आगलागीमा साढे १२ लाखको क्षति

सुनसरी । सुनसरी र सिरहामा सोमबार राती भएका आगलागीका छुट्टा छुट्टै घटनामा साढे १२ लाख रुपैयाँ बराबरको धनमालको क्षति भएको छ ।
सुनसरीको सिमरिया २ का सुरेन्द्र चौधरीको घरमा रहेको एग्रोभेट पसलमा आगलागी हुँदा १० लाख रुपैया बराबरको क्षति भएको प्रहरीले जनाएको छ । राति ८:२० बजेतिर पसलमा बालेको मैनबत्तिबाट सल्किएको आगोले पसलसहित घर र एउटा मोटरसाइकल समेत जलेर नष्ट हुँदा सो मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यस्तै, आगलागीबाट सिरहाको महेशपुरपतार ६ का छबिलाल शाहको भान्साघर तथा गोठ जलेर नष्ट भएको छ । सोमबार राती १० बजेतिर फुसको छानो भएको भान्सा घरबाट सल्किएको आगोले भान्साघर जलेर नष्ट हुनुका साथै गोठमा रहेका एउटा गाई र बाछो जलेर मर्दा २ लाख ५० हजार रपैया बराबरको क्षति भएको हो । आगो निभाउने क्रममा ११ वर्षिया बालिका संगिताकुमारी शाह घाईते समेत भएकी छन् । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको सिरहा प्रहरीले जनाएको छ ।

आगलागी पीडितलाई राहत

विर्तामोड । झापा उद्योग वाणिज्य संघ शाखा विर्तामोड र छठ सेवा समाज बिर्तामोडले संयुक्त रुपमा सप्तरीका अग्नि पीडित ४३ घरपरिवारलाई राहत वितरण गरेको छ । दुवै संस्थाको संयुक्त टोलीले सोमवार सप्तरी रामपुर मलनीया–५ स्थित अग्नि पीडित परिवारकैमा पुगेर ३ लाख ५० हजार रुपैयाँ बराबरको राहत वितरण गरेको झापा उद्योग वाणिज्य संघ शाखा विर्तामोडका अध्यक्ष बलराम कार्कीले जानकारी दिए । छठ समाजका अध्यक्ष देवेन्द्रकुमार सिंहका अनुसार अग्नि पीडितहरुका लागि चामल, दाल, नून, तेल, चिउरा, साबुन, भाडाकुडा, लत्ताकपडा लगायतका सामग्री वितरण गरिएको थियो । 
गत चैत २६ गते भएको आगलागीमा घरवारविहीन भएका मलनीयावासीको पीडामा थोरै भएपनि राहत पुर्याउन झापाका विभिन्न क्षेत्रबाट संकलित सामग्री वितरण गरिएको बताइएको छ । झापा उद्योग वाणिज्य संघ शाखा बिर्तामोडले यसअघि ताप्लेजुङका अग्नि पीडित तथा भूकम्प पीडितका लागि ३० लाख रुपैयाँ बराबरको राहत सामग्री तथा नगद जुटाएर हस्तान्तरण गरेको थियो । 

0 प्रतिकृया:

Post a Comment