लगातारको बन्द, हड्तालले पूर्वाञ्चलको जनजीवन अस्तव्यस्त हुँदै – मुख्य समाचार

कमन देवान
दमक, १२ जेठ/विभिन्न जातीय राजनीतिक संगठनहरुले जातीय पहिचानसहितको स्वायत्त राज्य लगायत विभिन्न माग राख्दै आन्दोलन जारी राखेकाले पूर्वको जनजीवन थप अस्तव्यस्त बन्दै गएको छ ।
लगातारको बन्दले गर्दा दैनिक उपभोग्य बस्तुको बजार भाउ आकासिएको छ भने लामा तथा छोटा दूरीमा चल्ने सवारी साधन ठप्प छन् । कतै स्वायत्तताको माग, कतै स्वायत्त राज्यको राजधानी बनाउनुपर्ने माग त कतै प्रदेश विभाजनका नाउँमा जिल्ला टुक्राउन पाइन्दैन भन्ने जस्ता मागले पूर्वाञ्चल ठप्प प्रायः बन्दै गएको छ ।
संखुवासभा जिल्लालाई दुई प्रदेशमा टुक्राउन पाइन्दैन भन्ने मागसहित एक सातायता आन्दोलन जारी छ भने धनकुटा र विराटनगरमा प्रादेशिक राजधानीका लागि दबाव दिने आन्दोलन चर्किदा समस्या थपिएको छ । केही दिनयता भोजपुरमा समेत आन्दोलनको रन्को छुटेको छ ।
लगातारको बन्दले पूर्वाञ्चलका उद्योग, व्यापार र बजार ठप्प बनेका छन् । बन्दका कारण पूर्वाञ्चलमा उद्योग तर्फ दैनिक ७ करोडको हाराहारीमा घाटा भइरहेको छ भने व्यवसाय झनै संकटमा परेको पूर्वाञ्चल उद्योग वाणिज्य संघका उपाध्यक्ष गोविन्द बस्नेत बताउँछन् । उपाध्यक्ष बस्नेत भन्छन् –‘एक दिनको बन्दले मात्रै पूर्वाञ्चलमा उद्योग र व्यवसाय तर्फ गरी ९ करोड रुपैयाँको हाराहारमिा नोक्सानी हुन्छ भने यतिबेलाको अवस्थालाई कसरी मूल्याङ्कन गर्ने’ उनले थपे ‘लोडसेडिङ्गले त हैरानी पारेकै थियो अहिले बन्द समेत थपिँदा हामी उद्योगी र व्यवसायी थप मारमा परेका छौं ।’
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले दिएको जानकारी अनुसार जेठ १ गते विभिन्न आन्दोलनका नाउँमा निरन्तर भएका बन्द हड्तालले यातायातका साधन चलेका छैनन् । कन्काई यातायात व्यवसायी संघका सदस्य सचिव गंगाप्रसाद सिटौलाका अनुसार लगातारको बन्दले यातायात व्यवसाय धरासायी बन्दै गएको छ । उनी भन्छन् –‘सरकारले भरपर्दो सुरक्षा व्यवस्था लागू नगरेसम्म यातायात सुचारु गर्न सकिने अवस्था छैन ।’
 आकस्मिक सेवाका सवारीहरु एम्बुलेन्स, प्रेस सम्बद्ध सवारी साधन, दूध बोक्ने गाडी, दमकल, विद्यालय र कलेज बसहरुलाई निर्वाध सञ्चालनमा छुट दिइएको भनिए पनि बन्दकर्ताहरुले अकलझुकल यस्ता प्रकृतिका सवारी साधनहरुमा समेत रोक लगाउने, आक्रमण गर्ने र क्षति पु¥याउने प्रयास जारी राखेकाले समस्या थप जटिलता तर्फ उन्मुख भएको छ ।
बन्दकर्ताले प्रेसमाथि गरेको आक्रमणले असुरक्षा बढेको भन्दै सो को विरोधमा झापा जिल्लाबाट प्रकाशित हुँदै आएका ७ ओटा दैनिक अखबार र एक दर्जन बढी साप्ताहिक पत्रपत्रिका जेठ १० र ११ गतेका लागि बन्द नै गरिए । झापाका अग्रज पत्रकार तथा पूर्व सन्देश दैनिकका प्रधान सम्पादक गञ्जबहादुर दाहालले भने –‘विगतको  द्वन्द्वकाल, संकटकाल र १९ दिने जनआन्दोलनका बेला समेत यति असुरक्षित महसुस भएको थिएन ।
आन्दोलनकारीका मागलाई वार्ताका माध्यमबाट सरकारले समेत सुनुवाई गरेको अवस्था छ, तर पनि पूर्वाञ्चलमा कुनै न कुनै समूहका नाउँमा बन्द र हड्तालको स्थिति भने यथावत छ । बन्द–हड्तालकै कारण  विद्यालयहरुको समेत हालत उस्तै छ । निजी तथा आवासीय विद्यालयहरुको अर्गनाइजेशन (प्याब्सन) का केन्द्रीय उपाध्यक्ष टीका पूरीका अनुसार पूर्वका अधिकांश तराई क्षेत्रका निजी तथा आवासीय विद्यालयहरुमा पठन–पाठन हुन सकिरहेको छैन भने पहाडी जिल्लाका सदरमुकाम र बजार क्षेत्रका विद्यालय लगातारको बन्द–हड्तालका कारण समस्याग्रस्त
बन्दै गएका छन् । उपाध्यक्ष पूरीले भने –‘शान्ति क्षेत्रको नारा, नारा मात्र बनिरहँदा विद्यार्थीहरुको भविष्य अन्योल तिर धकेलिँदै छ । कहिले बन्द भनिन्छ त कहिले खुल्ला, अभिभावक समेत हैरान छन् ।’

0 प्रतिकृया:

Post a Comment