खोटाङमा भेटियो रेडपाण्डा

खोटाङ, ९ जेठ/खोटाङको फेदी, चिउरीडाँडा, निर्मलीडाँडा र पाथेका गाविसमा लोपोन्मुख बन्यजन्तु रेडपाण्डा भेटिएको छ । फेदीको ४ वटा,  चिउरीडाँडा, निर्मलीडाँडा र पाथेकाको एक÷एक वटा सामुदायिक वन समूहमा रेडपाण्डा भेटिएको हो ।
झट्ट हेर्दा कुकुरजस्तै देखिने, जंगलमा प्रायः एक्लै हिँडडुल गर्ने, रातो शरीर र सेतोमुख भएको रेडपाण्डा मालिङ्गो जातको वनस्पति पाईने जंगलमा भेटिने गरेको फेदीस्थित स्थानीय फुङगालुङ सामुदायिक वन समूहका अध्यक्ष ज्ञानकुमार राईले बताए । मालिङगोको टुसा र पात खाने ५ किलो तौल बराबरको रेडपाण्डा मान्छेसँग पनि आर्कषित हुने गरेको स्थानीयबासीको भनाई छ ।
अन्य जंगली जनावर र मान्छेसँग नडराउने रेडपाण्डालाई अन्य मांसाहारी जनावरले शिकार गर्ने भएकाले अस्तित्व संकटमा परेको चिउरीडाँडामा रहेको सिस्नेहर्कटे सामुदायिक वनका अध्यक्ष कृष्णबहादुर खत्रीले बताए । जंगलमा घाँसदाउरा गएको बेलामा रेडपाण्डा भेटिने स्थानीय बासिन्दा बताउँछन् ।
मकालु र सगरमाथा राष्ट्रिय निकुञ्जको श्रृङ्खलासँग जोडिएको फेदीको बगाले, चिलिम लाहुरे, फुङगालुङ र छिमालुङ सामुदायिक वनमा करिब दुई दर्जनको संख्यामा रेडपाण्डा रहेको स्थानीय बासिन्दाको अनुमान छ । चिउरीडाँडा, निर्मलीडाँडा र पाथेकाका सामुदायिक वनमा बच्चासहितका रेडपाण्डा भेटिएको छ । तर यसको आधिकारिक पुष्टी भने हुन बाँकी छ । 
यसअघि, सामुदायिक वनमा पाईने रेडपाण्डाको पहिचान भएपछि फेदीका स्थानीयबासीले यसको संरक्षण गर्न जंगलक्षेत्रमा रेडपाण्डाको फोटोसहितको होर्डिङबोर्ड समेत राखेका थिए । फोटोमा देखिएको रेडपाण्डासंग आफ्नो जंगलमा पाईने जनावरको अनुहार मिलेपछि स्थानीय बासिन्दाले रेडपाण्डाको पहिचान गरेका थिए ।

0 प्रतिकृया:

Post a Comment