विद्यार्थीद्वारा क्याम्पस प्रशासनमा ताला

पथरी/सहायक क्याम्पस प्रमुख नियुक्तिको बिषयलाई लिएर मोरङको पथरीशनिश्चरे नगरपालिकामा स्थापित पथरी बहुमुखी क्याम्पस प्रशासनमा मंगलबार आठ विद्यार्थी संगठनले ताला लगाएका छन् ।
सञ्चालक समितिले बिद्यार्थी प्रतिनिधिलाई कुनै जानकारी नदिइ दुई जनालाई सहायक क्याम्पस प्रमुख बनाउने निर्णय प्रति आठ विद्यार्थी संगठनले बिरोध जनाउँदै आएको छ । 
 क्याम्पस सञ्चालक समितिले २०७१ जेठ ३१ गते चेतन पौडेल र शान्तिराम तिम्सिनालाई सहायक क्याम्पस प्रमुख नियुक्त गर्ने निर्णय गरेको थियो ।
विद्यार्थी प्रतिनिधिहरुलाई कुनै जानकारी नदिइ गरिएको भन्दै आठ विद्यार्थी संगठनको संयुक्त मोर्चाले क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाएर बिरोध जनाउँदै आएको थियो । आफूहरुको माग प्रति क्याम्पस प्रशासनले बेवास्ता गरेको भन्दै सोही मोर्चाले मंगलबार क्याम्पस प्रमुख अर्जुनकुमार बुढाथोकी लगायतका प्राध्यापकहरुलाई बाहिर निकालेर प्रशासनमा ताला लगाएको हो ।
विद्यार्थीहरुले आफ्नो प्रतिनिधि बिनै प्राध्यापकहरुको योग्यता र क्षमता भन्दा राजनीतिक भगबण्डा र नातावादलाई आधार मानेर नियुक्ति भएको आरोप लगाउँदै निर्णय खारेजीको माग गर्दै आएका छन् । सहायक क्याम्पस प्रमुख बनाउने निर्णय भएका प्राध्यापकहरु सञ्चालक समितिका केही पदाधिकारीहरुको नजिकका नातेदार रहेको प्रमाणित गर्न सकिने आन्दोलनरत विद्यार्थी संगठनका एक प्रतिनिधिले बताए । ताला लगाएपछि संयुक्त  विद्यार्थी मोर्चाले टाँसेको प्रेस विज्ञप्तिमा २०६८ कार्तिकमा भएको महापुराणको हिसाव सार्वजनिक गर्नुपर्ने, पूर्व घोषित स्नातकोत्तर तुरुन्त सञ्चालन गर्नुपर्ने, क्याम्पसको बार्षिक कार्ययोजना बनाउनुपर्ने र घोषित अक्षय कोष स्थापना गर्नुपर्ने माग गरेका छन् । महापुराण र क्याम्पसको जग्गा सट्टाभर्नामा ठूलो आर्थिक अनियमितता भएको हुनसक्ने विद्यार्थी प्रतिनिधिहरुको आशंका रहेको छ ।
क्याम्पस सञ्चालक समितिले ताला लागेको दुई दिनभित्र माग पुरा नगरे क्याम्पस प्रमुख अर्जुनकुमार बुढाथोकी र सञ्चालक समिति अध्यक्ष मोहन तुम्बापोको राजिनामा माग गर्ने र साउन ९ गतेदेखि क्याम्पस अनिश्चितकालिन बन्द गरिने चेतावनी दिइएको छ । क्याम्पस प्रमुख बुढाथोकीले भने विद्यार्थीहरुको माग पुरा गर्न सकिने बताएका छन् । सञ्चालक समितिको बैठक बसेर निर्णय गरिने बुढाथोकीले बताए ।
तालाबन्दी पछि टाँसिएको प्रेस बिज्ञप्तिमा लिम्बू विद्यार्थी मञ्चका अध्यक्ष हाङफारा लिम्बू, किरात राई विद्यार्थी संघका अध्यक्ष सरोज राई, संघीय विद्यार्थी युनियनका अध्यक्ष जीतु लिम्बू, एमाले अखिलका अध्यक्ष सरोज तिम्सिना, नेपाल विद्यार्थी संघका प्रतिनिधि गोपाल लिम्बूले हस्ताक्षर गरेका छन् ।

0 प्रतिकृया:

Post a Comment