एमालेद्वारा सभाषद्लाई राजधानी नछाड्न ह्वीप

काठमाडौ, चैत्र ९/एमालेले संसदीय दलको अनुमति बिना राजधानी नछाड्न आफ्ना सभाषद्हरुलाई ह्वीप जारी गरेको छ । प्रमुख सचेतक भीमप्रसाद आचार्यले बुधबार ह्वीप जारी गर्दै उपत्यका बाहिर रहेका सभाषद्हरुलाई चैत १२ गतेभित्र काठमाडौं आउन भनेका हुन् ।

‘उपत्यका बाहिर रहेका सभाषद्हरुलाई चैत १२ गतेभित्र काठमाडौं उपत्यकाभित्र आउन र जेठ १४ गतेसम्म बिना अनुमति उपत्यका बाहिर नजाने एमालेसँग सम्बन्धी सबै सभाषद्हरुलाई ह्वीप जारी गरेको जानकारी गराउँदछु,’ एमालेको ह्वीपमा लेखिएको छ ।
यसैबीच एमाले स्थायी कमिटीको बुधबारको बैठकले शान्ति प्रकृया र संविधान निर्माणको सम्बन्धमा मुलुकमा गम्भीर आशंका उत्पन्न भएको भन्दै अन्य दलसँगका वार्तालाई थप घनिभूत बताउने निर्णय गरेको छ । एमालेले राज्यपुनर्संरचनाबारे पनि अन्य दलसँग छलफल गर्ने निर्णय गरेको सचिव युवराज ज्ञवालीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
एमालेले सरकारले गरेको कर्मचारी सरुवामा भ्रष्टाचार भएको आरोप लगाएको छ । ‘सरकारले अनियमित र अन्यायपूर्ण तरिकाले कर्मचारीको सरुवा गर्ने, सरुवाको क्रममा भ्रष्टाचार गर्ने, कतिपय मन्त्रीहरुले कर्मचारीहरुमाथि अभद्र व्यवहार गर्ने काम गरिरहेको कुरा सार्वजनिक भइरहेको सन्दर्भमा यो बैठकको गम्भीर ध्यानाकर्षण भएको छ,’ एमालेले भनेको छ, ‘सरकारको यस किसिमको क्रियाकलापको घोर निन्दा र भत्र्सना गर्दै अनियमित सरुवा–आतङ्क बन्द गर्न र नियम बमोजिम काम गर्न जोड्दार माग गर्दछ ।’

0 प्रतिकृया:

Post a Comment