शुल्क तिर्ने पैसा र लुगा नहुँदा दलित बालकहरु विद्यालय जान वञ्चित

दमक । सरकारले हरेक बालबालिकालाई निशुल्क शिक्षा दिने भन्दै बर्षेनी अर्बौ बजेट खर्चिन्छ । तर त्यसको सही सदुपयोग भएको छ कि छैन भनेर हेरेको देखिदैन । त्यो बजेट अझै पनि लक्षित बर्गले नपाएको देखिन्छ । यसैको उदाहरण बनेका छन् दमक १२ को सुकुम्बासी बस्तीका दलित बालकहरु । दमक १२ को एक सुकुम्बासी बस्तीका मान बहादुर बराइलीका  छोराहरु भर्ना शुल्क र पोशाक नभएका कारण सरकारी बिद्यालयमा समेत भर्ना हुनबाट बञ्चित छन् । राज्यले सुबिधा दिएपनि बराइलीका छोराहरु भर्ना शुल्क दिन र पोशाक किन्न नसक्दा बिद्यालय जानबाट बञ्चित छन् । उनका ८ सन्तानमध्ये ३ जना बालक त अध्ययनका लागि धेरै इच्छा हुँदाहुँदै पनि बिद्यालय जान सकेका छैनन् । ८ सन्तानमध्ये कसैले पनि बिद्यालय जान पाएनन् । अरु ठुला भएपनि १४ बर्षिय मिलन, १० बर्षिय चेत बहादुर  र ९ बर्षिय शेर बहादुर भने अहिले पनि बिद्यालय जान चाहन्छन् । बराइली परिवारको अर्को समस्या भने झनै कहालीलाग्दो छ । रतुवा खोला नजिक रहेको उनीहरुको घर केही बर्षअघि रतुवा खोलाले बगाएको थियो । त्यसपछि उनीहरु स्थानीय अशोक राईको घरमा भाडामा बसिरहेको छ । भाडा तिर्न नसक्दा
त्यहाबाट पनि जानुपर्ने दवाव आइरहेको स्थानीय युवा श्याम कार्कीले बताए । भर्ना शुल्क र पोशाक किन्ने पैसा नहुदा छोराहरुलाई बिद्यालय पठाउन नसकेको बुवा मान बहादुरले बताए । तीन बर्षअघि बिद्यालय भर्ना गर्न जादा पोशाक अनिबार्य लगाएर आउनुपर्छ भनेपछि छोराहरुलाई बिद्यालय पठाउन नसकेको उनले बताए । केहीदिन अघि स्थानीय युवा कार्कीले उनीहरुलाई भर्ना गर्नका लागि स्थानीय पृथ्वी निमाबिमा पुग्दा भर्ना शुल्क माग गरेको बताए । दलित बालबालिकालाई अध्ययनका लागि सरकारले धेरै सेवा सुबिधा दिएपनि यी दलित बालिकाहरुलाई भर्ना शुल्क माग गर्दा आफु अचम्मित भएको कार्कीले बताए । यसप्रति युवा संघ दमकले चासो देखाएको छ । संघका नगर अध्यक्ष राम पौडेल र दमक १२ का अध्यक्ष श्याम कार्कीले शनिबार एक बिज्ञप्ति जारी गरि उनीहरुलाई अध्ययनका लागि बाताबरण तयार गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । निशुल्क शिक्षा दिने सरकारको निती बिपरित बिद्यालयले शुल्क मागेकोप्रति ध्यानाकर्षण भएको युवासंघले जनाएको छ ।

0 प्रतिकृया:

Post a Comment