प्रमद्वारा सुरक्षा संयन्त्रलाई निर्देशन

काठमाण्डौ, ९ जेठ/प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुरक्षा संयन्त्रहरुलाई उच्च सतर्कताका साथ काम गर्न निर्देशन दिएका छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा प्रधानमन्त्री डा. भट्टराईले जेठ १४ वरिपरी हुनसक्ने सम्भावित अप्रिय घटनाहरु रोक्नका लागि उच्च सतर्कता र संयमताका साथ काम गर्न निर्देशन दिएका हुन् । जेठ १४ वरिपरी विभिन्न मागराखी आन्दोलन चर्काउन खोज्नु स्वभाविक भएको भन्दै प्रधानमन्त्रीले यसलाई राजनीतिक रुपमै हल गरिने भए पनि सुरक्षा निकायहरु सतर्क रहनुपर्ने बताए ।
उनले यतिबेला सुरक्षा शक्तिहरुले निष्पक्ष रुपमा आफ्नो दायित्व पूरा गर्नुपर्ने बैठकमा बताए । प्रधानमन्त्रीले सुरक्षा निकायलाई आफ्नो कर्तव्य दृढतापूर्वक पालना गर्न निर्देशन दिए । कसैले आन्दोलमा तोडफोड गर्ने र अराजक गतिविधि गर्ने काम गर्छन् भने त्यसलाई कडाई पूर्वक रोक्न पनि उनले निर्देशन दिए ।  प्रेस, मानवअधिकारकर्मी, कुटनीतिक नियोग माथि तोडफोड हिंसा गर्छ भने त्यसलाई गम्भीरतापूर्वक लिएर रोक्न र कारवाही गर्न उनले निर्देशन दिए ।
सुरक्षाकर्मीलाई उच्च मनोवलका साथ काम गर्न निर्देशन दिँदै प्रधानमन्त्रीले त्यसको तयारी र संरक्षण सरकारले गर्ने स्पष्ट पारे । बैठकमा गृहमन्त्री, मुख्य सचिव, गृह सचिव, रक्षा सचिव, नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुख र नेपाली सेनाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

0 प्रतिकृया:

Post a Comment