परिस्थिति भन्दा बाहिर – असरल्ल

कमन देवान
थाहा छैन, जीवनका बारे जीवितै गरिएको अनुभूति मृत्युपछिको कपोकल्पित स्वर्ग वा नर्कमा पुगेर कसरी आत्म चीरस्थायी रहन्छ ? वा भौतिकवादी मान्यताका आधारमा मानिसको जीवन, शरीर, भावना, समवेदना र उद््वेगको मूल्य कति रहन्छ ? विषय अनेक छन् । विषयका बारे पनि अनेकन दृष्टिकोण हुन सक्दछन् । तसर्थ, व्याख्या र तर्कका आ–आफ्नै स्थान, उचाई र मूल्याङ्कन हुनुलाई अस्वभाविक मान्न मिल्दैन । विचारका लागि जीवित शरीरको मूल्य छ कि छैन ? छ भने के कारणले वा छैन भने कसरी ? एकाध मानिस यसरी पनि तर्क गर्छन् । तर आफ्नै किरिया खाएर अरु उपर सतोसराप गाल्छ मान्छे । आफ्नै आङ्गको भैसी नदेख्ने रतन्धो रोगको दीर्घ रोगी ऊ निश्चित आयुका लागि जीवनभर अनिश्चित बाँचिरहन्छ ।

मैले देखेको सत्य यस्तो पनि छ कि–एकाध मान्छे पाए सम्म र जानेसम्मको सबै अपराध गर्छन् । मानौँ, पुरानो नेपाली उखान यसो भन्छ – “गाई मार्नु र भाइ मार्नु महापाप” । अर्थात् हिन्दु धर्मग्रन्थको गन्ध बोक्ने यो भनाईमा के स्पष्ट छ भने गाई भनेकी लक्ष्मीकी प्रतीक र लक्ष्मी भनेकी धनकी देवी भएकीले गाईसँग धार्मिक र आर्थिक दुई किसिमको सम्बन्ध छ । त्यसैले गौ हत्या अपराध हो । अर्को कुरो, भाइ माथि कुनै पनि कारणले अन्यायपूर्ण व्यवहार गर्नु सिङ्गो कूलको प्रतिष्ठा माथिको बेइमानी हो । आफ्नै कूलको म¥यादा माथि दाग लाग्ने काम गर्नु भनेको कुलांघारी कृत्य हो । त्यसैले कुनै अज्ञात समयमा माथि वर्णित कथन मानिसका लागि आज पनि प¥याप्त मिल्दो देखिन्छ । अपराध जसरी गर्दा पनि अपराध हो । किनकि अपराधको पर्याय छैन, न त यसको प्रायश्चित नै सम्भव छ ।

कथा लेख्नेहरुले शब्दमै उभ्याएका पात्रहरु भगवान भए । कथनमा बुनिएका मान्यताहरु संस्कार भए । कथाका पात्रहरुका काल्पनिक आदर्श वाणीहरु संकलित धर्मग्रन्थ बने । आजका मान्छे यिनै धर्म ग्रन्थहरुकै बुुई चढेर चन्द्रमा हुँदै मंगलग्रहसम्मको यात्रा नजिक लम्किएका छन् । तर यो पनि इच्छाको उपज मानिएको छ । वैज्ञानिकहरुको मत अनुसार बाँदरबाटै मानिस उभिएर हिँड्ने भए । त्यसमा पनि ती मानिसका प्रत्यासीहरु केवल बाँदर ररिरहे जो मानिस हुने अज्ञात चाहनाबाट प्रभावित बन्न सकेनन् । यद्यपि, बाँदर र मानिस यतिबेला दुई बेगल प्राणीका रुपमा अस्तित्वमा छन् यी दुई बीचको प्रवृत्ति, चिन्तन, विवेक, चेतना आदि कुरामा आकाश–पातल अन्तर छ । जो केवल बाँदरका रुपमा जीवित प्रजाति छ, ऊ केवल आफ्नो पेटका लागि अरु उपर नोक्सानी पु¥याइरहन्छ । तर, जो विकसित प्रजाति ऊ नियत, आशक्ति, ईष्र्या, द्वेष, कारण, स्वार्थ इत्यादिका कारण अरु उपर हावी बनिरहन चाहन्छ । यसर्थ, विवेक नभएको मान्छे पुस्ताले गरेको गल्ती क्षम्य हुन सक्छ तर विवेकशील बाँदरहरुको गल्ती अक्षम्य हुनेछ ।

मैले बुझेको सामान्य निष्कर्ष के हो भने आफूले चाहे आकाशै खस्ता पनि नपिरोलिने मान्छेको मन र वुद्धि आफ्नो चाहनाका खिलाफ, जून धर्तिमा उत्रिँदा पनि पुल्ठा बालेरै विरोधको नारा घन्काउन लागि पर्छ । अर्थात, आफ्ना लागि मात्रै मान्छेले सञ्चय गरी ल्याएको मन, दया, करुणा र संवेदनशीलता यति संकुचित बन्यो कि अन्ततः त्यो कल्याणको महासागर एक थोपा आँसुका अघि समेत मूल्यहीन मात्र बनिरह्यो ।

0 प्रतिकृया:

Post a Comment