दाहसंस्कार स्थल व्यवस्थित बनाइँदै

उर्लाबारी, ९ जेठ/मोरङको  उर्लाबारीमा ब्यवस्थित दाहसंस्कार स्थल निर्माण गर्न स्थानीय एक जुट भएर लागि परेका छन् ।
उर्लाबारी–१ स्थित बक्राहा खोलामा घाट निर्माण गर्न सबै एक जुट भएर लागि परेका हुन्  । गत बैसाख २५ गतेबाट निर्माण थालिएको सो घाटको निर्माण कार्य मध्यम अवस्थामा पुगेको उपभोक्ता समितिका अध्यक्ष गंगाप्रसाद खरेलले बताए । तारजाली खरिद गरेर स्थानीयबासीको श्रमदान र आर्थिक सहयोगमा निर्माण कार्य भइरहेको उनले जानकारी दिएका छन् । स्थानीयबासीबाट अहिलेसम्म १० लाख बराबरको बचनदान प्राप्त भएपनि नगद ५ लाख भन्दा बढी सङ्कलन भएको र सङ्कलन हुने कार्य जारी रहेको उनले बताएका छन्  ।
तत्कालको लागि घाटको वरिपरी तारजाली लगाउने, माटो भर्ने, दुई वटा स्पोर बनाउने र तीन वटा शवदहन गर्ने स्थल निर्माण गर्ने लक्ष्यको साथमा काम भईरहेको समितिका कोषाध्यक्ष प्रमोद निरौलाले जानकारी दिए । पूर्वाञ्चल सिँचाई डिभिजन कार्यालय इनरुवाका इन्जिनियरको प्राविधिक डिजाइनको आधारमा उक्त निर्माण कार्य भइरहेको समितिका सदस्य प्रलाद थापाले बताएका छन् । करिब २० लाखको लागतमा निर्माण कार्य सम्पन्न गर्ने योजनालाई हालसम्म सरकारी निकायबाट भने सहयोग प्राप्त हुनसकेको छैन ।
जिल्ला बिकास समिति मोरङ, नगरपालिका उर्लाबारी, जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय बिराटनगर, जिल्ला प्रशासन कार्यालय बिराटनगर लगायतमा सहयोग माग गरेपनि प्राप्त नभएको समितिले जनाएको छ । मृत्युपछिको अन्तिम स्थान भएकाले  पनि स्थानीयवासी स्वतस्फुर्त रुपमा श्रमदान र आर्थिक सहयोग गर्न जुट्ने गरेका छन् ।
यसैगरी घाट निर्माण गर्नको लागि ब्राह्मण समाज नेपाल उर्लाबारीको आह्वानमा झण्डै २ सय स्थानीयबासीले श्रमदान गरेका छन् । ब्राह्मण समाजका उर्लाबारी अध्यक्ष प्रमोद निरौलाको अगुवाईमा उर्लाबारी क्याम्पस प्रमुख डाक्टर गोपाल भण्डारी सहितका समाजसेवी, कर्मचारी लगायतले  श्रमदान गरेका थिए ।
उर्लाबारीस्थित बक्राहा खोला पुल उत्तरको पूर्वी किनारामा निर्माण शुरु गरिएको घाटका लागि उनीहरुले ढुंगा बोकेर जाली भर्ने काम गरेका  थिए । त्यसैगरी नेकपा एमाले निकट युवा संघ नेपालको मोरङ ९ नम्बर क्षेत्रीय समितिले पनि श्रमदान गर्ने भएको छ । खोलालाई पश्चिम तर्फ फर्काई त्यहाँ सिँढीसहितको ढिस्को उठाएर त्यसको अघिल्तिर खोला किनारमा ३ वटा शवदहनस्थल निर्माण गरिने जनाइएको छ ।
करिब २५ लाखको लागतमा घाट निर्माण गरिने समितिको योजना छ । स्थानीयले १० लाख रुपैयाँ बचनदान दिएकामध्ये ४ लाख रुपैयाँ प्राप्त भएको निर्माण समितिले जनाएको छ । त्यस्तै, झापाको सुरुङ्गा ४ स्थित कन्काई पुलको पूर्वी किनारामा ५० करोडको लागतमा घाट निर्माण कार्य थालिएको निर्माण समिति अध्यक्ष प्रभाकर कडरियाले जनाए ।

0 प्रतिकृया:

Post a Comment