श्याम श्रेष्ठ
२००७ साल यता कुनै त्यस्तो प्रगतिशील र लोकतान्त्रिक राजनीतिक, आर्थिक र सामाजिक आन्दोलन भेटिँदैन जसमा नेपालका कम्युनिस्ट दलले सक्रियतापूर्वक भाग नलिएको र त्यसको नेतृत्व नगरेको होस्। नेपालमा सामन्तवादको उन्मूलन र क्रान्तिकारी भूमिसुधारका लागि जोताहा किसान र मोहीहरूको सशक्त आन्दोलन आˆनो अस्तित्वको प्रारम्भदेखि नै उठाउने श्रेय नेपाली कम्युनिस्ट आन्दोलनलाई नै जान्छ। नेपालमा क्रान्तिकारी भूमिसुधार र “जसको जोत उसको पोत”को लोकपि्रय सामन्तवादी विरोधी नारा सर्वप्रथम उठाउने र स्थापित गर्ने कार्य नेपालको कम्युनिस्ट पार्टीले नै गरेको हो।
२००४ सालमा विराटनगरमा नेपालको पहिलो मजदुर हडताल उठाउने कार्य नेपाली काँग्रेसले नै गरेको हो, जतिखेर नेपाली कम्युनिस्ट पार्टी जन्मेकै थिएन। उसले मजदुर आन्दोलनलाई पछिसम्म उठाइरहन र व्यापक बनाउन भने सकेन। सम्भवतः उसको पुँजीवादी वर्ग आधारले नै यसो गर्न दिएन। परन्तु नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको लगत्तैपछिदेखि नै अखिल नेपाल ट्रेड युनियन काँग्रेसको पहलमा देशव्यापी रूपमा मजदुर आन्दोलनको थालनी र विस्तार भएको देखिन्छ। जिउनयोग्य तलब, दिनमा आठ घण्टाको कार्यकाल, मजदुर पेसाको सुरक्षा, बुढेसकालमा पेन्सन र ट्रेड युनियनको अधिकार जस्ता माग राखेर हरेक पेसाका मजदुरलाई सङ्गठित गर्ने र उनीहरूको सङ्घर्ष उठान गर्ने कार्य नेपालको कम्युनिस्ट आन्दोलन नै गरेको हो।
मूलतः तत्कालीन नेकपा माओवादीले उठान गरेको सशस्त्र सङ्घर्ष र २०६२/६३ को ऐतिहासिक जनआन्दोलनमा सात कम्युनिस्ट/गैरकम्युनिस्ट संसद्वादी दलसित माओवादीको सहकार्यले नै २०६४ सालमा संविधानसभामार्फत नेपालमा राजनीतिक रूपमा सामन्ती राजतन्त्र समाप्त पारेर लोकतान्त्रिक गणतन्त्र स्थापित हुन सम्भव भएको हो। शस्त्रबलसहितको कम्युनिस्ट शक्तिको बलवान् उपस्थिति नहुँदो हो त नेपालमा यति छिटै र यति सजिलै राजतन्त्र मासिएर गणतन्त्र कदापि आउने थिएन। नेपालमा धार्मिक/सांस्कृतिक रूपमा पनि हिन्दु सामन्ती एकाधिपत्य समाप्त पारेर सिङ्गो मुलुक धर्मनिरपेक्ष मुलुक भएको पनि यही कारणले हो।
नेपालमा निर्वाचित संविधानसभाको नारा पनि सर्वप्रथम नेपाली काँग्रेसले २००६ सालमा उठाएको इतिहास साक्षी छ। यो नारालाई पनि काँग्रेसले छोडेपछि फेरि सशक्त ढङ्गले उठाउने, सर्वस्वीकार्य बनाउने र यथार्थमा अनुवाद गराउने श्रेय पनि सामान्यतः नेपाली कम्युनिस्ट आन्दोलन र विशेषतः नेकपा माओवादीलाई नै जान्छ। नेपालको प्रभुसत्ता र राष्ट्रिय स्वाधीनताका लागि कुनै पनि खालको विस्तारवादी साम्राज्यवादी हस्तक्षेपको विरुद्धमा प्रारम्भदेखि नै दह्रो आवाज उठाउने कार्य पनि नेपालको कम्युनिस्ट आन्दोलनले नै गरेको छ।
यही कारणले पूर्वी युरोप र रुसमा समाजवादी व्यवस्था ढल्दा पनि नेपालमा भने समाजवादी व्यवस्था र कम्युनिस्ट पार्टीप्रति जनआकर्षण घटेन, बरु झन् झन् बढ्दै गयो। नेपालमा अहिले सडकमा पनि कम्युनिस्ट नै सबैभन्दा शक्तिशाली स्थितिमा छन् र संविधानसभा तथा व्यवस्थापिका संसद्मा पनि। आपसमा जुधेर चुनाव लड्दा पनि नेपालमा यतिबेला संविधानसभाको ६२ प्रतिशत सिट कम्युनिस्ट दलकै रहेको छ।
नेपाली कम्युनिस्ट आन्दोलनका उज्याला पक्ष प्रशस्त भए जस्तै यसका दोष र अँध्यारा पक्ष पनि उल्लेख्य मात्रामा रहेका छन्। यसलाई हटाउन उनीहरूले ध्यान दिनु आवश्यक छ। नेपाली कम्युनिस्ट आन्दोलनको मुख्य दोष के छ भने यसले राजनीतिक क्षेत्रमा क्रान्ति वा आन्दोलनको उठान राम्रोसित गरेको छ तर त्यसको बैठान र व्यवस्थापन ठीक ढङ्गले कहिल्यै गर्नसकेको छैन। यसले जहिले पनि राजनीतिक क्रान्ति र आन्दोलनलाई अधकल्चोमै छोड्ने गरिरहेको छ। २०४६ सालमा पनि उसले त्यही भूल गर्यो, २०६३ सालमा पनि उही महाभूल दोहोर्याउँदैछ।
नेपालको कम्युनिस्ट शक्तिको जोडबलमै नेपालमा गणतन्त्र आयो तर संविधानसभामार्फत नयाँ संविधानमा गणतन्त्रलाई संस्थागत गर्नुपर्ने समयमा दुई सबैभन्दा ठूला कम्युनिस्ट दल मूल एजेन्डाबाट बरालिएर आपसमा सत्ताका लागि बाझेर बसिरहेछन्। नेपालको गणतन्त्रलाई नयाँ संविधान बनाइँदा यथासम्भव ज्यादा प्रगतिशील अन्तर्वस्तुले भरिपूर्ण बनाउन माओवादी एमाले र अरू कुनै कम्युनिस्ट दलको प्राथमिकता र रुचि देखिँदैन।
नेपालका कम्युनिस्ट आन्दोलन वा युद्धबाट उपरी तहमा राजनीतिक प्रणाली बदल्न अत्यन्त सक्षम रहेका देखिन्छन् तर उनीहरूको दोष के हो भने उनीहरू राजनीतिक क्रान्तिकै उचाइको आर्थिक र सांस्कृतिक क्रान्ति गर्न चाहिँ नितान्त असक्षम देखापरेका छन्। आर्थिक, सांस्कृतिक र सामाजिक रूपान्तरण नेपालका कम्युनिस्टले हमेसा बिर्सिने एजेन्डा बनेको छ जब कि यो नभई कुनै पनि क्रान्ति सम्पन्न, सफल र दिगो हुँदैन।
हालसालैको ताजा उदाहरण हेर्ने हो भने माओवादीको १० वर्षे जनयुद्धले गाउँमा जालीफटाहा र सामन्त शून्य गर्यो, गाउँमा गयल जमिन्दारका जमिन जोताहा र भूमिहीन किसानमा बाँड्यो। जब माओवादी शान्तिप्रक्रियामा आयो उसले ती सामन्तलाई प्रगतिशील भूमिसुधारद्वारा जरैमा समाप्त पार्नुको साटो मोही किसान र भूमिहीन किसानका लागि कुनै वैकल्पिक व्यवस्था नै नगरी जोताहाबीच बाँडिसकिएको तिनको जग्गासमेत फिर्ता गर्ने सम्झौता गरेको छ र फिर्ता गर्ने प्रक्रिया थालेको छ। हदबन्दीभन्दा बढी जमिनका लागि समेत क्षतिपूर्ति दिने सम्झौता नेपालका कम्युनिस्टले काँग्रेससित हालै गरेका छन् जुन राजा महेन्द्रले पनि गरेका थिएनन्। क्रान्तिकारी भूमिसुधार नेपालका कम्युनिस्ट सत्ता बाहिर हुँदा जोडले उठाउने र सत्तामा जाने बित्तिकै बिर्सिने नारा बनेको छ।
राजनीतिक क्रान्तिपछि नेपालको राज्ययन्त्र र राज्यसत्ताको स्वरूप र चरित्र बदल्ने कुरामा पनि नेपालका कम्युनिस्ट हमेसा चुकेका देखिएका छन्। राज्ययन्त्र र राज्यसत्ताको परिवर्तनभन्दा पनि त्यसमा घुलमिल र विलयन नेपालका कम्युनिस्टको मुख्य प्रवृत्ति बनेको छ। सिंहदरबार बदल्न गएका नेपालका कम्युनिस्टहरू सिंहदरबारमा पुगेपछि आफैँ सिंहदरबारको प्रभावमा बदलिएका देखिएका छन्। सरकारमा पुगेका बेला सेना, प्रशासन, प्रहरी, न्यायालयको चरित्र र वर्ग संरचनामा परिवर्तन ल्याउने निणर्ायक पहल कुनै पनि कम्युनिस्ट पार्टीबाट भएको देखिँदैन। कम्युनिस्ट नेतृत्वको सरकारमा पनि मजदुर, जोताहा किसान, महिला र दलितको प्रतिनिधित्वको त्यत्तिकै अभाव देखिएको छ जति यसअघिका पुँजीवादी नेतृत्वको सरकारमा हुने गथ्र्यो।
नेपालका कम्युनिस्ट पार्टीहरूको अर्को दोष के देखिएको छ भने उनीहरूले आफू अरुभन्दा ठूलो देखिन सङ्ख्यात्मक वृद्धिमा मात्र अत्यधिक प्राथमिकता दिएका छन् तर सङ्गठनको गुणात्मक विकासमा र नेता कार्यकर्ताको वैचारिक सांस्कृतिक रूपान्तरणमा उनीहरूले ध्यान र प्राथमिकता दिएको देखिँदैन। वैचारिक सांस्कृतिक रूपान्तरणमा पर्याप्त जोडबल नदिएको हुनाले नेपालका कम्युनिस्टहरू संस्कृति र चरित्रका हिसाबले रातो मुला जस्ता देखिन्छन्ः बाहिर कुरो र भाषण हेर्दा एकदम रातो, भित्र व्यवहार र चरित्र हेर्दा एकदम सेतो। समाजका अपराधीहरू, गलत र भ्रष्ट तत्वहरू तथा वर्गीय रूपमा प्रतिगामी र प्रतिक्रियावादीसमेत निर्बाध रूपमा कम्युनिस्ट पार्टीमा प्रवेश गरेको/गराइएको खुलेआम देख्न सकिन्छ। पार्टीमा प्रवेश गर्नेहरूको रेखदेख, नियन्त्रण र प्रवेश गरेकाहरूको वैचारिक सांस्कृतिक रूपान्तरणमा भने कसैको ध्यान पुगेको देखिँदैन। यस प्रकारको जसरी पनि संसदीय चुनाव जित्ने उद्देश्यबाट मात्र निर्मित वैचारिक र सांस्कृतिक रूपमा प्रदूषित सङ्गठन निर्माणबाट सामाजिक क्रान्ति र समाजवादी समाजको निर्माण कसरी हुनसक्छ ?
अहिले नेपाली कम्युनिस्ट आन्दोलनमा नेता र पार्टीबीच गहन र खुला वैचारिक र दार्शनिक बहस त्यति देख्न पाइँदैन। कक्षा र प्रशिक्षण विरलै मात्र हुने गर्छ। नेपालको कम्युनिस्ट आन्दोलनको यतिखेरको विडम्बना के हो भने नेपालमा कम्युनिस्ट नेतामा कुशल सङ्गठक थुप्रै देख्न सकिन्छ तर बोली र व्यवहारमा, सोच र संस्कृतिमा ठूलो खाडल नभएको आदरयोग्य सिद्धान्तकार कोही देखिँदैन। पुष्पलाललाई गद्दार भनेर नेपाली कम्युनिस्ट आन्दोलनको दुई दशक बितेको छ तर सिद्धान्त, विचार, संस्कृति र व्यवहारमा उनको उचाइको समकालीन कम्युनिस्ट नेता विरलै भेटिन्छ।
नेपालको कम्युनिस्ट आन्दोलनको अर्को दोष के हो भने विश्वमा ज्ञान, विज्ञान र श्रमिक वर्गको आन्दोलनमा ठूलो हेरफेर भइरहेको छ, कतिपय मुलुकमा समाजवादी व्यवस्था नै ढलेको छ। तर बदलिँदो ज्ञानविज्ञानको दही-मथनी गरेर, समाजवाद ढल्नाका मूल कारण खोजेर, त्यसलाई संश्लेषण गरेर समाजवादी सिद्धान्तलाई बदलिएको युगानुकूल परिष्कृत र उन्नत बनाउने कार्य खासै भइरहेको देखिँदैन। माक्र्स, ऐंगेल्स र लेनिनको पालासम्म विश्वका ज्ञानविज्ञान र श्रमिक आन्दोलनको उचाइलाई संश्लेषण गर्ने प्रक्रिया लगातार जारी राखिएको थियो। लेनिनको मृत्युसँगै त्यो प्रक्रिया जहाँको तहीँ रोकिएको छ। नेपाली कम्युनिस्ट आन्दोलनको अर्को रोग हो-निरन्तर सिद्धान्तहीन फुट। सिद्धान्तमै भिन्नता हुँदा फुट अवश्यम्भावी हुन्छ, कतिपय फुटलाई सैद्धान्तिक जामा पहिर्याइए पनि गहिराइमा नियाल्दा अधिकांश फुट व्यक्तिकेन्दि्रत अहंकारको टक्कर, केवल कार्यनीतिक भिन्नता र भित्री पार्टी जनवादको अभाव र भिन्न तथा आलोचनात्मक मतको दमनका कारणले मात्र पनि भइरहेका देखिन्छन्।
नेपाली कम्युनिस्ट आन्दोलनमा काम कारबाहीमा बहुमतको निर्णय मानेर, कामकारबाहीमा एकरूपता कायम गरेर आलोचनात्मक तथा भिन्न मतलाई सङ्गठन बाहिर र भित्र दुवै ठाउँमा एउटा प्रणालीअन्तर्गत स्वतन्त्रतापूवर्क चलखेल गर्न दिने मामिलामा ठूलो सङ्कीर्णता र हिच्किचाहट भेटिन्छ। एउटा विधिअन्तर्गत भिन्न र आलोचनात्मक मतलाई स्वतन्त्रतापूर्वक चलखेल गर्न दिने कुराले नै विचारको विकास र नयाँ सक्षम नेतृत्वको प्राकृतिक छनोट हुने कुरो हो। तर त्यसलाई नोकरशाही ढङ्गले दबाइँदा पार्टीमा स्थायी गुटहरू जन्मने गरेका छन् र गुटहरू फुटतिर उन्मुख हुने गरेका छन्। भिन्न मतको दमनको प्रतिक्रियामा अराजक ढङ्गले मत राख्ने प्रवृत्ति पनि यत्रतत्र देखापरिरहेछ।
नेपाली कम्युनिस्ट आन्दोलनमा वर्गीय दृष्टिकोण भुत्ते हुँदै जाँदो छ,त्यसको स्थान साम्प्रदायिक जातीय सोचले लिँदैछ। यो ठूलो भूल हो जसलाई कम्युनिस्टहरूले अविलम्व सच्याउनुपर्छ। जातीय साम्प्रदायिकताको भावनामा पङ्खा हम्केर र विश्ाुद्ध जातीय राज्यको सोचबाट जातीय समस्या हल हुन सम्भव छैन, बरु झन् जटिल मात्र हुनेछ। समतामूलक समावेशी विकास नै कम्युनिस्टहरूको बाटो हो। भाषागत र जातीय समस्यालाई कम्युनिस्टहरूले हल गर्नर्ैपर्छ तर त्यो वर्गीय दृष्टिकोणबाट हल गर्नु कम्युनिस्टहरूको विशेषता हो। विशुद्ध जातीय राज्य मात्र बनाएर यो समस्या हल हुन सक्दैन। नयाँ सङ्घीय राज्य प्रणालीमा सङ्घ होइन, सत्ताको तल्लो एकाइ सबैभन्दा शक्तिशाली हुनुपर्छ किनकि श्रमिक वर्ग र सर्वसाधारण जनताले राज्य भेट्ने सबैभन्दा नजिकैको ठाउँ त्यहीँ हो। नेपालमा भने उल्टो भइरहेछ। सत्ता र स्रोतबाट वञ्चित गरिखाने वर्गलाई शासन र स्रोतको मालिक बनाएर र त्यसभित्र खालि सम्भ्रान्त वर्गमात्र माथि उठ्ने सम्भावना रोक्नुको साटो नेपालका कम्युनिस्टहरू केन्द्रीय राज्यलाई सबैभन्दा बलियो बनाउने पक्षमा देखिन्छन्। यो ठूलो विडम्बना हो।
0 प्रतिकृया:
Post a Comment