एमालेले विदेश जान रोक लगायो – मुख्य समाचार

महरा पनि विदेश नजाने
काठमाडौ, चैत्र ३/नेकपा एमालेले शान्ति र संविधानको प्रक्रिया नटुंगिएसम्म आफ्ना शीर्ष नेता तथा सभासदहरुलाई विदेश जानबाट रोक लगाएको छ । नेताहरुको ठूलो टोल्ऽी विदेश जान लागेको समाचार सार्वजनिक भएर त्यसको आलोचना बढेपछि एमालेले उक्त निर्णय गरेको हो ।

एमाले संसदीय दलको बिहीबार जारी बैठकमा पहिलो प्रस्तावको रुपमा नेताहरुको विदेश भ्रमण बारे चर्चा भएको थियो । सो प्रस्ताव उपर छलफल भएर सर्वसम्मत ढंगले शान्ति र संविधान प्रक्रिया नटुंगिएसम्मका लागि नेताहरुको विदेश भ्रमणमा रोक लगाउने निर्णय भएको एमाले सभाषद् रामनाथ ढकालले बताए । युवा सभासदहरुले नेताको विदेश भ्रमणप्रति आपत्ति जनाएका थिए ।
जारी बैठकमा अध्यक्ष झलनाथ खनालले विदेश भ्रमणमा रोक लगाईको सर्वसम्मत निर्णय सुनाएका छन् । पार्टीको यो निर्णयसंगै शुक्रबार स्विट्जरल्याण्ड जाने तयारीमा रहेका ईश्वर पोखरेल, भीम रावल, प्रदीप ज्ञवाली र उषाकला राईको भ्रमण रद्द हुने भएको छ । पोखरेल र रावल सेना समायोजन विशेष समितिको सदस्य पनि हु्न् । समितिमा रहेका अन्य पार्टीका नेताहरु समेत विदेश जाने भएपछि समितिको बैठकलाई कोरम नपुग्ने स्थिति रहेको थियो ।
यस्तै माओवादी नेता कृष्णबहादुर महराले पनि आफ्नो स्विट्जरल्यान्ड भ्रमण रद्द गरेका छन् । ठूलो संख्यामा नेताहरु विदेश भ्रमण जान लागेकोमा आलोचना तिव्र भएपछि महराले अन्तिम समयमा नजाने निर्णय लिएका हुन् ।
अधिकारकर्मी पद्मरत्न तुलाधारको आग्रहमा आफू त्यस तर्फ जाने तयारी गरेपनि अहिले भ्रमण स्थगित गरेको महराले बताए । शान्ति र संविधान प्रक्रियामा तिव्रता दिनुको साटो विभिन्न दलका १६ जना नेता शुक्रबार नेपाल ट्रान्जिसन टु पिस, एसिया फाउन्डेसन र स्विट्जरल्यान्ड सरकारको सहकार्यमा जेनेभामा हुन लागेको शान्ति प्रक्रिया र संविधान निर्माण कार्यक्रममा जाने तय भएको थियो । नेताहरु चैत्त ३ मा गएर १० दिनपछि फर्किने कार्यक्रम रहेको छ ।

0 प्रतिकृया:

Post a Comment