हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

संयुक्त व्यवस्थापनबाट उज्यालो यातायात सञ्चालन हुने

पिपुल्स टाइम्स समाचार
बिर्तामोड/विगत नौ महिनादेखि उज्यालो यातायात सञ्चालनको विषयमा चर्किएको विवाद समाधान गर्न संयुक्त व्यवस्थापनबाट उज्यालो यातायातका सवारी साधन सञ्चालन गर्ने सहमति भएको छ ।
मेची अञ्चलका चार वटा यातायात व्यवसायी संघको संयुक्त यातायात व्यवस्थापन समिति, उज्यालो यातायातका प्रतिनिधि र टे«ड युनियनका प्रतिनिधिबीच विहीवार विर्तामोडमा भएको बार्तामा उज्यालोसहितको संयुक्त व्यवस्थापनबाट यातायात सञ्चालन गर्ने सहमति भएको हो । संवाद समूहको संयोजनमा भएको बार्ताको सहमतिमा ‘संयुक्त यातायात व्यवस्थापन समिति मेचीकै संरचनामा पहिचानसहित उज्यालो यातायात व्यवसायी संघका यातायात उज्यालोसहितको संयुक्त व्यवस्थापनबाट सञ्चालन गर्न हामी सहमत छौँ’ उल्लेख छ ।
पहिचानको मोडल, हैसियत र यातायातको क्यू वितरण लगायतको प्राविधिक विषय तीन दिनभित्र टुंग्याउने गरी कार्यदल गठन भएको छ । संवाद समूहका सदस्य तथा स्थानीय शान्ति समितिका संयोजक सूर्यनारायण गणेशको संयोजकत्वमा गठित समितिमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष श्रीप्रसाद मैनाली, सर्वोच्च यातायात व्यवसायी महासंघका अध्यक्ष विष्णु शिवाकोटी, मेची यातायात संघका सभापति एलपी सिटौला, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ मेचीका सचिव राजेन्द्र रिजाल, उज्यालो यातायात व्यवसायी संघ मेचीका अध्यक्ष भूपू कान्छा र सचिव केवलराम राई सदस्य रहेका छन् ।
कार्यदलले प्राविधिक विषयमा छलफल र निर्णय गर्ने संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराईले बताए । विभिन्न चरणमा भएको वार्ताको आधारमा विहीवारको बार्तामा उक्त दुई बुँदे सहमति भएको संवाद समूहका सहजकर्ता अधिवक्ता खगेन्द्र खरेलले बताए ।
वार्ताको सहजीकरण संवाद समूहका तर्फबाट राजनीतिक दलका नेताहरुले गरेका थिए । नेपाली कांग्रेसका कार्यवहाक सभापति देउमान थेवे, नेकपा एमालेका डिल्ली घिमिरे, एकीकृत नेकपा माओवादीकी अध्यक्ष धर्मशीला चापागाई, नेकपा माओवादीका सेक्रेटरी रोशन कन्दङवाले सहमतिबाटै विवाद टुंग्याउनुपर्नेमा जोड दिँदै बार्ताको सहजीकरण गरेका थिए । टे«ड युनियनका
 प्रतिनिधिहरु यज्ञप्रताप अधिकारी, विष्णु सिटौला, भूपाल सापकोटा, दीपक तामाङ र भूपाल ओलीले मजदुरका पेशागत हकअधिकार ग्यारेन्टी गर्न र सहमतिबाट अगाडि बढ्न दबाब दिएका थिए । बार्तामा  कन्काई यातायातका सभापति कुलप्रसाद ओडारी, पूर्वाञ्चलका सभापति प्रमानन्द घिमिरे, उज्यालोका तर्फबाट लाजेहाङ साम्यु, अरुण बुढाथोकी र रवीन बस्नेतले समेत आ–आफ्नो एजेन्डा प्रस्तुत गरेका थिए । 


तीन गाडी चोर पक्राउ

काँकडभिट्टा/गाडी चोरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना भारतीय नागरिक र अन्य दुईजना नेपाली रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरू भारतको सिलिगुढीका २३ बर्षीय सुवास राय, मोरङको बेलबारी ३ का १९ बर्षीय सुरेन्द्र रणपहेली र कैलालीको टिकापुर ८ का २६ बर्षीय लक्ष्मण सेठी हुन् । जुम्लाको धापा ८ घर भई हाल मेचीनगर १० बस्ने रामकृष्ण शर्माले चलाउँदै आएको भारतीय नम्बर क्प्ण्घएण्ण्ज्ञण् को गाडी चोरी गरेको अभियोगमा उनीहरू पक्राउ परेका हुन् ।
यहि साउन ५ गते
राति आफूले चलाउने गरेको सो गाडी हराएको भनी शर्माले इलाका प्रहरी कार्यालय काँकडभिट्टामा साउन ६ गते दिएको उजुरीका आधारमा प्रहरीले खोजी गर्ने क्रममा सोही दिन विहान साढे १० बजेतिर प्रहरीले बेलबारी ७ बाट बा १ च ३९४८ नम्बर प्लेट लगाइ चलाइरहेको अवस्थामा राय र रणपहेलीलाई पक्राउ गरेको थियो । उनीहरू पक्राउ परेपछि अनुसन्धान गर्ने क्रममा सेठीको समेत संलग्नता देखिएकोले उनलाई समेत पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख, डिएसपि वसन्त रजौरेले जानकारी दिए ।
सो बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

दमकमा बहाल कर तिर्ने घरधनी न्युन

दमक/झापाको दमक र आसपासको क्षेत्रमा घरधनीहरुले स्वयम बहाल कर तिर्ने गरेका छैनन् ।
बहालमा बस्ने व्यवसायीलाई कर तिराउने गरिएको हो । करदाता सेवा कार्यालय दमकका प्रमुख दिपक खड्काले व्यवसायीहरु आफैले कर तिर्ने गरेको बताए ।  उनले घरधनी स्वयमले कर तिर्नेको संख्या न्युन रहेको बताए । त्यस्तै अघिल्लो आर्थिक बर्ष २०७०÷७१ मा ५ सय ७४ वटा ब्यक्तिगत पान नम्बरहरु कार्यालयले जारी गरेको छ ।
जागिरेहरुले अनिबार्य रुपमा प्यान नम्बर लिनुपर्ने र आय कर सरकारलाई बुझाउनु पर्ने भएपछि प्यान नम्बर लिनेहरु संख्या बढेको खड्काले जानकारी  दिए ।  ६ सय २६ वटा अन्तशुल्क नबिकरण तथा इजाजत पत्र जारी गरिएको, बजारमा अनुगमन गरि ९ सय ५५ वटा फर्मलाई प्यानमा अनिबार्य रुपमा दर्ता गरिएको कार्यालयले जनाएको छ । ६३ वटा फर्मलाई प्यान नम्बरबाट भ्याटमा लगिएको छ । सरकारले १९ किसिमका फर्महरुलाई अनिबार्य रुपमा भ्याटमा दर्ता गर्ने प्राबधान ल्याएपछि ३२ वटा त्यस्ता फर्महरुलाई भ्याटमा दर्ता गरिएको कार्यालयले जनाएको छ ।

रक्तदानमा ३४ पिन्ट रगत संकलन

दमक/झापाको दमकमा बिहिवार भएको रक्तदान कार्यक्रममा ३४ पिन्ट रगत संकलन भएको छ । लायन्स क्लब अफ दमक  माउण्ट एभरेष्ट, दमक जेसीज लायन्स अफ इष्टन लाइनको सयुक्त आयोजनामा रक्तदान गरिएको हो ।
कार्यक्रममा ४ महिला सहित ३४ जनाले रगतदान गरेका थिए । लाइफलाइन अस्पताल दमकका मेडिकल सुपेरिटेन्डेन्ट सुर्यनारायण शाहले रक्तदान  कार्यक्रममा रगत दान गरेर उद्घाटन गरेका थिए ।
लायन्स क्लब अफ दमकका अध्यक्ष अजय अग्रवालले कार्र्यक्रमको बारेमा प्रष्ट पारेका थिए ।

भारतीय विदेशमन्त्री स“ग ज्येष्ठ शरणार्थीहरुको अपिल

दमक/भुटानी शरणार्थी ज्येष्ठ नागरिक स्वदेश फिर्ति समितिले शरणार्थीहरुको स्वदेश हुन पाउने अधिकारलाई शुनिश्चीत गरिदिन भारत सरकारसंग आग्रह गरेको छ ।  भारतीय विदेशमन्त्री सुष्मा स्वोराजको शुक्रबारबाट हुने नेपाल भ्रमणको पूर्वसन्ध्यामा समितिले विदेश मन्त्री स्वोराजलाई इमेल पठाएर भुटानी शरणार्थीहरुको स–सम्मान घर फिर्ती अभियानलाई उठाईदिन आग्रह गरेका हुन् । विदेशमन्त्री स्वोराजको नेपाल भ्रमणमा क्रममा समितिले आफना मुद्यालाई ध्यानकर्षण गराउन अपिल गरिएको जनाएको छ । भुटानबाट जवर्जस्त लखेटिएका आफना नागरिकलाई स–सम्मान घर लैजान भुटान नचाहेको उल्लेख गर्दै समितिले भुटान सरकारलाई कुटनीतिक दवाव दिएर मात्र यो समस्या सुल्झीने दावी गरिएको छ । अपिलमा भनिएको छ –‘भुटान सरकारलाई आफ्ना नागरिक आफनै देशमा लैजान कुटनीतिक दवाव दिनुको बिकल्प छैन् ।’
झापाको दमकमा समितिले नेपालस्थित भारतीय राजदुत मार्फत विदेशमन्त्रीलाई पूर्वको झापा र मोरङमा बस्दै
 आएका ज्येष्ठ नागरिकहरुको हस्ताक्षार सहितको  अपिल पठाउँदै त्यस्तो आग्रह गरेका हुन् । समितिका प्रवक्ता  सन्तविर घलेले भुटानी शरणार्थी समस्या समाधान गर्न भारत सरकारको भूमिका विना संभव नहुने उल्लेख गरेका छन् । दमकमा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै घलेले भुटानी शरणार्थीहरुको इच्छा विपरीत विभिन्न पश्चिमा मुलुकहरुमा पूनार्वास गरिएको दावी गरे । ‘ स्वदेश फिर्तीको मुद्यालाई रोकेर एक पक्षीय तेश्रो देश पूर्नावासमा दातृ निकाय समेत केन्द्रित छन् ।’ प्रवक्ता घलेले गुनासो गरे । उनले पूनर्वास संगै घर फर्कने स्वतन्तत्रा भए मात्र शरणार्थीहरुको समस्या समाधान हुने दावी गरेका छन् ।

दुर्घटनामा चौरासी जनाको मृत्यु

विराटनगर/  मोरङ जिल्लामा गत आर्थिक वर्षमा सडक दुर्घटनामा परी ८४ जनाको मृत्युभएको छ ।
जिल्ला ट्राफिक कार्यालय मोरङका अनुसार आव २०७०÷७१ मा ४३१ वटा सवारी दुर्घटनामा परी ८४ जनाको मृत्यु भएको हो ।
मोटरसाइकलको दुर्घटनामा परी सबैभन्दा बढी मृत्यु भएको प्रहरी निरीक्षक खेमबहादुर केसीले बताए ।
मोरङको ग्रामीण क्षेत्रमा अधिकांश ग्राभेल सडकमा सवारी सञ्चालन, ट्राफिक नियम उल्लङ्घन एवम् अत्यधिक गतिमा सवारी सञ्चालन गर्ने कारण दुर्घटना बढी हुने गरेको प्रहरीले जनाएको छ ।
यसैगरी इलामको दक्षिणी दानाबारी–८ स्थित हिलेखोलामा भएको ट्याक्टर दुर्घटनामा इलाम,इरौँटार–३ का २७ वर्षीय जीवन मगरको मृत्यु भएको छ ।  दानाबारी बजारतर्फ दाउरा ल्याउँदै गरेको मे १ त २२८२ नम्बरको ट्याक्टर पल्टिँदा मगरको मृत्यु भएको हो ।

चन्द्रगढीका पसलहरुमा अखाद्यबस्तु फेला

भद्रपुर/संयुक्त वजार अनुगमन टोलीले गरेको बजार अनुगमनका क्रममा झापाको सदरमुकाम चन्द्रगढीका अधिकांश किराना पसलहरुमा न्युनतम मापदण्ड पूरा नगरी अखाद्यवस्तुहरु बिक्रीवितरण गरिरहेको फेला परेको छ ।
बजारमा मापदण्ड विपरित अखाद्य बस्तुहरु बिक्री वितरण भइरहेको विषयमा सञ्चार माध्यममा समाचार आएपछि जिल्ला बजार अनुगमन समितिले चन्द्रगढीका ६ वटा किराना पसलमा गरेको आकस्मिक अनुगमनक्रममा मापदण्ड विपरित यस्ता अखाद्यबस्तु फेला पारेको हो ।
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख गोपी घिमिरेको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालयका शंकरप्रसाद पौडेल, उद्योग वाणिज्य संघ चन्द्रगढीका नविन कोइराला, घरेलुका कर्मचारी मेघनाथ लुइटेल र पत्रकार उत्तम नेपालको संयूक्त टोलीले चन्द्रगढीको हङकङ सपिङ सेन्टर, आँचल स्टोर, पप्पु स्टोर, अग्नि ट्रेड एण्ड सप्लार्यस, ववि स्टोर्स र अनिता किराना पसलमा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा हङकङ सपिङ सेन्टरले आफै प्याकेजिङ गरेको, स्पष्ट मिति उल्लेख नभएका सामान बिक्री गरिरहेको, लेवल नराखेको त्यसैगरी आँचल स्टोरले गुणस्तरहिन साँधेको आलु चिप्स, मुराई लगायतका अखाद्यवस्तु बिक्रीका लागि राखेको अनुगमन टोलीले फेला पारेको हो । यस्तै ववि स्टोरले कृत्रिम अभाव देखाएको भन्दै केहि दिन अघि उपभोक्ताले जिल्ला प्रशासन कार्यालय झापामा अनुगमन गरी कारवाही गर्नका लागि निवेदन दिएका थिए । अनुगमनका लागि जिल्ला प्रशासन कार्यालयमा बुझाइएको निवेदनमा किटानी नगरिएकोले कारवाही गर्न टोली असफल भएपछि स्टोर संचालक संजय महतोलाई घरेलु तथा साना उद्योग कार्यालयमा उपस्थितिका लागि वोलाइएको अनुगमन
 टोलीका संयोजक घिमिरेले जानकारी दिए । बजार अनुगमनका क्रममा सदरमुकामा अधिकांश पसलहरुमा मूल्य सूचि नराखिएको, अखाद्यवस्तु बिक्रीका लागि राखिएको, उपभोग्य मिति, उत्पादन मिति जस्ता महत्वपूर्ण कुरा नराखिएको फेला परेको थियो । यसैगरी बजार अनुगमनका क्रममा आयोनुनको प्याकेजिङ न्युन गुणस्तरको भएको पाइएपछि अनुगमन समितिले साल्ट ट्रेडिङ्ग कर्पोरेशन नेपालको क्षेत्रीय कार्यालयलाई आवश्यक निर्देशन दिइएको अनुगमन टोलीका संयोजक घिमिरेले जानकारी दिए ।

सवारी दुर्घट्ना घटयो

दमक/दमक र त्यसका आसपासका  क्षेत्रमा सवारी दुर्घटनामा कमी आएको छ । 
अघिल्लो आर्थिक वर्ष भन्दा , आर्थिक बर्ष २०७०÷७१ मा  दमक र आसपासका क्षेत्रमा सवारी दुर्घटना कमी भएको हो ।  इलाका ट्राफिक प्रहरी कार्यालय दमकका अनुसार  ०७०÷७१ मा  १५ जनाले दुर्घटनामा ज्यान गुमाएका छन् । 
आर्थिक बर्ष २०६९÷७० मा ३२ जनाको दुर्घटनामा ज्यान गुमाएका थिए । ट्राफिक चेकजाँचमा कडाई र चेकजाँचलाई  निरन्तरता दिइएका कारण  दुर्घटनामा कमी आएको इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख बासुदेव थापाले जानकारी दिए ।   बिना हेल्मेट, तीन जना सवार र मापासे गरेर सवारी चलाउनेलाई कारवाही गरेकाले घटना थोरै भएको उनले  बताए ।
०६९÷७०को   दुर्घटनामा २५ जना पुरुष र ४ जनाको महिला सहित ३ जना बालकको ज्यान गएको थियो । सो अबधिमा ४ वटा चौपायको सवारी दुर्घटनामा ज्यान गएको थियो ।  २०७०÷७१ मा २ वटा चौपायको ज्यान गएको थियो । सो अबिधमा १३ जना पुरुष, एक जना महिला र एक जना बालकको ज्यान गएको थियो ।

झापाका ट्याक्टर व्यवसायीहरु आन्दोलित

दमक/खोला नालाबाट टयाक्टरमा समेत निर्माण सामग्री ओसार्न रोक लगाएको प्रति झापाका ट्याक्टर  व्यवसायीले विरोध जनाएका छन् । सरकारले हालै गरेको निर्णय प्रति बिरोध जनाउँदै ट्याक्टरलाई समेत खोलामा निर्माण सामाग्री संकलन गर्न रोक लगाउनु न्यानोचित नभएको गुनासो गरेका हुन् । जिल्लाभरका व्यवसायीहरुको विहिबार भएको भेलाले  विदुर भट्टराईको अध्यक्षतामा  जिल्ला स्तरिय संघर्ष समिति पनि घोषणा गरेका हुन् । गठित संर्घष समितिमा जिल्लाका ६ ओटै क्षेत्रका ट्याक्टर व्यवसायीहरु संलग्न छन् । गठित संघर्ष समितिको सदस्यहरुमा सन्तोष कुमार मेचे, भोगेन्द्र श्रेष्ठ, रुपेश मेचे, राजेश राउत, उदय भण्डारी, शिवलाल खतिवडा, राजकुमार र्चौहान, श्याम निरौला, केदनिधी भट्टराई, बद्रिप्रसाद खनाल र नविन बराल छन् ।
विर्तामोडमा भएको  व्यवसायीहरुको भेलाले झापा जिल्ला निर्माण समाग्री  परिचालन उपयोग उपभोक्ता समिति गठन गरेको  हो । 
झापा कन्काई माई ट्याक्टर संघले दमकमा विहिबार पत्रकार सम्मेलन गरी  प्रशासनको रोकका कारण  जिल्लाभर कम्तिमा २० हजार मजदुरहरुको दैनिक रोजगारी गुमेको  जनाएको छ । संघका सचिव नविन बरालले जिल्लामा पाँच हजार ट्याक्टर सञ्चालनमा रहेका र तिनीहरुमा रोजगारी गर्ने  सर्वसाधारण मजदुरको जिविकोपार्जनमा समस्या आएको बताए । उनले भने–‘राज्यलाई कर तिरेर ट्याक्टर सञ्चालन गर्ने  व्यवसायीहरुको करोडौँ लगानी  निस्क्रिय  हुँदा मार वेहोर्नुपरेको  छ ।’ उनले  चुरे संरक्षणका नाममा तराईमा रहेका खोलानालाबाट हातको प्रयोगले निकालिने निर्माण सामग्रीमा रोक लगाउनुको कुनै  तुक नभएको बताए । ‘स्काभेटर रोक लगाउनु स्वभाविक हो, तर बेल्चा र हातले गिटी बालुवा उठाउन पनि रोक लगाउनु न्यायसंगत  छैन् ।’ सचिव बरालले भने । सरकारले आफना पेशा विस्थापित गर्न लागेको भन्दै त्यस विरुद्ध थप आन्दोलन चर्काउने चेतावनी दिएका छन् । संघर्ष समितिले माग पूरा गराउन दवाव मूलक आन्दोलन गर्ने निर्णय भएको सचिव बरालले जानकारी दिए । यसैबीच खोलामा निर्माण सामाग्रीहरु ओसार्न रोक लगाउनु जायज नभएको बताए ।
संघका कोषाध्यक्ष प्रविण कटुवालले प्रसासनको  यस्तो अव्यवहारिक निर्णय नसच्याइए सडक संघर्षमा उत्रने व्यवसायीहरुको साझा निर्णय भएको बताए ।  उनले   निर्माण सामग्री निकाल्न  रोक लगाईँदा  विकास निर्माणका काम एवम् सर्वसाधारणको घर निर्माणको काम समेत रोकिएको बताए । यसैविच संघले विज्ञप्ती निकालेर वार्ताका माध्यमबाट  समाधानको  खोजी गर्न प्रशासनसँग माग गरेको छ । संघका अध्यक्ष बद्री खनालले हस्ताक्षर गरेर जारी गरेको विज्ञप्तीमा   प्रसासनको निर्णयमा पुनः विचार गर्न माग गरिएको छ ।
यसैगरी मोरङको मधुमल्लामा खोलाहरुबाट बालुवा, गिटी, ढुंगाहरु निकाल्न पाउनु पर्ने  माग गर्दै  ट्याक्टर ब्यवसायीहरुले बिहिवार  बिरोध गरेका छन ।
ट्याक्टर ब्यवसायी संघ मधुमल्लाको आयोजनामा भएको बिरोध ¥यालीले मधुमल्ला बजार परिक्रममा गरी  कोणसभामा परिणत भएको थियो ।  इलाका प्रहरी कार्यालय मघुमल्लाका प्रहरी कार्यालय प्रमुख राजेश चौधरीका अनुसार बिहान ११ वजेबाट पौने ३ वजे सम्म ट्याक्टर ब्यवसायीहरुले  ५० वटा ट्याक्टर  सडकमा राखेर बिरोध गरेका थिए ।
बिरोध पछिको  कोणसभालाई संघका अध्यक्ष रामचन्द्र थापामगर र सचिव खरी मगरले सम्वोधन गरेका थिए ।  सरकारले चुरे क्षेत्र संरक्षण अभियानलाई सफल पार्न खोलाको बालुवा, गिटी, ढुङ्गगा निकाल्न  प्रतिबन्ध लगाएको छ ।

आयोजनाका पूर्वप्रमुख सिंहविरुद्ध भ्रष्टाचारको मुद्दा

मोरङ/अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुनसरी–मोरङ सिंचाइ आयोजनाका पूर्वप्रमुख विनयकुमार सिंहविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
पदीय दुरुपयोग गरी १ करोड ४५ लाख ७६ हजार ६८८ रूपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको आरोपमा अख्तियारले सिंह र उनकी पत्नी अलका सिंहविरुद्ध मुद्दा दायर गरेको हो ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०–९२० बमोजिम बिगो र बिगो बमोजिम जरिवाना माग गरेको छ । साथै भ्रष्टाचार निवारण ऐनको दफा ४७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ‘ख’ बमोजिम सिंह र उनके पत्नीको नाममा बैंकमा रहेको १ करोड ३२ लाख ७२ हजार २११ र श्रोत नखुलेका अन्य अचल सम्पत्ति समेतबाट बिगो बमोजिम जफत एवं असुलउपर हुन मागदाबी गरिएको छ ।

अवैध हतियार बुझाउन प्रहरीको आग्रह

दमक/बिना इजाजत राखीएका हात हतियार तथा खरखजाना बुझाउन प्रहरीले आग्रह गरेको छ ।  कुनै पनि व्यक्तिलाई थाहा नभएर वा कसैको लहै–लहैमा लागेर बिना इज्जजत राखेका हात हतियार  भए नजिकैको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरिएको हो । सरकारले त्यस्ता हात हतियार साउन मसान्त सम्म बुझाउन पनि अपिल गरेको छ ।
इलाका प्रहरी कार्यालय दमकका डिएसपी रवि कुमार पौडेलले अवैध हतियारहरु जिल्ला प्रशासन कार्यालय झापा, जिल्ला प्रहरी कार्यालय , नजिकका प्रहरी इकाइमा बुझाउन सकिने बताएका छन ।
साउन मसान्त सम्मको अवधिमा नबुझाएको अवैध हात हतियार फेला परेमा प्रचलित कानुन बमोजिम त्यस्ता ब्यक्तिलाई ५ वर्ष सम्म कैद वा १ लाख रुपैया सम्म जरिवाना अथवा दुवै सजाय हुने डिएसपी  पौडेलले जानकारी दिए ।  बिना हेल्मेट , तीन जना सवार र मापासे गरेर सवारी चलाउनेलाई कारवाही गरेकाले घटना थोरै भएको उनले बताए ।

यलम्वर टाइम्सको ७ औं वार्षिक कार्यक्रम सम्पन्न

विर्तामोड/ग्रामिण पत्रकारितामा विशेष जोड दिँदै आएको यलम्वर टाइम्स साप्ताहिकले आफ्नो ७ औं वर्ष प्रवेशको कार्यक्रम मनाएको छ ।
विहीबार आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ झापा अध्यक्ष भिम नेम्वाङले उद्घाटन गर्दै ग्रामिण क्षेत्रका समस्यालाई उठाएर समाधानको बाटोमा यलम्वर टाइम्सले खेलेको भूमिका प्रशंसा गरेका थिए । त्यस्तैगरी विशिष्ट अतिथि तथा अर्जुनधारा जलेश्वरधामका व्यासाचार्य पुष्पलाल निरौलाले टाइम्सको प्रगतिको कामना गर्दै पर्यावरणीय क्षेत्रमा संचारकर्मीहरुले कलम चलाउनु पर्ने बताए ।
शनि–अर्जुन नगरपालिकाका कार्यकारी अधिकृत मोहनलाल पनेरुले ग्रामिण क्षेत्रको विकासमा यलम्वर टाइम्सको महत्वपूर्ण योगदान रहेको बताउँदै नगर क्षेत्रका सकारात्मक गतिविधिसँगै विकृति भए उठाइदिन आग्रह गरे ।
शनि–अर्जुन नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा यलम्वर टाइम्सलाई लेख, रचना प्रदान गरी सहयोग गर्नुहुने इतिहासकार नवल फाइवाली, पत्रिकाका सहयोगी पदम कन्दङ्वा, युवा व्यवसायीहरु बसन्त सोमानी, प्रदिप राई, दिपेन सुब्बा, वाणिज्य संघका सह–सचिव व्यवसायी विष्णु थापा, यलम्वर टाइम्सका संस्थापक सहयोगी इन्द्र चौधरी लगायतलाई प्रमुख अतिथि र विशिष्ट अतिथिद्वारा टोपी र सम्मानपत्रले अभिनन्दन गरिएको थियो ।
यलम्वर टाइम्सका सम्पादक दिपीन राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा फोनिज केन्द्रीय सदस्य इन्द्रजीत मुखिया, क्रान्तिकारी पत्रकार संघ केन्द्रीय सदस्य तारामणी सापकोटा, शनि–अर्जुन प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शी राई, नेपाली कांग्रेसका सभापति मोहन काफ्ले, एमालेका नेता तथा आदिवासी जनजाति महासंघ शनिश्चरेका अध्यक्ष वृर्ख प्रधान, नेकपा एमाओवादीका कुमार क्षेत्री, राष्ट्रिय जनमुक्ति पार्टीका दिलीप राई, संघीय समाजवादी पार्टीका तेजबहादुर राई, जलेश्वर स्वालम्वन समाजका अध्यक्ष डा. प्रल्हाद सापकोटा, सचेत युवा मञ्चका चतुर्भुज काफ्ले, वाणिज्य संघका अध्यक्ष भुवनेश्वर शिवाकोटी, किरात राई यायोक्खाका क्या. मानबहादुर राई, महिला संजालका मिश्रकुमारी राई लगायतले यलम्वर टाइम्सको प्रगतिको कामना गरेका थिए ।
वीच वीचमा राष्ट्रभक्ति गीत सन्दिप थापा मगर र आधुनिक गीत विष्णु रसाइली र हास्यव्यंग्य राकेश दर्नालले पस्केर उपस्थित सबैलाई मनोरञ्जन दिलाएका थिए । पदम कन्दङ्वाद्वारा स्वागत गरिएको कार्यक्रममा संचालन सहसम्पादक राजन साम्पाङले गरेका थिए ।

जगतको ‘मोहनी लगायौ तिम्ले ....’

मोरङको पथरीमा रहेर सांगीतिक क्षेत्रमा उदाएका गायक हुन् जगत राई । उनको ‘मोहनी लगायौं तिम्ले...’ गीतको भिडियोको छायाङ्कन बुधबार पूरा भएको छ ।
उनको दोस्रो गीति एल्बम ‘कसम तिमीलाई’ को शीर्ष गीत हो मोहनी ‘लगायौं तिम्ले’ । उक्त गीति एल्बमलाई पथरीकै ओजस्वी संगीत पाठशालाले बजारमा ल्याएको हो । पूर्वी मोरङको रमणीय स्थलहरूमा छायाङ्कन गरिएको भिडियो राईको पहिलो म्यूजिक भिडियो हो । सानैदेखि गीत संगीतमा होमिएका गायक जगत भन्छन् –‘मैले करिब आधा दर्जन गीत गाएँ । त्यसमध्ये मलाई ‘मोहनी लगायौं तिम्ले...’ गीत साह्रै नै मनपरेको गीत हो । त्यसै कारणले यो गीतको भिडियो बनाउने निर्णय गरे ।’
सोम याम्फूको संगीत, लालिमा श्रेष्ठको शब्द, फडिन्द्र राईको एरेन्जर रहेको उक्त गीतको छायाङ्कन गोपाल काफ्लेले गरेको हुन् भने पूर्वमा रहेर मनोरञ्जन बिटमा समाचार लेख्दै आएका सञ्चारकर्मी सन्तोष राईले निर्देशन गरेका हुन् । उक्त गीतमा मोडलद्वय हिमाल राई र स्मिता राईको अब्बल अभिनय रहेको छ । ‘यु ट्युब र फेसबुकका अलवा म्यूजिक भिडियो दशैं तिहारताका टेलिभिजनहरूबाट प्रिमियर गरिनेछ ।’ निर्देशक सन्तोष राई भन्छन् –‘कला मनोरञ्जन बिटमै समाचार लेखिरहेकोले सम्बन्धित काम गरौं भन्ने हेतुले पहिलो पटक मैले भिडियो निर्देशन गरेको हुँ ।’

मोडलिङमा क्यारियर बनाउँदै मनिता

फुर्सदको समय मोडलिङ क्षेत्रमा रमाउने मनिता चाम्लिङ आगामी दिनमा मोडलिङ क्षेत्रमा करियर बनाउने सोचमा छिन् । अनमीको रिजल्टको पर्खाइमा रहेकी उनी स्थापित मोडल बन्न चाहन्छिन् ।

घरपरिवारको सल्लाह, सुझाव र सानैदेखि सामाजिक क्षेत्रमा लाग्ने आफ्नो रूचिका कारण अनमी पढेको बताउने मनितालाई सानैदेखिको आकर्षण थियो, कला क्षेत्रमा । सेवा त मनले चाहेमा जुनसुकै क्षेत्रमा गर्न सकिन्छ भन्ने सोच राख्ने राईलाई विगत ६÷७ महिना पहिले सम्पन्न मिस नर्स प्रतियोगिताबाट पनि मोडलिङमा लाग्न प्रेरणा मिलेको हो ।
स्वास्थ्य क्षेत्रमा रहेर मोडलिङको क्षेत्र पनि काम गर्न सकिने रहेछ भनेर परिवारका सदस्य विशेष गरी दिदीको सहयोग, प्रेरणाले आफूलाई यस क्षेत्रमा स्थापित बनाउन मेहनत गरिरहेको मनिता बताउँछन् । फुर्सदको समयमा मोडलिङ सम्बन्धी जानकारी दिने विभिन्न पत्रपत्रिका पढ्न रूचि राख्ने राईले यस क्षेत्र र स्वास्थ्य क्षेत्र दुवैमा करियर बनाउन समयको व्यवस्थापन गर्न आफू मनदेखि तयार रहेको बताइन्् ।

सहकारी अभियान :– एक समिक्षा

नेत्रप्रसाद घिमिरे
 सहकारी भन्नाले समान आवश्यकता र समस्या भएका व्यक्तिहरू मिलेर सहकार्य गरी समस्या समाधानको संयुक्त प्रयास हो । नेपालमा सहकारी संस्थाहरूको विस्तार विकासको प्रारम्भ २०१३ साल चैत्र २० गते बखानपुर सहकारी संस्थाको गठनसँगै भएको पाईन्छ र २०४८ सालको सहकारी ऐन भन्दा अगाडि सहकारी अभियान सरकारद्वारा नियन्त्रित थियो । २०४८ पछि सहकारी अभियान स्वायत्त, स्वतन्त्र र स्वनियन्त्रित भयो । त्यसपछिको समयमा सहकारी संघ÷संस्था खुल्ने क्रममा तिव्रता आयो, संख्यात्मक विकास मात्र भएका कारण गुणात्मक विकासले भने फडको मार्न सकेन । सहकारी संस्थाहरू सहकारी मूल्य मान्यता र सिद्धान्तका आधारमा समेत अगाडि बढन सकेनन् कतिपय सहकारी संस्थाहरू स्वात्तताको नाममा अराजक स्वतन्त्रताको अभ्यास गरेको अवस्था छ । सहकारी ऐनले मांग गरे अनुसारको किसान, मजदूर कम पूंजीवाल, निम्न आयवर्गको नियन्त्रणमा सहकारीहरू रहेका छैनन् ।
(क) सहकारी अवधारणा र नीतिगत प्रष्टता नहुनु ः सहकारी के हो ? यो कस्तो व्यवसाय हो ? सहकारी व्यवसाय र अरु व्यवसाय बीच के कस्तो भिन्नता हुन्छ भन्ने विषयमा रहेको अस्पष्टतालाई स्पष्ट गर्नुपर्दछ । २५ सय शेयर पूंजी भएको सहकारी संस्था र १ अर्ब कारोबार गरेको सहकारी संस्थाका लागि एउटै मापदण्ड लागू हुनु न्याय संगत र तर्क संगत हुने विषय नै होइन । अत सहकारीहरूलाई कारोवारको आयातन अनुसार वर्गीकरण गर्ने गरी मापदण्ड कार्यान्वयन गर्नुपर्छ । २०४८ सालमा ८ सय ३३ वटा सहकारी संस्थालाइं संबोधन गर्ने गरी ल्याईएको कानुन हाल प्रभावहिन देखिएकोे छ । सहकारी ऐन समयानुकूल परिमार्जन हुनुपर्दछ । नीति निर्माता, प्रशासक, वा राज्यका सरोकारवालाहरूले सहकारीका भित्री गतिविधिहरूको सूक्ष्म अध्ययन गरी समस्याको चिरफार गर्ने प्रसास गरेको देखिँदैन । जे जति संस्था राम्रोसँग चलिरहेका छन केवल तिनका सञ्चालकका इमान्दारिताका भरमा चलेका छन् । जो सञ्चालक सांच्चिकै इमान्दार छन् ती सहकारी संस्था सफल रुपमा चलेका छन् । समग्र सहकारी आन्दोलनलाई सम्बोधन गर्ने स्पष्ट नीति, कानुन, योजना र प्रशासकीय संरचनाको अभाव रहेको देखिन्छ । हामी २० वर्षदेखि वा १५ वर्षदेखि सहकारी अभियानमा होमिएका छौं काम गरेका छौं भन्ने पुराना सहकारीकर्मी हौं भन्ने केही सहकारीकर्मीहरूबाट समेत सहकारी अवधारणामा विचलन ल्याउनमा भूमिका खेलेको पाइन्छ । सहकारी रहरले वा देखासिकी भन्दा आवश्यकताले गठन गरिनुपर्नेमा सो भएको देखिदैन । समुदायका आर्थिक सामाजिक समस्याहरूको सामूहिक समाधान गर्ने विधि हो सहकारी । सहकारीको मुख्य उद्देश्य नाफा होइन सेवा हुनु पर्दछ । सञ्चालकले राजनीति होइन आर्थिक सेवा दिन सक्नु पर्दछ । सहकारीलाई भ¥याङ बनाएर राजनीति गर्नेहरू तथा व्यक्तिगत कमाइ गर्नेहरूको सञ्जाल बलियो बन्दै जानु चुनौति हो । सहकारी एक्लै व्यवसाय गर्न नसक्ने, गर्न खोज पनि प्रशस्त पूंजी र सीप नहुनेहरूले आपसमा मिलेर गरिने व्यवसाय जसमा सदस्यहरूको सामूहिक स्वामित्व कायम रहेको हुन्छ । आर्थिक रुपमा कमजोर सदस्यलाई मालिकको रुपमा परिणत गर्ने काम सहकारीले गर्दछ । तर व्यवहारमा सहकारी कर्मीहरूले सदस्यहरूलाई रैती बनाएर आपूm मात्र मालिकको अवधारणा अभ्यास गरेको अवस्था छ । सहकारी क्षेत्रमा कालेकाले मिलेर खाउंm भालेको नेटवर्किङ छ अनि कसरी सुधार हुन्छ भन्ने गुनासो पनि आउने गरेको छ । आपसमा आफ्ना समस्या समाधान गर्ने उपाय सहकारी भएकाले यस्को मूख्य उद्देश्य सदस्यहरूको जीवनस्तर माथि उठाउने हो । सहकारीले दिने सेवाको उपयोग गरी जीवनस्तर माथि उठाउने हो र सहकारीको सरोकार नाफा होइन उत्पादन तथा उपभोगको गुणस्तर कायम गर्ने हो । सहकारी कानुनमा रहेका छिद्रहरूमा खेल्न सिपालु केही धूर्तहरूले नाजायज फाइदा लिने अवस्था रहेसम्म संख्यात्मक विकास त अवश्य होला तर गुणात्मक विकासमा यो प्रवृति मुख्य बाधक बनेको देखिन्छ । केही मानिसहरू राजनीतिक शक्तिको खोल ओडेर जे पनि गर्दा हुन्छ भन्ने मानसिकतामा रहेको पनि पाइन्छ ।
(ख) सहकारी व्याख्यामा विविधताः– सहकारीको कारोबारको क्षेत्र, सीमा तथा आबद्धताका कुराहरूलाई हेर्दा व्याख्यात्मक विविधता रहेका छन् । सरकारी निकाय किसान, मजदूर, कालीगढ, कम पूंजीवाला भूमिहीन सुकुम्बासी तथा बेरोजगारलाई जोड दिने गरेको पाइन्छ । राजनीतिककर्मीहरू सामाजिक कार्यकर्ताहरू तथा आम कार्यकर्ताहरूको संलग्नताको वकालत गर्ने गरेको पाइन्छ । सहकारी बुद्धिजीवीहरू किसान मजदूरको सीमा राखिनु हुदैन भन्ने रहेको छ । सहकारी ऐनमा रहेको भूमिहीन, सुकुम्बासी, मजदूर, बेरोजगारलाई कसरी सहकारीमा आबद्ध गर्ने हो सो सम्बन्धमा निजहरूको अनुकूल हुने गरी हालसम्म नीतिगत व्यवस्था आउन सकेको छैन । सहकारी भनेको सरकारी निकायहरूले सञ्चालन गर्ने समूहलाई स्वायत्तता दिने, गैर सरकारी संस्थाले सञ्चालन गरेका कार्यक्रमहरू सांगेता हुने बेलामा छोडने थलो हुने वा केही गरौं भन्ने भावना भएका तर तत्काल पूंजीको जोहो गर्न नसक्ने व्यक्तिहरू सामेल हुने वा पछि वित्त कम्पनी वा बैंक सञ्चालनका लागि पूंजीको श्रोत जुटाउन चाहने निहित स्वार्थ लिएका समूहहरू जमघट हुने थलो बन्ने बारे सहकारी कुन हो प्रष्ट छैन र हाल यी सबै सहकारीभित्र समेटिनु मुख्य समस्या हो । सहकारीको आपूm अनुकूल व्याख्या विश्लेषण र पालनाले निम्ताएको विकृति कहाली लाग्दो छ । किनभने जबसम्म स्पष्ट कानुन र सोही अनुसार प्रशासनिक संरचना निर्माण गरी प्रभावकारी दण्ड र पुरस्कारलाई व्यवहारमा अवलम्बन गरिदैन तबसम्म समस्याको ठूलो पहाड बन्ने निश्चित छ ।
(ग) सहकारी मूल्य मान्यता र सिद्धान्तलाई बिर्सनु ः– सहकारी संस्थाहरू कानुनभन्दा माथि त अवश्य हुदैंनन् त्यो भन्दा महत्वपूर्ण सहकारीहरू मूल्य मान्यता सिद्धान्तबाट निर्देशित भै चल्नु पर्दछ । सहकारीको आफ्नै व्यवसायिक धर्म हुन्छ । आफनो धर्मलाई सबैले पालना गर्नु पर्दछ । मूल्य भनेको विश्वास हो भने मान्यता भनेको निर्दिष्ट आचरण हो । सिद्धान्त भनेको सामान्य सत्य अर्थात आधार नियम हो । सहकारी सिद्धान्तहरू सहकारी मूल्यहरूलाई व्यवहारमा उतार्ने मार्गदर्शन हुन । सहकारी मूल्यहरूलाई व्यवहारमा उतार्न सहकारी सिद्धान्तले मार्गदर्शन गर्दछ । यसरी मूल्य मान्यता र सिद्धान्तका आधारमा अहिले सहकारी संस्थाहरू हिडन सकेका छैनन् । यो सबभन्दा ठूलो समस्याको रुपमा देखा परेको छ । कतिपय संस्थाले खुल्ला सदस्यतालाई राजनीतिक बन्देज लगाएका छन् भने कतिपयले सदस्यको पहिचान नदिइ व्यक्तिगत कमाइ गर्न बैंकले जस्तो बचत संकलन मात्र गरेका छन् । एकजना सदस्य ऋण खान १० वटा सहकारी धाउंछ । किनभने त्यो ऋणीलाई सदस्य बनाइदैन र सहकारी संस्थाहरू बीच सहकार्य नभई निजी क्षेत्रमा जस्तो अस्वस्थ प्रतिस्पर्धा र सौतेनी व्यवहार हावी भएको छ । सदस्यहरूद्वारा नियन्त्रित प्रजातान्त्रिक संस्था सहकारी भनेपनि कतिपय संस्थामा मुठ्ठीभर सञ्चालकहरूद्वारा नियन्त्रित संस्था बन्न पुगेका छन् । शेयरको आधारमा भेदभाव गर्न पाइदैन सदस्यहरूबीच भने पनि व्यवहारमा रु एकसयका शेयर सदस्यलाई साधारण सभामा बोलाइँदैन र उसलाई साधारण सदस्यको पहिचान दिइदैन । स्वायत्तताको सिद्धान्तलाई केही सञ्चालकहरूले दुरुपयोग गरेका छन् । सञ्चालकले तलबभत्ता लिन पाइदैंन भनेपनि धेरैले लिने गरेकाले कारवाही गर्न कानुनी प्रष्टता आवश्यक छ । सञ्चालकमा किसान, निम्न आयवर्गको प्रतिनिधित्व र पहुंच कम रहेको देखिन्छ । सदस्यहरूको संख्याका आधारमा सञ्चालक समितिमा लक्षित वर्गका लागि आरक्षण गरिनुपर्दछ । सहकारी बीचको सहकार्यमा व्यवसाय गर्ने सहज कानुनी वातावरण निर्माण गर्नुपर्ने देखिन्छ ।
(घ) उद्देश्य अनुसार संस्थाहरू परिचालन हुन नसक्नुः– संस्था गठन हुँदा नै संस्थाको प्रकृतिका बारेमा स्पष्ट हुन्छ र सोही अनुसार कार्यक्रम तथा सेवाहरू क्mेन्द्रित गर्नु पर्दछ । कृषि सहकारीले व्यापारी संग बचतको मात्र कारोबार गरेको छ, बहुउद्देश्यीय सहकारीले बचत ऋणको मात्र कारोबार गरेको छ, केही सहकारीले नियमित साधारण सभा गरेको छैन र गरेपनि गणपूरक संख्या नै पुगेको छैन, उद्देश्य अनुसार खातापाता व्यवस्थित गरेको छैन, मनलागी सेवा शुल्क असूल गरेकोे छ, मनलागी व्याजदर तोकेको छ यस परिवेशमा संस्थाहरूलाई आफनो मुख्य उद्देश्यमा आफना कार्यक्रमहरू केन्द्रित गर्नु लगाउने सहकारी कानुन आवश्यक छ । सोही अनुसार आर्थिक नीति, वित्तीय नीति र प्रशासकीय नीति साधारण सभाबाट पािरत गरी लागू गर्नु गराउनु पर्दछ । दर्तावाला निकायसंग स्पष्टनीति, कानुन र मापदण्ड नहुंदा यस्ता समस्याहरू देखा परेको अवस्था छ ।
(ङ) समुदायमा आधारित नहुनु ः– सहकारीहरू समुदायका व्यक्तिहरू मिलेर संचालित एउटा संस्थागत व्यवसाय हो । सहकारीहरू समुदायमा आधारित हुनु पर्दछ । अनि मात्र संस्थागत दिगो विकास हुन्छ । मनपरी गैर सदस्य र कार्यक्षेत्र बाहिर गएर कारोबार गरेर सञ्चालकहरू भागेको उदाहरण नेपालमा धेरै छन् यो प्रवृत्ति झापामा पनि देखिन थालेको छ । समुदायमा आधारित नहुनु यसको मूख्य समस्या हो । बचतकर्तालाई देखावटी रुपमा रु एकसयको शेयर खरिद गरेको देखाएर वा कतिपयमा शेयर सदस्य र कारोबारी सदस्य भनी खातापात्र राखेको पाइन्छ । जे भने पनि ती सहकारीका सदस्यहरू होइनन भन्ने प्रष्ट छ । किनभने यिनीहरूलाई सदस्यको हैसियत प्रदान गरिएको छैन नत साधारण सभामा भाग लिन बोलाइन्छ । यो प्रवृति डर लाग्दो हो जसले सहकारी अभियानलाई प्रतिकूल असर पार्न सक्दछ । अतः यसरी सहकारी बदनाम हुनबाट रोक्न नितान्त आवश्यक छ । यसका लागि एक गाविसमा एक प्रकृतिको एकमात्र सहकारी, नगरमा सीमित सहकारीको अवधारणा कार्यान्यन गर्न एकीकरणको कार्यक्रमलाई अभियानको रुपमा लागू गर्नुपर्दछ ।
(च) नाफामा मात्र केन्द्रित हुनु ः– बोनस बांडेर वा शिक्षा स्वास्थ्य खर्च देखाएर होइन सेवा प्रदान गरेर जीवन स्तर माथि उठाउने हो । जीवनस्तर उठाउने भन्दा पैसा बांडी सस्तो लोकप्रियता आर्जन गर्न सहकारी केन्द्रीत भएको पाइन्छ । प्रवेश शुल्क, कर्जामा सेवा शुल्क, सेवा उपभोगमा सेवा शुल्क, शेयर रकम थप गर्दा अतिरिक्त थप शुल्क जस्ता अप्राकृतिक शीर्षकमा आम्दानी गर्ने चलनले सहकारीलाई नव विचौलियाको रुपमा चित्रण गर्ने अभ्यास बाहेक अर्को हुन सक्दैन । अझ केही संस्थाको सदस्यता प्राप्त गर्न हजारौ लाखौ रुपैयाँसम्म लिने गरेको सुन्न पाईन्छ । सर्व साधारणको पहुचबाट टाढा गएका यस्ता संस्थालाई कसरी सहकारी भन्ने गंभीर प्रश्न खडा भएको छ । एउटा बैंकको शेयर खरीद गर्न सजिलो होला तर सहकारीको सदस्य बन्न कठिन छ । खुल्ला सदस्यताको सिद्धान्त कुण्ठित भएको छ । एक कित्ता शेयर खरीद गर्ने समुदायको जो कोही सहकारीको सदस्य बन्न सक्ने वातावरण निर्माण गरिएन भने अझै हजारौ सहकारी दर्ता हुदा सरकारले रोकेर रोकिने विषय हुदैन । सीमित शेयर सदस्य तर कारोबार हजारौं गैर सदस्यहरू खातामा बनावटी सदस्य भने कायम गरेकाले कारवाही गर्न कठिन भएको देखिन्छ । जति कमाइ हुन्छ सीमित व्यक्ति बीच भागबण्डा गरिन्छ, खातापाता सबै बनावटी । सहकारी भित्र देखिएको आम समस्या हो यो ।
(छ) बृहत कार्यक्षेत्र ः—अहिले पनि केही संस्थाको कार्यक्षेत्र असीमित छ । कार्यक्षेत्र भनेको संस्थाले सेवा दिन सक्ने र सदस्यले सेवा लिन सक्ने क्षेत्रको स्थिती हो । एउटा वार्डकालाई सदस्य बनाई सेवा दिन सकिएको छैन । त्यो संस्थाले ५ गा.वि.स.वा जिल्लाभर भन्नुको कुनै अर्थ छैन । बचत संकलन गर्नु मात्र सहकारी होइन । वास्तवतमा सहकारी भनेको सीमित कार्यक्षेत्र भित्र आफ्ना सदस्यहरूलाई सामाजिक आर्थिक सेवा प्रदान गर्ने संस्था हो । हरेक गाउंटोलमा सहकारी खोल्नु पर्छ तर सहकारीका नाममा शाखा प्रशाखा सेवा दिन पाइने प्रावधान कानुनमा छैन तर कतिपयले विभागीय स्वीकृती लिई सञ्चालन गरेपनि कतिपयले बिना स्वीकृती सञ्चालन गरिरहेको अवस्था छ । अतः शाखा प्रशाखालाई सेवाकेन्द्रमा परिणत गर्नु वा स्थानीयकरण गर्नुको बिकल्प छैन । तर विगत वर्षहरूमा सहकारी विभागले विना मापदण्ड सहकारीहरूलाई सेवाकेन्द्र स्थापना गर्ने लाइसेन्स दिएको छ तर ती सेवाकेन्द्र सञ्चालन कसरी गर्ने सो सेवाकेन्द्र सञ्चालन गर्न त्यहीको स्थानीय सञ्चालक आवश्यक पर्ने कि नपर्ने वारे विभागले मापदण्ड बनाएन । यदि समयमा व्यवस्थापन गरिएन भने ओरेन्टल प्रबृत्ति दोहोरिन सक्ने सम्भावना रहेको देखिन्छ ।
    (ज) लेखा परीक्षणबाट देखिएका समस्या ः—लेखा परीक्षकले पेशागत इमान्दारिता र व्यवसायिक धर्म निर्वाह गर्न नसक्दा समेत समस्या सिर्जना भएको छ । लेखापरीक्षण एउटा व्यक्तिले गर्ने हस्ताक्षर अर्को व्यक्तिले गर्ने लेखापरीण प्रतिवेदनको विश्वास गर्न सकिदैन । लेखा परीक्षकले ले.प.शुल्क मात्र लिने प्रयोजनका लागि सञ्चालकको स्वार्थमा होमा हो मिलाएर हिसाब रुजु गर्ने हो भने त्यसको कुनै तुक छैन । लेखा परीक्षकले स्वतन्त्र भएर संस्थाका सबल पक्ष र दुर्बल पक्षको विश्लेषण गरेर वस्तुगत सल्लाह दिएन भने संस्था सच्चिने मौकाबाट बन्चित हुन्छ । सहकारी सिद्धान्त, ऐन नियम सहकारी लेखा परीक्षण मापदण्ड र प्रचलित कानुनलाई ख्याल नगरी गरिने लेखा परीक्षणले अन्तत संस्था धराशायी हुन्छ ।
(लेखक सहकारी डिभिजन झापाका सहकारी अधिकृत हुन्)

अर्थतन्त्र उकास्ने सवालमा ध्यान देउ – सम्पादकीय

राजनीतिक परिवर्तन संगै आर्थिक रुपान्तरणमा जोड दिने गरिन्छ । नेपाली जनताले विभिन्न प्रकारका आन्दोलन र क्रान्ति सम्पन्न गरेका छन् । चाहे त्यो राणा देखि राजतन्त्रको शासनमा जनताले सधै  जितेको अवस्था छ । नेपाल मात्र होइन अहिले सबैले खुला बजार अर्थतन्त्रको नीति अंगालेको घोषणा गरेका छन् । ००७ सालदेखि अहिलेसम्म राजनीतिक स्थायित्व हुँदै भएनन् । यसले पनि आर्थिक सम्बृद्धि गर्न प्रभावित बन्न पुग्यो ।
 नेतृत्व राजनीतिक परिवर्तनका हकमा सफल देखिए पनि आर्थिक सवालमा देश सारमा असफल नै ठहरिन पुग्यो । प्राकृतिक स्रोतसाधनले सम्पन्न मुलुकका जनताले क्षमताअनुसार श्रम गर्ने ठाउँसम्म पाएनन् । आर्थिक विपन्नताकै कारण नेपाली युवा विदेश गएर कठोर श्रम गर्न बाध्य भएका छन् । यदि राजनीतिक परिवर्तनसँगै आर्थिक परिवर्तन पनि हुन्थ्यो भने समाजले सफल र समुन्नत समाजको परिस्कृत समय भोगिरहेको हुने थियो । दुर्भाग्य नेपाली समाज आर्थिक रूपले विपन्न अवस्थामा बाँच्न विवश छ ।
त्यसो त ०६२ को आन्दोनलपछि मात्र होइन, ०४६ को जनआन्दोलनपछि नै नेपाली जनताले समुन्नत जीवनशैलीको कल्पना गरेका थिए । तर, संविधानसभाको दोस्रो निर्वाचन भएर यहाँसम्म आइपुग्दासम्म राजनीतिले स्थायित्व ग्रहण नगरेका कारण आर्थिक अवस्था झन् खस्कँदै आएको छ । अब राजनीतिक स्थायित्त्व नहुने हो भने नेपालमा विकासका कार्य हुने छैनन् भने उद्योग कलकारखान पनि बन्द हुनेछन् । अहिले नै विकासका काममा खर्च नभएर पैसा एकातिर थुप्रिएको छ भने अर्कातिर काम नपाएर युवा पलायनको अवस्था डरलाग्दो गरी बढिरहेको छ । महँगी, भ्रष्टाचार, कुशासन, अराजकता र अनियमितताले दह्रो जरो गाढेका कारण नेपालमा आर्थिक विकास हुन सकेन । रजनीतिक नेतृत्व र कर्मचारी संयन्त्रसमेत घुस र भ्रष्टाचारतर्फ आकर्षित भएपछि राष्ट्रको यो हविगत भएको हो । विकास आयोजनाहरू सफल नभएसम्म आर्थिक विकासले गति लिन सक्दैन । नेतृत्वमा दह्रो इच्छा शक्ति नभएसम्म विकास लक्ष्य पूरा हुँदैन । यसर्थ अब सबै दलका शीर्ष नेताले देश विकासको स्वच्छ र पवित्र उद्देश्य राखेर सहमतिअनुसार अगाडि बढ्नुको विकल्प छैन ।
जलस्रोतको धनी मुलुक भएर पनि लोडसेडिङ भोग्नै पर्ने, प्राकृतिक स्रोत र साधनले अत्यधिक सम्पन्न राष्ट्र नेपालले त्यसको दोहन गर्न नसक्दा जडिबुटीलगायत वस्तु अर्कैले उपभोग गरिरहेका छन् । यो अवस्था आउनुमा थोरबहुत सबै दोषी भए पनि मुख्य रूपमा राजनीतिक नेतृत्वको इच्छाशक्ति कमजोर भएकै कारण यो अवस्था भोग्नु परेको हो । अब राजनीतिक परिवर्तनले मात्र जनतालाई राहत मिल्दैन । त्यसका लागि आर्थिक विकास गर्नैपर्छ । अन्यथा यो राष्ट्र असफल राष्ट्रतर्फ धकेलिने छ । तसर्थ अब आर्थिक क्रान्तिका लागि स्थायी शान्ति, स्थायी सरकार, भ्रष्टाचारमुक्त राजनीतिज्ञ र कर्मचारी साथै तीव्र गतिमा विकास कार्य सुचारू गर्ने कार्य मात्र विकाल्प छ । अहिलेको अवस्था मुख्य रूपमा अस्थिर राजनीतिका कारण भित्रिएको हो । यसलाई हटाउन राजनीतिकर्मीहरू नै अग्रसर हुनुपर्छ । आर्थिक रूपमा सम्पन्न मुलुकका नागरिक मात्र सुखी र सम्पन्न हुन्छन् । यसतर्फ सबै पक्ष गम्भीर हुनै पर्छ । हामी गरिब छैनौँ । हामीमा इच्छाशक्ति कमजोर छ । प्रकृतिले सबै थोक दिएको छ तर उपयोग गर्न सकेका छैनौँ । अब सबैले आर्थिक क्रान्तिलाई टेवा पु¥याउने काम गर्नैपर्छ । अन्यथा मुलुक उँधो गतितिर जानेछ ।

दमक नगरपालिकाको आम्दानी साढे १२ करोड बढी

पिपुल्स टाइम्स समाचार
दमक/झापाको दमक नगरपालिकाले गएको वर्ष लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक बर्ष २०७०/७१ मा नगरपालिकाले अनुमानित लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको हो । नगरपालिकाले आम्दानी तर्फ गएको बर्ष कुल १२ करोड ५३ लाख ६७ हजार ५ सय ८७ रुपैयाँ संकलन गरेको छ । आम्दानीमा आन्तरिक स्रोत तर्फ  ४ करोड ६१ लाख ४९ हजार ५ सय ३४ र बाह्य स्रोबाट ७ करोड ९२ लाख १८ हजार ५२ रुपैयाँ राजस्व उठाएको जनाईएको छ । यसैगरि, सोही वर्ष नगरपालिकाले कुल १२ करोड २३ लाख ९० हजार १ सय ५६ रुपैयाँ खर्च भएको उल्लेख छ । खर्च शिर्षक तर्फ  चालु खर्चमा ३ करोड ९ लाख ७२ हजार ७१ रुपैयाँ र पूँजीगत खर्च तर्फ ९ करोड १४ लाख  १८ हजार ८४ रुपैयाँ भएको नगरपालिकाको लेखा शाखाले जनाएको छ ।
कार्यालयको लेखा शाखाका अनुसार सो वर्ष आन्तरिक स्रोत तर्फ ३ करोड ३४ लाख ७६ हजार २७ रुपैयाँ लक्ष्यमा कुल ४ करोड ६१ लाख ४९ हजार ५ सय ३४ रुपैयाँ राजस्व संकलन गरेको छ । आन्तरिक स्रोत तर्पmको सो रकम लक्ष्य भन्दा एक करोड बढी असुली भएको लेखा शाखा प्रमुख भरत गौतमले जानकारी दिए ।
आन्तरिक स्रोत तर्फ  नगरपालिकाले पशुहाटबाट ६१ लाख २४ हजार ५ सय ९९, नक्सा पासबाट ७१ लाख ३२ हजार ७ सय ९ , एकिकृत सम्पत्ती करबाट ७६ लाख ५ सय ५९, भाडा तथा बहालबाट ९५ लाख ६८ हजार ३ सय ४२ रुपैयाँ उठेको छ । त्यस्तै ब्यवसाय करबाट ३ लाख ६३ हजार १ सय, सवारी पार्किङबाट १९ लाख ११ हजार ११ रुपैयाँ असुली गरेको छ । नगरपालिकाको आन्तरिक स्रोत तर्फ मुख्य आम्दानीका रुपमा पशुहाट रहेको छ । यसै गरि सोही वर्षको अवधिमा बाह्य स्रोत तर्फ स्थानीय विकास शुल्कबाट ७७ लाख ५ हजार, नगरपालिका अनुदान २ करोड ६५ लाख १० हजार, सडक बोर्डबाट १० लाख, जगेडा कोषबाट ७५ लाख र स्थानीय यातायात पूर्व क्षेत्रिय कार्यक्रमबाट २५ लाख रुपैयाँ प्राप्त भएको जनाएको छ ।
यस्तै सोही वर्ष जनसहभागीताबाट १ करोड ५५ लाख ७४ हजार ३ सय ८७ रुपैयाँ संकलन भएको थियो । जनसहभागीतामा सो वर्ष कमी आएको थियो । नगरपालिकाले गएको वर्ष जनसहभागीता मात्र ३ करोड ३४ लाख ७६ हजार २७ रुपैयाँ उठाउने लक्ष्य लिएको थियो ।

कार्य सम्पादनमा दमक तेश्रो
नगरपालिकाहरुको कार्य सम्पादनमा  न्यूनतम शर्त तथा कार्यसम्पादन मापनमा दमक तेश्रो समूहमा छनौट भएको छ । दमकले ७५ अकं ल्याई समूह तेश्रोमा १२ नगरपालिका सँगै छनौट भएको हो । सो समूहमा पूर्वका  भद्रपुर, इलाम लगायतका नगरपालिकाहरु छन् । यी छनौट भएका नगरपालिकाहरुले प्राप्त बजेटको १० प्रतिशत अनुदान पाउने छन् ।
स्थानीय विकास मन्त्रालयले हरेक बर्ष देशैभरिका नगरपालिकाहरुको मापन गर्दै आएको छ । देशका ५८ ओटै नगरपालिकाहरुलाई हालै मन्त्रालयले छनौट सार्वजनिक गरेको थियो ।
पूर्वका इटहरी, धनकुटा सहित पाँच ओटा नगरपालिकाहरुले ८६ देखि ८८ अकं ल्याएर पहिलो समूह भएका छन् । पहिलो समूहमा छनौट हुनेले प्राप्त बजेटमा थप २० प्रतिशत अनुदान पाउने छन् ।
यसैगरि, ७७ देखि ८५ अंक ल्याएर पूर्वको धरान सहित १० ओटा नगरपालिका दोश्रो समूहमा छनौट भएका छन् । ती समूहलाई प्राप्त हुने अनुदानमा थप १५ प्रतिशत पाउने छन् । यसैगरि, पूर्वको इनरुवा सहित १० ओटा नगरपालिकाहरु समूह चौथोमा छनौट भएका छन् । यी छनौट भएका नगरपालिकाहरुले ६५ देखि ७० अंक ल्याएका थिए । यी नपाहरुले प्राप्त बजेट मध्ये १० प्रतिशत अनुदान कमी पाउने छन् । यस्तै, पूर्वको मेचीनगर, विराटनगर, राजविराज, लाहान, जनकपुर गरि ११ ओटा नपाहरुले प्राप्त गर्ने अनुदानमा १५ प्रतिशत घटी पाउने छन् । यसैगरि, ९ ओटा नगरपालिकाहरुले मापनमा अनुतीर्ण गरेको भन्दै प्राप्त गर्ने अनुदानको २० प्रतिशत रकम घट्ने उल्लेख छ ।

पाँचगाछीमा व्यापारी शाह लुटिए

दुधे/झापाको पाँचगाछीमा एक व्यापारीमाथि लुटपाट भएको छ ।
तोपगाछी–९ का ३५ वर्षीय व्यापारी पर्वत शाह मंगलबार राति करिब ९ बजेतिर पाँचगाछी–४ को सालमारा चोकमा लुटिएका हुन् । बजारबाट मट्टीतेल बिक्रि गरी घरतर्फ फर्कंदै गर्दा पाँचगाछी– ४ का स्थानीय ठेउके भनिने सुबास लिम्बुसहित ६ जनाको समुहले शाहलाई कुटपिट गरी उनको
साथमा भएको नगद एक लाख रूपैयाँ लुटी फरार भएका हुन् । पिडीतले आज स्थानीय प्रहरी कार्यालयमा उजुरी गरेका छन् । लुटपाटमा संलग्नहरुको खोजी तथा घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय शिवगञ्जले जनाएको छ ।

आदिवासी दिवस मनाईने

विर्तामोड/२० औँ आदिवासी जनजाति दिवस झापामा मनाइने भएको छ ।
यही साउन २४ गते पर्ने विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद झापाले विविध कार्यक्रम गर्ने निर्णय गरेको हो । दिवसका लागि महासंघले जिल्ला अध्यक्ष पारसमणि राईको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ ।
त्यस्तै विभिन्न ६ वटा उपसमितिहरु गठन गरिएका छन् । बालकुमार भुजेलको संयोजकत्वमा प्रचारप्रसार समिति, पर्शुराम ताजपुरियाको
संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, सन्तकुमारी सुनुवारको संयोजकत्वमा अतिथि सत्कार समिति, मानबहादुर श्रेष्ठको संयोजकत्वमा सांस्कृतिक झाँकी व्यवस्थापन समिति र युवा महासंघका अध्यक्षको संयोजकत्वमा स्वंयसेवक समिति गठन गरिएको छ  ।
दिवसका अवसरमा तीन दिन सम्म विभिन्न कार्यक्रम राखिएको बताईएको छ ।

दमक उद्योग बाणिज्य संघ घाटामा

दमक/दमक उद्योग बाणिज्य संघ गएको बर्ष घाटामा गएको छ । आर्थिक बर्ष २०७०÷७१ को अवधिमा संघ करिव ६ लाख रुपैयाँ बढी घाटामा गएको देखिएको छ । आर्थिक बर्ष २०६९÷७० मा भने संघले २९ लाख ७५ हजार ६ सय ५२ आम्दानी गर्न सफल भएको थियो भने खर्च १५ लाख ७६ हजार ४ सय ६८ रुपैयाँ भएको थियो । संघका अध्यक्ष प्रकाश प्रसाईले अघिल्लो बर्षको तुलनामा संघ बलियो बन्दै गएको दावी गरे । उनले संघको आर्थिक प्रणाली ब्यवस्थित बनाउँदै लगिएको जनाए । अध्यक्ष प्रसाईले भने – ‘अघिल्लो वर्षका आन्तरिक हिसावलाई व्यवस्थापन गर्दा संघमा खर्च केहि बढी देखिन पुगेको छ ।’ संघको सोमबार सम्पन्न कार्यसमितिको बैठकले संघको आय–व्ययलाई अध्ययन गरेर आउँदो बैठकमा लैजाने निर्णय भएको जनाईएको छ ।
गएको बर्ष संघले विभिन्न शिर्षकहरुबाट आम्दानी तर्फ १३ लाख २ हजार ३ सय ७० रुपैयाँ र खर्च १९ लाख ३६ हजार २ सय ९२ रुपैयाँ भएको छ । संघका अनुसार आम्दानी तर्फ प्रवेश शुल्क १ लाख ७६ हजार ८ सय ५०, नविकरण शुल्कमा १ लाख ८५ हजार १ सय ५०, सिफारिस वापत १ लाख ५५ हजार ३ सय, आवेदन शुल्क ९ हजार ९ सय ७०, जरिवाना शुल्कमा ९ हजार ९ सय ७०, सेवा शुल्क तर्फ २ लाख ७८ हजार ५ सय ५० रुपैयाँ संकलन भएको छ । यसैगरि, मुद्या शीर्षकमा ६ हजार, निर्वाचन मार्फत १ लाख १२ हजार ४ सय, रेकर्डबाट ९ हजार ८ सय २५, हल भाडा बापत ८ हजार ३ सय, बिज्ञापन बापत १३ हजार, उत्पति प्रमाणपत्र बाट १ लाख ३० हजार र तालिम, गोष्ठी शिर्षक मार्फत ५० हजार रुपैयाँ संकलन भएको कार्यालय प्रमुख निरज विष्टले जानकारी दिए ।
यसैगरि खर्च तर्फ सो बर्ष कर्मचारीको तलब÷सञ्चय कोषमा ४ लाख २९ हजार ६ सय ९२, औषधी खर्चमा २१ हजार ३ सय ३६, बिद्युतमा २९ हजार ३ सय ५, दशैँ खर्चमा ३३ हजार ७ सय ३४, बिज्ञापनमा १ लाख ७१ हजार ६ सय ९०, आर्थिक सहयोगमा २ लाख ८९ हजार ४ सय ६९, विविधमा एक लाख ३१ हजार २ सय १७, अफिस समान ४ हजार ५० रुपैयाँ रहेका छन् । त्यस्तै इन्धनमा ७ हजार २ सय ६७, फनिर्चस्मा ११ हजार १ सय, लेपमा १६ हजार, कर्मचारी पोशाकमा ३१ हजार ७ सय ६०, निर्वाचन खर्च १ लाख
 ६८ हजार ७ सय ३५, साधारणसभामा २ लाख ४३ हजार २ सय १५, सपथ ग्रहणमा ७१ हजार ९ सय २०, अतिथी खर्चमा ५८ हजार ७ सय ३०, विविध कार्यक्रममा सहभागी ६१ हजार ९ सय ९० खर्च भएका छन् । यसैगरि इन्टरनेटमा १० हजार १ सय ३५, मर्मतमा १७ हजार ६ सय ३०, स्टेशनरीमा ८५ हजार ८ सय ९४, खानेपानीमा १५ सय ५०  लगायत रहेका छन् ।

भुटानी शरणार्थीहरु स्वदेश फर्किने अभियानमा

दमक/अधिकांश भुटानी शरणार्थीहरु तेस्रो देश पूनर्बासमा जान थालेपछि स्वदेश फिर्तीको अडानमा बसेका शरणार्थीले नयाँं अभियान थालेका छन् । पूर्वी नेपालको झापा र मोरङमा बसोबास गर्ने शरणार्थीहरुलाई तेस्रो देश पूनर्बासमा लगिएपछि स्वेदश फिर्ती चाहनेहरु संगठित हुन थालेका हुन्् । संयूक्त राष्ट्र संघिय शरणार्थी सम्बन्धि उच्च आयोग(यूएनएचसिआर)ले असार मसान्तसम्ममा पूनर्बासमा जाने शरणार्थीको सुची तयारी गरी सकेपछि स्वदेश फर्किन चाहने उनीहरु संगठित हुन थालेका हुन् । भुटानी शरणार्थी ज्येष्ठ नागरिक स्वदेश फिर्ती समिति मार्फत घरफिर्ती चाहने शरणार्थीहरु एकताबद्ध हुन थालेका छन् । यूएनएचसिआरले आफ्ना मागहरु नसुनेको भन्दै उनीहरुले अन्तराष्ट्रिय समुदायसँग घर फर्किन पाउने अधिकार रक्षाको माग गरेका छन् ।
भुटान मानव अधिकारबादी संस्था (ह््यूरोब)का अध्यक्ष एसबि सुब्बाका अनुसार पूनर्वासमा लगिएका देशहरुलाई नै अनुरोध गरेर भुटानलाई बाँकी रहेका नागरिकलाई भुटान फर्काउन दवावमूलक कार्यक्रम सञ्चालन गरिने जनाएका छन् । करिब ८ हजार जना शरणार्थीले स्वदेश फिर्तीको अडान लिएका उच्चायोगको एक तथ्यांकमा उल्लेख छ ।

बालिका सहित दुईको मृत्यु

दमक/मोरङको फरक फरक स्थानमा  एक बालिकासहित दुई जनाको मृत्यु भएको छ ।
मधुमल्ला २ मा राजु गहतराजकी २ वर्षकी छोरी सिखा गहतराजको सेफ्टी ट्याङकीमा डुबेर मृत्यु भएको छ । घर छेउमा खेल्दै गर्दा सेफ्टी ट्याङकीमा डुबिरहेको अवस्थामा फेला पारी बालिकालाई उपचारका लागि स्थानिय साझा अस्पताल लगिएको र उनको उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रमुख राजेश चौधरीले बताएका छन् ।
यस्तै मोरङको डाँगीहाट ९ मा पैनीमा डुबेर ६० वर्षका वृद्धको मृत्यु भएको छ । बाहुनी ४ का माइला खवासको स्थानीय पैनीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनाबारेमा अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

मुक्तिका लागि क्रान्ति अपरिहार्यमा जोड

दमक/नेकपा एमालेका नेताहरुले जनताको मुक्तिका लागी क्रान्तिको अपरिहार्यता रहेको औँल्याएका छन् ।
उनीहरुले क्रान्तिको एउटा चरण पार भए पनि पुर्ण नभएको बताएका थिए । बुधवार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृतिमा नेकपा एमाले क्षेत्रीय  कमिटी क्षेत्र नम्बर ७ झापा र मदन भण्डारी फाउण्डेशन झापाको संयुक्त आयोजनामा भएकोे कार्यक्रमा बोल्दै नेकपा एमाले अनुशासन आयोगका सदस्य अर्जुन राईले जनताको मुक्ति र मुलुकलाई परिवर्तन गर्नका लागी अझै पनि विभिन्न चरणका क्रान्तिहरुको आवश्यकता रहेको बताए । उनले एमालेलाई अझ शसक्त बनाउनका लागी पार्टी भित्र देखिएका गुटबन्दीको अन्त्य गर्नुपर्ने माग गरे  ।   कम्युनिष्ट पार्टीमा पद प्रतिष्ठा भन्दा पनि नेपाली क्रान्ति मुख्य भएको  राईले बताए ।
एमाले नेता रोमनाथ ओलीले पुष्पलाल नेपाली कम्युनिष्टहरुको दुरदर्शी नेता भएको बताए । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिव चिन्तन पाठकले पार्टीको पहिलो कार्यभार संविधान  निर्माणको एजेन्डा नवौँ महाधिवेशनले पारित गरेको बताए । उनले   अवको केन्द्रिय अनुशासन आयोग अधिकार सम्पन्न भएको बताउँदै  बिगतको जस्तो अध्यक्षको अघिपछि मात्र घुम्न नहुने बताए ।
 जिल्ला सचिवालय सदस्यहरु राधाकृष्ण खनाल,  जिल्ला सदस्य  मणी  भण्डारी लगायतले पुष्पलालको बिचार र चिन्तनलाई कम्युनिष्टहरुले अनुसरण गर्नुपर्ने बताए ।
क्षेत्रीय अध्यक्ष नेत्र दाहालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थागत र सामुदायिक बिद्यालय तर्फ एसएलसी परिक्षा २०७० मा क्षेत्र भित्र उत्कृष्ट हुने बिद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
 सामुदायिक बिद्यालय तर्फ हिमालय उच्च माबि दमक २ की समिक्षा आर्याल, शहिद धर्मभक्त उच्च माबि केर्खाका भरत पौडेल, संस्थागत बिद्यालय तर्फ चुलाचुली आवाशिय माबिका प्रकृति गौतम, झापा मोडल आवाशिय माबि दमकका सुदीप बिष्टलाई जनही ५ हजार नगद सहित पुरस्कृत गरिएको थियो ।
पुष्पलालको स्मृतिमा बृक्षारोपण नेकपा एमालेले  नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासंचिव पुष्पलाल श्रेष्ठको ३६ औँ स्मृति दिवसका अवसरमा  दमकमा बुधवार बृक्षारोपण गरेको छ ।
 एमाले वडा कमिटी दमक १४ले  रतुवा खोला धार र शिखर टोलमा बृक्षारोपण गरिएको हो । एमाले जिल्ला कमिटी सचिवालय सदस्य राधाकृष्ण खनालले बृक्षारोपणको शुभारम्भ  गरेका थिए ।
२ सय बढी खयर, मसला र  सिरीस जातको बिरुवा  रोपीएको  एमाले वडा कमिटी अध्यक्ष नरेस बन्जराले जानकारी दिए।

दमकमा अघिल्लो वर्षमा चक्काजाम धेरै

दमक/दमक क्षेत्रमा आर्थिक वर्ष ०७०/७१ मा भन्दा अघिल्लो वर्ष १ सय ३५ घण्टा बढी  चक्का जाम तथा सडक अवरोध भएको छ ।
इलाका ट्राफिक प्रहरी कार्यालय दमकको बिवरण अनुसार ०७०÷०७१ मा ९७ घण्टा अवरोध भए पनि  अघिल्लो वर्ष २ सय ३२ घण्टा चक्का जाम तथा सडक अवरोध भएको हो । बिगतमा नेपाल बन्द जस्ता कार्यक्रम गरी सडक जाम भएका थिए । तर अघिल्लो वर्ष  त्यस्ता गतिविधि थोरै  भएको ट्राफिक  कार्यालय प्रमुख बासुदेव थापाले बताए ।

गुणस्तरहिन प्याकेजिङ्गका कारण नुन व्यापारी मारमा

भद्रपुर/साल्ट ट्रेडिङ कर्पोरेशनबाट बिक्रीबितरण गरिँदै आएको आयोडिनयुक्त नुनको प्याकेटलाई गुणस्तरहिन प्याकेजिङ्ग गरेका कारण व्यापारीहरु मारमा परेका छन् ।
व्यापारीहरुले बिक्रीका लागि ल्याइएको आयोनुनको वोराभित्रका अधिकांश प्याकेटहरु फुटेका कारण खुला नुनको मूल्यमा बिक्री गर्नुपर्दा मारमा परेको व्यापारीहरुले गुनासो गरेका छन् । डिलरले थोक बिक्रेतालाई प्रतिप्याकेट ६ सय ७५ रुपैयाँका दरले दिएको नुनलाई प्याकेट फुटेपश्चात प्रतिकिलो कम मूल्यमा खुला नुनको रुपमा विक्री गर्नुपरेको अग्नि ट्रेड एण्ड सप्लायर्स चन्द्रगढीका व्यापारी भेषराज नेपाल बताउँछन् । उनले फुटेको प्याकेटको थुप्रो देखाउँदै भने ‘कम्पनीको लापरवाहीका कारण आयोडिनरहित नुनलाई घाटा खाएर बिक्री गर्नुपरिहेको छ ।’ फुटेको प्याकेट ग्राहकलाई बेच्न नमिल्ने र फिर्ता पनि नहुने भएकोले घाटै खाएर भएपनि गाईवस्तुले खाने नुनकोरुपमा बेच्न वाध्य भएको उनले वताए ।
फुटेको प्याकेटका कारण नुनको गुणस्तर घट्न गइ सर्वसाधारणको स्वास्थ्यमा समेत नकारात्मक असर परिरहेको भएपनि बजार अनुगमन गर्नुपर्ने जिम्मेवारी लिएका जिल्लास्थित वजार अनुगमन समिति मौन रहनु रहस्यमय भएको उपभोक्ताको गुनासो रहेको छ । वजारमा वेलावेला अनुगमनको झ्याली वजाउने घरेलु तथा साना उद्योग कार्यालय झापाले चासो नदिएकोमा झापाका उपभोक्ता आक्रोस समेत व्यक्त गर्दछन् ।
यस विषयमा उपभोक्ता मञ्च झापाका अध्यक्ष राजेन्द्र घिमिरे दुई वर्षदेखि खानेनुनको अनुगमन नभएको बताउँछन् । यसको बजार अनुगमनका लागि सरोकारवाला निकायलाई अनुरोध र गर्ने र पहल गर्ने काम भइरहेको मञ्चका अध्यक्ष घिमिरे बताउँछन् ।
जिल्ला वजार अनुगमन समितिका सदस्य सचिव रहेको घरेलु तथा साना उद्योग झापाका प्रमुख गोपीप्रसाद घिमिरेले खानेनुनको वजार अनुगमन नभएको स्वीकार गर्दै साल्ट ट्रेडिङ कर्पाेरेशनले बिक्रीबितरण गर्दै आएको नुनको गुणस्तर परीक्षण गरेर कारवाही गर्न नसकिए पनि समस्या देखिए यस विषयमा सचेत गराउन सकिने बताउँछन् ।
उता साल्ट ट्रेडिङ कर्पोरेशन नेपाल, क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख नवीनचन्द्र झा गुणस्तरहीन प्याकेजिङ्ग नभएको दावी गर्छन् । कर्पोरेशनका क्षेत्रीय प्रमुख झा व्यापारीहरुको लापरवाहीले र लोडअनलोड गर्दा हुकिङको प्रयोगले प्याकेट च्यातिएको हुनसक्ने बताउँछन् । यदि कर्पोरेशनको कारण प्याकेट फुटेको प्रमाण पुगे त्यस्तो सामान व्यापारीले फिर्ता गराउन सक्ने र त्यसको सट्टा भर्ना दिने प्रमुख झाले प्रष्टीकरण दिए ।

मोरङ व्यापार संघमा सारडा

उर्लाबारी/मोरङ व्यापार संघको अध्यक्षमा सभासद पवनकुमार सारडा चयन भएका छन् । उनी यसअघि वरिष्ठ उपाध्यक्ष थिए ।
 दोस्रो संविधानसभामार्फत सभासद बनेका सारडाले संघको विभिन्न पदमा रहेर काम गरिसकेका छन् । उनी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका तर्फबाट समानुपातिक सभासद बनेका हुन् । संघको साधारणसभा गत असार २२ गते नै सम्पन्न भएको थियो । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र राउत चुनिएका छन् ।
 यसपटक पनि सबैजसो पद सहमतिबाट चयन भएको हो । महासचिवमा प्रकाश मून्दडा चयन भए । उनी यसअघि पनि महासचिव थिए ।
देशकै सबैभन्दा पुरानो उद्योग वाणिज्य संघका रूपमा स्थापित संघमा ८ सयभन्दा बढी साधारण सदस्य छन् । प्रजातन्त्रको स्थापनासँगै २००८ सालमा संघको स्थापना भएको थियो । उद्योगतर्फको उपाध्यक्षको जिम्मेवारी रमेशकुमार राठीले पाएका छन् । उनी यसअघि पनि उपाध्यक्ष थिए । सचिवमा अनिल शाह आएका छन् । सचिवमा नवीन रिजाल, राजन श्रेष्ठसहित चारजनाले इच्छा देखाएका थिए । श्रेष्ठ निवर्तमान सचिव हुन् । 
बुधबार चयन गरिएको कार्यसमिति सदस्यमा श्रवणकुमार अग्रवाल, रविनकुमार दाहाल, सुशीलकुमार जोशी, सुनिल टिवडेवाला, विजेन्द्र परासर, तरुणकुमार संचेती, अनुपम राठी, चयन भए ।  त्यस्तै अनिल सारडा, नवीन रिजाल, आनन्द जाजु, राजन श्रेष्ठ, सुवास आचार्य र ओमप्रकाश श्रेष्ठले पनि सदस्यको जिम्मेवारी पाएका छन् । संघका निवर्तमान अध्यक्ष अविनाश बोहरा सल्लाहकारमा चयन भए । बुधबार नै नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ ।

खोला बन्द गरी क्रसर खुला गरेकोमा ट्रयाक्टर व्यवसायीको विरोध

दुधे/चुरे संरक्षण अभियानलाई सफल बनाउन भनी नेपाल सरकारले नदी खोलाबाट बालुवा, गिटी, ढुंगा निकाल्न प्रतिबन्ध लगाएर क्रसर खुल्ला राखेकोप्रति ट्रयाक्टर व्यवसायीहरुले विरोध जनाएका छन् ।
माई–बिरिङ्ग ट्रयाक्टर व्यवसायी संघ सुरुङ्गा र सतासी ट्रयाक्टर व्यवसायी संघ सतासीधामले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उक्त सरकारी निर्णयको विरोध गरेका हुन् । चुरे क्षेत्रको संरक्षण गर्न सरकारले ल्याएको कार्यक्रम सकारात्मक र स्वागतयोग्य भएतापनि नदी खोलाबाट निर्माण सामग्री निकाल्न रोक लगाउने निर्णयका कारण निर्माण सामग्रीको अभाव भई मूल्य आकाशिएको, ट्रयाक्टर व्यवसायीहरुको व्यवसाय अप्ठ्यारोमा परेको, ट्रयाक्टर मजदुर तथा निर्माण मजदुरहरु बेरोजगार हुँदै गएका र काठको घर बनाउने युगतिर मुलुक लाग्ने भएकाले वन विनाशमा तिब्रता आउने ट्रयाक्टर व्यवसायीहरुको भनाई छ ।
माई–बिरिङ्ग संघमा ५ सय र सतासी संघमा ३ सय ट्रयाक्टर व्यवसायी र दुवै संघमा २५ सय बढी ट्रयाक्टर मजदुरहरु आबद्ध छन् । खोला पसेको निजी जग्गाबाट र स्टोर गरिएको ठाउँबाट बालुवा, गिटी, ढुंगा ल्याउँदा पनि प्रशासनबाट रोक लगाइएकोमा माई–बिरिङ्ग ट्रयाक्टर व्यवसायी संघ सुरुंगाका अध्यक्ष डि.पी. गौतमले दुःख व्यक्त गरेका छन् । उक्त सरकारी निर्णयबाट खोलामा बालुवा चाल्ने र गिटी कुटेर जिविकोपार्जन गर्नेहरु पनि बेरोजगार बनेका गौतमले बताए ।
विगतमा पूर्व पश्चिम राजमार्गमा रहेका पुलदेखि ५ सय मिटर उत्तर–दक्षिणबाट गिटी बालुवा निकाल्न नपाइने भनी सरकारले गरेको निर्णय कार्यान्वयन गर्न नसकिरहेको अवस्थामा खोलाबाट बेल्चा लगाएर ट्रयाक्टरमा बालुवा गिटी निकाल्दा चुरे क्षेत्रलाई खासै असर नपर्ने तर स्काभेटर र जेसिबी जस्ता हेभी मेसिन प्रयोग गरी ट्रिपरका ट्रिपर ढुंगा, बालुवा र गिटी निकाल्दा चुरे क्षेत्रमा बढी क्षति हुने सरकारले बुझ्न आवश्यक रहेको सतासी ट्रयाक्टर व्यवसायी संघ सतासीधामका अध्यक्ष अग्नि राईले बताए ।
सरकारी निर्णयबाट ट्रयाक्टर व्यवसायी र सो क्षेत्रमा आबद्ध भएका मजदुरहरु प्रभावित भएकाले सो निर्णयलाई सच्याउन व्यवसायीहरुले अपिल गरेका छन् ।

राहदानी बनाउनेको संख्या चालीस प्रतिशत बढ्यो

झापा/झापामा गत आर्थिक बर्ष भन्दा वितेको आर्थिक बर्षमा राहदानी बनाउनेको संख्या लगभग ४० प्रतिशतले बृद्धि भएको छ ।
गत आ.व ०६९÷७० मा १७ हजारले राहदानी बनाएका थिए भने आ.व.०७०÷७१ मा २३ हजार ८२ जनाले राहदानी बनाए लगतै बृद्धिदर हवतै बढेको हो् । झापाबाट वैदेशीका रोजगार जानका लागी तथा विभिन्न उद्देश्यका साथ राहदानी बनाउनेको संख्या बढ्दै गएको बार्षिक बृद्धि बढ्न थालेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
एक वर्षको अवधिमा २७ हजार २ सय १५ जनाले फारम भरेर पेस गरेपनि सो अवधिमा २३ हजार ८२ को मात्र राहदानी आएको प्रशासकीय अधिकृत केशव रिजालले जानकारी दिए । वैदेशीक रोजगारीमा जानका लागि दैनिक एक सयको हाराहारीमा राहदानी बनाउन आउने गरेको भन्दै उनले त्यस मध्येको २५ प्रतिशत महिला रहेको बताए । सोही अवधिमा राहदानीबाट सरकारले १३ करोड ९५ लाख रुपैयाँ राजश्व संकलन गरेको प्रशासकीय अधिकृत रिजालको भनाई छ । गत वर्ष करिब १७ हजारले मात्र राहदानी बनाएकोमा यस बर्ष झण्डै दोब्बरले बृद्धि भएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
कुल जनसंख्याको करिब ३० प्रतिशत युवाहरु विदेशी सकेको र अझै बृद्धि भइरहेकाले अब युवाहरु गाँउ तथा शहरमा नै नपाउने अवस्था सिर्जना हुन सक्ने तर्फ सरकार सचेत बन्नु पर्ने बेला आएको जानकारहरु बताउँछन् ।
राहदानी बनाएका सबै विदेशीए भन्ने यकिन तथयाङ्क नभए पनि अधिकांश विदेशीएको हुन सक्ने रिजालले बताए । क्रमशः मानिसहरु विदेशीने क्रम बढेकाले यसको दिगो समाधानका लागि पहल गर्नुपर्ने तर्फ हाल सम्म कसैको ध्यान जान सकेको छैन ।
बेरोजगार तथा रोजगारले पनि श्रम अनुसारको पारिश्रमीक नभएका कारण मानिसहरु विदेशीने क्रम बढेको र यस्तै अवस्था रहे अबको केही वर्षमा बालबालीका र वृद्धवृद्धा मात्र रहने आंकलन गर्न सहजै सकिन्छ ।

कम्प्युटर प्रिन्ट नागरिकताको तयारी

दमक/झापा दमकको इलाका प्रशासन कार्यालयले आगामी भदौ महिनाबाट कम्प्युटर प्रिन्ट गररै नागरिकता बितरण गर्ने भएको छ ।
हस्त लिखित नागरिकता  बिस्थापित गरी कम्प्युटर प्रिन्ट नागरिकता बितरणका लागि  आन्तरिक तयारी भइरहेको  हो । कार्यालयले  कम्प्युटर टाइप गर्ने भौतिक पुर्वधार तयारी,  सफ्टवेयर संकलन  लगायतका काम भइरहेकोे  प्रमुख बासु प्रसाद कोइरालाले बताए ।
अहिले दैनिक ५०÷६०  जति  नागरिता  बितरण हुने गरेकोमा कम्प्युटर प्रविधिबाट  धेरै नागरिकता  बितरण गर्न सकिने कार्यालयले जनाएको छ ।  
दमक नगरपालिका र आसपासका १० गाविसका नागरिकले  कार्यालयबाट सेवा लिने गरेका छन् ।

के हो ‘सडेन इन्फेन्ट डेथ सिन्ड्रोम’ ?

सडेन इन्फेन्ट डेथ सिन्ड्रोमबाट एक वर्ष नपुगेका शिशुको मृत्यु हुने गरेको छ । एक देखि १२ महिनाका शिशुको मृत्युमा यस समस्याको ठूलो हिस्सा रहेको देखिन्छ । अमेरिकामा दुई हजारभन्दा बढी शिशुले प्रत्येक वर्ष यस समस्यामा परेर ज्यान गुमाउने गर्छन् तर सामान्यतया यसरी हुने शिशुको मृत्युको कारण व्याख्या गरिँदैन । अहिले एक अनुसन्धानले जनाए अनुसार ओछ्यानमा शिशुसँगै सुत्नु सडेन इन्फेन्ट डेथ सिन्ड्रोमको एक प्रमुख कारण हुन्छ । अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सको जर्नल पेडियाट्रिक्समा प्रकाशित नयाँ अनुसन्धानको विवरणमा अमेरिकाका २४ राज्यमा सन् २००४ देखि २०१२ सम्म भएका सडेन इन्फेन्ट डेथ सिन्ड्रोम मामिलाको अध्ययन गरिएको जनाइएको छ ।
अमेरिकाको रोग नियन्त्रण केन्द्रले शिशुको मृत्युको प्रमुख तीन कारणलाई यसरी छुट्याएको छः सडेन इन्फेन्ट डेथ सिन्ड्रोम (सिड्स), अज्ञात कारण र ओछ्यानमा दुर्घटनावस सास लिन नपाउने । एकदेखि चार महिनाका शिशुमा सडेन इन्फेन्ट डेथ सिन्ड्रोम बढी देखिने भए पनि एक वर्ष नपुगेका जसलाई पनि यो समस्याको खतरा रहन्छ । ओछ्यानमा सुत्दा शिशुको मृत्यु हुने जोखिम उमेर समूह अनुसार फरक हुने भएकाले अनुसन्धान टोलीले दुई समूह शून्यदेखि तीन महिना र चारदेखि १२ महिना, बनाएर अनुसन्धान सुरु गरेको थियो । अनुसन्धान अवधिमा आठ हजार २ सय ७ शिशुको मृत्यु भएकोमा ६९ प्रतिशत शिशुले अभिभावकसँगै सुतेको अवस्थामा ज्यान गुमाएका थिए ।
अनुसन्धान टोलीले सडेन इन्फेन्ट डेथ सिन्ड्रोमजस्ता दुर्घटनाबाट जोगाउन जहिले पनि शिशुलाई उतानो पारेर सुताउनुपर्ने सुझाव दिएको छ । कोल्टे पारेर सुताएमा शिशु आफ्नो पेटको बलमा घोप्टिने खतरा हुन्छ । यस अतिरिक्त शिशुलाई न्यानो राख्ने भनेर धेरै लुगा लगाउने र ठूलो कम्मलले ओढाएर सुताउनु हुँदैन । कोठाको तापक्रम पनि आरामदायक राख्नुपर्छ ।

शिशुलाई कसरी सुताउने ?
– शिशुलाई हल्का नरम ओछ्यानमा सुताउने ।
– धुवाँ नहुने स्थानमा सुताउने ।
– शिशुलाई सुताउन वयस्क मानिसको ओछ्यान, कुर्सी, सोफा, तकिया आदि प्रयोग नगर्ने ।
– शिशुको ओछ्यानमा ठूला कम्मल, खेलौना, अतिरिक्त तकिया आदि नराख्ने ।
– आमाबाबुले शिशुलाई सँगै नसुताउने ।
– आमाले आपूmले सुतेर बच्चालाई कोल्टे पारी स्तनपान नगराउने । बसेर शिशुलाई काखमा राखी स्तनपान गराउनु पर्छ ।
– गर्भावस्था र बच्चा जन्माएपछि आमाले धूमपान नगर्ने वा धुवाँ हुने वातावरणबाट आपूmलाई टाढा राखेर पनि शिशुलाई सडेन इन्फेन्ट डेथ सिन्ड्रोमबाट जोगाउन मद्दत मिल्छ ।
– शिशुलाई मसाज गर्दा शिशुलाई धेरैबेर घोप्ट्याएर राख्नु हुँदैन ।
– शिशु ब्युँझेको बेला उसलाई आफ्नो निगरानीमा केहीबेर पेटको बल रहन दिएमा उसको शारीरिक विकासमा सहयोग पुग्छ ।

अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रलाई सहयोग

बिर्तामोड/बहराइनमा रहेका नेपालीहरूको संस्था लालीगुराँस सेवा समाजले झापाको बिर्तामोडस्थित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रलाई २२ हजार २ सय २२ रुपैयाँ प्रदान गरेको गरेको छ ।
नेपालमा रहेका अपाङ्ग, अनाथ तथा असहायहरूका लागि विभिन्न किसिमका सहयोग पुर्याउँदै आएको समाजले आइतबार आयोजित एक विशेष कार्यक्रमका बीच केन्द्रलाई सहयोग रकम प्रदान गरेको हो । समारोहमा समाजका उपाध्यक्ष प्रकाश पाठकले अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रका अध्यक्ष कृष्णदेव दुलाललाई सहयोग रकम प्रदान गरेका हुन् । कार्यक्रममा पार्वता बिमली, लोकनाथ पौड्याल, गणेश ढुङ्गाना, राम खरेल, जीवन पाठक, मनकुमारी सुब्बा, रेश्मा राजवंशी, विष्णु आचार्यलगायत स्थानीयबासीको उपस्थिति रहेको थियो । शनिअर्जुन नगरपालिका, कप्तानवारीमा सञ्चालित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा अहिले ६ देखि १३ वर्षसम्मका १८ जना बालबालिका रहेको सरोकार केन्द्रकी उपाध्यक्ष उर्मिला खरेलले जानकारी दिइन् ।

एमाले गुटको बिल्ला, अधिवेशन सम्पन्न

टंक पाठक
 नेकपा एमालेको नवौं अधिवेशन सकिएको छ । केन्द्रीय अध्यक्षमा केपी शर्मा ओलीले विजय हात पारे भने अन्य पदका लागि खासै कुनै एक प्यानल नभई मिश्रित रुपमा विजय भएका छन् । अधिवेशनको दुई–तीन महिना अगाडिदेखि नै नीति र नेतृत्वको लागि रातदिन छलफल मात्रै होइन, रस्साकस्सी गर्दै थुतुनो चलाउन कसैले पनि बाँकी राखेनन् । खासमा माधवकुमार नेपाल र केपी शर्मा ओली नै एक अर्कामा गाली गलौजका नराम्रा शब्दहरू शब्दकोषमा भएसम्म शब्दहरू छानी–छानी र चोर औंलो ठाडो पारेर बोल्न बाँकी राखेनन् । यदि छलफल र बहसको उन्नत विधि र प्रणाली स्थापित गर्नु थियो भने अलग–अलग भेला गरेर भेला गरेर हिलो छ्यापाछ्याप गर्नु कथाचित राम्रो पक्ष होइनथ्यो । औपचारिक बहस र छलफलका लागि कार्य विधि र उन्नत प्रकारको लोकतान्त्रिक संस्कृति चाहिन्छ । त्यस्तो हुन नसकि उन्नत गुट तयार गरी मतपत्रमा समेत गुटको व्यवस्था गरी अधिवेशनमा होमियो । शुरूकै दिन अधिवेशन हलमा मात्रै नभए काठमाडौं गल्ली–गल्लीमा हुँदै अधिवेशन स्थल बाहिर महाभारतको युद्ध जस्तोबाट शुरू भयो त्यो अधिवेशन । आमन्त्रित स्वदेशी विदेशी पाहुनाले पनि महाभारतबाट तयार पारेका केही लड्डु, पेडाका उपहार पनि पाए । लाखौं लाख खर्च गरेर सजाइएका ब्यानर, तुल, गेट सबै ध्वस्त पारियो । काठमाडौंका प्रहरीले राम्रो काम पाए । यो मुलुकमा धेरै पार्टीहरू छन् । तर यस्तो ठूलो र हरेक जनआन्दोलनमा होमिँदै आएको पार्टी नेताले गुटबन्दी गरेर चुनावमा होमिनु र प्रहरीको सुरक्षामा मतदान गराउनु एमालेका लागि आगामी दिनका लागि त्यति राम्रा लक्षण नहुन सक्छ । अर्कोतर्पm हेर्ने हो भने २०४७ सालमा जितेर गएका सभासदहरू भुक्के चप्पल र एकसरो सामान्य पोशाकमा पुगेका यस पार्टीका मान्छेहरू आज पजेरो र महलका मालिक भएका देखिन्छ । अमेरिका र भारतलाई धारे हात पारेर सराप्नेहरू तिनै देशको ताल, चय र सुरमा नाचिरहेका छन् । सदनलाई बुर्जुवाहरूको गफ गर्ने अखडा भन्ने तिनीहरू बुर्जुवाहरूका मालिक बनिसकेका छन् । सर्वहाराको पक्षपाति हौं भन्ने आज अरब पति बनेका छन् । माक्र्सवाद र लेनिनवादका अनुयायी हौं भन्ने यस्तो महान् पर्वमा उनीहरूका फोटा समेत राख्न छाडेका छन् । कम्युनिष्ट हौं भन्नेहरू कमाउनिष्ट भएका उदाहरण झल्किँदै छन् । यो नवौं अधिवेशनलाई हेर्ने हो भने प्रचारबाजीदेखि हरेक क्रियाकलापमा प्रत्येक व्यक्तिले लाखौं लाख रुपैयाँ छुट्याएका छन् । कुनै आचारसंहिताको ख्याल छैन । बोल्ने शैली नकचरोपनको देखिनु, भोज भतेरदेखि सर्ट, टिसर्ट, टोपी वितरण गर्नुले पनि कम्युनिष्टहरू नभएर कमाउनिष्ट रहेछन् भन्ने देखिन्छ । नत्र भने सर्वहाराको नेतृत्व गर्नेसँग त्यस्तो सम्पत्ति कहाँ हुन्छ र ? जब ती सर्वहाराले एक छाक खाना खान धौ–धौ छ, अधिवेशन गराउनमा मात्र मासु भात खान एकदिनको मात्र पच्चिसदेखि तीस लाख खर्च भएको कुरा सार्वजनिक भएको पाइन्छ । त्यस्तै, अधिवेशन सक्दासम्मको खर्च सुने अनुसार साढे छ करोड भएको छ । बसाईमा मात्र एघार लाख खर्च भएको सुनेको छु । एक करोड आवास खर्च । जम्मा नौ दिनको मात्र खर्च करिब तीन करोड खानामा । त्यसबाहेक अन्य खर्च कति हो कति । त्यसपछि प्रत्येक व्यक्तिको लाखौं लाख खर्च । अब भन्नुहोस्, यस्ता खर्चको स्रोत के होला ? यस्तो किसिमको आन्तरिक पार्टीभित्र करोडौं करोड खर्च हुन्छ भने स्थानीय स्तरदेखि संसदीय तहसम्म चुनाव गर्दा के कसैले आर्थिक भार थाम्न सक्छ होला ? कम्युनिष्ट पार्टीभित्र त यस्तो खर्च हुन थाल्यो भने सामन्ती पार्टीहरूले झन् कति खर्च गर्छन् होला ? जुन यो अधिवेशनमा नेकपा एमालेले रङ्गीन पर्दामा यो दृश्यहरू देखायो । हुनसक्छ, माक्र्सवाद र लेनिनवादलाई र त्यस्तो सिद्धान्तलाई छाड्दै गर्दा र मदन भण्डारीबाट प्रतिपादित जबजलाई स्वीकार्दै लोकतान्त्रिक र समाजवादी आउनका लागि उपज परिणाम पनि हुन सक्छ । त्यस्तै, कुनै एक ठुट भारतमुखी भएको देखाउनका लागि पनि यसो हुनुपर्छ । नत्र भुक्के चप्पल लगाएर चिउरा मुरही खाँदै राजनीति गरेको सबैले देखेको छ, कसरी यस्तो दृश्यहरू झल्कियो होला ? मेरो मान्यता अधिवेशन गर्नु हुँदैन भन्ने होइन । खर्च पनि गर्नु हुँदैन भन्ने होइन । झैं–झगडा पनि हुँदैन भन्ने होइन तर प्रगतिशीलहरूले यस्तो तामझाम, महाभारतको लडाई, गुटको देखावाटी बिल्ला, करोडौंको खर्च, नराम्रा आक्षेप र गाली गलौज देख्दा कुरी–कुरी भयो भन्न मात्र खोजेको । बधाई छ, केपी जी र सबै जीत हात पार्ने नेताजीहरूलाई । यहाँहरूको कार्य सफलताको शुभकामना छ । तपाईहरूको विगतका क्रियाकलापहरूले आगामी पार्टीभित्र चुनौति आउन सक्छन्, बेलैमा सचेत हुन जरुरी छ । पुनः एकताको सुत्र बाँधियोस् । कुनै पनि पार्टी फुट्नु भनेको मुलुकले थप चुनौति व्यहोर्नु हो । यस्तो कसैको पनि नहोस् ।

'अल्कोहोलिक' साझा समस्या – सम्पादकीय

आज अल्कोलिक समस्या साझा समस्या बन्दै गएको छ । साधारणतया जाँड,रक्सीको लतलाई हामी सामान्य प्रकृतिको एक प्रकारको नसा मात्र हो भनेर विश्लेषण गछौं । यो हाम्रो समाजको बुझाई पनि त्यही नै हो । यो दृष्टिू संगै हाम्रो सांस्कृतिक चालचलन निकटताका कारणले समेत जाँड,रक्सीको सम्बन्धलाई जोड्न पुगेको छ । धेरै जाति,जनजातिहरुले जाँड,रक्सीको प्रयोगलाई संस्कृति संग जोडिएका तथा मान्दै पनि आएका छन् । तर ,त्यो संस्कृतिको सम्बन्ध यतिखेर चर्को सामाजिक समस्या समेत बन्दै गएको छ ।
हाम्रो समाज यो वेला लागूऔषधको अम्मल भन्दा डरलाग्दो समस्याका रुपमा ‘अल्कोहोलिक’ बनेको छ । लागूऔषधलाई नेपालको कानुनले निषेध गरेको छ । लागूऔषध सेवन गर्नु , बिक्री गर्नु तथा ओसारपसार गर्नु अपराध मानिन्छ । लागूऔषध ऐनले यी औषध प्रयोग तथा बिक्री गर्ने नियत मात्र देखिए ,कडा सजाय सम्मको सजाय तोकेको छ । तर,लागूऔषधका रुपमा सहजै पाईने घरेलु तथा अन्य प्रकृतिका जाड,रक्सीको उच्च प्रयोगका बारे न त कानुन न त हाम्रो समाज नै प्रष्ट रुपमा उभिन सकेको छ । यो बिस्तारै समाजलाई क्रमिक रुपमा विनास गराउने  पथमा लम्कीरहेको छ । हुन त जाँड,रक्सीको गलत प्रयोगले गर्दा नै अनेकौ समस्या झेल्नुपर्ने अवस्था बनेको छ ।
लागूऔषध भन्दा कैयौ गुणा असर जाँड,रक्सीले निम्ताएको  छ । एउटा ब्यक्ति ,परिवार संगै बिस्तारै सिङो समाजलाई यो समस्याले गाज्दै आएको छ । जाँड,रक्सीको बढ्दो सेवनले समाज नै प्रताडित छ । देशका कैयौ युवाहरु जाँड,रक्सीको लतले आफनो स्वास्थ्य  मात्र विगारेका छैनन् , अकालमा ज्यान संगै धनसम्पति नास गर्न बाँध्य छन् । समाजशास्त्रीहरुले अल्कोहोलिक समस्याले देश नै गाज्दै गएको र यस्तै अवस्था नरोकिए यसले देशको आर्थिक विकासमा नै असर पुग्ने चेतावनी दिदै आएका छन् ।
आज जाँड,रक्सीले अकालमा नै मानिसलाई मृत्युको मुखमा पु¥याउदै गएको छ । यसको परनिर्भरताले मानिसको स्नायु र पाँचन प्रणालीलाई कमजोर पु¥याँउने हुदाँ स्वास्थ्य उपचारका लागि पनि यो रोगले लाखौ धन खर्च गर्दे आएको छ । क्षणिक मनोरञ्जनको शुरमा हुर्किएको यसको सेवन अन्य लागूऔषधका झै एकै नै हो । जाँड,रक्सी होस या अन्य प्रतिबन्धित लागूऔषध किन नहोस,ती सेवन कुलत लत हो भनेर मानिन्दै आएको छ । यद्यपि , जाँड,रक्सीलाई सांस्कृतिक रितीरिवाज संग जोडेर त्यसको बढ्दो गलत प्रयोग नियन्त्रण गराउन जरुरी भईसकेको छ । किनकी जाँड,रक्सीको गलत प्रयोगबाट निस्कने भयाभह समस्या रोक्न राज्य तथा अन्य सरोकारवालाहरुको ध्यान जानु पर्छ ।

विपी स्मृति दिवसमा विभिन्न कार्यक्रम

पिपुल्स टाइम्स समाचार
दमक/नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको ३३ औँ स्मृतिको अवसरमा झापाको दमक सहित देशै भरि विभिन्न कार्यक्रम गरि मनाईएका छन् । दिवसमा कांग्रेस र उनका भगिनी संघ, संगठनहरुले विभिन्न कार्यक्रमहरुको आयोजना  गरि मनाएका समाचार प्राप्त भएको छ ।
नेपाली कांगे्रस क्षेत्र नम्बर ७ झापाले दमकमा अन्तरसंवाद सहित वृक्षारोपण गरेको छ । क्षेत्रीय समितिले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा वक्ताहरुले कांगे्रसले वीपी कोइरालाको चिन्तनलाई भुल्दै गएको गुनासो गरेका थिए । सहभागीहरुले कांग्रेस भित्र एकता बन्न सकेमात्र वीपी को आदर्श पूरा हुने जोड दिएका थिए । कार्यक्रममा पार्टीका महासमिति सदस्य तथा पूर्व जिल्ला सभापति पूर्णनन्द दाहालले वीपीको आदर्शको त्यागलाई कांग्रेसका नेता, कार्यकर्ताहरुले अनुशरण गर्नुपर्ने जोड दिए । कार्यक्रममा पार्टीका महासमिति सदस्य शुरेश सुब्बा, राजन ढुङ्गाना, सरस्वती उच्च माविका प्राचार्य दिलीप श्रेष्ठ, नेविसंघ झापाका सभापति रोशन विष्ट, कांगे्रस दमक सभापति ढुण्डीराज भण्डारी लगायतकाले बोल्दै वीपीको विचारलाई ब्यवहारिक रुपमा मान्न सकेमात्र कांग्रेस बलियो हुने उल्लेख गरेका थिए ।
सोही अवसरमा दमक–१४ स्थित  सरस्वती उच्च माविको हातामा विभिन्न जातका विरुवा रोपिएका थिए । सिरीस, टिक, सिसौँ जातका विरुवाहरु रोपिएका क्षेत्रिय सभापति शेर बहादुर भट्टराईले जानकारी दिए ।
यसैगरि इटहरी सहकर्मीका अुसार नेपाली काँग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले बिपीको मेलमिलाप नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् ।
विराटनगर बरगाछी स्थित गुराँस पुस्तकालयद्वारा आयोजित कार्यक्रममा उनले मुलुकको आर्थिक र सामाजिक रुपान्तरणका लागि बिपीको विचारलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने बताए ।
कार्यबाहक सभापति पौडेलले अग्रगामी परिवर्तनका नाममा वामपन्थीले जनतामाझ भ्रम छर्ने काम गरेको आरोप लगाए ।
सो अवसरमा सूचना तथा सञ्चार मन्त्री डा. मीनेन्द्र रिजालले प्रजातन्त्र प्राप्तिका लागि मात्र नभई देश निर्माणका लागि पनि बिपी कोइरालाको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै उनका अनुयायीले आफ्नो विवेक प्रयोग गरेर हरेक समस्याको समाधान खोज्नुपर्छ भने । उनले अब शान्ति र संविधान निर्माण गरेर मुलुकमा स्थायित्व कायम गर्न बिपीको आर्दश र विचारलाई सबैले अवलम्बन गर्नुपर्ने बताए ।
कांगे्रस मोरङका सभापति एवम् सभासद् अमृत अर्यालले बिपीको मेलमिलाप नीतिको कारण कांग्रेस जनतामा लोकप्रिय बन्दै गएको हो भने । पुस्तकालयका सभापति दीपक चापागाईंको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्राज्ञ दधिराज सुवेदी, मीनकुमार श्रेष्ठ सीमा आभास, विवश पोखरेल, गोकुल अधिकारी लगायतले बिपीको स्मरणमा कविता वाचन गरेका थिए ।
यसैबीच, विराटनगर स्थित पार्टी कार्यालयमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै कार्यबाहक सभापति पौडेलले बिपीको विचार अनुसार कांग्रेसले नेपालका निम्नमध्यम परिवारलाई मध्यमस्तरमा पु¥याउन चार हजार गाउँमा रोजगारी, स्वास्थ्य, शिक्षा, खानेपानीको सेवा पु¥याउन लागेको जानकारी दिए ।
बिपीको विचार यात्रा मंगलबारदेखि प्रजातन्त्र
 प्राप्तिका लागि आन्दोलन शुरु भएको विराटनगर रानीको हडताली हाटबाट शुरु भई भदौ २४ गते सुन्दरीजलमा सम्पन्न हुने पनि उनले बताए ।
यसैगरि काँकड्भिट्टा सहकर्मीका अनुसार वि. पि. स्मृति दिवसको अवसरमा वृक्षरोपण तथा अन्तरकृया कार्यक्रम काँकड्भिट्टा स्थित विपी स्मृति  वाटिकामा सम्पन्न भएको छ ।
नेपाली कांग्रेस मेचीनगरको आयोजना र वडा इकाई १० को संयोजनमा भएको  कार्यक्रममा करिब एक सय वटा विभिन्न प्रजातिका बोटबिरुवाहरु  स्मृति  वाटिकामा वृक्षरोपण गरिएको थियो । सोही अवसरमा पार्टीले आयोजना गरेको अन्तकिृया कार्यक्रममा प्रमख अतिथि राम  कट्टेल, क्षेत्रिय सभापति मणि उप्रेती, महासमिति सदस्य प्रेम राई, तमोर राई, हस्त आङ्गदेम्वे, गिरिराज धमला, कान्ता श्रेष्ठ, अर्जुन राई, गोपाल शिवाकोटी, सुरेन्द्र बुढाथोकी लगायतले वि. पि. विचार, आदर्श र समाजबादका बारेमा विचार व्यक्त गरेका थिए ।
कार्यक्रम प्रेम सम्वाहाम्फेको सभापतित्व भएको थियो ।
यसैगरि इटहरी सहकर्मीका अनुसार  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्नातकोत्तर तहमा अध्ययनरत कम्युनिटी हेल्थ नर्सिङ विद्यार्थीको सक्रियतामा धरान–१७ रेलवे क्षेत्रमा सोमबार एकदिने आँखा शिविर सञ्चालन गरियो ।
सो विभागले यो वर्ष ज्येष्ठ नागरिकको स्वास्थ्य सरोकार भन्ने मूल नाराका साथ प्रतिष्ठानसँगै जोडिएको धरान–१७ को बस्तीलाई अध्ययनको प्रमुख केन्द्र बनाएर ३५० घर परिवारलाई अध्ययन गरेका थिए ।
विशेषगरी आदिवासी जनजाति र दलित समुदायको सघन बसोबास रहेको त्यो वडाका धेरै मानिस बिपी प्रतिष्ठान नजिकै भएर पनि उपचारमा नजाने, धेरै मानिसमा विभिन्न प्रकारका रोगका सङ्क्रमण रहेको तथा धुम्रपान मद्यपान र लागुऔषध सेवनकर्ता अधिक रहेकाले मिर्गौला पीडितको सङ्ख्या पनि अधिक फेला परेको टोली नेत्री सरिता अधिकारीले जानकारी गराईन् ।
उच्च रक्तचाप, मधुमेह, एचआइभी पोजिटिभ तथा आँखा, नाक, कान, घाँटी र मातृ मृत्युदर बढी र घरमा नै सुत्केरी गराउने जस्ता समस्याले ग्रस्त सो वडावासीले स्वास्थ्यमा पहुँच पु¥याउन आँखा शिविर गरिएको टोलीमा संलग्न जमुना भट्टराईले बताईन् ।
निःशुल्क आँखा शिविरमा ६० वर्षमाथिका उमेर समूहका १३० जनाको आँखाको रोगका जाँच गरिएको थियो । तीमध्ये नौजनाको आँखामा लागेको मोतियाबिन्दुका शल्यक्रिया गर्नुपर्ने भएकाले उनीहरूलाई प्रतिष्ठानमा नै शल्यक्रिया गरिने छ । शिविरमा आएका ५० जनालाई नियमित आँखाको जाँचका लागि राखिएको बताइएको छ ।

दुर्घटनामा एक मृत्यु एक घाइते

दमक/झापाको दमकमा मंगलबार साँझ भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा शिवगञ्ज–५ का ३१ बर्षिय गणेश भण्डारी रहेका छन् । साँझ करीब साढे सात बजे पश्चीमबाट पूर्व तर्फ आइरहेको मे २ प ३०४३ नम्बरको मोटरसाइकल चलाईरहेका भण्डारी विपरीत दिशाबाट आइरहेको को ६ प ९५७५ नम्बरको मोटरसाइकलमा ठोक्किँदा मृत्यु भएको हो ।
 दुर्घटनामा गम्भीर घाइते भएका भण्डारीको उपचारका लागि अस्पताल तर्फ लैजाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी रविकुमार पौडेलले जानकारी दिए । सो दुर्घटनामा मोरङको मृगौलीया १ का २९ बर्षिय पारसकुमार भगत गम्भीर घाइते भएका छन् । घाइतेको उपचारका लागि विराटनगर स्थित न्युरो अस्पताल तर्फ पठाइएको जनाइएको छ ।

पाँच करोड दिन हुन्न : किराती

दमक/एकिकृत नेकपा माओवादीका स्थायी समिति सदस्य गोपाल किराँतीले निर्वाचित क्षेत्रमा सभासदहरुलाई ५ करोड रुपैयाँ कुनै पनि हालतमा बिनियोजन हुन नदिने बताएका छन्  । उनले स्थानिय निकायमा बजेटलाई थप गरि बिकासका काम गर्नुपर्नेमा जोड दिए । मंगलवार  झापाको दमकमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृति दिबसका अबसरमा माओवादी अध्ययन केन्द्र  दमकले गरेको अन्तरकृयामा बोल्दै किराँतीले त्यसरी बजेट दिइदाँ सभासदहरुको व्यापारमा मात्र वृद्धि हुने र त्यसको ठेकेदारी सभासदहरुले गर्ने आरोप लगाए । 
माओवादी अध्ययन केन्द्रले दमकमा गरेको अन्तरकृयामा सहभागीहरु
फरक प्रसङ्गगमा किराँतीले नेकपा एमालेका अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीले प्रतिक्रान्तिको मात्र नेतृत्व गर्न सक्ने तर मुलुकको नेतृत्व गर्ने क्षमता नभएको   बताए । नवौँ महाधिवेशनबाट अध्यक्षमा  निर्बाचित ओली सँग संविधान सभाको निर्वाचनमा झापा क्षेत्र नम्बर ७ बाट प्रतिष्पर्धी समेत रहेका उनले ओलीले धाँधली गरी जनतालाई झुक्याएर
 मात्र निर्वाचनमा जित हासिल गरेको आरोप लगाए । कार्यक्रममा एकिकृत माओवादी निकट प्राध्यापक संघका केन्द्रीय अध्यक्ष अखिलेश्वर लाल दासले पुष्पलाल कम्युनिष्टहरुको आदर्श र महानायक भएको बताए । उनले पुष्पलालको जिवनी माथि प्रकाश पारेका थिए ।
माओवादीका नगर इन्चार्ज रमेश गुरागाइँले नेपालमा कम्युनिष्ट आन्दोलन र समाजवादी क्रान्तीको कार्यदिशा बिषयक कार्यपत्र पेश गरेका थिए ।  कार्यपत्रमा नेपालमा कम्युनिष्ट पार्टीको स्थापना, क्रान्तीकारी कार्यदिशा, आन्दोलन, बर्गिय अवस्थाका बारेमा उल्लेख गरिएको छ । उनले  कार्यपत्रमा सम्पुर्ण बिभेदहरुको अन्तका लागी समाजवादी क्रान्ति आवश्यक रहेको निष्कर्ष निकालिएको छ ।  कार्यक्रममा धेरै जसो टिप्पणीकर्ताहरुले मुलुक अर्ध सामन्ती उपनिवेशिकवाद हटीसकेको हुँदा अव समाजवादी क्रान्तिमा जानु पर्ने बताएका थिए । तर टिप्पणीकर्ता  नेकपा एकीकृत झापा अध्यक्ष गजेन्द्र निरौलाले मुलुकमा अर्धसामन्ती उपनिवेशिकवाद कायम रहेको हुँदा त्यसको अन्त गरेर मात्रै समाजवादी क्रान्ति आवश्यक रहेको बताए । टिप्पणी गर्नेहरुमा एमाओवादी झापा अध्यक्ष धर्मशिला चापागाई, एमाले जिल्ला सदस्य राधाकृष्ण खनाल,  संघीय समाजवादी झापाका अध्यक्ष धिरेन सुब्वा, नेपाली काँगे्रसका हरि सुवेदी,  नेकपा माओवादीका बिमल आचार्यले देश समाजवादी आधुनिक प्रविधिमा अघि बढनु पर्ने बताए ।
 
                       पुष्पलालको स्मृतिमा रक्तदान सम्पन्न
दमक/नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको स्मृतिमा मंगलवार झापाको दमकमा रक्तदान गरिएको छ ।
माओवादी अध्ययन केन्द्रले दमक चौकमा रक्तदान गरेको हो । एकिकृत नेकपा माओवादीकी जिल्ला अध्यक्ष धर्मशिला चापागाइँले रक्तदान गरेर उद्घाटन गरेकी हुन् । रक्तदानमा ७ महिला सहित २७ जनाले रक्तदान गरेका थिए ।


अदालतको फैसलाप्रति एमाओवादीको आपत्ति

बिर्तामोड/पुनरावेदन अदालत इलामले आफ्ना छ जना कार्यकर्तामाथि ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोप लगाउँदै गरेको कैद सजायको फैसलाप्रति एकीकृत नेकपा माओवादी झापाले आपत्ति प्रकट गरेको छ ।
पुनरावेदन अदालतले झापा बुट्टावारीका निरज गिरीको ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा सञ्जय लामा तामाङ, राजु लिम्बू, इन्द्रबहादुर खवास, गोपाल प्रसाई, लेखनाथ अधिकारी र नरेन्द्रकुमार अधिकारीलाई पाँच–पाँच बर्षको कैद सजायप्रति एमाओवादीले आपत्ति प्रकट गरेको हो । एमाओवादी झापा उपाध्यक्ष राजु आचार्य अग्नीले मंगलवार विज्ञप्ति जारी गरी अदालतको फैसला त्रुटीपूर्ण रहेको बताए । २०६४ सालको संविधानसभा अघि बुट्टावारी स्थित नविन ट्रेड कन्सर्न(पेट्रोल पम्प) का सञ्चालक कृष्णकुमार गिरीका कान्छा छोरा निरज र वाइसीएल कार्यकर्तावीच भएको कुटपिटलाई
पुनरावेदन अदालतको केही दिन अघिको फैसलाले ज्यान मार्ने उद्योगमा सजाय तोकेको छ । झापा जिल्ला अदालतले कुपपिट भन्दै गरेको फैसलालाई पुनरावेदनले उल्ट्यार ज्यान मार्ने उद्योगको सजाय तोकेको हो । 
तत्कालीन समयमा निरज गिरीले बिर्तामोडमा पेस्तोल देखाउँदै व्यापारीलाई आतंकीत पारेको बिषयमा प्रशासनले सुनुवाई नगरेपछि वाईसीएल नेपालका कार्यकर्ता समक्ष उजुरी गरेका थिए । उजुरीका आधारमा छलफल गर्न जाँदा आफ्ना कार्यकर्तामाथि निरजले पेस्तोल देखाउँदै आक्रमण गरेपछि सुरक्षाका लागि प्रतिरोध गर्दा झडप भएको बिज्ञप्तिमा उल्लेख छ । संक्रमणकालीन राजनीतिक समयमा भएको घटनालाई सत्ता र शक्तिको दुरुपयोग गरी ज्यान मार्नेसम्मको उद्योग गरेको आरोपमा नियोजित रुपमा आफ्ना कार्यकर्ताबिरुद्ध मुद्धा दर्ता भएको विज्ञप्तिमा उल्लेख छ । घटनास्थलमा उपस्थित नै नभएका इन्द्रबहादुर खवास, गोपाल प्रसाई, लेखनाथ अधिकारी र नरेन्द्रकुमार अधिकारीलाई दोषी भएको आरोप लगाउने कार्यले अदालतको न्यायिक कार्यमा प्रश्न उठेको उल्लेख गरिएको छ । आफुलाई माओवादीले आक्रमण गरेको कागजात पेश गरी निरज घटनाको केही महिनापछि देखि नै शरणार्थीको रुपमा स–परिवार अष्ट्रेलियामा बस्दै आएका छन् । राजनीतिक कारण देखाएर बिदेशमा शरणार्थी हुने गिरीको सत्ता, शक्ति र पैसाको भरमा मुद्धा प्रभावित भएको एमाओवादी झापाको ठहर छ । निरज गिरी र उनका परिवारले चिया बगानमा काम गर्ने मजदुरको हत्या गरी पानीट्यांकीमा फालेको घटनामा सत्ता र शक्तिको भरमा निर्दोष सावित गरिएको विज्ञप्तिमा उल्लेख छ ।
पार्टीले आफ्ना कार्यकर्तालाई षड्यन्त्रपूर्वक ढंगले ज्यान मार्ने उद्योगमा फसाउने कार्यबिरुद्ध कानुनी, सामाजिक तथा राजनीतिक लडाईं लड्ने समेत चेतावनी दिएको छ । त्यसका लागि नागरिक समाज, कानुन व्यवसायी, संचारकर्मी, अधिकारकर्मी लगायत सबैसँग सहयोगको अपिल गरेको छ ।

ढकाल पुरस्कृत हुने

बिर्तामोड/यस वर्षको एसएल शर्मा सिर्जनशील पत्रकारिता पुरस्कार झापाका पुराना पत्रकार लक्ष्मण ढकाललाई प्रदान गरिने भएको छ । त्यस्तै पार्वतीदेवी शर्मा पत्रकारिता प्रोत्साहन पुरस्कार पत्रकार लेखनाथ परदेशी शिवाकोटीकी श्रीमती कृष्णकला शिवाकोटीलाई प्रदान गर्ने निर्णय भएको छ ।
पुरस्कार छनोट समितिका संयोजक नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष भीम नेम्वाङको अध्यक्षतामा बिर्तामोड स्थित महासंघको कार्यालयमा मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो । पुरस्कार संस्थापक परिवारका तर्फबाट भाष्कर शर्मा, २०७० सालमा पुरस्तकृतहरु मोहन
काजी र लीला राईसहितको छनोट समितिले यस वर्षको उक्त दुई पुरस्कार ढकाल र शिवाकोटीलाई दिने सर्वसम्मत निर्णय गरेको बताइएको छ ।
 ११ हजार रुपैयाँ नगद र सम्मानपत्रसहितको एसएल शर्मा सिर्जनशील पत्रकारिता पुरस्कारका लागि छनोट हुनु भएका ढकाल ३७ वर्षदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्छ । झापाको बिर्तामोड नगरपालिका–१ निवासी ढकाल हाल पूर्वाञ्चल दैनिकको डेस्क सम्पादकको रुपमा कार्यरत हुनुहुन्छ ।

मेचीमा समस्या बन्दै ‘अल्कोहलिक’

इलाम/एक दशक अघि झापाको विर्तामोडमा स्थापित ‘नयाँ आशा फाउण्डेशन’ नामक रिह्याविटेसन सेन्टरले स्थापनाको चार वर्षसम्म ड्रग्स प्रयोगकर्ताहरुको मात्र उपचार ग¥यो । त्यसयता रिह्याव सेन्टरमा जानेमध्ये धेरै अल्कोहलिक छन् । ५० जनालाई उपचार गर्ने क्षमता भएको नयाँ आशा फाउण्डेशनमा २५ देखि ३० जना टुट्दैनन् । त्यसमध्ये धेरै जना अल्कोहलिक हुने गरेको सेन्टरले जनाएको छ ।
मादक पदार्थ सेवनलाई समाजले पनि स्वीकारेकाले अहिले रिह्याव सेन्टरमा जानेमध्ये धेरै अल्कोहलिक हुने गरेको अध्यक्ष बलराम पनेरुको भनाई छ । ‘रक्सीको सेवनलाई समाजले पनि स्वीकारेको छ, कानुनी मान्यता पनि दिइएको छ’ उनले भने, ‘त्यसैले अल्कोहलिकको समस्या बढ्दै गएको छ ।’ मादक पदार्थ र लागूऔषध दुबै नशालु बस्तु भएकाले यसको एउटै समस्या भएको रिह्याव सेन्टरमा कार्यरत धिरेन्द्र देउजा बताउँछन् । ‘यी सबै चिज नशाको लागि प्रयोग हुने हो’ उनले भने, ‘अहिले मादक पदार्थबाट नशा लिने समस्या विकराल बन्दैछ ।’
२०५९ सालयता झापामा मात्रै ६ वटा रिह्याव सेन्टर स्थापना भएका छन् । लाइफलाइन ग्रुप विर्तामोड, नयाँ आशा फाउण्डेशन, विसडम फाउण्डेशन दमक, रि–वर्थ फाउण्डेशन विर्तामोड, सनराइज फाउण्डेशन धुलाबारी अहिले सञ्चालनमा छन् । झापाकै दमकमा महिलाहरुकै लागि मात्र ह्याप्पी नेपाल नामको रिह्याव सेन्टर स्थापना भएको छ । झापामा भएको रिह्याव सेन्टरमा अत्यधिक मादक पदार्थ सेवन गरेर क्रोनिक भएकाहरु धेरै जना छन् । मेचीको पहाडी जिल्लाहरु इलाम, पाँचथर र ताप्लेजुङ्गमा रिह्याव सेन्टर छैनन् । तीन जिल्लाबाट धेरै जना झापामा रहेको रिह्याव सेन्टरमा जाने गरेको नयाँ आशा फाउण्डेशनका अध्यक्ष पनेरुले जानकारी दिए ।
नेपाल र भारतको अन्य ठाउँमा भएका रिह्याव सेन्टरमा जाने पनि निकै छन् । डाक्डर, इञ्जिनियर, सरकारी कर्मचारीहरु समेत रिह्याव सेन्टरमा पुग्छन् । कुलतका कारण धेरै शिक्षकहरु रिह्याव सेन्टरमा जाने गरेको सञ्चालक बताउँछन् । बालबालिकाहरु भने डेन्ड्राइड सुँघ्ने कुलतमा फस्दै छन् । झापामा स्थापना भएका रिह्याव सेन्टरले तीन महिना राखेर उपचार गराउने गरेका छन् । नयाँ आशा फाउण्डेशनले स्थापना देखि हालसम्म २१ सय जनाको उपचार गरिसकेको छ । त्यसमा धेरैजसो अल्कोहलिकको संख्या रहेको छ । ड्रग्स किन्न महङ्गो पर्ने र यसलाई कानुनी वन्देज लगाइएकाले प्रयोगकर्ता सीमित रहेको उनीहरु बताउँछन् । तर, मादक पदार्थ किन्न सस्तो पर्ने र जताततै  पाइने भएकाले धेरै सेवनकर्ताहरु क्रोनिक भइसकेको रिह्याव सेन्टर सञ्चालकहरु बताउँछन् । ‘ड्रग्सलाई एक डोजका लागि तीन÷चार हजार रुपैयाँ पर्छ’ रिह्याविटेसन सेन्टरमा काउन्सिलिङ्ग गर्दै आएका धिरेन्द्र देउजाले भने, ‘मादक पदार्थ पाँच रुपैंयाूको पनि पाइन्छ, सस्तोमा पाइने भएकाले धेरै र नियमित प्रयोग हुन्छ ।’
रिह्याव सेन्टरहरुले दैनिक ६ घण्टाको कक्षा लिन्छन् । योग लगायतका अन्य काममा ब्यस्त बनाउँछन्, परामर्श दिन्छन् र लागूऔषध तथा मादक पदार्थ सेवनकर्तालाई लतबाट छुटाउँछन् । रिह्याव सेन्टरबाट फर्किएर फेरि प्रयोग गर्नेहरुको समस्या बल्झिने रिह्याव सञ्चालक बताउँछन् ।

विद्यार्थीद्वारा क्याम्पस प्रशासनमा ताला

पथरी/सहायक क्याम्पस प्रमुख नियुक्तिको बिषयलाई लिएर मोरङको पथरीशनिश्चरे नगरपालिकामा स्थापित पथरी बहुमुखी क्याम्पस प्रशासनमा मंगलबार आठ विद्यार्थी संगठनले ताला लगाएका छन् ।
सञ्चालक समितिले बिद्यार्थी प्रतिनिधिलाई कुनै जानकारी नदिइ दुई जनालाई सहायक क्याम्पस प्रमुख बनाउने निर्णय प्रति आठ विद्यार्थी संगठनले बिरोध जनाउँदै आएको छ । 
 क्याम्पस सञ्चालक समितिले २०७१ जेठ ३१ गते चेतन पौडेल र शान्तिराम तिम्सिनालाई सहायक क्याम्पस प्रमुख नियुक्त गर्ने निर्णय गरेको थियो ।
विद्यार्थी प्रतिनिधिहरुलाई कुनै जानकारी नदिइ गरिएको भन्दै आठ विद्यार्थी संगठनको संयुक्त मोर्चाले क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाएर बिरोध जनाउँदै आएको थियो । आफूहरुको माग प्रति क्याम्पस प्रशासनले बेवास्ता गरेको भन्दै सोही मोर्चाले मंगलबार क्याम्पस प्रमुख अर्जुनकुमार बुढाथोकी लगायतका प्राध्यापकहरुलाई बाहिर निकालेर प्रशासनमा ताला लगाएको हो ।
विद्यार्थीहरुले आफ्नो प्रतिनिधि बिनै प्राध्यापकहरुको योग्यता र क्षमता भन्दा राजनीतिक भगबण्डा र नातावादलाई आधार मानेर नियुक्ति भएको आरोप लगाउँदै निर्णय खारेजीको माग गर्दै आएका छन् । सहायक क्याम्पस प्रमुख बनाउने निर्णय भएका प्राध्यापकहरु सञ्चालक समितिका केही पदाधिकारीहरुको नजिकका नातेदार रहेको प्रमाणित गर्न सकिने आन्दोलनरत विद्यार्थी संगठनका एक प्रतिनिधिले बताए । ताला लगाएपछि संयुक्त  विद्यार्थी मोर्चाले टाँसेको प्रेस विज्ञप्तिमा २०६८ कार्तिकमा भएको महापुराणको हिसाव सार्वजनिक गर्नुपर्ने, पूर्व घोषित स्नातकोत्तर तुरुन्त सञ्चालन गर्नुपर्ने, क्याम्पसको बार्षिक कार्ययोजना बनाउनुपर्ने र घोषित अक्षय कोष स्थापना गर्नुपर्ने माग गरेका छन् । महापुराण र क्याम्पसको जग्गा सट्टाभर्नामा ठूलो आर्थिक अनियमितता भएको हुनसक्ने विद्यार्थी प्रतिनिधिहरुको आशंका रहेको छ ।
क्याम्पस सञ्चालक समितिले ताला लागेको दुई दिनभित्र माग पुरा नगरे क्याम्पस प्रमुख अर्जुनकुमार बुढाथोकी र सञ्चालक समिति अध्यक्ष मोहन तुम्बापोको राजिनामा माग गर्ने र साउन ९ गतेदेखि क्याम्पस अनिश्चितकालिन बन्द गरिने चेतावनी दिइएको छ । क्याम्पस प्रमुख बुढाथोकीले भने विद्यार्थीहरुको माग पुरा गर्न सकिने बताएका छन् । सञ्चालक समितिको बैठक बसेर निर्णय गरिने बुढाथोकीले बताए ।
तालाबन्दी पछि टाँसिएको प्रेस बिज्ञप्तिमा लिम्बू विद्यार्थी मञ्चका अध्यक्ष हाङफारा लिम्बू, किरात राई विद्यार्थी संघका अध्यक्ष सरोज राई, संघीय विद्यार्थी युनियनका अध्यक्ष जीतु लिम्बू, एमाले अखिलका अध्यक्ष सरोज तिम्सिना, नेपाल विद्यार्थी संघका प्रतिनिधि गोपाल लिम्बूले हस्ताक्षर गरेका छन् ।

महिला पत्रकार समूह पूर्नगठन

बिर्तामोड/झापाको बिर्तामोडमा सम्पन्न महिला पत्रकारहरुको भेलाले क्रियाशिल महिला पत्रकार समूह पुनर्गठन गरेको छ ।
माया पकुवालको अध्यक्षतामा गठित समूहको उपाध्यक्षमा सुशिला संग्रौला, महासचिवमा इन्दु पूर्वेली, कोषाध्यक्षमा गंगा बराल रहेका छन् । समितिका सदस्यहरुमा रेजिना रोदन, अम्बिका भण्डारी, टिका लामिछाने, सुनिरा मैनाली र चन्दना बराल रहेकी छन् ।
महिला पत्रकारहरुको क्षमता अभिवृद्धि तथा बृहत्तरहितमा कार्य गर्ने लक्ष्यका साथ गठित समितिले आवश्यकता अनुसार सदस्यता बढाउँदै लैजाने बताइएको छ ।

पत्रकारलाई सभासदको चेतावनी

उर्लाबारी/मोरङ, क्षेत्र नं. ९ बाट संविधानसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका सभासद डिगबहादुर लिम्बुले पत्रकारको घर छेउको बाटो नबनाउने धम्की दिएका छन् ।
पाँच करोड रुपैयाँ विरुद्ध समाचार लेखेकोले पत्रकारको घर छेऊको बाटो नबनाउने उनको भनाई  छ ।  सभासद लिम्बुले आफ्नो बारेमा जे पनि लेख्न पत्रकारलाई चुनौती समेत दिए । मोरङको मधुमल्लामा मंगलवार  आयोजित बी.पी.स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै सभासद लिम्बुले पत्रकारलाई त्यस्तो धम्की दिएका हुन् ।
गत आर्थिक बर्षमा आफ्नो क्षेत्रमा विनियोजित १० लाख रुपैयाँ कहाँ–कहाँ खर्च भएको भन्ने बारेमा जानकारी लिने क्रममा सभासद लिम्बुले विकास निर्माणका लागि पाँच करोड रुपैयाँ माग गरिएको बताए ।  सोही कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति खड्ग फागोले जनताले चाहेको लोकतान्त्रिक संविधान बनाउन छाडेर सभासदहरु पाँच करोडमा अल्झिन नहुने सुझाव दिए ।  अहिलेको कार्यकर्ता नेताको दर्शन गर्न नभइ नेतालाई काम लगाउन चाहने स्पष्ट पार्दै क्षेत्रीय सभापति फागोले आफ्नै नेताले गल्ती गरेमा कार्यकर्ताले औँला ठड्याउने चेतावनी दिए ।
कांग्रेस मधुमल्ला गाउँ सभापति सेवन्त दाहालको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस महासमिति सदस्य शोभा चेम्जोङ्ग पालुङ्वाले पनि बोलेकी थिइन् ।

दाउराको मुल्य बढेपछि शरणार्थी समस्यामा

दमक/ दमकको बेलडाँगी स्थित हंसेदुम्से सामुदायिक वनले शव दहन गर्न उपल्वध गराउँदै आएको दाउराको मुल्य बढाए पछि  शरणार्थी समस्यामा परेका छन् । नेपाली मुलका भुटानीहरुको शव  जलाउन प्रयोग गरिने दाउराको मुल्य बढाएपछि उनीहरुलाई मर्का परेको हो । शब दहनका लागी उपलब्ध गराउँदै आएको दाउराको मुल्यमा ५० प्रतिशत वृद्धि गरेपछि शरणार्थी समस्यामा परेका हुन् ।
बेलडाँगी शीविरका सचिब सञ्चहाङ सुब्बाका अनुसार  एउटा शब दहनका लागी २ हजार रुपैँयामा उपलब्ध गराउने गरिएको दाउराको मुल्य यही साउनको १ गतेदेखि ३ हजार रुपैंया पु¥याइएको छ । ‘शरणार्थीले  यक्ति धेरै पैसा कसरी जुटाउने’ सुब्बाले मंगलवार सरोकारवाला दातृसंस्थाहरुको छलफलमा भने   ‘हामीलाई  बाँचुन्जेली  खान लाउन त समस्या छ  मरेपछि जलाउने दाउरामा पनि यस्तो  महङ्गो किन गरेको  हो ?’
 बनले आफ्ना उपभोक्तालाई पनि दाउराको मुल्य बढाएकोले शरणार्थीलाई पनि बढाउनु परेको समितीका अध्यक्ष हिमालय दाहालले जानकारी दिए । ‘उपभोक्तालाई प्रतिक्विन्टल २ सयबाट ३ सय र शरणार्थीलाई ५ सय बाट ७ सय ५० रुपैयाँ बनायौँ’ दाहालले  भने ‘महंगी बढेपछि त्यस अनुसार दाउराको मुल्य बढेको हो ।’ शरणार्थीले यसको बिरोधमा मंगलबार नै इलाका बन कार्यालय र दातृसंस्थाको ध्यान आकर्षित गराएका छन् ।

जल्पादेवी मन्दिर निर्माण

दमक/झापाको दमक १० स्थित ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान परिसरमा जल्पादेवी मन्दिर निर्माण भइरहेको छ ।
जल्पादेवी किर्तन मण्डली दमक १० ले मन्दिर निर्माण थालेको हो । १० लाख रुपैयाँको इस्टमेटमा निर्माण भइरहेको मन्दिर निर्माणमा अहिले सम्म ५ लाख रुपैयाँ खर्च भइसकेको निर्माण उपभोक्ता समितिका सचिव दुर्गाप्रसाद पौडेलले जानकारी दिए ।
तिहारमा देउसी भैलो र अन्य दाताको सहयोगमा निर्माण भइरहेको मन्दिर ६ महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको उनले  बताए ।

पुष्पलालको स्मृतिमा कार्यक्रम हुने

दमक/नेकपा एमालेले नेपाल कम्युनिष्ठ पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतिमा  दमकमा बुधवार आज  अन्तरक्रिया र बृक्षारोपण गर्ने भएको छ ।
एमाले क्षेत्रीय कमिटी क्षेत्र नम्वर ७ झापाले अन्तरकृया गर्ने भएको हो । यसै गरी एमाले वडा कमिटी दमक १४ले   रतुवाखोला धारमा बृक्षारोपण गर्ने भएको छ । २ सय बढी खयर, मसला सिरीस जातको बिरुवा रोप्ने कार्यक्रम रहेको एमाले नगर अध्यक्ष अम्विका खनालले जानकारी दिए ।

दार्जीलिङसँग छोटो हवाई सम्पर्क

दमक/भारतको चर्चित पर्यटकिय क्षेत्र दार्जीलिङ जिल्लासँग नेपालको सीधा हवाइ सम्पर्क कायम भएको छ । भारतको बजेट एयरलाइन्स स्पाइस जेटले पश्चिम बंगाल राज्यको उक्त जिल्लामा रहेको बागडोग्रा विमानस्थलबाट काठमाडौँ सीधा उडान गर्ने घोषणा गरेको छ ।
सो घोषणासँगै दार्जीलिङ क्षेत्रबाट काठमाडौँ आउन र काठमाडौँबाट सो जिल्लामा जाने यात्रु तथा पर्यटकलाई सहयोग पुग्ने भएको छ । सो विमानस्थलबाट कुनैपनि एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरेका छैनन् । बागडोग्रा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने स्पाइस जेट पहिलो विमानसेवा बन्दैछ ।

नागरिकता वितरणमा कमी

दमक/इलाका प्रशासन कार्यालय दमकले अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्षमा कम्ती नागरिकता वितरण गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०६९÷७० मा भन्दा आव २०७०/७१ मा कम नागरिकता वितरण भएको हो । अघिल्लो आर्थिक वर्षमा ५ हजार २ सय २८ र गएको आर्थिक वर्षमा ४ हजार ७ सय ५१ नयाँ नागरिकता जारी गरिएको कार्यालयका शाखा अधिकृत तिलोचन रिमालले जानकारी दिए । कुनै वर्ष जन्मदर कम र नागरिकको आवश्यकता  नहुँदा नागरिकता वितरण घटेको उनले  बताए । 
अघिल्लो आर्थिक बर्षमा १ हजार ४ सय ६९ वटा र गएको आर्थिक बर्षमा १ हजार ६ सय ९३ वटा नागरिकताको प्रतिलिपी दिइएको कार्यालयले जनाएको छ ।

शिक्षा नीति र देशको गति

निधिरत्न अधिकारी
 ‘जो गाउँको मुखिया उही बाटो ....’ भने जस्तो देशको गति ठीक भए पो शिक्षा नीति पनि देश र जनतालाई लाभ पुग्ने खालको हुन्छ । लगभग ६५ वर्ष बितिसक्यो, विशेष गरेर २५ वर्ष अगाडिदेखि निरंकुश, तानाशाही, सामन्तवादी व्यवस्थाले देशको विकास र नेपाली जनतालाई सुख दिन सकेन भन्ने क्रान्तिकारीहरू अहिलेसम्म च्याउ बराबर उम्रिएका छन् । सामन्तवादी उत्पादनले नेपाली जनताका आवश्यकता पूर्ति गर्न सक्दैन भनेर उत्पादनशील, वैज्ञानिक, सृजनशील शिक्षा लागू गर्ने, देशलाई छिट्टै विकासित नेपाल बनाउने भनेर नारा दिइयो । हो न हो सामन्तवादी, ढोंगी शिक्षाले पछि परेका नेपाली जनता पीडित नै थिए । त्यसैले क्रान्तिकारी पार्टी विचारको पछि लागे, रोजगारमूलक, वैज्ञानिक, सिर्जनशील, व्यवहारिक शिक्षा प्राप्त गर्दै देशलाई विकासको बाटोमा अगाडि बढाउने सपना बुन्दै सामन्तवाद, जहानियाँ राणा शासनको विरुद्धमा धावा बोले, सो विरुद्धमा जीवन बलिदानसम्म गरे नेपाली जनताले । तर आजसम्म उक्त बालिदानको उपलब्धी नेपाली धर्तीमा लागू भएको शिक्षा नीतिले नेपालको उन्नति होइन, अधोगतितिर धकेलिरहेको छ ।
नेपालको शिक्षा नीतिले अव्यवहारिक शिक्षित, बेरोजगार दिन दुई गुना, रात चौ गुनाको दरले जन्माइरहेको छ । तपाई हामी आफ्नो कमाईको ७५ प्रतिशत आफ्नो छोराछोरीको उज्ज्वल भविष्यको लागि खर्चिन्छौं, तर त्यसको प्रतिफल, नेपाली युवा–युवती रोजगारको रोजीरोटीको लागि विदेशी गल्लीमा भौतारिनु परिरहेको छ । यसको मूल कारण भनेको राज्य शिक्षाप्रति गैह्र जिम्मेवार भएर हो । यसरी राज्यको गैह्र जिम्मेवारीपनको कारणले गर्दा नेपालको शिक्षा अमुक ठेकेदारहरूको व्यापारमा परिणत भई नाफामुखी भयो । हाम्रै सामुन्ने हामीले देखिरहेका छौं कि प्रतिस्पर्धाको मार्केटमा स्कूल कलेजहरू खुलिरहेका छन् । यसरी राष्ट्र निर्माण गर्ने मूल आधार नागरिकले निःशुल्क समानताको आधारमा प्राप्त गर्न पाउनु पर्ने नैसर्गिक अधिकार, राष्ट्रिय, अन्तर्राष्ट्रिय मान्यता प्राप्त कुरा कसेको होलसेल र खुद्रा नाफा गर्ने व्यापार भएपछि यो राष्ट्रको गति र उत्पादित जनशक्तिको गन्तव्य कस्तो होला ?
यति गैह्र जिम्मेवारीपन राज्यले देखाउँदा देखाउँदै पनि नेपाली आमाका सन्तानहरू धेरै वैज्ञानिक, डाक्टर, इञ्जिनियर भए तर उनीहरूको संरक्षण, संवद्र्धन, व्यवस्थापन गरी उचित लगानी, सान्दर्भिक रोजगारको व्यवस्था गरी राज्यले रोक्न मनै गरेन । राष्ट्रको उन्नति र जनताको प्रगति गरेर मात्र सिङ्गो राष्ट्रको विकास हुन्छ भन्ने कुराको जानी–जानी बुझ पचाए । यो राज्य सञ्चालन गर्छौं भन्नेहरूले शिक्षा सिर्जनशील, उत्पादनशील, व्यवहारिक, वैज्ञानिक, मौलिकता गाँसिएको हुनुपर्छ । शिक्षा भनेको माटोमा जुन फल लगाउन उपयुक्त छ, सोही अनुसार बिउ रोप्न र फलाउन सक्षम ज्ञान भरिएको व्यवहारिक शिक्षाद्वारा प्रशस्त जनशक्ति तयार गर्नुपर्छ । तर हाम्रो शिक्षा नीति, अति अल्छे, अनुत्पादक, परजिवी, आसे सुगा रटाईवाला छ । कृषि प्रधान देश भनिन्छ, तर शिक्षा दिएर डिग्री गरेका जनशक्ति कृषिक्षेत्रमा काम गर्न घिनाउँछन्, लजाउँछन् । कृषि सम्बन्धी ज्ञान प्राप्त गर्ने विषय ऐच्छिक रुपमा राखिन्छ । नागरिकलाई निःशुल्क शिक्षा प्रदान गर्नु राज्यको दायित्व हो । तर, राज्य उक्त दायित्वबाट विमुख छ । तर पनि नेपाली जनताले आधा पेट खाएर व्यापारिक स्कूल, कलेज पढाउँछन्, जुन अति महङ्गो हुन्छ । त्यति गर्दा पनि उसले प्राप्त गरेको सफल सर्टिफिकेट अनुसारको रोजगारको व्यवस्था अहिलेसम्म राज्यले गर्न सकेको छैन । राज्य सञ्चालन गर्छौं भन्नेहरूको सधैं राजनीतिक झगडाको अन्त्य हुन सकेको छैन । देश र जनताप्रति कुनै सद्भाव, जिम्मेवारीपन देखिँदैन । यसरी राज्य सदियौंदेखि जनता र राष्ट्रप्रति गैह्र जिम्मेवार भएपछि कसरी राष्ट्रको सर्वाङ्गिण विकास सम्भव हुन सक्छ ? ‘कही नभएको जात्रा हाँडी गाउँमा’ भनेजस्तै नेपालमा सदियौंदेखि जनताको संविधान थिएन । नेपाली जनता आफ्ना आधारभूत आवश्यकता, मौलिक न्यूनतम अधिकार प्राप्तिबाट वञ्चित थिए । ०६४ सालमा संविधानसभाको निर्वाचन भयो । ४–५ वर्षमा पनि जनताको संविधान बनेन । फेरि दुनियाँमा नभएको दोस्रो संविधानसभाको निर्वाचन भयो । फेरि जनताको सामु भोट माग्न जाँदा अगाडिका गल्ती नदोहो¥याउने, जनताको संविधान बनाएर छोड्ने भनेका थिए । तर, अहिले संविधान लेख्ने त कता हो कता सबै पार्टीमा आन्तरिक झगडा, फेरि पनि पार्टी फुटको नजिक पुग्न लागेको दृश्य सबै पार्टीमा देखिन्छ । फेरि पनि जनतालाई भेडा, बाख्रा बनाएर आफू राज गर्ने प्रवृत्ति देखिँदै गएको देखिन्छ । सम्पूर्ण नेपालीको पहिचानभित्र रहेको सम्पन्नतामा राष्ट्र, राष्ट्रियता र आम नागरिकको जीवन बलियो रहन सक्छ । फोस्रो राष्ट्रियताको नाराले सीमित समूहको स्वार्थ पूर्ति होला । आमूल परिवर्तन हुन सक्दैन । भोको पेटले राष्ट्र र राष्ट्रियता बचाउन सकिँदैन, राष्ट्रमा समान सम्पन्नताले मात्र राष्ट्र बलियो बन्छ । त्यसैले राष्ट्र बलियो र सम्पन्न बनाउन राष्ट्रका मूल आधारहरू समान रुपले नागरिकको पहुँचसम्म पु¥याउन र राष्ट्रप्रति बफादार बन्न राज्यको गति निरन्तर अगाडि बढिरहनुपर्दछ ।
nidhiratna@hotmail.com

स्वदेशमा रोजगारी देउ - सम्पादकीय

बेरोजगारीको समस्या दिनानु दिन ठुलो चुनौतीको रुपमा देखिएको छ । बढ्दो वेरोजगारीका कारण मुलुकको समग्र अवस्था नै प्रभावित बन्दै गएको छ । राजनीतिक रुपमा देशले काचुली फेरिए पनि आर्थिक ,रोजगारी तथा सामाजिक सुरक्षाका हिसावले राज्य रुपान्तरित हुन सकेको छैन् । बेरोजगारी समस्याका कारण सयौ दक्ष जनशक्तिहरु धमाधम विदेशिनु पर्ने अवस्थाको अन्त्य हुन सकिरहेको छैन् । अहिले पनि सयौका संख्यामा युवाहरु रोजगारीका लागि विदेशिनु बाध्यता बन्दै गएको छ । यस्तो कहाली लाग्दो अवस्थालाई तोडन देशल े अझै फड्को मार्न नसक्नु चिन्ताको विषय पनि हो ।
प्रत्येक मानिसले आफ्नो पेटपालो गर्न केहि न केहि आर्जन गर्नैपर्छ । उमेरले डाँडो काटेका मानिसहरु स्वभावैले आफ्ना सन्ततीको आश्रयमा वाँच्नु पर्ने वाध्यता छ । बृद्घबृद्धाकालागि जीविका चलाउने आधार भनेको  हामा्रे मुलुकमा सन्ततीले दिएको आढ भरोसामात्र हो । आफ्नो स्थायी सम्पत्तीको केहि अंश आफ्नै नाममा राखेपनि त्यसको सदुपयोग गर्ने क्षमता बृद्ध मानिसमा नहुनाले त्यसतो सम्पत्ती कित आफ्नै सन्तान कित नातेदारहरुले उपभोग गर्छन र बुढाबुढीको भने उपेक्षा गरेका कैयन उदाहरणहरु छन ।
कृषिमा आधुनिकीकरण नभएको र देश औद्योगिक बाटोमापनि नलागेको कारणले मरिमेटेर शारीरिक परिश्रम गर्ने ब्यक्तिले पनि भरपेट खाएर गुजारा गर्ने अवस्था छैन । यस प्रस·मा शिक्षा क्षेत्रले स्वरोजगार मूलक ज्ञान दिन नसकेकोले शिक्षित समुहपनि बेरोजगार रहेको कुरा कोट्याउनै पर्ने हुन्छ । शिक्षाकोलागि जनता कम्तिमा पनि आर्जनको चालिस प्रतिसत खर्च गर्छन र त्यस ज्ञानवाट कुनै आयमूलक ब्यवसाय चलाउन सक्तैनन । ब्यवसाय चलाउने आन्तरिक र वातावरणीय परिस्थितिनै छैन । त्यसैले विवश भएर कैयन शिक्षित नेपालीहरुपनि वैदेशिक रोजगारमा होमिने गरेका छन । तीमध्ये थोरैलेमात्र सफलता पाएका छन । हजारौंको ज्यान जाने गरेको छ । कुनै एउटा सरकारी पदकोलागि विज्ञापन ठुलो संख्यामा दर्खास्त पर्ने गरेको कैयौ उदाहरण छदै छन् । यस्तो अवस्था देशमा निम्तनु सवैका लागि लाजमर्दो विषय नै हो ।
गा्रमिण भेकमा जवरजस्त कृषि ब्यवसाय सञ्चालन गरेमा यातायातको असुविधाले वेचविखन गर्न सकिन्न । देशमा जताततै कहाली लाग्दो वेरोजगारीको कालो विम्व छ । विद्यार्थी भिजामा यूरोप पसेका कैयन नेपाली भने पढेदै कमाउदै गर्छन र फर्कदा धन लिएर आउछन । यहाँपनि उनीहरु कहिनकहि रोजगारीमा सक्षम देखिन्छन । कति फरक छ यूरोपीय र नेपाली शिक्षा एवं रोजगारीको स्थितिमा । वालक र बृद्धाहरु पराश्रयी हुन । यिनीहरु कुनै पेशा गर्न असक्षम रहन्छन । यस वर्गका सम्पूर्ण जैविक आवश्यकता पूरा गर्ने जिम्मा युवा पिंडीमा निहित हुन्छ । ब्यक्तिगत, पारिवारिक र सामाजिकमात्र होइन देशकै विगत स्थितीमा टेकेर वर्तमान एवं आगतलाई युवा पिंडीले हाँक्नुपर्ने अवस्थामा छ । जतिसक्दो युवालाई क्रियाशील बनाउन सक्यो त्यतिनै देशको उन्नती हुने निश्चित छ । नेपालमा भने यसक्षेत्रमा कमै चासो गरिन्छ र भए गरेका पहलहरुपनि न्यून र प्रभावहीन देखिन्छन ।
सबै बेरोजगार युवालाई कृयाशील बनाउन राज्यले पहल गर्नुृपर्ने देखिन्छ । देशको सम्पत्तीलाई उर्जाशील बनाउन राज्यको सम्बद्ध निकायको ध्यान जानुपर्छ । हालै मात्र सरकारले यो वर्षको बजेट सार्वजनिक गरेको छ । युवा शक्तिलाई राज्यकै अधिनमा राखेर अनेकौ अवसरको सृजना गर्न अहिलेका मुख्य चुनौती पनि हो । देशमा रोजगारीको भरपर्दो अवसर , शुनिश्चिता सहितका दुरगामी योजना ल्याएर बढ्दो बेरोजगारी समस्या सुल्झाउन लाग्नु पर्छ । बजेटले युवा लक्षित बिभिन्न योजना ल्याउने प्रयास भएका छन् । तर बजेटमा उल्लेख भएर मात्र कुनै पनि दुरगामी योजनाले मूर्त रुप लिन सक्दैन् । त्यसका लागि राजनीतिक दल तथा सरोकारवाला पक्षहरु गंभीर भएर अगाडी बढ्नु पर्छ ।