नेतृत्व लिन दलहरु चुनावी प्रतिष्पर्धामा ६ दलीय गठबन्धनद्वारा ११ बुँदे प्रतिबद्धता

दमक । झापा, इलाम र पाँचथरको पश्चिमी क्षेत्रका लागि चर्चाको विषय बनेको दमक चिसोपानी रवि सडक निर्माण उपभोक्ता समितिलाई आफ्नो पकडमा पार्ने भन्दै ६ दलीय गठबन्धनले ११ बुँदे प्रतिवद्धता जाहेर गरेको छ । सोमबार दमकमा पत्रकार सम्मेलन गरी एकीकृत माओवादी, संघीय लिम्बूवान पार्टी, संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी र नेपाल कम्यूनिष्ट पार्टी एकीकृतको गठबन्धनले प्रतिवद्धता जाहेर गरेको हो ।
दमक रवि सडक निर्माण थालिएको २३ वर्षमा पनि ठोस काम खासै नभएको भन्दै अवको काम आक्रामक हिसावले अगाडि बढाउने, सरकारबाट विनियोजित रकम फ्रिज हुन नदिन कुशल र समन्वयात्मक भूमिका खलेर प्राथमिकता नम्बर १ मा पार्ने लक्ष्य राखेको प्रतिवद्धतापत्रमा उल्लेख छ । १२ महिना नै सवारी आवत जावत गराउनका लागि सडक पुरा गर्ने, ४ वर्षभित्र दमकदेखि
रविसम्मको सडकको चौडाई बढाएर ग्राभेल र पक्की ढल निर्माण गर्दै ७ वर्षभित्र कालोपत्रे गर्ने कुरा समेत उल्लेख गरिएको छ । सडक अन्तर्गत पर्ने चोकहरुलाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने, पहाडी इलाकाका कतिपय गाउँलाई रक गार्डेन तथा अर्गानिक भिलेजका रुपमा विकास गर्ने कुरा पनि प्रतिवद्धतापत्रमा उल्लेख छ । यसका साथै लारुम्बालाई बृहत धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने, भारतको सिमाना फत्तेपुरबाट चीनको घाङ्ला जोड्ने आधार मार्गका रुपमा दमक रवि सडकलाई विकास गर्ने प्रतिवद्धतापत्र प्रस्तुत गरिएको छ । हालसम्म सो सडकमा योगदान पुर्याउनेहरुको इतिहास समेटेर स्मारिका प्रकाशन तथा हालको सदस्यता शुल्क चर्काे भएकाले ५ सयबाट घटाएर १ सयमा ल्याउने पनि उनीहरुले जनाएका छन् । सो गठबन्धनका अध्यक्षका उम्मेदवार रेवतराज पुरी (गगन)ले प्रतिवद्धतापत्र प्रस्तुत गरेका थिए । अन्य दलको हठले सहमतिमा निर्वाचन हुन नसकेको र ठूला २ दलले सडकलाई आफ्नो नियन्त्रणमा राख्न खोजेकाले आफुहरुले मोर्चावन्दी कायम गरिएको अध्यक्षका उम्मेदवार गगनले बताए ।
जेठ १५ र १६ गते हुने सो सडक उपभोक्ता समितिको निर्वाचनमा गगनका साथै अन्य ५ जना अध्यक्षका उम्मेदवार रहेका छन् । गठबन्धनले सहअध्यक्ष गोविन्द बस्नेत, वरिष्ठ उपाध्यक्ष सुशीलकुमार राई, उपाध्यक्ष विनोद नेम्वाङ, महिला उपाध्यक्ष हरिदेवी राई, महासचिव प्रेमकुमार थाम्सुहाङ, सचिव दिलकुमार लावती, महिला सचिव छमिला तामाङ र कोषाध्यक्ष नैनबहादुर भण्डारीलाई उम्मेदवार तय गरेको छ । सदस्यमा लोमनाथ भण्डारी, यदुनन्दन सिटौला, रुद्रबहादुर कार्की, डम्बर पुलामी मगर, चन्द्र गजमेर, शक्ति साम्बा, लिलाश्वर पालुङ, गजेन्द्र राई, मिलन बस्नेत, टिकाराम लिम्बू, किसान खजुम लिम्बू, यामबहादुर अधिकारी, महिला सदस्यमा पद्मा अधिकारी, नरमाया तामाङ र ओममाया आङदेम्बे रहेकी छन् ।
अरु दललले पनि आ–आफनो दलीय गठबन्धनबाट उम्मेदवारी तय गरेका छन् । अध्यक्षका लागि एमालेका होमबहादुर थापा, काँग्रेसका प्रकाश बुढाथोकी र दिलबहादुर बुढाथोकी उम्मेदवार बनेका छन् । यसैगरी राप्रपा नेपालका घनेन्द्र सुब्बा र संघिय समाजवादीका लोकसागर साम्बाको पनि अध्यक्षमा उम्मेद्वारी परेको छ । ९ जना कार्यकारी पदाधिकारीका लागि २४ जनाले उम्मेद्वारी दिएका छन् । यसैगरी १३ जना सदस्यका लागि २७ जनाको उम्मेद्वारी परेको छ । समितिमा ४ संस्थागत समेत ८ जना मनोनित गर्ने प्रावधान छ । पहिलो चरणको चुनाव जेठ १५ मा दमकको रेडक्रस भवनमा तथा १६ गते इलाम बाँझोको खलङ्गे विद्यालयमा बिहान ८ देखि अपरान्ह ४ बजेसम्म मतदान हुने छ । जसमा १ हजार १ सय ३ मतदाता छन् ।

0 प्रतिकृया:

Post a Comment