झापामा कृषि विमा कार्यक्रम असफल

►  तारामणि सापकोटा

विर्तामोड । कृषकले चासो नदेखाउँदा नेपाल सरकारको बाली बिमा कार्यक्रम झापामा असफल भएको छ ।
३ बर्ष अघिबाट सुरु भएको बाली बिमा कार्यक्रममा झापाका ३ जनामात्र कृषक सहभागि छन् । सरकारले बाली तथा पशु पन्छी बिमा निर्देशिका जारी गरी २०६९ माघ १ गतेबाट बिमा कार्यक्रम सुरु गरेको हो । बिमामा लाग्ने ५० प्रतिशत प्रिमियम सरकारले व्यहोर्ने र ५० प्रतिशत कृषकले व्यहोर्ने भनी २ करोड रुपैँया बिनियोजन गरेको थियो । तर, कृषक आकर्षित हुन नसक्दा २ करोड खर्च हुन सकेन ।
पहिलो पटकको बिमा कार्यक्रम असफल भएपछि सरकारले बाली तथा पशु बिमाका लागि आर्थिक बर्ष २०७१/०७२ का लागि १३ करोड अनुदान रकम बिनियोजन गरेको छ । बिमामा कुल लागतको ५ प्रतिशत रकम प्रिमियम बुझाउनु पर्दछ  । प्रिमियमको ७५ प्रतिशत सरकारले व्यहोर्ने नियम बनाएको छ । तर, झापा गरामनीका राजेन्द्र बराल, दमकका अर्का एक कृषकले च्याउ खेतिको ५०÷५० हजारको बिमा गराएका छन् । जुरोपानीका टुकानिधि लोहनीले १ लाख ५० हजारको बिमा गराएको नेको इन्सुरेन्स कम्पनी बिर्तामोड शाखाका प्रवन्धक बालकृष्ण सुवेदीले बताए ।
सरकारले बाली तथा पशु बिमा प्रभावकारी रुपमा कार्यान्वयन गर्न देशका १७ वटा निर्जीवन बिमा कम्पनीलाई क्षेत्र तोकिदिएको छ । मेची अञ्चल सहित मोरङ र सुनसरी जिल्लाका कृषकले बाली र पशुको बिमा गराउन आउँदा नेको इन्सूरेन्ससँगको सहकार्य रहनु पर्नेछ  । अन्य कम्पनीलाई भने बाध्यता छैन । तर, अन्य कम्पनीलाई निर्धारण गरिएका क्षेत्रमा भने ति कम्पनीले बाली तथा पशु बिमा गर्नु पर्ने हुन्छ ।
बिमा कम्पनीले कृषि  बालीको बिमा गराउन कृषि प्रविधिकले निरीक्षण तथा अनुगमन गर्नु पर्ने झन्झटिलो प्रक्रिया पुरा गर्नु पर्ने हुन्छ । कृषकमा बिमा गर्नु पर्छ भन्ने मानसिकताको कमीले बाली बिमा हुन नसकेको नेको इन्सूरेन्सका प्रवन्धक सुवेदीले बताए । उनले भने ‘पढेलेखेका कृषक पनि बिमा गराउन इच्छुक छैनन् ।’
कृषक तयार नहुँदा इन्सूरेन्स कम्पनी पनि बालीको बिमा गराउन प्रेरित गर्दैनन् । बाली बिमामा  जोखिम बढी हुने भएकाले कम्पनी बिमा गराउन उत्सुक नभएको हो । बिमा कम्पनीले धान, गहूँ, तरकारी, फलफुल, माछा लगायतका कृषि बालीको बिमा गर्न सक्छन् । सरकारले ७५ प्रतिशतसम्म प्रिमियम भुक्तानी गर्दापनि बिमा नहुनुमा कृषकमा चेतनाको कमी र व्यवसायिक कृषिको विकास नहुनु प्रमुख कारण रहेको जिल्ला कृषि विकास कार्यालय झापाका बरिष्ठ कृषि बिकास अधिकृत मेघनाथ तिमल्सेनाले बताए । तिमल्सेनाले कृषि विकास कार्यालय झापाले कृषकका भेला, तालिम, गोष्ठीमा कृषि बिमाको कुरा गरेपनि कृषक बिमामा आकर्षित नभएको बताए । उनले भने ‘कृषक आफै जागरुक हुनु पर्छ । ’
बिमा कम्पनी पनि बाली बिमा गराउन उत्सुक छैनन् । जोखिम बढी र झन्झटिलो हुने भएकाले बिमा कम्पनी बाली बिमा गराउन उत्सुक नभएका हुन् । बाली लगाउनु अघि माटोको तयारी, बिउको छनौट, रोपन प्रक्रिया, मलखाद्को प्रयोग, विषादी वा अन्य पदार्थको प्रयोग सबैमा बिमा कम्पनीको सल्लाह र प्राबिधिक निरीक्षण हुनु पर्दछ । यो प्रकृया पुरा गर्न बिमा कम्पनीसँग स्थानीय तहमा कृषि प्राविधिक नहुँदा समस्या भएको हो । यसैगरी बालिको जोखिम जुनसुकै बेला हुन सक्ने हुँदा बिमा कम्पनीमा जोखिम बढी हुने गरेको छ । यद्यपि कृषक बिमा गर्न आए आफुहरु बाली बिमा गर्न तयार रहेको नेकोका सुवेदीले बताए । उनले भने ‘कृषक नै बिमाप्रति उत्सुक छैनन्’

0 प्रतिकृया:

Post a Comment