जितपुर खुला दिसामुक्त, पूर्ण साक्षर र खोपयुक्त घोषणा

इलाम/जिल्लाको जितपुर गाउँ विकास समिति खुला दिशामुक्त, पूर्ण साक्षर र पूर्ण खोपयुक्त गाविस घोषणा भएको छ ।
गाविसका सबै घरधुरीमा मापदण्डयुक्त शौचालय निर्माण भई नियमित प्रयोग हुन थालेपछि आइतबार जितपुरलाई दिसामुक्त घोषणा गरिएको हो । जिल्ला खानेपानी डिभिजन कार्यालय इलामका प्रमुख पदम कुँवरले सामूहिक प्रतिबद्धतापत्र वाचन गराई जिल्लाको ३३ औँ खुला दिसामुक्त क्षेत्र घोषणा गरेका थिए ।
सरकारले सन् २०१७ सम्ममा नेपाललाई नै खुला दिसामुक्त बनाउने लक्ष्यअनुसार सञ्चालित अभियानका क्रममा खुला दिसामुक्त घोषणा गरिएको हो । गाविसका एक हजार ४७१ घरधुरीमा मापदण्डयुक्त शौचालय बनेको गाविसस्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष तथा गाविस सचिव युवराज घोर्साईंले जानकारी दिए । खुला दिसामुक्त अभियानका क्रममा गाविसका एक हजार १ सय ५६ घरमा मापदण्डयुक्त शौचालय बनेका छन् । अभियान सुरु हुनुअघि यहाँ ३१५ घरमा मात्र मापदण्डयुक्त शौचालय थियो ।
जितपुरमा दुई वर्षदेखि खुला दिसामुक्त अभियान सुरु भएको थियो । अभियानका लागि सिमएन आयोजनाले आर्थिक सहयोग गरेको र अभियानका क्रममा १३ लाख रुपैयाँ खर्च भएको थियो । गाविसले शौचालय बनाउन नसक्ने ८ सय २९ अतिविपन्न घरधुरी पहिचान गरी निर्माण सामग्रीसमेत उपलब्ध गराएको थियो । जसमध्ये ४६९ घरधुरीलाई दुई बोरा सिमेन्ट, एक थान प्यान र पाइप तथा ३६० घरधुरीलाई एक बोरा सिमेन्ट, एक थान प्यान र प्याइप उपलब्ध गराएको गाविसले जनाएको छ ।
पन्ध्र देखि ६० वर्ष उमेर समूहका एक हजार २१२ निरक्षरलाई साक्षर गराई साक्षरता गाविस घोषणा गरिएको हो । जिल्ला शिक्षा कार्यालय अनौपचारिक शिक्षा केन्द्र र गाविससँगको समन्वयमा जितपुर सामुदायिक अध्ययन केन्द्रले दुई चरणमा तीन महिनासम्म साक्षरता कक्षा सञ्चालन गरेको थियो । तीनमहिने अवधिमा गाविसका विभिन्न ४७ वटा केन्द्रमा साक्षरता कक्षा सञ्चालन गरिएको अध्ययन केन्द्रले जनाएको छ । जिल्ला शिक्षा कार्यालयले इलामलाई सन् २०१४ सम्ममा पूर्ण साक्षर जिल्ला घोषणा गर्ने लक्ष्य लिएको छ । योसँगै जिल्लाका २४ गाविस पूर्ण साक्षर घोषणा भइसकेका छन् ।
त्यसैगरी गाविसका एकदेखि २३ महिनासम्मका सबै बालबालिकामा सबै चरणको खोपको मात्रा पूरा भएपछि जितपुरलाई पूर्ण खोपयुक्त घोषणा गरिएको छ । जिल्लाका २० वटा गाविसलाई चालु आर्थिक वर्षमा पूर्ण खोप गाविस घोषणा गरिसक्ने जिल्ला स्वास्थ्य कार्यालयको लक्ष्यअनुसार १९ वटा गाविस पूर्णखोप घोषित भइसकेका छन् ।

0 प्रतिकृया:

Post a Comment