दमक/राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले माओवादी सहितको गणतन्त्रवादीहरु वैचारिक रुपमा असफल बन्दै गएको बताएका छन् ।
गणतन्त्र संसद्वादी र परम्परावादी राजसंस्थावादीहरु तीन ध्रुवीय कित्तामा उभिएको उल्लेख गर्दै अध्यक्ष थापाले गणतन्त्र जबर्जस्ती लाद्ने अभ्यासले मुलुकको राजनीति संकट तर्फउन्मुख भएको बताए । राप्रपा नेपाल दमकले आइतबार दमकमा आयोजना गरेको मेची अञ्चलस्तरीय कार्यकर्ता भेलाको उद्घाटन गर्दै अध्यक्ष थापाले भने-' मुलुकको संकट निकास गर्न जनताले राजसंस्थाको भूमिका खोजेको छ ।' उनले शान्ति र संविधानको नाममा ठूला चार दलले मुलुकलाई तहसनहसमा पुर्याएको बताए । उनले भने-'मुलुक जोगाउन जनताले विकल्प खोजेका छन्, पार्टीले देशभरी विभिन्न दवाब सृजना गरिरहेका छौँ ।'
![]() |
भेलालाई सम्बोधन गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापा |
अध्यक्ष थापाले चार वर्षम्म संविधान बनाउन नसक्ने दलहरुले अब तीन महिना भित्रमा संविधान बनाउने विश्वास नभएको उल्लेख गरे । जेष्ठ १४ भित्र संविधान बन्ने बलियो आधार दलहरुभित्र बन्न नसकेको चर्चा गर्दै उनले चमत्कारका रुपमा बनाइएपनि त्यो संविधानमा जनताको भावनाहरु नसमेटिने दाबी गरे । अध्यक्ष थापाले मुलुकलाई संकटबाट जोगाउन बामपन्थी संसदवादी र राजावादी सबै शक्तिहरु बीच आपसी समझदारीको खाँचो रहेको उल्लेख गरे । उनले हिन्दू राष्ट्र, राजसंस्था र संघीयता जस्ता मूलभूत मुद्दाको निकास दिन जनमत संग्रह एकमात्र उपयुक्त माध्यम भएको दोहोर्याए ।
कार्यक्रममा पार्टीका सहअध्यक्ष पदमसुन्दर लावतीले चारदलका कारण मुलुक सिक्किमीकरण बन्ने सम्भावना आएको आरोप लगाए । सो कार्यक्रममा पूर्वराज्यमन्त्री टेकनारायण राजवंशी, सभासद् बबिना मोक्तान, केन्द्रीय सदस्यहरु रामकुमार सुब्बा, घनेन्द्र सुब्बा, दिलनाथ गिरी, राजेन्द्र लिङ्देन, सगुन लावती, केन्द्रीय परिषद् सदस्य अम्बर बिष्ट लगायतले बालेका थिए ।
सोहि अवसरमा राष्ट्रिय जनशक्ति पार्टीका नगर अध्यक्ष मानबहादुर देवान सहित ९ जना कार्यसमितिका कार्यकर्ताहरु पार्टी परित्याग गरी पार्टीमा सामूहिक प्रवेश गरेका थिए । यस्तै विभिन्न पार्टी परित्याग गरी पार्टीमा प्रवेश गर्ने नव प्रवेशीहरुलाई पार्टीका अध्यक्ष थापाले पार्टीको सदस्यता प्रदान गरेका थिए । पार्टी प्रवेश गर्नेमा जनशक्तिका उपाध्यक्ष शेरबहादुर बस्नेत, सचिव बमबहादुर खत्री, युवक संगठन दमकका अध्यक्ष प्रकाश बस्नेत, संविधानसभामा पार्टीको तर्फा उम्मेद्वार सितादेवी कुमाल लगायतका कार्यकर्ता रहेका थिए ।
पार्टीका नगर अध्यक्ष धनबहादुर श्रेष्ठको अध्यक्षतामा सो कार्यक्रम भएको थियो । पार्टीका उपाध्यक्ष विरेन्द्र संग्रौलाका अनुसार आज दमकको मारवाडी भवनमा हुने प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष थापा लगायतका नेताहरुले प्रशिक्षण दिने छन् ।
0 प्रतिकृया:
Post a Comment