कोरा कल्पना र वास्तविक यथार्थता – पहिलो लेख

राम प्रधान
समाज र सामाजिक रुपान्तरणमा जीवनले थुप्रै तिता मिठा कल्पना र अनुभव सङ्गालेको हुन्छ । मानव जीवनमा कल्पनाको शिखरहरु र कल्पनाका छालहरुले हरेक प्रकारको उतार–चढाव आउँछन् । प्रत्येक मावनको कल्पनाहरुमा मिठा–मिठा, सुन्दर जीवन निर्माणको सपना साचेको हुन्छ, कल्पनाको महलहरु बनाउन समय र धन खर्च गर्नु पर्दैन । मानिसले कल्पनामा संसारका सबैथोक जित्छ । संसारमा शक्तिशाली बन्न सक्दछ । गुण्डागर्दी र दादागिरीको हिसाबले, पाखुराहरु र तिघ्राहरुको हिसाबले धन सम्पत्तिको हिसाबले क्षणिक रुपमा बलवान बन्न सक्छ । कतिपय कोरा कल्पनाहरु अवास्तविक कुराहरुको भरमा संसारका सबथोक कब्जा गर्ने लहडहरु आउँछन् । कल्पनाको बाढीहरुले थुप्रैलाई बगाउन सक्छ । कल्पना नै कल्पनाको महलमा मानिसहरु डुब्न र डुबाउन सक्दछन् । सामाजिक कल्पना, आर्थिक कल्पना, सांस्कृतिक कल्पना, भौतिक कल्पना लगायतका सयौँ कल्पनाहरुले मानिसको मष्तिष्कको भण्डारणमा थाक लागेको हुन्छ । केही कल्पनाहरुले वास्तविक रुप धारण गर्न सक्दछ भने धेरै कल्पना केवल कोरा कल्पनाहरुको रुपमा मात्र सीमित हुन्छ । जुन कल्पना वास्तविक यथार्थता भन्दा टाढा हुन्छ । धेरै जालझेल, षड्यन्त्रकारहरुले कोरा कल्पनामा डुबाएर समय वर्वाद गराउने काम भएको छ । धेरै प्रकारका, प्रवृत्तिको कल्पनाहरु वास्तविकता बिनाको हुन्छन् । र अवास्तविक कल्पनाहरु कोरामात्र कल्पित हुन्छन् ।
त्यस्तै नेपालको विभिन्न क्षेत्रहरुमा विशेष गरेर राजनीतिक रुपान्तरणको बारेमा धेरै कोरा कल्पनाहरुले देशलाई र जनजीविकालाई वर्वाद गर्ने काम गरिएको छ । आज समाजमा झाङ्गिएको विकृति, विसंगतिहरुले गर्दा युवापीढिहरुको एउटा पाटो वर्वादीको खाडलमा जाकिँदैछ । कैयौँँ मानिसहरुको दिमागमा कुकर्म र अपराध गर्दा मात्र मोज मस्ती गर्न पाइन्छ भन्ने धारणाको विकास भएको छ । विकास निर्माणको क्षेत्रमा विभिन्न व्यक्तिहरु र संघसंस्थाको नाममा प्रतिशत भाग बण्डा, प्राविधिकहरुलाई प्रशस्त सेवा, सुविधा, नाजायज फाइदाहरु दिएर बहसमा पार्ने र घटिया भौतिक संरचनाहरु स्वीकृति गराउने प्रवृत्तिले बनाइनसकी भौतिक सम्पत्तिहरु भत्किएर, बिग्रिंएर गइरहेकोे छ । अब मेहनतको कमाईमा बाँच्ने भन्दा गलत ढङ्गले, कुकर्म गरेर, आर्थिक अपराध गरेर जीवनयापन गर्ने प्रवृत्ति बढ्दो मात्रामा छ । वैदेशिक रोजगारको नाममा हजारौँ युवा ठगिदा, लुटिँदा सरकार र सरकारका निकायहरु ठाडो कानसम्म लगाउँदैनन् । खेतीमा बानीलानी लगाउने मौसममा कृषकहरु मल किन्न पाउँदैन । गुणस्तरीय बिउ पाउँदैनन् जनताको जीउ, धनको शान्ति सुरक्षा दिने बारेमा सरकारको चिन्तन छैन । गरीब जनताहरुको पक्षमा सशस्त्र युद्ध मच्चाएर सर्वहाराहरुको जीवनस्तरमा आमूल परिवर्तन ल्याउन ठूलो त्याग गर्ने नेताहरु सरकारमा नेतृत्व चलाउँदा समेत महङ्गीले जनताहरुको ढाड भाँचेको छ भने महङ्गीमा पनि सरकार र सरकारको निकायहरुले ग्यास जस्तो अत्यावश्यक वस्तुहरु दिन नसकेर जनताहरु भोकभोकै जीवन धान्न बाध्य छन् । दिनहुँ जस्तो बन्दहरुले जनजीवनहरु आक्रान्त छन् । हरेक मानिसहरु समाजमा भएको विकृतिहरुले पीडित छन् । कुलत, विकृति, विसंगतिको नाइकेहरुलाई राजनीतिक संघसंस्था, ठेकेदारहरुले हतियारको रुपमा प्रयोग गरेर जनताहरुलाई त्रसित बनाउँछन् । तैपनि आफूलाई सच्चा इमान्दार भन्दा असल ठान्छन् ।
आजको यथार्थलाई हेर्दा सभाको माग गठन र कर्महरु वास्तविकताको लागि नभएर कोरा कल्पना गरेर जनताहरुलाई झुक्याउन ढाँट्न, समयको वर्वादी मच्चाउन र देशलाई अस्तव्यस्त गर्न मात्र संविधानसभाको कुराहरु उठाइएको थियो भन्ने देखिएको छ । यदि राष्ट्र निर्माणकै लागि संविधानसभा भएको भए किन आपसी खिचातानी ? किन गुटबन्दीको हानाथाप ? नेपालको वस्तुवादी यथार्थ भन्दा कर, कोरा कल्पनाको आधार मात्र टेकेर संविधानसभा ल्याइएको हुँदा के गर्ने, के नगर्ने ? जातीय प्रान्त अभिभाज्य, अञ्चल, क्षेत्र, जिल्ला के–के हो के–के ? को नेता के भन्छ ? को नेता के गर्छ ? को ठीक को बेठीक ? कसको कुरा सुन्ने ? कसको कुरा मान्ने टुङ्गो ठेगान केही छैन । संविधानसभा अवास्तविक कोरा कल्पनामात्र भएको हुँदा आज धागो चुडीएको चङ्गामा जस्तो कहाँ पुग्ने हो ? कसरी अवतरण हुने हो ? संविधान यथार्थमा बन्ने हो कि होइन ? २ वर्षमा बनाउनुपर्ने संविधान ४ वर्षसम्म अन्यौलकै स्थिति छ । नेताहरुको प्रवृत्ति व्यवहार, चिन्तन र कर्म यस्तै रहेमा नेताहरुको रिसले सबै जनताहरुको मनस्थिति संविधानसभा विरुद्धमा हुदैनन् भन्न सकिँदैन । प्रत्येक नेताले चाहे जस्तो संविधान खोजेको हो भने र अनिवार्य रुपमा त्यस्तै चाहने हो भने सिङ्गो देशलाई बाइसे, चौबिसे राज्यमा फर्काउने निर्णय गर्दा सबैको इच्छा पूरा हुन्छ । आफ्नै गाउँलाई राज्य बनाएर आफूले चाहे बमोजिम संविधान भनाएर चलाए भयो । नत्र भने नेताहरुको दलाली के को लागि ? राष्ट्र निर्माण गर्नु हो कि विखण्डता गर्नु हो ? सरकारमा सहभागी पार्टीका नेताहरुले स्वयम् सरकारका मन्त्रीहरुले देश टुक््रयाउने मधेशलाई छुट्टै बनाउछौँ भन्दा समेत वास्ता छैन । त्यति मात्र होइन आफ्नै पार्टीका नेता सरकार प्रमुख हुँदा समेत स्वयम् पार्टीका नेता कार्यकर्ताहरु बन्द, हड्ताल, आगजनी, तोडफोड गरेर राष्ट्रलाई अरबौँ नोक्सान पु¥याउँछन् । हिजो कोरा कल्पनाको सपना बाँडेर गरीब जनताहरु र तीनका कलिला छोराछोरीहरुलाई युद्धमा होमेर मर्नु, बेपत्ता हुनु र गर्न बाध्य गराइएका परिवार सदस्यहरुको बारेमा सरकार बेखबर छ । बेपत्ता परिवारका मानिसहरु दिनहुँ जसो रोइकराई हिँड्दा समेत सरकार सुन्दै, पार्टीले सुनाउँदैन । बेपत्ताहरु कति मारिएकाछन् ? कुन–कुन घटनामा, को–को मारिए, मार्नमा को–को संलग्न थियो ? सबै समस्याहरुको छिनोफानो गरेर सरोकारवालाहरुलाई सूचना दिने काम जानकारी दिने काम सरकारको दायित्व हो । पार्टीका नेताहरु आर्थिक अपराध गरेर कालो धनवान धनी बन्ने मात्र सपना देखिरहेका छन् । चाहे विकास निर्माणको नाममा होस्, चाहे लडाकुको नाममा होस् । कालोधनको रास थुपार्ने धन्दा बैठकको लागि बस्ने सहमति भयो भन्नु भन्दा बाहेक राज्य र राज्य सञ्चालन सहभागी नेताहरुको अन्य उपलब्धी केही छैन !
यदि संविधान सभा कोरा कल्पना भन्दा बाहेक नभएको भए खोइ त संविधान बनेको ? केवल संविधानसभाको कल्पना देशलाई तहसनहस गर्ने एउटा बहाना मात्र थियो भन्दा अपराध हुँदैन । २ वर्ष भित्र संविधान बनाएर घोषणा गर्छौँ भने देश र जनताहरुसँग कवोल गरेका नेताहरुको इज्जत र इमान खोई ? अब तोकिएको २०६९ जेठ १४ गते सम्ममा पूर्ण रुपमा सबै देश वासी जनताहरुको भावना र पहिचानको ठेगान लगाउने संविधान बनाउने छेक छल्दै छैन । विशेष गरी संविधानसभाको नारा उरालेर, हजारौँ गरीब जनताहरुको नाङ्गो, भोको पेटलाई कोराकल्पनाहरुमा झुलाएर कोरा कल्पनाहरु मात्र बाडियो । हिजो बाँडेको कल्पनाहरु आज पूरा गर्न सकिने स्थिति छैन । हिजोको कल्पना आजको तिता यथार्थता भन्दा धेरै टाढा छ । भन्न सजिलो गर्न गाह्रो वास्तविक यथार्थता कल्पना भन्दा धेरै टाढो । यसै कारणले संविधान बनाउने काम सबै दलका नेताहरुलाई साह्रै भएको छ गाह्रो । संविधानसभा नेताहरुलाई भएको छ नखाउँ भने जीवन भरको शिकार खाउँ भने कान्छा बाउको अनुहार भएको छ ।

0 प्रतिकृया:

Post a Comment