सामुदायिक भवन निर्माणको लहर – मुख्य समाचार

पाँचगाछीमा उपस्वास्थ्य चौकी भवन
विष्णु पौडेल
दमक, चैत्र ४/झापाका ग्रामीण क्षेत्रमा सामुदायिक भवनहरु तथा उपस्वास्थ्य चौकीका पक्की भवन निर्माण योजना शुरु भएका छन् । एशियाली विकास बैंक सहित विभिन्न दातृ निकायहरुको सहयोगमा सञ्चालित ग्रामीण पुनःनिर्माण तथा पुनस्र्थापना सम्बन्धी आयोजनाले स्थानीयबासिन्दाहरुको सहकार्यमा ११ वटा योजना शुरु गरेको हो ।
आयोजनाको जिल्ला कार्यालय झापाका अनुसार आयोजनाद्वारा हाल सडक स्तरोन्नतीको काम भइरहेको क्षेत्रका सुरुङ्गा, शरणामती, टाघनडुब्बा, कुमरखोद, चकचकी, घेराबारी, राजगढ, शिवगञ्ज, माहाभारा र कोरोबारीमा सामुदायिक भवन तथा पाँचगाछी गाविसमा उपस्वास्थ्य चौकीका भवन निर्माण सम्बन्धीका योजना छन् ।
आयोजनाको जिल्ला कार्यालयका प्रमुख समेत जिल्ला प्राविधिक कार्यालयका इञ्जिनियर राजेश घिमिरेले ति योजनाहरुमा दातृ निकायहरुको झण्डै एक करोड रुपैयाँ सहायता रहने बताएका छन् ।  उनका अनुसार हरेक योजनाका लागि प्रत्येक गाविसमा ८ लाख ५० हजार रुपैयाँ दातृ निकायको र १ लाख ५० हजार रुपैयाँ बराबरको स्थानीय जनसहगिता रहने छ । आयोजनाले सशस्त्रद्वन्द्वका समयमा क्षति भएका संरचनाहरुको पुनःनिर्माण तथा योजनाहरुको पुनःस्र्थापनाका लागि स्थानीय उपभोक्ताहरुको साझेदारीमा विकास निर्माणका काममा सघाउँदै आएको घिमिरेले जनाए ।
आयोजनाद्वारा सञ्चालित सामाजिक विकास सम्बन्धीका योजना हेर्दै आएका सामाजिक विकास बिज्ञ मनोज तिम्सिनका अनुसार सामुदायिक भवनहरु निर्माण कार्य उपभोक्ता समिति मार्फत् गरिनिेछ । सोका लागि शिवगञ्ज गाविसमा गोपाल ओली, कोरोबारीमा किना राजवंशी घेराबारीमा हर्क खड्का, राजगढमा ओम राजवंशीको अध्यक्षतामा उपभोक्ता समितिहरु गठन भएका उनले बताए । योजना सञ्चालनमा रहेका अन्य गाविसमा समेत उपभोक्ता समिति क्रियाशील रहेका बताइएको छ । पाँचगाछीमा भने उपस्वास्थ्य चौकी भवन बनाउन रामकुमार राईको अध्यक्षमा उपभोक्ता समिति गठन गरिएको छ । ‘कतिपय सामुदायिक भवनहरु निर्माणाधिन अवस्थामा छन्, केहीमा निर्माण शुरु गर्ने तयारी भएको छ’ तिम्सिनाले भने । तिम्सिनाका अनुसार सबै योजनाहरु सकेसम्म असार मसान्त सम्ममा नै सक्नुपर्नेछ । आयोजनाको अवधि २०१२ को डिसेम्बरसम्म रहेकाले बढीमा सो अवधि भित्रमा ति योजना पूरा गरिसक्नुपर्ने आयोजना प्रमुख घिमिरेले बताए । सो अवधिभित्रै काम पुरा नभए दातृसंस्थाहरुको बजेट फिर्ता हुने जनाइएको छ ।

0 प्रतिकृया:

Post a Comment