पाँचथरमा भूकम्पीय पृथ्वी शान्ति महायज्ञ

पाँचथर । बैशाख १२ गते र त्यसपछि पटक पटक गएका भूकम्पका कारण ज्यान गुमाएकाहरुको आत्माको शान्ति तथा घाइतेहरुको स्वास्थ लाभ कामना गर्न पाँचथरको जोरपोखरीमा भूकम्पीय पृथ्वी शान्ति महायज्ञको आयोजना गरिएको छ । पाँचथर उद्योग वाणिज्य संघ र पाँचथर वहुमुखी क्याम्पस सहित १४ वटा सामाजिक संघ संस्थाहरुको संयुक्त आयोजनामा महायज्ञ आयोजना गरिएको हो ।
व्रह्मयोगाश्रम सिद्धस्थल र फाल्गुनन्द मन्दिर परिषरमा आयोजित महायज्ञमा बैशाख १२ गते भूकम्प गएकै समय पारेर विहान ११ वजेर ५६ मिनेट जाँदा भुकम्पका कारण ज्यान गुमाएका व्यक्तिको आत्मा शान्तिको कामना गर्न १ हजार ८ वटा दीप प्रज्वलन गरिएको थियो । त्यसपछि पृथ्वी शान्तिका लागि १ सय ८ वटा गाईको दुध र सातवटा समुद्रवाट ल्याइएको जलले रुद्राभिषेक गरिएको थियो ।
महायज्ञमा जिल्लाका विभिन्न स्थानवाट आएका व्राह्मणहरुले स्वस्ती शान्तिसँगै पाठ पारयण गर्नुका साथै भजन किर्तन लगायतका कार्यक्रम पनि सम्पन्न गरिएको थियो । मृतक परिवारको आत्मा शान्ति घाइतेहरुको स्वास्थ्य लाभ र घरवार विहिन भएका परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्नुका साथै विनासकारी भुकम्प जस्ता दैवि विपति नदोहोरिउन् भन्ने उद्धेस्यले महायज्ञको आयोजना गरिएको आयोजक संस्था मध्ये पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष मित्रप्रसाद काफ्लेले वताए । महायज्ञमा जिल्लाका विभिन्न स्थानवाट आएका हजारौं सर्वसधारण सँगै संविधान सभा सदस्य गणेशकुमार काम्वाङ, जिल्ला न्यायधिस माधवप्रसाद अधिकारी, कांग्रेस जिल्ला सभापति नरेन्द्रकुमार केरुङ, एमाले अध्यक्ष राजकुमार भण्डारी सहित राजनैतिक दलका नेता कार्यालय प्रमूखहरु, सामाजिक संघ संस्था र नागरिक समाजका प्रमूख तथा प्रतिनिधि उपस्थित थिए ।

0 प्रतिकृया:

Post a Comment