नेपाल विपत्तिमा
परेको अवस्थामा अन्य देशहरुले आआफ्ना इच्छाले लगातार सहयोग पुर्याइरहेका
छन् । अझ त्यसमा पनि भारत, बंगलादेश त झन छिमेकी देश नै भए । उनीहरुले
स्थलमार्ग हुँदै सहयोग ल्याइरहेका छन् । तर त्यस्ता राहत सामग्री १५ औं
दिनसम्म गोदाममा थन्किनु चाँही राहत दिनेका लागि पनि नराम्रो खवर हुन्छ ।
बंगलादेश
सरकारले राहत स्वरुप गत वैशाख २४ गतेदेखि उपलब्ध गराएको चामल झापाको
काँकडभिट्टाको गोदाममा थन्किएर बस्यो । आपूर्ति मन्त्रालयले ढुवानीको
प्रक्रिया मिलाउन ढिलो गरेका कारण तत्कालको छाक टार्ने राहतका लागि पठाएको
चामल १५ दिन गोदाममा थन्किएर बस्नु ज्यादै नराम्रो कुरा हो । अन्यखाले
सामग्रीको ढुवानीमा प्रक्रिया पुर्याउँने कुरा त छँदैछ, तर यस्ता आपतकालिन
सहयोगका खाद्य वस्तुका लागि छिटो र छरितो अनुमतिको विधि अपनाउनबाट नेपाल
सरकार चुकेको छ ।
आपूर्ति सम्बन्धि सरकारी प्रक्रिया थाल्दै यताबाट
केही मात्रामा ढुवानीको काम पनि गरिएको झापाका प्रमुख जिल्ला अधिकारी
तेजप्रसाद पौडेलले जवाफ दिनु भएको छ । भनेको समयमा धेरैवटा ढुवानीका साधन
समेत नपाइएकाले ढुवानीमा केही समस्या भएपनि चामल आएपछि थोरै मात्रामा भएपनि
ढुवानी थालिएको उहाँको दावी छ । पछिल्ला ३ दिनयता चामल ढुवानीमा केही
सक्रियता अपनाइएको छ । थोरै थोरै भएपनि ढुवानी भएको छ । राहतका लागि भनेर
बंगलादेशले पठाएको करिव १० हजार मेट्रिक टन उसिना वैशाख २४ गते पहिलो पल्ट
काँकरभिट्टा हुँदै बंगलादेशबाट ३ हजार मेट्रिक चामल नेपाल भित्रिएको थियो ।
त्यसपछि क्रमशः मंगलबारसम्म बंगलादेशले राहत स्वरुप उपलब्ध गराउने भनेको
१० हजार मेट्रिक टन चामल सबै आइसकेको छ ।
वर्षायाम सुरु भइसकेकाले
बंगलादेशले दिएको चामल भूकम्प प्रभावित क्षेत्रमा अविलम्ब पुर्याउनु पर्ने
खाद्य क्वारेन्टाइन प्रयोगशाला काँकरभिट्टाका प्राविधिकहरुले बताएका छन् ।
हालसम्म गुणस्तरमा समस्या नदेखिएपनि अझै केही समय रहने हो भनें गुणस्तरमा
समस्या आउने उनीहरुले बताएका छन् । सरकारले आफुले पीडितहरुलाई राम्ररी राहत
उपलब्ध गराउन नसकेको अवस्थामा छिमेकीले दिएको राहत पनि बेलैमा पुर्याउने
वन्दोवस्त गर्न नसक्नु लाजमर्दाे विषय हो । सरकार यस्ता कुरामा सचेत बनेर
आपूर्तिमा सहजता अपनाउनु पर्छ ।