शिबिर र बाटोका रुखहरु काट्ने सहमति

दमक । जिल्ला प्रशासन, बन कार्यलय र शरणार्थीबीच भुटानी शरणार्थीे शिविर र बाटोलाई अवरोध गरेका रुखहरु काट्ने सहमति भएको छ । आइतबार दिउँसो दमकस्थित बेलडागीमा झापाका सहायक प्रमुख जिल्ला अधिकारी कमल बहादुर थापा, जिल्ला बनका प्रमुख सहितका सरकारी अधिकारी र शिविर ब्यवस्थापन समितिसंग भएको छलफलमा त्यस्तो सहमति भएको हो । शिविर आसपासको बाटो, शिविर भित्र रहेका रुख काट्ने सहमति भएको हो । सोमबारदेखि बाटो छेउका रुखहरुको हागाँहरु काट्ने सहमति भएको शिविर सचिव सञ्चहाङ सुब्वाले जानकारी दिए । बुढा रुखहरु काट्नका लागि ४ दिन सम्ममा प्रकृया पुरा गरेपछिमात्र रुख काट्न थालिने पनि सहमति भएको सुब्वाले बताए । शनिबार राती आएको हावाहुरीमा परेर दमक स्थित शरणार्थी शिविर वेलडाँगी  सेक्टर २ वी÷१ छाप्रा नं. ९७ की ४ बर्षीय बालिका एलिसा राईको मुत्यु भएको थियो । उनको मृत्युपछि आक्रोसित शरणार्थीहरुले मृतक राईका लास राखेर रुख काट्न धर्ना दिएका थिए । प्रत्येक बर्षजसो आउने हावाहुरीले रुख लडाउदा शिबिरका शरणार्थीको मृत्यु हुने गरेको छ । शरणाथीको मृत्यु भएपछि सधै शिबिरभित्रका रुखहरु हटाउने आवाज उठाउदै आएपनि कार्यन्वयन हुन सकेको छैन । यूएनएचसीआर दमकले बालिका राईको क्रियाखर्च २५ हजार रुपैयाँ र घाइते आमा मनमायाको उपचार खर्च दिने बताइएको छ । छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी थापा, शिविर सचिव सुब्बा, बन कार्यलयका क्षेत्रीय निर्देशक प्रकाशनाथ प्याकुरेल, जिल्ला बन कार्यालय झापाका प्रमुख इन्द्रमणी भण्डारी, शसस्त्र प्रहरी बल पाथिभरा गण लखनपुरका गणपति भरतबाबु केसी, हंसे दुम्से सामुदायिक बन दमकका अध्यक्ष हिमालय दाहाल, सामुदायिक बन सञ्जालका अध्यक्ष नैनसिंह भण्डारी, यूएनएचसीआर दमकका प्रतिनिधि लगायतको  सहभागीता रहेको थियो ।  छलफलमा सोमबारबाट शिविर भित्रका रुखहरुको हाँगा काट्ने, जोखिम अवस्थामा रहेका रुखलाई चाँडै कानुनी प्रकृया पुरा गरी कटान गर्ने, घाईतेको उपचार र मृतकको क्षतिपुर्तिका लागि पहल गर्ने लगायतका चार बुँदे सहमति पछि मृतक बालिकाको शबलाई विधिवत दाहसंस्कार गर्ने सहमति भएको सहायक प्रजिअ थापाले बताए ।

0 प्रतिकृया:

Post a Comment