दमकले अरु थुप्रै गर्न सक्छ - सम्पादकीय

झापाको दमकमा आयोजित आदिवासी जनजाति सांस्कृतिक महोत्सव-२०६८ भर्खरै सम्पन्न भएको छ । महोत्सव मूल आयोजक संस्था नेपाल आदिवासी जनजाति महासंघ दमक नगर समन्वय परिषद्ले सार्वजनिक गरेको ताजा जानकारी अनुसार २६ लाख ५० हजार रुपैयाँ बढी आम्दानी र २३ लाख रुपैयाँ बढी खर्चको विवरण प्राप्त भएको बुझिन्छ । १५ दिन सम्म चलेको महोत्सव अवधिमा ३ करोड बढीको आर्थिक कारोबार तथा राष्ट्रिय र स्थानीय स्तरका लोकपि्रय कलाकारहरुको नियमित प्रस्तुतिहरु पनि भए । सम्भवतः दमकको इतिहासमै एकै कार्यक्रमका दौरान यतिबिघ्न कलाकारहरुले एउटै माच टेकेको अनुमान समेत गरिएको छ यस पटक । यिनका अतिरिक्त विभिन्न आदिवासी जनजाति समुदायका कला संस्कृति भेषभूषा रहनसहन र मौलिकता झल्काउने किसिमका नमूना घरहरुको प्रदर्शनी जातिहरुको सांस्कृतिक नृत्य प्रस्तुति लगायतका कार्यले दमकको माटोमा एउटा अनुभूतिको इतिहास रोपेको मान्न सकिन्छ ।
किनकि कुनै पनि राष्ट्र क्षेत्र समाज र समुदायका लागि उसको जीवन्त पहिचान हुन आवश्यक छ । पहिचानको पृथकताले उसको अस्तित्व सुरक्षित गरेको हुन्छ । यस पटक दमकले यही सन्देश दिएको छ । दमक नगरको राजनीतिक आर्थिक सामाजिक शैक्षिक पूर्वाधार विकास आदि समृद्धिहरुसँगै यहाँको सांस्कृतिक पूर्वाधार पनि बलियो सह-अस्तित्वमा आधारित छ भन्ने सन्देश महोत्सवले दिन सफल भएको मान्न सकिन्छ । संकुचित मानसिकता बोकेकाहरुले यसलाई आफ्नो मात्र वा अरु कसैको मात्र उपलब्धि मान्न सक्छन् । लोकतन्त्रमा सबैलाई सबै किसिमको सोच र विचार प्रस्तुत गर्ने अधिकार छ तर सबैले आ-आफ्ना पायक विचारहरु मात्रै अन्तिम सत्य हो वा त्यो विचार मात्रै सर्वोपरि हो भन्ठान्नु अन्ततः लोकतन्त्रकै उपहास बाहेक अरु हुन सक्दैन । तसर्थ आम हितका दृष्टिकोणले दमकमा सम्पन्न महोत्सवले सिङ्गो दमकेली शान र दमकवासीको गौरवलाई उचो तुल्याएको छ भन्नु अत्योक्ति हुने छैन ।
सन्दर्भकै दौरान केही तिता र मिठा अनुभूतिहरुका साथ दमकमा जो उपलब्धिपूर्ण कार्य भएको छ तिनलाई मिहिन ढङ्गले विवेचना गर्दै गल्तीहरुबाट पाठ सिकेर प्रगतिहरुलाई संस्थागत गर्न हामी सबैको दायित्व हुन जान्छ । प्रत्यक्ष रुपमा यी वा यस्ता उपलब्धिहरुका जस पात्रहरु सीमित हुन सक्छन् तर सकरात्मक सोचका साथ सबैले आ-आफ्नो दायित्व र जिम्मेवारी वोध गर्ने हो भने यस्ता उपलब्धिहरु सिङ्गो समाजलाई एकतावद्ध र सुसांस्कृतिक बनाउन प्रेरीत गर्ने किसिमका हुन्छन् । सबैको हित हुने कार्यले सबैको अहित हुने काममा लागेकाहरु बाहेक अरुलाई नोक्सान पनि गर्दैन । तसर्थ दमकमा थालिएका यस्ता सकरात्मक र दमकेली पहिचानसँग जोडिएका विषयहरुमा सबैले समान जस लिन गौरव गर्न सहभागी हुन र सहकार्य गर्न पाउनु पर्दछ । अवसरहरु फेरि पनि आउँछन् तिनको सही सदुपयोग र समान वितरणमा हाम्रा लागि थप चुनौति र सम्भावना बढेका छन् । कुनै पनि कार्यका लागि सबै पक्षको सहभागिताका आवश्यक छ २१ औं शताव्दीको लोकतन्त्रले सहभागितामूलक निर्णय प्रकि्रयालाई जोड दिएको छ । तसर्थ हिजो कसले कहाँ कति गल्ती गर् यो भनेर गौणा ढुक्नु भन्दा पनि कसरी सच्चिएर र सच्याएर लाने यस दिशातर्फ सबैको ध्यान गए दमकले अरु थुप्रै राम्रा कामहरु गर्न सक्छ ।

0 प्रतिकृया:

Post a Comment