आलु कुहिएको बारे अनुसन्धान शुरु

किसानहरुले भने माटोमा नभई बिउमा रहेको खराबीका कारण आलु उत्पादनमा नोक्सानी भएको बताएका छन् ।
लखनपुर, चैत्र २/लखनपुर–१ गुहेश्वरीमा दादे रोगका कारण बिज बृद्धिका लागि गरिएको आलुखेती असफल बारे अनुसन्धान सुरु गरिएको छ । पूर्व मूल बिउ प्रदान गरेको आलुबारी विकास कार्यक्रमले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) सँगको समन्वयमा अनुसन्धान सुरु गरेको हो । प्रारम्भिक अनुसन्धानसँगै सो जमिनमा ५ वर्षसम्म आलुखेती नगर्न बिज्ञहरुले सुझाव दिएका छन् ।
स्थानीय लगनशील कृषि सहकारी संस्थाको अगुवाईमा ३ वर्षदेखि आलुको बिज बृद्धि खेती गरिँदै आएको स्थाननको जमिन प्रारम्भिक अनुसन्धानबाट आलु खेतीका लागि उपयुक्त नरहेको देखिएको उनीहरुको भनाई छ । जिल्ला कृषि विकास कार्यालय झापाका अधिकृत सुर्यनारायण यादवले माटोको उपचारपछि स्वस्थ नठहरिएसम्म पुनः आलुखेती गर्न नहुने बताए ।
स्थलगत अवलोकन तथा अध्ययनका लागि बुधबार आएका आलुबाली विकास कार्यक्रममा बरिष्ठ आलु बिज्ञ श्याम ढकालले खुमलटारबाट उत्पादित बिउबाट फलेको आलुमा रोग देखिएको पहिलो पटक भएको बताएका छन् । किसानहरुले पठाएको नुमुना परीक्षणका क्रममा समेत आलुको बिउमा नभई माटोमा रोग रहेको अनुमान रहेको उनले दाबी गरे । थप अनुसनधानका लागि परिषद्का बैज्ञानिकहरुसँग समन्वय भइरहेको बताए । क्षेत्रीय बाली संरक्षण प्रयोगशाला बिराटनगरका बरिष्ठ बाली संरक्षण अधिकृत नथुनी शाहले आलुबालीमा ढुसी तथा व्याक्टेरीयाका कारण आलुमा यस प्रकारको रोग लाग्ने गरेको बताएका छन्  । लखनपुर–१ मा भने ब्याक्टेरीयाका कारण रोग फैलिएको हुनसक्ने उनको अनुमान छ । आवश्यकता भन्दा बढी कम्पोष्ट मलको प्रयोग तथा आलुका दाना बढ्ने समयमा सिँचाईको सन्तुलन नमिल्दा पनि यस प्रकारका रोगहरु फैलन सक्ने शाहले बताए ।
किसानहरुले भने माटोमा नभई बिउमा रहेको खराबीका कारण आलु उत्पादनमा नोक्सानी भएको बताएका छन् । सहकारी संस्थाका अध्यक्ष डम्बर निरौलाले बजारबाट ल्याइएको बिउबाट उत्पादित आलु राम्रो रहेको तर आलु बालि विकास कार्यक्रमबाट ल्याइएको बिउबाट उत्पादित सबै आलु रोगी रहेको बताए । किसानहरुले भने आलु खेतीमा पुगेको क्षतिको राहत नपाएसम्म संघर्षका बिभिन्न कार्यक्रम जारी राखिने बताएका छन् । बिज्ञबृद्धिमा रोग लागे पछि ५ लाख रुपैयाँ भन्दा बढीको नोक्सानी भएको संस्थाकी सदस्य गीता गजुरेलले बताईन् ।
झापामा कुप्रिसिन्धुली, खुमलरातो, जनकदेव, डेजीरे, कुप्रीज्योती, लालगुलाब, कानपुरे, कार्डनल लगायतका जातको आलु खेती गर्ने गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कुप्रिसिन्धुली जातको र लखनपुर–१ का किसानहरुमा मात्र उत्पादनमा समस्या देखिएको कार्यालयका निमित्त प्रमुख रामप्रसाद गौतमले बताए ।

0 प्रतिकृया:

Post a Comment