अधिकारकर्मीहरुको ध्यानाकर्षण

दमक, १२ जेठ/लगातारको बन्द, हड्तालका कार्यक्रमहरुका कारण जनजीवनमा परेको नकारात्मक असरप्रति पूर्वाञ्चलमा क्रियाशील अधिकारकर्मीहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
उनीहरुले बन्दकर्ताहरुबाट सञ्चारकर्मी र सञ्चारगृह तथा आपत्कालिन सेवाको साधन एम्बुलेन्सहरुमा भएको आक्रमणको निन्दा समेत गरेका छन् । त्यस्तै विद्यालयहरुमा बालबालिकाहरुको पढ्न पाउने नैसर्गिक अधिकार हनन् भएको प्रति समेत अधिकारकर्मीहरुले आपत्ति जनाएका छन् ।
बिहीबार अधिकारकर्मीहरुद्वारा जारी संयुक्त प्रेस बिज्ञप्तिमा बन्दकर्ताहरुलाई अन्तर्राष्ट्रिय मानवीय कानुन तथा मानवअधिकारको सम्मान गर्दै आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको पनि सम्मान गर्न जोडदार माग गरिएको छ ।
विज्ञप्तिमा नेपाल मानवअधिकार संगठनका पूर्वाञ्चल क्षेत्रीय संयोजक डा. कमलप्रसाद  सुवेदी, हरेक्ड नेपालका अध्यक्ष नारायण भट्टराई, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान झापाका उपाध्यक्ष धनञ्जय बाँस्कोटा, नेपाल मानवअधिकार संगठनका केन्द्रीय सदस्य चित्रबहादुर बस्नेत, राष्ट्रिय मानवअधिकार प्रतिष्ठानका केन्द्रीय सदस्य कोमल प्रसाई, जिल्ला उपाध्यक्ष डा. नविन चापागाई, काहुराष्ट झापाका सचिव डा. घनश्याम सुवेदी, नेपाल मानवअधिकार संगठन दमकका सभापति देवप्रसाद सुवेदी, नेपाल रेडक्रस सोसाइटी उपशाला दमकका सभापति प्रकाश बुढाथोकी र अधिवक्ता नारायण पराजुलीले हस्ताक्षर गरेका छन् ।

0 प्रतिकृया:

Post a Comment