हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

दमकका १६६ भवनमा क्षति

दमक । भूकम्पले क्षति पुराएका १ सय ६६ संरचनाहरुको बिवरण दमक नगरपालिकाले जिल्ला दैविक प्रकोप उद्धार समिति झापालाई पठाएको छ । गत बैशाख १२ र २९ गते आएको भूकम्पले दमकमा पुराएको क्षतिको  विवरण नगरपालिकाले आइतबार समितिलाई पठाएको हो । नगरपालिकाले भूकम्पको क्षतिको २९ दिन सम्म अनुगमन गरी प्रतिवेदन पठाएको नगरपालिकाका इन्जीनियर तथा भवन संहिता सम्वन्धिका फोकल पर्सन अनन्त सेनेहाङले जानकारी दिए । १ सय २४ ब्यक्तिका घर, संघ संस्थाहरुको ४२ भवनहरुको अनुगमन गरेको नगरपालिकाले जनाएको छ । २१ सामुदायिक बिद्यालय अन्य भवनहरुको पनि अनुगमन गरेको थियो । नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहाल, इन्जीनियर सेनेहाङ , दमक प्राकृतिक प्रकोप राहत कोषका संयोजक लिला गुरागाई , पत्रकार मञ्च दमकका अध्यक्ष बिष्णु पोखरेल लगायतको टोलीले क्षति भएका भवनको स्थगत अनुगमन गरेको थियो ।  त्यस क्रममा भवनहरुको पर्खाल , बिम, सल्याव चर्किएको भेटिएको छ ।  गैर संरचनामा देखिएका संरचनाको सुधार गर्नु पर्ने आदि प्रतिवेदनमा उल्लेख छ । निजी बिद्यालयहरुमा भर्याङ, रेलिङ होचो रहेको , कोठाको ढोका बाहिरबाट राख्नु पर्ने, डेक्सबेच छुटाउनु पर्ने, प्यासेज बढाउनुपर्ने लगायतका समस्या देखिएका प्रतिवेदनमा उल्लेख छ ।

दमक रवि सडकको अध्यक्षमा ६ जनाको उम्मेवारी

दमक । दमक चिसोपानी रवि फाल्गुनन्द मार्ग उपभोक्ता समितिको निर्वाचनमा ६ जनाले अध्यक्ष पदका लागि उम्मेद्धवारी दिएका छन् । उमेद्धवारी दिनेमा अधिकांश राजनितीक दलकै नेताहरु छन् । निर्वाचन समितिका सदस्य लिला गुरागाईका अनुसार प्रकाश बुढाथोकी, होम बहादुर थापा, रेवतराज पुरी, दिल बहादुर बढाथोकी, घनेन्द्रराज योङया र लोक बहादुर सावाले अध्यक्षका लागि उम्मेदवारी दिएका हुन् । बुढाथोकीद्धय कांग्रेस, थापा एमाले, पुरी एमाओबादी, योङ्या राप्रपा नेपाल, सावा संघिय समाजबादीका नेता हुन् । समितिको सहअध्यक्षमा दमकका गोविन्द बस्नेत र इलामको इभाङका पूर्ण  बहादुर बस्नेत, बरिष्ठ उपाध्यक्षमा दमककै मणी कुमार भण्डारी र सुशिल कुमार राई, उपाध्यक्षमा इभाङकै  बिनोद कुमार नेम्वाङ र डिक बहादुर लिम्वूले उमेद्धवारी दिएका छन् । महिला उपाध्यक्षमा दमककी हरिदेवी राई र बाँझोकी भगवती श्रेष्ठले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ । महासचिबमा इभाङका हेमन्त राई र लखनपुरका प्रेमकुमार थाम्सुहाङ ,सचिबमा दमकका दिल कुमार लावती र लुम्देका नरेन्द्र सुब्बा, महिला सचिबमा दमककै लिलादेवी दाहाल र छमीला तामाङ, कोषाध्यक्षमा दमककै नैनबहादुर भण्डारी र मोहन धिमाल उम्मेदवार रहेका छन् । यसैगरी लखनपुकी नरमाया तामाङ, दमककी हर्क माया तामाङ, सुजता अधिकारी, पदमा अधिकारी , दुर्गादेवी खनाल र ओममाया आङदेम्वे महिला सदस्यका लागि उम्मेदवारी दिएका छन् । उपभोक्ता समितिका अन्य सदस्यहरु २९ जना सहित जम्मा ५७ जनाले उम्मेदवारी दिएको गुरांगाईले जानकारी दिए । आइतबार अपरान्ह ५ बजेसम्म उमेद्धवारी दर्ता गर्ने समय भएकाले त्यस अवधिमा उमेद्धवारी परेको हो । उमेद्धवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने समयावधि जेठ १२ गतेसम्म अपरान्ह भएकाले फिर्ता हुने सम्भावना छ ।
जेठ १३ गते निर्बाचन हुने भनिए पनि प्रक्रियामा बिषयमा सहमती नजुटेपछि मिती पर सारिएको थियो । उपभोक्ता समितिमा इलाम,  पांचथरको दक्षिण र झापाको दमक क्षेत्रका गरी कुल १ हजार १ सय ३ जना मतदाता  रहेका छन् । आगामी १५ गते दमकको रेडक्रस भवन र  १६ गते इलामको बांझो गाबिसको खलंगे स्कूलमा निर्बाचन गरिने समितिले जनाएको छ ।

शिबिर र बाटोका रुखहरु काट्ने सहमति

दमक । जिल्ला प्रशासन, बन कार्यलय र शरणार्थीबीच भुटानी शरणार्थीे शिविर र बाटोलाई अवरोध गरेका रुखहरु काट्ने सहमति भएको छ । आइतबार दिउँसो दमकस्थित बेलडागीमा झापाका सहायक प्रमुख जिल्ला अधिकारी कमल बहादुर थापा, जिल्ला बनका प्रमुख सहितका सरकारी अधिकारी र शिविर ब्यवस्थापन समितिसंग भएको छलफलमा त्यस्तो सहमति भएको हो । शिविर आसपासको बाटो, शिविर भित्र रहेका रुख काट्ने सहमति भएको हो । सोमबारदेखि बाटो छेउका रुखहरुको हागाँहरु काट्ने सहमति भएको शिविर सचिव सञ्चहाङ सुब्वाले जानकारी दिए । बुढा रुखहरु काट्नका लागि ४ दिन सम्ममा प्रकृया पुरा गरेपछिमात्र रुख काट्न थालिने पनि सहमति भएको सुब्वाले बताए । शनिबार राती आएको हावाहुरीमा परेर दमक स्थित शरणार्थी शिविर वेलडाँगी  सेक्टर २ वी÷१ छाप्रा नं. ९७ की ४ बर्षीय बालिका एलिसा राईको मुत्यु भएको थियो । उनको मृत्युपछि आक्रोसित शरणार्थीहरुले मृतक राईका लास राखेर रुख काट्न धर्ना दिएका थिए । प्रत्येक बर्षजसो आउने हावाहुरीले रुख लडाउदा शिबिरका शरणार्थीको मृत्यु हुने गरेको छ । शरणाथीको मृत्यु भएपछि सधै शिबिरभित्रका रुखहरु हटाउने आवाज उठाउदै आएपनि कार्यन्वयन हुन सकेको छैन । यूएनएचसीआर दमकले बालिका राईको क्रियाखर्च २५ हजार रुपैयाँ र घाइते आमा मनमायाको उपचार खर्च दिने बताइएको छ । छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी थापा, शिविर सचिव सुब्बा, बन कार्यलयका क्षेत्रीय निर्देशक प्रकाशनाथ प्याकुरेल, जिल्ला बन कार्यालय झापाका प्रमुख इन्द्रमणी भण्डारी, शसस्त्र प्रहरी बल पाथिभरा गण लखनपुरका गणपति भरतबाबु केसी, हंसे दुम्से सामुदायिक बन दमकका अध्यक्ष हिमालय दाहाल, सामुदायिक बन सञ्जालका अध्यक्ष नैनसिंह भण्डारी, यूएनएचसीआर दमकका प्रतिनिधि लगायतको  सहभागीता रहेको थियो ।  छलफलमा सोमबारबाट शिविर भित्रका रुखहरुको हाँगा काट्ने, जोखिम अवस्थामा रहेका रुखलाई चाँडै कानुनी प्रकृया पुरा गरी कटान गर्ने, घाईतेको उपचार र मृतकको क्षतिपुर्तिका लागि पहल गर्ने लगायतका चार बुँदे सहमति पछि मृतक बालिकाको शबलाई विधिवत दाहसंस्कार गर्ने सहमति भएको सहायक प्रजिअ थापाले बताए ।

हावाहुरी र चट्याङले धनजनको ठुलो क्षति

►► पूर्वमा चारको मृत्यु 

 ►► ६ जना घाइते

►► सयौं घरमा क्षति  

 ►► विद्युत सेवा अवरुद्ध


दमक । शनिबार रातीको हावाहुरी तथा चट्याङका कारण पूर्वमा एक बालिकासहित ४ जनाको ज्यान गएको छ । ६ जना सख्त घाइते भएका छन् । लाखौको धनमाल क्षति भएको छ ।
हावाहुरीले घर नजिकैको सखुवाको रुख लडाउँदा रुखले किचेर झापाको दमकस्थित भूटानी शरणार्थी बेलडाँगी २, सेक्टर बीवान, छाप्रा नम्बर ९७ का ४ वर्षीया एलिशिवा राईको ज्यान गएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । सुतिरहेको अवस्थामा रुखले लागेर राईकी आमा ३८ वर्षीया मनमाया राई सख्त घाईते भएकी छन् । उनको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । शिविरमा छाप्रा नजिक रहेका रुखहरु हटाउन शरणार्थीहरुले बारम्बार माग गर्दै आएका थिए । उता हावाहुरीले लडाउँदा मोरङको पथरीशनिश्चरे १२ का ५५ वर्षिय कमल अधिकारीको ज्यान गएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । हावाहुरी चलेको बेला शौचालय जान भनेर हिडेका उनी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । त्यस्तै, हावाहुरीकै कारण रुखले किचेर शनिबार राती धरानको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी डा. रञ्जना देवकोटाको मृत्यु भएको छ । राति साढे ८ बजेतिर हावाहुरीका कारण रुख लडेर किच्दा प्रतिष्ठानको हाताभित्रै रहेको आवास गृहमा रहेकी देवकोटाको मृत्यु भएको अस्थायी प्रहरी पोष्ट घोपाका प्रहरी नायव निरीक्षक तिलकबहादुर गिरीले जानकारी दिए । त्यस्तै हावाहुरीले उदयपुरको रौताहा गाविस–९ गुराँसेकी २० बर्षीया मुना थामा मगरको पनि ज्यान गएको छ । हावाहुरीले घरको छाना उढाएपछि घर वाहिर निस्किएकी मगरलाई छिमेकीको घरको जस्तापाताले लाग्दा मृत्यु भएको स्थानीय शिक्षक विरेन्द्रकुमार मगरले जनाए । त्यहाँ झण्डै ५ सय घरहरुमा क्षति पुगेको छ ।
 त्यसैगरि ओखलढुंगाको पात्ले ९ मा शनिवार बेलुकाको चट्याङ लागेर ३१ वर्षकी देवी लामिछानेको ज्यान गएको प्रहरीले जनाएको छ । चट्याङ लाग्दा पात्लेकै ५ जना सख्त घाइते भएका छन् । घाइतेहरुको उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक डम्बरबहादुर विकले बताए ।
हावाहुरीले झापा सहित पुर्बका जिल्ला लाखौको धनमाल क्षति भएको छ । झापामा पिडित परिवार संख्या २११, १ सय पंक्षी, १३ पक्की र ६० कच्ची घरमा क्षति भएको छ । त्यसमा २१ पुर्ण क्षति र ५२ वटा आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ । हावाहुरीका कारण रुख ढलेर मोरङको सुन्दरपुर याङशिला सडक अवरुद्ध बनेको थियो । बाटोमा रुख ढलेर सवारी साधन आवत जावतमा समस्या भएको स्थानीयबासीले बताएका छन् । बाटोमा दर्जनौ स्थानमा रुख ढलेको थियो । केराबारी ६ का गोबिन्द खतिवडा, केराबारी ७ का युवराज कट्वाल लगायत अन्य दर्जन बढि स्थानियबासीका घर गोठको छाना समेत उडाएको छ । झापाको दमक र आसपासमा पनि रुखहरु लडेका छन् । केही घरहरुमा सामान्य क्षति पुगेको छ । मोरङ, इलाम, सुनसरी लगायतका सयौं घरमा हावाहुरीले क्षति पुर्याएको छ । हावाहुरीले क्षति पुर्याउदा बिद्युत लाइन बन्द जस्तै छ । दमकमा शनिबारदेखि गएको बिद्युत लाइन आइतबार दिउसो केही समयमात्र आएको थियो । झापाका ग्रामीण क्षेत्रमा बिद्युतका दर्जनौ  पोलहरु भत्किएका छन् । जसका कारण ती क्षेत्रमा बिजुली बलेको छैन ।

दुब्र्यसनमुक्त अभियानमा लागौं

युवा उमेरमा विभिन्न लहडले मानिसलाई विगार्न सक्छ । चञ्चल उमेरमा होस पुर्याउनमा कमजोरी गरियो भनें जीवनमा पछुताउनु पर्ने अवस्था हुन्छ । युवा पुस्तालाई परिवार र समाजले सजक बनाउन लागिएन भनें देशको सुन्दर भविष्यमा असर पर्छ ।
अधिकारका पक्षधरहरुले लागु पदार्थलाई ‘लागू औषध’ भन्ने गर्छन् । तर औषधिका रुपमा प्रयोग नभई दुब्र्यसनको वस्तुका रुपमा यसलाई प्रयोग गरिएपछि यो समाजका लागि कालो बस्तु बन्यो । झापामा पनि युवाहरु लागू पदार्थको दुव्र्यसनमा फसेर आफ्नो सुन्दर भविष्यमा आफैंले प्रहार गरिरहेका छन् । दमक क्षेत्रमा पनि यसको असर प्रत्यक्ष रुपमै धेरै देखिएको छ । दमक नगर क्षेत्रका खाली र एकान्त ठाउँहरुमा उनीहरुले आफ्नो सुरक्षित अखडा बनाइरहेका छन् । उनीहरुले होहल्ला गर्दै अपशब्द बोल्ने तथा चोरी समेत गर्ने गरेका कारण स्थानीयहरु त्रसित बनिरहेका छन् । दमक ११ को पुरानो सब्जी बजारस्थित नगरपालिकाको खाली जग्गामा उनीहरुले अखडा बनाएर स्थानीयलाई हैरान खेलाएको अवस्था छ ।
उनीहरुको क्रियाकलाप देखेर नव युवा पुस्ताले पनि त्यही सिक्ने खतरा हुन्छ । त्यसो गर्दा कसो हुँदो रहेछ भन्ने जिज्ञासु उमेरकाहरुले त्यसको सिको गर्न सक्छन् र आफुलाई डरलाग्दो भासमा पुर्याउँछन् ।
यसखाले डरलाग्दोस्थिती सवैतिर फैलिएको छ । यसमा परिवार विशेष सचेत बन्नु पर्ने हुन्छ । पारिवारिक वातावरणले उनीहरुलाई असल र खराब कामका बारेमा जानकारी गराएर उनीहरुप्रति सधैं निगरानी बढाउनु पर्ने हुन्छ । अनि दुव्र्यसनका क्षेत्रमा काम गर्ने संघ संस्था, नगरपालिकाले पनि उनीहरुलाई सुधार्नका लागि साँच्चीकै दर्विलो कार्यक्रम ल्याउनु पर्छ । नत्र यो संख्या दिनानुदिन घट्नुको साटो बढ्ने अवस्था हुन्छ । विदेशतिरका कुराहरु देखासिकी गर्ने चलनले पनि नराम्रा कुराहरुको देखासिकी गर्न युवाहरुलाई प्रेरित गरिरहेको हुन्छ । यसको व्यापार गर्नेहरु मौलाइरहेका हुन्छन् । सरकारले यस्ता कारोबारीलाई कडा कारबाहीमा तदारुकता देखाउनु पर्छ ।
यदी हामी सवै पक्ष जुटेनौं भनें तपाई हाम्रा बालबालिकाहरु यस्ता कुलतमा फस्छन् र समाज अनि राष्ट्रको दिशानिर्देशमा गम्भिर असर पर्छ । सचेतनातर्फको समाज रुपान्तर र पुस्ताहस्तान्तरणमा ठूलो आँच आउँछ ।

शुल्क तिर्ने पैसा र लुगा नहुँदा दलित बालकहरु विद्यालय जान वञ्चित

दमक । सरकारले हरेक बालबालिकालाई निशुल्क शिक्षा दिने भन्दै बर्षेनी अर्बौ बजेट खर्चिन्छ । तर त्यसको सही सदुपयोग भएको छ कि छैन भनेर हेरेको देखिदैन । त्यो बजेट अझै पनि लक्षित बर्गले नपाएको देखिन्छ । यसैको उदाहरण बनेका छन् दमक १२ को सुकुम्बासी बस्तीका दलित बालकहरु । दमक १२ को एक सुकुम्बासी बस्तीका मान बहादुर बराइलीका  छोराहरु भर्ना शुल्क र पोशाक नभएका कारण सरकारी बिद्यालयमा समेत भर्ना हुनबाट बञ्चित छन् । राज्यले सुबिधा दिएपनि बराइलीका छोराहरु भर्ना शुल्क दिन र पोशाक किन्न नसक्दा बिद्यालय जानबाट बञ्चित छन् । उनका ८ सन्तानमध्ये ३ जना बालक त अध्ययनका लागि धेरै इच्छा हुँदाहुँदै पनि बिद्यालय जान सकेका छैनन् । ८ सन्तानमध्ये कसैले पनि बिद्यालय जान पाएनन् । अरु ठुला भएपनि १४ बर्षिय मिलन, १० बर्षिय चेत बहादुर  र ९ बर्षिय शेर बहादुर भने अहिले पनि बिद्यालय जान चाहन्छन् । बराइली परिवारको अर्को समस्या भने झनै कहालीलाग्दो छ । रतुवा खोला नजिक रहेको उनीहरुको घर केही बर्षअघि रतुवा खोलाले बगाएको थियो । त्यसपछि उनीहरु स्थानीय अशोक राईको घरमा भाडामा बसिरहेको छ । भाडा तिर्न नसक्दा
त्यहाबाट पनि जानुपर्ने दवाव आइरहेको स्थानीय युवा श्याम कार्कीले बताए । भर्ना शुल्क र पोशाक किन्ने पैसा नहुदा छोराहरुलाई बिद्यालय पठाउन नसकेको बुवा मान बहादुरले बताए । तीन बर्षअघि बिद्यालय भर्ना गर्न जादा पोशाक अनिबार्य लगाएर आउनुपर्छ भनेपछि छोराहरुलाई बिद्यालय पठाउन नसकेको उनले बताए । केहीदिन अघि स्थानीय युवा कार्कीले उनीहरुलाई भर्ना गर्नका लागि स्थानीय पृथ्वी निमाबिमा पुग्दा भर्ना शुल्क माग गरेको बताए । दलित बालबालिकालाई अध्ययनका लागि सरकारले धेरै सेवा सुबिधा दिएपनि यी दलित बालिकाहरुलाई भर्ना शुल्क माग गर्दा आफु अचम्मित भएको कार्कीले बताए । यसप्रति युवा संघ दमकले चासो देखाएको छ । संघका नगर अध्यक्ष राम पौडेल र दमक १२ का अध्यक्ष श्याम कार्कीले शनिबार एक बिज्ञप्ति जारी गरि उनीहरुलाई अध्ययनका लागि बाताबरण तयार गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । निशुल्क शिक्षा दिने सरकारको निती बिपरित बिद्यालयले शुल्क मागेकोप्रति ध्यानाकर्षण भएको युवासंघले जनाएको छ ।

नगरपालिकाको जग्गा दुव्र्यसनको अखडा

- चिरञ्जिबी घिमिरे
दमक । दमक नगरपालिकाको नाममा रहेको अधिकांश खाली जग्गा लागुपदार्थ सेवन गर्नेको अखडा बनेको छ । नगरपालिकाको नाममा रहेर हाल प्रयोगमा नआएका जग्गाहरुमा यस्तो भेटिएको हो । दमक गरपलिकाको विभिन्न वडाहरुमा करिव १३ विगाहा जग्गा नगरपालिकाको स्वमित्वमा रहेको छ् । यस्ता जग्गाहरुमा नगरपालिकाले बिभिन्न संरचना निर्माण गर्न वस्ति बसेका ठाँउहरुमा बस्ती खालि गर्ने काम भइरहेको छ । दमक नगरपलिकाको वडा नं. ११ को पुरानो सब्जि बजारमा रहेको खाली जग्गामा साँझ पर्न नपाउँदै यस्ता खाले युवाहरुको भिड लाग्ने गरेको छ । त्यहाँस्थित दमक नगरपालिकाको नाममा रहेको ३ कट्ठा ८ धुर जग्गा यत्तिकै खालि छोडिदा त्यो ठाउँ त्यस्ता युवाको अखडा बनेको हो । युवाहरु भेला भई अपशव्द प्रयोग गरेर सूई लगाउँदै हिँड्ने गरेका कारण स्थानीय त्रसित बन्नु परेको सन्तवीर टोल विकास संस्थाका अध्यक्ष वीरबहादुर श्रेष्ठले बताए । बेलुकाको समयमा मादक पदार्थ सेवन गरी यस क्षेत्रमा होहल्ला गर्नेहरुले पनि यस स्थललाई सुरक्षित स्थल बनाएका छन् । यस्तो नियतले आएकाहरुलाई सम्झायो भने उल्टै आइलाग्ने गरेको श्रेष्ठ बताए । ‘साँझको समयमा त्यहाँ रहेका पसलहरु पनि चोरी हुने गरेको छ कति पटक त हामी उनीहरुलाई लखेटेका पनि छौ’।– उनले भने । ‘त्यहाँ रहेको एक छेउको नगरपालिकाको जग्गा खाली हुनाले अर्काे छेउको बजार गाउँ जस्तो देखिएको छ र हाम्रो ब्यापार समेत घटेको छ’। –स्थानीयवासी प्रेम भट्राईले भने । यस स्थानमा अन्य क्षेत्रबाट आएकाले नगरपालिकाको जग्गा मिचेर घर बनाउँदा पनि नगरपालिका भने वेखबर रहेको उनले बताए । यस क्षेत्रमा यस्ता युवाहरुको त्रासले गर्दा मानिसहरु सो बाटो भएर हिँडडुल नगर्दा बजारको चहलपल घटेको अर्का स्थानीय खड्गबहादुर अधिकारीले बताए । ‘नगरपालिकाले प्रहरीसँग मिलेर यस्ता खाली जग्गाका दुव्र्यसनको अखडा भत्काएर शान्ति सुरक्षा कायम गर्न लाग्नु पर्छ ।’–उनले भने । कुनै समयमा नगरपालिकाले खाली रहेका बजारका जग्गामा बजार निर्माण गर्ने सूचना निकाले पनि हालसम्म काम भनें गर्न नसकेको उनले बताए । नगरपालिकाले आफ्ना विभिन्न योजनाहरु एकै पटक अघि सारेर कुनै पनि योजना सफल गर्न नसकेको उनको धारणा छ ।
उता नगरपालिकाले भने आउँदो आर्थिक वर्षदेखि नै पुरानो सब्जी बजार क्षेत्रको सो जग्गामा संरचना निर्माण गरिने बताएको छ । नगरपालिकामा कार्यकारी अधिकृत परिर्वतन भइरहने भएकाले खालि जग्गाको विकासलाइ मूर्त रुप दिन नसकिएको नगरपालिकाका अमिन ऋषिराम घिमिरेले बताए ।

सानिमा बैङ्कद्वारा खुत्रुके सहयोग

लखनपुर । झापाको लखनपुरमा बालबालिकाको क्षेत्रमा क्रियाशील चेतना बाल संरक्षण मञ्चलाई सानिमा बैंकले खुत्रुके सहयोग गरेको छ । शनिबार मञ्चको कार्यालय प्राङ्गणमा एक कार्यक्रमका बीच २ सय ४० थान खुत्रुके कार्यक्रमका प्रमुख अतिथि तथा सानिमा बैंक दमक शाखाका प्रमुख चुडामणी चापागाईंले मञ्चका अध्यक्ष हरि प्रसाद ढकाललाई हस्तान्तरण गरे । चापागाईंले सानिमा बैंकले मञ्चलाई गर्न सक्ने सबै सहयोग आगामी दिनमा पनि गर्दै जाने बताएका थिए । त्यस अवसरमा अध्यक्ष ढकालले मञ्चले लखनपुरमा गर्दै आएको बाल क्लव बिस्तार, बाल पुस्तकालय निर्माण र बाल साप्ताहिक प्रकाशनसँगै खुत्रुके बाल बचत सञ्चालन गर्न लागेको बताए । कार्यक्रममा लखनपुर गा.बि.स.का सचिव राजकुमार शाक्य, पत्रकार मञ्च दमकका अध्यक्ष बिष्णु पोख्रेल, लखनपुर खानेपानी संस्थाकी अध्यक्ष उषा भण्डारी लगायतको उपस्थिती रहेको थियो । 

भूकम्प पिडीतका घर बनाउन हिँडे झापाली युवा

बिर्तामोड । नेकपा एमाले केन्द्रीय कमिटीको निर्देशन अनुसार हालैको भूकम्पबाट अति प्रभावित जिल्लामा उद्धार, राहत र पुनर्निर्माणका लागि झापाबाट १ सय जनाको युवा टोली शनिबार त्यसतर्फ हिडेको छ । टोलीलाई पार्टीले  विदाइ गरेको छ । पार्टीले गठन गरेको ‘भूकम्प पिडीतहरुका लागि राष्ट्रिय स्वयम् सेवक परिचालन अभियान २०७२’ सफल बनाउन बेनु सिवाकोटीको नेतृत्वमा १ सय जनालाई औपचारिक विदाइ गरिएको हो । पार्टी जिल्ला कार्यालय परिसरमा आयोजित कार्यक्रममा अभियानको नेतृत्वकर्ता शिवाकोटी सहित युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य राजु कार्की, जिल्ला अध्यक्ष डम्बर गिरी, लगायतलाई निर्माण कार्यमा प्रयोग गरिने औजारहरु हस्तान्तरण गरियो । अभियानमा संलग्न सबैलाई पार्टीको लोगो अंकित खादा तथा अविर लगाइदिएर विदाई गर्दै पार्टी नेताहरुले भूकम्प पिडीतको आश्रयस्थल बनाएर आउन शुभकामना दिए । पार्टीका जिल्ला अध्यक्ष चिन्तन पाठकको अध्यक्षता, केन्द्रीय सदस्य एवम् मेची अञ्चल इन्चार्ज हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तथा सभासद् रविन कोइराला लगायतले बोलेका थिए ।

राहत ढुवानीको सरल व्यवस्था आवश्यक


नेपाल विपत्तिमा परेको अवस्थामा अन्य देशहरुले आआफ्ना इच्छाले लगातार सहयोग पुर्याइरहेका छन् । अझ त्यसमा पनि भारत, बंगलादेश त झन छिमेकी देश नै भए । उनीहरुले स्थलमार्ग हुँदै सहयोग ल्याइरहेका छन् । तर त्यस्ता राहत सामग्री १५ औं दिनसम्म गोदाममा थन्किनु चाँही राहत दिनेका लागि पनि नराम्रो खवर हुन्छ ।
बंगलादेश सरकारले राहत स्वरुप गत वैशाख २४ गतेदेखि उपलब्ध गराएको चामल झापाको काँकडभिट्टाको गोदाममा थन्किएर बस्यो । आपूर्ति मन्त्रालयले ढुवानीको प्रक्रिया मिलाउन ढिलो गरेका कारण तत्कालको छाक टार्ने राहतका लागि पठाएको चामल १५ दिन गोदाममा थन्किएर बस्नु ज्यादै नराम्रो कुरा हो । अन्यखाले सामग्रीको ढुवानीमा प्रक्रिया पुर्याउँने कुरा त छँदैछ, तर यस्ता आपतकालिन सहयोगका खाद्य वस्तुका लागि छिटो र छरितो अनुमतिको विधि अपनाउनबाट नेपाल सरकार चुकेको छ ।
आपूर्ति सम्बन्धि सरकारी प्रक्रिया थाल्दै यताबाट केही मात्रामा ढुवानीको काम पनि गरिएको झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले जवाफ दिनु भएको छ । भनेको समयमा धेरैवटा ढुवानीका साधन समेत नपाइएकाले ढुवानीमा केही समस्या भएपनि चामल आएपछि थोरै मात्रामा भएपनि ढुवानी थालिएको उहाँको दावी छ । पछिल्ला ३ दिनयता चामल ढुवानीमा केही सक्रियता अपनाइएको छ । थोरै थोरै भएपनि ढुवानी भएको छ । राहतका लागि भनेर बंगलादेशले पठाएको करिव १० हजार मेट्रिक टन उसिना वैशाख २४ गते पहिलो पल्ट काँकरभिट्टा हुँदै बंगलादेशबाट ३ हजार मेट्रिक चामल नेपाल भित्रिएको थियो । त्यसपछि क्रमशः मंगलबारसम्म बंगलादेशले राहत स्वरुप उपलब्ध गराउने भनेको १० हजार मेट्रिक टन चामल सबै आइसकेको छ ।
वर्षायाम सुरु भइसकेकाले बंगलादेशले दिएको चामल भूकम्प प्रभावित क्षेत्रमा अविलम्ब पुर्याउनु पर्ने खाद्य क्वारेन्टाइन प्रयोगशाला काँकरभिट्टाका प्राविधिकहरुले बताएका छन् । हालसम्म गुणस्तरमा समस्या नदेखिएपनि अझै केही समय रहने हो भनें गुणस्तरमा समस्या आउने उनीहरुले बताएका छन् । सरकारले आफुले पीडितहरुलाई राम्ररी राहत उपलब्ध गराउन नसकेको अवस्थामा छिमेकीले दिएको राहत पनि बेलैमा पुर्याउने वन्दोवस्त गर्न नसक्नु लाजमर्दाे विषय हो । सरकार यस्ता कुरामा सचेत बनेर आपूर्तिमा सहजता अपनाउनु पर्छ ।