नगरपालिकाको जग्गा दुव्र्यसनको अखडा

- चिरञ्जिबी घिमिरे
दमक । दमक नगरपालिकाको नाममा रहेको अधिकांश खाली जग्गा लागुपदार्थ सेवन गर्नेको अखडा बनेको छ । नगरपालिकाको नाममा रहेर हाल प्रयोगमा नआएका जग्गाहरुमा यस्तो भेटिएको हो । दमक गरपलिकाको विभिन्न वडाहरुमा करिव १३ विगाहा जग्गा नगरपालिकाको स्वमित्वमा रहेको छ् । यस्ता जग्गाहरुमा नगरपालिकाले बिभिन्न संरचना निर्माण गर्न वस्ति बसेका ठाँउहरुमा बस्ती खालि गर्ने काम भइरहेको छ । दमक नगरपलिकाको वडा नं. ११ को पुरानो सब्जि बजारमा रहेको खाली जग्गामा साँझ पर्न नपाउँदै यस्ता खाले युवाहरुको भिड लाग्ने गरेको छ । त्यहाँस्थित दमक नगरपालिकाको नाममा रहेको ३ कट्ठा ८ धुर जग्गा यत्तिकै खालि छोडिदा त्यो ठाउँ त्यस्ता युवाको अखडा बनेको हो । युवाहरु भेला भई अपशव्द प्रयोग गरेर सूई लगाउँदै हिँड्ने गरेका कारण स्थानीय त्रसित बन्नु परेको सन्तवीर टोल विकास संस्थाका अध्यक्ष वीरबहादुर श्रेष्ठले बताए । बेलुकाको समयमा मादक पदार्थ सेवन गरी यस क्षेत्रमा होहल्ला गर्नेहरुले पनि यस स्थललाई सुरक्षित स्थल बनाएका छन् । यस्तो नियतले आएकाहरुलाई सम्झायो भने उल्टै आइलाग्ने गरेको श्रेष्ठ बताए । ‘साँझको समयमा त्यहाँ रहेका पसलहरु पनि चोरी हुने गरेको छ कति पटक त हामी उनीहरुलाई लखेटेका पनि छौ’।– उनले भने । ‘त्यहाँ रहेको एक छेउको नगरपालिकाको जग्गा खाली हुनाले अर्काे छेउको बजार गाउँ जस्तो देखिएको छ र हाम्रो ब्यापार समेत घटेको छ’। –स्थानीयवासी प्रेम भट्राईले भने । यस स्थानमा अन्य क्षेत्रबाट आएकाले नगरपालिकाको जग्गा मिचेर घर बनाउँदा पनि नगरपालिका भने वेखबर रहेको उनले बताए । यस क्षेत्रमा यस्ता युवाहरुको त्रासले गर्दा मानिसहरु सो बाटो भएर हिँडडुल नगर्दा बजारको चहलपल घटेको अर्का स्थानीय खड्गबहादुर अधिकारीले बताए । ‘नगरपालिकाले प्रहरीसँग मिलेर यस्ता खाली जग्गाका दुव्र्यसनको अखडा भत्काएर शान्ति सुरक्षा कायम गर्न लाग्नु पर्छ ।’–उनले भने । कुनै समयमा नगरपालिकाले खाली रहेका बजारका जग्गामा बजार निर्माण गर्ने सूचना निकाले पनि हालसम्म काम भनें गर्न नसकेको उनले बताए । नगरपालिकाले आफ्ना विभिन्न योजनाहरु एकै पटक अघि सारेर कुनै पनि योजना सफल गर्न नसकेको उनको धारणा छ ।
उता नगरपालिकाले भने आउँदो आर्थिक वर्षदेखि नै पुरानो सब्जी बजार क्षेत्रको सो जग्गामा संरचना निर्माण गरिने बताएको छ । नगरपालिकामा कार्यकारी अधिकृत परिर्वतन भइरहने भएकाले खालि जग्गाको विकासलाइ मूर्त रुप दिन नसकिएको नगरपालिकाका अमिन ऋषिराम घिमिरेले बताए ।

0 प्रतिकृया:

Post a Comment