लगातारको बन्दले मजदुर मर्कामा

सरोज बस्नेत
उर्लाबारी, ९ जेठ/ संबिधान सभाको म्याद नजिकिदै जाँदा लगातारको बन्द, हड्तालको कारण दैनिक रोजगारी गरी जिविकोपार्जन गर्ने मजदुरहरुलाई कठिनाई उत्पन्न हुन थालेको छ ।
पछिल्लो समयमा जातीय पहिचानसहितको संघीयताको माग गर्दै नेपाल आदिबासी जनजाति महासंघको आह्वान गरेका बन्द र विगत दुई साता यता निरन्तर बिभिन्न समूह र संगठनले गरिरहेको बन्द, हड्तालको  कारण मजदुरलाई जिविकोपार्जनमा कठिनाई हुन थालेको हो । खस क्षेत्री एकता समाज, मधेसी मोर्चा, बाह्मण समाज, लिम्बुवान, थारुहाट, खस बाह्मण, खस क्षेत्री, दशनामी, दलित लगायत संयुक्त मोर्चाले बन्द,  हड्ताल गरिसकेका छन् भने अन्य केही संगठनहरु पालो पर्खिरहेका छन् । जेठ १४ नजिकिदै जाँदा बन्द गर्ने प्रतिस्पर्धा नै चलेको कारण मजदुरी गर्ने बातावरण नभएको मजदुरहरु बताउँछन् ।
बन्दको कारण उनीहरुको दैनिक रोजीरोटीमा समेत प्रभाव परेको छ । बन्दको कारण रिक्सा चलाउन छोडेर ढुङ्गा बोक्ने काममा लागेको मजदुर रत्न नेपाली बताउँछन् । दिनहँु हुने बन्दको कारण जिबिकोपार्जनमा समस्या भएको उनले बताए । त्यस्तै आइतबहादुर धिमालको कथा पनि उस्तै छ । बन्दको कारण मजदुरी गर्न छोडेर पाहुना लाग्न  गएको उनले बताए । बन्दको कारण जिविकोपार्जनमा समस्या भएको उनको कथन छ । उनीहरुको मात्र नभई अधिकाश मजदुरहरुको समस्या उस्तै रहेको छ ।
लगातारको बन्द, हड्तालको विकल्प खोज्न उनीहरुले माग समेत गरेका छन् । रिक्सा मजदुर शंखर राजवंशीले आफ्ना अधिकार सूनिश्चित गर्न आवश्यक रहेको बताउँछन् । उनी थप्दै भन्छन् ः बन्दको कारण  जिविकोपार्जनमा एकदमै समस्या भएको छ । सरकारको कमजोरीका कारण मजदुरहरु समस्यामा परेको उनको बुझाई रहेको छ । बन्द, हड्तालको कारण श्रमजिविहरु मर्कामा परेका छन् ।  अझै लामो समयसम्म बन्द , हड्ताल  रही रहने हो भने भोकभोकै बस्नुपर्ने अवस्था सिर्जना हुने भएकाले यसप्रति सरकार गम्भिर हुनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।
बन्दका कारण  सरकारी कार्यालयका साथै शिक्षण संस्था, उद्योेग कलकारखाना, सवारीका साधन चलेका छैनन्  ।

0 प्रतिकृया:

Post a Comment