अध्यक्ष जित्ने दुबै पक्षको दावी

अध्यक्षका २ उमेद्वारहरु भोट माग्दै

दमक । दमक चिसोपानी रवि (फाल्गुनन्द मार्ग) सडक उपभोक्ता समितिको नेतृत्वमा उठेका दुबै प्यानलले अध्यक्ष सहितको नेतृत्व जित्ने दावी गरेका छन् । कांग्रेस एमालेको गठबन्धन तथा एमाओबादी सहितका साना दलहरुको गठबन्धनले शुक्रबार र शनिबार भएको मतदानमा आफ्नो उमेद्वारहरुले जित्ने दावी गरेका हुन् । मतदान सकिएपछि कसले जित्ने भनेर अन्योल भइरहेका बेला गठबन्धनका नेताहरुले आफ्नो गठबन्धनको पक्षमा धेरै मत खसेको भन्दै त्यस्तो दावी गरिरहेका छन् । अध्यक्षमा कांग्रेस एमालेको गठबन्धनबाट प्रकाश बुढाथोकी र एमाओबादी र साना दलहरुको गठबन्धनबाट रेवतराज पुरी (गगन) सहितको उमेद्वारहरुको प्यानल नै चुनावी मैदानमा उत्रिएको छ । 
कांग्रेस एमाले गठबन्धनले आफुहरुले अध्यक्ष सहित प्यानलै जित्ने दावी गरेको छ । तर एमाओबादी गठबन्धनले अध्यक्षमा आफ्नो उमेद्वारले जित्ने र अन्य पदहरुमा मिश्रित परिणाम आउने बताएको छ । कांग्रेस दमक नगर समितीका सभापति ढुण्डीराज भण्डारीले अध्यक्षमा बुढाथोकी सहित पुरै प्यानलै जित्ने दावी गरे । उनले भने:  बाहिर हल्ला गरेजस्तो माहौल छैन, अध्यक्ष सहितका सबै पदाधिकारी र सदस्यहरुमा हामी जित्छौ । भण्डारीले एमाओबादी सहितका साना दलका केही मतहरु पनि आफ्नो पक्षमा खसेको दावी गरे । एमाओबादीका दमक नगर इन्चार्ज रमेश गुरागाईले अध्यक्षमा पुरीले सहजै जित्ने दावी गरे । उनले ब्यक्तिगत सम्पर्क र गठबन्धनको एकताका कारण पुरीको पक्षमा जित्ने मत आउने बताए । तर पदाधिकारी र सदस्यमा भने मिश्रित नजिता आउनसक्ने गुरागाईले उल्लेख गरे ।  
दुई दिन भएको निर्बाचनमा दुबै गठबन्धनमा रहेका सबै दल र उमेद्वारहरु आफ्नो पुरै शक्ति लगाएर मत माग्न हिडेका थिए । दमकस्थित रेडक्रस हलभित्र मतदान भइरहदा रेडक्रस परिसरमा दुवै पक्षका उम्मेदवारहरुलाई जिताउन भोट माग्न ब्यस्त रहेका थिए ।  अध्यक्षका उम्मेदवार प्रकाश बुढाथोकीको समुह  र  रेवतराज पुरीको समुह मतदाताहरुलाई आफनो पक्षलाई मतदान गर्न आग्रह गरीरहेका थिए । उपभोक्ता समितिको अध्यक्ष सहितका ९ पदाधिकारीका लागि १८ जना उम्मेदवारले निर्वाचन लडेका छन ्।  कार्यसमितिको ११ जना  सदस्ययहरुको लागि २३ जना चुनावी मैदानमा छन् ।
यसैगरी कार्यसमितिको ३ महिला सदस्यका लागि ६ जना उम्मेदवार छन् । स्थानीय निकायको निर्बाचनको झल्को दिने गरि उमेद्वार र नेताहरु शक्ति देखाउदै खटिएका थिए । सत्तारुढ दलका तर्फबाट उठेका अध्यक्ष उमेद्वार बुढाथोकी हारे नकरात्मक सन्देश जाने भन्दै कांग्रेस एमाले नेतृत्व आफ्ना उमेद्वारलाई जिताउन धेरै खटेको देखिन्थ्यो । सत्तारुढ दलको उमेद्वारलाई परास्त गर्न एमाओबादी सहितका साना दलहरु झनै सकृय थिए । सबै दलहरु गठबन्धन गरेर दुई समुहमा निर्बाचनमा गएकाले दुबै पक्षका दलका नेताहरु जित आफ्नो पक्षमा पार्न छलफल, कोठे बैठक र प्रचार प्रसारमा ब्यस्त थिए । उमेद्वारहरु दमकमा हुने मतदान स्थलमा मतदातासमक्ष फोटोसहितको नाम गलामा झुन्ड्याई सयौं प्रसार सामग्री लिएर भोट मागेका देखिन्थे । उमेद्वारहरुसंगै कांग्रेस, एमाले, एमाओबादी, संघिय समाजबादी, राप्रपा, लिम्बुवान, जनमुक्ति लगायतका दलका नेतादेखि कार्यकर्ताहरु दिनभर मतदानस्थलमा खटिएका थिए । पहिलोपटक निर्बाचन भएकाले अध्यक्षमा बुढाथोकी र पुरीमध्ये कसले जित्छ भनेर जिज्ञासा राख्ने धेरै देखिन्थे । दुबै पक्षले अन्य पदबाहेक अध्यक्षमा आफ्नै उमेद्वारले जित्ने दावी भने गर्न छोड्दैनथे ।

नतिजा आज आउने 
मतगणनाको अन्तिम परिणाम आज (आइतबार) सार्बजनिक हुने भएको छ । शुक्रबार इलामको बाँझोस्थित खलंगे बिद्यालय र शनिबार दमकस्थित रेडक्रस भवनमा भएको निर्बाचनमा ९ सय ६७ मत खसेको छ । कुल मतदाता ११ सय ३ जना थिए । मतदान सम्पन्न भएपछि शुरु भएको मतगणनाको नतिजा भने आइतबार बिहानमात्र सार्बजनिक हुने निर्बाचन समितीका संयोजक बिश्वदिप लिङ्देनले जानकारी दिए । उनले मतपरिणाम आइतबार बिहान ११ बजेपछिमात्र आउने बताए । मतदान सकिएपछि शनिबार राती १० बजेपछिदेखि मतगणना शुरु भएको निर्बाचन समितीले जनाएको छ । त्यसअघि मतगणनामा खटिएका दल र उमेद्वारहरुका प्रतिनिधिबीच आचारसंहिता बनाउन ब्यस्त भएका कारण मतगणना शुरु गर्न ढिला भएको छ । उमेद्वारहरु ४७ जना र खसेको मत ९६७ खसेकाले पनि मतगणनाको नतिजा आउन ढिलाई हुने अवस्था देखिएको हो । मतगणमा दुबै गठबन्धनका तर्फबाट ९÷९ जना र स्वतन्त्र उमेद्वारका २ गरि २० जना प्रतिनिधी खटिएका छन् ।

0 प्रतिकृया:

Post a Comment