सडक बिस्तारमा स्थानीयको आक्रोस

चन्द्रगढी । सडक विस्तार तथा स्तर बृद्धि गर्दा सरोकारवाला व्यक्तिलाई जानकारी नदिँदा भद्रपुर नगर क्षेत्रमा विकासमा विवाद देखिन थालेको छ । भद्रपुर नगरपालिका अन्र्तगत साविक चन्द्रगढी गाविस क्षेत्रमा सुरु भएको सडक विस्तार तथा स्तर बृद्धिको काममा स्थानीय सरोकारवाला व्यक्ति भन्दा बाहिरका व्यक्तिले बढी चलखेल गर्दा विवाद देखिन थालेको हो । सम्बन्धित जग्गा धनीलाई जानकारी नै नगराई आफ्ना निकटका केही व्यक्तिलाई राखेर उपभोक्ता समिति गठन गरी खनिएको वाटो नियम संगत नभएको जग्गाधनीले आरोप लगाउन थालेपछि विकासमा विवाद अवरोधक बनिन थालेको छ ।  चन्द्रगढी स्थित भद्रपुर नगरपालिका १३ र १५ नम्वर वडाको सिमानामा पर्ने लेखनाथ मार्ग हुदै हल्दिवारी जाने ग्राभेल सडकलाई फराकिलो बनाउन गरिएको कार्यलाई विभेदपूर्ण तरिकाले खनिएको भन्दै सरोकारवाला स्थानीयले आपत्ती जनाएका हुन् । उपभोक्ता समितिले सोझा सिधाको जग्गालाई मात्र जेसिभी लगाई चाहिने भन्दा बढी माटो निकालेर केहि समाजका टाठा बाठाले थिचोमिचो गरेको जग्गा धनी शंकर भण्डारीले आरोप लगाए । स्काभेटर जग्गा छेउमा आएपछिमात्र आफुलाई जानकारी भएको भन्दै उनले केही व्यक्तिले कुनै कुनामा बसेर गठन गरेको समिति वैधानिक नभएको दावी गरे । समितिले सडकको दुवैतर्फ बरावरी चौडाई र गहिराई गराउनु पर्ने भएतापनि सो अनुरुप नगरी लापरवाही तरिकाले खन्न लगाएको जग्गाधनी तेजप्रसाद अधिकारीले आक्रोस पोखेका छन् । समितिले वाटोको उत्तर भाग भन्दा पनि दक्षिण तर्फ बढी मिची तानासाही रुपमा काम गरेको जग्गाधनि हुतराज नेपालले बताए । समितिका अध्यक्ष तुलसी पोखरेललाई अनुगमन समितिका संयोजक माधव गौतमले आफनो काधमा राखेर सडकमा राजनिति गरेको नेपालले बताए । सो क्षेत्रका वडा सचिव मनकुमार डाँगी भने बाटो स्तरबृद्धिका लागि बोलाइएको भेला अत्यन्तै न्युन रहेको स्वीकार गर्दै अनिवार्य रुपमा जग्गाधनीलाई बोलाउन नसक्दा अहिले विरोध आएको बताए । यता नगरपालिकाका इञ्जिनियर योगेन्द्र रञ्जितकारले अहिले उपभोक्ता समितिले गरेको काम पछि सडक कालोपत्रेमा कायम नहुन सक्ने बताए ।

0 प्रतिकृया:

Post a Comment