दुब्र्यसनमुक्त अभियानमा लागौं

युवा उमेरमा विभिन्न लहडले मानिसलाई विगार्न सक्छ । चञ्चल उमेरमा होस पुर्याउनमा कमजोरी गरियो भनें जीवनमा पछुताउनु पर्ने अवस्था हुन्छ । युवा पुस्तालाई परिवार र समाजले सजक बनाउन लागिएन भनें देशको सुन्दर भविष्यमा असर पर्छ ।
अधिकारका पक्षधरहरुले लागु पदार्थलाई ‘लागू औषध’ भन्ने गर्छन् । तर औषधिका रुपमा प्रयोग नभई दुब्र्यसनको वस्तुका रुपमा यसलाई प्रयोग गरिएपछि यो समाजका लागि कालो बस्तु बन्यो । झापामा पनि युवाहरु लागू पदार्थको दुव्र्यसनमा फसेर आफ्नो सुन्दर भविष्यमा आफैंले प्रहार गरिरहेका छन् । दमक क्षेत्रमा पनि यसको असर प्रत्यक्ष रुपमै धेरै देखिएको छ । दमक नगर क्षेत्रका खाली र एकान्त ठाउँहरुमा उनीहरुले आफ्नो सुरक्षित अखडा बनाइरहेका छन् । उनीहरुले होहल्ला गर्दै अपशब्द बोल्ने तथा चोरी समेत गर्ने गरेका कारण स्थानीयहरु त्रसित बनिरहेका छन् । दमक ११ को पुरानो सब्जी बजारस्थित नगरपालिकाको खाली जग्गामा उनीहरुले अखडा बनाएर स्थानीयलाई हैरान खेलाएको अवस्था छ ।
उनीहरुको क्रियाकलाप देखेर नव युवा पुस्ताले पनि त्यही सिक्ने खतरा हुन्छ । त्यसो गर्दा कसो हुँदो रहेछ भन्ने जिज्ञासु उमेरकाहरुले त्यसको सिको गर्न सक्छन् र आफुलाई डरलाग्दो भासमा पुर्याउँछन् ।
यसखाले डरलाग्दोस्थिती सवैतिर फैलिएको छ । यसमा परिवार विशेष सचेत बन्नु पर्ने हुन्छ । पारिवारिक वातावरणले उनीहरुलाई असल र खराब कामका बारेमा जानकारी गराएर उनीहरुप्रति सधैं निगरानी बढाउनु पर्ने हुन्छ । अनि दुव्र्यसनका क्षेत्रमा काम गर्ने संघ संस्था, नगरपालिकाले पनि उनीहरुलाई सुधार्नका लागि साँच्चीकै दर्विलो कार्यक्रम ल्याउनु पर्छ । नत्र यो संख्या दिनानुदिन घट्नुको साटो बढ्ने अवस्था हुन्छ । विदेशतिरका कुराहरु देखासिकी गर्ने चलनले पनि नराम्रा कुराहरुको देखासिकी गर्न युवाहरुलाई प्रेरित गरिरहेको हुन्छ । यसको व्यापार गर्नेहरु मौलाइरहेका हुन्छन् । सरकारले यस्ता कारोबारीलाई कडा कारबाहीमा तदारुकता देखाउनु पर्छ ।
यदी हामी सवै पक्ष जुटेनौं भनें तपाई हाम्रा बालबालिकाहरु यस्ता कुलतमा फस्छन् र समाज अनि राष्ट्रको दिशानिर्देशमा गम्भिर असर पर्छ । सचेतनातर्फको समाज रुपान्तर र पुस्ताहस्तान्तरणमा ठूलो आँच आउँछ ।

0 प्रतिकृया:

Post a Comment