हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

जहदाको साधारणसभा

दमक/  दमक–१९ स्थित जहदा टोल विकास संस्थाको वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष भक्तबहादुर धिमालको सभापतित्व र वडास्तरीय टोल विकास सञ्जालका अध्यक्ष बद्री खनालको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सञ्चालन सचिव विष्णु धिमालले गरेका थिए । सो सभामा कोषाध्यक्ष कमला श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
सभाले देवबहादुर श्रेष्ठको अध्यक्षतामा पार्वता धिमाल र कोषाध्यक्ष देवी पौडेल चुनिएकी जनाइएको छ ।

बालिकाद्वारा आत्महत्या

गौरीगञ्ज/ गौरीगञ्ज–५ कि एक बालिकाले आत्महत्या गरेकी छिन् ।
श्यामलाल महत्तोकी १४ वर्षिया छोरी कल्पनाले बुधबार बिहान आफ्नै घरमा सलको पासो लगाई आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आत्महत्याको कारण खुलेको छैन ।

आगलागीबाट २८ लाखको क्षति

खाँदबारी÷संखुवासभाको छुट्टाछुट्टै स्थानमा आगलागी भएको छ । ति आगलागीबाट करिब २८ लाख क्षति भएको छ ।
चैनपुर–५ का ओमनाथ गिरीको ३ तले घर आगलागीमा परेर नष्ट भएको छ । सोमबार राति १ बजे लागेको आगलागीका कारण १५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । घरको पछाडि खोले पकाउन बालेको आगो सल्किदा आगलागी भएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

अनुगमनमा आरआरएनको टोली

चुलाचुली/ इलामको चुलाचुली क्षेत्रमा सञ्चालित कार्यक्रमका बारे नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले बुधबार अनुगमन गरेको छ ।
संस्थाका एक टोलीले चुलाचुली क्षेत्रमा संचालित विभिन्न गरिबी निवारण लगायतका कार्यक्रमहरुको बारे अनुगमन गरेको हो । अनुगमनमा संस्थाका केन्द्रीय निर्देशक कुलचन्द्र दाहाल, क्षेत्रीय संयोजक नविन कुमार कार्की, इलाम संयोजक रवि ज्ञवाली, झापा संयोजक दुर्योधन अधिकारी लगायतका टोली सहभागी थिए ।
टोलीले संस्थाले संचालन गरेका कार्यक्रमहरुका बारे स्थानीयबासिन्दासँग छलफल गरेको थियो । संस्थाले डेढ वर्षयता चुलाचुलीका विभिन्न क्षेत्रमा शैक्षिक, सोलार जडान, पशुपालन, कल्भर्ट, भवन निर्माण लगायतका क्षेत्रमा ३० लाख बढीका सहयोग गरी सकेका छन् । चुलाचुली–६ मा पहिलो पटक स्थानीय कृषकहरुको जीवनस्तर उकास्न ५ उत्कृष्ट कृषकहरुलाई २ लाख ३१ हजार ६ सय ६० रुपैयाँ बराबरको ५ वटा उन्नत जातका गाई खरिद गर्न सहयोग पु¥याएका छन् ।

प्रतिष्ठानको महादान वचत

गौरादह/  गौरादह–२ स्थित सितापुरीमा श्री कृष्ण प्रणामी प्रतिष्ठान नेपालले प्राणनाथ क्षेत्र विकास कोष अभियानलाई तिव्रता दिएको छ ।
२०६७ सालदेखि ५ वर्ष भित्रमा प्रतिष्ठानले कोष स्थापनाका लागि प्रतिव्यक्ति एक रुपैयाँका दरले रकम संकलन गर्न अभियान थालेका हुन् । प्रतिष्ठानका सचिव टंकप्रसाद अधिकारीका अनुसार महादान वचत अभियान वर्षका रुपमा सो अभियानबाट अहिलेसम्म ३ सय बढीलाई संगठित गरी कोषको रकम संकलन भइरहेको छ । उनले प्रतिष्ठानले असहाय, बाल, बृद्धबृद्धाका सेवामूलक कार्य गर्नुका साथै गरीब तथा विभिन्न शैक्षिक क्षेत्रहरुमा कार्यहरु गरी आएको बताए ।
२०६२ सालमा स्थापित उक्त प्रतिष्ठानले अघि सारेको सो वचत अभियान कोष निर्माणका लागि विभिन्न क्षेत्रबाट सहयोग भइरहेको बताइएको छ । सो कोषबाट प्रतिष्ठानले सो अवधिसम्म १० लाख रुपैयाँ बढी रकम संकलन गरिने जनाएको छ । सचिव अधिकारीले घोषित अभियान वर्ष भित्र करिब ८ सय बढीलाई संगठित गर्ने लक्ष्य लिएको बताए ।

दिदीमाथि लाठी प्रहार

दुधे/ सतासीधाममा एक व्यक्तिले आफ्नै दिदीलाई लाठी प्रहार गरी घाइते बनाएका छन् ।
बुधबार सामान्य बिवाद हँुदा सतासीधाम–६ का ४६ वर्षीय सूर्य लिम्बूले मोरङ मधुमल्ला–४ बस्ने दिदी मनमायाँ लिम्बूलाई लाठी प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सूर्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घाइते बिराटनगरस्थित न्युरो अस्पतालमा उपचारपछि घर फर्किएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

आमाको हत्या

दाङ/ दाङमा एक छोराले आफ्नी बृद्ध अवस्थाकी आमाको हत्या गरेका छन् । घोराही–१ का पूर्णबहादुर पुनले ७७ वर्षीया आमा सुनिताको हत्या गरेका हुन् ।
घरायसी विवादमा पुनले आमालाई धारिलो हतियार प्रहार गरी मंगलबार राति हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आमाको हत्या गर्ने पुनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रकृया अघि बढाइएको प्रहरीले जनाएको छ ।

अझै सहज भएन ग्याँस

दमक/ झण्डै २ महिनादेखि अभाव शुरु भएको खाना पकाउने ग्याँसको आपूर्ति अझै सहज हुन सकेको छैन ।
आयल निगम मार्फत पर्याप्त मात्रामा ग्याँस उपलब्ध नगराउँदा बजारको अभाव नहटेको बिक्रेताहरुले बताएका छन् । दमकमा रहेको बिभिन्न ग्याँसका ३० ओटा भन्दा बढी ग्याँस डिलरहरुले आफ्ना नियमित ग्राहकलाई समेत ग्याँस उपलब्ध गराउन नसकिएको जनाएका छन् । ग्याँस बिक्रेता महासंघ क्षेत्रीय समितिका सचिव महेन्द्र खड्काका अनुसार दमकमा मात्र दैनिक २ सय भन्दा बढी सिलिण्डर ग्याँसको माग हुने गरेको छ । तर डेढ महिनादेखि मागको २५ प्रतिशत मात्र आपूर्ति हुन सकेको उनले बताए । आपतकालिन अवस्थाका लागि केहि सिलिण्डर ग्याँस भण्डार आवश्यक रहे पनि सो समेत जगेडा गर्न नसकिएको उनले बताए ।
बुधबार साँझ दमक–१३ स्थित सौरभ सप्लायर्समा ग्याँस लिन लागेको उपभोक्ताको भीड ।

महासंघका केन्द्रीय पार्षद लखनपुरका ग्याँस व्यवसायी राजु न्यौपानेले लामो समय देखिको अभावका कारण गाउँमा हुने अत्यावश्यकीय
कार्यमा समेत ग्याँस उपलब्ध गराउन नसकिएको दुखेसो गरे ।
२ दिन यता बिभिन्न कम्पनीका १ हजार सिलिण्डल ग्याँस दमकमा उपलब्ध भएको जनाइएको छ । महासंघका क्षेत्रीय समितिका अध्यक्ष गंगा सिटौलाले ति ग्याँसका सिलिण्डर भण्डार कक्षसम्म पु¥याउन नपाई हात–हातै उपभोक्तालाई उपलब्ध गराइएको बताए । दमकमा रहेको नियमित माग बारे कम्पनीहरुलाई जानकारी गराइएको र उनीहरुले केहि दिन भित्रमा नैं  माग अनुसार ग्याँस उपलब्ध गराउने आश्वासन दिएको उनले जानकारी दिए ।

एमालेको कोहवरा गाउँ अधिवेशन

गौरादह/  नेकपा एमाले कोहवरा गाउँ कमिटीको अध्यक्षमा पुनः छत्रपति सुवेदी सर्वसम्मत चयन भएका छन् ।
बुधबार कोहवरा–७ स्थित जनज्योति माविमा भएको पार्टीको १० औँ गाउँ अधिवेशनले पुनः सुवेदीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा डम्बर न्यौपाने, सचिवमा रमेश रिजाल र सह–सचिवमा ओमराज अधिकारी चयन भएका जनाइएको छ ।
पार्टीका केन्द्रीय सल्लाहकार तथा पूर्व मन्त्री युवराज कार्कीले अधिवेशन उद्घाटन कार्यक्रममा एमालेको गौरवशाली इतिहासलाई निरन्तरता दिन कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले संविधान निर्माण र शान्ति प्रक्रियामा माओवादीलाई जिम्मेवार भएर प्रस्तुत हुन जनताले म्याण्डेड दिएको उल्लेख गर्दै जनभावनाको उपेक्षा नगर्न माओवादीलाई आग्रह गरे ।
कार्यक्रममा पार्टीका जिल्ला कमिटी सदस्य तथा झापा क्षेत्र नं. ६ का इञ्चार्ज मदन अधिकारी, क्षेत्रीय अध्यक्ष योगराज दाहाल, जिल्ला सदस्य बलराम खरेल र खजुरगाछी गाउँ कमिटी अध्यक्ष मोहन कोइरालाले पनि शुभकामना मन्तव्य राखेका थिए ।

साउदीमा तीन अलपत्र

इलाम/ इलाममा शाखा रहेको फोर्सवान प्रा.लि मार्फत बैदेशिक रोजगारका लागि साउदी अरब पुगेका इलामका तीन युवाहरु अलपत्र परेका छन् ।
रोजगारीका लागि साउदी पुगेका इलाम सोयाक–३ का श्याम चौहान, निर्मल कटुवाल र इलाम नगरपालिका–२ का बिरबहादुर मोते अलपत्र अवस्थामा परेको पीडितका आफन्तले बताएका छन् ।  फोर्सवान प्रा.लि इलाम शाखाका प्रबन्धक झापा बुधबारेका गोपीकृष्ण चिमोरियाले राम्रो सेवा सुविधा हुने भन्दै पठाएका थिए । तर अहिले तीनै जनालाई ठगी गरेर झुक्याएर पठाएको र अहिले फर्किन पनि गाह्रो भएको उनीहरुले बताए ।
पीडित परिवारले आफ्ना छोराहरु तत्काल स्वदेश फर्काइ दिने वातावरण मिलाइदिन र ठगीमा संलग्न तीनै जनालाई तत्काल पक्राउ गरी कार्वाहीको माग राखेर उनीहरुले बुधबार जिल्ला प्रशासन कार्यालय इलाममा निवेदन पेश गरेका छन् ।