हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

Showing posts with label समाचार. Show all posts
Showing posts with label समाचार. Show all posts

लखनपुर र सुन्दरदुलारीमा विउ बैंक स्थापना गरिँदै

दमक । झापाको लखनपुर र मोरङको सुन्दर दुलारीमा लोप हुन लागेका विउ विजन संरक्षणका लागि विउ बैंकको योजना अगाडि बढेको छ ।
 उर्लाबारीस्थित मदन भण्डारी स्मृति प्र्रतिष्ठानको अगुवाइमा लोप हुन लागेका नेपाली मौलिक विउ विजनहरु संरक्षण गर्ने अभियानका विषयमा विहीबार उर्लाबारीमा छलफल भएको छ । प्रतिष्ठानको ‘सशक्तिकरणको माध्यमबाट जिविकोपार्जनमा सुनिश्चितता’ कार्यक्रम अन्तर्गतको अर्धवार्षिक सहभागितामुलक चिन्तन मनन् प्रक्रिया (पीआरआरपी ) का सहभागिले सो कुरामा जोड दिएका छन् । कार्यक्रमको विषयवस्तु उठान गर्दै छलफलको सहजिकरण गरिरहेको प्रतिष्ठानका सामुदायिक विकास अधिकृत तथा कार्यक्रम संयोजक रुद्रबहादुर तामाङले भने’– केही संस्थासँगका सहकार्यमा प्रतिष्ठानले विउ बैंक खडा गर्ने तयारी अगाडि बढाएको छ । अनि वचत समूहहरुलाई पनि सहकारीमा रुपान्तरण गर्ने योजना तपाईहरुलाई कस्तो लाग्छ ? यो अभियानमा प्रतिष्ठानले सवैको सहकार्य खोजेको छ ।’
कार्यक्रममा सो विषयवस्तुलाई केन्द्रविन्दुमा राखेर छलफल चलेपछि  समूह, सरोकारवाला क्षेत्रका सहभागिहरुले त्यसमा धारणा राखे ।  ‘लोप हुन लागेका विउ विजन जोगाउनु ज्यादै आवश्यक छ तर हाइव्रिड विउविजनको हस्तक्षेप चुनौती बनेको छ ।’–लखनपुरस्थित साना किसान सहकारी संस्थाका व्यवस्थापक टंक पराजुलीले भने । विउ बैंक भनेर सुन्दा जति सजिलो हुने बुझिन्छ र तर त्यसको स्थापना गर्न उत्तिनै गाह्रो भएको पनि उनले उल्लेख गरे । ‘एउटा मात्र संस्थाले व्यवस्थापन गर्न नसक्ला, तर संस्थाहरुको सहकार्यमा त्यो काम गर्न भने सकिन्छ भनेर हाम्रो संस्था पनि लागिरहेको छ । ’– उनले भने ।
सन् २००७ बाट एक्सन एडको सहकार्यमा ‘सशक्तिकरणको माध्यमबाट जिविकोपार्जनमा सुनिश्चितता’ कार्यक्रमका रुपमा झापाको दमक, लखनपुर, मोरङको बयरबन, सुन्दरदुलारी र कोसीहरैंचामा प्रतिष्ठानले गतिविधि सञ्चालन गरेको छ । ती क्षेत्रमा भूमि तथा जिविकोपार्जन, नीति तथा सुशासन, महिला अधिकार र शिक्षा अधिकारको क्षेत्रमा काम गर्दै आएको छ । आर्थिक तथा चेतनाको पक्षमा कमजोर रहेका समुदायका लागि कार्यक्रम केन्द्रीत छ । जसमा भूमिअधिकारको पाटोबाट विउविजन जोगाउने कार्यक्रम यसैवर्षबाट अगाडि ल्याइँदै छ । जसका लागि लखनपुरको सानाकिसान, सुन्दरदुलारीको साना किसान सहकारीका व्यवस्थापक सहितका ३ जनालाई ५ दिने तालिम प्रदान भइसकेको छ ।
सुन्दरदुलारी ११ स्थित प्रगति महिला बचत समूहकी अध्यक्ष मेनुका कार्कीले लोप हुन लागेका नेपाली विउ विजनहरु जोगाएर त्यसलाई विस्तार गर्नु स्वास्थ्यका लागि पनि फाइदाजनक भएको बताइन् । उनले गाउँ टोलमा भएका बचत समूहहरुलाई सहकारीका रुपमा रुपान्तरण गर्ने प्रतिष्ठानको प्रस्तावलाई पनि समर्थन जनाइन् ।
सामाजिक परिचालक तारामान पौडेलले सशक्तिकरण कार्यक्रम अन्तर्गत प्रतिष्ठानले गठन गराएको ४३ वटा समूहबाट ३६ लाख रुपैयाँ बचत भएको उल्लेख गर्दै त्यसलाई सहकारीका रुपमा रुपान्तरण गर्ने विषयमा छलफल भइरहेको जानकारी गराए ।
उनीहरुले रासायनिक वस्तुको प्रयोगलाई कम गर्दै जाने, अधिकार र चेतनाका पक्षमा स्थानीयलाई जागरुक गराउँदै जाने कार्यक्रमले समुदायमा प्रभाव पारेको विवरण पेश गरेका थिए ।
कार्यक्रममा, विभिन्न समूहले आफुले गरेका गतिविधिलाई चार्टका रुपमा ल्याएर प्रस्तुत गरेका थिए । कार्यक्रमबाट आफ्नो जीवनस्तरमा सुधार आएको सहभागिको धारणा रह्यो । जसमा सामाजिक परिचालक रुना चौधरी, वालकुमारी राई, अम्बिका दहाल, सुनिता राजवंशीका साथै प्रतिष्ठानकी लेखा अधिकृत मेनका वास्कोटा लगायतका कार्यक्रमका समग्र पक्षका विषयमा जानकारी गराएका थिए । एक्सन एडका तर्फबाट सहभागि सुनिता महर्जनले समुदायको रुपान्तरमा कार्यक्रमले प्रभाव पारेको बताइन् ।

उपचारमा ४३ हजार सहयोग

दमक । दमक ११ की पाठेघर क्यान्सर पीडित राधादेवी शाहको उपचारका लागि दमक स्थित दमक युथ क्लब र महिला सशक्तिकरण केन्द्र नेपालले ४३ हजार ३७ रुपयाँ सहयोग गरेका छन् ।
विहिबार दमकमा पत्रकार सम्मेल गरी सो रकम पीडित राधाका श्रीमान कनैयाप्रसाद शाहलाई  हस्तान्तरण गरिएको हो । दमक युथ क्लब र महिला सशक्तिकरण केन्द्र नेपाललले संयुक्तरुपमा १६ हजार ३ सय ११ रुपयाँ र महिला सशक्तिकरण केन्द्रले २६ हजार ७ सय २६  गरी जम्मा
  ४३ हजार ३७ रुपयाँ सहयोग गरेको महिला सशक्तिकरण केन्द्र नेपाललकी सचिव सुमित्रा वाङ्देल चेलीले बताइन्  ।
शाहलाई १ महिना अघि भरतपुर क्यान्सर अस्पतालमा उपचारका लागि लगिएको  भएपनि पैसा अभावका कारण फेरि घर फर्काइएको थियो । सो कुरा थाहा पाए पछि आफुहरु सहयोग गरेको दमक युथ क्लबका सचिव पारस आचार्यले बताए । शाहले अहिले ठेलामा फलफुल पसल सञ्चालन गरी पाँच जनाको परिवार चलाउदैछन् । आफ्नो आर्थिक अवस्था कमजोर भएका कारण श्रीमतीको उपचार गर्न नसकेको बेलामा उनको जीवन रक्षामा सहयोग गरेकोमा कनैयाले खुसी व्यक्त गरेका छन् ।

सहिदका छोराछोरीलाई पढ्ने समस्या

पथरी । सुनसरीको इटहरीमा रहेको सहिद स्मृति आवासीय माविबाट एसएलसी उतीर्ण विद्यार्थीहरु अवको उच्च शिक्षा अध्ययन गर्न समस्या भएपछि चिन्तित बनेका छन् ।
सशस्त्र युद्धको बेलाका सहिद परिवार तथा द्वन्द्वपीडित अनाथहरुलाई एसएलसीसम्म अध्ययनका लागि खडा गरिएको विद्यालयले एसएलसीमा सतप्रतिशत नतिजा निकालेपनि विद्यार्थीको अवको भविष्य भनें अन्यौलमा परेको छ । ०६६ मा स्थापित तरहरास्थित सहिद स्मृति आवासीय विद्यालयबाट पहिलो पटक एसएलसी परीक्षामा सहभागी २० जनामध्ये ३ जनाले बिशिष्ट र १७ जना प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् । असल मान्छे बन्ने सपना साँचेर निक्कै मेहनत गरेर आफुहरुले एसएलसी उत्तीर्ण गरे पनि अब अगाडिको शिक्षा कसरी लिन भन्ने चिन्ताले सताएको त्यहाँबाचट एसएलसी उत्तीर्ण ईलाम दानाबारी–१  की हीमा बराईलीले दुखेसो पोखिन् ।
विद्यालयमा उच्च माध्यमिक कक्षा सञ्चालन नभएको र आफ्नो खर्चमा बाहिर पढ्ने क्षमता उनीहरुको नभएकोले विद्यार्थीहरु समस्यामा रहेको विद्यालयकी प्रधानाध्यापक रीता फुयाँलले बताइन् । विद्यालयमा उच्च माबि सञ्चालन गर्न प्रयत्न भइरहे पनि उच्च माध्यमिक शिक्षा परिषदले दरखास्त नै नमागेकोले यो वर्ष उच्च मावि सञ्चालन हुनसक्ने अवस्था छैन ।
मन्त्रीस्तरीय निर्णय गराएर  विद्यालयमा उच्च मावि सञ्चालन गर्ने पहल भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार डाँगीले बताए । उच्च मावि सञ्चालन नभए एसएलसी उत्तीर्ण द्वन्द्वपीडित बालबालिका समस्यामा पर्ने उनको भनाइ छ । जिरी, पोखरा, दाङ, डोटीमा समेत यस्ता स्कूल सञ्चालनमा छन् ।

ढाका बुनाई तालिम उद्घाटन

शिवसताक्षी । झापाको शिवसताक्षी ३ स्थित साविक शिवगञ्ज गाविसको सभाहलमा चन्द्रडाँगीमा ढाका बुनाई तालिमको उद्घाटन भएको छ ।
शिवसताक्षी नगरपालिकाको महिला लक्षित बजेटको आर्थिक सहयोग तथा पाथीभरा प्रोफेशनल एजुकेशन दमक १० को प्राविधिक सहयोग र ढाका बुनाई तालिम उपभोक्ता समिति शिवसताक्षी ३ को आयोजनामा वडा भरीका ५० जना भन्दा महिला सहभागी रहेको तालिमको नगरपालिकाका कार्यकारी अधिकृत हरिप्रसाद गुरागाईले उद्घाटन गरेका थिए ।

औषधी व्यवसायीको स्थापना दिवश

दमक । नेपाल औषधी व्यवसायी संघको ४२ औ स्थापना दिवसका अवसरमा विहीबार दमकका अन्तरक्रिया र फलफूल वितरण कार्यक्रम सम्पन्न भएको छ ।
 कार्यक्रमका प्रमुख अतिथि आम्दा अस्पतालका मेडिकलसुपरिडेन्ट डाक्टर नविन ढकालले स्वाथ्य क्षेत्रमा सलंग्न व्यवसायीहरु सधै संवेदनशील हुनुपर्नेमा जोड दिएका छन् । ढकालले स्वास्थ्य क्षेत्रमा संलग्न पेशाकर्मीहरुवीच एकता हुन जरुरी रहेको औल्याएका छन् ।
कार्यक्रममा संघकाअध्यक्ष सुर्यप्रसाद कोइराला, पूर्व केन्द्रीय सदस्य राजेन्द्र ढकाल लगायतकाले समेत बोलेका थिए । त्यस अवसरमा शाखाबाट संघको केन्द्रीय समितिमा मनोनित हुने थोकतर्फका गौतम गुप्ता, खुद्राबाट सुरेन्द्र प्रधान, कञ्चन शर्मा र नेटवर्किङ तथा वुलेटिन प्रकाशन केन्द्रीय उपसमिति सदस्यमा अनिल सुवेदीलाई बधाई तथा कार्यकालको शुभकामना दिएको थियो । सोही अवसरमा आम्दा अस्पतालका करिव १ सय बढी विरामीहरुलाई फलफूल वितरण गरिएको संघका सदस्य अनिल सुवेदीले बताए ।

प्रशिक्षार्थी चिकित्सक र प्रहरीबीच झडप

विराटनगर । मोरङको विराटनगरस्थित नोवेल मेडिकल कलेजमा अध्ययनरत प्रशिक्षार्थी चिकित्सक र प्रहरीबीच बिहीबार झडप भएको छ ।
इन्टर्नसिपमा काम गरिरहेका प्रशिक्षार्थी डाक्टरहरुले श्रम शोषणको विरोधमा जारी राखेको धर्नामाथि प्रहरीले हस्तक्षेप गर्दा दर्जन बढी घाइते भएका छन् भने प्रहरीले २० जनालाई पक्राउ गरेको छ ।
नोबेल मेडिकल कलेजमा एमवीवीएस अध्ययन गरेका सन् २०१० ब्याचका विद्यार्थीहरु एक सातादेखि  आन्दोलनमा छन् । उनीहरुले कलेज प्रशासन समक्ष इन्टर्न समयमा गर्ने श्रमको उचित पारिश्रमिक दिनुपर्ने र भर्ना भएको बेला राखेको धरौटी रकम फिर्ता गर्नुपर्ने माग राखेका थिए । आफ्ना सुनुवाई नभएछि अस्पतालको ओपीडी सेवामा तालाबन्दी गरेर धर्नामा बसेका प्रशिक्षार्थीमाथि प्रहरीले अन्दाधुन्द लाठीचार्ज गरेको थियो ।
प्रशिक्षार्थी चिकित्सकहरुले अन्य मेडिकल कलेजले इन्टर्नमा श्रम गर्नेहरुलाई न्युनतम ७ हजारदेखि १२ हजार रुपैंयाँसम्म पारिश्रमिक दिने गरेको भन्दै सोही अनुसार पारिश्रमिक दिन माग गरेका थिए । नाबेलले भने मासिक ३ हजार ८ सय रुपैयाँ मात्र दिने गरेको छ । प्रहरीले धर्नामा बसेका चिकित्सकहरुमाथि हस्तक्षेप गर्ने क्रममा अस्पतालका बरिष्ठ चिकित्सकहरु पनि घाइते भएका छन् । जथाभावी बल प्रयोग भएपछि नोबेलमा कार्यरत अन्य चिकित्सकहरुले पनि प्रशिक्षार्थीहरुकोे आन्दोलनलाई
समर्थन गर्दै कालोपट्टी बाँधेर काम थालेका छन् । उनीहरुले कलेज प्रशासनले अस्पतालभित्र प्रहरी प्रवेश गराएकोमा आपत्ती जनाएका छन् ।
कलेजमा झडप भएपछि बिभिन्न विद्यार्थी संगठनहरुले अस्पताल प्रशासनको विरोध गरेका छन् । उनीहरुले माग पुरा नभए सशक्त आन्दोलन अघि बढाउने तयारी गरिरहेका छन् । नोवेल मेडिकल कलेजमा अहिले १ सय २४ जना प्रशिक्षार्थी चिकित्सकहरुले इन्टर्नसिप गरिरहेका छन् ।
उता, मेडिकल शिक्षामा उत्कृष्ट नतिजा ल्याएको दावी गर्ने सो कलेजका एमबीबीएस तेस्रो वर्षमा अधिकांश विद्यार्थी अनुत्तीर्ण भएका छन् । नतिजामा नोबेल मेडिकल कलेजनका १४ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । आवश्यक भौतिक पूर्वाधार पुरा नगरी पहुँचका अधारमा १ सय ५० जना विद्यार्थीलाई एमबीबीएस पढाउने सम्बन्धन पाएका नोबेलले २२ जना विद्यार्थी मात्र उत्तीर्ण गराएको छ ।
पूर्वाधार विना ठूलो संख्यामा विद्यार्थी पढाउने सम्बन्धन लिएको भन्दै नेपाल मेडिकल काउन्सिलले नोबेलको कोटा कटौती गरेपनि कार्यान्वयन हुन सकेको छैन ।

विद्यार्थी संगठनद्वारा मेला बन्द

दमक । काठमाडौंका शैक्षिक परामर्श दिने संस्था रेञ्ज कन्सल्टेन्सीले दमकमा लगाएको शैक्षिक मेला विभिन्न ३ विद्यार्थी संगठनको टोलीले बिहिबार बन्द गराएको छ ।
अखिल क्रान्तिकारीको तर्फबाट बिपिन बस्नेत अग्रगामी विद्यार्थी युनियनका मनकुमार लिम्बु र राप्रवि संघका भरत दुलाल सहितको टोलीले दमकमा लाग्दै गरेको शैक्षिक मेला बन्द गराएका हुन् ।
विद्यार्थीलाई राम्रा राम्रा कलेजको आश्वासन देखाएर ठगी गर्ने प्रविधि बढेको भन्दै मेला बन्द गरिएको अखिल क्रान्तिकारीका जिल्ला सचिवालय सदस्य बिपिन बस्नेतले बताए ।
पछिल्लो समय झापाका बिभिन्न स्थानमा शैक्षिक परामर्श केन्द्रले भारतका बिभिन्न स्थानमा रहेका कलेजको विज्ञापन गर्न यस्ता मेला लगाउने गरेका छन् । संयुक्त विद्यार्थी संगठनले ठगीका बिषयमा पटक पटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदा पनि चासो नदिएको भन्दै मेला बन्द गर्न बाध्य भएको राप्रवि संघका भरत दुलालले बताए ।
‘यस्ता संस्थाले विद्यर्थीको भविष्य अन्योलमा पारेको छ कि त विद्यार्थीको त्यहाँ गइ पढेर नआएसम्मको जिम्मा लिनु पर्छ, होइन भने भ्रमात्मक प्रचार गर्न पाइदैन’।– क्रान्तिकारीका बस्नेतल भने ।

राखेपको सदस्य सचिवमा विष्ट

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य–सचिवमा केशव विष्ट बिहीबार नियुक्त भएका छन् । युवा तथा खेलकुद मन्त्री एवम् राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष पुरुषोत्तम पौडेलले विष्टलाई नयाँ सदस्य–सचिव नियुक्त गरेका हुन् ।
एमालेका तर्फबाट मन्त्री बनेका पौडेलले आफ्नै पार्टीका विष्टलाई  राष्ट्रिय खेलकुद विकास ऐन २०४८ अनुसार सदस्यमा बिहीबारै नियुक्त गरी सदस्य–सचिव बनाएका हुन् । मन्त्री पौडेलले राजेन्द्र श्रेष्ठ र समिउल्लाहलाई पनि राखेपको सदस्यमा नियुक्त गरेका छन् । विष्ट एमालेमा नेता माधवकुमार नेपाल निकट मानिन्छन् । जेठ २८ मा युवराज लामाको कार्यकाल सकिएपछि मन्त्री पौडेलले सकुन्तला नगरकोटीलाई निमित्त सदस्य–सचिवको जिम्मेवारी दिएका थिए ।

लागू औषध सहित ४ पक्राउ

दमक । झापा प्रहरीले ठूलो परिमाणको लागू औषध सहित ३ भारतीय सहित ४ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा, झापा टाघनडुव्वा २ का २० वर्षीय कलिम अन्सारी, भारतको विहार राज्य, किशनगन्ज जिल्ला, दिघलवैङ्क थानास्थित बालुवाडी ९ का १९ वर्षीय अन्जर अन्सारी, बालुवाडी ३ का २४ वर्षीय चन्दन राजवंशी र बालुवाडी २ का १८ वर्षीय सनोज कुमार सिंह रहेका छन् ।  
भारतको दिघलवैङ्क सिमाना बजारबाट ठूलो परिमाणमा लागु औषध खरिद गरी नेपालतर्फ ल्याउदै गरेको भन्ने विशेष सूचनाको आधारमा खटिई गएको प्रहरी गस्ति टोलीले झापा कुमरखोद सुरुङ्गा सडकखण्डबाट उनीहरुलाई पक्राउ गरिएको झापा प्रहरीले बुधबार जनाएको छ । उनीहरुको साथबाट लागू औषध कोरेक्स, रेस्काप सहित २ वटा मोटरसाइकल बरामद गरिएको छ ।

झापाका दर्जनौं सहकारीको अवस्था “कहालिलाग्दो”

– गोपाल काफ्ले
झापा । जिल्लामा सञ्चालित धेरै सहकारीले सहकारी ऐन २०४८, सहकारी नियमावली २०४९ र सहकारी मापदण्ड २०६८ बर्खिलाप हुने गरी आफ्नो संस्था चलाइरहेको पाइएको छ ।
१ करोडदेखि ५ करोड रुपैयाँसम्मको कारोबार गर्ने जिल्लाका १ सय १० वटा सहकारीमध्ये चालू आर्थिक वर्षमा ७० वटामा सघन निरीक्षण गर्दा यस्तो अवस्था पाइएको हो ।
डिभिजन सहकारी कार्यालय झापाका प्रमुख माधवप्रसाद पोखरेलका अनुसार ठूलो ‘भोल्यूम’मा कारोबार गरिरहेका सहकारीहरुसँग धेरै मानिसको सम्बन्ध जोडिने भएकाले सानोतिनो गल्ती भइहाले पनि बेलैमा सच्याउन सहयोग होस् भनी डिभिजन कार्यालयले मसिनो गरी निरीक्षण गर्दा ‘कहालीलाग्दो अवस्था’ पाइएको हो । ‘पछिल्लो चरणमा हामीले ७० वटाको निरीक्षण गर्यौं ।’– सहकारी अधिकृत पोखरेलले भने–‘अधिकांशमा यति धेरै समस्या, विकृति र विसंगति भेटियो कि सहकारी भन्नै नसकिने गरी नीति, नियम, मापदण्डको धज्जी उडाइएको छ ।’
सहकारी अधिकृत पोखरेलले थपे– ‘कतिपय सहकारीका सञ्चालकले आफ्नै संस्थाको विनियमको पालना नगरी सबैजसोले ऋण लिएको पाइयो, जबकि ४९ प्रतिशतभन्दा बढीले एकैपटक ऋण लिन पाइँदैन ।’ उनले कतिपयमा संस्थाको अध्यक्ष, सचिव, कोषाध्यक्ष, सदस्यलगायत पदमा बस्ने र मासिक तलब बुझेर दैनिक काम सञ्चालन गर्ने गरेको पाइएको पनि जनाए । ‘सञ्चालकमध्ये कुनै एकजनाले कार्यकारी भएर सुविधा लिन मिल्ने भए पनि एकभन्दा बढीले तलब वा यस्तै केही नाममा रकम बुझेका छन्, जुन सहकारी ऐन, नियम र मापदण्डसँग नमिल्ने कार्य भइरहेको छ ।’–उनले अवस्था दर्शाए ।
‘कहालीलाग्दो अवस्था’का बारेमा प्रष्ट्याउँदै अधिकृत पोखरेलले भने– ‘ऋण लगानी गर्दा ३ प्रतिशतसम्म सेवा शुल्क लिने गरिएको छ । सहकारी संस्थाको सदस्य बनाउन, बचत संकलन गर्न, ऋण उठाउन कमिशन दिने गरी कर्मचारीका नाममा बिचौलियाको उत्पादन गरिएको छ । गैर ब्यक्ति कारोबार बढेको छ ।’ उनले अनुगमन गरिएका ७० वटा सहकारीमा एकवटादेखि २ सय ४८ वटासम्म संस्थागत सदस्यता दिएको पाइएको छ । आफूलाई सहकारी संस्थाको पदाधिकारी–सदस्य दावी गर्ने तर विनियममा कहीँकतै उसको नाम उल्लेख नै छैन । ‘अब भन्नोस् यी सबै विकृति र विसंगतिहरु हुन् कि होइनन् ?’– पोखरेलले जिकिर गरे ।
१० लाख रुपैयाँभन्दा माथिको ऋण लगानी गर्दा संस्थाको कर्जा समितिले मूल्याङ्कन गरी लगानी गर्ने गरिएको छ तर मापदण्डमा संस्थागत मूल्याङ्कनकर्ताबाट गर्नुपर्छ भनिएको छ । बोनष कोषमा भएभन्दा धेरै रकम स्वास्थ्य उपचार, तालिम, शिक्षाजस्ता नाममा खर्च गरिएको हुन्छ । सहकारी संस्थाका सञ्चालकहरु नै नियमित बचत गर्दैनन् । ‘सहकारीका लागि माथि उल्लेखित सबै कुरा विधिसम्मत छैनन् र होइनन्, यसैले यो कहालीलाग्दो अवस्थामा पुगेको आभाष मिलेको हो’ अधिकृत पोखरेलले दावी गरे ।
हरेकजसो संस्थामा दुई दिनदेखि सात दिनसम्म लगाएर माथिका विवरण र तथ्याङ्क सङ्कलन गरिएको बताउँदै पोखरेलले सबै संस्थाका गलत क्रियाकलापका बारेमा टिप्पणी उठाएर सुझाव दिइएको बताए । हालसम्म गलत भएका र सच्याउन मिल्ने विषयहरु साधारणसभामा छलफल गरी सच्याउन निर्देशन दिइएको बताउँदै पोखरेलले यदि यही प्रकरण फेरि दोहोरिएमा आगामी आर्थिक वर्षमा कारवाहीको प्रक्रियामा लैजाने चेतावनी दिए । ‘कहालीलाग्दो अवस्था’मा पुगेका सहकारीहरुको नाम भनें हाल सार्वजनिक गरिनहाल्ने बताउँदै उनले भने “कमजोरीहरु पाइएका संस्थाहरुलाई सच्चिने अवसर दिइएकालेतत्कालै तिनीहरुको नाम उल्लेख गर्न मिल्दैन ।’
कतिपय संस्थाहरु सहकारी संघका नेतृत्वमा पुगेका जिम्मेवारहरुकै रहेको पनि सघन निरीक्षण अनुगमनमा खटिएका अधिकारीहरुले बताएका छन् । सघन निरीक्षणका लागि अधिकृत पोखरेलसहित नासु डिल्ली दाहाल, वशिष्ट अधिकारी, बद्री दाहालले झण्डै एक वर्षदेखि क्रियाशील रहेको बताइएको छ ।
 ‘सहकारीका ऐन, नियम, मापदण्डहरुको पालना गर्ने र काम कारवाहीलाई रचनात्मक बनाउनु पर्नेहरु कै संस्थाले पनि यस्ता गल्ती र कमजोरीहरु गरिरहेको पाइएकाले अब नसच्याउने हो भने कारबाहीको भागिदार बन्नुपर्ने निश्चित छ ।’– पोखरेलले गम्भीर शैलीमा सुझाए । (साझामञ्च)

नोेवेल अस्पताल विरुद्ध विद्यार्थी आन्दोलित, बिद्यार्थीलाई होस्टलबाट निकालियो

विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ अस्पताल विराटनगरले एमवीवीएस सकेर भर्खरै इन्टर्नसिप थालेका १ सय २४ जनालाई कलेजले होस्टलबाट समेत निकालेपछि त्यहाँका विद्यार्थीहरु आन्दोलित भएका छन् ।
असार १ गतेदेखि नोबेलमा सुरू भएको इन्टर्नसिप विद्यार्थीको आन्दोलन आइतबार पनि जारी छ । कलेजले असार ३ गते एउटा सूचना प्रकाशित गरी एमवीवीएस पाँचौं ब्याजका इन्टर्नसिप विद्यार्थी डाक्टरलाई होस्टेल खाली गराउन उर्दी गरेको थियो । अन्य मेडिकल कलेजले दिने गरेको बराबर पारिश्रमिक सुविधा दिन माग गर्दा एमवीवीएस सकेर इन्टर्नसिप थालेका पाँचौं ब्याचका विद्यार्थीहरुले कोर्स सकेर इन्टर्नसिप सुरू भएको एक महिनामात्र पुगेको थियो । इन्टर्नसिप नसकिँदै घर फर्किन दबाब परेपछि विद्यार्थीहरु आफ्नो भविष्यमा संकट सिर्जना गरिएको भन्दै आन्दोलनमा उत्रिएका छन् । 
विद्यार्थी डाक्टरले काठमाडौं विश्वविद्यालयका सहायक डिन डा. राजेन्द्र कोजुलाई आइतबार विहान आफ्ना समस्या सुनाएका छन् । ‘उहाँले भिसी सरसँग कुरा राखिदिउँला भन्नुभएको छ,’ विद्यार्थी गणेश फुलाराले भने, ‘हाम्रो भविष्य यतिखेर भड्खालोमा पर्न आँटेको छ ।’ फुलाराले चार वर्ष लगाएर एमवीवीएस कोर्स सकिएपनि मागेको अन्य मेडिकल कलेजले इन्टर्नसिपका विद्यार्थीलाई दिएसरह पारिश्रमिक मात्र मागेको सुनाए ।  ‘त्यही निहुँमा कलेज प्रशासनले हामीलाई तीन दिनयता होस्टेल छिर्न दिएको छैन,’ उनले भने, ‘हामी बाहिरबाहिरै दिनरात कटाइरहेका छौ ं।’ 
उनका अनुसार नोबेल बाहेक अन्य मेडिकल कलेजले इन्टर्नसिपका विद्यार्थी डाक्टरलाई मासिक ८ हजारदेखि १२ हजार रूपैयाँसम्म पारिश्रमिक दिने गरेको छ । नोबेल अस्पतालले ४ हजार रूपैयाँमात्र दिने गरेको छ । त्यसैगरी भर्ना भएको समयमा सेक्युरिटी बापत ५०  हजार रूपैयाँ धरौटी कलेजले लिएको थियो । कानुनतः कोर्स सकिएपछि यो रकम फिर्ता दिनुपर्ने हुन्छ । नोबेल कलेजसँग पारिश्रमिकसँगै धरौटी रकम उनीहरुले फिर्ता मागेका थिए । तर कलेजले फिर्ता गराउनुको सट्टा ‘सर्टिफिकेट’मा ‘ब्याड’ लेखिदिने धम्की दिएको फुलाराले आरोप लगाए । ‘सूचना टाँसेपछि कलेज आफैंले होस्टल छिर्न दिएको छैन, हामी चर्को गर्मीमा होस्टलबाहिर दिनरात काटिरहेका छौं,’ काठमाडौं सुमिना ढकालले भनिन्, ‘बिजोग भएको छ, कलेज प्रशासनले हाम्रो मागप्रति ध्यान दिएको छैन ।’ 
 विद्यार्थी डाक्टरबाट आगामी मंसिर महिनासम्मको लागि छात्राबास खर्चबापत ६४ हजार यसअघि नै कलेज प्रशासनले भुक्तानी लिइसकेको छ । काठमाडौं विश्वविद्यालय, मेडिकल काउन्सिल, शिक्षा मन्त्रालय 
सबैले जुन कलेजमा पढेको हो त्यही कलेजमा इन्टर्नसिप गर्न पाउने व्यवस्था गरेका छन् । अस्पतालका मेडिकल डाइरेक्टर डा. राजेश नेपालले विद्यार्थीहरूले अस्पतालमा अवरोध पुर्याउने गतिविधि गरेकाले उनीहरुलाई कलेजमा राख्न नसक्ने निर्णयमा पुगेको दाबी गरे । प्रबन्धक नारायण दाहालले इन्टर्नसिप विद्यार्थीको माग जायज नभएकाले पूरा गर्न नसकेको बताएका छन् । उनले इन्टर्नसिप विद्यार्थीलाई तलब दिने व्यवस्था नभए पनि दिइरहेको तर विद्यार्थीले आन्दोलन गरेको बताए । यता मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले विद्यार्थीमाथि परेको अन्यायबारे ध्यानाकर्षण भएको बताएका छन् ।

नेता शिक्षकको विद्यालयमा एसएलसी नतिजामा सुधार

दमक । झापाका नेता शिक्षकहरूले पढाउने विद्यालयको नतिजा गतवर्षभन्दा केही सुधार भए पनि सन्तोषजनक देखिएको छैन । शुक्रबार प्रकाशित एसएलसी नतिजा अनुसार नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष नेत्र खरेलले पढाउँदै आएको महेन्द्ररत्न उमावि विर्तामोडले ४५ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । त्यहाँ ११ जना प्रथम, २२ जना दोस्रो र १ जना विद्यार्थी तेस्रो श्रेणीमा पास भएका छन् । गत सालको एलएलसीमा २७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन झापाका अध्यक्ष बुद्धिमान कार्कीको विद्यालय गौरादह उच्च माविबाट ४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । प्रथम श्रेणीमा ९ जना, दोस्रो श्रेणीमा ३५ जना विद्यार्थी उत्तीर्ण भएको सो विद्यालयका प्रधानाध्यापक कार्कीले बताए । 
नेपाल शिक्षक युनियन झापाका अध्यक्ष तेजप्रसाद चौलागाईँले पढाउँदै आएको धुलाबारी उमाविमा ३९ दशमलव ६८ प्रतिशत विद्यार्थी (प्राविधिक विषयका विद्यार्थी समेत) उत्तीर्ण भएका छन । उनी त्यहाँका सहायक प्रधानाध्यापक हुन् । शिक्षकहरूको छाता सङ्गठन नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य नारायण गौतमको विद्यालयले २० प्रतिशत नतिजा ल्याएको छ । उनी सहिद धर्मभक्त उच्च मावि केर्खाका शिक्षक हुन् । त्यस विद्यालयमा प्रथम श्रेणीमा २ जना र दोस्रो श्रेणीमा ११ जना पास भएका छन् । शैक्षिक गणतान्त्रिक मञ्च (एन्टो) झापा अध्यक्ष शिवराज राजभण्डारीको विद्यालयबाट २८ प्रतिशत पास भएका छन् । राजभण्डारी  सरस्वती मावि पृथ्वीनगरका प्रधानाध्यापक हुन् । गत वर्ष यो विद्यालयबाट २३ प्रतिशत पास भएका थिए । मधेसी शिक्षक युनियन झापाका अध्यक्ष वीरेन्द्रप्रसाद गुप्ताले अध्यापन गराउँदै आएको शनिअर्जुनस्थित लक्ष्मी माविले ६३ दशमलव ६३ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको छ । प्रथम श्रेणीमा १ जना, दोस्रो श्रेणीमा १८ जना र तेस्रो श्रेणीमा २ जना उतिर्ण भएको सो विद्यालयका उनी प्रधानाध्यापक हुन् । लक्ष्मी माविको गत वर्षको एलएलसीको उत्तीर्ण नतिजा १६ प्रतिशत रहेको थियो ।

फेल भएपछि चार जनाद्वारा आत्महत्या

काठमाडौ । एसएलसी परिक्षामा असफल भएका कारण तीन दिनको अवधिमा चार जनाको ज्यान गएको छ । रुपन्देही, तनहुँ, मोरङ र धादिङमा तीनजनाले झुण्डिएर तथा बिष सेवन गरी आत्महत्या गरेका छन् । 
रुपन्देही बुटवल नगरपालिका–८ बस्ने १७ बर्षीया ममता पभरले शुक्रबार साँझ विष सेवन गरी आत्महत्या गरिन् । एसएलसी परिक्षाको नतिजा आउनासाथ सेवन गरेकी उनको किम्सन अस्पताल मणिग्राममा उपचारकै क्रममा मृत्यु भएको थियो । यसैगरी, तनहुँको भानु गाविस वडा नम्बर २, तिलहार बस्ने १७ बर्षीया मनिषा पाण्डेको पनि एसएलसीमा फेल भएकै कारण ज्यान गएको छ । एसएलसीं परिक्षामा असफल भएका कारण घरमा झुण्डिएर शनिबार उनले आत्महत्या गरेकी हुन् । यसैगरी धादिङ मैदी–८ देविस्थान 
बस्ने १७ बर्षीय सुनिल भारतीले पनि शुक्रबार एसएलसींको नतिजा सार्वजनिक भएपछि आत्महत्या गरे । उनी देवीस्थानको केराबारी जंगलको रुखमा डोरीको पासो लगाई झुण्डिएर मृत्यु भएको अवस्थामा फेला परेका थिए । यता, फेल भएपछि निराश बनेकी मोरङ उर्लाबारीकी–७ की १७ वर्षीया लक्ष्मी खड्काले शुक्रबार साँझ घरमै झुन्डिएर आत्महत्या गरेकी थिइन् ।

३,१५० अस्थायी टहरा बनायो कांग्रेसले

काठमाडौं । कांग्रेसले महाभूकम्प पीडितका लागि प्रभावित क्षेत्रमा ३ हजार १ सय ५० अस्थायी टहरा निर्माण गरेको जनाएको छ । कांग्रेसका भूकम्प प्रभावित विभिन्न जिल्लाहरुमा खटिएको टोलीले श्रमदानबाट ३ हजार १ सय ५० टहरासँगै  १ हजार १ सय २५ भग्नावशेष हटाइएको, १ हजार ८५ विद्यालय कक्षा कोठा, एउटा मन्दिर र १० वटा सामूदायिक भवन निर्माण गरेको जनाएको छ । कांग्रेस अभियानमा १५ हजार सहभागी भएको आइतबार पार्टी कार्यालय सानेपामा भएको पत्रकार सम्मेलनमा प्रवक्ता दिलेन्द्रप्रसाद बडुल जानकारी दिए । उनका अनुसार श्रमदानमा झापादेखि कञ्चनपुरसम्मका तराई क्षेत्रका विभिन्न जिल्लाहरुबाट पार्टी, भातृ एवं शुभेच्छुक संस्थाका नेता कार्यकर्ता खटिएका छन् । नेपाली कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले भूकम्पपछि ‘कस्ता वस्ती, कस्ता घर’  विषयक अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ । यसैबीच कांग्रेसको भूकम्प पीडित राहत कोषमा हालसम्म १ करोड ६४ लाख ३९ हजार ९ सय २९ रुपैयाँ जम्मा भएको छ ।

विश्व खाद्यलाई कारबाही गर्न सरकारको निर्देशन

काठमाडौं । सरकारले भूकम्पपीडितलाई राहतका नाममा गुणस्तरहीन चामलसहितका खाद्यान्न बाँड्ने विश्व खाद्य कार्यक्रममाथि कारबाही चलाउन निर्देशन दिएको छ । प्रधानमन्त्रीको कार्यालयका सचिव शान्तराज सुवेदीको कार्यालयमा आइतबार भएको सरोकारवालाबीचको छलफलपछि विश्व खाद्यले बाँडेका खाद्यान्नको यथाशीघ्र परीक्षण गरी गुणस्तरहीन पाइएमा प्रचलित कानुन अनुसार हदैसम्म कारबाही गर्न निर्देशन दिइएको हो । गोरखाको लाप्राका लगायतका स्थानमा बाँडिएको चामल र पेयपदार्थको वाणिज्य विभाग र खाद्य प्रविधि तथा 
गुण नियन्त्रण विभागले तीन दिनभित्र परीक्षण गरी गुणस्तरहीन पाइएमा कारबाही चलाएको जानकरी प्रमको कार्यालयलाई दिन पनि बैठकले निर्देशन दिएको छ । गुणस्तरहीन खाद्यान्न बाँड्नेलाई असारत २ गते नै कारबाहीको निर्देशन दिइएसकिएको छ । भूकम्प प्रभावितक्षेत्रमा विश्व खाद्यबाट वितरित चामल गुणस्तहीन र मानव स्वास्थ्यलाई हानिकारक पाइएको गुनासो आइरहेका छन् ः सचिव सुवेदीले भने ः कृषि मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, गृह मन्त्रालय, वाणिज्य विभाग एवं खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका पदाधिकारीसँग छलफलमा खाद्य सामग्रीको परीक्षण गरी अखाद्य र गुणस्तरहीन पाइएमा हदैसम्म कारवाही गर्न निर्देशन दिइएको छ ।


गोदाममा कुहिएको दाल

नेपालगन्ज । विपद् व्यबस्थापन अनुगमन तथा निर्देशन बिशेष समितिले आइतबार बाँकेमा रहेका विश्व खाद्य कार्यक्रमका गोदामहरु निरिक्षण गर्दा कुहिएको दाल फेला पारेको छ । कपास विकासको गोदाममा रहेको ५ सय १४ टन केराउको दाल अखाद्य भेटिएको हो । बाँकेका ३ वटा 
गोदाममध्ये खजुरा कपास बिकास समितिको हातामा रहेको गोदाममा गुणस्तरहीन खाद्यान्न फेला परेको अनुगमन समितिका संयोजक तथा सभासद् सन्जय गौतमले बताए । ‘कुहिएको दाल फेला परेको छ,  त्यस्तो दाल कसरी आयो अध्ययन  गर्दै छौं,’ उनले भने ।

प्राधिकरण अध्यादेश सिफारिस, अध्यक्ष प्रधानमन्त्री नै

काठमाडौं । सरकारले ‘भूकम्पबाट भएको क्षतिको पुनर्निर्माण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ राष्ट्रपतिसमक्ष सिफारिस गरेका छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले पुनर्निर्माण प्राधिकरण अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको उद्योग मन्त्री महेश बस्नेतले जानकारी दिए ।
प्राधिकरण गठन प्रक्रियामा सत्तारुढ कांग्रेस र एमालेबीच नै मतैक्यता थिएन । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा अध्यादेशमार्फत प्राधिकरण गठन गर्ने सहमति भएको थियो । एमाले स्थायी कमिटी बैठकले शनिबार अध्यादेश संसदबाट ल्याउनुपर्ने प्रस्ताव अघि सारेको थियो । तर, कांग्रेसले एमालेले भने बमोजिम अध्यादेश सच्याउन तयार भएपछि एकाएक सहमति भएको थियो ।

यस्तो छ पुनर्निर्माण संयन्त्र
पुनःनिर्माण परामर्श राष्ट्रिय समिति र पुनर्निर्माण प्राधिकरण दुवैको अध्यक्षता प्रधानमन्त्रीले गर्नेछन् । परामर्श राष्ट्रिय समितिमा सबै मन्त्रीहरु सदस्य रहने छन् । व्यवस्थापिका संसदका विपक्षी दलका नेता सदस्य रहने छन् । पुर्व प्रधानमन्त्रीहरुलाई पनि परामर्श समितिको सदस्यमा राखिएको छ । संविधानसभामा प्रतिनिधत्व गर्ने सबै राजनीतिक दलका प्रमुखहरु पनि यस समितिको सदस्य हुने अध्यादेशमा व्यबस्था गरेको स्रोतले बतायो । 
यसको एक तहमुनि प्रधानमन्त्रीकै अध्यक्षतामा पुनर्निर्माण प्राधिकरण हुने छ । प्रधिकरणमा ४ बर्षे कार्यकालका लागि प्रमुख कार्यकारी निर्देशक (सिईओ) हुनेछन् । उनलाई प्रधानमन्त्रीले चाहेमा हटाउन सक्नेछन् । मुख्य सचिव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रमुख कार्यकारी अधिकृत र केही मन्त्री प्राधिकरणको सदस्य रहने छन् । प्राधिकरण र अध्यादेशका रुपमा आउने ऐन पाँच बर्षे अवधिको हुने छ । नेपाल सरकारले चाहेमा यसको अवधि एक बर्ष थप्न सक्ने व्यबस्था गरिएको छ । उक्त स्वरुपको संचनाप्रति प्रमुख प्रतिपक्ष दल एमाओवादीले भने बिमति राखेको छ । प्रधानमन्त्री परामर्श समितिको मात्रै अध्यक्ष र अर्को तहमा छुट्टै व्यक्ति संयोजक वा अध्यक्ष हुनुपर्ने अवधारणा माओवादीले अघि सारेको थियो । सार्वजनिक खरिद, वातावरण र जग्गा प्राप्ति ऐन प्राधिकरण्का लागि आकर्षित हुने छैनन् ।

पूर्वी मोरङमा राष्ट्रनिर्माण अगाडी

उर्लाबारी । एलएलसीमा पूर्वी मोरङबाट इटहरामा रहेको राष्ट्रनिर्माण सेकेण्डरी बोर्डिङ स्कुलले सबैभन्दा धेरै विशिष्ट श्रेणी ल्याएको छ । उर्लाबारी क्षेत्रमा रहेको ठूला भनिएका नीजि विद्यालयलाई समेत पछार्दै ग्रामिण क्षेत्र इटहरा १ सोमबारेमा रहेको राष्ट्रनिर्माण विशिष्ट श्रेणीमा उत्कृष्ट अंकसहित शतप्रतिशत विद्यार्थी उतिर्ण गराएको हो । राष्ट्रनिर्माणबाट परीक्षामा सहभागी २७ जनामध्ये ८ जान विशिष्ट श्रेणी र अरु १९ जना सबै प्रथम श्रेणीमा उतिर्ण भएको विद्यालयका प्रिन्सिपल विश्वास ढकालले जानकारी दिए । ढकालले पूर्वी मोरङमा आफ्नो विद्यालयको विशिष्ट श्रेणी सबैभन्दा धेरे रहेको दावी गरे । राष्ट्रनिर्माणबाट गत वर्षहरुमा पनि बिशिष्ट श्रेणी सहित शतप्रतिशत विद्यार्थी उतिर्ण भएका थिए ।

एमाले कार्यकर्तालाई सञ्चार प्रशिक्षण

धुलाबारी । नेकपा एमालेका वैकल्पिक पोलिटव्यूरो सदस्य एवं झापा क्षेत्र नं. १ का सभासद् रविन कोइरालाले सूचना विनाको समाज अब परिकल्पना गर्न नसकिने बताएका छन् । २२ औं द्रेणचार्य क्षेत्री स्मृति दिवसको अवसरमा आइतबार धुलाबारीमा नेकपा एमाले झापा जिल्ला प्रचार विभाग र प्रेस चौतारी झापाको संयुक्त आयोजनामा क्षेत्रीयस्तरको सूचना तथा संचार अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै कोइरालाले यस्तो बताएका हुन् । उनले सूचनाको युगमा पार्टीका हरेक क्रियाकलापहरु आमसञ्चार माध्यमबाट सम्प्रेषित हुन सके कार्यकर्ता र जनताले सुसूचित हुन सहयोग मिल्ने बताए । एमाले झापा जिल्ला अध्यक्ष चिन्तन पाठक, जिल्ला कमिटी सदस्य तथा १ नं. क्षेत्रीय इन्चार्ज गोपाल बुढाथोकी, क्षेत्रीय अध्यक्ष अर्जुन पौडेल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा जिल्ला प्रचार विभाग प्रमुख माधव विद्रोही, प्रेस चौतारीका पूर्व अध्यक्ष गोपाल गड्तौला, प्रेस चौतारीका जिल्ला अध्यक्ष गोपाल काफ्ले, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहनकाजीले सहजीकरण गरेका थिए ।
अधिकांश सहभागीहरुले समाजमा भएका विविध गतिविधि र घटनालाई सञ्चार माध्यममा पुर्याउने सजिलो उपायको सम्बन्धमा जिज्ञासा राखेका थिए । जिज्ञासालाई सहजकर्ताहरुले आफूहरुले सहभागिता जनाएको पार्टी गतिविधिको जानकारी सञ्चारकर्मीलाई उपलब्ध गराउन सकियो भने समाचार सम्प्रेषण हुने सुझाए ।

गोलधापमा बुहारी पढाउने अभियान

गोलधाप । झापाको बिर्तामोडबाट झण्डै १० किलोमिटर दक्षिणमा रहेको गोलधाप गाविसमा छोरी र बुहारी पढाउन छोरी–बुहारी साक्षरता अभियान नै सञ्चालन गरिएको छ । छोरी नपढाउने अनि पढेका बुहारी खोज्ने समाजको विरोध गर्दै गोलधापका वासिन्दाले आफ्नै लगानीमा सामुदायिक क्याम्पस स्थापना गर्दै गाविसभित्रका सबै छोरी–बुहारीलाई शिक्षा अनिवार्य रुपमा दिने रित बसालेका छन् । विवाहपछि पढ्ने इच्छा भएका बुहारीले पढ्न नपाउने र बुहारी भएपछि उनीहरु घरायसी काममा नै रुमलिँदा परिवार शिक्षित नहुने भन्दै गोलधापका अगुवाले बुहारीलाई शिक्षा अनिवार्य बनाएको स्थानीयवासी तथा राजगढ गाविस सचिव तेजप्रसाद रेग्मीले बताए । छोरी–बुहारी पढाउन त्यहाँका अगुवाले २०६६ सालमा जनजागृति क्याम्पसको स्थापना गर्दै त्यस यता सो क्याम्पसमा छोरी र बुहारीलाई शिक्षा प्रदान गर्ने काम भइ आएको छ ।
चुलाचौकामा सधैँ व्यस्त रहने यहाँका अधिकांश बुहारी उच्च शिक्षा अध्ययनका लागि घरको काम छाडेर भए पनि नियमित रुपमा क्याम्पस जाने गरेका छन् । विसं २०७१ मा क्याम्पसले गोलधापवासीका घर घरमा गएर छोरी र बुहारी अनिवार्य पढाउनुहोस् भन्दै अभियान सुरु गरेपछि अभिभावकले समेत आफ्ना बुहारी तथा छोरीलाई नियमित रुपमा क्याम्पस पठाउने गरेको स्थानीय तेजप्रसाद रेग्मीले बताए । कक्षा ११ को परीक्षामा सामेल भएकी हल्दिबारी निवासी शर्मिला लामिछानेले परिवारकै सल्लाहले आफूले क्याम्पस पढ्न सुरु गरेको बताइन् । उनले भनिन् – “श्रीमानले पनि तिमी पढ भन्नुभयो अनि म क्याम्पस आउन थालेकी हुँ ।” राजगढ – ८ घर भई सोही क्याम्पसमा बिएड दास्रो वर्षमा अध्ययनरत रमा भण्डारीका अनुसार क्याम्पसमा अध्ययनका लागि छोरीहरुभन्दा पनि बुहारीहरु नियमित क्याम्पस आउने जाने गर्छन् । आर्थिक अवस्था कमजोर भएका लक्षित परिवारसम्म पुगेर सामुदायिक क्याम्पस सञ्चालक समितिका पदाधिकारीले उनीहरुलाई छात्रवृत्ति, पूर्ण छात्रवृत्ति प्रदान गरेर भए पनि शिक्षालाई अनिवार्य बनाएको जनजागृति क्याम्पस गोलधापका प्रमुख हरि संग्रौलाले उल्लेख गरे ।
 सामुदायिक क्याम्पस सञ्चालनार्थ आर्थिक अभाव भएको समयमा गत वर्ष पुराणको आयोजना गरी झण्डै रु ५५ लाख जुटाइएको थियो र अहिले सो क्याम्पसमा छोरी–बुहारीसहित ८० जना विद्यार्थीलाई शिक्षा प्रदान गर्दै आएको क्याम्पसका सूचना अधिकारी अर्जुन न्यौपाने बताउँछन् । उनका अनुसार क्याम्पसमा अधिकांश बुहारी अध्ययनरत छन् ।

एसएलसीमा ४७ दशमलब ४३ प्रतिशत उत्तीर्ण

– २१ हजार २४७ विशिष्ट श्रेणीमा, – ९० हजार १७६ प्रथम श्रेणी


काठमाडौं । यसवर्षको प्रवेशिका परीक्षा (एसएलसीको) को नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शुक्रबार दिउँसो २०७१ को एसएलसीको नतिजा सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले शुक्रबार दिउँसो सानोठिमीस्थित शिक्षा विभागको सभा हलमा नतिजा सार्वजनिक गरिएको जानकारी दिए ।
परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार नियमिततर्फ ४७.४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस अनुसार १ लाख ९२ हजार २ सय ६७ विद्यार्थी उत्तीर्ण भएका छन् । प्रकाशित नतिजा अनुसार परीक्षार्थीमध्ये नियमिततर्फ १ लाख ९२ हजार २ सय ४७ जना उत्तीर्ण भएका छन् । जसमध्ये छात्रतर्फ १ लाख ९ हजार ४३ र छात्रातर्फ ८३ हजार २ सय २४ जना उत्तीर्ण भएका छन् । विशिष्ट श्रेणीमा २१ हजार २ सय ४७ जना उत्तीर्ण भएका छन् । विशिष्टमा छात्रतर्फ १२ हजार ४ सय २६ छन् भने छात्रातर्फ ८ हजार ८ सय २१ छन् । प्रथम श्रेणीमा ९० हजार १ सय ७६ जना उत्तीर्ण भएका छन् । प्रथम श्रेणीमा छात्रतर्फ ५२ हजार ५ जना उत्तीर्ण भएका छन् भने प्रथम श्रेणीमा उत्तीर्ण हुने छात्राको संख्या ३८ हजार १ सय ७१ रहेको छ । त्यसैगरी दोस्रो श्रेणीमा छात्रतर्फ ४२ हजार १ सय ७६ र छात्रातर्फ ३४ हजार ३ सय ६ गरी कुल  ७६ हजार ४ सय ८२ जना उत्तीर्ण भएका छन् । तेस्रो श्रेणीमा ४ हजार ३ सय ६२ जना उत्तीर्ण भएका छन् । तेस्रो श्रेणीमा छात्रतर्फ २ हजार ४ सय ३६ जना उत्तीर्ण छन् भने छात्रा १ हजार ९ सय २६ छन् ।
यसैगरी ५ हजार ९९ ले परीक्षा छाडेका छन् भने १ हजार १ सय ९९ जना परीक्षार्थीको परीक्षा रोकिएको छ । ६ सय १२ जनाको परीक्षा रद्द भएको छ भने ८३ जनाको एक्स्पेल्ड भएको छ ।  गत वर्ष ४३.९२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
परीक्षा गत वर्ष चैत ५ देखि १३ गतेसम्म सञ्चालन भएको थियो । गत वर्ष जेठ ३० गते नतिजा सार्वजनिक भए पनि यसवर्ष भूकम्पले गर्दा केही ढिला भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । एसएलसीको नतिजा हेर्न नेपाल टेलिकमको १६०० डायल गरी सम्बन्धीत परीक्षार्थीले आफ्नो सिम्बल नम्बर थिच्नुपर्ने छ । जसबाट नतिजाको परिणाम तत्कालै थाहा पाईनेछ ।
 यस्तै, नेपाल टेलिकम र एनसेल मोबाइलमा क्ीऋ ?कउबअभश्र सिम्बल नम्बर टाइफ गरी ५२२५ मा एसएमएस पठाएर परीक्षार्थीले एसएलसीको नतिजा तुरुन्तै थाहा पाउनेछन् । टेलिकम र परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटबाट पनि एसएलसी रिजल्ट हेर्न सकिने छ । शिक्षा मन्त्रालयको वेबसाइट धधध।mयभ।नयख।लउ, शिक्षा विभागको वेबसाइट धधध।मयभ।नयख।लउ, परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट धधध।कयअभ।नयख।लउ, नेपाल टेलिकमको वेबसाइट धधध।कअि।लतअ।लभत।लउ मा पनि परीक्षाको नतिजा हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
प्राविधिकतर्फको एक सातापछि
यस वर्षदेखि सुरु भएको प्राविधिकतर्फको प्रवेशिका परीक्षाको नतिजा भने एक साता ढिलो हुने भएको छ । श्रेणीकरण पद्धतिबाट प्राविधिक तर्फको नतिजा निकालिने परीक्षक नियन्त्रण कार्यालय प्रमुख द्वारेले बताए । आवश्यक तयारी नपुगेकाले प्राविधिक परीक्षाको नतिजा एक सात पछि धकेलिएको हो ।
सामुदायिकमा
३३.१८ प्रतिशत उत्तीर्ण
सामुदायिक विद्यालयतर्फ ३३.१८ प्रतिशत बिद्यार्थी
उत्तीर्ण भएका छन् । गत वर्ष  सामुदायीकमा २८.१९ प्रतिशत उत्तीर्ण भएका थिए ।
साउन २० देखि मौका परीक्षा
१ वा २ विषयमा मात्रै लागेका विद्यार्थीका लागि मौका परीक्षा साउन २० गते सुरु हुने पनि परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यसैबीच ग्रेडिङ अनुसार गरिने प्राविधिकतिरको नतिजा भने एक सातापछि मात्रै सार्वजनिक हुनेछ । प्राविधिकतर्फ सबै सहभागी उत्तीर्ण हुनेछन् ।