धनगढी/स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ छैटौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता आइतबारदेखि सुरु भएको छ ।
प्रतियोगिताको सुदुरपश्चिमको ब्यापारिक केन्द्र धनगढीमा नवनिर्मित रङ्गशालामा राष्ट्रपति डा. रामबरण यादवले उद्घाटन गरेका छन् । प्रतियोगिता उद्घाटन गर्दै राष्ट्रपति यादवले छैटौं राष्ट्रिय खेलकुदले सुदुरपश्चिमका जनता मात्र नभई सिङ्गो राष्ट्रलाई नैं गौरवान्वित बनाएको बताए । उनले खेलकुदले देशको सबै भूगोल र जातजातिका जनतालाई एकताको सुत्रमा बाँध्ने काम गरेको समेत चर्चा गरे । राष्ट्रिय एकतालाई छातिमा राखेर खेल खेल्न सबै खेलाडीलाई राष्ट्रपतिको आग्रह थियो ।
राष्ट्रपति यादवले बृहत् छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिता उद्घाटन भएको घोषणा गरिरहँदा रङ्गशाला स्थलमा नअटाएका खेलकुदप्रेमी एवम् दर्शकहरुले रङ्गशाला वरिपरीका घरको छतमा बसेर समेत खुशी हुँदै तालि बजाएको देखिन्थ्यो ।
कार्यक्रममा छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो अंकित झण्डाको झण्डोत्तोलन गर्दै प्रधानमन्त्री डाक्टर बाबुराम भट्टर्राईले यस प्रतियोगिताले खेलाडीहरुले आफूभित्र लुकेर बसेको प्रतिभा प्रस्तुत गर्ने मौका पाएको बताए ।
प्रधानमन्त्री भट्टर्राईले भने -'तीन महिनाको तयारीमै खेलकुदको भौतिक निर्माणको काम हुनु, र खेलाडीले उचित तालिम प्राप्त गर्दै प्रतियोगितामा भाग लिने मौका पाउनुले पनि सुदूरपश्चिमका जनता हरेक काममा सक्षम छन् भन्ने प्रमाण दिएको छ ।' खेलकुद राष्ट्रिय गौरव, पहिचान, भाइचारा, र अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्ने माध्यम भएकाले यसमा सबै क्षेत्र, भूगोल, जाति र वर्ण्र्ाा जनताको सहभागिता रहेको प्रम भट्टर्राईको भनाई थियो ।
एउटै खेलमा सबै जाति, भाषा, धर्म, आदिका खेलाडीहरुको सहभागिता भए जस्तै सबै राजनीतिक दलका नेताहरु पनि मिलेर बेलैमा संविधान बनाउनु पर्ने अहिलेको आवश्यकता रहेको भट्टर्राईको भनाई थियो । पछिल्लो केही दिनदेखि दलहरुबीचको राजनीतिक बहस र वातावरणले देशमा शान्ति र संविधान बेलैमा बन्ने धेरै आधारहरु खडा गरेको उल्लेख गर्दै उनले जेठ १४ गते भित्रै शान्ति र संविधान जनताले पाउने प्रतिबद्धता पनि जनाएका थिए ।
0 प्रतिकृया:
Post a Comment