हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

ताप्लेजुङमा फेरि अर्को पहिरो, मेची राजमार्गमा यातायात ठप्प

ताप्लेजुङ / बुधबार झरेको पहिरोमा परेकाको उद्वार गरिनसक्दै  ताप्लेजुङमा फेरि अर्को पहिरो गएको छ । पश्चिमी क्षेत्रमा पहिरोले वितन्डा मच्चाए लगत्तै शुक्रबार राति पुर्वी क्षेत्रमा शुक्रबार राति पहिरो गएको हो । पहिरोले सबैभन्दा बढी सुरुम्खिम र खेवाङ, पेदाङ र याम्फुदिन लगायतका गाविसमा क्षति पुर्याएको स्थानीय बासिन्दाले बताएका छन् । शुक्रबार दिनभर अवरुद्ध मेची राजमार्गमा शनिबार बिहानै पहिरो खसेपछि यातायात साधन गुड्न सकेका छैनन् । ताप्लेजुङको खोक्सेखोला र कावेलीमा पहिरो खसेर बाटो अवरुद्ध भएपछि झापाको बिर्तामोड, इलाम र पाँचथरबाट ताप्लेजुङ आउने र ताप्लेजुङबाट झापा झर्ने गाडी बीच बाटोमै अलपत्र छन् ।
सुरुम्खिम निवासी खड्ग तिवारीका अनुसार पहिरोले सो क्षेत्रको थुप्रै संरचना, अलैंची बारी, पशुचौपाया र खेतीयोग्य जमीनमा क्षती पुर्याएको छ । पहिरो खोल्साहरु लेदोसहित बग्दा झन् त्रास बढेको छ । सुरुम्खिम माबि छेउबाट पहिरो गएकोले सो विद्यालय पनि खतरामा परेको उनले जनाकारी दिए । पहिरोले ठूलो क्षति गरेको जानकारी पाउनासाथ तेल्लोकबाट प्रहरी पठाइएको ताप्लेजुङका प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले बताए ।
३५ जनाको शव भेटियो
जिल्लाको पश्चिमी भेगमा बुधवार रातिको पहिरोमा पुरिएकामध्ये शुक्रवार साँझसम्म ३५ जनाको शव फेला परेको छ । जसमा २७ जनाको शव परिवारलाई बुझाइसकिएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएकामध्ये थिङलावु गाविसबाट मात्रै १७ जनाको शव निकालिएको छ । त्यस्तै लिवाङमा ९,  लिङतेपमा ६ र खोक्लिङमा तीनको शव भेटिएको छ । पहिरोमा अझै २६ जना वेपत्ता छन् ।  
हेलिकोप्टरबाट खोजी तथा उद्वार
वेपत्ताको खोजी, उद्धार र राहतका लागि शनिबार स्थानीयबासी प्रहरी परिचालित भए ।  प्रतिकुल मौसमले हेलिकोप्टर जान नसक्दा पहिरोपीडितले राहत पाउन सकेनन् । पहिरो प्रभावित क्षेत्रबाट सुरक्षित ठाउँमा सारिदिन भनिरहेका स्थानीय अझै पनि पहिरो प्रभावित क्षेत्रमा त्रासमा बाँचिरहेका छन् ।
रातभर खुल्ला आकाशमुनि बास
पहिरो प्रभावित वासिन्दाहरु रातभर डाँडा, पाखा र विद्यालयमा आश्रय लिएर बसिरहेको लिङ्तेपस्थित लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजकुमार दासले बताए । उनका अनुसार पहिरोले रामदुवाली लगायतका गाँउका बजार सबै खोलामा परिणत गरिदिएको छ । बाटो र पुल भत्काएकाले स्थानीयबासी वल्लो गाउँबाट पल्लो गाँउ पुग्न सकेका छैनन् । छिमेकी लिवाङमा थुप्रै मानिस पहिरोमा फसेपनि उद्धारकर्मी जान सकेका छैनन् ।


संखुवासभामा पहिरोले १ को मृत्यु, ४ बेपत्ता

संखुवासभा । संखुवासभामा पहिरोले पुरिएर एक जना महिलाको मृत्यु भएको छ । पाथीभरा–१ थाप्रुङकी ३२ वर्षीया सुकु तामाङको शनिबार दिउँसो गएको पहिरोले पुरिएर मृत्यु भएको हो । पहिरोले पुरिएर नुम र पाथीभरामा ४ जना बेपत्ता भएका छन् । पहिरोले पुरिएर उनको ३ बर्षीय छोरा बेपत्ता छन् । उनका अर्का छोरालाई सेनाले जिवितै उद्धार गरेको थियो । उनीहरुको नाम भने खुल्न सकेको छैन । सेनाको हेलिकप्टरले उद्धार गरेर ल्याएपछि उनको खाँदबारी अस्पतालमा उपचार भइरहेको छ ।
पहिरोले नै पुरिएर नुम गाविसको फ्याक्सिन्दामा एकै परिवारका ३ जना बेपत्ता भएका छन् । शुक्रबार राति घर माथिबाट पहिरो झरेपछि भाग्ने क्रममा ३२ बर्षिय रोशन तामाङ, उनका २८ बर्षीया श्रीमती उर्मिला तामाङ र १९ महिनाकी छोरी सुनिता तामाङ बेपत्ता भएको डीएसपी कमल थापाले बताए । पहिरोका कारण फ्याक्सिन्दाका १७ परिवारका ८१ जनाले गाउँ छाडिसकेका छन् । वेपत्ताहरुको खोजी जारी राखिएको छ । पहिरो गएपछि फ्याक्सिन्दामा रहेको अरुण नदीको पुलबाट आवतजावतमा समेत रोक लगाइएको छ । पहिरोले मकालु गाविस ६ याङदेममा ४ वटा घर बगाएको छ । घर बगाएपछि उनीहरु नजिकैको साक्सेवा गाउँमा अस्थायी रुपमा बसिरहेका छन् । मकालुको तल्लोवालुङमा ३ घर बगेका छन् । मकालुमा पहिरोले १४ घर–परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । यसैबीच, २ दिन अघिबाट पहिरोमा फसेका पावाखोला ६ खङदुवाका ६२ परिवारलाई सेनाको हेलिकप्टरले उद्धार गरेर सुरक्षित स्थानमा सारेको छ ।

पावर शेयरिङमा सैद्धान्तिक सहमति, विरोध गर्नेहरू संघियता र गणतन्त्र विरोधी

मोरङ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले चारदलबीच सहमतिसँगै संबिधान घोषणापछि बन्ने सरकार र पावर सेयरिङका विषयमा सैद्धान्तिक सहमति भएको दाबी गरेका छन् । उनले काँग्रेस, एमालेमध्ये एकले सरकारको नेतृत्व र अर्कोले राष्ट्रपति पाउने तथा एमाओवादी र आप्mनो दलले सभामुख र उपराष्ट्रपति पाउने सैद्धान्तिक सहमति भईसकेको खुलाए । यद्धपी आफनो दलको कुनै दावी भने नरहेको उनले स्पष्ट पारे ।
शनिवार बिराटनगर बिमानस्थलमा कुरा गर्दै गच्छदारले संबिधान घोषणा पछि बलियो राष्ट्रिय सरकार आबश्यक हुने बताए । चारदलबीचको १६ बुँदे सहमति २००७ साल पछिको सबै भन्दा ऐतिहासिक सहमति भएको उनको भनाई छ  । ६५ वर्षदेखिको जनताको चाहना पुरा गर्ने हिसावले भएको चारदलबीचको सहमतिले नयाँ नेपालको नक्सा कोरिसकेको बताउदै उनले सहमतिले नेपालमा राजनैतिक गतिरोधलाई समेत समाप्त पारेको बताए । गच्छदारले ऐतिहासिक सहमतिपछि अब संबिधान निर्माणको कार्य दु्रत गतिमा अगाडि बढेको बताउदै साउनको १५ गते भित्रनै नयाँ संबिधान जारी हुने दावी गरे । उनले चारदलबीचको सहमतिवारे बिभिन्न भ्रमहरू फैलाउने कार्य भईरहेको बताउदै सहमतिले संघीयता र गणतन्त्रलाई संस्थागत गरेको बताए । १६ बुँदे सहमतिको राष्ट्रिय र अन्तरर्राष्ट्रिय जगतले स्वागत गरेको बताउदै उनले दुईचार वटा दलले बिरोध गर्दैमा केही नहुने बताए । सहमतिको केही मधेशवादी दलले बिरोध गरेको सुनेको छुु, 
गच्छदारले भने  ः यो सहमति मधेशको ठुलो जित हो, यसको विरोध गर्नेहरू संघियता र गणतन्त्र विरोधी हुन् राष्ट्रको बृहत निर्माणका लागि आफुले ठुलो जोखिम उठाएको बताउदै उनले १६ बुँदे सहमतिमा आफूले गरेको भूमिकावारे संयुक्त राष्ट्र संघका महासचिव वान कि मुनले समेत आप्mना प्रतिनिधी मार्फत आफुलाई धन्यवाद दिदै सहमतिको स्वागत गरेको जानकारी दिए । अब झिना मसिना कुरा वा दुईचार दलको बिरोधको कुरामा अल्झिनु भन्दा छिटो भन्दा छिटो संबिधान घोषणा गर्ने तर्फ आफूहरू अग्रसर भएको उनको भनाई छ ।

शुल्क मिनाहा नभए आमहड्ताल गर्ने चेतावनी

काठमाडौ । भूकम्पको त्रासले पढाई नभएको एक महिनाको शुल्क मिनाहाको माग सुनुवाई नभएपछि विद्यार्थी संगठनहरुले थप दबाबको कार्यक्रम अघि सारेका छन् । नेबिसंघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी, मधेश विद्यार्थी फोरम लोकतान्त्रिक, तराई मधेश विद्यार्थी फन्ट लगायत १३ विद्यार्थी संगठनले एक महिनाको शुल्क मिनाको माग राख्दै शिक्षा मन्त्रालय, विभाग र निजी विद्यालयलाई दबाब दिदै आएको थियो ।
विद्यार्थी संगठनहरुले शनिबार पत्रकार सम्मेलन गरी संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो । त्यसमा आफनो माग पुरा गराउन आइतबार प्रधानमन्त्रीलाई भेट्ने, निजी विद्यालयका सञ्चालक र शिक्षा मन्त्रालयका अधिकारीहरु चढ्ने गाडी गुड्न नदिने, विद्यालयमै गएर अभिभावकसंग भेटेर संघर्ष समिति बनाउने लगायतको कार्यक्रम सार्वजनिक गरेको छ । संघर्ष समितिमा नेपाल विद्यार्थीका सभापति एवं सभाषद् रञ्जित कर्ण आफै लागेका छन् । आफनै पार्टीको सरकार र शिक्षा मन्त्री हुदा पनि विद्यार्थी र अभिभावकको हितमा निर्णय नभएपछि उनी आफै संघर्षमा उत्रिएका हुन् । अभिभावकलाई समटेर संयुक्त संघर्ष समिति बनाएर शैक्षिक हड्तालसम्मको कार्यक्रमको तयारी गर्ने जारी विज्ञप्तीमा उल्लेख छ । पहिलो चरणका लागि असार १ गते सम्मको कार्यक्रम  सार्वजनिक गरिएको छ । दोस्रो चरणमा आम हड्तालसम्मको कार्यक्रम ल्याउने सम्मेलनमा जानकारी दिएको थियो । प्याब्सन र एन प्याबसनले भने भुकम्पबाट अति प्रभावित १४ जिल्लामा वैशाख महिनाको यातायात, कम्प्यूटर, प्रयोगशाला, शैक्षिक सामग्री लगायतका सेवामा लाग्ने शुल्क मिनाहा गर्ने जनाएको छ । विद्यार्थी संगठन, अभिावक, शिक्षा मन्त्रालय र निजी विद्यालय सञ्चालक प्रतिनिधि बीचको छलफलमा विद्यार्थी संगठनहरुले आधा महिनाको शिक्षण शुल्क मिनाह भएमा आफूहरुलाई मान्य हुने बताएका थिए । प्याब्सन, एनप्याब्सनले भने यातायात, भोजन, कम्प्यूटर, प्रयोगशाला, शैक्षिक सामाग्री लगायतका सेवामा लाग्ने शुल्क छुट गर्दा पुरै महिनाको शुल्कमा आधा छुट हुने ब्याख्या गरेको छ । ‘निजी क्षेत्र नाफाको हिसाबकितावबाट अलिकति पनि माथि उठन सकेन । सम्पूर्ण शैक्षिक संस्थाबाट खोजिएको प्रतिबद्धता मात्र प्याब्सन र एन प्याब्सनको तर्फबाट टालटुले र अष्पष्ट भाषाको विज्ञप्ती मार्फत विद्यार्थी आन्दोलनमाथि अपमान गर्न खोजियो ः १३ विद्यार्थी संघठनद्वारा जारी विज्ञप्तीमा भनिएको छ । शिक्षा मन्त्रालयले निजी विद्यालयमा पढ्ने सबै विद्यार्थीलाई एक महिनाको छुट दिनुको सट्टा भूकम्पबाट घर भत्किएका विद्यार्थीलाई बर्षदिनसम्म निशुल्क पढाउने व्यवस्था गर्न तर्फ ध्यान दिनु पर्ने तर्क अघि सारेको छ ।

चीन सक्दो सहयोग गर्न तयार छ: चिनियाँ उपराष्ट्रपति

कुनमिङ । चीनका उपराष्ट्रपति लि युआन छाउले भूकम्पबाट ठूलो जनधनको क्षति भएको छिमेकी नेपाललाई पुनर्निर्माणका लागि सहयोग गर्न आफ्नो देश कहिल्यै पछि नहट्ने बताएका छन् । नेपालले पुनर्निर्माणका लागि आर्थिक सहयोग जुटाउन आगामी असार १० मा आयोजना गर्न लागेको दाता सम्मेलनमा चीनबाट उच्चस्तरीय सहभागिता रहने उल्लेख गर्दै छाउले प्राकृतिक प्रकोपको चपेटामा परेको नेपाललाई असल छिमेकीको नाताले आफ्नो सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले विनाशकारी भुकम्प, त्यसपछि आएका पहिरोलगायतको समस्यासित जुधिरहेको नेपालका भूकम्पबाट क्षतिग्रस्त पुराना सम्पदा र धरोहरहरूलाई पुरानै ठाउँमा मौलिक स्वरूपमा पुनर्निर्माण गर्नसमेत चीन तयार रहेको बताए । कुनमिङमा शुक्रबारदेखि आरम्भ भएको पाँचदिने तेस्रो चीन दक्षिण एसिया व्यापार मेला र २३ औ कुनमिङ निर्यात तथा आयात मेलाको उद्घाटनपछि वाणिज्य तथा आपुर्ति मन्त्री सुनीलबहादुर थापासँगको दुईपक्षिय साइडलाइन भेटवार्ताका क्रममा उपराष्ट्रपतिले नेपालको पुनर्निर्माणमा आफ्नो सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमप्रति समेत चासो राखेका उपराष्ट्रपतिले सहमतिमा संविधान निर्माणका लागि प्रमुख राजनीतिक दलहरूबीच भएको सम्झौतालाई आफ्नो देशले सकारात्मक रुपमा हेरेको आफूलाई जानकारी गराएको थापाले बताए । थापाका अनुसार उपराष्ट्रपतिले दलहरूबीचको सहमतिलाई सकारात्मक भन्दै नेपालले आगामी दिनमा विकासमा फडो मार्ने संकेतका रूपमा आफूहरुले यसलाई मूल्यांकन गरेको बताएका थिए । थापाले उपराष्ट्रपति, युनानका गर्भनर तथा अन्य उच्च अधिकारीहरुलाई नेपालको भुकम्प र त्यसपछि सरकारले उद्धार, राहत, पुनःस्थापना 
र पुननिर्माणका लागि गर्दै आएको प्रयासका बारेमा जानकारी गराएका थिए । प्रत्युत्तरमा उपराष्ट्रपतिले नेपालको विकासमा चीनले जस्तोसुकै सहयोग गर्न तयार रहेको उल्लेख गर्दै नेपालले चीनबाट के कस्तो सहयोग चाहन्छ, त्यो स्पष्टसँग राख्न आग्रह गरेको जानकारी थापाले दिए ।

हिलाम्मे सडक बनाउन स्थानीय अग्रसर

दमक । लगातारको बर्षातले ग्रामिण क्षेत्रका अधिकांश सडकहरु हिल्लाम्ये भएर आवत—जावतमा कठिनाई भएपछि आफ्नो सडकलाई व्यवस्थित गर्न स्थानियवासी अग्रसर भएका छन् । राजमार्गसंग जोडिएरपनि झापाको धरमपुर—८ को चर्चावारी सडक बर्षातको समयमा आवत—जावत गर्न कठिनाई भएपछि स्थानियहरु आफ्नो सडक व्यवस्थित गर्न अग्रसर भएका हुन् । धरमपुर चौकवाट पश्चिमतर्फ लक्ष्मिनारायण उच्च माध्यमिक बिद्यालय हुदै दक्षिण किरात चौकवाट चर्चावारी हुदै तोपगाछीस्थित क्याम्पासम्म जोड्ने सो सडकलाई व्यवस्थित गर्न समिति गठन गरेका छन् । स्थानिय उपभोत्ताहरुको भेलाले गठन गरेको समितिको अध्यक्ष नेत्र नेम्बाङ्ग, उपाध्यक्ष सुवास राई, सचिब भवानीप्रसाद नेपाल, कोषाध्यक्ष चन्द्रकला पराजुली छन् । त्यसैगरी सदस्यहरुमा बिराट किराती, पुष्पराज निरौला, रुद्र पोख्रेल, डम्बर कुमारी श्रेष्ठ, कष्ण बिष्ट, राजु मोते र जयकुमारी चेम्जोङ रहेका छन् । सो सडक भएर दैनिक बिभिन्न निजी बिद्यालयका बिद्यार्थी बोक्ने वस, सरसमान ढुवानी गर्नलाई आउने ठुला तथा साना मालवाहक ट्याक्टर, ट्रक लगायत अन्य सवारीसाधन आवत—जावत गर्न सहज बनाउने समितिका अध्यक्ष नेम्बाङ्गले जानकारी दिए । उनले सडकलाई स्तरन्नोतिका लागि सडक बिभाग, गाविस, जिविस र उपभोत्ता मार्फत रुपैया संकलन गरिने बताए । 

दुर्घटनामा २ को मृत्यु

मोरङ । मोरङमा शुक्रबार राति भएको मोटरसाइकल दुर्घटनामा दुइजनाको मृत्यु भएको छ । रंगेली विराटनगर सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ आइरहेको को२०प ५५२१ नम्बरको मोटरसाइकल कल्भर्टमा ठोक्किइ दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक विराटनगर १६ का २३ वर्षीय देवराज सहनी र पछाडि बसेका सोही ठाउँका २० वर्षीय ढके कामत रहेको डिएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका दुबैजनालाई उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर जादै गर्दा बाटोमै मृत्यु भएको थियो ।

सञ्चार र विकासलाई एकैसाथ अघि बढाउन जोड

सुरुङ्गा । सूचना, सञ्चार र विकास एकै साथ अगाडि बढाउँदै कनकाई नगर क्षेत्रलाई नमुनाको रुपमा विकसित गराउन यस क्षेत्रका सञ्चारकर्मी र नागरिक अगुवाहरु एक मत भएका छन् । शनिबार सुरुङ्गा प्रेस क्लबको आयोजनामा भएको ‘स्थानीय निकायको विकासका निम्ति सञ्चारको भूमिका’ विषयक गोष्ठीमा सहभागीहरुले यस्तो विचार राखेका हुन् । कनकाई नगरपालिकाको आर्थिक सहयोगमा सुरुङ्गा जेसीजको सभाहलमा भएको गोष्ठीबाट ८ बुँदे सुरुङ्गा घोषणा पत्र जारी गरिएको छ । गोष्ठीका लागि तय गरिएको विषयमाथि जिल्लाका अग्रज पत्रकार मदन ढकाल र पत्रकार गोपाल काफ्लेले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । प्रस्तुत गरिएको कार्य पत्रमाथि पत्रकार राजु अधिकारी, साहित्यकार कोमलप्रसाद पोखरेल र नारी सञ्चार गृहकी जिल्ला अध्यक्ष सावित्रा दाहालले टिप्पणी गरेपछि निष्कर्षका रुपमा सुरुङ्गा घोषणा पत्र जारी गरिएको हो । घोषणा पत्रमा कनकाई नगरपालिका तथा नगर क्षेत्रका हरेक गतिविधिलाई पारदर्शी बनाउनका लागि पत्रकारहरु आफ्नो उत्तरदायित्व प्रति जवाफदेही रहने उल्लेख गरिएको छ । त्यस्तै विकास निर्माण लगायतका अन्य गतिविधि, सांस्कृतिक,प्राकृतिक, धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको विकास र प्रचार प्रसारको यस क्षेत्रका राजनीतिक दल, सरोकारवाला निकाय र पत्रकार बीच कार्यगत एकता कायम गरी संस्थागत रुपमा अगाडी बढ्ने उल्लेख छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा झापाका अध्यक्ष भीम नेम्बाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कनकाई नगरपालिकाका निमित्त कार्यकारी अधिकृत तेजप्रसाद आचार्यको विशिष्ट आतिथ्य रहेको थियो । 
कार्यक्रममा यस क्षेत्रका अग्रज व्यक्तित्वहरु, राजनीतिकर्मी हिरा थापा, कोमलप्रसाद पन्त, नेत्र चिमरिया, लक्ष्मीप्रसाद गुरुङ, संघसंस्थाको प्रतिनिधिहरु भीमप्रसाद अधिकारी, प्रभाखर कडरिया, बालकृष्ण मैनाली, हिम्मत नेम्बाङ, जनार्दन उप्रेती, केदारप्रसाद गिरी, टंकप्रसाद कार्की, झलक सिटौला, सीता बस्नेत, आइपी भट्टराई, देवीप्रसाद खरेल, यामनाथ सेढाईं, लीलाप्रसाद चिमरिया, लीलाप्रसाद भेटवाल, यदुनाथ अधिकारी, राजकुमार कट्टेल लगायतले स्थानीय निकायको विकासमा सञ्चारकर्मीहरुले महत्वपूर्ण भूमिका खेल्नु पर्ने जनाए । 

चेलीबेटी बेचबिखन बढ्दो

बिर्तामोड । पूर्वी नाका काँकडभिट्टा हुँदै चेलीबेटी बेचबिखन हुने क्रम बढेको देखिएको छ । प्रगति महिला समिति बिर्तामोडले शनिबार आयोजना गरेको चेलीबेटी बेचबिखन सम्बन्धि सचेतना मूलक कार्यक्रममा माइती नेपालका पूर्वाञ्चल संयोजक गोबिन्द घिमिरेले भारत हुँदै तेस्रो मुलुकसम्म चेलीबेटी बेचबिखन हुने क्रम बढेको बताए । उनले अघिल्लो आर्थिक बर्षमा ३१ जनाको उद्धार गरिएकोमा यस बर्ष ३६ जनाको उद्धार गरिसकिएको बताए । अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य पवित्रा निरौला, नेपाल उत्पीडित  जातीय मुक्ति समाज झापाकी सचिव हर्कमाया विश्वकर्मा, नेकपा एमाले विर्तामोडका अध्यक्ष ज्ञानु प्रसाइले मानव बेचबिखनलाई कडा कानुन बनाएर निर्मलीकरण गरिनुपर्ने बताए । चेलीबेटी बेचबिखनमा नेपालको अवस्था  र नियन्त्रणको प्रयासका बिषयमा माइती नेपाल  इलाम संयोजक  होम ढकाल र  डा. प्रल्हाद सापकोटाले सहजीकरण गरेका थिए  ।