‘संघीयता र जातीय मन्थन’ – दोस्रो लेख

बबी राई
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी गर्ने दिन गन्तिको नजिक आइरहेको अवस्थामा सबै नेपाली नागरिकहरू आफ्नो पक्षको, हितको संविधान आउला नआउला भनि चिन्तित भएर बन्द, हड्ताल, जुलुश जस्ता माध्यमबाट विरोध तथा खबरदारी गरिरहेका छन् । हाम्रो जस्तो बहुजाति, बहुभाषी, बहुसांस्कृति भएको देशमा सबैको भावना समेटेर संविधान जारी गर्नु चानचुने कुरो होइन, त्यसमाथि पनि साना ठूला राजनीतिक दलहरूको दाउपेच सत्ता लिप्सा र भागबण्डाका घृणित खेलले संविधान लेखन अझ जटिल भएको र जेलिएको छ । जनताको हितको संविधान जेठ १४ मा आउला÷नआउला, आउँदा कस्तो संविधान आउँछ, नआउँदा कस्तो वातावरण बन्छ भन्ने कौतुहल र चिन्ताको विषय बनेको छ ।
आज नेपालको पूर्वदेखि सुदूर पश्चिमाञ्चलसम्मका सबै जातजातिहरू आफ्नो हक, अधिकारका निम्ति जुर्मुराएका छन् । हरेक दिन सडक तातिरहेको छ, नेपाली नागरिक पिल्सिएका छन् । त्यसमा नेपाली जनतालाई नेतृत्व गर्ने नेताहरू कतिको चिन्तित छन्, त्यो त थाहा छैन तर जो कोही देशभक्त नागरिक चिन्तित र भयभित छन् । आज हाम्रो देशमा जातियताको नाममा, धर्मको नाममा हामीलाई विभक्त गरेर सामाजिक सद्भावमा खलल पु¥याएको छ । हामी एक अर्कामाथि दोषारोपण गरिरहेका छौँ, तेरो मेरो भन्ने थावले द्वन्द्वात्मक हिंसा भड्कने अवस्था सृजना भइरहेको छ, एकले अर्कालाई अविश्वास गर्ने वातावरणमा नेताहरू अझ त्यसलाई मलजल गरिरहेका छन् । वुद्धिजिवी महानुभावहरू आखिर यो पर्ने हुन्छ । के लोकतन्त्र र गणतन्त्रको परिभाषा यही हो त ? नेपाल संघीय पद्धतिमा रुपान्तरित हुँदैछ, कस्तो संघीय राज्य बन्छ ? हिजो सोझा सिधा, निमुखा, गरीब जनताहरूलाई विभिन्न झुटा आश्वासन दिएर जनताका काँधमा बन्दुक राखी जनतामाथि नै प्रहार गरेर जनताका सेवक हुँ भन्नेहरूको स्वरुप शोषकमा परिणत भएको छ । म नेपाली नागरिकलाई प्रश्न गर्न चाहन्छु के अझै पनि यस्ता अराजक तत्वको पछि लागेर हामीले हाम्रो भाइचारा र सद्भाव त्यागि सक्यौँ त ?
आज यहाँ जातीयताको नाममा, धर्मको नाममा राजनीति फस्टाएको छ, तर गरीब, निमुखा जनता जहाँको त्यही छन् । आफ्नो जात र धर्म रक्षाको निम्ति संघर्ष गरिरहँदा नेपालीपन अस्त भएको छ । मधेसवदी, जनजाति, खस, क्षेत्री तथा ब्राह्मण समाज आदिको नाममा हामी एकले अर्कालाई लान्छना लगाइरहेका छौँ, के को निम्ति ? आखिर यी सब तत्वहरूको जड कहाँ छ ? हिजो जातीय राज्यको ललिपप दिएर सोझा सिदा नागरिकलाई कसले उक्सायो, पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हैन ? आज उ किन मौन छ ? सोच्नुस् के हिजो यहाँ लिम्बूले लिम्बुवान राज्य, थारुले थारुहट राज्य, मधेसीले मधेस राज्य माग गरेको थियो । त्यो सब पुष्पकमल दाहालको राजनीतिक दाउपेच थियो । पुष्पकमल दाहाल पनि ब्राह्मण वर्गमा पर्छन् आज ब्राह्मण खस क्षेत्रीहरूले जातीय राज्य हुनुहुँदैन भनेर विरोधमा उत्रिँदा खै त जातीय राज्यको वकालत गरेको ? यो कुरालाई नोट गर्नुहोस्, एउटा ब्राह्मणले उचाल्ने अर्को ब्राह्मणले थचार्ने यो कस्तो विडम्बना हो । यस्तो तुच्छ राजनीतिक गर्दा उ प्रति खै गुनासो खै प्रतिकार गरेको । सर्वहारा वर्गको नेतृत्व गर्छु भन्ने दुरदर्शी नेता पुष्पकमलले यो सब कुराको छिनोफानो गरी किनारा लगाउने हैसियत राख्नुपर्छ ।
मेरो उद्देश्य यो लेख लेखेर कुनै जाति, धर्म, वर्ग, सम्प्रदायप्रति ठेस पु¥याउनु विल्कुलै हैन, म त यो सचेत गर्न चाहन्छु कि हामी सबै जातजाति धर्म, राजनीतिको भागबण्डा गर्नुभन्दा पहिला नेपाली भएर सोचौँ, अखण्ड नेपाल नरहे नरहन्छ जात, नरहन्छ धर्म । हामी नेपालीले बाह्र वर्षे जनयुद्धमा धेरै चीज गुमाएर सानो विजयको अंश प्राप्त गरेका छौँ । त्यसलाई पनि हामीले गुमायौँ भने हाम्रो हातमा दुर्भाग्य बाहेक केही रहँदैन । कुनै पनि धार्मिक, जातीय, जथ्याहरूको उद्देश्य विद्रोह भनेर परिभाषित गर्ने अवस्था नआओस् । यस्ता संघसंस्थाहरू जाति, वर्गको उत्थान र हकहितको निम्ति एक जुट होस् नकि भिडन्तको निम्ति । हामीसबै नेपाली चार जात छत्तिस वर्णका फूलबारी हौ, बगैँचामा सबै फूल फूलेको र ढकमक्क भएको सोभा दिन्छ । अतः हामी नेपाली नागरिकले धिर भएर नेपालको नयाँ संविधानको निम्ति खबरदारी गरौँ, जसमा सबै धर्म, भाषा, जातिहरूको समान भावना समेटेको होस् संघीयताको नाममा कुनै मोलमोलाई नगरेर सबैलाई मान्य हुने मध्यमार्गी अवधारणालाई ल्याइयोस् जो नेपालीको भविष्य निर्धारित गर्छ । द्वन्द्व र मतभेदले गृहयुद्ध र विनासमात्र सम्भव छ । के तपाई सान्त र समृद्ध नेपाल चाहनुहुन्न र ?

0 प्रतिकृया:

Post a Comment