हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

शिविरमा बढ्यो सम्बन्ध विच्छेद – मुख्य समाचार

विष्णु सुब्बा
दमक/भुटानी शरणार्थी शिविरमा सम्बन्ध विच्छेद मुद्दाका घटना बढेर गएका छन् । तेस्रो मुलुक पुनस्र्थापनाका काम तिव्र बनाइएपछि शरणार्थीहरुमा सम्बन्ध विच्छेदका घटनामा बृद्धि भएको पाइएको हो ।
संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोग– युएनएचसीआरको सहयोगमा नेपाल वारएशोसिएसन झापाले सञ्चालन गरेको निःशुल्क कानुनी सहायता कार्यक्रमको पछिल्लो तथ्यांकमा शरणार्थीहरुमा सम्बन्ध विच्छेदका मुद्दा बढेको औल्याइएको छ ।
२००३ देखि भुटानी शरणार्थीहरुका लागि कानुनी सहायता झापा बारले सञ्चालन गरिआएको छ । सो कार्यक्रमका कार्यक्रम निर्देशक अधिवक्ता भुपाल कट्टेलका अनुसार गएको आठ वर्षको अवधिमा त्यस्ता मुद्दाको संख्या करिब १ हजार अदालतमा दर्ता भएका छन् । चालु वर्षमा अहिले सम्म २ दर्जन विभिन्न प्रकृतिका मुद्दा दर्ता भएका कट्टेलले जानकारी दिए ।
सो कार्यक्रमको तथ्यांकमा सन् २००३ देखि २००६ सम्म करिब डेढ सय मुद्दा अदालतमा दर्ता भएको थियो । त्यस्तै सन् २००७ मा १ सय ३५, २००८ मा १ सय ५०, २००९ मा २ सय ४, २०१० मा १ सय ६५ र गएको वर्ष २०११ मा १ सय ६८ वटा विभिन्न मुद्दा अदालतमा दर्ता भएको उल्लेख छ । कार्यक्रम निर्देशक कट्टेलले कूल मुद्दामध्ये ७५ प्रतिशतका हाराहारीमा सम्बन्ध विच्छेदका मुद्दा भएको बताए । ‘शिविरको शरणार्थीमा बहुविवाह गर्न तथा तेस्रो मुलुक जाने प्रक्रियाका कारण त्यस्ता प्रकृतिका मुद्दा बढी भएको हो’– निर्देशक कट्टेल बताउँछन् ।
शरणार्थी महिलाहरुले तेस्रो मुलुक जाने प्रक्रियामा पारिवारिक सहमति नबनेका कारण धेरैले अदालतमा सम्बन्ध विच्छेद गरि जाने गरेको बताइएको छ । यस्तै झापा, मोरङ, सुनसरी लगायतका कारागारहरुमा विभिन्न मुद्दामा जेल जीवनमा ६० बढी भुटानी शरणार्थी रहेका छन् । थुनुवा बन्दी सम्बन्धी रेखदेखमा संलग्न अधिवक्ता बसन्त नेपालले त्यस्ता बन्दीहरुमध्ये बढी आपराधिक घटनाका अभियोगमा परेका बताए ।
बारले सो कार्यक्रमका लागि झापा र मोरङका विभिन्न शिविरमा ५ जना अधिवक्ता परिचालित गरेको छ । साताका दुईदिन प्रत्येक शिविरमा गएर ति अधिवक्ताहरुले कानुनी परामर्श उपलब्ध गराउने गर्छन् । शिविरमा कानुनी उपचारमा आउने शरणार्थीहरुलाई फिल्ड वेशमा नेपालका कानुनी व्यवस्था सम्बन्धी सहजीकरण गराउने कार्यक्रम निर्देशक कट्टेलले जानकारी दिए । मुद्दामा जाने शरणार्थीहरुलाई युएनएचसीआर मार्फत् बारमा आवश्यकीय प्रक्रिया अघि बढाइने गरिन्छ । सम्बन्धविच्छेदसँगै जबर्जस्ती करणी, कुटपिट, डकैत, नाता कायम, हाडनाता करणी, हक प्रचलन लगायत खरखजना तथा फौजदारी मुद्दाहरुमा शरणार्थीहरुको संलग्नता रहेको जनाइएको छ ।
त्यसैगरी बारमा त्यस्ता मुद्दा सम्बन्धी कानुनी उपचारमा २०० जना अधिवक्ता परिचालित भएका छन् । गएको डिसेम्बर सम्म झापा र मोरङका विभिन्न पाँच ओटा शिविरमा ५४ हजार ९ सय ५५ शरणार्थी रहेका जनाइएको छ । तेस्रो मुलुक पुनर्वासमा अधिकांश शरणार्थीहरुले चासो देखाएका कारण सात शिविर घटाएर ५ ओटा शिविर कायम गरिएका छन् । ति मध्ये आधा बढीले पुनर्वास प्रक्रियामा सामेल हुन इच्छा जाहेर गरेका पुनर्वास कार्यमा संलग्न अन्तर्राष्ट्रिय आप्रवास संगठन (आइओएम) ले उल्लेख गरेको छ ।

शिविरमा पारिवारिक तनाव – उपमुख्य समाचार

जारी तेस्रो मुलुक पुनर्वास कार्यक्रमले शिविरमा रहेका शरणार्थीहरुमा पारिवारिक तनाव बढाएको शरणार्थीका एक अगुवाले बताएका छन् ।
भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिका अध्यक्ष डाक्टर भम्पा राईका अनुसार तेस्रो मुलुक पुनर्वासले शिविरमा त्यस्तो समस्या देखिएको छ । ‘पुनर्वासमा जाने र नजानेले सिङ्गो परिवारभित्र बेमेल ल्याएको छ ।’ डा. भम्पा राईको दाबी छ । २००८ देखि जारी पुनर्वास कार्यक्रममा सामेल धेरै परिवार भित्र पारिवारिक बेमेल मात्र होइन मानसिक रुपमा समस्या जन्माएको उनको भनाई छ । एउटा परिवारका सदस्यहरु सँगै र एकै देशमा पुनर्वास नहुने तथा कमजोर शरणार्थीहरु शिविरमा रहनुपर्ने लगायतका कारणले पारिवारिक बैमनस्यता बढेको डा. राईको अनुमान छ ।
उनले पुनर्वासका कामले शरणार्थीको स्वदेश फिर्ती चाहनालाई नैतिक रुपले दबाउन प्रेरित भएको समेत आरोप लगाए । ‘स्वदेश तथा तेस्रो मुलुक पुनर्वास एकै चरणमा गरिनु पथ्र्यो’
डा. राई भन्छन्–‘नेपाल सरकार यसमा चुकेको छ भने अन्तर्राष्ट्रिय निकायसम्म बेखबर बनेको छ ।’

‘छिट्टै शान्ति आउँछ’

विराटनगर/पूर्व राजा ज्ञानेन्द्र साहले मुलुकमा छिट्टै शान्ति स्थापना हुने कुरा बताएका छन् । सुनसरीको भादगाउँ सिनुवारी गाविसस्थित झुम्का बजारमा बिहीबारदेखि सुरु भएको भविष्य महापुराणको उद्घाटनका अवसरमा पूर्व राजा साहले बताए ।

डेढ घण्टा कार्यक्रम स्थलमा रहेका उनले कार्यक्रममा सम्बोधन नगरे पनि फर्किने बेलामा गाडी चढ्न लाग्दा सर्वसाधारणले मुलुकमा शान्ति कहिले आउँछ भन्ने प्रश्न गर्दा उनि छिट्टै मुलुकमा शान्ति आउने बताए । मुलुकमा छिट्टै शान्ति आउँछ भन्ने वाक्य भन्दै उनी सरासर गाडी चढेका थिए । ज्ञानेन्द्र दिउँसो १ बजे झुम्कास्थित कार्यक्रम स्थल पुगेका थिए ।
उनलाई स्थानीय सञ्चारकर्मीले केही बोलिदिनु प¥यो भन्दा आफूले पत्रकारहरुलाई डाकेरै कुरा राख्ने भन्दै पत्रकारहरुसित कुरा गर्न पन्छिएका थिए । कार्यक्रममा सप्तरीदेखि झापासम्मका पूर्व राजाका समर्थक ओइरिएका थिए । कार्यक्रम स्थलमा पूर्व राजा पुग्दा उनका समर्थकहरुले राजा, राजसंस्था र राजतन्त्रका पक्षमा नाराबाजी गर्दे राजनीतिक दलका नेताहरुका विरुद्धमा समेत नाराबाजी गरेका थिए ।
पूर्व राजा ज्ञानेन्द्र शाहले दीप प्रज्वलित गरी महापुराणको उद्घाटन गरे ।

‘सीमा व्यवस्थित गरिनृ

चन्द्रगढी/ पूर्वाञ्चल क्षेत्रीय प्रशासक कृष्णचन्द्र पौडेलले पूर्वका सीमा सम्बन्धी समस्या हल गर्न दुवै देशका अधिकारीहरु छिट्टै नै त्यस कार्यमा लाग्ने बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय झापामा बिहीबार संचारकर्मीहरुसँग अन्तक्र्रिया कार्यक्रममा सहभागी प्रशासक पौडेलले दुवै देशको सीमा व्यस्थित गराउन उच्च अधिकारीहरुको टोली चाँडै खटिने बताए ।
उनले नेपालर र भारतका ५÷५ सदस्यीय सो टिमले सीमा सम्बन्धी समस्या हल गर्न अग्रसर हुने बताए । ‘नेपाली टोली तयारी छन्’–प्रशासक पौडेलले भने–‘यो असार भित्र पूर्व क्षेत्रका विवादित सीमा समस्या हटाइने छन् ।’  संचारकर्मीहरुको जिज्ञासामा प्रशासक पौडेलले पूर्वका शान्ति सुरक्षा कायम गराउन प्रशासन कहिल्यै नचुकेको दाबी गरे ।
सो अवसरमा झापाका प्रमुख जिल्ला अधिकारी नरेन्द्रप्रसाद शर्माले जिल्ला भित्रका समस्या समाधानमा आफू क्रियाशील भएको जनाए । अन्तक्र्रियामा प्रहरी उपरीक्षक तारिणीप्रसाद लम्साल लगायतको सहभागिता रहेको थियो ।

स्पर मर्मत शुरु

इनरुवा/हिउँदको समयमा पानीको बहाब कम भएका बेला सप्तकोशीका केहि स्पर मर्मतको काम भइरहेको छ । बर्खायाममा कोशीले कटान गर्ने जोखिम भएका स्परहरु अहिले धमाधम मर्मत भइरहेको हो ।
प्रकाशपुर क्षेत्रमा रहेको २५÷२५ सहित आसपासका स्परमा ढुङ्गा राखेर तारजाली लगाउने कार्य अहिले भइरहेको छ । हिउँदमा पानीको बहाब कम हुने र स्परको केहि तल्लो भागसम्म मात्र पानी आइपुग्ने भएकाले यो समय स्पर निर्माणमा प्रमुख ध्यान दिइएको हो ।
अहिले नै स्पर मर्मत गरी दह्रो पारिएको
खण्डमा बर्खायाममा कटान हुनबाट बचाउन सकिन्छ । तर स्परमा लगाइएका पुराना तारजाली भने चोरी हुने क्रम रोकिएको छैन । स्थानीय बालबालिकाहरु दैनिक जसो स्परमा तार निकाल्न आउने गरेको भेटिएको छ । स्परका तारजालीहरु निकालिदा स्पर कमजोर बन्ने हुँदा बर्खायाममा कोशीको कटानमा पर्ने गरेका छन् ।

विद्युत चोरी रोकिएन

इटहरी/ सुनसरी ग्रामीण वस्तीहरुमा हुकीङ गरी विद्युत चोरी गर्ने क्रम नियन्त्रणमा आउन सकेको छैन ।
विद्युत प्राधिकरण र प्रहरीको संयुक्त टोलीले विद्युत हुकीङ गर्ने विरुद्ध निरन्तर कार्बाही प्रक्रिया अघि बढाइरहेको भएपनि ग्रामीण वस्तीहरुमा अधिकांशका घरमा विद्युत हुकीङ गरिएको पाइएको छ ।
सुनसरीको मधेली गाविसको भवन अगाडिको विद्युतीय तारबाटै पनि एक दर्जन बढीले हुकीङ गरी विद्युत् चोरी गरिरहेका छन् । मधेली गाविसका विभिन्न ठाउँहरुमा विद्युत चोरी गर्ने क्रम जारी रहेको छ ।
सो क्षेत्रमा अहिलेसम्म प्रहरीले कार्बाही
प्रक्रिया अघि बढाउन नसक्दा विद्युत चोरी गर्ने कार्य नियन्त्रणमा आउन नसकेको हो । विद्युत चोरीका कारण विद्युत प्राधिकरणले लाखौंको नोक्सानी व्यहोर्नु परिरहेको छ भने लोडसेडिङ पनि बढिरहेको छ ।

द्वन्द्वपीडितलाई राहत

बिराटनगर/ माओवादीको सशस्त्र द्वन्द्वको समयमा सेनाको गोली लागी घाइते भएका केराबारी गाविस–९ भलुवाका ३८ वर्षीय वाक्यविहीन ज्ञानबहादुर घिमिरेलाई इन्सेकले राहत प्रदान गरेको छ ।
ईन्सेक क्षेत्रीय कार्यालय विराटनरले बुधबार सहयोगस्वरुप पाँच हजार रुपैया राहत उपलब्ध गराएको हो । क्षेत्रीय संयोजक सोमराज थापाले उनको घरैमा गएर सो रकम उपलब्ध गराएका हुन् । सो रकम पीडितले सरकारी विद्यालयमा पढ्दै गरेका आफ्ना तीनजना छोराछोरीको पठनपाठनमा खर्च गर्नेछन् । पीडितले सरकारको तर्फबाट हालसम्म राहत तथा
उपचार खर्च केही पनि पाएका छैनन् ।
पीडितलाई ०६२ असार १९ गते घरनजिकको खोलाको डिलमा लेटाङ गाविसस्थित सुरक्षा बेस क्याम्पको सेनाको गस्ती टोलीले बोलाउँदा नसुनेको आरोपमा माओवादी कार्यकर्ता भई भाग्न खोजेको भन्दै गोली प्रहार गरेर घाइते बनाएको थियो ।

विद्युत उत्पादन आयोजना बन्द

इलाम/करिब एक दशकदेखि बिजुली बालेका उत्तरी मावुका बासिन्दाले त्रिवेणी लघु जलविद्युत् आयोजना बन्द गरेका छन् । मेसिनरी सामग्री र टर्वाइनसम्म ल्याइएको कुलोमा बारम्बार आउने समस्याका कारण खर्च धान्न नसकेपछि पूर्वाञ्चलकै नमुनाका रुपमा रहेको सो विद्युत् आयोजना बन्द गर्न उपभोक्ता बाध्य भएका हुन् ।
आयोजना बन्द भएपछि त्यहाँ कार्यरत दुई कर्मचारीलाई बुधबार नै बिदा दिइएको उपभोक्ता समितिले जनाएको छ । आफ्नै जग्गा कृषि विकास बैंकमा धितो राखेर ऋणबाट सञ्चालन गरिएको आयोजना बन्द गरिएपछि स्थानीयबासी अन्धकारमा बस्न बाध्य भएका छन् । घरलौरी चन्दा उठाएर मावु र माइमझुवाका करिब चार सय उपभोक्ताले ५० किलोवाट क्षमताको विद्युत् आयोजना सञ्चालन गर्दै आएका थिए । उपभोक्ताले बिजुली बाल्दा बैंकमा राखेको ऋण तिर्न नसकेपछि लिलामको स्थितिमा पुगेको थियो, तर मावुमा सञ्चालित अपरमाई हाइड्रोपावरले रु १५ लाख तिरेर सात महिनाअघि मात्र उपभोक्ताको धनीपुर्जा बैंकबाट उकासिदिएको थियो ।
उपभोक्ता समितिका अध्यक्ष ढालबहादुर गुरुङले कुलो र टर्वाईनमा आइरहने समस्याले आयोजनाको ऋण थाम्न नसकिएपछि बन्द गर्न बाध्य भएको बताए ।  स्थानीयबासीको लगानी, वैकल्पिक ऊर्जा तथा प्रवद्र्धन केन्द्र (इसाब) को अनुदान तथा नाम्सालिङ सामुदायिक विकास केन्द्रको सहजीकरणमा पूर्वाञ्चलमै पहिलो पटक स्थानीय प्रयासमा विद्युत अयोजना सञ्चालन गरिएको थियो । आयोजनाको कुल लागत ८५ लाखमध्ये उपभोक्ताले रु ५० लाख  खर्च गरेका थिए भने इसाबमार्फत् रु ३५ लाख  अनुदान प्राप्त थियो ।

श्रीमान र ससुराको कुटपिटबाट मृत्यु

चितवन/चितवनमा आफ्नै श्रीमती र सुसुराको कुटपिटबाट बिहीबार बिहान एक जनाको मृत्यु भएको छ । चितवनको गुञ्जनगर–६ मा रहेको ससुराको घरमा श्रीमतिसंगै बस्दै आएका वीरेन्द्रनगरका इन्द्रबहादुर थापाको ससुरा र श्रीमतिको कुटाईबाट मृत्यु भएको हो ।
कुटाइबाट ज्यान गुमाएका थापाको शव उनकै ससुरा जङगु थापा मगर र श्रीमती विवह थापाले घरभित्र लैजाँदै गर्दा रङ्गेहात पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ ।  पारिवारिक झगडा हुँदा आफूहरुले कुटपिट गरेको मृतककी श्रीमती र उनका ससुराले प्रहरी समक्ष बयान दिएका छन् । कुटपिट गर्ने दुवैलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

लखनपुरमा सोसाइटी अस्पताल

लखनपुर/झापाको लखनपुरमा सोसाइटी अस्पताल स्थापना गरिएको छ ।
लखनपुर–२ को मंगलबारे बजारमा विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराउने पूर्वाधारयुक्त सो अस्पताल संचालनको तयारी गरिएको छ । अस्पताल सञ्चालक चन्द्र शाहका अनुसार अस्पतालमा दक्ष चिकित्सक सहित ल्याब एक्सरे, इसीजी, भिडियो एक्सरे लगायतका
सुविधा उपलब्ध हुनेछन् । उनले अस्पतालको शुभारम्भका अवसरमा आउँदो फागुन २७ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने जनाए । अस्पताल सञ्चालनका लागि आवश्यकीय तयारीहरु तिव्र पारिएका स्वास्थ्यकर्ता समेत रहेका शाह बताउँछन् ।

लिम्बुवानको सम्मेलन स¥यो

दमक/मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्को केन्द्रीय सम्मेलन १ वर्षपछिका लागि सरेको छ ।
परिषद्को बुधबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले अन्योलग्रस्त संक्रमणकालिन राजनीतिक अवस्था रहेको ठहर गर्दै सम्मेलन १ वर्षका लागि सार्ने निर्णय गरेको हो ।
परिषद्का केन्द्रीय महासचिव फक्ताङलुङ योङहाङद्वारा जारी विज्ञप्तिमा केन्द्रीय अध्यक्ष कुमार लिङ्देनको
अध्यक्षतामा बसेको बैठकले तीन दिन अघि काठमाडौंको बबरमहलमा गराइएको बम बिष्फोटको भत्र्सना गरेको जनाइएको छ । यस्तै परिषद्ले आगामी फागुन २६ गते पूर्वी सीमा क्षेत्र मेची पुलबाट दमकसम्मको मार्च पास गर्ने निर्णय भएको समेत जनाएको छ ।

बान्तवा ‘आईसीयु’ मा

लखनपुर/सामाजिक अगुवा सन्तकुमार वान्तवाको स्वास्थ्यस्थिति गम्भिर भएको छ । लामो समयदेखि प्रेसर र सुगर सम्बन्धी रोगले पीडित वान्तवा केही दिनदेखि काठमाडौको बी एण्ड बी अस्पतालमा आइसीयु उपचाररत छन् ।
पारिवारिक स्रोतका अनुसार ८० वर्षीय वान्तवाको स्वास्थ्यस्थिति जटिल बन्दै गएको छ । लखनपुर–२ मा स्थायी बसोबास गरिआएका उनी विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील रहिआएका थिए ।

ब्राह्मण समाजको जुलुश

दमक/ब्राहम्मण समाजले आफ्ना आन्दोलन घोषणा गर्ने क्रममा बिहीबार साँझ दमकमा कोण सभा तथा सिट्ठी जुलुस सम्पन्न गरेको छ ।
कोण सभामा सहभागीहरु

शङ्ख, घण्ट तथा सिट्ठी सहितको जुलुस गणतन्त्र चोकमा आएर कोणसभामा परिणत भएको केन्द्रीय सह–अध्यक्ष लक्ष्मीप्रसाद संग्रौलाले बताए । कोण सभामा ब्राहम्मण समाज झापाका अध्यक्ष टीकाराम खरेल, दमक नगर अध्यक्ष महेश दाहाल, खस क्षेत्री एकता समाजका राम थापा, युवा दिपेन्द्र दाहाल, स्थानीय अगुवा भानु सुवेदी लगायतले बोलेका थिए ।

ब्युरोको भेला सम्पन्न

उर्लाबारी/÷उर्लाबारीमा बिहीबार एमाओवादी सम्वद्ध जनस्वयम्सेवक परिचालन ब्यूरोको कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलामा एमाओवादीका क्षेत्रीय सह–इन्चार्ज राजेन्द्र पौडेलले युवाहरुको सकारात्मक पक्षमा लागे समाज रुपान्तरण हुने बताए ।
भेलामा तरुण दलसहित अन्य युवा संगठन परित्याग गरी विधान बराल, जीवन राईसहित १५ जना प्रबेश गरेको पार्टीका जिल्ला सदस्य समिर कुइकेलले जानकारी दिए ।  प्रबेश गर्ने बराल तरुण दलका उर्लाबारी वडा नं. २ का सचिब र राई साधारण सदस्य हुन् । सोही भेलाले रिक्त रहेको ब्यूरोको उपाध्यक्ष पदमा जीबन राईलाई मनोनयन गरिएको ब्यूरो नगर प्रमुख सुसन लिम्बुले बताएका छन् ।
तरुण दलमा आफू लगायत युवालाई उपयोग मात्र गरिएको र  गरिब तथा असहायका पक्षमा काम नगरेकोले पार्टी परित्याग गरी माओबादीमा प्रवेश गरेका राईले बताएका छन् ।

फास्ट ट्रयाकको छानबीन हुने

काठमाडौ/व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले काठमाडौंलाई तराईसँग जोड्ने फास्ट ट्रयाक निर्माणमा अनियमितता भए–नभएको छानबिन गर्न उपसमिति गठन गरेको छ ।
अहिले गरिएको कामको तुलनामा प्रचलित दररेटभन्दा दुई गुणा बढी खर्च देखिएपछि लेखा समितिको बिहीबार बसेको बैठकले एमाले सभाषद् रविन्द्र अधिकारीको संयोजकत्वमा छानबिन उपसमिति गठन गरेको हो । ‘नेपाली सेनाले काम गरिएको फास्ट ट्रयाक निर्माणमा अनियमितता भएको सूचना आएपछि हामीले छानबिन गर्न उपसमिति गठन गरेका हौं’ समिति सभापति रामकृष्ण यादवले जानकारी दिए ।

पुल नहुँदा समस्या

इटहरी/सुनसरीको मधेली गाविसको ६ र ७ नम्बर वडालाई जोड्ने ट्याङ्ग्रा खोलाको पुल चार बर्षदेखि निर्माण नहुदा सो क्षेत्रका स्थानीयबासी जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् ।
चार बर्षअघि ट्याङ्ग्राखोलामा आएको बाढीले भत्किएको पुल हालसम्म निर्माण गर्न कसैको ध्यान जान सकेको छैन ।
मुसहर समुदायको बाहुल्य रहेको सो क्षेत्रमा खोला वार पार गर्न अहिले कच्ची बासको पुल बनाईएको छ । तर बर्खायाममा पुरै पानी भरिने हुदा जोखीम मोलेर यात्रा गर्नुपर्ने स्थानीयको बाध्यता रहेको छ ।
स्थानीय तारा ऋषीदेवले पुल चार बर्षअघि भत्किएको भएपनि निर्माण नहुँदा वारपार गर्न समस्या भएको बताए ।
पहिले पुलबाट गाडिहरु कुद्ने गरेको भएपनि पुल भत्किएपछि सो क्षेत्रमा यातायातको समेत असुबिधा रहेको छ । विभिन्न नेता र सरकारी व्यक्तिहरुले पुल बनाईदिने आश्वासन दिएपनि हालसम्म नबनाएको स्थानिय रिता ऋषीदेवले जानकारी दिए ।
पुल भत्किएपछि मधेली ७ का स्थानियबासी मुख्य सडक खण्डमा पुग्न लामो यात्रा गर्न समेत बाध्य हुदै आएका छन् ।

चरेस सहित महिला पक्राउ

बर्दिया/अठारावटा पोकामा करिब साँढे ६ किलो चरेशसहित दाङका दुई महिला भारत प्रवेश गर्ने नाकामा पक्राउ परेकी छन् । दाङ घोराही–६ की पादरी बिक र घोराही–१० की लक्ष्मी बडु चरेश सहित पक्राउ परेकी हुन् ।
भारतको हरिद्वार तर्फ लैजाने क्रममा बर्दियाको जमुनी नाकामा ति दुई महिला पक्राउ गरेको जनकारी प्रहरी उपरीक्षक रामत्रिपाल शाहले जानकारी दिए ।
एक बर्षअघि पनि बर्दियामा चरेशसहित महिला पक्राउ परेकी थिइन् । 

डुबेर सेनाको मृत्यु

बैतडी/चमेलिया नदीमा नुहाउन गएका सैनिक जवानको डुबेर मृत्यु भएको छ । बुधबार दिउँसो साथीसँग चमेलिया नदीमा नुहाउन गएका शत्रुभन्ज्याङ गुल्म दार्चुलामा कार्यरत दशरथचन्द नगरपालिका–११ बुड्डाका सैनिक जवान कर्णचन्दको डुबेर मृत्यु भएको हो ।
दार्चुलाको शिखर–५ मा निर्माणाधीन चमेलिया जलबिद्युत आयोजना सुरक्षार्थ राखिएको बलाच सैनिक पोष्टमा कार्यरत जवान चन्द दिउँसो २ बजे नदीमा डुबेका थिए । चन्दको शव सेना, प्रहरी र स्थानीयले बिहीबार बिहान ११ ः३० बजे डुबेकै स्थानमा फेला पारेको प्रहरीले जनाएको छ ।

निरजको अग्रता कायमै

महेन्द्रनगर/÷छैटौं राष्ट्रिय खेलकुद अन्तर्गत बुद्धिचालतर्फ छैटौं चरणको समाप्तिसम्ममा पूर्वाञ्चलका निरज निरौला ५ अंकका साथ अग्रस्थानमा रहेका छन् ।
बिहीबार सम्पन्न पाँचौं र छैटौं चरणको खेलमा निरजले क्रमशः फिडेमास्टर मनिष हमाल र प्रचण्डमान मालाकारसित बराबरी खेलेका थिए । त्यस्तै मनिष, प्रचण्ड, एपिएफका केशव श्रेष्ठ र यु १९ नेपाल च्याम्पियन रुपेश जैसवाल समान चार दशमलव पाँच अंकका साथ संयुक्त दोश्रो स्थानमा रहेका छन् । भोलि प्रतियोगिताको फाइनल चरणको खेल हुनेछन् ।

आजबाट रवि स्मृति फुटबल

दमक/दमकमा आजबाट रवी स्मृति अन्तर कलेज नकाउट फुटबल प्रतियोगिता सुरु हुदैछ ।
अखिल क्रान्तिकारी दमक बहुमुखी क्याम्पस इकाईको आयोजनामा शुरु प्रतियोगितामा झापा, इलाम र मोरङका दुई दर्जन भन्दा बढी टीमहरुको सहभागिता रहने जनाइएको छ ।
प्रतियोगीताका बिजेता टीमले नगद १५ हजर र उप–बिजेता टीमले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । क्रान्तिकारीका तत्कालीन झापा जिल्ला अध्यक्ष रमेश सुवेदी र उपाध्यक्ष विनोद प्रधानको ८ औँ स्मृतिमा आयोजना हुन लागेको प्रतियोगिताको उद्घाटन क्रान्तिकारीका महासचिव बिन्धमान बिष्टले गर्ने जनाइएको छ । अध्यक्ष सुवेदी र उपाध्यक्ष्ँ प्रधानलाई झापाको गौरादहमा तत्कालीन शाही सेनाले गोली हानी हत्या गरेको थियो ।

विराग अब आकाशबाटै चिहाउने छन् ।– दोस्रो लेख

श्री कृष्ण न्यौपाने
कुनै बेला पाउ विसाउने भरपर्दो ठाउ नभेटेका भीम विरागले अन्ततः ललितपुरको पाटन अस्पतालमा सोमवार विहान आफ्नो जीवन विसाई दिएपछि संगीत अनुरागीले भन्न थालेका छन्– भीम दाई यस्तो भीम दाई उस्तो । यस्ता प्रतिक्रिया आजभोलि विभिन्न संचारमाध्यममा उनीस“ग संगत गरेकाहरु र निकट भएर काम गरेका हरुको सुन्न, पढ्न तथा हेर्न पाईन्छ । जतिबेला उनी स्वास प्रस्वासका कारण अस्वस्थ्य भएपछि काठमाण्डौंको प्रदुषणबाट हेटौडा झरेका थिए उनको सोधी खोजीसम्म नगरेकाहरु आज भोलि संचारमाध्यममा भीमदाईका बारेमा बोल्न लालयित भएका देखिन्छन् । सोमवार विहान ९ बजे ललितपुरको पाटन अस्पतालले जतिबेला उनलाई मृतक घोषणा गरेर शवगृहमा मृत शरिर राखिदिएको थियो , त्यसबेला उनको मृत्यु सुनेर दौडिने कोहि थिएनन् । थिए त उनकी छोरी आभा, ज्वाई जीवन श्रेष्ठ अनि केहि आफन्त र संगीतकर्मी आभाष मात्रै । उनीहरु अन्य शुभचिन्तको आगमन पर्खिरहेका देखिन्थे । नेपाली परम्परा नै भन्नु पर्छ जो कोहीलाई बाचुञ्जेल गुमनाम जस्तै पर्दापछाडि पारिन्छ अनि जब उसको मृत्युको खबर संचारित हुन्छ तब, उसका बखान गाएर नथाक्ने झुण्ड मिडियामा छाउन थाल्छ । सरोकारवालाको नियती पनि त्यस्तै छ यहा,  मरेर गएपछि गरिने सम्मान यहा धेरै हुन्छन् । बाचुञ्जेल उपेक्षित हुनेहरु घाटमा पुगेपछि सम्मानित हुने क्रम विराग दाईमा पनि आईपुग्योे । हुन त असल मान्छे सधै उच्च भएर नै बाचेका हुन्छन् उनीहरुलाई मरेपछिको सम्मानको लोभ पनि हुदैन र त्यो देखावटी सम्मानको आवश्यक पनि छैन ।  उनीहरुलाई आवश्यक पनि हुदैन । जो अहिले भीम विरागप्रति सहनाभूती राख्नेहरुले प्रकट गरेका छन् । विसं १९९१ साल माघ १५ गते वीरगञ्जमा जन्मिएका भीमवहादुर महर्जन विदाई भएपनि विराग बनेर नेपाली साहित्य र संगीतमा सधै हामी सामु रहि रहने छन् यसमा कसैको विमती नै छैन । हरेक उनका गीत र  पुस्तकमा उनी पुस्तौसम्म बाचिरहने छन् । महर्जनलाई साहित्यको लालसाले विरागमा बदलिदिएको थियो । जीवनलाई सहज मान्ने विरागका ७८ औं वसन्त सधै एकनास हुन पाएन । फुटवलरका रुपमा अघि बढ्न चाहन्थे विराग÷ कयौंपटक उनले प्रहार गरेका फुटवल सटले गोलपोस्टका जाली छेडेका थिए । फुटवल खेल्दा लागेको चोटलाई विरागले जीन्दगी भर सामना गर्नु परेको थियो । फुटवल टुर्नामेन्टका क्रममा लडेका विरागले जीवन भर कुप्रो शरिर लिएर बाच्नु प¥यो, शारिरिक सुन्दरता गुमाएकोमा उनले कहिले सानो मन पारेनन् नत सिकायत नै गरे कुप्रो र कुरुप भौतिक शरिरप्रति । तर लेखक तथा सिनेकर्मी ब्रजेश खनालले यस विषयमा ट्विटरमा लेखेका छन् – विरागलाई सिंगो आकास हेर्न नपाएकोमा भने निकै ठूलो खेद थियो रे । खनालका अनुसार विरागले आफ्नो कुप्रीएको शरीरका कारण ठाडो भएर उभिन नसकेकोमा उनले गरेको त्यो गुनासो गरेका हुन् रे । तर विरागले भनेका छन् – सुन्दरता दृष्टिमा नभई सृष्टिमा हुन्छ । विरागका यस्तै सुन्दर अभिव्यक्तिले उनको व्यक्तित्वलाई सदियौंसम्म फुल भन्दा सुन्दर बनाईदिएको छ कहिलै नओईलिने गरि । जो मरेर पनि नेपाली संगीतको क्षेत्रमा धु्रवतारा झै अटल भईरहने छन् सृष्टि र जगत रहूञ्जेलसम्म । वीरगञ्जबाट हेटौडा बसाई सरेका विराग हेटौडा काठमाण्डौ हुदै सिर्जनामा लागिरहे उनका बारेमा खोज्दै जादा मलाई एउटा प्रश्नले उनका बारेमा धेरै खोज्न बाध्य तुल्यायो । एउटा व्यक्तिको पहिचान कति होला ? कतिवटा क्षेत्रले समान्यत उसलाई चिनाएको हुनसक्छ ? समान्यतः एक, दुई या तीन ? नेपाली समाजले भीम विराग भनेर चिनेका महर्जनलाई नेपाली संगीत क्षेत्रले भीम विरागकारुपमा चिनाए पनि उनी त्यति मात्रै थिएनन् । उनी एउटा सफल पत्रकार, फुटवल खेलाडी, साहित्यकारका रुपमा पनि उत्तिकै परिचित छन् तर धेरैले उनलाई संगीत क्षेत्रका अग्रजकारुपमा मात्रै चिन्ने गरेका छन् । संसारमा कसैको पनि अजम्मरी देह हु“दैन जो विरागको पनि थिएन त्यसैले विरागको विदाई पनि प्रकृतीको सास्वत शत्य हो । चार वर्È पहिले आफ्नी जीवनसंगी अनुदेवीलाई गुमाएका विराग पछिल्लो समय छोरी आभा श्रेष्ठस“गै बस्दै आएका थिए ।  विसं २०१५ सालमा आफ्नै शब्द, संगीत र स्वरमा म एक्लै बा“चिदिन्छु भन्ने गीत रेकर्ड गरेर नेपाली संगीतको आकासमा उदाएका विरागका अन्य सयौ गीतहरुले यो क्षेत्रलाई समृद्ध र विशाल बनाइ दिएको छ । मधु Ôेत्रीको स्वरमा फूलै फूल मात्र पनि हैन रहेछ जीवन, नारायण गोपालको आवाजमा तिमीले पनि म जस्तै माया दिएर हेर , आज भोलि हरेक सा“झ मातिन थालेछ देखि पछिल्लो समय रेकर्ड भएको रामकृष्ण ढकालको शैलीमा समावेश  नबोलाउ कसैलाई यहा“ रातिरातिसम्म आई पुग्दा उनका कालजयी गीत र गजलले  धेरैका मनलाई छोएका छन् । विरागले गीत मात्रै लेखेनन् उनका साहित्यिक कृतिलाई यहा छुटाउनु उनी प्रति अन्याय हुने छ । उनका प्रकाशित कृतिहरुमा इन्द्रेणी , अतृप्त स्पर्श, तातो सुस्केरा, आठ टुक्रो बादल, अज्ञात प्रारम्भ, स्वर सम्राटकोे सम्झनालगायत छन् ।  उनका सयौं संगीत, स्वर र लेख हामीलाई छोडेर गएका विरागको अन्तिम ९ वटा गीत उपहारस्वरुप पाएका गायक ढकाल आफ्नो नया एल्बममा समावेश गरि ल्याउने सुरमा छन् । ढकाल भन्छन् उहाको नासो मलाई होईन सबै संगीत अनुरागीलाई हो जसलाई म चाडै बजारमा ल्याउने छु ।

शैक्षिक आन्दोलनको एक चर्चा – पहिलो लेख

प्रकाश भण्डारी
नेपालमा शिक्षकका प्रतिनिधि मुल्क संघ संस्थाहरुले कहिले एक्ला–एक्लै कहिले संयुक्त रुपमा लामो समयदेखि पेशागत र शैक्षिक मागहरु राख्दै आएका छन् । यस सन्दर्भमा सरकार र शिक्षकका प्रतिनिधिहरु बीच पटक–पटक सम्झौता र सहमति पनि नभएका होइनन् । यसरी शिक्षकका पेशागत संघसंस्थाहरुसँग सम्झौता र सहमति गर्ने तर विडम्बनाको कुरा कार्यान्वयन नगर्ने प्रवृत्ति सरकार पक्षबाट बारम्बार दोहोरिँदै आयो । आम श्रमजीवि शिक्षक कर्मचारीहरु माथि धोका, तिरस्कार, दमन र अन्यायपूर्ण व्यवहार गर्ने कार्यमा सरकार तल्लीन रहनु शिक्षा र सरोकारवालासँग विश्वास गुमाउँदै गई राखेको छ भन्दा फरक नपर्ला । शिक्षण संस्थाहरु राज्यको गलत नीतिका कारण शैक्षिक बेरोजगार उत्पादन गर्ने उद्योगको रुपमा स्थापित भएका छन् । शिक्षकहरुको हक, हित, सेवा, सुविधा, वृत्ति विकास र शैक्षिक सुधार जस्ता कुराहरु अन्यौल, अराजक र दिशाहीन भएर मडारिन थाले । जसको प्रतिरोधका लागि सामुदायिक र संस्थागत विद्यालयका सम्पूर्ण शिक्षकहरु नेपाल शिक्षक युनियन र शैक्षिक गणतन्त्र मञ्चको संयुक्त नेतृत्वमा आन्दोलन होमिन शिक्षकहरु बाध्य भएको तथ्य घाम जस्तै छर्लङ्ग छ । यहाँ यसै सन्दर्भमा उठाइएका माग सम्बन्धमा छोटो चर्चा गर्ने प्रयास गरिएको छ ।
सबैका लागि अनिवार्य तथा निःशुल्क शिक्षाको सुनिश्चितता आन्दोलनको प्रमुख मागको रुपमा उठान गरिएको छ । गजबको कुरा के छ भने राजयले अनिवार्य तथा निःशुल्क शिक्षाको प्रतिबद्धता व्यक्त गरेको छ तर त्यसका लागि आवश्यक पर्ने पूर्वाधार शिक्षक कर्मचारी बजेट तथा दरबन्दी आदिमा पटक्कै ध्यान दिएको छैन । बाल विकास केन्द्रका शिक्षकलाई मासिक रु १८००।– तलब दिएर शिक्षण गर्न लगाउने कार्यले ११० को अभिसन्धिमा हस्ताक्षरद्वारा गरिएको प्रतिबद्धतालाई सिधै नकारेको छ । हाल सम्म उच्च माध्यमिक तहमा दरबन्दी उपलब्ध नगराउनु आदि कुरालाई हेर्दा राज्यले शिक्षालाई प्राथमिकतामा नराखेको स्पष्ट देखिन्छ । अतः राज्यले समग्र मुलुकको विकास अग्र गतिमा गर्ने हो भने शिक्षालाई पहिलो प्राथमिकतामा राखी कूक बजेटको २५ प्रतिशत बजेट लगानी गर्नुपर्ने आन्दोलनमा जोडदार रुपले माग गरिएको छ ।
राज्यले स्वयम् रोजगार सृजना गर्न सक्ने जनशक्ति उत्पादनका लागि न त नीति नियम नै बनाएको छ न त सो अनुसारको योजना नै निर्माण गर्ने चेष्टा गरेको  छ । फलस्वरुप देशका युवा युवतीहरु आफूले प्राप्त गरेका प्रमाण पत्र सन्दुकमा थन्काएर रोजगारका लागि खाडी मुलुकका मरुभूमिहरुमा विवस भएर भौतारिरहेका छन्, जुन देशका लागि अभिसाप र लज्जास्पदको स्थिति छ । वर्तमान परिवेशमा सञ्चालित आन्दोलनले गुणस्तरीय शिक्षा प्राप्तिका लागि संवैधानिक शिक्षा आयोगद्वारा सबै प्रकृतिका शिक्षकहरुको नियुक्ति, प्र.अ. नियुक्तिमा पारदर्शी प्राज्ञिक मापदण्ड निर्धारण, शिक्षक काउन्सिल गठन गरी शिक्षक लाइसेन्सको वितरणमा सुनिश्चितता होस् भन्ने आन्दोलनको माग रहेको छ ।
आज शिक्षा क्षेत्रमा अनेकौँ बेथिति भित्रिएका छन्, जसको अन्त्य गर्नु जरुरी छ । विद्यार्थी शिक्षक अनुपात अनुसार दरबन्दी निर्धारण, अन्यायपूर्ण तरिकाले निष्कासन गरिएका शिक्षक कर्मचारीहरुलाई क्षतिपूर्ति सहित पुनर्वहाली र राज्यले प्रतिबद्धता जनाएको र कानुनले तोके अनुसारको पारिश्रमिक देउ भनेर आन्दोलनमा राखिएका माग निश्चय अनुचित होइनन् ।
अलिक गम्भीर भएर हेर्दा राज्यले सबैभन्दा अन्याय अस्थायी शिक्षकहरुलाई गरेको देखिन्छ । राज्यको अकर्मण्यतााके कारणले २० वर्ष भन्दा लामो समयदेखि अझ सम्म पनि अस्थायी शिक्षकहरु कार्यरत रहेका छन् । उनीहरुमा भएको जोस, जाँगर, सिप र क्षमता आफ्नो उर्जाशील उमेरका साथ राज्यलाई समर्थन गरी आईरहेका छन् । आज १६ वर्षभन्दा पनि बढी भइसक्यो राज्यको अकर्मण्यताका कारण शिक्षा आयोग खोलेको छैन । अस्थायी शिक्षक नियुक्ति गर्दा प्रतिस्पर्धाद्वारा नै छनौट गरी नियुक्ति गरिन्छ । त्यसैले उनीहरु एक हदसम्म योग्य सावित भैसकेकाले प्रक्रिया पु¥याएर स्थायी गर्नुको विकल्प छैन । त्यसपछि ६÷६ महिनाको अन्तरमा शिक्षा आयोग खोली स्थायी शिक्षक नियुक्ति गर्ने र प्रक्रियालाई निरन्तरता दिइयोस् भनि आन्दोलनको माग रहेको छ ।
२०५७ साल पछि हालसम्म विद्यालयमा कुनै पनि दरबन्दी थपिएको छैन । हाल सम्म राहत कोटामा र पि.सी.एफ. गरी ५० हजार भन्दा बढी शिक्षकहरु कार्यरत छन् । यस्ता शिक्षकहरुको लागि प्राप्त हुने अनुदान सहयोग रकम कहिले सम्म प्राप्त हुने निश्चित छैन । यिनीहरुको पुनस्थार्पना कहिले र कसरी गरिने हो अनिश्चित र अन्यौल छ । अतः विद्यालयमा कार्यरत राहत, पि.सी.एफ.(एऋँ), परियोजना, निजी स्रोत, सट्टा, लियन र संस्थागत शिक्षकहरुलाई शिक्षा आयोगको खुल्ला विज्ञापनमा उमेरको हद र अनुभवको आधारमा मूल्याङ्कन होस् भनि मागमा समावेश गरिएको छ ।
राज्य शिक्षाबाट पन्छिदै जाने सन्दर्भमा विद्यालय व्यवस्थापन समुदायमा हस्तान्तरण प्रक्रिया एउटा दरो उदाहरण हो । शिक्षकहरुका लागि हित सेवा सुविधा, संरक्षण र ट्रेड युनियनका अधिकार क्रमशः खोस्दै जाने र सम्पूर्ण आर्थिक भार समुदायमा थोपर्ने सुनिश्चित योजनाका ल्याइएको कार्यक्रम हो । यो आरोप होइन । यसै योजना अनुसार राहत र पि.सी.एफ.का नाममा नियुक्ति गरेका शिक्षकहरु हुन् । राज्य शिक्षबाट पन्छिन मिल्दैन । शिक्षाको सम्पूर्ण जिम्मेवारी लिनु राज्यको दायित्व हो । विद्यालय व्यवस्थापन समुदायमा हस्तान्तरण गर्ने कार्य तुरुन्त बन्द गरी गएकालाई फिर्ता बोलाई नयाँ सोचका साथ शैक्षिक बहस सरोकार पक्षसँग चलाउनु आवश्यक छ ।
शिक्षा क्षेत्र देखिएका यी जति पनि समस्या समाधान गर्नु भनेको निमचरा पनि बालबालिकाहरुको समस्या समाधान गर्नु हो भन्दा फरक पर्दैन । शान्तिपूर्ण ढङ्गले लोकतान्त्रिक मान्यता र ट्रेड युनियन अधिकार सम्मत आफ्ना माग राखी आन्दोलन गर्दा सरकार हिंस्रक बन्नु लोकतान्त्रिक सरकारलाई के सुहाउने विषय होइन । आज नेपाललाई वैैज्ञानिक एवम् व्यवहारिक शिक्षा नीतिको खाँचो छ । जसका माध्यमबाट गुणस्तरीय शिक्षाको प्रबद्र्धन गरी रोजगार सृजना गर्न सक्ने श्रम उत्पादन गर्नुको विकल्प छैन । आफ्ना शैक्षिक तथा पेशागत समेत गरी जम्मा ४७ सुत्रीय माग राखेर सम्पूर्ण नेपाली शिक्षक र विद्यालय कर्मचारीहरु बाध्य भएर आन्दोलनमा होमिएका छन् । यस अवस्थामा सरकारले मागलाई वेवास्ता गरी घरपकड, लाठ्ठी वर्षाउने काम गर्नु भन्दा समस्याहरु सही पहिचान गरी वार्ताद्वारा स्थायी ढङ्गले अवतरण गर्नु भन्दा अर्को उपाय छैन । जसका लागि विगतमा गरिएका सम्झौता कार्यान्वयन गर्दै आन्दोलनमा उठाइएका मागलाई सरकारले इमान्दारीका साथ सम्बोधन गरी गमेको सरकारी विश्वासलाई पुनर्जीवित गर्नु जरुरी छैन ।

वैदेशिक रोजगारी र समस्या – सम्पादकीय

नेपाली श्रम बजार कहिले स्थापित हुने हो ? अझै टुङ्गो छैन । तर, नेपाली जनशक्तिको उचित सदुपयोग विदेशमा हुँदै आएको यथार्थ भने हाम्रा लागि अनौठौ विषय होइन । मूलत, नेपाली श्रमशक्ति दुई कारणले विदेशमा बिक्ने गरेको छ । एउटा कारण इतिहास देखि जोडिएको छ र परम्पराकै रुपमा त्यसले नियमितता प्राप्त गरेको त्यो भनेको विदेशी राष्ट्रिय सेनामा गरिँदै आएको भर्ती नै हो, जो दोस्रो विश्वयुद्ध शुरु हुनु अगावै देखि हालसम्म निरन्तर छ । साथै, यही परम्परासँग जोडिएका अन्य विविध कारणले नेपाली जनशक्ति विदेश पुगेका छन् । अर्को महत्वपूर्ण कारण पनि छ, जो स्वदेशमा रोजगारीको स्थिति सृजना नहुनुले उब्जाएको समस्या नै हो । मुलुकका पुराना उद्योग धन्दा धमाधम बन्द भइरहेका छन् । राज्यले त्यसतर्फ ध्यान दिन सकिरहेको छैन भने अर्कातिर विभिन्न मुलुकहरुमा कुटनीतिक प्रयास र श्रम मन्त्रालय मार्पmत जनशक्ति निर्यात गर्ने  कार्य डेढ दशकभन्दा अघि देखि शुरु भएको भए तापति समानुकूल सम्झौताहरु परिपक्व नभइरहँदा विदेशी भूमिमा श्रम गर्न गएका नेपाली नागरिकहरुको आवधिक रोजगारीमा विश्वसनियता कायम हुन सकिरहेको छैन ।
नेपाली कामदारहरुको चाप बढ्दो अवस्था रहेका खाडी मुलुकहरुमा विशेष गरी नेपाली कामदारहरु विभिन्न कारणले समस्या झेलिमात्रै रहेका छैनन्, काम गरेर पनि कामको उचित दाम नपाउने देखि कामबाटै निकालिने, धपाइने जस्ता अपमानजनक  समस्यामा पर्दै आएका छन् । हाम्रो मुलुकमा सरकार छ, विभिन्न मुलुकहरुमा नेपाली दुतावास छन्, राजदूतहरु नियुक्त भएर गएका छन्, श्रमसहचारीहरु कार्यरत छन् । सरकार पटक वैदेशिक रोजगारीकै रटान दोहो¥याइ रहन्छ र रेमिट्यान्सको अवलामा मुलुकको वार्षिक बजेट समेत तयार गर्न पछि पर्दैन तर आफ्ना नागरिकले विदेशी भूमिमा खेप्दै आएका पीडा, यातना, समस्या र बाधा अड्चनहरुका सम्बन्धमा सरकार अन्धो बनेर बसेको छ । यो उदासीको अन्त्य कहिले सम्म जारी रहने हो ? यसको अन्त्यको कुनै गुञ्जायस सम्म छैन ।
एक साता यता मलेसिया, कतार, दुवई लगायतका मुलुकहरुबाट ३ सय बढी नेपाली कामदारलाई सम्बन्धित मुलुकका रोजगारवदाता कम्पनीहरुले फिर्ता पठाउँदै छन् । केही हप्ता अघि मात्रै पनि ठूलो संख्यामा नेपाली कामदारहरुलाई फर्काइएको घटनाले नेपाली सञ्चार माध्यमहरुलाई तताएको थियो । विदेशीने क्रममा रोजगारदाता र नेपाली कामदारबीच गरिएको श्रम सम्झौताको पालना नहुने, सरकार यी सबै विषयमा मूर्ति मात्र बन्ने जस्ता कारणले आज नेपाली कामदारको श्रम मूल्यमा गिरावट मात्रै आएको छैन । रेमिट्यान्सले थेगेको हाम्रो मुलुकको अर्थतन्त्र धरासायी  बन्दै गएको समेत स्पष्ट छ । स्वदेशमा भन्दा बढी सुविधा भोग गर्न, धेरै आम्दानी गर्न घरखेत साहूलाई जिम्मा लगाएर विदेशीएका नेपाली युवाहरु मध्ये कतिपय यस्ता अभागीहरु पनि छन् जो विदेश जाँदा थुप्रै रहर, अभिलाषा र योजना बोकेर उड्छन् तर फर्कँदा भने मृत शरीर बन्द बाकसमा लाश बनेर मात्र आइपुग्न् ।
नेपाल सरकारले जब सम्म आफ्नो परराष्ट्र नीतिलाई युग अनुकूल सच्चाउन सक्दैन, बलियो अडान र विश्वासिलो हैसियत कायम गर्न सक्दैन तब सम्म वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकहरुको भविष्य सुरक्षित छैन । राष्ट्रिय जनगणना २०६८ को प्रारम्भिक तथ्याङ्क अनुसार १७ लाख बढी नेपाली नागरिक विदेशीएका छन् । यदी नेपाली परराष्ट्र नीति यसरी नै अन्यौलग्रस्त रहिरहने हो भने उनीहरुको भावी दिन सुखमय नबन्ने निश्चित छ । तसर्थ, यो राष्ट्रिय चासो र अन्तर्राष्ट्रिय प्रतिष्ठाको विषयमा राज्य गम्भीर बन्न आवश्यक छ । अहिले पनि दैनिक जसो राहदानी थाप्न परराष्ट्र मन्त्रालय अघि उभिने लाम, त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको दृष्य देखि मुलुकभर सञ्चालनमा रहेका विभिन्न मेनापवर र वैदेशिक रोजगारीसँग सम्बन्धित व्यवसायिक संस्थाहरुमा नेपाली युवाको आकर्षण र दौडधुप देख्दा नेपाली नागरिकको विदेश मोहलाई सामान्य होइन, बरु थप झाँगिदै गएको संकेत मिलेको छ । त्यसैले नागरिकका पक्षमा उपयुक्त परराष्ट्र नीति र नेपाली जनशक्तिका पक्षमा हुने श्रम सम्झौता गर्न सरकार इमान्दार बन्न जरुरी छ ।