हावाहुरी र चट्याङले धनजनको ठुलो क्षति

►► पूर्वमा चारको मृत्यु 

 ►► ६ जना घाइते

►► सयौं घरमा क्षति  

 ►► विद्युत सेवा अवरुद्ध


दमक । शनिबार रातीको हावाहुरी तथा चट्याङका कारण पूर्वमा एक बालिकासहित ४ जनाको ज्यान गएको छ । ६ जना सख्त घाइते भएका छन् । लाखौको धनमाल क्षति भएको छ ।
हावाहुरीले घर नजिकैको सखुवाको रुख लडाउँदा रुखले किचेर झापाको दमकस्थित भूटानी शरणार्थी बेलडाँगी २, सेक्टर बीवान, छाप्रा नम्बर ९७ का ४ वर्षीया एलिशिवा राईको ज्यान गएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । सुतिरहेको अवस्थामा रुखले लागेर राईकी आमा ३८ वर्षीया मनमाया राई सख्त घाईते भएकी छन् । उनको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । शिविरमा छाप्रा नजिक रहेका रुखहरु हटाउन शरणार्थीहरुले बारम्बार माग गर्दै आएका थिए । उता हावाहुरीले लडाउँदा मोरङको पथरीशनिश्चरे १२ का ५५ वर्षिय कमल अधिकारीको ज्यान गएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । हावाहुरी चलेको बेला शौचालय जान भनेर हिडेका उनी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । त्यस्तै, हावाहुरीकै कारण रुखले किचेर शनिबार राती धरानको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी डा. रञ्जना देवकोटाको मृत्यु भएको छ । राति साढे ८ बजेतिर हावाहुरीका कारण रुख लडेर किच्दा प्रतिष्ठानको हाताभित्रै रहेको आवास गृहमा रहेकी देवकोटाको मृत्यु भएको अस्थायी प्रहरी पोष्ट घोपाका प्रहरी नायव निरीक्षक तिलकबहादुर गिरीले जानकारी दिए । त्यस्तै हावाहुरीले उदयपुरको रौताहा गाविस–९ गुराँसेकी २० बर्षीया मुना थामा मगरको पनि ज्यान गएको छ । हावाहुरीले घरको छाना उढाएपछि घर वाहिर निस्किएकी मगरलाई छिमेकीको घरको जस्तापाताले लाग्दा मृत्यु भएको स्थानीय शिक्षक विरेन्द्रकुमार मगरले जनाए । त्यहाँ झण्डै ५ सय घरहरुमा क्षति पुगेको छ ।
 त्यसैगरि ओखलढुंगाको पात्ले ९ मा शनिवार बेलुकाको चट्याङ लागेर ३१ वर्षकी देवी लामिछानेको ज्यान गएको प्रहरीले जनाएको छ । चट्याङ लाग्दा पात्लेकै ५ जना सख्त घाइते भएका छन् । घाइतेहरुको उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक डम्बरबहादुर विकले बताए ।
हावाहुरीले झापा सहित पुर्बका जिल्ला लाखौको धनमाल क्षति भएको छ । झापामा पिडित परिवार संख्या २११, १ सय पंक्षी, १३ पक्की र ६० कच्ची घरमा क्षति भएको छ । त्यसमा २१ पुर्ण क्षति र ५२ वटा आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ । हावाहुरीका कारण रुख ढलेर मोरङको सुन्दरपुर याङशिला सडक अवरुद्ध बनेको थियो । बाटोमा रुख ढलेर सवारी साधन आवत जावतमा समस्या भएको स्थानीयबासीले बताएका छन् । बाटोमा दर्जनौ स्थानमा रुख ढलेको थियो । केराबारी ६ का गोबिन्द खतिवडा, केराबारी ७ का युवराज कट्वाल लगायत अन्य दर्जन बढि स्थानियबासीका घर गोठको छाना समेत उडाएको छ । झापाको दमक र आसपासमा पनि रुखहरु लडेका छन् । केही घरहरुमा सामान्य क्षति पुगेको छ । मोरङ, इलाम, सुनसरी लगायतका सयौं घरमा हावाहुरीले क्षति पुर्याएको छ । हावाहुरीले क्षति पुर्याउदा बिद्युत लाइन बन्द जस्तै छ । दमकमा शनिबारदेखि गएको बिद्युत लाइन आइतबार दिउसो केही समयमात्र आएको थियो । झापाका ग्रामीण क्षेत्रमा बिद्युतका दर्जनौ  पोलहरु भत्किएका छन् । जसका कारण ती क्षेत्रमा बिजुली बलेको छैन ।

0 प्रतिकृया:

Post a Comment