उच्च मावि बनाउन सहयोग जुट्दै

६ दिनमा १० लाख, १ बिगाहा जग्गा
माहाभारा, वैशाख १७/ गाविसमा नै पहिलो उच्च मा.वि. सञ्चालन गर्न आवश्यक सहयोग रकम जुटाउने उद्देश्यले माहाभारामा सञ्चालित महापुराणमा  १ बिगाहा बढी जग्गा र नगद १० लाख रुपैयाँ सहयोग जुटेको छ ।
वडा नम्बर ३ कुञ्जिबारीस्थित बालकल्याण माविमा उच्च माध्यमिक तहको पठन पाठन सञ्चालन गर्ने उद्देश्यले ६ दिन अघिदेखि सञ्चालित श्रीमद भागवत ज्ञान महायज्ञमा दाताहरुले सो सहयोग प्रदान गरेका हुन् । जग्गा प्रदानको घोषणा गर्नेहरुमा माहाभारा–४  का श्रीप्रसाद राजवंशी, अघोरी राजवंशी र कोरोबारीका श्रीमप्रसाद न्यौपाने रहेका छन् । राजवंशीद्वयले क्रमश १४ कठ्ठा साढे १७ धुर र २ कठ्ठा तथा न्यौपानेले कोरोबारी–४ मा पर्ने ५ कठ्ठा जग्गा प्रदान गर्ने घोषणा गरेका विद्यालयका सह–प्रधानाध्यापक तथा आर्थिक संकलन समितिका संयोजक भोलाप्रसाद खतिवडाले जानकारी दिए ।
सो अवसरमा सुरुङ्गाका व्यवसायी टिका तिम्सिनाले समेत ५१ हजार रुपैयाँ नगद हस्तान्तरण गरेका खतिवडाले बताए । त्यस्तै सोही विद्यालयका भूपू विद्यार्थी स्व. विजय कोइराला (पुण्य) को स्मृतिमा उनको परिवारले १ लाख १ रुपैयाँ बराबरको पुण्य स्मृति अक्षयकोष खडा
गर्ने घोषणा गरेका छन् ।
उनका दाजु विष्णु कोइरालाले महायज्ञमा सो घोषणा गरेका हुन् । कोषबाट प्राप्त ब्याज रकम सोही विद्यालयमा अध्ययनरत आर्थिक रुपमा कमजोर परिवारका विद्यार्थीहरुलाई प्रदान गर्ने बताइएको छ ।
नेपाल विकास कोषको सहयोगमा सञ्चालित सो महापुराणमा आचार्य पण्डित सुदर्शन ढुंगेलले कथा वाचन गरिरहेका छन् ।

0 प्रतिकृया:

Post a Comment