कक्षा ११ र १२ को परीक्षा नसर्ने

काठमाडौ । उच्च माध्यमिक शिक्षा परिषदले कक्षा ११ र १२ को परीक्षा तोकिएकै समयमा सम्पन्न हुने जनाएको छ । महाभूकम्पका कारण एक महिनापछि परीक्षा सारिएको र विद्यार्थीले अझै सार्न माग गरेपछि परिषद्ले उक्त कुरा स्पष्ट पारेको हो । तालिका अनुसार कक्षा १२ को परीक्षा यही जेठ २० गतेबाट ३१ गते सम्म र कक्षा ११ को परीक्षा असार १ गतेबाट १२ गतेसम्म तोकिएको छ । विद्यार्थीले परीक्षार्थीहरु भूकम्पमा परेर घाइते भएका, घरबासको ठेगान नभएको भन्दै परीक्षा सार्न माग गरेका छन् । तालिका अनुसार परीक्षा सञ्चालन नभएमा नतिजा समयमा आउन नसक्ने र एक वर्ष ढिलाइ हुने परिषद्ले जनाएको छ । फेरि परीक्षा सार्ने हो भने ९ लाख विद्यार्थीको भविष्यमाथि खेलवाड हुनेछ ः परिषदका सदस्यसचिव नारायण कोइरालाले भने ः किनभने बर्खामास लाग्दैछ, अहिले सञ्चालन हुन नसकेमा सबैको परीक्षा एक वर्ष पछाडि धकेलिनेछ । उनले परीक्षा सञ्चालनको तयारी थालिएको र विद्यार्थीहरुलाई पनि परीक्षाको तयारीमा जुट्न आग्रह गरे । परिषदले भूकम्पबाट बढी प्रभावित सात जिल्लामा भने केही समय ढिलो गरी परीक्षा लिने भनेको छ । ती सात जिल्लामा गोरखा, धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछाप छन् ।

0 प्रतिकृया:

Post a Comment