएको बालीनाली पाकेपछि माङहरूलाई चढाएपछि खाने र रमाउने चाडको रुपमा लिइएको पाइन्छ । सम्पूर्ण देवीदेवता तथा प्रकृतिको पूजा गर्ने क्रममा तीनराते धार्मिक अनुष्ठान (तङसिङ) पनि गर्ने गरिन्छ ।

यसखेर लिम्बू समुदाय बसोबास रहेको लिम्बुवानको माथिल्लो पहाडी क्षेत्रको बारी नै भरि पैंयू फुलेको छ । यसरी पैँयू फुलेको समयलाई किरात लिम्बूहरूले उधौली याम (दक्षिणायन) सुरु भएको सङ्केतको रुपमा मान्छन् । उधौली सुरु भएपछि माछा, चराचुरुङ्गी दक्षिणतिर लाग्दछ । खास गरेर जाडो छेक्नलाई यसो गरिएको हो भन्ने गरिन्छ । सोहि समयमा पहाडि भागको माथि खर्कतिर लगिएको गाईगोठहरू पनि तल बस्तितिर झारिन्ने गरिन्छ । पहिला घरघरमा न्वागी तथा चासोक पुजा गरि रमाउने लिम्बू समुदायले हाल आएर सामुहिक रुपमा यसलाई महान उत्सवको रुपमा मान्दै आएको छ । लिम्बू समुदाय रहेको लिम्बुवान बाहेक काठमाडौँ उपत्यका तथा विदेशमा समेत यसलाई सामुहिक पुजा तथा खुसियाली मनाउदै आएको छन् । वर्षमा एक पटक आउने यो पर्वमा खुसियाली साटासाट गर्ने तथा वर्षभरी भेट नभएको आफ्न्तजन तथा साथिभाइहरूसँगको भेटघाटको अवसर मानिन्छ । यस्तै यो अवसरमा विभिन्न मेलाको आयोजना गरी शुभकामना आदानप्रदान तथा मौलिक गीतसङ्गीत सहितको सांस्कृतिक कार्यक्रम, (यालाङ, केलाङ)धान तथा च्याब्रुङ नाच पनि नाचिन्छ ।
यसरी मनाईने किरातहरूको महान चाड तथा राष्ट्रिय पर्व लिम्बूहरूले उधौलीलाई चासोक तङ्नामको रुपमा मान्छन् भने अन्य किरात वंशका शाखाहरूमध्ये राईले उधौली साकेला, याक्खाले चासुवा, सुनुवारले फोलष्याँदरको रुपमा मान्ने गर्दछन् । नेपाल सरकारले यस राष्ट्रिय चाड चासोक तङ्नाम अर्थात मङ्सिर पूर्णिमाका दिन सार्वजनिक विदा २०५८ सालदेखि दिँदै आएको छ । सबै चाडपर्वहरूको आफ्नै महत्व रहेको हुन्छ । यस पर्वले राष्ट्रमा मेलमिलाप तथा भाइचाराको सम्बन्ध स्थापित गरेको छ । यसलाई सही रुपमा ग्रहण गरी मान्ने, मनाउने निरन्तरता दिनु आजको दायित्व हो । चाडपर्व सही रुपमा अगाडि नबढेमा मौलिक चाडहरू माथि विकृति विसङ्गति हावी नहोला भन्न सकिन्न । आफ्नो पहिचान मौलिक रीतिरिवाज, संस्कार, कला संस्कृति, भेषभूषा, भाषा, लिपि आदिले सम्पन्न छन् लिम्बूजातिहरू । अहिले मौलिक कला संस्कृतिहरू जस्तै यालाःङ (धाननाच), केलाःङ (च्याब्रुङ नाच) स्टेज कार्यक्रम हुन पुगेको छ । जुन कलाकारले मात्र नाच्न र गाउन सक्छन् । यसको अर्थ आज स्टेजमा भएको चिज भोलि सङ्ग्राहलयमा नपुगोस् यसैले लिम्बूजन्य सामाजिक सङ्घ–संस्थाहरू सामाजिक जागरण, अभियानमार्फत् कला संस्कार, संस्कृतिको कार्यक्रमहरू लिम्बू समुदायमा लगेर यी विषयवस्तुको बारेमा जानकार बनाउन आजको आवश्यकता बनेको पाइन्छ । आधुनिकताको नाममा संस्कार, संस्कृतिहरू लोप हुने अवस्था पुगेकोले सचेत हुन जरुरी छ । यसरी नै हाम्रो मौलिक चाडपर्वहरूको पनि संरक्षण, सम्बद्र्धन, व्यवस्थापन गर्दै निरन्तरता दिइएन भने मौलिक परम्पराहरू लोप हुनेछ । कुनै पनि चाडपर्वहरू सामाजिक चलन तथा समयको परिवर्तनसँग सम्बन्धित ग्रहण गर्ने र मान्ने मनाउने शैलीहरू परिवर्तन भएता पनि पहिचान झल्कनु पर्दछ ।

उधौली चाड, किराती र प्रकृति

आदिम युगदेखि प्रकृतिलाई नै इश्वर मान्ने तथा प्राकृतिक नियमानुसार जीवन शैली निर्वाह गर्ने किरातीहरू प्रकृति पूजक समुदाय हुन् । किराती समुदायका लागि प्रकृतिका अन्तरवस्तुहरू महत्वपूर्ण पक्ष हुन् । किराती समुदायले सभ्यताको विकास क्रमदेखि नै प्रकृतिसँग मिल्दोजुल्दो जुन संस्कृतिलाई आत्मसाथ गरेर आएका छन्, आजको युगमा समेत त्यसले महत्व राखेको छ ।
यतिबेला उठेका ग्लोबल वार्मिङ, कार्बन रिडक्सन, जलवायु र प्रकृति संरक्षण जस्ता विषयहरूलाई सहज समाधान गर्न पनि प्रकृतिपूजक आदिवासीय जीवन पद्धतिले महत्व राख्ने विज्ञहरूले बताइरहेका छन् । यस अवस्थामा किराती समुदायले प्रकृतिसँगको आफ्नो जीवन शैली र गतिविधिलाई जसरी अक्षुण राख्दै आएका छन् । यो उनीहरूको महानता समग्र मानव जगत र सृष्टिका लागि पनि महत्वपूर्ण छ ।
किराती समुदायले मुख्य गरी कृषि युगको सुरुवाती चरणलाई आत्मसाथ गरेर उद्यौली र उभौली चाडहरू मनाउँदै आएका छन् । वर्ष सुरुवातसँगै नदीनालाहरूमा पानीको वहाव बढेसँगै माछाहरू उक्त वहाव चिर्दै ठीक विपरित उभोतर्फ जाने हुँदा तयसलाई उभौली भन्ने चलन छ । यो मिथकिय मान्यताले किराती समुदाय जस्तो सुकै अवस्थामा पनि आफ्नो जीवन पद्धतिप्रति निरनतर संघर्ष गरिरहन्छ भनने अर्थ राख्दछ । उभौलीमा अन्नबाली लगाउनका लागि उपयुक्त मौसमको आशा गर्दै प्रकृतिसँग प्रार्थना गर्दै धुमधामका साथ विभिन्न सांस्कृतिक नृत्य र पूजाआजा समेत गरेर जेठको समयमा मनाउने प्रचलन छ ।
त्यस्तै हिउँदयाम सुरु भएसँगै नदीनालामा पानीको वहाव घट्दै जाने र माछाहरू उधो झर्ने प्राकृतिक नियमका आधारमा यसलाई उधौलीको संज्ञा दिइएको छ । यो पाुषको महिनामा पर्दछ । यसबेला अन्न बाली उमारेर, फलाएर घरमा भित्र्याइसकेपछि आफूले ग्रहण गर्न अघि उनै सर्वश्रेष्ठ ‘माङ‘ (प्रकृति) लाई चढाएर मात्र आफूले ग्रहण गर्ने प्रचलन छ । सरल भाषामा किरातीहरूले यसलाई ‘न्वाङ्गी‘ पर्व समेत भन्दछन् । किराती समुदायको संस्कार, संस्कृति र वेदीय शास्त्र ‘मुन्धुम‘ का ‘कथ्य‘ वा ‘लेखकीय‘ पक्षले पनि उधौली चाडलाई महत्व प्रदान गरेको छ । मानव जीवन निर्वाहका लागि उत्पादनको स्रोत र यसप्र्रतिको सहकार्य र व्यवस्थित निरन्तरता आवश्यक छ । वास्तवमा प्रकृति भन्दा पर अर्को शक्तिशाली पक्ष छैन । तसर्थ उनै प्रकृतिप्रति गहिरो आस्थाका साथ मनाइने किरातीहरूको उधौली चाड (चासोक तङनाम् ÷ साकेला ÷ चासुवा ÷ फोलषाँदर) प्रकृतिलाई मान्ने तमाम मानव जगतका लागि सामुहिक र सामाजिक चाड हो ।
किराती समुदायका लिम्बू, राई, याक्खा र सुनुवार जातिले आजसम्म पनि प्रकृतिप्रतिको आस्था, प्रेम, जिम्मेवारी र दायित्वलाई भूलेका छैनन् । त्यस्तै आदिवासी जनजाति समुदायले प्रकृतिलाई नै आफ्नो परमपूज्य शक्तिका रुपमा मान्दै आएको अवस्था छ । प्रकृतिसँग सम्बन्ध रहेका, आर्थिक, सामाजिक र सांस्कृतिक जीवन पद्धति जोडिएका किरानी समुदाय र समग्र आदिवासी जनजाति समुदायप्रति राज्यले न्यायोचित र सौहार्दताको व्यवहार गर्न जरुरी छ । आजसम्म प्रकृतिलाई संरक्षण गर्ने कुरामा उनीहरूको योगदान, सीप, क्षमता र जैविक पद्धतिहरूलाई राज्यले मूल प्रवाहमा ल्याउन सके मात्र उनीहरूमाथिको वास्तविक सम्मान झल्कने छ । अन्यथा क्रमशः यी जाति र उनीहरूले आदिम कालदेखि विकास गर्दै ल्याएको प्रकृतिलाई संरक्षण मिल्ने किसिमका कार्यहरू लोप हुँदै नजालान् भन्न सकिन्न ।