शिक्षकका आवाजमा झस्कने र तर्सनेहरु – दोस्रो लेख

टङ्क पाठक
२०३६ साल देखि यो मुलुकमा शिक्षकहरुले आफ्ना पेशा हक हित र देशमा समय सापेक्ष शिक्षा सुधारका लागि आवाज उठाउँदै आएका छन् । आज पनि ती आवाजहरु गुञ्जमान छन् । आवाज गुञ्जिन्छन् अनि थन्किन्छ । “काग कराइरहन्छ पिना सुकिरहन्छ ।” ती आवाजप्रति वास्तविकताको अध्ययन गर्ने कसरत नै गरिदैन । अनि सामुदायिक विद्यालयका शिक्षकहरुलाई आरोप लगाइन्छ, राजनीति गरे रे, पढाएनन् रे, झण्डाबोकेर । राजनीतिक गर्नु झण्डा बोकाउन र झोले बनाउने को हो थाहा छ ? तिनै आज झस्कने र तर्सनेहरु होइनौ र ? तिनै कांग्रेसका, एमालेका, माओवादीका मान्छेहरु होइनौ र ? जब–जब संगठन गर्ने बेला आउँछ र चुनाव आउँछ शिक्षकको खोजी हुन्छ । काम जिम्मा लगाइन्छ । पिएम् क्रियाशील, कर्मठ सदस्य दिइन्छ । शिक्षकका आवाजमा झस्कने र तर्सनेहरुले छातीमा हात राखेर भन्न सक्छन् ? शिक्षकले आफै राजनीतिक गरे भनेर ? आज देशभरका तमाम शिक्षकको एउटै आवाज छ, के सबै शिक्षकहरु एउटै राजनीति पार्टीका हुन् त ? तिनीहरुका आवाज भित्र सालीनता, क्रियाशीलता, वेदना, कष्टकर जीवन शैली, दरिद्रता, कुण्ठा र शैक्षिक परिवर्तन के कति छ भन्नु र वास्तविकता पहिचान गर्न नसक्नु समुदाय र राज्यकै लज्जास्पद होइन र ? अनि भनिन्छ मन्त्रीबाट झिक्रामसिना अभिभावक संघ नाम गरेका संस्थाका झस्कने र तर्सने मान्छेबाट यी शिक्षक आवाजलाई परकाष्ट भनेर । आज यो समुदाय र राज्यले शिक्षा के हो ? शिक्षक को हुन् ? भनेर किन चिन्न खोज्दैन । आफ्नो घरमा भएको एउटा बच्चालाई दुई आमा बाबुले सुधार्न धौ–धौ पर्छ तर हजारौँ बालबालिकालाई कसरी रित्याएर त्यो खाली क्यासेट भर्देको होला ? स्मरण रहोस् ती बालबालिकाहरुको लागि शिक्षकको त्याग हुन्छ, माया ममता, स्नेह, जिम्मेवार धेरै हुन्छ । यो भनाईप्रति मनोवैज्ञानिक विश्लेषणको बिर्को खोल्नै पर्छ । अनि भनिन्छ केही आवाज उठान ग¥यो भन्ने ७५ लाख बालबालिकाको भविष्यमाथि खेलवड गर्ने ती मास्टरहरु भनेर १ शिक्षक आन्दोलन र आवाजमा के थियो र किन बुझेन ? थाहा थियो, समयमै देशका सबै जिल्लामा शैक्षिक वर्षको शुरुमै पाठ्यपुस्तक पु¥याउ । वैज्ञनिक ढङ्गबाट व्यावसायिक र रोजगारमूलक शिक्षा प्रणालीको व्यवस्था गर । अस्थायी शिक्षकलाई समयमै आयोग खोल्ने काम गरी स्थायी गर । एउटै छानो मुनि १४ प्रकारका शिक्षकहरुको नाम नराख र विभेदको अन्त्य गर । लामो समयदेखि विद्यालयमा कार्यरत कर्मचारीको उचित व्यवस्था गर । विदेशी दाताले शिक्षा क्षेत्रमा लगानी गरेको रकम शिक्षामै खर्च गर बाँडी चुडी नखाऊ । त्यो आर सयमा राखेका शिक्षकलाई आई.एल.ओ.को सन्धी अनुसार नै पैसा देऊ । विद्यालयलाई समुदायमा जिम्मा नलगाउ सरकारले पन्छने काम नगर । विद्यालयमा विद्यार्थी संख्याका आधारमा दरबन्दीको व्यवस्था गर लगायतका मागहरु न थिए । यो त ती तर्सिने र झस्कने मान्छेहरुले नै बुझ्नु पर्ने होइन र ? के तलब भत्ता बढाईदे भनेको थियो ? के घुस खाने ठाउँमा सरुवा गरिदेऊ तिमी मन्त्रीलाई यति हजार रुपैयाँ घुस दिन्छौ भनेको थियो ? पासपोर्ट बेगर नै विदेश पठाइदेउ भनेको थियो ? के सरकारलाई असफल पारेर शिक्षाको सरकार बनाउँछौ भनेका थियो ? अनि फेरि अर्को प्रश्न उठ्छ अभिभावक संघका जिल्ला देखि उपल्ला तहका अध्यक्ष र सदस्यहरुका छोरा छोरी के सामुदायिक विद्यालयमा पढाएका छौँ र समुदायका विद्यालयको बारेमा पूर्ण ज्ञान छ ? अनि भन्छौ शिक्षकको आवाजमा पराकाष्ट छ भनेर । शिक्षा राज्यमन्त्री रे । झापाको विर्तामोडमा अभिभावक संघको कार्यक्रममा थुतुनो चलाइन् रे । स्थायी शिक्षक भन्दा अस्थायीले पठन पाठन राम्रो गर्छन् भनेर । शिक्षा राज्यमन्त्री लिला भण्डारी जी तपाईले कुन–कुन विद्यालयमा स्थायी र अस्थायी शिक्षकले पढाएको हेर्न आउनुभयो या कतै हेर्नु भयो ? यसो भन्न पछाडि के छ ? स्थायी शिक्षकहरुले कहाँ पढाएका छैनन् ? यदि पढाउनै जान्दैनन् र पढाउँदै भने किन भद्रो हेराई ? कार्यवाही गरेर देखाई देउन् ? त्यस्तै ती शिक्षकका आवाजलाई सम्बोधन गर्न नसक्ने ती राजनीति दल । केवल सत्ता र भत्ताका लागि मात्र । यो समुदाय मालपोत, नापी शाखा, भन्सार, प्रहरी प्रशासन र जनताका सरोकार क्षेत्रमा पैसाको चलखेल हुँदा रम्ने, झुमिने, अरु सयौँ संस्था या पार्टीले हड्ताल गर्दा र बन्द गर्दा आफ्ना बालबालिकाको भविष्यको चिन्ता नगर्ने तर शनिबार समेत विद्यालय खोलेर एक दिन विद्यालय बन्द गर्दा शिक्षक माथि आरोप लगाउने कति जायज छ ? शिक्षक आन्दोलनताका भएका सम्झौता सतै आज सकिँदैछ यो भङ्ग भयो भने फेरि यो देशका तमाम यो मुलुकका कलम कर्मी जुर्मुराउने अवस्था छ । भरिसके यो अवस्था नआओस् । विश्वमा तरबार र बन्दुकले भन्दा कलमले परिवर्तन ल्याएको छ । यहाँ पनि सरकार र सम्बद्ध पक्षले ध्यान नपु¥याए ढिलो छिटो मात्र हो, एक दिन शैक्षिक क्षेत्रमा आधि बेरी आउँदैन भन्न सक्ने अवस्था छैन । तर केन्द्रीय स्तरका नेतृत्व तहले ललीपप खाएनन् भने । शिक्षक मित्रहरु हो आफ्नो कर्मथलो त्यही विद्यालय नै भएकाले आफ्नो दायित्व र कर्तव्यको अनिवार्य पालनानै गर्नुपर्छ । आखिरमा शिक्षक भनेको बालबालिका र समुदायको सचेतक मात्रै होइन । आफू बलेर मैन बत्तिजस्तो जलेर सारा उज्यालो दिने । एउटा पथप्रदर्शक हो । अनुकरणीय व्यक्तित्व हो । फेरि झस्केर तर्सनेले मौकाको अवसरबाट मुक्त पाऔँ ।

0 प्रतिकृया:

Post a Comment