काठमाडौं/सरकारले आउँदो चैत १ गतेदेखि युवा तथा साना व्यवसायी स्वरोजगार कोषलाई प्रभावकारी बनाउने भएको छ । बुधबार अर्थमन्त्री वर्तमान पुनको अध्यक्षतामा बसेको कोषको बैठकले धिमा गतिमा रहेको स्वरोजगार कार्यक्रमलाई चैत १ गतेदेखि तीव्र रुपमा अघि बढाउने निर्णय गरेको हो ।
बैठकले चैत १ अघि नै कोषको कार्यकारी निर्देशक चयन गरिसक्ने निर्णय पनि गरेको छ । खुल्ला प्रतिस्पर्धाबाट छानिन लागेको कार्यकारी निर्देशकका लागि १० जनाको आवेदन परेको छ । फागुन महिनामै युवा स्वरोजगार कार्यक्रमका लागि जिल्ला जिल्लामा एक एक जना स्वयम्सेवकसमेत चयन गरिसक्ने तयारी छ । हाल ७५ जिल्लामा ७५ जनाका लागि ६ सय जनाले स्वयम्सेवकका लागि आवेदन दिएका छन् ।
कोषले हाललाई २५ जिल्लाबाट काम थाल्ने निर्णय गरेको छ । चैत १ देखि २५ जिल्लाबाट कृषि विकास बैंकले स्वरोजगारलाई ऋण प्रवाह गर्नेछन् । दुर्गम जिल्लाबाट काम सुरु गर्ने निर्णय पनि कोषले गरेको छ । बैठकले कार्यक्रम अनुगमनका लागि केन्द्रीय अनुगमन समिति पनि बनाएको छ ।५० हजार युवालाई स्वरोजगार बनाउने लक्ष्यका साथ कार्यक्रम शुरु भएकोमा अहिलेसम्म ३ हजार २ सय जनाले मात्र कोष मार्फत रोजगारी पाएका छन् ।
0 प्रतिकृया:
Post a Comment