एभरेष्टद्वारा सम्मान र छात्रवृत्ति

दमक, चैत्र २/ झापाको दमकस्थित एभरेष्ट मल्टी टेक्निकल कलेजले बुधबार एक कार्यक्रमको आयोजना गरी २७ जना शिक्षकहरुलाई सम्मान तथा २९ जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ ।
जिल्ला शिक्षा कार्यालय झापाका उप–सचिव फडिन्द्र खत्रीको प्रमुख आतिथ्यमा सम्पन्न एभरेष्ट सांस्कृतिक तथा बृहत छात्रबृत्ति एवम् सम्मान कार्यक्रमको आयोजना गरी एभरेष्टले दमकका अग्रज शिक्षक छबिलाल सिटौला सहित सामुदायिक विद्यालय अन्तर्गत दमक स्रोत केन्द्रका कृष्ण भण्डारी, गौरादह स्रोत केन्द्रका गणेश पौडेल, तोपगाछी स्रोत केन्द्रका सूर्य सापकोटा र कलेजका सिनियर कम्प्युटर टेक्निसियर पूर्ण राईलाई सम्मान पत्र सहित सम्मानित गरेको हो ।
त्यस्तै तीन स्रोत केन्द्र अन्तर्गतका उच्च मा.वि. र मा.वि. गरी २३ विद्यालयका प्राचार्य तथा प्रधानाध्यापकहरुलाई सम्मानित गरिएको एभरेष्टका फाउण्डर प्रिन्सिपल बिज्ञान भट्टराई ‘ताप्लेजुङ्गे’ ले जानकारी दिए ।
त्यस्तै कक्षा १० मा अध्ययनरत विभिन्न विद्यालयका २९ जना छात्र छात्रालाई विद्यालयकै सिफारिसमा १३ हजार १ सय बराबरको छात्रबृत्ति प्रदान गरिएको छ । भट्टराईका अनुसार छात्रबृत्ति प्राप्त गरेका विद्यार्थीहरुले प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि छात्रबृत्तिमा एभरेष्टमा प्राविधिक बिषयको निःशुल्क अध्ययन गर्न पाउने छन् ।
त्यस्तै कार्यक्रमका बीच चर्चित हाँस्य कलाकार विल्सन बिक्रम राई ‘तक्मे बुढा’ ले प्रस्तुती गरेका थिए भने सोही कार्यक्रमका बीच आयोजित माविस्तरीय नृत्य प्रतियोगितामा २४ विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितामा पाणिनी मा.वि. दमककी पूर्ण राई प्रथम, कमला मदन आश्रित उमावि, तोपगाछी द्वितीय, सरस्वती मा.वि. लखनपुर तृतीय र सरस्वती उच्च मा.वि. दमकले सान्त्वना स्थान प्राप्त गरेका थिए ।
शुभदीपावलीका अवसरमा एभरेष्टले आयोजना गरेको देउसी कार्यक्रमबाट प्राप्त ४५ हजार ८५ रुपैयाँ सहयोग रकममध्ये १० हजार रुपैयाँ खर्च कटाई सो कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए । छात्रबृत्ति तर्फ ३ लाख ७९ हजार ९ सय रुपैयाँ बराबरको छात्रबृत्ति वितरण गरिएको समेत भट्टराईको भनाई छ । कार्यक्रममा प्रमुख अतिथि खत्री र एभरेष्टका विशेष सहयोगी सुवासचन्द्र भट्टराईले मन्तव्य राखेका थिए ।

0 प्रतिकृया:

Post a Comment