निर्वाचनका लागि पहाड र मधेषमा बुथ राखिने

दमक । झापा, इलाम र पाँचथरको पश्चिमी क्षेत्रका लागि ठूलो चासोको विषय बनेको दमक चिसोपानी रवि सडक उपभोक्ता समितिको निर्वाचनका लागि पहाड र तराईमा गरी २ ठाउँमा बुँथ राखेर जेठ १५ र १६ गते निर्वाचन सम्पन्न गर्ने सहमति भएको छ । लामो समयको विवादपछि निर्वाचनको मिति तय गरेको दमक रवि सडक उपभोक्ता समितिको सचिवालयमा पहाडी क्षेत्रको एक समूहले ताला लगाएपछि शुक्रबार भएको वार्तामा सो सहमति भएको हो । निर्वाचन सम्बन्धि विषयलाई लिएर संघीय समाजवादी पार्टीका केन्द्रीय सदस्य लोकसाँगर साम्बाको अगुवाईको पहाडवासीको टोलीले शुक्रबार दमकस्थित मारवाडी सेवा समितिमा रहेको सचिवालयमा तालाबन्दी गरेको थियो । पहाडी क्षेत्रका लागि उपेक्षा गरिएकाले पहाडी क्षेत्रका ६० प्रतिशत मानिसलाई अव बन्ने नयाँ समितिमा सहभागि गराउनु पर्ने भन्ने मागमा भनें दलका प्रतिनिधिहरु बसेर छलफल गर्ने निर्णय भएको निर्वाचन समितिका संयोजक विश्वदिप लिङ्देनले जनाए । सहमति अनुसार जेठ १५ मा पहाडी क्षेत्रको खलङ्गे स्कुल र १६ गते तराई क्षेत्रको रेडक्रस भवन दमकमा निर्वाचन हुने भएको छ ।
सदस्यता बनाउँदा पनि पहाडी क्षेत्रका कतिपय खाँट्टी उपभोक्तालाई नसमेटी तराईका गैर उपभोक्तालाई समेटेर विकट क्षेत्रका मानिसहरुमाथि खेलवाड गरेको भन्दै सो समूहले शुक्रबार विज्ञप्तिमार्फत विरोध जनाएको थियो । तालाबन्दी र त्यसपछिको वार्ताको व्यस्तताका कारण शुक्रबारका लागि तय भएको उम्मेदवारको मनानयन कार्यक्रम प्रभावित भएको छ । आइतबार उम्मेदवारको मनोनयन दर्ता गर्ने निर्णय भएको छ । निर्वाचन समितिले टाँस गरेको सूचनामा उपभोक्ता सदस्यको संख्या १ हजार १ सय ३ रहेको उल्लेख छ । तर कतिपयले आफ्नो अर्धकट्टी रसिद देखाउँदै आफ्नो नाम सूचिमा नभएकोमा विरोध गरेका छन् । असन्तुष्ठ साना दलहरुको विरोधपछि सहमति गर्दै २ पटक निर्वाचनको कार्यक्रम सरेर पछिल्लो पटक जेठ १३ गते निर्वाचन गर्ने तय भएको थियो ।

0 प्रतिकृया:

Post a Comment