ढुसी के हो ?

नेपाली शब्दसागरमा ढुसी शब्दको अर्थ ओस वा चीसो लागेर चीजबीज सड्दा झुस्स उम्रने वा ढुस्स फुलेको देखिने सेतो खालको भुवा वा झुस, ढुँडी भनेर उल्लेख गरिएको छ । आखिर के हो त ढुसी ? ढुसी फन्जाइजगतमा पर्छ, जसमा पीठो जस्तो देखिने पीठो ढुसी, च्याउ, बोटबिरुवामा पर्ने ढुसी, यिष्टलगायत एक लाख भन्दा बढी प्रजाति पर्छन् । अहिलेसम्म थाहा लागे अनुसार लगभग १०० प्रकारका फन्जाइले मात्र मानिस र जनावरलाई बिरामी बनाउँछन् ।
कसरी बन्छ ढुसी ?
ढुसीको जीवनचक्र सूक्ष्म बीजाणुबाट शुरू हुन्छ । यी बीजाणु हावामा तैरिंदै एक ठाउँबाट अर्काे ठाउँमा पुग्छन् र खानेकुरा, तापक्रम, आद्र्रता जस्ता कुरा अनुकूल छ भने तुरुन्त अंकुराउँछन् आगोजस्तो देखिने यी टुसालाई च्याउबरेसा (हाइफा) भनिन्छ । धेरै च्याउबरेसा मिलेर मसिनो भुवाजस्तो देखिने च्याउबजाल (भाइमेलियम) बन्छ । यही च्याउबजाल नै नांगो आँखाले पनि देख्न सकिने ढुसी हो । पाउरोटीमा पर्ने ढुसीलाई रिजोपस स्टोलोनिफर भनिन्छ । पाउरोटीमा देखिने स–साना काला धब्बा वास्तवमा ढुसीका बीजाणु थैली (स्पोरान्जिया) हुन् । अनौठो त एउटा मात्र धब्बामा ५० हजार भन्दा बढी बीजाणु रहेका हुन्छन् । अनि केही दिनभित्रै एउटा बीजाणुले करोडौं नयाँ बीजाणु उत्पादन गर्न सक्षम हुन्छन् । जंगलको काठ÷मुढामा सजिलै ढुसी पलाएझैं वातावरण अनुकूल भएका किताब, जुत्ता, भित्ता जहाँसुकै खुसी पलाइहाल्छ ।

ढुसी र मानव जीवन
वैज्ञानिक अलेक्जेन्डर फ्लेमिङले सन् १९२८ मा हरियो ढुसीमा कीटाणुनाशक शक्ति हुँदोरहेछ भन्ने कुरा पत्ता लगाए पछि “पेन्सिलियम नोटाटम” नाउँ दिइएको यो ढुसी मानिस र जनावरका लागि वरदान सावित भयो । किनकि यो अनुसन्धानको परिणाम स्वरूप पेन्सिलिनको जन्म भयो जसलाई वर्तमान युगमा सबैभन्दा धेरै जीवन बचाउन सफल औषधी भन्ने नाम दिइएको छ । यस खोजको लागि फ्लेमिङ र तिनका सहकर्मी होवार्ड फ्लोरे र अर्नस्ट चेनलाई सन् १९४५ मा चिकित्साशास्त्रका लागि नोवेल पुरस्कार प्रदान गरियो । त्यस बेलादेखि आजसम्म, ढुसीको उपयोग गरेर अरु पनि थुप्रै औषधी तयार पारिएका छन् । जस्तै, रगत जम्ने, माइग्रेन र पार्किन्सन्स रोगका औषधी ।
ढुसी र खानेकुरा
ढुसीका कारण हामीले आफ्नो जिब्रो पड्काउन पनि पाएका छौं । विशेषगरी हामीले खाने विभिन्न थरिका चीजको आ–आफ्नै खालको स्वाद हुनुमा “पेन्सिलियम” नामक ढुसीका विभिन्न प्रजातिको हात छ भन्ने कुरा के तपाईंलाई थाहा थियो ? त्यसैगरी, ढुसी नहुँदो हो त हामीले सलामी अनि सोयासस चाख्नै पाउँदैनथ्यौ । अनि चिसो बियरको मीठो चुस्की । वाइन पनि त्यहि हो । कुनै खास प्रजातिको अङ्गुरमा ठिक्क मात्रामा ढुसी पलाएपछि टिपेर त्यसबाट मीठो वाइन बनाइन्छ । “बोट्राटिस सिनेरा” नामको ढुसीले अंकुरमा गुलियोपनको मात्रा बढाइदिन्छ र वाइनलाई स्वादिलो बनाउँछ । छिप्पाएर राखिएको वाइनलाई स्वादको पराकाष्ठमा पु¥याउने काम पनि “क्लाडोस्पोरियम सिल्लार” ढुसीले गर्छ । हाम्रो नेवारी समाजमा बनाइने भात पकाएर १५÷२० दिन छिप्पाएर राखेर बनाइने जाँड (छ्याङ्ग) पनि एक प्रकारको ढुसीको कारण बन्छ ।
ढुसी र मानव स्वास्थ्य
केही वैगुणी ढुसीले लामो इतिहास बोकेका छन् । ईशापूर्व छैटौं शताब्दीमा अश्शुरीले आफ्ना शत्रुको इनारको पानीलाई विषालु बनाउन “क्लाभिसेप्स पुर्पुरेआ” नामक ढुसी प्रयोग गर्थे । यसलाई प्राचीन जैविक हतियार भन्दा पनि फरक पर्दैन । सन् ५०० देखि १,५०० सम्मको अवधिमा गहुँको एक प्रजातिमा ढुसीले गर्दा थुप्रै मानिसलाई छारे रोग, शरीर भतभती पोल्ने, शरीरको मासु कुहिने र मानसिक शक्ति गुमाउने रोगले सताएको थियो ।
क्यान्सर गराउने सबैभन्दा खतरनाक तत्व एफ्लाटाक्सिन हो तर यसको जननी पनि ढुसी नै हो एक अध्ययनअनुसार एसियाली मुलुकमा एफ्लाटाक्सिनको कारण वर्षेनी ५० हजारको मृत्यु हुने गर्दछ । दम जस्ता फोक्सोसम्बन्धी रोग हुने, एजर्जी भएका, रसायन प्रति तुरुन्तै प्रतिक्रिया देखाइहाल्ने, रोग प्रतिरोधात्मक क्षमता कम भएका अनि एकैचोटी धेरै ढुसीको सम्पर्कमा आउने कृषकलाई भने यसले नराम्रो असर गर्न सक्छ । बालक र बूढाबूढीलाई पनि ढुसीले सजिलै असर गर्न सक्छ । अमेरिकाको क्यालिफोर्नियास्थित स्वास्थ्य सेवा विभागका अनुसार ढुसीले गर्दा छाती घ्यार–घ्यार हुने, सास फेर्न गाह्रो देखिने, नाक बन्द हुने र पिनासले सताउने, आँखा पोल्ने, सुख्खा खोकी लाग्ने, नाक र घाँटी पोल्ने, छालामा डाबर देखिने वा चिलाउने आदी लक्षण देखिन सक्ने बताएका छन् ।

0 प्रतिकृया:

Post a Comment