चिहानका कारण वनक्षेत्र संकटमा

– विमल लामिछाने   

दमक । वन क्षेत्रमा कंक्रीट चिहान (कपुरथान ) वनाउदा यसले पुरयाउने असरवारे विभिन्न चेतनामुलक कार्यक्रम गरिदै आएपनि यो प्रथा अझै रोकिएको छैन ।
विभिन्न जातीय संस्थाहरुको पहलमा यो प्रथा रोक्न प्रयास गरिएपनि संस्कारलाई परिवर्तन गर्न सकिएको छैन । तराइका विभिन्न स्थानहरुमा रहेका वनक्षेत्र र सार्वजनिक जमिनमा कंकिट चिहान महंगोगरी वनाउने होडवाजीले वन क्षेत्र संकटमा पर्ने गरेको वातावरण विद्हरुको भनाई छ ।
 रतुवामाई वृक्षारोपण आयोजनाका प्रमुख भक्तिप्रसाद गौतमले समुदायमा जनचेतना नभएसम्म क्रंकिट चिहान बनाउने कार्य नरोकिने बताए । वातावरणको हिसावले बनजङ्गलको संरक्षण गर्नुपर्ने भएपनि संस्कार र संस्कृतिको नाममा जथाभावी क्रंकिटद्धारा चिहान बनाउदा बनजङ्गल मरुभूमिकरण हुने सम्भावना छ ।’–उनले भने ।
राई, लिम्बु, सुनुवार, याक्खा, तामाङ्ग, मगर, गुरुङ्ग लगायत विभिन्न जात—जातिहरुले पुरानो आफ्नो संस्कार संस्कृतिलाई निरन्तरता दिने क्रममा मृत शरीरलाई माटोमा जलाएर वा पुरेर त्यसमाथि कंक्रिट चिहान बनाइने गरेको छ ।  यो क्रम पछिल्लो समयमा पनि प्रतिस्पर्धा भइरहेको नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पारसमणि राईले बताए । उनले आदिवासी समुदायभित्र विभिन्न जातजाती र समुदायमा पक्की चिहान बनाउने प्रतिस्पर्धा भएको बताउदै राज्यस्तरवाट उचित व्यवस्थापनका लागि पहल गरिनुपर्ने र वातावरण स्वच्छ राख्न जनमैत्री कार्यक्रम ल्याउनुपर्ने बताए ।
 किरात राई यायोख्खा झापाका सचिव दीपेनवाला राईले उचित व्यवस्थापन नभएको भन्दै पहिचानका नाममा यस्ता कंक्रिट चिहान निर्माणमा ठूलो धनरासी खर्च गरिदै आएको बताए । उनले क्रमिक रुपमा यसलाई सुधार गर्ने आदिवासी जनजाति महासंघमा आवद्ध जातीयसंघसंस्थाले पहल सुरु गरिएको भएपनि त्यो पर्याप्त हुन नसकेको जनाए । जङ्गल र सार्वजनिक क्षेत्रमा मात्र होइन आफ्ना निजी जमिनमा पनि अनावश्यक खर्च गरी क्रंकिट चिहान बनाइनु राम्रो नहुने उनको भनाई छ ।
  मोरङ उर्लावारी ६ का मेहेरमान लिम्वुले प्रतिशपर्धाकै आधारमा यो क्रम रहेका कारण आफन्तहरुलाई सजग गराउँदै यसको स्थानमा धुले चिहान बनाई त्यसको वरीपरी विरुवा रोप्न सल्लाह दिदै आएको वताए ।
 सहप्राध्यापक विना राईले पुरानो संस्कृतीको कारण यो प्रथा वदल्न गाह्रो परिरहेको वताइन् । पारिवारिक सरसफाईको दृष्टिकोणले शौचालय वनाउन नसक्नेहरुले पनि आडम्वरकै लागि कंक्रिट चिहान निर्माण गर्ने काम नरोकिएको हो ।
  जिल्ला वन कार्यालय झापाले विभिन्न स्थानमा सूचना पार्टी राखेर सचेत गराएको भएपनि यो क्रम रोकिएको छैन । झापाका पूर्वपश्चिम राजमार्गको करिब ४० किलोमिटर लम्वाई र करिव २० हेक्टर क्षेत्रफल कंक्रिट चिहानले ओगटेको छ । चिहानले १ देखि ३ धुर क्षेत्रफल ओगट्ने गरेको र यो क्रम नरोकिने हो भने विस्तारै जंगल चिहानमा परिणत हुने सम्भावना बढ्दै गएको छ । झापाको सितापुरी, केर्खा, धरमपुर, माईधार, झिलझिले, चारआली, धाईजनमा क्रंकिट चिहान निर्माणकार्य व्यापक छ । मोरङको पथरीशनिश्चरे, बयरबन, डाँगीहाट, बेलबारी तथा सुनसरीको धरान सहितका ठाउँमा कंक्रिट चिहानघारी छन् ।
झापाली युवा सरोकार समाजका अध्यक्ष कविराज चाम्लिङका अनुसार जनचेतनामूलक कार्यक्रम मार्फत यस्ता चलनलाई न्युनिकरण गर्न सकिन्छ । तर  कंक्रीटका कारण वन क्षेत्रमा नया विरुवा उम्रने उर्वराशक्ति ह्रास आउनेछ ।

0 प्रतिकृया:

Post a Comment